Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Tuesday, November 5, 2024

दशैं : नेपालीहरूको कि हिन्दुहरूको ?

 


दशैं : नेपालीहरूको कि हिन्दुहरूको ?

 

चन्द्रमासमा आधारित वर्ष गणना विधिअनुसार हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापना गरेर विधिवत जमरा राखेपछि दशैं पर्व शुरू भएको मानिन्छ । यसका विशेष दिनहरूमा आश्विन शुक्ल सप्तमीलाई फुलपाती, अष्टमीलाई महाअष्टमी, नवमीलाई महानवमी र दशमीलाई विजया दशमीको रूपमा मनाउने चलन छ । विशेष गरेर विजयादशमी र तत्‍पश्चात पुर्णिमासम्म मान्यजाहरूबाट दशैंको टीका र जमरा लगाई आशिर्वाद थाप्ने छ । केही दशक अघिसम्म यसलाई आम नेपालीको पर्वको रूपमा मनाइदै थियो भने अहिले यसलाई हिन्दूहरूको मात्र हो भनी संकुचित रूपमा ब्याख्या गर्ने क्रम बढेको छ ।

के यो हिन्द्हरु मात्रको पर्व हो त ? यसतर्फ बिचार गर्दा नेपालमा २०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार हिन्दू धर्म मान्ने जनसङ्ख्या ८१.१९ प्रतिशत छन् । बाँकी १८.८१ प्रतिशत जनसङ्ख्या बौद्ध, इस्लाम, ईसाई तथा किराँत लगायत अन्य धेरै किसिमका धर्म मान्नेहरू छन् । हिन्दूहरूको करीब आधा जनसङ्ख्या तराईमा बस्छ । तथापि तराईको हिन्दू सम्प्रदायले मनाउने दशैं र पहाडी समुदायमा मनाउने दशैंको तौर तरिकामा आकाश जमिनको फरक छ । त्यसैले पनि यो हिन्दूहरूको पर्व हो भन्नु त्यति उपयुक्त नहोला । अर्कोतिर पहाडी समुदाय, जो आफूलाई हिन्दू नभई किराँत वा यस्तै अन्य प्राकृतिक धर्म मान्ने बताउदै आएको छ, उनीहरूको दशैं मान्ने आफ्नै परम्परा र मौलिकता छ । हिन्दू वा बौद्ध धर्म मान्ने नेवार समुदायले दशैंका हरेक दिन विभिन्न शक्ति पीठहरूमा पुजा अर्चना गरेको देखिन्छ । नेवाः सम्प्रदाय धार्मिक सहिष्णुता र अन्तरसम्बन्धको फराकिलो फाँट हो। पशुपतिमा बुद्ध मुकुट पहिर्‍याउने चलन पनि नेवाः सम्प्रदायको मौलिकता हो।
यसरी हेर्दा दशैं पर्व कुनै धर्म विशेष वा जातजाति विषेशले मात्र नभई नेपालको पहाडको समुदायमा धुमधामसँग मनाइने  गरेको देखिन्छ । फरक फरक समुदायमा आफ्नै मौलिक विधिअनुसार मनाइने गरेको देखिन्छ । साँस्कृतिक अन्तरघुलनले गर्दा पहाडी समुदायबाट उद्गम भएको यो पर्व विस्तारै आम नेपाली जातिमा फैंलदो क्रममा रहेको देखिन्छ । त्यसो त भारत लगायत विश्वका विभिन्न गैरनेपाली हिन्दू समुदायहरूमा नवरात्र, दशहरा आदि नामले यो पर्व मनाउने गरिन्छ । समुदाय अनुसारका मौलिक परम्परा तथा विधिले गर्दा यी सबैलाई दशैंको रूपमा नै बुझ्ने कि नबुझ्ने भन्ने प्रश्न मात्र बिचारयोग्य छ ।

अर्को एउटा विषय आज अझ गम्भीर भएर हामी माझ खडा भएको छ। त्यो के भने कतिपय मानिसहरूको धारणामा क्रमशः थपिदै गरेको दशैं प्रतिको नकारात्मकता । कहिँ कतै त सेतो टीका लगाउने समुदायका मानिसहरूले रातो रङ्ग चै आफ्नै पुर्खाको रगत भएको ब्याख्या गर्ने गरेको देखियो,  सुनियो। दशैंको रातो टीका र जमरालाई ब्राह्मणवाद अझ भनौं पुरेतवादसँग जोडेर आफू हिन्दू धर्म वर्णित राक्षस सम्प्रदायको भएको र आफूलाई मारेर त्यसको विजयोत्सबको रूपमा बाहुनहरूले दशैं मनाएको भनी ब्याख्या गरेको समेत पाइयो । तर यी भनाइमा के कति सत्यता छ र त्यसको वास्तविकता के हो भन्ने खोजी गर्ने प्रयास भएको भने साह्रै थोरै मात्र देखियो।

रातो रङ वा अविरको आयातपूर्व सर्वत्र सेतो टीकाको प्रयोग गरिन्थ्यो भनी जानकारहरू बताउँछन् ।  टीकालाई आकर्षकता प्रदान गर्न रातो रङको प्रयोग गरिएको हो भनी बुझ्न अब गरो भएन ।

दशैंमा पढिने दुर्गा माताको प्रार्थना समेटिएको दुर्गा सप्तसतिको (चण्डी) केहि प्रसङ्गहरूको विश्लेषण गरी माथिको अनुच्छेदमा भनिएको कुरामा त्यति धेरै सत्यता नरहेको जिकीर गर्न चाहन्छु ।

मार्कण्डेय पुराण अन्तरगत देवी भागवतको सावर्णिक मन्वन्तरको देवी तथा दानवहरूको लडाँइको प्रसङ्ग तथा त्यस युद्धका रोमाञ्चक प्रसङ्गहरूको वर्णन दुर्गा सप्तसतिमा गरिएको छ । कथामा एक जना समाधी नामक ब्यापारी (वैश्य) तथा सुरथ नाम गरेका राजा  आफूसँग भएको सबै कुरा हारेर, गुमाएर कसरी मेधा ऋषिका शरणमा पुग्छन् र कसरी आफ्नो मनकामना पूरा गर्न सफल हुन्छन् भन्ने प्रसङ्गलाई मार्कण्डेय ऋषिले वर्णन गरेका छन् । अनि मेधा ऋषिले श्रीदुर्गा भवानीको प्रार्थना गरेर सम्पूर्ण देव समुदायलाई विजय गरी सत्ताच्यूत गर्न सक्ने बलशाली दानबहरूलाई देवी एक्लैले के कसरी विजय प्राप्त गर्छिन् भन्ने कथा सुनाउदै त्यस्ती शक्तिशाली देवीको आराधना गरेमा मनोकामना पूरा हुने तथा विजय प्राप्त हुने बताउछन् । कथामा देवीका विभिन्न स्वरूप जस्तै कौमारी, ब्राह्मी, सरस्वती, माहेश्वरी, महाकाली, शिवा आदिलाई सत्यको प्रतिकका रुपमा तथा दानवहरू जस्तैः धुम्रलोचन, महिषाशुर, चण्ड, मुण्ड, रक्तविज, कालेय, कालकेय, शुम्भ, निशुम्भ, लगायतका पात्रहरूलाई असत्यको प्रतिक पात्रको रूपमा व्याख्या गरिएको छ । मातृ शक्तिद्वारा दानव प्रवृत्तिमाथि भएको यही विजयलाई नै विजया दशमीको रूपमा मनाउन थालिएको भनिएको छ । आश्विन शुक्ल प्रतिपदादेखि नौ दिनसम्म उनै दुर्गाको नौ वटा विभिन्न रूपको पूजा आराधना गरेर नवरात्री मनाउने गरिन्छ । यस ग्रन्थमा श्री दुर्गा भवानी तथा मातृशक्तिको पवित्रता तथा शक्तिको चर्चा, प्रशंशा र आराधना गरिएको छ । यसको उत्कृष्ट एक श्लोक भन्नु पर्दा निम्न श्लोकलाई छनौट गर्नु उपयुक्त हुन्छः

कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति ।

अर्थात पुत्र खराब हुन सक्ला तर आमा कुनै पनि हालतमा खराब हुदिनन् । सप्तसतिमा दुर्गा भवानीको शरणमा पर्ने  जति सबैको उद्दार गर्ने क्षमता भएकी देवीको रूपमा उनको प्रार्थना गरिएको छ ।

शरणागत दीनार्त परित्राण परायणे

सर्वस्यार्ती हरे देवी नारायणी नमोस्तुते ।

माता दुर्गाको उपाशना पश्चात् विजया दशमीको दिन आशिर्वाद दिंदा धार्मिक साहित्यमा भएका विभिन्न पात्रहरूको झैं उत्कृष्टता प्राप्त गर्न सफल हुनु भन्ने आशिर्वाद दिने चलन छ। उदाहरणको निमित्त द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होओस्, दशरथ राजाको जस्तो श्री होओस, नहुष राजाको जस्तो शत्रुको नाश होओस, पवन वा हावाको जस्तो वेग वा गति होओस आदि। यो बाहेक कुनै उपमा नदिइकन वा पात्रसँग तुलना नगरी कुशल रहनु, चिरायु हुनु, गाई तथा धनधान्यको वृद्धि होओस, शत्रुहरू नाश होउन् जस्ता आशिर्वादहरू पनि दिने गरिन्छ । पहाडी सम्प्रदायमा माइती पक्षका तल्लो पिंढीले समेत चेली तर्फका माथिल्लो पिंढीलाई टीका जमारा लगाई आशिर्वाद दिने प्रचलन देखिन्छ।

यो मौलिक अनि अलौकिक परम्परा हो। ग्रन्थ पनि अलौकिक भएकोले गर्दा यहाँका सबै पात्रहरू काल्पनिक हुने नै भए । ग्रन्थ पढ्दा पात्रहरूलाई साङ्केतिक रूपमा मात्र बुझ्न उपयुक्त हुन्छ। होइन, यो भएकै घटना हो र देउता पक्षका फलाना अनि दानव पक्षका ढिस्काना भनी कुनै पण्डितले ब्याख्या गर्छ भने उसले आफ्नै ग्रन्थको अपव्याख्या गरी आफ्नै पण्डित्याईंको खिल्ली उडाएको ठहर्छ । यस्तो प्रवृत्तिले गर्दा हाम्रो संस्कृतिले विक्रितिको रूप लिन्छ र समुदायहरूबिचमा स्पष्ट विभाजनको रेखा कोरिन्छ । स्वभाविक छः साँस्कृतिक रूपमा हामी कमजोर भयौं भने अर्को कुनै बलियो वा बहुसङ्ख्यकको सँस्कृतिले हाम्रो मौलिकतालाई खाइदिन्छ । अनि कुनै समुदाय विशेषले हामी देवता पक्षका हौं भन्नु भनेको विशुद्ध पुरोहितवाद र पाखण्डताको अहंकार मात्र हो भने कुनै समुदायले हामी दानब पक्षका हौं, हाम्रा पुर्खालाई मारेर त्यही रगतमा कसैले होली खेलेको सम्झनु झन् हीन ग्रन्थीद्वारा आफ्नै समुदायको आँफैले अपमान गर्नु मात्र हो ।


वास्तवमा भन्ने हो भने हामी मानव जातिमा कोही पनि दानव जातिको छैन । हामी सबै देवताकै अंश हौं। मान्छे भित्र दानव प्रवृत्तिको प्रवेश भयो भने चाहिं जो कोही दैत्य वा दानव बन्न सक्छ। उदाहरणको लागि तपाईं चोरी डकैती गर्दै हिड्नु हुन्छ, अरुलाई दुःख दिनु हुन्छ, महिला हिंसा, व्याभिचार गर्नु हुन्छ भने तपाईंमा दानव प्रवृत्ति छ । यसलाई तपाईंले आफूमै सुधार गरेर देवत्व भर्नु नै दानव माथिको विजय हो । यो कुरा हिन्दू मात्र नभएर बौद्ध, ईसाई, इस्लाम लगायत धर्म ग्रन्थका विभिन्न प्रसङ्गमा साङ्केतिक रूपमा धेरै ठाँउमा उल्लेख गरिएको पाइन्छ।


अर्को प्रसङ्गमा त्रेता युगमा विष्णु भगवनाका आठौं अवतार रामले रावण माथिको विजयलाई लिएर हिन्दूहरूले विजया दशमी वा दशैं मनाउन थालिएको भन्ने कुरा पनि कतै कतै सुनिन्छ । अनि यो दशैं चैं चैत्र शुक्ल नवमी तथा दशमीमा मनाउने गरिएको भनिएको छ । आज पर्यन्त चैते दशैंको रूपमा यो पर्व मनाइदै आइएको छ । विशेष गरी राम नवमीको विशेष महत्व छ । कसैले त भन्छन् यही दशैंलाई उपयुक्त मौसम र आम मानिसको फुर्सत् समेत विचार गरी आश्विन शुक्ल पक्षमा सारिएको हो । तर यसलाई पुष्टि गर्ने धार्मिक साहित्यहरू भेटिदैनन् । यही किंबदन्तिलाई लिएर पनि समुदायहरूमा कित्ताकाट गर्ने प्रवृत्ति नदेखिएको होइन । तर हामी मध्ये न कसैलाई राम वा रावणको पक्षको हुन जरुरी छैन ।

त्यसो त रामायणका लेखक पिच्छेका अलग अलग विश्लेषण र घटनावलीहरू हेर्दा यो विशुद्ध साहित्यिक रचना हो भन्ने स्पष्ट छ । अर्को कुरा रावण दानव हो भन्ने विषय पनि विवादित छ । दैत्य कूल भनेको दिती तर्फका सन्तान दर सन्तानलाई भनिएको हो । राक्षस वा दानवलाई होइन। ऊ शिव भगवानको अनन्य भक्त थियो । धनको देवता कुवेरको दाजुभाइ थियो, लङ्काको जनप्रिय राजा थियो। समृद्ध लङ्का निर्माणमा उसको अहम् भुमिका थियो। यता राम अयोध्याका राजा थिए। उनी सत्ताको पारिवारिक दाउपेचबाट देश निकाला भएका थिए । उनका भाइ लक्ष्मणले रावणको बहिनी सुर्पणखा प्रति गरेको बेइजतीको बदला स्वरूप रावणले रामकी पत्नी सीतालाई अपहरण गरेको थियो । अपहरण गरे पनि सीताको इच्छा विपरित रावणले जवरजस्ती उनीमाथि व्याभिचार गरेको थिएन । यसर्थ पनि रावण राक्षस वा दानव हो भन्ने ठाँउ छैन । फेरि राम आफू पुरुषोत्तम भएको बहानामा सीताको बिनाकारण अग्नि परीक्षा लिदै थिए भने अग्नी परीक्षा उत्तीर्ण भइकेकी सीतालाई एउटा मामुली चराको कुरा सुनेर त्याग्दै थिए। त्यसैले आधुनिक समाजमा राम आँफै विवादित छन् । उनले मर्यादा पुरूषोचित व्यवहार गरे वा नगरेको भनी ।


यी त भए राम रावणका कुरा। तथापि मैले आश्विन शुक्ल मासमा मानिने दशैंको सम्बन्धमा राम रावणसम्बन्धी साहित्य पढेको छैन। मेरो बिचारमा दशैंको पृष्ठभूमि दुर्गा माता तथा दावनहरूकै प्रसङ्ग अर्थात देवी भागवतको सावर्णिक मन्वन्तरको कथा नै हो।


आजको युग विश्वव्यापीकरणको युग हो । सूचनाको युग हो । विश्वव्यपीकरणले साँस्कृतिक हस्तान्तरण र विनिमयको माग गर्दछ । हिजो कसले के गर्यो कुन समुदायको मौलिक साहित्यको प्रभावबाट कुन पर्व मनाउन थालियो भन्दा पनि आजको सामुदायिक र साँस्कृतिक प्रवृत्ति कता तिर जाँदैछ त्यो महत्वपूर्ण हुन्छ । मानिसहरू कस्ता सँस्कृतिमा रमाउँदैछन् भन्ने विचार गर्नु पर्छ । विश्वव्यापी रूपमा फैलिएका ठूला समुदायका सँस्कृतिले हाम्रो जस्तो सानो समुदायको सँस्कृति हराउला कि भन्ने चिन्ता एकातिर छ भने हाम्रो जस्तो सानो भूगोल र समुदायमा रहेको संस्कृतिलाई विश्ववयापी बनाउने अवसर हामीलाई त्यही विश्ववयापीकरण र प्रविधिले दिएको छ । फलस्वरूप हिन्दुहरू हालोविन र क्रिसमसमा समेत रमाउन लाग्दा युरोपियन इसाइहरू कृष्ण भजन र हिन्दु मौलिक संस्कृतिमा रमाउन थालेका छन्। यहाँ आउने विदेशी पर्यटकहरूले यहाँको विवाह परम्परा अनुरूप विवाह गरेको समेत यदाकदा देखिएको छ । यस्ता घटनाहरूलाई नकारात्मक रूपमा किमार्थ हेर्न हुदैन । यसले त विश्वलाई एक बनाउँछ । विश्ववन्धुत्वको भावना अभिवृद्धि गर्दछ । नेपालभित्र बसोबास गर्ने हामीले नै एक अर्काको चाड पर्वलाई अपनत्व ग्रहण गरी रमाए मात्र हाम्रो सँस्कृति बलियो हुनेछ । जब एउटा बाहुन वा क्षत्री लिम्बूको पालम तथा राई किराँतको साकेलामा रमाउँछ र जनजातीहरूले दशैं तिहार तिज जस्ता चाडमा रमाउँछन् तबमात्र हाम्रो विशाल हृदयमा नेपाली संस्कृति मौलाउँछ । नेपालभित्र मनाउँने सबै जातजातिका सँस्कृतिहरू, चाडपर्वहरू आम नेपालीका नीधि हुन । हामीले अरूको संस्कृतिको सम्मान गर्दै आफ्नो मौलिक संस्कृतिलाई सामयिकीकरण र विक्रितिहरूको निरन्तर सुधार गरी सही व्याख्या तथा अभ्यास गरेमा हामी साँस्कृतिक उत्थानशीलता तर्फ उन्मुख हुनेछौं।त्यसैले दशैंको सम्बन्धका माथि भनिएका (र नभनिएका समेत) कुनै पनि खाले विभाजित मतहरूको आजैदेखि अन्त्यको आह्वान गर्दै हिन्दुहरूको मात्र पर्वको रूपमा अर्थ्याउन लागिएको यो पर्वलाई सारा नेपालीको पर्वको रूपमा बुझी आफ्नो मौलिक परम्परा र पारिवारिक सम्प्रदायिक प्रचलन अनुसार उल्लास पुर्वक मनाउन लेखक अग्रह गर्दछ । यसले नेपाली राष्ट्रिय एकता अखण्डता तथा सार्वभौमिकता समेत बलियो हुने अपेक्षा गर्न सकिन्छ ।

Wednesday, June 7, 2023

लेखः पृथ्वीनारायणः हाम्रो इतिहास

 

(लेख)

पृथ्वी नारायणःहाम्रो इतिहास

-          जनार्दन कट्टेल

हाम्रो देशमा राजनीतिलाई नयाँ फण्डा र नयाँ नाराले तताई राख्ने र सत्ताको भर्‍याङ बनाउने प्रवृत्ति २०४६ को प्रजातन्त्रको पुनर्स्थापनादेखि यता बढ्दो क्रममा देखिएको छ । यस अघि एकीकृत नेपालको शुरुवाती कालदेखि नै दरवार भित्रै हुने गरेका हत्याका शृङ्खला, पर्व, काण्ड जस्ता परम्परागत शक्तिको प्रयोगलाई सत्ता हात पार्ने औजारको रुपमा प्रयोग गरिन्थ्यो भनी जग जाहेर भएकै कुरा हो । चीनका शासक माओले सत्ता बन्दुकको नालबाट मात्र प्राप्त हुन्छ भन्न भ्याए । उनले कुन अर्थले वा प्रसङ्गमा भनेका थिए वा त्यो नै अन्तिम र एक मात्र तरिका थियो वा धेरै तरिका मध्येको एउटा तरिका थियो यो अलग कुरा हो । तर नेपालमा सोही वाक्यांशको पछिल्लो समयमा गलत व्याख्या र प्रयोग समेत गर्ने कोशिष गरियो । एक अर्थमा केही ब्यक्तिहरु र समूहले बन्दुकको नालबाट सत्ता प्राप्त गरे पनि यो परम्पागत मान्यतालाई तोडेर उनीहरु नयाँ प्रवृत्तीलाई नै आत्मसात गर्नेहरुको  भिडमा हेलिएको देखिन्छ ।

इतिहासलाई भूतकालको राजनीति र राजनीतिलाई वर्तमान इतिहासक रूपमा लिने गरिन्छ । (विद्वान Freemanको बिचार) । अझ केही विद्वानले राजनीतिशास्त्रलाई इतिहासको फल र इतिहासलाई राजनीति शास्त्रको जराको रुपमा व्याख्या समेत गरेका छन् । (विद्वान सिलेको बिचार) । तर हाम्रो देशमा न त पछिल्लो राजनीतिले इतिहासलाई जराको रुपमा लियो न त इतिहासको फल लागेर पछिल्लो राजनीति परिपक्व भयो । पछिल्लो समय राजनीतिक फण्डाको प्रयोगमा हाम्रो इतिहास अल्झिएको छ । बि.सं. २००७ देखि २०४६ वा त्यसभन्दा केही वर्षसम्म जनताको मानस्पटलमा सेट भएको मिथक (वा सच्चाई?) लाई विनिर्माण गरी देशका विशेष गरी तल्लो वर्ग, सिमान्तकृत वर्गलाई लक्षित गरी एकोहोरो रुपमा एउटा फण्डा फालियो र त्यसैको बलमा राज्य सत्ताको परम्परागत शक्ति राजसंस्थालाई पाखा लगाइयो । त्यसपछि फण्डा फ्याकेर सत्ता प्राप्ति गर्नेहरुको सायद अभीष्ट पूरा भयो । त्यसपछि देशमा थुप्रै नयाँ साना ठूला राजाहरु निस्किए । यति भने पछि बुझ्नै पर्ने के हो भने त्यो फण्डा भनेको २५० वर्ष भन्दा बढी शासन गरेको राज संस्थाले जनतालाई अन्याय गर्यो । आत्म रतिमा रमायो । देश विकास भन्दा आफ्नो विकास मात्र गर्‍यो । जनताको शोषण गर्यो । यस बिनिर्माणमा सबै भन्दा आलोचित तत्कालिन राजा ज्ञानेन्द्र तथा शुरुवाती राजा पृथ्वी नारायण शाह देखिए । यस लेखमा पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर एउटा सानो  बिचार राख्ने जमर्को रहनेछ ।

हामी मध्ये कसैले पृथ्वीनारायण शाहका साना तिना कमजोरीहरु, जो तिल बराबर छन्, लाई पहाड बनाएर नकारात्मक प्रचार गरेर उनी प्रतिको आम आस्था खस्कायौ वा त्यस फण्डाबाट सत्ता प्राप्त गर्यौ वा केही किताब वा लेख बिकाउन सफल भयौं होला, केही आर्थिक जोहो गर्‍यौ होला । त्यसलाई आत्मरति भन्दा केही बढी मानिदैन । यो त आफ्नै बाबुलाई आमाको बलात्कारी भनेर गाली गरे जस्तो मात्र हो । यसबाट आफूलाई लाभ त होला तर दुनियाँले आफूलाई धुन्धुकारी भनेको थाहै पाइदैन । के बाबुप्रति रिस उठ्यो भने बाबु साट्न वा अर्को बाबु खोज्न जाने हो र ? हाम्रो इतिहास नै त्यही छ त, त्यसलाई मुर्खता पूर्ण रुपले थुक्दा हामी सभ्य देखिन्छौ त ?  हामीले हाम्रो इतिहास र इतिहासका अग्रज पुरुषका राम्रा कुरालाई आत्मसात गरी नराम्रा प्रवित्तिलाई नअंगाल्दा हुदैन र ? तर फण्डा प्रवित्तिको हाम्रो राजनीतिक संस्कारले हामीलाई इतिहास थुक्ने, वीर पूर्खालाई सराप्ने, उनीहरुको राम्रो कुराबाट नसिक्ने अनि नराम्रो चै निरन्तरता दिने कुराको  पक्षपोषण पो गरिरहेछ त !!! । यसो भनिरहदा मेरो के आग्रह छ भने- पृथ्वी नारयण शाह कुनै कमजोरी नै नभएका आदर्श राजा थिए भन्ने मात्र पनि मेरो आशय होइन ।

कतिपयको मनमा प्रश्न उठ्न सक्छ, युद्ध वा अन्यायपूर्ण तरिका मात्र थियो त एकीकरणको भनेर । शूरुमै भनियो यो राज्य एकीकरण र सत्ता आरोहणको परम्परागत तरिका नै हो । राज्यको उत्पत्ति भएदेखि संयुक्त राष्ट्रसंघको स्थापना भएसम्म पनि सत्ता प्राप्ति र राज्य विस्तारको लागि युद्ध भन्दा अर्को विकल्प मानिसले वा शासकले जानेकै थिएन । अझ भनौं आविश्कार नै भएको थिएन । के पृथ्वी नारायण शाह आफ्नो समय भन्दा २०० वा सो भन्दा बढी वर्ष पछिको राजनैतिक प्रवृत्ति अपनाउन जान्दथे त ? सफल हुन्थे त ? ठूलो देशको राजा हुने लोभले होस वा जे सुकै उद्देश्यले युद्ध गरेर भए पनि नेपाललाई ठूलो देश बनाउने अभियान नथालेको भए के हामी अहिले नेपाली भएर उनैलाई सराप्न पाउथ्यौ त ?

अझ कसैको मनमा प्रश्न उठ्ला के पृथ्वीनारायण शाहले राज्यको भौगोलिक रुपमा मात्र एकीकरण गरेर सिमान्तकृत वर्गलाई झन पछि पारेर र अझ अत्याचार गरेनन् त भनेर ।  एक पल्ट सम्झौं त, उनले भौगोलिक एकीकरण नगरेको भए हाम्रो देशलाई अंग्रेजले उहिल्यै ईष्ट इन्डिया कम्पनीमा गाभिसकेको हुन्थ्यो होला । अनि हामी अंग्रेजको गुलामी गर्दै उनीहरुको सेवा सुश्रुसामा तल्लो स्तरको कार्य गरी सास अड्याउन बाध्य भइरहेका हुन्थ्यौं होला । हाम्रो आज देखिएको सगरमाथा हिमाल भन्दा अग्लो स्वाभिमान अंग्रेजको जुत्ताको तलुवा मुनि हुन्थ्यो होला । हामी या त आज भारत माताकी जय भन्दै दगुरी रहेका हुन्थ्यौ या त हाम्रा प्रधान मन्त्री हुने उम्मेद्वारहरु गोर्खा राज्यको मुख्य मन्त्री हुन ठस ठस गरिरहेका हुन्थे । जे हुन्थे आज जस्तो शीर ठाडो पारेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नागरिकको हैसियतले इतिहासलाई समेत सराप्ने र थुक्न सक्ने औकात र अवसरमा हुदैनथे । 

अझै प्रश्न उठ्छ, परम्परागत इतिहासकारहरुले राजाहरुको मात्र इतिहास लेखिदिए वा उनीहरुलाई लेखाइएन । खोसिएका भनिएका राज्यमा भएका जनता र शासक प्रतिको अत्याचार र पृथ्वीनारायण शाहले आफ्नै सैनिक र भारदारहरुप्रति गरेको अन्यायको इतिहास लेखिएन भनेर प्रश्न उठ्न सक्छ। यो प्रश्न उठिरहेको पनि छ।  तपाई बिचार गर्नुहोस त, तपाईलाई मन परेको प्रधान मन्त्रीले ल्याएको एउटा ख्याति प्राप्त अभियान/ विकासको आयोजना/ नियुक्ती वा कसैलाई कुनै कार्यका लागि  गरिएको जिम्मेवारी हेरफेर आदिमा एकै समयमा कति बिरोधी वा आलोचक रहन्छन् ? त्यस्तै हो त्यति खेरको अन्याय पनि । प्रत्यक्ष दर्शी कोही थिएन ।भएका मरिसकेका थिए । इतिहासकारहरुले त आफ्नो बुताले जे भेटे, जे सुने वा देखे त्यसैलाई सन्दर्भ सामग्रीको प्रयोग गरेर लेख्ने हो नि, होइन र ? फरक चाँहि कति हो भने उक्त शासक प्रतिको त्यो लेखक/इतिहासकारको अभिवृत्ति (Attitude) कस्तो छ, त्यसमा चाँही अवश्य भर पर्छ । सामान्यतया परम्परागत इतिहासशास्त्रले जित्नेको इतिहास मात्र लेख्छ ।त्यसो त निभेको आगो तापेर अहिले नै पो को हिड्छ र ? 

राष्ट्र निर्माता पृथ्वी नारायण शाहप्रति पछिल्लो समय विकास गरिएका नकारात्मक धारणालाई लिएर यति गन्थन गरिसकेपछि आम पाठकले के बुझ्नु अनिवार्य छ भने यी नकारात्मकता कुनै न कुनै स्वार्थ प्रेरित थिए । त्यत्तिकै कसैले पनि आफ्नो इतिहासलाई थुक्दैन र पुर्खालाई सराप्दैन । समान्यतया जिउदो बाबुसँग पनि अंश खोज्दा बाहेक कोही झगडा गर्दैन भने सभ्य मानिसले पुर्खालाई सराप्दैन । बरु पिण्ड दान गर्छ । हाम्रो हिन्दु परम्परामा त श्राद्ध गर्छ ।

हालै परिवर्तिक जनमतको बलमा पृथ्वीनारायण शाह प्रतिको नकारात्मकता चिर्ने एउटा प्रयास भएको  छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन देशै भर सार्वजनिक बिदा सरकारले घोषणा गरेको छ । यो राजनीतिको सकारात्मक पाइला हो । हामीले इतिहासबाट सिकेर थप सुधार गर्नै पर्छ । विगतलाई सच्याउन सकिदैन । सच्याउने भनेको वर्तमानमा मेहनत गरेर हामीले हाम्रो आगतलाई नै हो । यसका लागि हामीसँग अग्रजहरुप्रति सम्मान गर्ने ठूलो छाति हुनु पर्छ । दिल तथा दिमागमा सकारात्मकता हुनुपर्छ ।

हाम्रो देशमा हरेक वर्षको सरकारको नीति र कार्यक्रम तथा बजेटमा आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वी नारायण शाहले आफ्नो दिब्य उपदेश समेत समावेश गरेका केही विषयहरु रहेकै देखिन्छन् । तर तिनीहरुको कार्यान्वयन पक्ष प्राय सँधै नै अलपत्र रहन्छ । केही उदाहरणहरु प्रस्तुत छ-

·         खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ । उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।(बस्ती विकास तथा कृषिको आधुनीकीकरण, जग्गा चक्लाबन्दी, उद्योग स्थापना)

·         मुलुकमा अन्याय हुन कहिल्यै नदिनु (सक्षम निश्पक्ष न्याय व्यवस्था)

·         सिपाही भन्याका तिखारी राख्न्या हुन । (कर्मचारी वृतिविकास र तालिम)

·         जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।(जनताको सशक्तिकरण र सुशासन)

·         सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।(राष्ट्र निर्माणमा सबैको भूमिका छ । सबैले मिलेर यसको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा गर्नु पर्छ ।)

·         नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु । (सुझवुझ पूर्ण र स्थिर विदेश नीति)

·         घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।भ्रष्ट्राचार विरुद्धको शुन्य सहिष्णुता, सुशासन)

·         यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो । (विविधता व्यवस्थापन, राष्ट्रिय एकताको प्रयास)

·         राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर । (वाणिज्य तथा उद्योग नीति)

अन्त्यमा सबैले सकारात्मक सोच र पुर्वजप्रति अनुग्रह राख्नुनै सभ्यताको मूल मन्त्र हो । आफ्नै इतिहास र पुर्खालाई सराप्नु भनेको आकाश तिर फर्किएर थुक्नु जस्तै हो । यसो गर्नाले आफ्नै मुखमा छिटा पर्छ । हामीले विगतका शासकलाई सराप्यौ भने आगामी पुस्ताले पनि हामीलाई अवश्य सराप्ने छ । त्यसैले सभ्य बनौं पुर्खाप्रति आदरगर्ने संस्कारको थालनी गरौं भन्ने लेखकको आग्रह छ ।

  

Thursday, March 10, 2022

धर्म प्रतिपादनः अत्याचार अन्त्यको लागि

 


-            जनार्दन कट्टेल

धर्मको शाब्दिक अर्थ धारणा भन्ने हुन्छ । यो ब्यक्ति तथा समुदायले असल आचरण धारण गर्ने विषयसँग सम्बन्धित छ ।  हरेक व्यक्तिले आफ्नो कर्तव्य पालन गर्ने सम्बन्धमा यसको प्रयोग हुने गर्दछ । धर्मकै माध्यबाट पुरै समाज  तथा राष्ट्रलाई डोहोर्याउने प्रचलन आज पर्यन्त पनि देख्न पाइन्छ । तथापि आधुनिकता र धर्मका प्रभावले मात्र समाजका नियमहरु व्यवस्थित गर्न नसकेको कुरा स्वीकार गरी आधुनिक राज्यहरुले विभिन्न ऐन नियम लगायतका आधुनिक कानून निर्माण गर्ने प्रचलन शुरु भएको हो । समान्यतया धर्मले एउटा जबरजस्त रुपमा सामाजिक मूल्य स्थापना गर्ने गर्दछ । जसरी समाज परिवर्तनशील छ, त्यसैगरी समाजिक मूल्यमा परिवर्तन भइरहदा पुरानो धर्मले स्थापित गरेका मूल्यको पुनरावलोकन हुन पुग्छ । यसरी मूल्यको पुनरावलोकन गरी नयाँ मूल्य स्थापना गराउनु चानचुने विषय होइन । हिन्दु धर्म ग्रन्थ श्रीमद्भागवत गीतामा यस्तो कार्य गर्ने व्यक्तिलाई ईश्वरीय अवतारको रुपमा अर्थ्याइएको छ । विश्वमा प्रचलित विभिन्न धर्ममा त्यस्ता महान पुरुष/ नायकलाई ईश्वरको दुत, रसुल, पुत्र आदि स्थान दिइएको छ ।

सामान्यतया कुनै पनि धर्ममा धर्मको सर्वोच्च शक्तिको रुपमा देवता वा देवताको वाणीलाई अङ्गिकार गरेको हुन्छ ।  उदाहरणको लागि हिन्दु धर्मले  ब्रह्मा, विष्णु महेश्वरलाई सर्वोच्च शक्तिको मूल कर्ताको रुपमा लिएको छ भने वेदलाई देववाणीको रुपमा लिएको छ । त्यसैगरी मुस्लिम धर्मले अल्लाह, ईशाई धर्मले पिता परमेश्वर (God) को सत्तालाई सर्वोच्च सत्ताको रुपमा स्वीकार गर्दछ ।

धर्मशास्त्रका (Theology) अनुसार समान्यतया धर्मका पाँचवटा महत्वपूर्ण खम्बा (Pillars) हुने गर्दछन् ।  पहिलो खम्बा सर्वोच्च सत्ता प्रतिको विश्वास हो । दोश्रो सर्वोच्च शक्तिसँग सम्बन्धित स्थानलाई मानिन्छ । उदाहरणको रुपमा स्वर्ग, जन्नत, देवलोक, पृथ्वीका धार्मिक स्थानहरुः मथुरा, वृन्दावन, कैलाश पर्वत, लुम्बिनी, कुशीनगर, मक्का, मदिना, यरुशेलम आदिलाई लिन सकिन्छ । तेस्रो खम्बा सर्वोच्च सत्ताको आदेशलाई मानिन्छ ।  यस्तो आदेशको उदाहरणको रुपमा वेद तथा गीताका बचनहरुलाई हिन्दुहरुले ईश्वरीय बचन र स्मृति परम्पराबाट ल्याई आधुनिक युगमा अभिलेखिकृत गरिएको हो भनी विश्वास गर्छन् । यहुदी, इशाई तथा मुस्लीमहरु आफ्ना पितामह प्रोफेट हजरत मुसाले अल्लाहका दश आदेशहरु (Ten Commandment of God) लाई  अल्लाह स्वयम्‌बाट प्राप्त गरी प्रचार प्रसार गरेका हुन भनी विश्वास गर्छन् । इशाई तथा मुस्लिम धर्महरु एकै धर्मको शीराबाट नवप्रवर्तन भएकोले गर्दा हजरत मुसा बाहेक उनीहरुले ईश्वरसँग प्रत्यक्ष बात मार्न सक्ने वा ईश्वरले नै पठाएको दुत वा रसुलको रुपमा मूख्य गरी क्रमशः जिससक्राइस्ट र  पैगम्बर मोहम्मद लाई मान्ने गर्छन् र उनीहरुले प्रप्त गरेको ईश्वरीय बचन नै धर्मग्रन्थको रुपमा स्वीकार गर्छन् (कुर–आन, वाइबल) ।   विश्वका सबै धर्ममा  कुनै न कुनै रुपमा ईश्वरीय सर्वोच्च सत्ताको आदेशलाई स्वीकार गरिएको  हुन्छ । र त्यसै प्रति विश्वासको घर बनाइएको हुन्छ, चाहे त्यो चीनको सिन्तो वा कन्फिसयन होस वा जापानको ताओ । यस पछि धर्मको चौथो खम्बा सर्वोच्च शक्ति/ सत्ता, त्यस सँग सम्बन्धित स्थान र आदेशप्रति  समर्पण र पाँचौ  त्यसप्रतिको स्तुति, उपाशना, पूजा वा आराधनालाई लिइन्छ ।  स्वभाविक रुपमा धार्मिक व्यक्तिहरु आफ्नो धर्मले स्वीकार गरेको सर्वोच्च सत्ता प्रतिको विश्वासको कारण सर्वोच्च सत्ता, सम्बन्धित स्थान र  सत्ताको आदेशको पालना प्रति कटिबद्ध रहन्छन् । र त्यस्तो सत्ताको उपाशनामा चाख लिन्छन् ।

  यस आलेखमा धर्मप्रवर्तनका विभिन्न सिद्धान्तहरु मध्ये मूल मानिएको एउटा मात्र सिद्धान्तको परिधिमा रहेर चर्चा गर्ने कोशिष गरिएको छ । त्यो हो –अत्याचार अन्त्यको सिद्धान्त । यसका लागि विश्वमा प्रमुख रुपमा मानिने हिन्दु, बौद्ध,  इशाई, मुस्लीम र यहुदी धर्मका एक एक वटा प्रसङ्गलाई उजागर गरी सङ्क्षेपमा चर्चा गर्ने कोशिष रहनेछ ।

भगवान कृष्ण आफू जन्मनु भन्दा अघि देखि नै प्रताडित थिए । सत्तारोहणको अति महत्वाकाङ्क्षाले उनको मामा कंस अन्धो भएको थियो । जनता तथा आफ्नै बाबुप्रति कंसको अन्यायले सीमा नाघेको थियो । यसै क्रममा उसले आफ्ना बाबु उग्रसेनलाई मथुराको कारागारमा कैद गरेको थियो । जतिबेला उसकी बहिनी देवकीको विवाह वासुदेबसँग हुदै थियो त्यसै दिन आकाशवाणीबाट देवकीको गर्भबाट जन्मिएको सन्तानबाट उसको हत्या हुने उद्घोष भयो । त्यस पछि कंस डरायो । उसले बहिनी ज्वाई दुबैलाई कैद गर्यो र जन्मेका सबै सन्तानहरुलाई क्रमशः मार्न थाल्यो । कंसमा दानवीय प्रवृत्ति विकसित भयो । छ वटा सन्तानको हत्या पछि सातौं सन्तान छोरी भएकोले मारिदैन । (विभिन्न ग्रन्थमा फरक फरक मत पाइन्छन् ।) आठौं सन्तानका रुपमा कृष्णले जन्म लिए । उनी चमत्कारिक रुपले बाँच्न सफल भए र गोकुलमा नन्द बाबा र यशोदा मैयाको घरमा हुर्किए । कंसको पाप र अत्याचारको अन्त्य गर्नैका लागि उनले कंसलाई मल्ल युद्धमा मारेको प्रसंग विभन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ । उनले कंश लगायत अत्यचारी तथा दुष्टहरुलाई मारेर एउटा जबरजस्त धार्मिक मूल्यको स्थापना गरेका छन् । कुरुवंशीय सत्ता लिप्सा र  महाभारतको युद्धमा उनलाई केन्द्रिय भूमिकामा देखाइएको भए तापनि त्यहाँ अत्याचार र पापको अन्त्य थोरै र राजनैतिक दर्शनको प्रसङ्ग बढी पाइन्छ । उनले आफ्नो वंश (आर्य?) को सत्ता प्राप्ति र रक्षाको लागि मगध नरेशसँग लडाई गरेका प्रसङ्गहरु पनि उल्लेखनीय छन् । हिन्दु धर्ममा आधारित साहित्यले चामत्कारिक व्यक्ति वा नायकलाई देवत्वकरण गर्दछ । र खलनायकलाई दानवीकरण । जे होस कृष्णले खडा गरेको धार्मिक मतको जग अन्याय, अत्याचार वा पापको अन्त्यमा नै रहेको देखिन्छ । उनले एउटा प्रसङ्गमा अर्जुनसँग जतिबेला धर्मको नाश भई पापले सीमा नाघ्छ त्यतिवेला आफू अवतरित हुने समेत बताएका छन् ।

हिन्दु धर्ममा जति पनि विष्णुका अन अन्य देवी आदिका अवतारहरु छन् सबैले अत्याचार र पापबाट धर्तीलाई मुक्त गर्न नै अवतार लिएको भनी धर्मग्रन्थहरुमा वर्णन गरिएको छ । हिन्दु बहुईश्वरबादी धर्म हो ।

अव एउटा प्रसँग यहुदीहरुको । यो समुदाय संसारमा सर्वाधिका विद्वान तर हेपिएका, दबाइएका समुदाय अन्तरगत पर्छन् । दोस्रो विश्वयुद्धताका जर्मन चन्सलर हिटलरले लाखौं यहुदी जनताहरुलाई ग्याँस च्यम्बरमा हाली हत्या गरेको इतिहास हाम्रो सामु छ । आधुनिक समाजमा यो भन्दा अर्को अन्याय एउटा जातिको लागि के हुन सक्ला ?  

इ. पु ८०० तिर इजिप्टका शासकले इजरायलका हिब्रु समुदायलाई सहर निर्माणको लागि दास बनाएर राखेको हुन्छ । एक दिन मिस्र राजा फिरौनको दरबारमा एउटा हल्ला पिटाइन्छ । हिब्रु समुदायमा अल्लाहको दुतको रुपमा एक बालकको जन्म भएको छ । एक दिन उसले हिब्रुहरुलाई दासताबाट मुक्त गर्नेछ भनी भनिन्छ ।  त्यसपछि हिब्रुहरुका सबै बच्चाहरु आमा बाबुबाट खोस्दै  मीस्र सेनाद्वारा मारिन थालियो । इजिप्टका क्रुर शासकहरु फिरौनहरुको पञ्जाबाट बचाउन एउटी हिब्रु आमाले आफ्नो बच्चा नाइल नदीमा कोक्रोमा हालेर बगाइदिन्छन् । त्यो बच्चा दरबारकै रानी र राजकुमारीले भेटेर पालन पोषण गर्छन । उसको नाम मुसा (धर्मको आदेश) राखिन्छ । नयाँ सहर निर्माणका लगि हिब्रु दासहरुलाई न्युनतम अन्न समेत नदिई काममा लगाउदा एक कामदारको मृत्यू हुन्छ । यसै प्रसङ्गमा मिस्र सिपाहीसँग विवाद हुँदा मुसाको हातबाट उक्त सिपाही मारिन पुग्छ । त्यस पछि उनी भागेर मरुभूमी पारी (मिदियान) जान्छन् । त्यहाँ उनले सफोरा नामक स्त्रीसँग घरजम गरेर बस्छन् । एक दिन आफ्ना छोराहरुका साथ भेडा चराउन जाँदा उनले अल्लाहको वाणी (Ten Commandments)  सुन्छन् । त्यसपछि उनलाई चामत्कारिक शक्ति प्राप्त हुन्छ । अल्लाहको निर्देशन अनुरुप मिस्र दरबारमा हुर्किएको त्यही मुसाले अन्त्यमा फिरौनहरुको क्रुर पञ्जाबाट इजरायली समुदायलाई बचाउछन् । त्यही अत्याचारको अन्त्य गर्ने क्रममा यहुदी धर्म प्रवर्तन गरेको भन्ने प्रसङ्ग बाइबलको पुरानो नियम, कुरान तथा यहुदीहरुको ग्रन्थ तनखमा उल्लेख गरिएको छ ।

बाइबलले मुसा हुँदै जिसस सम्मको कथालाई आफ्नो पुरानो नियममा समेटेको छ । वास्तवमा जिसस क्राइस्टले नयाँ धर्म स्थापना गर्न खोजेका थिएनन् ।  त्यतिबेला इजरायलमा यहुदीहरुको सत्ता थियो । यहुदीहरुको धार्मिक मूल्यहरु आधुनिक समाजमा नमिल्दा देखिएका थिए । यहुदी धर्मगुरुहरुको अन्याय आफ्नै भूमीमा बढ्दो थियो । समाजका मूल्यहरु परिवर्तित भएसँगै यहुदी धर्मका कतिपय बिचारहरुलाई आधुनिकीकरण गर्न, परिस्कृत गर्न र अझ लोकप्रिय बनाई संसारभर फैलाउने उनको अभिलाषा थियो । पछि घटनाक्रमले अर्कै मोड लियो । यहुदी धर्म गुरुहरुले उनी र उनका अनुयायीहरुमाथि नै अत्याचार गर्न थाले । अत्याचारले सीमा नाघ्यो । अन्त्यमा यहुदी धर्मगुरु तथा इजरायलका शासकहरुले जिसस क्राइष्टलाई क्रसमा झुण्ड्याए । यो घटनालाई पनि जिससले सकारात्मक व्याख्या गरिदिए । उनले अरुले गरेको पाप मेरो रगतले पखाल्नेछ भनेर घोषणा गरिदिए । मानिस जन्मजात पापी छ त्यसको फल मृत्यू हो । मानिसहरुको पापबाट मुक्तिका लागि मेरो बलिदान सहायक हुनेछ भनी उनले पिता परमेश्वरसँग प्रार्थना गरे । उनको मृत्यु पछि उनका अनुयायीहरुले उनको दर्शन र मतलाई व्यापक प्रचार प्रसार गरे ।  त्यो धार्मिक मत अति लोकप्रिय बन्यो । आज पनि विश्वको एक तिहाइ जनसङ्ख्या क्रिस्चियानिटीमा विश्वास गर्छ । यो हिसाबले पनि भन्न सकिन्छ कि ईशाइ धर्म पनि एउटा अत्याचारको अन्त्यका लागि भएको थियो ।

विश्वको दोस्रो धेरै जनसंख्याले मान्ने धर्म मुस्लिम हो । यो धर्मलाई विश्वको कान्छो धर्मका रुपमा लिने गरिन्छ ।  निकै नै छिटो प्रचार र आफ्नो साहित्यमा समृद्ध भएको यसको प्रतिपादन पैगम्बर मोहम्मदले गरेको मानिन्छ । मुस्लिम समर्थकहरु पैगम्बरलाई अल्लाहको रसुलको रुपमा मान्छन् ।  मुस्लीम धर्म यहुदी धर्मसँग मिल्दो जुल्दो छ । तथापी यहुदी धर्म गुरुहरुले जिसस क्राइष्टको बिरुद्ध गरेको अत्याचार लगायतका विभिन्न विषयलाई लिएर यहुदीसँग मुस्लीमको ठूलो मतान्तर देखिन्छ । दक्षिण पुर्वी युरोप तथा मध्य पुर्वमा विकसित यी तिनवटै धर्मको शुरुवात एकै ठाउँबाट भए पनि स्थान र कालको अन्तर तथा आफ्नै सम्प्रदायको अत्याचारको अन्त्य गर्नका लागि  धर्म नायकहरुद्वारा मौलिक रुपमा नयाँ धर्मको रुपमा प्रवर्तन गरेको पाउँन सकिन्छ  

ईशाइ धर्म भित्रै पनि चर्चका पादरीहरुको अत्याचारको बिरुद्धमा बनेको प्रोटेस्टेन्ट समुदाय होस वा आर्य धर्मको ब्राह्मणबादी बिचारसँग असहमतिको आलोकमा प्रवर्तित जैन तथा बौद्ध धर्म हुन सबै नै अन्याय र अत्याचारको अन्त्यका लागि प्रवर्तित धर्म हुन । यद्यपि बुद्ध धर्म अनिश्वरवादी धर्म हो । यसले इश्वरको अस्तित्वलाई अस्वीकार गर्दछ ।

विश्वमा दुई किसिमका मानिसहरु पाइन्छन् । एक आस्तिक र अर्को नास्तिक । उत्तर युरोप, रसिया, मङ्गोलिया, चीन,  उत्तर कोरिया लगायतका मूलुकमा नास्तिकको संख्या बढी छ भने दक्षिण युरोप, दक्षिण एसिया,  मध्यपुर्व तथा अमेरिकी महादेशमा आस्तिकहरुको सङ्ख्या बढी छ । ईश्वर र धर्ममा आस्था राख्नेहरुका लागि धर्म प्रतिपादन गर्ने ब्यक्ति, स्थान र प्रतिपादित ग्रन्थहरु ज्यादै महत्वपूर्ण र पवित्र रहेको हुन्छ । जे होस समग्रमा विश्वका मूख्य रुपमा मानिने सबै जसो धर्मलाई नजिकबाट नियाल्दा कुनै  न कुनै रुपमा विद्यमान रहेको अन्याय, अत्याचार र पापको अन्त्य गरी धार्मिकता, हार्दिकता, समृद्धि स्थापना तथा सर्वस्वीकार्य समाजिक मूल्य स्थापना गर्नु रहेको हुन्छ भनेर निश्कर्षमा पुग्छ सकिन्छ ।

(नोटः यो लेख धर्मशास्त्र विषयका विभिन्न युट्युब भिडियोहरु, हिन्दु धर्मका विभिन्न ग्रन्थहरु, बाइबलको पुरानो नियम तथा मजिदे कुर-आनको  केही प्रकाशनमा आधारित रहेर गरिएको अध्ययनपश्चात लेखिएको हो ।)

प्रतिक्रियाका लागिः janardan.kattel@gmail.com

धर्मग्रन्थ रचनाको सिद्धान्त र पात्र निर्माण

 


?जनार्दन कट्टेल

विज्ञानले कुनै पनि पदार्थको विशेषता वा तात्विक गुण भनी बताए जस्तै अध्यात्म दर्शनले त्यसलाई धर्म भन्दछ । वास्तवमा धर्म भनेको कुनै कुराको विशेषता नै हो । कुनै पनि पदार्थ, जीव वा बनस्पतिको विशेषता । उदाहरणको लागि पानीको बग्ने वा तातो हुँदा वाफ भइदिने र चिस्याउदा बरफ बन्ने धर्म हुन्छ । आगोको तातो हुने धर्म हुन्छ । पृथ्बी लगायत ग्रहहरुको सुर्य वरी परी घुम्ने धर्म हुन्छ । त्यसैले भनिएको छ – "धर्मो रक्षति रक्षित ।" अर्थात जसले आफ्नो धर्मको पालना गर्छ, उसलाई धर्मले रक्षा गर्छ, ऊ सुरक्षित रहन्छ । यस वाक्यांशलाई मैले यहाँ भावार्थको पनि एउटा दृष्टिकोण मात्र बताएको हुँ । आफ्नो बुझाई अनुसार कुनै पनि कुराको स्वयं अर्थ लगाउने ब्यक्तिको स्वधर्म हो । जस्तो कि अर्जुनले आफन्त तथा गुरुहरुलाई मारेर मलाई राज्य चाहिदैन भन्नु उनको धर्म थियो । तर कृष्णले आफ्नो धारणाद्वारा, प्रतिपादित दर्शनद्वारा अर्जुनलाई आश्वस्त पारे, कन्भिन्स गराए र आफ्नो मतमा ल्याई उनको धर्मको पालना गर्न लगाए । त्यसैले भयो "परोधर्म भयावह" । अर्थात समस्त कुरुबंशको अन्त्य भयो । यो भयावह स्थिति यतिमा मात्र सिमित भएन कि युगको अन्त्य नै परोधर्म अंगीकार गर्नाले भएको हामी पाउन सक्छौं ।

अर्को अर्थमा धर्मलाई धारणा वा धारण गर्ने कुनै आचरण वा अन्तरनिहिन नैतिकता (  Moral or Intigrity) सँग जोड्न पनि सकिन्छ । मनिसले बनाउनु पर्ने धारणा नै धर्म हो   मानवीय धर्म भनेका धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधिनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्विक आहार विहार गर्नु  आदि हुन सक्छन् । यी र यस्ता सद्गुणहरू नै धर्म हुन् भनेर बुझिन्छ । हिन्दु धर्मको निचोड निकाल्दै 'परोपकाराय पुण्याय, पापाय परपिडनाम' भनिएको छ ।

 

आम मानिसले बनाउनैपर्ने न्युनतम धारणाहरुको संग्रहलाई धर्मशास्त्र नाम दिन सकिन्छ । यस्ता धर्मशास्त्रको उत्पत्ति र शास्त्रलाई पछ्याउने मानिसहरुको समुह नै पछि गएर धार्मिक सम्प्रदाय बन्न गएको हामी पाउँछौ । शुरुमा एकै धर्म थियो । शुरुकै भएकोले कसैले कुनै धर्मलाई सनातन भनी नाम दिन पनि सक्छ (हिन्दुहरुले आफ्नो धर्मलाई सनातन भनेको पाइन्छ)। मानिसको संख्या बढ्दै जाँदा तथा ठाउँहरु फरक पर्दै जाँदा, चेतनास्तर विकसित बन्दै जाँदा तथा नयाँ ज्ञानको अभ्युदय हुँदै जाँदा तिनीहरुकै सापेक्षतामा विस्तारै फरक मतहरु तथा प्रचलनहरु शुरु भए र कालान्तरमा तिनीहरु फरक फरक रुपमा अभ्यास गरिने धर्महरुको रुपमा विकसित हुन पुगे । उदाहरणको लागि महेन्जोदारो सभ्यतामा सिन्धु माताको मुर्ति पुजा गर्ने हिन्दु जस्तै लाग्ने धार्मिक अभ्यास थियो । जब महेन्जोदारो सभ्यताको अवसान भयो तब ती मध्ये केही मानिसहरु गङ्गा नदीको मैदानतर्फ विस्थापित भए र केही उतै छुटे । उता छुटेकाहरुले त्यहींको भाषा तथा परम्परा अनुरुप अल्लाह देवताको निर्माण गरे तिनै मध्ये कति विद्वानहरु निस्किए र उनीहरुले कुरान रचना गरे । यता आउने र पहिलेदेखि नै यतै हुने विद्वानहरुले वेद लगायत किताब लेखे र विभिन्न देवी देवाता र तिनको मुर्ति पुजा लगायतका अभ्यास गर्न थाले । चीनमा प्रचलित कन्फुसियसले बनाएको धर्म, जापानमा तावोले प्रतिपादन गरेको तावोइज्म तथा पहिले देखि नै अरब खाडी र दक्षिण पुर्वी युरोपमा भएको यहुदी धर्म, त्यही क्षेत्रमा पछि जिसस क्राइष्टले परिस्कृत गरेको क्रिस्चयनिटीहरु यसैगरी बनेका धार्मिक सम्प्रदायहरुका केही विश्व विख्यात उदाहरणहरु हुन् । हाम्रै हिन्दु धर्म भित्र पनि आफ्ना आफ्ना विचार निर्माण गर्ने सम्प्रदायहरु विकसित भैरहेको देख्न सकिन्छ । उदाहरणको रुपमा कृष्ण प्रणामी, बैष्णब, मानब धर्म आदि । प्रत्येक सम्प्रदायका लागि कसै न कसैले नेतृत्व गरेकै हुन्छ । फलोवर्सको संख्या कम हुँदा सम्म नेतृत्वलाई गुरुको रुपमा स्वीकारिन्छ । पछि धार्मिक समूहले त्यो नेतालाई भगवान बनाउछ । उदाहरणको रुपमा बुद्ध, कृष्ण, जिसस, पैगम्बर मोहम्मद आदि पुराना जमानाको धार्मिक नेता थिए । आज आएर कोही देवत्वकरण गरिए भने कोही रसुल (भगवानको सन्देश वाहक) का रुपमा स्थापित भए । हाल सिडि साई, विभिन्न स्वामीजीहरु नेताका रुपमा देखिएका छन् । कुनै दिन यस्तो धार्मिक जमात अगाडि आउनेछ कि तिनीहरु पनि देवता नै पुकारिनेछन् वा देवदुत त अवश्य ।

अब धर्म शास्त्रको रचनाको सिद्धान्त सम्बन्धमा छोटो चर्चा गरौं । धर्म शास्त्रको रचना मूल रुपमा निम्न सिद्धान्तका आधारमा भएको हुन्छ ।

१.     प्रचलनको सिद्धान्तः  यसलाई  श्रुतिस्मृति परम्पराको रुपमा समेत बुझ्न सकिन्छ । कुनै धार्मिक कार्य गर्ने प्रचलनलाई जोगाउन वा कायम राख्न कुनै न कुनै बिधि तय भएको हुन्छ । पुस्तान्तरण हुदै जाँदा त्यसमा थप परिस्कार हुन्छ । कतिपय विधिहरुको शृङ्खला तयार हुन्छ । अक्षर तथा लिपि र साहित्यको विकाससँगै विद्वानहरुले उक्त कुराहरुलाई लिपिबद्ध गर्दछन् । हिन्दु धर्मका कर्मकाण्ड पद्धतिहरु यसै सिद्धान्तको आधारमा रचना भएको मान्न सकिन्छ । यस प्रचलनलाई लिपिबद्ध गर्दा लिपिकारहरुले आफ्नो धारणा, दर्शन, मौलिकता र काल्पनिकताहरु समेत थपेका हुन्छन् ।

२.     सम्पदा प्रचार, संरक्षण र संबर्द्धन वा पर्यटनको सिद्धान्तः अनौठौ आकृति, अघिल्लो सभ्यताका भग्नावशेष र अलौकिक र आकर्षक प्राकृतिक चामत्कारिक छटाहरु वा मानब निर्मित मुर्तिहरु पाएपछि त्यसको प्रचार प्रसार, संरक्षण तथा संबर्द्धनका लागि विद्वानहरुद्वारा त्यसैको सापेक्षमा साहित्यिक कृतिहरु रचना गरिन्छ र उक्त स्थानहरुलाई प्रचार प्रसार गरिन्छ । उदाहरणको लागि भारतको खजुराहो मन्दिर, सिक्किमको झाँक्री फल्स (जहाँ राती झाँक्री आएर नाच्छ भन्ने जस्ता अनेकौं  मिथकहरु सहितका साहित्यिक रचनाहरु भएका छन्), नयाँ पत्ता लागेका पर्यटकीय स्थानहरुः जस्तै- पाउ पाथिभरा, इलामको पाथिभरा, ताप्लेजुङको ठूली पाथिभरा, खोटाङ्गको हलेसी महादेब आदि । साहित्यको रचना जति पुरानो हुँदै गयो त्यति नै जनविश्वास बढ्दै जान्छ । कुनै दिन यस्तो विन्दु आइपुग्छ कि त्यो साहित्य अकाट्य हुन्छ । अनि मानिसहरुले विश्वास गर्छन् कि त्यो संरचना भगवानले नै फलना थोक लीला गर्दा बनाएको हो ।

३.     नियमनको सिद्धान्तः प्राचीन समयमा भरखर सभ्यताको शुरुवात हुदै थियो । राज्यहरु अहिले जस्तो व्यवस्थित थिएनन् । भारतीय भुगोललाई मात्र लिएर हेर्ने हो भने ज्ञान साधना र रचनामा रमाउने वर्ग जो ब्राह्मण थिए, उनीहरुले जंगल छोडेका थिएनन् । निषाद् तथा मंगोलियन मुलका ब्यक्तिहरुमा परिवारको अवधारणा त आएको थियो तर एक समुदायले अर्को समुदायलाई शत्रु ठान्थ्यो । केहि सभ्य मानिएका क्षेत्रीयहरु (क्षेत्र भनेको खेत हो । यसर्थ क्षेत्रीय शब्दले ठूला ठूला खेतका मालिकलाई जनाउँछ ।) पनि साना तिना राज्यमा आफ्नो दबदबा कायम राखेर आफूलाई राजा ठान्थे ।उनीहरुमा अर्को देशमा आक्रमण गरी ठूलो देशको राजा हुने अभिलाषा हर्दम रहन्थ्यो । शिकारी युगबाट कोही निस्किएको थिएन । यस्तो अवस्थामा मार काट, हत्या, अर्को जातिमाथि दुर्ब्यवहार आदि सामान्य मानिन्थ्यो । कमजोरलाई अन्याय भए नभएको मूल्याङ्कन नै नगरी शासन गर्ने परिपाटी बस्दै थियो । महिला र बालबालिकाहरुको स्थिति निषाद बर्गबाहेक ( निषाद भनेको जनजाति जस्तै, जंगलमै बस्ने जाति जसमा मातृसत्ता प्रचलनमा थियो ।) सबैमा अत्यन्तै कमजोर थियो । अविकसित राज्यका कानून भनेका राजालाई जे ठीक लाग्यो त्यही हुन्थ्यो । कानूनको विवेकशीलता भनेको राजाको विवेकशीलता बुझिन्थ्यो । यो पृष्ठभूमिमा एउटा सर्वमान्य कानूनको आवश्यकता देखियो र धार्मिक कानूनको रुपमा शास्त्रहरु रचना हुन पुगे । यसको उदाहरणको रुपमा मनुस्मृति, याज्ञवल्क्यस्मृति, निर्णयसिन्धु लगायतका ग्रन्थहरुलाई लिन सकिन्छ । यिनीहरुको पूर्ण कार्यान्वयनका लागि डरको सिद्धान्तमा आधारित थप आलेख तथा दृष्टान्तहरु संलग्न गरेर यसलाई मजबुत बनाउने काम समेत गरिएको थियो । कुरानलाई मुस्लीमहरु अल्लाहले मानिसका लागि बनाएर पठाइदिएको कानूनको रुपमा मान्ने हुँदा यो नियमनको सिद्धान्तमा आधारित  भएर रचना गरिएको भन्न सकिन्छ । यसमा मानिसले गर्नुपर्ने विभिन्न नैतिक आचरणहरुको बारेमा  ब्याख्या गरिएको छ । बौद्ध धर्मको सुत्त पिटकमा आम मानिस तथा भिक्षुहरुको आचरण बारेमा ब्याख्या गरिएको छ ।

४.     डरको सिद्धान्तः यस सिद्धान्तमा धार्मिक साहित्य रचना गर्ने विद्वानहरुले वुद्धिमत्तापूर्ण तरिकाले पाठकमा डर थपिदिएका हुन्छन् । यसलाई कार्यान्वयन गराउने जुक्तिको रुपमा लिइने भएकोले यसलाई कार्यान्वयनको सिद्धान्त भन्न पनि सकिन्छ । उदाहरणको रुपमा स्वस्थानी ब्रत कथामा स्वस्थानी माताको अपमान गर्दा त्यसै कथाको पात्र चन्द्रावतीलाई निज देवी स्वस्थानीको श्राप परेर शालि नदीमा दुर्घटनामा परेको, महापातकी भएर जल भित्र नै रहनु परेको,  कुंजो, कुम्भी हुनु परेको तथा शालि नदी नै स्थिर हुन पुगेको थियो । अर्को जन्ममा पशु योनी प्राप्त हुने, तिर्यग्योनीमा पठाइने वा मृत्यु पछि आफ्नो कर्म अनुसार स्वर्ग वा नर्कमा पुगिने जस्ता प्रसंगहरु यसै सिद्धान्त अनुरुप रचना गरिएको मान्न सकिन्छ ।

५.     भक्तिको सिद्धान्तः धार्मिक प्रचलनमा रहेका देवी वा द्यौता प्रतिको भक्ति वा श्रद्धामा बढोत्तरी ल्याउनका लागि यस्ता रचनाहरु निर्माण गरिएका हुन्छन् । उदाहरणको रुपमा पुराणका महात्म्यहरु, विष्णु सहश्रनामस्तोत्र, हनुमान लगायतका विभिन्न चालिसाहरु (चालिसाहरु सिन्धी भाषामा रचना गरिएका पाइन्छन्।),  वेदमा भएका गणेश, रुद्र, देवी, इन्द्र, सूर्य आदि देवताहरुको स्तुति गान आदि ।  

६.     नेतृत्वको सिद्धान्तः यस सिद्धान्तले धार्मिक रचना गर्ने विद्वानले धेरै भन्दा धेरै मानिसहरुको नेतृत्व गर्ने र आफू त्यो नेतृत्वको सत्तामा रहने उद्देश्यले धार्मिक कृतिहरु रचना गरेको हुन्छ । उदाहरणका लागि ॐ शान्तिको लिटरेचरलाई हामीले लिन सक्छौं । त्यहाँ प्रायः सबै धर्ममा भएका राम्रा र समय सापेक्ष विषयहरुलाई मौलिक पारामा ढालेर एउटा पठन सामग्री बनाइएको पाइन्छ । यसलाई एउटा छुट्टै धार्मिक सम्प्रदायको रुपमा स्थापित गराउने कोशिष गरिएको देखिन्छ । अर्को उदाहरण पैगम्बर मोहम्मदको कुरानलाई लिन सकिन्छ । हुन त कुरानका विभिन्न विषयहरुलाई हेर्दा एउटै मात्र सिद्धान्तमा आधारित रहेको भन्न मिल्दैन । प्रसंग अनुसार सबै सिद्धान्तको अङ्गिकार गरिएको पाइन्छ ।

७.     बंशावलीको सिद्धान्तः यो सिद्धान्त अनुसार धार्मिक गुरु, रसुल वा भगवानको अवतारलाई ब्याख्या गर्न उसको बाबु, बाजे, बराजु, ... गर्दै मूल भगवान, आदिमानव वा  भगवान स्वयम्‌ले नै उत्पत्ति गरेको पहिलो मानब सम्म बंशावली बनाई जोड्ने प्रयास गरिएको हुन्छ । त्यसको सत्यता माथि रचना जति पुरानो भयो त्यति नै विश्वसनियता बढ्दै जान्छ । यसको उदाहरणको रुपमा बाइबलको पुरानो करारमा बर्णन गरिएका जिसस क्राइष्टका बयालीस पुस्ता अघि देखिको बंशावली तथा महाभारतमा वर्णन गरिएको चन्द्र बंश तथा सुर्य बंशको इतिहास आदिलाई लिन सकिन्छ ।

८.     तिलस्मी (charismatic) सिद्धान्तः  देवता साँच्चै नै शक्तिशाली हुन्छन् । उनले जे चाह्यो त्यही काम गर्न सक्छन् भन्ने देखाउन यो सिद्धान्तको प्रयोग गरिएको हुन्छ ।  उदाहरणको रुपमा पार्वतीले मयलको लुडोबाट गणेशको जन्म दिनु, शिबले गणेशको टाउको काटेर मरेपछि हात्तीको टाउको जोडेर पुनर्जीवन दिनु , दक्षप्रजापतिको टाउको काटेर बोकाको टाउको जोडी जीवनदान दिनु, शिबले पार्वतीसँगको रतिक्रिडाको क्रममा आउने भिक्षुलाई आफ्नो बीर्य हातमा हालिदिएको र उनले भगवानको प्रसाद मानेर खाएको तथा पछि गङ्गामा ओकलेको र गङ्गाद्वारा सन्तान उत्पन्न गरिएको प्रसंगलाई लिन सकिन्छ । त्यस्तै अरुले नै प्रज्वलित बीर्य युक्त आगो ताप्दा ऋषि पत्नीहरु गर्भवती भएको अर्को तिलस्मी उदाहरण हो । कृष्णको बालक कालका चामत्कारिक लीलाहरु लगायत यो सिद्धान्तको उदाहरणहरु हिन्दु धार्मिक ग्रन्थहरुमा प्रशस्तै पाइन्छन् । बुद्ध जन्मनासाथ सात पाइला हिडेको र प्रत्येक पाइलामा कमल पुष्प पल्लवित भएको कुरा गौतम बुद्धको जीवनीमा पढ्न पाइन्छ । प्रकृतिका अलौकिक शक्ति (सुपरनेचरल पावर) झैं लाग्ने कतिपय घटनाहरुलाई अझैसम्म पनि भगवानको लीलाका रुपमा अर्थ्याइन्छ ।

यति भनिसकेपछि देवताले धर्म बनाएको होइन भनिरहनु परेन । धर्म मान्छेले नै बनाएको हो र धर्मशास्त्रमा प्रयुक्त देवता, राक्षस लगायतका धार्मिक पात्रहरु तिनै धर्मका साधनहरु हुन भनी बुझ्न कुनै गाह्रो भएन । अक्सर गरेर धार्मिक ग्रन्थमा भएका पात्रहरुको स्वभाव अनुरुप उसलाई राक्षस वा देवताको संज्ञा दिने गरेको पाइन्छ ।

सबैभन्दा पहिला यो बिचार गर्न जरुरी छ कि जित्नेहरुको मात्र इतिहास लेखिन्छ । अर्थात् हिरोको अवगुण छोपिन्छ तर भिलियनको गुण पनि अवगुणले छेक्छ । त्यसैले अन्य काब्य तथा उपन्यासहरुमा जस्तै लेखकीय अन्तरवस्तु वा शन्देश दिन प्रयुक्त व्यक्ति वा हिरोलाई धार्मिक साहित्यमा देवत्वकरण गरिएको हुन्छ भने नकारात्मक भूमिकामा रहेको पात्रलाई खलनायक वा राक्षस भन्ने गरिएको पाइन्छ ।

लोक कथा वा क्रिस्चियन फेरी टेल्समा आउने जस्ता चामत्कारिक देउता, विच (Witch) वा डेमन, लामा लामा सिङ, लामा लामा दाह्रा र लामा दाह्री जुँगा भएक राक्षसहरु, हिन्दु धार्मिक ग्रन्थमा पनि कतै कतै पाइन्छन् भने कतै कतै साधारण राजाहरुलाई पनि राक्षस मानिएको छ ।उदाहरणको रुपमा गुफामा लुकेर बस्ने राक्षसहरु पहिलो कोटीका हुन् भने ययाति, रावण, हिरण्यकशिपु लगायत दोस्रो कोटीका राक्षसहरु हुन । कुलका हिसाबले यिनीहरु देवकुलमै पर्ने समेत देखिन्छन् । धेरै जसो गुण र दोषको बिचार गरेर त्यो देवताको कोटामा पर्ने कि दानवको भनी सीमा रेखा छुट्याइएको पाइन्छ । त्यसो त देवता र राक्षसको छुट्टा छुट्टै राज्य भएको भनी धार्मिक कृतिहरुमा पढ्न पाइन्छ । 

कतिपय प्रसंगमा राक्षसहरु देवताको (शिब अदि) धेरै भक्त भई असिमित शक्ति प्राप्त गरी देवताकै (इन्द्रको विशेष) सत्ता प्राप्तिका लागि दौडिएका प्रसँगहरु पनि हिन्दु धार्मिक कृतिहरुमा जताततै पढ्न पाइन्छ । यस्ता प्रसंगमा सत्ताको संघर्षमा शक्तिको उन्माद देखाइएको हुन्छ र सत्य (धार्मिक लेखकले ठहराएको) को विजय भएको सन्देश दिइएको हुन्छ । वास्तवमा सत्य भनेको बिल्कुलै सापेक्षिक मात्र हुन्छ र विजेताको सापेक्षमा सत्यको व्याख्या गरिएको पाइन्छ ।

धर्मलाई भौतिकवादी दार्शनिक कार्ल मार्क्सले मादक पदार्थ अफिमसँग तुलना गरेका छन् । युरोपमा पादरीहरुको अत्याचार र बरबरताको सापेक्षमा तत् समय यो अति नै अकाट्य देखिएको पनि हो । धार्मिक अन्धता र कट्टरतालाई हेर्ने हो भने सबै समाजमा सापेक्षिक रुपमा अझैसम्म उनको यो दृष्टिकोण जीवन्त पाउन सकिन्छ ।

 अहिले हाम्रो समाजका रहेका विभिन्न धार्मिक पाठकहरुको अध्ययन गर्दा दुई थरिका पाठक रहेको पाउन सकिन्छ । पहिलोमा ज्ञान फराकिलो पार्ने तथा विश्लेषण क्षमता अभिवृद्धिका लागि पढ्ने पाठक र दोस्रो वर्गमा धार्मिक ज्ञानलाई पेशामा परिवर्तन गर्न चाहने पेशेवार धार्मिक पाठक । समाजमा पहिलो वर्गले नकारात्मक प्रभाव पार्दैनन्, उनीहरु कुनै एउटा धर्मको अध्ययनमा सीमित नरही पाएसम्म सबै धार्मिक कृतिहरु पठनमा रुचि राख्छन् । उनीहरु कुनै पनि धार्मिक प्रसंगमा सामान्यज्ञ (Generalist) को रुपमा मात्र रहेका हुन्छन् ।  सत्पालजी महाराजलाई पहिलो वर्गको उदाहरणको रुपमा लिन सकिन्छ । उनको प्रस्तुतिमा सबै धर्मको धर्मशास्त्रको संश्लेषण गर्ने प्रयास गरिएको हुन्छ । आफ्नो प्रवचनमा सबै धर्मका ग्रन्थहरुको सन्दर्भ लिएर सबै धर्मले भन्न खोजेको कुरा एउटै हो भनी प्रमाणित गर्ने उनको ध्येय देखिन्छ । दोस्रो वर्गका मानिसहरु विशेषज्ञ मानिन्छन् । उनीहरु कुनै एक धर्मको कृतिहरुमा सीमित रहि पूर्ण ज्ञान प्राप्त गर्ने र सोही ज्ञानको उपयोगद्वारा धर्म प्रचार तथा कर्मकाण्डलाई पेशा बनाउने कार्य गर्दछन् । एउटा मात्र धर्मको ज्ञान हुनाले अरु धर्मप्रति अत्यन्तै सङ्किर्ण तथा हीन विचार राख्ने यस्ता वर्गको विचार रहन्छ । विशेष गरी गाँउघरमा पुराण वाचन गर्ने पण्डितहरु तथा कर्मकाण्ड गराउने पुरोहितहरुलाई यस कोटीमा राख्न सकिन्छ । नेपालमा मिसनरीको धर्म प्रचार, जबर्जस्ती क्रिश्चियन बनाउदै हिड्ने मानिसहरु र नव क्रिस्चियनहरु पनि दोस्रो वर्गका पाठक तथा भक्तहरु हुन् ।

कुनै पनि धर्मको उद्देश्य समाजमा दुस्कृति फैलन नदिनु तथा सदाचार र नैतिकता प्रवर्धन गर्नु नै हो । सबै धर्मले कुनै न कुनै रुपमा यही कुरालाई नै बोकेर हिडेका हुन्छन् । मानिस धर्म वा कुल र जातका हिसाबले कोही ठूलो सानो हुदैन । बरु सभ्यता र संस्कृतिक हिसाबले कोही केही पछि परेको (राज्यले नै पछि पारेको समेत) हुन्छ । यसरी पछि पर्ने वर्गहरुको उदाहरणको रुपमा दलित तथा आदिवासी जनजातिहरुलाई लिन सकिन्छ । नेवारी उच्च कुलीन वर्ग तथा थकालीहरु यसका अपवाद हुन सक्छन् । समाजको कुनै वर्ग पछि छुट्नु भनेको आधुनिक समाजको कलङ्कको रुपमा रहेको मानिने हुनाले सबैसँग हातेमालो र सद्भावद्वारा धार्मिक रुपमा समेत सबैको उत्थान र सवलीकरण जरुरी हुन्छ । हिन्दु धार्मिक समाजले (धर्मशास्त्रले होइन) अछुत भनेर ठहर्याएको दलित वर्गले आत्म सम्मानका लागि बौद्ध वा कृश्चियनिटीमा प्रवेश गर्नुलाई धार्मिक सवलीकरणको रुपमा बुझ्दा खास फरक नपर्ला ।  जे होस ब्यक्ति आफ्नो धर्म र धार्मिकता छनौट गर्नमा पूर्णतया स्वतन्त्र हुनुपर्छ ।

धर्मलाई फराकिलो रुपमा बुझ्ने हो भने धर्मप्रतिको आस्था अझ बढेर आउँछ । सबै धर्मप्रति सम्मान गर्ने सीपको विकास हुन्छ । यसले समाज र देशमा समेत धार्मिक सहिष्णुता र सद्भाव कायम गर्न सहज हुन्छ । कुनै धर्मको विशेषज्ञता भए पनि अर्को धर्मप्रति उदार दृष्टिकोण राखिदिए समाजमा सबैको कल्याण र मर्यादाको रक्षा हुने हुँदा सोही मार्गबाट समाजलाई हामी सबैले आ-आफ्नो योगदान दिऔ भन्ने लेखकको आग्रह रहेको छ । आफ्नो पेशागत धर्मको पालना र प्रचार गर्दै जाँदा अर्को समुदायप्रति ठेस नपुगोस भनी सतर्क रहनुपर्छ भन्ने  लेखकको मनसुवा रहेको छ । 

अन्त्यमा, पक्कै पनि यो आलेखले शोधपत्र लेखनको जस्तो मिहिन हिसाबले धर्मसम्बन्धी विषयका सबै क्षेत्रलाई समेट्न सक्दैन । यसका सीमितता तथा कमजोरीहरु पक्कै पनि छन् भन्ने ठानेको छु । तथापि विद्वान पाठकहरुमा यति विचार राखेपछि प्राप्त हुने प्रतिक्रिया र त्यसबाट आफूले प्राप्त गर्ने प्रयोगात्मक ज्ञान (Empirical Knowledge) का लोभले मेरो धारणा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।  पढीसकेपछि तपाईको धर्म (धारणा) अनुरुप लेखकलाई पृष्ठपोषण दिनुहुनेछ भन्ने विश्वास लिइएको छ ।