Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Monday, October 11, 2021

कथाः गृहस्थी

 

कथाः गृहस्थी

 - ऋषि शान्तिप्रिय



त्यस दिन पाली माताबाट जन्मिएकी तरुनी स्त्री शिकारको खोजीमा निक्कै तल पुगेकी थिई । त्यो ठाउँ माता बस्ने चेप्टे ढुङ्गाको ओडारबाट आँखाको अदेखमा थियो । त्यो जमानामा कुनै पनि मानव पुरूष वा महिलाको नाम राख्ने चलन थिएन ।  (यस कथामा सहज बुझाईको लागि उक्त तरुनी स्त्रीलाई तस्त्रीको रुपमा वर्णन गरिनेछ ।)

चरा, मुसा, माछा, भ्यागुत्ता, खरायो, बाख्रा, कालिज, कुखुरा, बँदेल जस्ता सानातिना जनावरहरुको शिकार एक्लै दोक्लैले गर्न सकिन्थ्यो । अर्ना, दुम्सी, गुना बाँदर आदिलाई भने सामुहिक रुपमा छेका मारेर तथा ढुङ्गाको हतियार प्रयोग गरेर मारिन्थ्यो । सामुहिक रुपमा गरिएका शिकारहरु प्रायः बाँडेर खाने गरिन्थ्यो । त्यसमा बलियाको अलि धेरै भाग त छदै थियो । शिकारमा रुचि राख्ने सामाजिक व्यवस्था भए पनि तस्त्री भने जङ्गली फलफुलमा रुची राख्थी । जङ्गलमा पाकेका केरा, चिउरी, कटहर, बडहर, जामुन जस्ता फलफुलहरु उसका मिष्ठान्न भोजनहरु थिए । धेरै फलफुलमै रुची राख्ने भएर हो कि किन हो, तस्त्री  हुनुपर्ने भन्दा ज्यादै आकर्षक थिई । त्यो बेला उसको उमेर पन्ध्र सोह्र वर्ष पुगेको हुदो हो । उसका ठूला र काला आँखा, बाटुलो तथा उच्च नाक, हरिणको जस्तो चाल, सिमलकाडाँ जस्ता चुच्चा र गोल गोल स्तन र कोकिल कण्ठी स्वर सुनेर जो सुकै पुरुषहरु मोहित भैहाल्थे । तस्त्रीको जवानी फक्रिए पश्चात उसलाई पुरुषहरुको बक्र दृष्टिबाट बचाउन पाली माताले त्यस क्षेत्रका महिला तथा पुरुषहरुले आफ्नो आङ्ग ढाक्नुपर्ने नियम राखकी थिइन् । तैपनि भोर्लाको कटिबन्धन र बक्षबन्धनले उसको जवानी छोप्न सकेको थिएन । तस्त्रीलाई देखेर कति पुरुषहरु र्‌याल काढ्न थाल्थे भने ती पुरुषहरुमध्ये कतिले उसलाई आफ्नो बाहुपासमा भएको सम्झेरै आफ्नो विर्य खुस्काइसक्थे । यति हुँदा पनि तस्त्रीले भने कुनै पुरुषलाई आफ्नो नजिक ढिम्किन दिएकी थिइन । यसमा पाली माताको ढाडसले समेत काम गरेको थियो ।

            चेप्टे ढुङ्गा मुनीको ओडारमा पाली माताको बासस्थान थियो । त्यस ओडारभित्र आठ दश जना मानिसहरु अटाउने ठाउँ थियो । पाली माता भन्ट्याङ भुन्टुङ सन्तानहरुका साथमा बस्थिन् । पाली माताको ईशारा पाए पश्चात मात्र त्यहाँ समूहका पुरुष सदस्यहरुको आगमन हुन्थ्यो । कैले काँही पालो गरेर त कहिले एकै दिनमा तीन चार जना पनि पालीको दर्शनका खातिर आउने गर्थे । यसमा पालीको पहिलो आमन्त्रण पाउने पुरुष भाग्यमानी ठहरिन्थ्यो । ऊ आफ्नो काम सकेपछि जान्थ्यो । कहिलेकाँही कुनै दोस्रोले पनि कर गर्थ्यो फकाउथ्यो- पालीलाई । अनि उसले त्यसै दिन अवसर पाउथ्यो । काँचो शिकार, जनावरहरुका फिला, माछा आदिको कोशेली लिएर आउनेले पालीलाई सहजै खुसी पार्न सक्थे ।

जब सन्तानहरु पाँच छ वर्ष पुग्थे उनीहरु बाहिरै खेल्न थाल्थे । सुत्ने बेलामा कहिले काँही आमाको न्यास्रो लाग्दा मात्र एक छिन गुफाभित्र घुस्रिन आइपुग्थे । जति जति उनीहरु हुर्कदै जान्थे त्यति त्यति उनीहरु गुफाबाट टाढिन थाल्थे । पुरुष सन्तानका लागि कुनै समस्या थिएन । कुनै ठूलो रुखको फेदमा, झाडीमा जताततै आफ्नो बासस्थान बनाउन सक्थे । तर स्त्री जातिका सन्तानहरु वयस्क हुँदै गए पछि आफूलाई सुरक्षित राख्न उपयुक्त गुफाको खोजीमा निस्कनै पर्थ्यो । त्यो समय गुफाका मालिकहरु स्त्रीहरु मात्रै हुन्थे । तिनै गुफामा स्त्रीको दर्शनको लागि समवयस्क वा बूढा पुरुषहरु धाउन थालिहाल्थे । यसरी चलेको थियो आदिम सृष्टि । आफूकहाँ धाउने पुरुषहरुलाई सन्तुलित रुपमा राख्नु, कसैलाई नबिझाउनु र सकेसम्म रिझाउनुमा नै स्त्रीहरु सुरक्षित ठहरिन्थे । यदि कुनै पुरुषले स्त्रीभोग गर्ने प्रयत्न गर्दा केहि गरी पाएन भने ऊ कुनै पनि बेला राक्षस बन्न सक्थ्यो  । त्यस्तो अवस्थामा त्यही स्त्रीका कृपा पात्रहरुले त्यो स्त्रीलाई बचाउने गर्दथे । 

आगोको प्रयोग टाढा टाढा कतै कतै गर्न थालिसकेको थियो मान्छेले । एक दिन पाली माताकहाँ आउने बूढो पुरुषले त्यो कुरा पालीलाई बताएको थियो । त्यो कुरा पालीलाई दन्ते कथा जस्तै लागेको थियो त्यतिबेला । बूढो पुरुष आँफैले देखेको र आगोमा पोलेर माछा खाएको भनेर तिलस्मी कथा सुनाउदै थियो । त्यो सुन्दा केटाकेटीहरु तरङ्गित भैरहेका थिए । कोही भने 'कस्तो हुँदो हो है, त्यो माछा खाँदा  !'  भनेर मुख मिठ्याउथे । पालीले भने पत्याउनै सकेकी थिइन ।

सुकेका पात पतिङ्गरहरु बटुलेर गुफालाई ओभानो बनाइएको थियो । गुफा भित्र हुने सबै खाले क्रियाकलापहरु गर्न त्यहाँ सुरक्षित हुन्थ्यो । जस्तो कि पुरूषहरुसँगको सम्भोग, बाल बच्चाहरुको लागि नरम बिस्तरा र आफ्नो लागि पनि विश्राम । गुफा भित्र निकै सुख सयल थियो । अन्य साना तिना ओडारहरु र केटाहरुको बासस्थानको तुलनामा पाली माताको गुफा दरबार झैं थियो । गुफा भित्र वयस्कहरुको लागि दिशा पिसाब बर्जित थियो । तर केटा केटीहरुले सुइँक्याइहाल्थे । बिशेष गरी हिउँदयाममा गुफा अलि सिकसिक लाग्दो हुन्थ्यो । तथापि पालीलाई खुसी राख्न त्यहाँ धाउने पुरुषहरुले सोत्तरको व्यवस्था मिलाइरहन्थे करीब हप्ता दिनमा पुरानो झिकेर नयाँ सोत्तर हालिन्थ्यो । सोत्तर पुरानो हुदै जाँदा गुफाको गन्ध पनि बढ्दै जान्थ्यो ।  

पाली माताले त्यस गुफा क्षेत्रमा एउटा नयाँ चलन चलाएको थियो । त्यो के भने - वयस्क रौं उम्रिएका जुन सुकै पुरुष होस वा स्त्री,  उसले पात, रुखका बोक्रा वा जे उपयुक्त चिज भेटिन्छ त्यस वस्तुद्वारा आफ्नो कटी भाग अनिवार्य रुपमा छोप्नुपर्ने हुन्थ्यो । त्यस क्षेत्रमा पाइने उपयुक्त त्यस्तो वस्तुमा ठूला रुखका बोक्रा, बाँसको पट्याँस, चिउरी, साल वा भोर्लाको पात आदि थिए । स्त्रीहरु भने भोर्लाको सुकेका पातको आकर्षक जामा तुनेर लगाउँथे । उनीहरुले आफ्नो स्तन समेत भोर्लाको पेटासीले ढाकेका हुन्थे । उता घुमन्ते पुरुषहरुले दिन दिनै नयाँ नयाँ आविस्कार गरिरहन्थे । केहि दिन अघि मात्र एउटा बूढो पुरुषले भोर्लाको लहराद्वारा आकर्षक लगौटी बुनेर लगाएको थियो । उसले त्यो वर्षौ सम्म खप्ने र न्यानो हुने भनी गफ लगाएको थियो । बूढो पुरुषको लगौटी देखेर त्यस गुफा क्षेत्रका स्त्री तथा पुरुषहरु आश्चार्यचकित भएका थिए ।

सन्तानहरुले आफ्नो आमा स्पष्ट चिन्थे तर कुनै पनि बाबुहरुको कसैलाई मतलब थिएन । त्यति बेलाको सामाजिक परम्परामा बाबु पनि हुन्छ वा बाबु कसैको पहिचानको लागि आवश्यक छ भन्ने विषय कल्पना भन्दा बाहिरको कुरा थियो । बाबु नचिने पछि बूढा बाबुहरुले कति पटक आफ्नै बिर्यद्वारा जन्माएकी छोरीसँग सम्भोग गर्थे । त्यो स्वभाविक थियो ।  सायद त्यतिबेला बाबु भन्ने शब्द नै बनेको थिएन वा त्यसको अर्थ थिएन ।

एकातिर तस्त्रीको जवानी विस्फोट हुन लागेको थियो भने अर्को तिर त्यो समुदायका पुरुषहरुको धैर्यताको विस्फोट हुन लागेको थियो । र त्यस दिन तस्त्रीलाई समूहका चारजना पुरुषहरुले केराको घारीमा केरा खाँदै गरेको देखे । अब के चाहियो र ? पाली माताको आँखाको अदेखमा तस्त्रीलाई पाएर पुरुषहरुले तस्त्रीलाई यौनाह्वान गर्न थाले ।  तर तस्त्रीले मान्ने कुरै भएन । बरु उसले एक अचम्मको प्रस्ताव राखिदिई - उनीहरुको बीचमा ।  जसले गर्दा ती पुरुषहरु एक आपसमा लड्न थाले । उसले भनी, "म तिमीहरुमध्ये एक जनासँग मात्र अनि जीवनभर नै सम्भोग गर्नेछु । तर त्यो व्यक्ति सबैभन्दा शक्तिशाली हुनुपर्ने छ ।"  यस्तो अवसर कसैले गुमाउन चाहदैन थिए । उनीहरु लड्न थाले । एक अर्कामा प्रहार गर्दै गए । ती पुरुषहरु यति धेरै बेर लडे कि अब तिनीहरुसँग थप लड्ने शक्ति पनि बाँकी रहेन ।

चारै जना रगताम्य भएर मुर्छित भई ढलेका बेला पाँचौ पुरुषको प्रवेश भयो । अचम्म ! उसले  निक्कै आकर्षक जुटको लगौटी लगाएको थियो । गोरो अग्लो र आकर्षक  जिउडाल भएको युवकलाई तस्त्रीले कहिल्यै देखेकी थिइन । तस्त्री हेरेकी हेर्यै भई । त्यो युवक पनि तस्त्रीलाई मुग्ध भएर हेर्न थाल्यो । दुवैका आँखा चार भए दुवैजना एक अर्कालाई देखेर सम्मोहित भए । तस्त्रीलाई त्यो समाजको परम्परा अनुरुप तुरुन्त नवयुवकसँग सम्भोग गर्ने ईच्छा जाग्यो ।

त्यो युवक कौशिक क्षेत्रबाट उच्च पहाडी क्षेत्रमा भु अध्ययनका लागि आएको रहेछ । धेरै भूभाग घुम्यो भने धेरै कुरा सिकिन्छ, जानिन्छ भन्ने उसको मत रहेछ । तस्त्रीले पनि केहीबेर अघि भएको सम्पूर्ण घटना युवकलाई बताई । युवकले तस्त्रीको प्रस्ताब सुन्यो । यसमा उसले ढाडस दिदै भन्यो – "सम्भोग वास्तबमै  जीवनमा एक जनासँग मात्र गर्नुपर्छ । यसो भएमा मात्र स्त्रीहरु पनि सुरक्षित हुन्छन् । कोद्वारा सन्तान जन्मियो भन्ने थाहा भए पछि मात्र सन्तानका बाबुहरुलाई जिम्मेवार बनाउन सकिन्छ । त्यसैले तिम्रो शर्त मलाई स्वीकार्य छ ।"

नवयुवकको नवीन कुरा सम्पूर्ण रुपमा तस्त्रीले बुझ्न सकिन । एक जनालाई मात्र सम्भोग गर्न दिंदा बाँकी पुरूषहरुबाट कसरी सुरक्षित हुने भन्ने उसको मथिङ्गलले सोच्न सकेन । भनी, "त्यसो गर्दा त बाँकी पुरुषहरुले  स्त्रीलाई कोपरेर मारिहाल्छन् नि, झन कसरी सुरक्षित हुन्छ त ?"

तस्त्रीको अवोध प्रश्न सुनेर नवयुवक मुस्कुरायो र भन्यो,  "संसारमा पुरुष र महिलाहरु करीब करीब बराबर छन् । एक पुरुषले एक महिलासँग मात्र संभोग गर्ने हो भने सबैलाई भाग पनि पुग्छ । झैझगडा र मारामार पनि हुँदैन । बलियाहरुदेखि कमजोर सबै पुरुष र स्त्रीहरुले आफू अनुकुल सुरक्षित सम्भोग गर्न पाउँछन् ।"

यति भन्दै गर्दा ती मुर्छित पुरूषहरु पनि बिउझिएँ । आफ्ना घाउँहरु सुम्सुम्याउदै तिनीहरु उठे ।  तिनीहरु भन्दा नवयुवक हट्टाकट्टा र खाइलाग्दो भएकोले तिनीहरुले लड्ने हिम्मत गर्न सकेनन् । नवयुवकले चामत्कारिक रुपमा ती सबैलाई सम्झायो । वास्तवमा आजको तस्त्रीको त्यो प्रस्ताव, समुहका पुरुषहरुको झगडा र गैर समुहको नवयुवकले प्रस्ताव गरेको नयाँ तिलस्मी नियमप्रति ती पाँचै जना एक मत भए ।  सल्लाह अनुरुप उनीहरु पाली माताको ओडारमा गएर त्यस्तो तिलस्मी नियमको बारेमा सल्लाह गर्ने र समाजमा नयाँ नियम बनाउने कुरामा सहमत भए ।

मध्यान्हको चर्को घाममा उनीहरु पाली माताको कुटीमा पुगे । नवयुवकले एक पुरुष र एक महिला बीच मात्र सीमित रहने संभोगको प्रस्ताव सुनायो । उक्त प्रस्तावमा छलफल भयो । धेरै स्त्रीहरुलाई फकाउन सक्ने क्षमता भएका तथा धेरैसँग सम्बन्ध राख्न बानी परेका केही पुरुषहरुले यसको विरोध गरे । बाँकीले यो त ठिकै कुरा हो भनेर स्वीकारे । पाली माताले कडा स्वरमा विरोधीहरुलाई हकारिन् । पाली मातासँगको सहचार्यको लोभ तथा उनको डरले पनि तिनीहरु बिस्तारै पछि हट्दै गए । अन्त्यमा ती बूढा पुरुषहरु जो पाली मातासँग निरन्तर सम्बन्ध राख्थे उनीहरुको हकमा लागु नहुने र नयाँ पुस्ताको हकमा मात्र लागु हुने गरी उक्त प्रस्ताव पारित भयो ।  नवयुवक र तस्त्रीले संयुक्त रुपमा आफूहरु एक पुरष र एक स्त्रीको रुपमा परस्पर संभोग गर्ने, अन्य कसैसँग त्यस्तो सम्बन्ध नराख्ने घोषणा र सार्वजनिक प्रतिवद्धता व्यक्त गरे । तस्त्रीको सामिप्यताले गर्दा कौशिक क्षेत्रबाट घुम्न आएको त्यो नवयुवक त्यही समुदायमा विलिन भयो ।  त्यसपछि विस्तारै एक पुरष र एक स्त्रीबिच सीमित हुने संभोगको चलन शुरु भयो ।

समाजमा नयाँ चलन शुरु हुँदा हरेक एक जोडी पुरुष र महिलाका लागि एक एक छुट्टै गुफा चाहिने स्थीति सिर्जना भएकोले अर्को समस्या देखा पर्यो । गुफाको लागि एक जोडी र अर्को जोडीको वीचमा झगडा पर्न थाल्यो । जोडी जोडी वीचमा शिकार क्षेत्रमा झगडा शुरु भयो । पहिलाका ठूलो समाज अब छिन्न भिन्न भयो । अब मानब जाति पुरै व्यक्ति व्यक्तिको स्वायत्ततामा रमाउन पुग्यो । अति भए पछि पाली माता र पाली मातासँग सँधैजसो सम्बन्ध राख्ने बूढापुरुषहरुले सल्लाह गरे । हालसम्म भएका प्राकृतिक रुपका गुफाले मात्र नपुग्ने भएकाले आफू-आफूले नै आफ्ना लागि बाँस, काठका मुढा, ढुङ्गा आदिको प्रयोग गरेर आफ्नो गुफा आँफै बनाउनु पर्ने भनी नियम जारी गरे । आफ्नो शिकारलाई आँफैले संरक्षण गर्ने भनी नियम बनाए । सोझा र निर्धा जंगली पशुहरुलाई पालन गरेर उनीहरुबाट सन्तान बढाई आफ्नो लागि आँफै उत्पादन गरेर खानुपर्ने नियमहरु बनाए ।  त्यो क्षेत्रका सबै युगल जोडीलाई बोलाएर सोही अनुरुप गर्न अह्राए । मिठो मसिनो खान मन लाग्नेले जंगलबाट फलफुल लगायत जे खान योग्य बिरुवा पाइन्छ आँफैले रोपेर फलाउनुपर्ने नियम पनि बनाए । यस पछि विस्तारै कृषि परमपरामा मानिस अघि बढ्यो । जसको जग एक महिला र एक पुरुष वीचमा मात्र संभोग गर्ने परम्पराको सुत्रपात थियो । यसरी संभोगाधिकार र प्रत्येक संभोगाधिकार राख्ने जोडीको लागि गृहस्थीको सुत्रपात भएको थियो ।  

त्यसपछि संभोगको लागि आफ्नो जोडी चुन्दा समय क्रममा विभिन्न पद्धतिहरु विकास भए ।  बाबु वा आमाले आफूले ठीक सम्झेको बर समक्ष आफ्नी छोरीलाई संभोगको अधिकार दिने,  बर र कन्याको आपसी मन पराईमा संभोगाधिकार रहने, कन्यापक्षलाई जितेर कन्यालाई बलात सम्भोग गर्ने र संभोगाधिकार कायम गर्ने, कन्यालाई लट्ठ्याएर बेहोस बनाए संभोग स्थापित गर्ने र जीवनभर उसैसँग संभोगाधिकार स्थापित गराउने जस्ता राम्रा, नराम्रा वा विक्रित सम्मका संभोगाधिकार स्थापित गराउने चलनहरु चल्न थाले ।  भारत वर्षमा चलेका यी प्रचलनहरुलाई हेरेर समाजका अग्रज विद्वानहरुले आठ प्रकारका संभोगाधिकारको प्रतिपादन गरेर उनीहरुले यसलाई 'विवाह' भनिनुपर्ने प्रस्ताव राखे र यसरी सम्भोगाधिकार स्थापित गराउँदा औपचारिक रुपमा 'हामी दुवै मिलेर अन्न जुटाउँला, मिलेर भोजनको व्यवस्था गरौंला, दुवै मिलेर स्वास्थ्यका समस्या समाधान गरौला, मिलेर धनार्जन गरौला र खर्च गरौला, एकआपसमा सुख संचार गरौंला, हामी दुवै मिलेर परिवारको पालन गरौला, सरसल्लाह गरेर सन्तान जन्माउँला र हेरविचार गरौला, हामी दुवै जना आफ्नो जीवन भरी एकापसमा मित्र बनेर रहौंला' जस्ता सार्वजनिक घोषणा गरी संभोगाधिकार कायम गर्नुपर्ने प्रस्ताव गरे ।

तिनै अग्रज विद्वानहरुले पहिलो पटक औपचारिक रुपमा संभोगाधिकार घोषणा गरी नयाँ सामाजिक परम्परा बसाउने नवयुवक र तस्त्रीलाई आफ्ना पुर्वज आदि पुरष र आदि माता भएको घोषणा गरे । उनीहरुको काल्पनिक नाम भाषा र संस्कृति अनुरुप फरक फरक राखियो । यसरी स्त्रीहरु पुरुषबाट सुरक्षित हुने परिकल्पना गरियो । सहकार्य, सहअस्तित्व र सहयात्राको परिकल्पना गरियो । वास्तवमै पुरुष र स्त्रीहरु मानव जातिका अभिन्न अंगहरु हुन् र रहनेछन्  भनेर यी नियमहरु प्रतिपादन गरिए ।

यसरी एक महिला र एक पुरुषमा सीमित हुने संभोगाधिकारका कारण मान्छेको पारिवारिक जीवन शुरु भयो भने यसैको कारणले मान्छे विस्तारै कृषि युगमा प्रवेश गर्यो ।

अस्तु

इटहरी, २०७८/०६/११ सोमबार

Thursday, September 2, 2021

कथाः चर्चकी आमा

 

कथाः  चर्चकी आमा


-ऋषि शान्तिप्रिय

बिराटनगरबाट शुरु भएको पट्यार लाग्दो यात्रा सुनकोशी तरेर पारीपट्टि लिक्चिराम्चेमा पुगेर टुङ्गिएको थियो । खोटाङमा हुदै गरेका विकास निर्माणका कामहरुको अनुगमन तथा मूल्याङ्कनका लागि कार्यालयले हाम्रो टीमलाई खटाएको थियो । टीममा म समेत दुई जना इन्जिनियर, एकजना सुब्बा साब र चालक थियौं ।

लिक्चिराम्चेमा बास बस्ने घर नजिकै एउटा चर्च रहेछ । चर्चको आँगन फराकिलो र सुरक्षित पनि भएकोले घरबेटीले गाडी त्यहीं राख्न सुझाए । गाडी पार्क गरेर बाहिर निस्कदै गर्दा संस्कृत श्लोकहरु भट्याउदै गरेको सानो घण्टीको आवाजसँगै आएको एउटा नारी आवाजले मलाई आकर्षित गर्यो । यो कस्तो चर्च हो जहाँ हिन्दुहरुको जस्तो संस्कृतका मन्त्रहरुले पुजा हुन्छ । त्यो पनि शङ्ख घण्ट बजाएर । छक्क परें । सोचें चर्च र मन्दिरको संयुक्त भवन पो हो कि ? कस्तो सद्भाव आहा !  यो धार्मिक फ्युजन सम्झिएर दङ्ग परें  । नजिकै पानीको धारो धररर . . . गरेको सुने पछि हात मुख धुन त्यता तिर गएँ । त्यतिबेरमा ड्राइभरले हाम्रो सबै झोलाहरु घर तिर लगिसकेको थियो ।

लिक्चिराम्चेको डाँडामा सर्सर बतास चलिरहेको थियो । तराईको गर्मीबाट त्यहाँ पुगेको मलाई एउटा स्वर्गमा पुगेको अनुभव भयो । सोचें-  "कृष्ण सरलाई आफ्नो पति बनाउन नसके पनि मेरो मनको देउता बनाएकै छु । उनकै प्रेरणा, हौसला र सहयोगले जागिरे पनि भैयो । अनि त स्वर्ग जस्ता देशका कुना कन्दरामा घुम्न पाएको छु ।" यति खेर आफ्नै अन्यायी, पापी पतिलाई पनि धन्यबाद नै दिन मन लग्यो । "यदि उसले मप्रति यति धेरै अन्याय नगरेको भए म घर कुरेरै बस्ने थिएँ । अरु कति वटा छोरा छोरी पाउँदै  - छोराको आशमा । धन्य घर छोडियो, र पो  स्वर्ग जस्तो देशका कुन कन्दरा देख्न पाइयो । देश चिन्न पाइयो !"  अनि मेरो पखेटा लागेपछि जे जस्तो व्यवहार गरे पनि  दुःख गरेर हुर्काई पढाइदिने बाबु आमाप्रति मैले आभारी बन्नै पर्छ । यही शिक्षाले गर्दा त मैले यत्रो उत्पीडनलाई बिद्रोहको माध्यमले सामना गर्न सकें अनि सफता समेत प्राप्त गरें । वास्तवमा म आफू अभागी भएर पनि भाग्यमानी छु । कति धेरै भाग्यमानी भएर पनि अभागी छु ।

"नमस्कार है हजुर ! कहाँबाट पो आउनुभो ? गाडीको घार्रघुर्र त सुन्दैथें तर पूजा गर्न बसेकी थिएँ  । त्यै भएर आउन ढीला भो," हातमा ब्यट्रीबाट बल्ने लालटिन बोकेर एक जना पैसठ्ठी सत्तरीकी आमा चर्चबाट बाहिरिनुभो ।

मैले नमस्कार फर्काएँ । यस अघिको त्यहाँको वातावरणले त्यसै आकर्षित गरेकै थियो । आमासँग केहि बेर कुराकानी भयो ।  केही बेरमै ड्राइभर मलाई  खोज्दै आएकोले मैले पुनः भेट्ने बाचा बाँधेर आमासँग छुट्टिएँ ।

हामी पाहुना लागेको गाउँको घर त्यति फराकिलो थिएन । खाना खाए पछि सुत्ने ठाउँको ब्यवस्थापनमा समस्या भयो । त्यसमाथि म आइमाई मान्छे थिएँ । अरु सबै केटा मान्छे भएकोले कोठा साझा गर्न सक्थे ।  मैले आमालाई सम्झें । चर्चमा पाहुना सुताउनुपर्ने भयो भनेर तुरुन्त खबर पठाइयो ।  केहिबेरमा आमा आँफै मलाई लिन आउनुभएछ ।  हामी दुवैलाई साँच्चै मातातीर्थ औंशीमा आमा छोरी भेट भए झैं भयो । आमासँग गफ गरेरै रातभरी आँखा झिमिक्क भएनन् ।  जन्मदेखि नै छुट्याइएको छोरीलाई झैं आमाले खुब स्नेह गर्नुभो  । दुवैले आफ्ना अन्तरङ्ग कुराहरु बिसाएर मन हलुका पार्‌यौं ।

"तपाईं शङ्ख, घण्ट बजाएर पूजा गर्नुहुदो रहेछ । यो देख्दा तपाईं क्रिस्चियन त नहुनुपर्ने ! तर  किन र कसरी यो चर्चमा बस्न आउनुभो ?"  मैले आमालाई यसो भन्दा वहाँ मेरो लागि ओछ्यान तयार गरेर तन्ना मिलाउदै  हुनुहुन्थ्यो ।

"म गाँउमै एक्लै भएर बस्नै नसकेर यहाँ शरण लिन आएकी हुँ नानी । गाउँबाट सबै हिंडिसके । कोही मधेश झरे । कोही शहर पसे ।  गाउँ अनकन्टार भयो ।  रातभरी स्याल, फ्याउरा कराउँछन् । जङ्गल बढेको छ । बाली नाली केही लगायो भने पनि बाँदरले, दुम्सीले, मिर्गले पालै पालो उठाउँछन् । सकिएन बस्न त्यहाँ ।"  तन्ना मिलाइसकेर आमा सुस्केरा हाल्दै त्यही विच्छ्यौनामा बस्नुभयो ।

एउटा गाउँ नै रित्तिने गरी बसाइसराइ हिडेको भन्ने कुरा मैले पहिलो पटक सुनेकी थिएँ । लोक सेवा आयोगको तयारी गर्दा कति ठाँउमा बसाइसराइ सम्बन्धी पढेकी थिएँ । तर बसाइसराई, त्यो पनि यति धेरै मात्रामा हुने चै सायद मैले गरेको कल्पना भन्दा बाहिरको थियो । सोधें – "अनि त्यहाँबाट मान्छेहरु के कारणले त्यसरी बसाइ सरेका हुन् त आमा ?"

"आनानी त्यो दुःखी ठाउँमा को बस्छ त अब ?  मान्छेहरु काँबाट काँ पुगिसके । उता शहराँ पाइखाना  घर भित्रै हुन्छन् । सफा गर्न मिल्ने । चुलाको छेउमा धारा झर्छ । भुई र भित्ता छुँदा मैलो लाग्ने खालको हुन्छ । चिटिक्क । यहाँ भने पानी लिन २ घण्टाको बाटो झर्, एक गाग्री पानी ल्याउँदा एउटी आइमाई थाकेर लखतरान हुन्छे ।  पानीको दुःखको  ब्यान गरेर पनि के साध्धे छ र ? मुख्य कुरा त तेई हो ।  अनि अर्को कुरा यहाँ बसेपछि  खानुपर्ने पनि बाहिरकै किनेर । बरु किनेरै खानु छ भने, गयो नि जता पाइन्छ सस्तो, तेतै ।" आमाले खाने पानीको दुःखको कुरा गर्दा मैले खानेपानी समस्यामा आधारित कयौं डकुमेन्ट्रीहरुमा देखाइएको दर्दनाक पीडा महशुस गरें । भरखरै हेरेको नेपाली चलचित्र "छ माया छपक्कै" मा उठाइएको खानेपानीको मुद्दा पनि सम्झिएँ ।   होलान् नि त्यहाँ पनि मुहानहरु । सकिन्थ्यो होला नि ल्याउन पानी कुनै तरहले । तर खै त त्यत्रा मान्छेलाई कसैले रोक्न  सकेन । चाहेन । हुन त  विकासको पुर्वाधारको हिसाबले हाम्रो देशमा भएको छरिएको बस्ती एउटा अभिशाप हो । त्यसमाथि भौगोलिक जटिलता, सुख्खाग्रस्त क्षेत्र, पहिरो, यस्ता अभिशाप कति छन् कति ? यिनै कुराहरुलाई एकमुष्ट सम्बोधन गर्न एकीकृत बस्ती विकासको काम गर्न आवश्यक छ । तर के त्यस ठाउँका मान्छेहरु एकीकृत बस्तीमा सारिएका हुन त ? के तिनीहरु  अवसर खोज्दै अन्यत्र जाँदा उनीहरुले सोचेजस्तो  अवसर पाउछन् त ? के तिनीहरु एउटा गरिबीबाट अर्कै प्रकारको गरिबीको दलदलमा फस्दैनन् ?

मकै र कोदो मात्र फल्ने आमाको गाउँको उत्पादनले एउटा परिवारलाई ३ महिना खाना पनि राम्रो पुग्दैन । अनि बाँकी ज्याला मजदुरी वा अन्य कुनै पेशा गर्नैपर्यो । ती पेशाहरुको अवसर गाउँमा छैनन्, अनि सिङ्गो गाउँ नै बसाईं नसरेर के गरोस त ? सम्झेर  आँफैलाई चित्त बुझाएँ । अनि सोचें आमा चै कसरी एक्लै छुटिन त ?

 "सबै मान्छे बसाईं सरे भन्नुहुन्छ, अनि तपाईं चै कसरी छुट्नु भो त आमा ?"

यस पछि भने आमा केही बोल्नुभएन । मलाई कता कता डर लाग्यो । मैले अलि बढी नै संवेदनशील प्रश्न गरें कि ?  उनको विगतको संझनाले आँफैलाई निरीह र विक्षिप्त बनाउँदै लगिरहेको महशुष गरें ।  भनें – "भैगो आमा, बरु अब अरु नै कुरा गरौं । तपाईंलाई आफ्नो विगतमा फर्काएर म अरु दुःखी बनाउन चाहन्न ।  बरु राती पनि भयो । थाकेर आएकी छु । तपाई पनि  थाक्नु भएको होला । आजलाई सुतौं ।"

त्यसपछि भने आमाले कुनै गह्रौं भारी नै बिसाएजस्तो हलुका महशुष गर्नुभो । भन्नुभो "नानीलाई पनि मैले धेरै बेर अल्मल्याएँ, कहाँकी मान्छे ! जागिरले धकेल्दै यो अनकन्टारमा ल्याइपुर्‌यायो । तपाईंले यहाँ आइपुग्छु भनेर चिताउनु भएको थियो कि थिएन ?"

म पनि  मेरै विगतमा फर्कीएछु । मैले पनि मन बिसाउने आमा पाएकी थिएँ । मेरो अन्तरङ्ग खोलिदिएँ ।  

हिजो आफ्नै पति र ससुराको अत्याचार सहन नसकेर ससुरालबाट भागेर हिडेकी म । कृष्ण सरको पाहुना हुँदै आज यहाँसम्म आइपुगेकी छु । मेरो राम्रै सरकारी नोकरी छ । अगाडि वृत्ति विकासको फराकिलो मार्ग छ । तर म शुन्यमा हराएकी छु । जता गए पनि एक्लै एक्लै । ससुरालबाट बिद्रोह गरेको कुरा मेरै बाबु आमालाई मन परेको छैन । म आँफै जन्मी हुर्की गरेको त्यो घरको ढोका समेत आज मेरा लागि बन्द छ । म त्यो समाजको अन्धता देखेर हैरान छु ।

सबैबाट टाढिए पनि मेरो कलेज देखिको पहाडिया साथीले मेरो हरेक  सुखदुःखमा साथ दिएको छ । उसलाई मैले आफ्नो बनाउन नसके पनि आफन्त नै लाग्छ । हाम्रो पारिवारिक नाता कायम भएको छ ।  हुन त कृष्ण सर र मेरो सम्बन्ध एउटा मिठासपूर्ण प्रेमबाट शुरु भएको थियो । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा झाङ्गिएको त्यो प्रेमको बलियो डोरी कति नाजुक धागो झैं चटक्क चुडियो । त्यो प्रेमिल डुङ्गामा हामीले सहयात्रा गर्न सकेनौं । हामीले पनि के भन्नु, मैले सकिन । उसले त मलाई सँधै आफ्नै ठानिरह्यो ।

दहेजको माग गरेर मेरो दुलाहाले विवाहको मिति एक वर्ष सम्म विवाह टार्दै गरेको बेला विवाह अघि अन्तिम भेट भएको थियो । त्यति बेला म र मेरो बाबु मेरो हुने वालालाई उजुरी हाल्दै थियौं- सि डि ओ समक्ष । दहेजको माग गरी विवाहमा आलटाल गर्यो भनेर । विवाहद्वारा सम्बन्ध कायम गराई पाउँ भनेर । उफ ! अनि उसले मुद्दा शाखामा एउटा सरकारी अधिकारीको हैसियतले भनेको थियो "निर्मला, मुद्दा जितेर तिमीले कस्तो पति प्राप्त गर्छौ ? खै प्रेमको मूल्य ?" अनि बाबुलाई भनेको थियो, "छोडि दिनुहोस उसका पछि लाग्न, निर्मलाका लागि भेटिन्छन अरु पनि ।" म अझै सम्झन्छु - मेरो बाबुको आँखा छलेर मलाई उसले बिन्ति गरेको । म सम्झन्छु - उसको आँखामा प्रेम छचल्किएको । उसले एकान्त पारेर मलाई भनेको थियो "हामी सादी गरौं । मलाई एक पैसा दहेज चाहिदैन । बरु म तिमीलाई भगाउँछु ।"  त्यति बेला मैले बिद्रोह गर्न सकिन । सायद मलाई कृष्णको प्रेमको श्राप लाग्यो होला । मेरा निम्ति प्रेमको भीख माग्दै रोएका उनका आँखाको श्राप लाग्यो होला । तथापि ऊ आँफै भने मलाई श्रापित गर्नै सक्दैन । अझै उस्तै छ म प्रतिको अनुराग । फरक यति हो पत्नीको रुपमा ऊ रुक्मिणीलाई माया गर्छ । मलाई एक साथीको, सहपाठीको रुपमा हेर्छ र सोही अनुसारको व्यवहार गर्छ ।

मैले ससुराल छोडेर भागे पछि म उसलाई नै खोज्दै काठमाण्डु आएकी थिएँ । उसको फोन रुक्मिणीले उठाए पछि म सोधी खोजी गर्दै कृष्ण सरको घर पुगेकी थिएँ । चिनजान पछि मेरो कहानी सुनेकी रुक्मिणीले आफ्नो पतिको कलेज पढ्ने साथीको हैसियतले मलाई सम्मान पुर्वक पाहुनाको रुपमा स्वीकारेकी थिईन् । तीन छोरी सहितकी म रुक्मिणीको पाहुना बनेर त्यो पवित्र घरमा भित्रिएकी थिएँ । उमेरमा रुक्मिणी म भन्दा ठूली हुन् । उनी पनि दुःख गरेर पढे लेखेकी र आफ्नो खुट्टामा उभिएकी मान्छे  रहिछन् । दुःखीको हर दुःखमा साथ दिन जान्ने पवित्र आत्मा रहेछ उनी भित्र । म रुक्मिणीलाई आदरणीय दिदीको रुपमा सम्मान गर्छु । कृष्ण सर मेरो पति नभएपनि मरो लागि आदर्श व्यक्ति  हो । इतिहासमा कृष्णको आधा अंश थिइन् रे राधा !  म त्यसरी आधा त हुन नसकुला, तै पनि मेरो सफलताको पुरै जस कृष्ण सरलाई नै जान्छ ।

कृष्ण सर र रुक्मिणीको घरको पाहुना भएर नै मैले मेरा छोरीहरु हुर्काएँ । अहिले होस्टलमा बसेर पढ्न सक्ने भएका छन् । उनीहरुकै पाहुना भएर नै मैले दुःख सुख विद्यालयमा पढाउदै सरकारी नोकरीमा नाम निकालें । यसमा रुक्मिणीले पुरै काँध थापिदिइन् । कसैले दिदी पाओस त त्यस्तो अब त मेरो माइतीघर झैं लाग्छ त्यहाँ । वास्तवमै मेरो माइती भन्ने नै त्यही हो ।  

          माइतीको कुरा सम्झदा आमालाई सम्झन पुगेछु । मैले मेरो संझनामै सीमित भएपनि आमालाई अलिकति ठाउँ दिएकी छु जस्तो लाग्छ । तर सम्पर्क नभएको धेरै भयो । आजै माता तीर्थ औंसीको दिन रहेछ । तैपनि सम्पर्क नै गर्न चैं मन लागेन । मातातीर्थ भन्ने पनि छोरीहरुले काठमाण्डौंको होस्टेलबाट  'ह्यापी मदर्स डेभनेर 'वीसगरेपछि सम्झिएकी हुँ । इमान्दार साथ भन्नु पर्दा मलाई मेरै संस्कृतिका कुनै पनि चाडबाड पटक्कै मन पर्दैनन् । यसो भन्न मेरा आफ्नै कथाहरुको चाङ्गले मलाई बाध्य पारेको हो । म घर परिवार र नाता गोता कुल कुटुम्ब सबैसँग बिद्रोह गरेर एक्लिएकी आइमाई हुँ । एक्लिएकी पनि के भन्नु ! एक्ल्याइएको भन्दा हुन्छ । डर लाग्छ - मेरो कारणले छोरीहरु असामाजिक बन्ने त होइनन् । चाडबाडमा सकेसम्म मेरो मनमा भएको भाव अनुहार र व्यवहारमा प्रकट हुन दिन्न ।

मेरा यति धेरै कहानी सुनिसकेपछि आमाले खै किन हो सन्तोषको (?) लामो सुस्केरा हाल्नुभो । भन्नुभो  "नानी, दुःख सुख सबै अनुभवको मात्र कुरा त रहेछ नि !  जसरी तिमीले आफूलाई भाग्यमानी र अभागी दुवै ठहर्यायौ । म पनि आफूलाई दुःखी ठान्थे । तर नानीलाई भेटेपछि मलाई मभित्र दुःख मात्र छैन भन्ने लाग्दैछ । मैले आफ्नो कहानी भन्दै गरेका बेलामा आमाले टिनको मैलो बाक्सामा राखिएका किताबबाट एउटा ध्वासो लागेको फोटो निकाल्नु भो । तिहारमा खिचिएको दाजु बहिनीको फोटो रहेछ । त्यही फोटो देखाउदै आमाले अनुहारमा खुसी  ल्याउँदै भन्नुभो –" नानी यी मेरा छोरा छोरी हुन् । यिनीहरूकै सम्झना मनमा राखेर म एक्लै हुँदा पनि एक्लो महशुस गर्दिन । छोरी अष्ट्रेलियामा छ । गएको पनि पाँच वर्ष भयो । छोरी ज्वाईले त्यहाँ राम्ररी गरी खाएका छन् । कैलेकाँही फोन गर्छे । अर्को ठूलो मोवाइल किन्नु नि भन्दैछे । त्यसमा आमने सामने भएर कुरा गर्न पाइन्छ रे ।"

मैले सोचें । छोरी अष्ट्रेलिया भएको आमालाई के को दुःख र ? कैले उतै हानिने रहिछन् आमै !  छोराको बारेमा मलाई जिज्ञासा भयो ।  सोधें-  "अनि छोरा चै कहाँ हुनुहुन्छ नि ?"

छोरा भने पछि फेरि आमाको अनुहारमा चुक घोप्टियो । आँखाका कुनाकानि रसाए झैं देखिए । जति सक्दो सम्हालिएर भनिन्

"छोराको त के कुरा गर्नु र ! तीस वर्ष भन्दा बढी भयो, हामीसँग छुटेको । उनीहरुको बाबा बित्दा बहिनीसँग सम्पर्क गरेको थियो रे । 'मरेको मान्छे अब फर्किदैन । जिन्दगी सबैले आफ्नै लागि बाँच्नु पर्छ । धेरै पीर नगर । त्यस्तै होभनेर सम्झाउथ्यो रे । ऊ आफू भने आएन ।  यो माया भन्ने चिज पनि उधोमात्र बग्ने कस्तो बनाएछन् भगवानले ।  छोरा छोरी हुर्किउनजेल दुःख गर्यो, माया दियो,  बढायो, पठायो । ठूलो भए पछि उनीहरुको माया उनीहरुकै छोराछोरी तिरै सरिहाल्छ कि ?  घर छोडेर हिडे पछि खै कसका संगतमा पर्यो  । ऊ चार पाँच वर्षसम्म त फोन सम्म त गर्दैथ्यो । त्यसपछि त माया नै मार्‌यो । अहिले ऊ कहाँ छ कता छ केही अत्तो पत्तो छैन । उसले घरमा एक्ली आमाको ख्याल गर्न त के एक दिन आफ्नो बोली समेत सुन्ने अवसर दिदैन ।"  

आमाले यसो भन्दै गर्दा मैले आफ्नो विगतलाई सम्झिएँ । मलाई पनि सानो हुन्जेल, बिहा नहुन्जेल आमाबाबाले माया त गरेकै थिए । हुर्काए, बढाए, पढाए । पछि मैले मेरो घर परिवारसँग बिद्रोह गरेर हिडेपछि भने उनीहरु पनि मसँग रिसाए ।  मलाई आफ्नै माइती घरमा जान अनुमति छैन । के मेरो हकमा माया उँधो बगेको हो र ? कि यो माया कता कता बग्दैछ ?

आमासँग धेरैबेर पारिवारिक कुराहरु भए । बाबा त्यही गाँउको शिक्षक रहेछन् । हार्ट अट्याकले बितेपछि आमा घरमा एक्लै भएकी रहिछन् । समय बित्दै जाँदा गाउँमै एक्लै परेकाले त्यो ठाउँ नै छोडेर चर्चमा  बस्न आएकी रहिछन् । सोधें – "अनि चर्चमै चै किन आउनु भो त ? तपाई क्रिस्चियन जस्तो त लागेन ?"

"आनानी के क्रिस्चियन, के हिन्दु । म यो धर्म र राजनीतिको चैं कुरा खासै बुझ्दिन । मलाई बस्ने ठाँउ चाहिएको थियो । यहाँ डेरा खोजेर बस्न आएको, सबैले डेरा खोज्नु पर्दैन, यहीं चर्चमै बस्नु भने । उनीहरुको चर्च पनि रेखदेख हुने । मलाई बास बस्न पनि हुने । चलेकै छ ।"

"अनि उनीहरुले त्यसरी हिन्दुको जस्तो पूजा आजा नगर भन्दैनन् ? तपाईले चर्चमा बसेर चर्चको नियम बिपरित गर्नु भएको छ  ?"

"किन नभन्नु नि ! यहाँका साना तिनाले चै रिस गरेर खप्नु  खानु गर्दैनन् । क्रिस्चियन बन भन्छन् । बाइबल पढ रे । बप्तिस्मा हो कि के हो लिनुपर्छ रे । अस्ति एकपटक त मलाई निकाल्न पनि खोजे । फेरि एक दिन काठमाण्डूबाट अलि ठूला पादरी हो कि के हो आएका थिए, उनले गर्दा फेरि मलाई यहाँ बस्न अनुमति दिइयो ।"

मलाई थप जिज्ञासा भयो । पादरीले चै हिन्दु संस्कार अनुसार पूजाआजा गर्नेलाई कसरी चर्चमा बस्न दिए भनेर प्रश्न गरें ।

"नबुझेर भनेका रहेछन् यिनीहरुले । सबैको धर्म आफ्नो आफ्नो हुन्छ । आफ्नो किसिमले आफ्नो रीत गर्न पाउनु पर्छ भनेर पादरीले भने ।  गाउँकाहरुलाई पनि सम्झाए । बरु मैले शनिबार चैं यहाँ  मानिसहरु प्रार्थना गर्न आउनु भन्दा अघि नै पूजाआजा सिध्याउनु पर्ने भनेर शर्त राखेका छन् । शनिबार चै अलि चाँडै गर्छु । भ्याइन भने  यँही  कोठामा हो, चुप लागेर पुजा गरेपनि भयो । उनीहरुले देख्दैनन् । मन मनै त हरिभजन गाएको हो कि बाइबल पढेको हो कसलाई के थाहा ?"

कुराकानी जति गरे पनि सकिएका थिएनन् । बरु आमालाई काठमाण्डू लिएर जान पाए मेरा छोरीहरुलाई पनि  साथी हुने थियो । उनीहरुलाई पनि होस्टल बस्नुपर्ने थिएन । आमालाई पनि एक्लोपन हुने थिएन । आमाकै निमित्त समेत चर्चमा यसरी बस्नु भन्दा त काठमाण्डु जानु नै ठीक हुने थियो । छोरीसँग कुरा गर्न पनि उनलाई सजिलै हुन्थ्यो । तर आजै प्रस्ताब राख्नु भन्दा केही दिनमा विस्तारै उचित वातारण मिलाएर काम गर्नु पर्यो । यही सोचेर केही भनिन ।

करिब पन्ध्र दिन खोटाङ्गका विभिन्न स्थानमा आयोजनाको काम सकियो । फर्कने क्रममा बास बस्न पुनः लिक्चिराम्चे नै आइपुगियो । सोचेकी थिएँ, यसपाली आमालाई सकेसम्म लिएर जानु पर्‌यो ।  तर चर्चमा पुग्दा आमाको अत्तो पत्तो थिएन । सोधी खोजी गर्दा गाउँलेहरुले सात दिन अघि बिहानै रसुवा बजारमा देखिएको कुरा सुनाए । त्यहाँबाट उनी कता गइन्  कसैले भन्न सकेन ।  फोक्सिङ्टार पुग्दा सुनकोशी नदी त्यसै गरी शान्त भएर बगिरहेको थियो । रासुवाघाट देखि फोक्सिङटारसम्म नै मेरा आँखाले आमालाई यता उता खोजिरहे तर पाउन सकेनन् । जीवनमा कुनै बहुमुल्य चिज गुमाए जस्तो खिन्न र रित्तो मन लिएर बिराटनगर फर्किएँ ।   

 

Monday, May 31, 2021

कथाः भोग

कथाः भोग

-ऋषि शान्तिप्रिय


जेठको महिना । सत्र ठाँउमा हिलो बाटोमा मोटर साइकलमा पछारिदै  र उठ्दै  अफिस पुगेको थिएँ । माई नगरपालिका वडा नं. ७ को कार्यालयमा काम गर्न थालेको करीब तीन वर्ष भैसकेको थियो । भिजेका लुगा तथा गमबुटहरु धोइपखाली गरेर अफिसमै राखेका लुगा फेरेर बस्दै मात्र थिएँ । एक जना करीब ८० वर्षका मान्छेले कार्यालय प्रवेशसँगै लामो सुस्केरा हाले । बुढो शरीरलाई लट्ठीमा अड्याउँदै, मुसो झैं भिजेर, थरथर काम्दै कार्यालयमा आइपुगेकका रहेछन् ।  सोधें- "हजुरको के काम थियो ?"

-"......... मृत्यु दर्ता गर्नु थियो ।" अझै पिलपिलाउदो अनुहार लगाएर उनले आफ्नो कुरा भने । शुरुमा भनेको केही वाक्यांश बुझिन । बलेंसीको धररर... आवाजले छेकेको थियो उनको शब्द।

 मलाई लाग्यो- धेरै नै प्रेम गरिएको कोही थियो उनको । त्यस्ता मान्छेको मृत्यु दर्ता आँफैले गर्नु पर्ने बाध्यता पर्दा त्यसको मानसिकता के हुन्छ भन्ने कुराहरुको अध्ययन मैले यस अघि पनि धेरै नै गरिसकेको थिएँ । मैले यस वडा कार्यालयमा वडा सचिबको जिम्मेवारी सम्हालेपछि आर्जन गरेको अनुभव त्यही हो । भन्नलाई घटना दर्ता भनिन्छ । तर अरु घटना जस्तो होइन मृत्यु दर्ता ।आफ्नो आँखा भित्र लुकाउनु पर्ने मानिसको लागि अन्तिम अग्नी हो मृत्यु दर्ता ।जीवित आफन्तको कानूनी दागबत्ती हो मृत्यु दर्ता । दुखद मृत्यूलाई  र मृतकको बियोगलाई कानूनी रुपमा स्वीकार्न बाध्य गराउँछ मृत्यू दर्ताले ।

आगन्तुकको मनस्थिति बुझेपछि उनी झरी बन्नु अघि नै मैले अनुसुची फाराम निकाले र भरिदिन थालें । लेख्दै गएँ -  सूचकको नाम, मृतकको नाम, स्थायी ठेगाना, उमेर, मृत्यूको कारण.....

एउटा अनुसुची फारम भरिसक्दा थाहा भयो-  ती आगन्तुक त उनकी १४ वर्षकी नातिनीको मृत्यु दर्ता गर्न आएका रहेछन् । उनले अर्को पनि सुचना फारम भर्नु पर्ने बताए । त्यो पनि भरिदिएँ । दोस्रो सूचना फाराम थियो उनकै १५ वर्षिया अर्की नातिनीको । अनि फेरि तेस्रो फाराम भरिदिएँ उनको १७ वर्षका नातीको । एकै मितिमा खोलाले बगाएर मृत्यु भएका तीन जना सन्तानलाई कानूनी दागबत्ती दिन बुढाले ढुङ्गाको मुटु बनाएर मकहाँ आएका रहेछन् ।  आगन्तुक भन्दा अघि नै मेरो आँखा रसाइसकेका थिए । उनी तिर टाउको उठाएर हेर्न सकिन । के उनी मसँग सँगै रोइरहेका थिएनन् होला त  ? के उनका आँखा जीवन भर कहिल्यै ओभाउलान ?  मुटु मिचेर तीनवटा अनुसुची फारम भरिदिएँ ।  घटनाबारे मलाई थप जिज्ञासा भयो । केही भन्नको लगि उनलाई आग्रह गरें ।  पहिला त 'त्यो कालो दिनको बज्र प्रहारलाई कसरी भन्न सक्छु  ? बरु यसलाई कुनै तरिकाले बिर्सन पाए पनि हुन्थ्योभनेर आँशु पुछ्दै सुकसुकाइरहे ।  मैले  दुःख बाँड्दा  मन हलुका हुन्छ भन्दै धेरै नै जिद्दी गरेपछि त्यो दिनको कहानी छोटकरीमा भन्न बुढाबाबै राजी भए ।

उनी जन्मनु भन्दा अघि नै उनका बाबु मरेका रहेछन ।आमाले पनि उनको जन्मको बदला आफ्नो शरीर नै यमराजलाई अर्पण गरेकी रहिछन् । उनी काकीको दुध खाएर हुर्किएका रहेछन् । उनी भन्दा १ महिना जेठो दाजु छ काकाको छोरो । बाबुआमा नभए पछि आफ्नो छोरालाई झैं समान व्यवहार गर्न सकेनन् काका काकीले ।त्यस माथि पोलियोले गर्दा उनका खुट्टाहरु पनि लुला थिए । धेरै काम गर्न नसक्ने थिए । २०१२ साल तिर एक दिन काका र गाउँका अरु धेरै मान्छेसँग साथ लागेर शन्सरे बजार नुन बोक्न झरेका उनी अहिलेसम्म जन्मभुमि जितपुर तिर फर्केका छैनन् रे । त्यतिखेर त्यस्तै १५ वर्ष जतिका थिए । खोरिया फाँड्नेहरुको जमातमा लागेर आफ्नो भाग अलिकति फाँडेर त्यतै घरजम गरेका रहेछन् । अलिकति खेत बिराएर र केही बारी समेत थप गरी एउटा परिवार पालिन पुग्ने जग्गा जमिन कमाएर गुजारा गर्दै आएका रहेछन् । छोरा बुहारी र नाति नातिनाको धनी भएर मन भरी सुखै सुख लिएर सन्तोषको जीवन बाँच्न थालेका रहेछन् ।

यसै बिचमा तीनबर्ष अघि एउटा बज्रपात भयो उनको जीवनमा । उनका छोरा र बुहारीलाई त्यही माई खोलाले निल्यो । साउने सङ्क्रान्तिको लागि किनमेल गर्न शुक्रबारे बजार जाँदा डुङ्गा दुर्घटनाले उनको ढकमक्क फुलेको फुलको पत्रबाट सुन्दर दुई पत्र चुँडालिदियो । उनी साह्रै शोकमा परे । नपरुन पनि किन ? संसारमा आफ्नै छोराको अर्थी उठाउनुको दुःख कसैले कल्पना गर्न सक्ने भन्दा ठूलो दुःख हो । आफूलाई जसो तसो सम्हालेर छोराको नासो नाती नातिनाको जिम्मा लिई मन बुझाएर बसेका रहेछन ।

"बाबुआमा बितेको तीन वर्ष पनि नबित्दै हुर्किसकेका नाती र नातिनीहरुलाई त्यही खोलाले बगायो । आँखै अगाडि उनीहरु भेलमा पसे । कति खोजियो, लाससम्म फेला पार्न सकिएन......." त्यसपछिको कष्टकर कहानीलाई बुढाले एकै सासमा भने र लामो सुस्केरा हाले । उनका आँखाको भेलले उनको दुःखलाई कसै गर्दा बगाउन सक्दैन । उनको कहानी सुनेर मलाई लाग्यो, दैब भन्ने न्यायकर्ता छ र कतै ? या त छैन, या त त्यो न्यायकर्ता नभई अन्यायकर्ता र पीडक हो । नत्र किन एकै व्यक्तिको जीवनमा पीडा माथि पीडा थपिदिन्छ ? कति परीक्षा लिन्छ एउटा अपाङ्ग बेसाहाराको ?

उनी अरु थप भन्दैथिए । "त्यही खोलाले मेरो छोरा बुहारी खायो, नाती नातिनी खायो । अनि मलाई चै किन खाँदैन ? खान्थ्यो पनि होला, म त्यही खोलामा फाल हाल्न सक्दिन ।अहिले सर्खारले पुल हालिदियो, मोटर चल्ने...

... कन्काइ हाइस्कूलको कक्षा १२ मा पढ्थ्यो नाती । साह्रै जाति थियो । आफ्नो बाबुआमा बितेपछि घरको सबै जिम्मा लिई बसेको थियो । बहिनीहरु त्यही स्कूलमा १० र ९ कक्षामा पढ्दै थिए । साह्रै माया गर्थ्यो बहिनीहरुलाई पनि

 । स्कूल हिडेंका त्यस्ता लाउँलाउँ र खाउँखाउँ उमेरका नानीहरुको भोग खायो यो पुलले ।"

त्यसो त माई खोलाले वर्षैपिच्छे महमाईका मानिसहरु निल्थ्यो । वर्खा लागे पछि महमाई एउटा टापुमा परिणत हुन्थ्यो । उत्तर, पुर्व र दक्षिण तिर माईको छेको हुन्थ्यो । तर्नलाई कसैको पिताम् चल्दैनथ्यो । पश्चिम तिरको झोडाको बाटोमा सयौं खहरेहरुले छेक्थे । कि त प्राणको बाजी थापेर पारी जानु पर्थ्यो कि त चुपचाप आफूसँग जे छ, त्यसैमा सन्तोष मानेर बस्नु पर्थ्यो, हलचल नगरी । उनले आफ्नो कथा सकेसम्म छोटकरीमा सुनाएर हिक्क हिक्क गर्दै रुन थाले । मैले आजभन्दा २० वर्ष अघिको आँफैले भोगेको कथा सम्झिएँ ।

****

कलकत्तेबाट फर्किदा खेरि माई खोलामा केही पानी बढेको जस्तो देखिएको थियो। हिजो पानी कम्मर कम्मरसम्म मात्र थियो । यति पानी भनेको दानाबारी तथा महमाईका मान्छेका लागि अति साधारण कुरा हो । तर हिजोको एकै भङ्गालो भई बगेको पानी आज दुई ठाउँबाट बगिरहेको देखिएको थियो । मनमा लाग्यो - 'पहाड तिर अलिअलि पानी परेछ ।पानीमा टेक्न पनि डराउने मान्छे थिएँ । दानाबारीको बसाईले मलाई पानी देखि नडराउने बनाइसकेको थियो ।  खोलामा पस्ने बेलामा अरु पनि मान्छे बिस्नेटार तिरबाट आएको देखेर थप आश्वस्त पनि भएको थिएँ -  खोला तर्न सकिएला भनेर ।

पहिलो जङ्घार मेरो लागि नौलो थियो । हिजोको बगरमा पानीले आज धेरैजसो अड्डा जमाइसकेको थियो । पानीको बहाब बिचार गरेर खुट्टाले नै जमिनको सतह थाहा पाई सन्तुलित भई हिडेमात्र पारी पुग्न सकिन्छ । खोला तर्ने  सिद्धान्तको यस विषयमा म जस्तो दुई चार दिन दानाबारी बसेर सिक्नेहरुका लागि ठूलै कुरा हुन्थ्यो । मेरा लागि पहिलो जङ्घार नै निकै चुनौतिपुर्ण भएको थियो । साँच्चै नै जङ्घार तर्नु थियो, तिघ्रा कमाउनु थिएन । मनोबल सकेसम्म दह्रो बनाएर पाइला चालें । पहाड मधेश गरिरहने काकाका छोराहरुले माई खोलो तरेका विभिन्न कथाहरु सुनाएका थिए । तिनै कथाहरुको सम्झना गरें । साउनका भेलमा समेत खोलो तरेको साहासिक कथाहरु सम्झेर आफूलाई कमजोर हुन पटक्कै दिइन । आजको दिन साउन पनि थिएन । यो त बैसाखको अन्तिम तिर थियो । बैसाखको मध्य दिनको धुपमा पानी खेल्ने ठाउँको कथा थियो यो । 

खुट्टाले बालुवा सरर बगिरहेको अनुभब गरिरहेको थियो । जमिन पनि अलि कति कमजोर नै थियो । टेकेको ठाउँको बालुवा पानीले तुरुन्तै बगाइहाल्ने भएकोले तुरून्तै पाइला चालि हाल्नु पर्थ्यो नत्र लडिने डर हुन्थ्यो ।  पानीको सतह क्रमशः बढीरहेको थियो । पानीको धार पनि पहिला भन्दा अलि धेरै नै थियो । नत्र चण्डालघाटमा आइपुग्दासम्म माइखोला निक्कै नै लोतो गरी बग्न थालिहाल्नु पर्ने हो । यसै खोलाको माथिल्ला जङ्घारहरु सिस्ने, घण्टे, निर्फुक, बेलासीहरुमा पानी निक्कै नै बेगले बग्ने गर्छ । त्यसैले त्यहाँ खोला तर्न निक्कै नै जमेर बगेको ठाउँ खोज्नु पर्छ । तर यहाँ जङ्घार खोज्न त्यति धेरै मिहिनेत गर्नु पर्दैन थियो ।  तर आज के भइरहेछ ?

पहिलो जङ्घारमा करीब एक सय मिटर तल पुगेर पारी उत्रिएँ । एउटा फराकिलो सडक जत्ति नै ठाँउ छोडेर दोस्रो जङ्घार शुरु हुन्थ्यो । मेरो मूल सातो त्यही पहिलो जङ्घारले लगिसकेको थियो । दुईपट्टि खोला बिचको टापुमा म एक्लो यात्री उभिएको थिएँ । अघि देखिएका बिस्नेटार तिरका युवा साथीहरुलाई हेरें । उनीहरु बगरबाट बिस्नेटार तिरै फर्किरहेका देखिए । के उनीहरु खोलो कति बढेछ भनी हेर्न मात्र आएका थिए ? कदाचित् तिनीहरुमा खोलो तर्न आँट पुगेन होला त ? खोलो तर्ने साथीहरु पनि छैनन् भनेर पूर्ण रुपमा पुष्टि भयो । मेरा लागि नितान्त एक्लै माईखोलासँग युद्ध गरेर पारी जानु पर्ने भन्ने संकेत पनि थियो यो । हुनत हिजो आफ्नै खुट्टाले हिडेर तरेको जङ्घार थियो त्यो । त्यही सोचेर आफूलाई थप तयार पार्दै लगें । हिजो कम्मरसम्म आएको पानी आज अर्को जङ्घारबाट पनि बगेको छ । त्यसैले सोचें- कति बढी नै पो होला र ? त्यसपछि दोस्रो जङ्घार तर्नलाई पाइला अघि बढाएँ ।  पानीमा पसें ।

 पहिलो जङ्घार करीब १० मिटर चौडाइको थियो होला । दोस्रोलाई किनारबाट नियाल्दा यसको चार गुणा  देखिन्थ्यो । किनारमा बसेर गरेको अन्दाज थियो त्यो । करीब मध्यतिर पुगेर  पछाडि फर्किएर किनार नियालें । तर्दै गरेको खोलो समुद्र जस्तो देखियो । पानीले छातिमात्र छोएको थियो ।  त्यसो त अघि नै घाँटीसम्म आउने पानीसँग परिचय भैसकेको थियो । बहाबलाई काट्दै दक्षिण तिर फर्किएर अलि अलि पुर्ब तिर छड्किदै थिएँ ।  अब पार लगाइएला जस्तो महसुस गर्दै थिएँ । पानीको सतह नबढे त के थियो र जति सुकै फराकिलो भए पनि खास फरक पर्ने थिएन ।

सोचे जस्तो मात्र कहाँ हुने रहेछ एक दुई पाइला अघि बढ्दैमा पानीको सतह माथि आइहाल्यो । अघि बढ्दैछु, पानी अझ बढ्दैछ ।  छाती छोपियो । पछाडि भिरेको सानो झोलामा जुत्ता र एक जोर लुगा थिए- सबै भिजे । त्यसलाई छुट्टै बगाउन खोज्छ । पछाडिको झोलाले आँफैलाई तान्न खोज्छ । निकै बेर घम्साघम्सी भैरह्यो । सम्भवतः खोलाको सबैभन्दा गहिरो ठाँउ थियो त्यो- पानीले तल्लो ओठ छोयो । भगवान भन्दा अरु सम्झन सकिन ।  सम्झनु मात्र न थियो । भगवानले त्यहाँ कसरी बचाउदा हुन् र ? मनोबल दरो बनाउदै अघि बढ्नु भन्दा अर्को विकल्प थिएन । सबैतिर समान रुपले बगेको र भुमरी नपरेको पानी भएकोले डुबेरै भए पनि हिडिरहन्छु जस्तो आँट पलायो । पछाडि फर्कने कुरै थिएन । खोलाको चौडाइको हिसाबले एक तिहाइ पानी पार भैसकेको थियो । मैले खोलो पुरै पार लगाएँ भन्ने अनुमान लगाएँ । पारी किनारमा डिपु डाँडाबाट मान्छेहरु झरेका रहेछन् । खोलाको बाढी हेर्न ।   

ओठसम्म पानी आएपछि भने बहाबकै दिशामा सिधै उँधो तिर हिडें । छड्किन सकिन । केही तल गए पछि पानीको सतह घट्यो तर बेग अझ तिब्र भयो । पानीको तीब्र वेगले मलाई उभिन दिएन ।मेरा खुट्टाले जमिन टेक्न सकेनन् र म पानीमा तैरिन पनि सकिन । मलाई माईको जल प्रवाहले बगाउन थाल्यो । जतिनै उत्रने वा सिधा भई भुईं टेक्ने प्रयास गरेपनि मैले सकिन । मुख खुलेका बेला दुई घुट्की पानी  निलियो । त्यसपछि म लाचार भएँ । थाहा छैन मलाई कति तल सम्म बगायो । म पानीमा डुवेर मरें भन्ने आफैलाई निश्चय भयो । प्राण जानु भन्दा अघिको तन्द्रावस्था थियो यो ।अर्थात वेहेश अवस्थामा थिएँ कि ?

म बादलमा तैरिदै तैरिदै कतै जाँदै थिएँ । उड्न पनि कति सजिलो हुँदो रहेछ । मलाई चराजस्तै उडेको अनुभव थिएन ।तर कसरी हो, शरीर र हात खुट्टाको सन्तुलन मिलाउँदा उडिदो रहेछ त । यत्रो जीवनमा यति जाबो काम गर्न जानिएन छ । यही सोच्दै म झन झन माथि उडिरहें। आकाशको अन्त्यमा एउटा गेट आयो । गेटमा  भित्रपट्टि जान टिकट देखाउनु पर्दो रहेछ । मँसग टिकट होला भनी सबै गोजीमा छामें । अँह ! मसँग टिकट थिएन ।त्यसपछि त्यही उभिएको डिपुडाँडाको गोपाल दाइले एक झापड लगाए । टिकट नलिइ आउने हो भनेर ।

उनको झापड हनाइसँगै म झसंग भई बिउझिएँ । मेरो मुखबाट हुलुक्क गरेर धमीलो पानी निस्कियो । म माईखोलाको पुर्वी किनारमा लडिरहेको थिएँ । गोपाल दाइ मेरो पेट थिच्दै पेटको पानी निकाल्दै गर्दै थिए । मैले आँखा खोल्दा डिपुडाँडाबाट आउने रमितेहरु वरिपरीबाट मलाई नै हेरिरहेका थिए । उनीहरु आत्तिइरहेका थिए ।गोपाल दाइले म होसमा आएको थाहा पाएर थर्काए- "हैन तपाई आफूलाई के ठान्नु हुन्छ ? कि मर्ने नै बिचार हो ? पौडी खेल्न समेत नजान्ने मान्छे यसरी बाढीमा पस्ने हो त ?"

त्यसपछि मात्र मैले आफूले कत्रो गल्ती गरेको रहेछु भनेर बोध भयो । केही उत्तर दिन सकिन । त्यो कहाली लाग्दो माई खोलाको बाढीसँग जुधेको र मृत्युको मुखबाट फर्किएको सम्झेर एकातिर मन हर्षित भयो भने अर्को तिर सम्भावित जोखिम सम्झेर पैताला चिसा भएका थिए । मनमनै उद्दार गर्ने डिपु डाँडाका रमितेहरु तथा विशेष गरी गोपालदाइलाई धन्यबाद दिएँ । साँच्चै भन्ने हो भने त्यस्तो बाढी आएको खोलो तरेर आउनै पर्ने आकस्मिक काम पनि थिएन मेरो । यो त अति साधारण कामका लागि अज्ञानताबस लिइएको जोखिम थियो ।

***

आफ्नो कर्तव्य त गर्नै पर्यो -  मन आँफै मृत्युको मुखबाट फर्किएको सुखद (?)  र आगन्तुक बुढा बाबैको आँशुको कहानीले अमिलो भएको थियो । बुढाले गुमाएका सम्पूर्ण परिवारहरुको तुलनामा मेरो कथा लाजमर्दो भयो । एक पटक झण्डै मर्दैमा यसलाई कथा भन्नु पर्ने के थियो र ? मरकै त होइन नि !  बुढाले कत्रो दुःखको खोला तरेर आएका रहेछन् सम्झेर एक प्रकारले मन भरङ्ग भयो । मनमा गाँठो पार्दै तीनै जनाको मृत्यु दर्ता प्रमाण पत्र बनाइदिएँ ।अनलाईन तथा कार्यालयको अभिलेख रजिष्टरमा चढाए पछि काम सकियो । बुढाबा भन्दै थिए-  "नानी जस्तै थियो मेरो छोरो पनि । नानीलाई देख्दा आफ्नै नाति जस्तो लागेर म त शुरुमै ब्याकुल भएको थिएँ । जिद्दी गर्ने स्वभाव पनि मेरो नातिकै जस्तो ..."

"बा पनि एक्लै हुनुहुदो रहेछ, मेरो घर त्यहीं शनिश्चरे त हो नि। कैले काँही न्यास्रो लाउदा आउनुहोला । अहिले त माईमा पुल पनि हालेका छन् । गाडि चलिहाल्छ । अब त खोलाले बगाउदैन नि !"  मैले बुढालाई आफ्नोपनको सकेसम्म अनुभुति दिलाउने कोशिश गरें ।

"साह्रै धेरै मान्छेको भोग खायो नानी, पापी खोलाले !"  उनले आफ्नो लौरोले माई खोलालाई देखाएर सरापे । भने- "हुन्छ नानी अब त एक्लो बुढो बाँकी रहेको छु, जे होला । सकेंछु भने शन्सरे तिर आउछु नि !"

यसपछि मसँग बिदा भई ती आगन्तुक आफ्नो घरतर्फ फर्किए । उनी निस्कदा पानी पर्न रोकिएको थियो ।माई खोलाको सुसाईलाई बतासले यतै तिर बोकेर ल्याउदै थियो । त्यो भोग खाएर अघाएको माईखोलाको सन्तुष्टि थियो कि ?

अस्तु

२०७८/०२/१३

शनिश्चरे, झापा