Friday, December 10, 2021

मुद्रा स्फिति परिचयः कृष्ण गिरी

 वस्तु तथा सेवाको मूल्यमा हुने वृद्धिलाई मूल्यवृद्धि भनिन्छ । तर, ‘मुद्रास्फीति’ भने जीवनमा सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा वृद्धि भएको र यस्तो वृद्धि निरन्तर भएको अवस्था हो । अर्थात्, केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । किनकि, मुद्रास्फीतिका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । अर्थात् केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।

बजारमा मुद्राको परिमाणमा वृद्धि भएपछि सँगसँगै वस्तु तथा सेवाको उत्पादन वा आपूर्ति बढेन भने मुद्राको क्रयशक्ति कम हुन्छ र यही अवस्थालाई मुद्रास्फीति भनिन्छ । अर्को अर्थमा वस्तुको मूल्य बढ्नु र पैसाको मूल्य (क्रयशक्ति) घट्नु नै मुद्रास्फीति हो । यस्तो अवस्थामा वस्तु महँगो पर्ने भएकाले थोरै सामानका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने अवस्था सृजना हुन्छ । मुद्रास्फीतिको अवस्था त्यतिबेला मात्र सृजना हुन्छ, जतिबेला उत्पादनको तुलनामा मौद्रिक आम्दानी (प्रवाह) वृद्धिदर बढी हुन्छ ।

सामान्यतया मुद्राको परिमाणमा वृद्धिले मात्र मुद्रास्फीतिको अवस्था नआउन सक्छ । यसको अर्थ मुद्राको परिमाणमा वृद्धिबाहेक अन्य विभिन्न कारणले पनि मुद्रास्फीति हुन सक्छ । जुन अनुपातमा मूल्यस्तर वृद्धि हुन्छ सोही वा सोभन्दा धेरै अनुपातमा उत्पादनमा वृद्धि हुन्छ भने त्यस्तो अवस्थामा मुद्रास्फीति नहुन सक्छ ।

मुद्रास्फीतिका चरण
मुद्रास्फीतिलाई सामान्यतया चार चरणमा विभाजन गर्ने चलन छ ।

क)    क्रिपिङ इन्फ्लेशन (मन्द मुद्रास्फीति) : वार्षिक मूल्यवृद्धि दर ३ प्रतिशतभन्दा कम भएको अवस्थालाई क्रिपिङ इन्फ्लेशन भनिन्छ । आर्थिक वृद्धिका लागि यत्तिको इन्फ्लेशन आवश्यक मानिन्छ । यत्तिको मुद्रास्फीति उत्पादकहरूलाई उत्पादन कार्य चलाइरहन प्रेरक हुन्छ ।

ख)    वाकिङ इन्फ्लेशन (बढ्दो मुद्रास्फीति) : न्यूनतम ३ प्रतिशतदेखि ७ प्रतिशतसम्म मूल्यवृद्धि भएको अवस्थालाई वाकिङ इन्फ्लेशन भनिन्छ । केही अर्थशास्त्रीहरूले ९ प्रतिशतसम्मको मूल्यवृद्धिलाई पनि यसै चरणभित्र समावेश गर्छन् । यो पनि त्यत्ति आत्तिइहाल्नुपर्ने अवस्था होइन । यसले पनि उत्पादकहरूलाई प्रेरणा दिने भूमिका खेल्छ ।  

ग)    रनिङ इन्फ्लेशन (दौडँदो मुद्रास्फीति) : सामान्यतया १० प्रतिशतदेखि २० प्रतिशतसम्मको मूल्यवृद्धिलाई रनिङ इन्फ्लेशन भनिन्छ । यस्तो प्रकारको इन्फ्लेशन आर्थिक विकासका लागि खतरनाक मानिन्छ । यस्तो अवस्थामा कामदारहरूले ज्याला बढाउन निकै कडा दबाब दिन्छन् । र, उत्पादन लागत व्यवस्थापन गर्न गाह्रो हुन्छ । यो अवस्था नियन्त्रणका लागि बलियो मौद्रिक र वित्तीय नीति आवश्यक पर्छ ।

घ)    हाईपर/ग्यालोपिङ इन्फ्लेशन (अनियन्त्रित मुद्रास्फीति) : यो मूल्यवृद्धिको सबैभन्दा उच्चतम अवस्था हो । २० प्रतिशतभन्दा धेरैले मूल्य बढेको अवस्थालाई हाईपर/ग्यालोपिङ इन्फ्लेशन भनिन्छ । यो अवस्था अर्थतन्त्रका लागि निकै डरलाग्दो हुन्छ । यो अवस्थालाई सामान्यतया खतरनाक र सामान्य मौद्रिक तथा वित्तीय नीतिबाट नियन्त्रण हुन नसक्ने अवस्था पनि मानिन्छ । यसलाई नियन्त्रण गर्न समग्र अर्थतन्त्रकै व्यापक पुनर्संरचना गर्नुपर्छ । यस्तो अवस्थामा केही देशले पुरानो मुद्रालाई नै परित्याग गरेर नयाँ मुद्रा जारी गर्नेसम्म गरेका छन् ।

मुद्रास्फीतिका कारण
माग प्रेरित मुद्रास्फीति (मौद्रिक आम्दानीमा वृद्धि) : मौद्रिक आम्दानीमा वृद्धि हुँदा वस्तु तथा सेवाको माग बढ्न जान्छ । तर, सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ । माग बढेका कारण यस्तो भएकाले त्यसलाई माग प्रेरित मुद्रास्फीति भनिन्छ । सामान्य अवस्थामा निम्न कारणले यो अवस्था सृजना हुन्छ ।

क)    केन्द्रीय बैङ्कले जारी गरेको प्रारम्भिक मुद्रा तथा बैङ्कहरूले सृजना गरेको शाख मुद्राको आपूर्तिमा वृद्धि ।

ख)    घाटाको सरकारी वित्त व्यवस्था

ग)    जनसङ्ख्या वृद्धि

घ)    कर कटौती

ङ)    वैदेशिक ऋण, लगानी, सहायता र विषेषण आयमा उच्च वृद्धि (यसबाट माथि ‘क’मा दिएको अवस्था सृजना हुन्छ)

लागत वृद्धि मुद्रास्फीति (उत्पादन लागतमा वृद्धि)  
उत्पादन लागत बढेका कारण वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । मूल्य बढेका कारण माग केही घटेपछि माग र आपूर्तिबीचमा असन्तुलनका कारण मूल्यवृद्धि सृजना भएमा त्यसलाई लागत वृद्धि मुद्रास्फीति भनिन्छ । सामान्यतया निम्न कारणले यो अवस्था सृजना हुन्छ :

क)    पूँजी लागतमा वृद्धि

ख)    कच्चापदार्थको मूल्यमा वृद्धि

ग)    ब्याजदरमा वृद्धि

घ)    प्राकृतिक प्रकोप आदि

लगानीकर्तालाई असर

- मुद्रास्फीति उच्च भएमा उपभोक्ताको क्रयक्षमतामा कमी आउने भएकाले सीमित आय भएका लगानीकर्ताले ठूलो जोखीम लिन चाँहदैनन् । त्यस्तै धेरै आम्दानी भएका लगानीकर्ताले पनि मुद्रास्फीतिको अवस्थामा लगानी गर्न उत्साहित हुँदैनन् ।

- मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्य कम हुँदै जाने भएकाले बचत गरेको मुद्राको मूल्यमा ह्रास आउँछ । यसले मानिसहरू बचत गर्न प्रोत्साहित नहुन सक्छन् ।

- सामान्यतया मुद्रास्फीति उच्च हुँदा ब्याजदर पनि उच्च हुन्छ र कम हुँदा ब्याजदर पनि कम हुन्छ । तसर्थ, मुद्रास्फीतिको अवस्थामा लगानीकर्ता अपुग लगानीका स्रोत खोज्न वा नयाँ लगानी गर्न उत्साहित हुँदैनन् ।

- मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्यमा ह्रास आउँछ । तसर्थ, लगानीकर्ताले सानो पोर्टफोलियो निर्माणका लागि पनि ठूलो धनराशि खर्च गर्नुपर्छ ।

Wednesday, December 8, 2021

रुपैयाँलाई विस्थापन गर्ने डिजिटल मुद्रा ल्याउने तयारीमा राष्ट्र बैंक

रुपैयाँलाई विस्थापन गर्ने डिजिटल मुद्रा ल्याउने तयारीमा राष्ट्र बैंक: विश्वका अन्य धेरै केन्द्रीय बैंकजस्तै नेपाल राष्ट्र बैंक पनि विद्युतीय मुद्रा (डिजिटल करेन्सी) ल्याउने दिशामा