Tuesday, September 15, 2020

गजलः ...जनार्दनको जवाफ हुन्छ

जीन्दगीको कहानीको यस्तो पर्दाफास भयो  ।

सँधै यो मन ढुङ्गा रह्यो,  थोरैमात्र  कपास भयो ।

 

ठूलालाई चैन  अनि  सानालाई ऐन देखें,

समानता,  न्याय  मर्यो  सँधै यस्तै बकवास भयो ।

 

बलात्कृत  भइन् चेली, किनबेच भयो  रोज यहाँ  

कठै मेरो  देश,  सँधै  पापीलाई स्याबास् भयो ।

 

मृत्यु बिक्यो बजारमा, देख्छु क्रेता जताततै

आत्माको मोल कौडीको भो, यस्तै केही आभाष भयो ।।

 

रुपैयाँको ऐना हेर्दा,  घीनैलाग्दा  नाता  देख्यौ ?

 यँहाको  रीत यस्तै रैछ जनार्दनको  जवाफ  भयो  ।।

Friday, September 11, 2020

गीतःपर्खदैछ उज्यालोलाई....


जोगी हिड्यो उज्यालो खोज्नलाई ......
झिसमिसेमा मा अलख जगाउँदै .......

स्थायीः
बोलाउदैछ बिहानीले, रात ढल्दैछ हेर ।
संसारको अँध्यारोको आँत सुक्दै छ हेर
हाहाकार दुनियाँमा फैलिएछ जताततै !!!
विश्व शान्ति अलापेर शंख फुक्दैछ हेर ।।

अन्तरा १
डढ्यो डढ्यो सगर हेर क्षितिजको माथि माथि
बतासले एउटा आशा सुशेले झैं लाग्छ साथी
अझैसम्म हेरिरहेछ झर्ला तारा कँहिकतै
उज्यालोको सुगन्धलाई पर्खिएर राति राति ।।
धरतीप्रति प्रीति गाँसी सुन्दर सृष्टि बचाउन !!!
एउटा दिलाशामा यात्री आँफै जुट्दैछ हेर ।।

बोलाउदैछ बिहानीले ....
संसारको ....

अन्तरा २
चिरविरी गाँइदेला चरी शुभ बिहानीमा
उमङ्गले पोखिएला खुसीयाली सिरानीमा
यस्तो अमूल्य आशामा हिड्दैछ एक्लो यात्री
पर्खिरहेछ ऊ साथी एक्लै एक्लै बिरानीमा
जितिएला कतै विघ्न ? भरोसा छ कहिकतै
सपाना पछिको आशा फेरि उठ्दैछ हेर ।

बोलाउदैछ ....
संसारको ....

Thursday, September 10, 2020

गीतः बिछट्टै राम्री देखें तिमीलाई ‍‍‍

 

बिछट्टै राम्री देखें तिमीलाई ।

आयौ कि प्यारी दुधले नुहाई ??

भएँ म लट्ठै भन कैलेदेखि ?
जादु चलायौ हेर जैलेदेखि ।
बोलाउछ्यौ कि सुशेलीले गाई ?
आयौ कि प्यारी दुधले नुहाई ??
आँखाको भाखा परेलीको झिमझिम,
अझै रुझायौ पोखिएर सिमसिम ।
कटाक्ष गर्छौ सँगमै बोलाई,
आयौ कि प्यारी दुधले नुहाई ??
सृष्टिको प्यारो मीठो यौबनै हो ।
पग्लिई बग्ने हिउँ भो मनै यो ।
थुन्नु कसोरी मुहानैमा धाई ?
आयौ कि प्यारी दुधले नुहाई ??
देख्दा रसिलो अधरैको लाली,
बसाउँ हरदम मनमा अँगाली ।
कि चुमी दिउँ? भई होशियार
दुधले नुहाएको तिम्रो मुहार ??

गीतः मनभित्रै सुखको मुहान खोजे



मनभित्रै सुखको मुहान खोजे,
झलमल्ल मनको उज्यालो रोजे,
भेटिनेछ आफूलाई नै स्वर्ग भित्र,
उदाउँछ सूर्य मनमै विचित्र

मैलो थियो मनभरी दोष देख्छौ,
नियतै खराबी छ र खोट भेट्छौ,
लगाउ लगाम बाँध त्यो मनलाई,
स्वार्थ, अहंकार र कालो धनलाई ।।
देख्नेछौ तिमिले कति सफा चित्र
सुख भेट्छौ आहा ! मनमा विचित्र ।।
मनभित्रै सुखको मुहान खोजे
झलमल्ल मनको उज्यालो रोजे ।

शषीमा दाग देख्ने पनि तिमी हौ
औंशीमा उज्यालो भेट्ने नि तिमी हौ ।
सफा छ या कल्मष हृदय निहार
हृदयको ऐनामा छ दृष्टि बिचार
जवाफ मिल्नेछ त्यही मनलाई सोधे
झलमल हुनेछ मन उज्यालो रोजे ।
मन भित्र सुखको मुहान खोझे
झलमल्ल मनको उज्यालो रोजे ।।