Monday, May 31, 2021

लेखः तेरा बाउः मेरा पिताजी


अहिले मृत्युसँगको महासङ्ग्राम चल्दैछ । कोरोनाको पछिल्लो भेरिएन्ट धेरै नै खतरनाक भएको सबैलाई अन्दाज भइसकेको छ । सबै कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेका छन् । सङ्क्रमणको साङ्लो चुडाउनलाई सर्वसाधारणहरुलाई घरैमा बस्न र सकेसम्म आइसोलेट बन्न आग्रह गरिएको छ ।

यसै प्रसङ्गमा एक दिन एउटा कार्यालयमा अब कसरी अघि बढ्ने विषयमा छलफल शुरु भएछ । धेरै थरी प्रस्तावहरु आए । आलो पालो मिलाएर काम गर्ने, प्रत्येक दिन आए पनि दुई सिफ्ट बनाएर चलाउने, अत्यावश्यक सेवा नभएकोले कार्यालयमा दर्ता चलानीको काम मात्र सामान्य रुपमा गरी कार्यालयलाई पूर्ण रुपमा बन्द गर्ने आदि । सबै कुरा सुनिरहेका हाकिम साबले अन्त्यमा भनेछन्– हाम्रो कार्यालयमा जनसम्पर्क हँुदैन । कार्यालय बन्द गर्नु आवश्यक नै छैन । उच्च मनोबल लिएर काम गर्नुपर्छ अनि सतर्क रहनुपर्छ । हाकिम साबका कुराहरु सुनिसकेपछि त्यहाँ उपस्थित मध्येकै एकजना कर्मचारीले एउटा किस्सा सुनाए । उनले भनेको कुरा एकाध बाहेक कसैले ध्यान दिएनन् कि बुझेनन् कि ? एकदेशमा दुई जना मित्रहरु थिए । उनीहरुको मित्रता कसैसँग अतुल्य थियो । एक अर्काका लागि मरिमेट्ने साथीहरु भए पछि गाह्रो–साह्रोमा सरसहयोग र महफिलमा सँगै रमाउने नै भए । एक दिन यस्तो मोड आइपुग्यो, पहिलो साथीको पिताजीले मृत्युवरण गरे । पिता पुत्रमा असाध्यै प्रेम थियो ।

 देशसँग देशलाई आइसोलेट गर्ने, प्रदेशसँग प्रदेश, जिल्लासँग जिल्ला, गाउँसँग गाउँ, प्रत्येक घरसँग घर र व्यक्तिसँग व्यक्तिको आइसोलेसन गरिएपछि करिव ३ हप्तामा भाइरसको चक्र पुरा हुन्छ र आफै सङ्क्रमण कम हँुदै जान्छ भनेर चिकित्सकहरुले बताउदै आएका छन् । तर, एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने क्रम जारी रहेपछि कहिल्यै यसको चक्र पुरा हुँदैन र सङ्क्रमण भई नै रहन्छ । यसरी सङ्क्रमण लामो समयसम्म जारी रहनाले भाइरसले आफ्नो रुप परिवर्तन गर्छ ( म्युटेसन) र नयाँ भेरिएन्टको रुपमा फेरि अर्को सङ्क्रमण लिएर आँउछ । त्यसैले सबै कुरा त्यागेर अहिले आइसोलेसनको विकल्प छैन ।

साँच्चै भन्नु पर्दा त्यस्तो आदर्शतम् प्रेम र अनुराग जो सुकैको पिता पुत्रमा कहाँ पाइन्छ र ? या त कुनै आख्यानकारको काव्य या त पौराणिक पात्रको साहारा लिनुको विकल्प रहँदैन । छोराको विलाप शुरु भैहाल्यो । उसको साथीलाई पनि दुःख नलागेको त होइन तथापि धेरैबेरमा सम्हालियो । मृत्युमा आँफैले आफैलाई सम्झाउने र सम्हालिने हो । जसले मृत्युबरण गर्छ उसको त खेलो फड्को सकिन्छ तर अब बाँच्नेहरुको खेल शुरु हुन्छ । बाँच्नेहरुको खेलमा पहिलो गोटी साथीले चालेको थियो । अनेक दृष्टान्त तथा प्राकृतिक नियमको कुरा गरेर शोक सन्तप्त पुत्रलाई सम्झाउछ साथीले । बाँच्नेले फेरि पनि बाँच्ने खेल खेल्नैपर्छ, अर्को उपाय छैन । बाबुको काज किरिया सकियो । विस्तारै मृत्युको घाउ समयले पुर्दै गयो । समय चक्रले फेरि अर्को फन्को लगायो । अब दोस्रो साथीको पालो थियो । दोस्रो साथीका पिताजीलाई पनि कालले छोडेन । दोस्रो साथीको पनि पिता पुत्र प्रेम तथा अनुराग पहिलोमा भन्दा सम्भवतः बढी नै थियो । यस्तो प्रेमको उपमा के दिने आँफै कन्फ्युज छु । पहिलो साथीले सम्झाउन त कोशिष गरेकै हो तर पितृशोक बस उसले साथीको कुरा बुझ्नै सकेन । उसले साथीको सम्झाईमा अतिरञ्जना पायो । उसलाई लाग्यो, आफ्नो प्रिय पिताजी मर्दा धीत मर्ने गरी रुन पनि नपाउने ? त्यसपछि पिताप्रतिको अनुराग साथी प्रतिको तिरस्कारमा परिणत भयो । भन्यो– मैले कुनै दिन तिम्रा बाउ मर्दा तिमीलाई सम्झाएको थिएँ भन्दैमा तिमीले अहिले त्यसको पैंचो तिर्नुपर्छ भन्ने छैन ।

यहाँ त मेरा पिताजीको असामयिक निधन भएको छ । तिमी भने यसलाई हल्का रुपमा लिन्छौ ? के तिमीभित्र मृत्युजन्य शोक तथा संवेदना समाप्त भयो र यन्त्रवत मलाई सम्झाउन उद्यत रहन्छौ ? दोस्रोले आफ्नो साथीको पिताजीलाई बाउ भन्यो र आफ्नो पिताजीलाई पिताजी नै भन्यो । प्रष्ट हो पुत्रमा पिताप्रतिको अनुराग ज्याँदै नै रहेछ । कोभिडको भीडमा हामी कसरी हराइरहेछौ ? चीनमा कोभिडको प्रकोप हुँदा हामीले भन्यौ– चीनमा हो, नेपालमा त हैन नि ! हामीले गर्नुपर्ने तयारीको त के कुरा, त्यो सम्बन्धमा खोजी न चासो, केही नै गरेनौ । त्यसको केही पछि हाम्रै निर्णयले लाखौं मुस्लीमहरुको भेला गर्न बोलायौ इज्तमा भनेर । कमसेकम १० लाख मानिसको उपस्थितिमा त्यो धार्मिक कार्यक्रम सम्पन्न भएको थियो । त्यसपछि दिल्लीस्थित मस्जीदका भक्तजनहरुलाई कोरोना पुष्टि भएपछि मात्र हामी एक खेपका लागि अलिकति झस्किएका थियौ । यहाँ नेर हाम्रो भाग्य बलियो ठहरियो र ठूलो दुर्घटना हुन पाएन । यो त प्रतिनिधि भेला मात्र थियो ।

मानिसहरूको जमघट हुने अन्य कति कार्यक्रम भए त्यसको लेखा जोखा नै छैन । धन्य ! संक्रमण नियन्त्रण भन्दा बाहिर गएन । यति हुँदाहुँदै पनि मलाई लाग्छ पहिलोपटकको संक्रमण फैलिएको अवस्थामा हामीले कम्तीमा शहरी इलाकामा अलि बढी नै सतर्कता अपनाएको थियौं । यसपटक त जनता पनि थेत्तरा भए । कोही अझै पनि कोरोनालाई प्रोपोगान्डा नै हो भनी फुक्दै हिडेकै छन् । हामी अहिले धेरैले भन्ने गरेको वाक्यांश ‘ केही नहुञ्जेल केही हँुदैन’ कै शरण परेर पुरै भाग्यमा विश्वास गर्ने आत्मबलद्वारा दर्विला भएका छौं । यो पटक न सरकारले कुनै ठूलो तयारी ग¥यो, न कसैले । तयारी गर्नु भन्दा अघि नै धेरै मान्छेलाई कोरोनाले काम तमाम गरिसकको अवस्था छ । अझै पनि, ‘ए ! त्यो छिमेकीकोमा मात्र हो । हाम्रो घरमा छैन’ को मनस्थिति आम मान्छेहरुमा पाइन्छ । अरुको मृत्यु हुँदासम्म साथीको बाउ हो भनेर सम्झाउन त सकिएला तर आफ्नैको मृत्यु र आफ्नै मृत्युमा कसैले सम्झाउन हिम्मत गर्ने छैन भन्ने कुरा समयमै ख्याल राख्न ढीला भइसकेको छ ।

गत वर्ष सरकारले नै लकडाउनको घोषणा ग¥यो । हरेक जिल्लामा, हरेक स्थानीय तहमा क्वारेन्टिन बनाइए । सीमाका विभिन्न स्थानमा होल्डिङ सेन्टर तथा संक्रमण पुष्टि भएकाहरुलाई राख्न आइसोलेसन सेन्टर बनाइएका थिए । कुनै घरको कुनै व्यक्तिमा लक्षण देखिए तुरुन्त क्वारेन्टिनमा लगेर निगरानी गरियो । सङ्क्रमणको श्रृंखला चुडाउनलाई त्यतिबेला साँच्चै नै प्रयास भएको थियो । भलै भेन्टिलेटर त्यति धेरै थिएनन् । त्यसमा चै नेपालीको भाग्यवादले काम गरेजस्तो देखियो– त्यति धेरै भेन्टिलेटरको आवश्यकता देखिएको पनि थिएन । तर यसपटक चैं हामीले के के गर्न भ्यायौ ? काठमाण्डौमा संक्रमित भएर आएका मानिसहरु गाउँमा बिरामी हुँदा वा मरिरहँदा सोच्छु, के तिनीहरु घरमा हुनुपर्ने हो र ? उनीहरुलाई समयमै आइसोलेट गरी उपचार गर्न नसक्दा एकातिर अकालमा मृत्युले ताण्डब मच्चाएको छ भने अर्कातिर अहिले सारा गाउँ तथा दुर दराजसम्म कोरोना फैलिएको छ ।

सारा जनता भयाक्रान्त बनेका छन् । सरकारको तयारी एक ठाउँमा छ, त्यसमा कमजोरी भयो । अनि हामी जनता के गर्दैछौ ? अरुको मृत्युलाई फेसबुक र सामाजिक सञ्जालको स्टाटस बनाएर लाइक र कमेन्ट गन्दै मर्न बाँकी रहेकाहरुलाई थप मृत्युको निम्ता त दिदै छैनौ ? एक चोटी दोहोर्याएर सोच्ने बेला भएको छ । त्यो पनि मर्यो, ऊ पनि मर्यो भनेर मृत्युको पङ्क्ति देख्दा बिरामीको मनोबल कहाँ रहन्छ ? बरु हामीले यति गर्न सक्छौं – फेसबुकमा समवेदना स्वरुप दिवंगतको फोटो नहालौं । समाचार दिनै पर्ने कर्तव्य भएको एक जनाले हालिसकेपछि त्यसलाई क्बम रियाक्ट गर्ने वा एक शब्द श्रद्धाञ्जलि वा च्क्ष्ए लेखेर सूचना ग्रहण गरेको सन्देश दिनु वा दिवंगतप्रति श्रद्धा व्यक्त गर्नु नै आजको अवस्थामा सबैभन्दा बुद्धिमानी देखिन्छ । हामीले बिरामीका छिमेकी वा परिवारका अन्य सदस्यहरुलाई सोधेर के कस्तो अवस्था छ भनेर बाचुञ्जेल एक पटक फोन नगर्ने अनि मृत्यु हुनासाथ फोटो हालेर समवेदना र श्रद्धाञ्जली व्यक्त गर्ने विक्रितिपूर्ण कार्य गर्नाले यो सिङ्गो समाजको मनोबल गिरिरहेको छ । हुन त माथिको कथामा भनिएझैं दिवंगतसँगको अट्याचमेन्ट र अनुरागको मात्रा अनुसार सबै कुरा फरक पर्न सक्छ ।

तथापि हामीले सकेसम्म संयमित भएर बस्नुपर्ने समय आएको छ । रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिद्वारा रोगसँग लड्ने क्षमता विकास गर्न सकिन्छ भनेर सास फेर्न सिकाउनेदेखि लिएर योगा ध्यान सिकाउनेहरुको बजार आजभोलि बिस्तार भएको देखिन्छ । व्यायाम तथा योगाभ्यासले निशन्देह हामीलाई मजबुत बनाउँछ । तर, यो अहिलेलाई भने घरमा आगो लागे पछि कुवा बनाउन दौडे जस्तै हो । आज व्यायाम वा योगाभ्यास गर्नाले आजै वा भोलिलाई नै हामीले रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्दैनौ । बरु व्यायाम र योगाभ्यासलाई जीवनशैलीको रुपमा अपनाउदा भने यो जीवनभरलाई सहायक हुनसक्छ । अर्कातिर आयुर्वेदिक औषधिको व्यापार पनि त्यस्तै देखिन्छ । आयुर्वेदिक औषधिले पनि तुरुन्तै काम गर्ने होइन । इमर्जेन्सीमा हामीले एलोप्याथिकका औषधी सेवन नगरी सुखै छैन । तुलसी मञ्जरी वा तुलसीको पत्ता, बोझो, अलैंची, दालचिनी, बेसार, गुर्जो आदि जस्ता जडीबुटीजन्य कुराहरु घरमा राखेर सावधानीपूर्वक जानकारहरुको सल्लाहमा तिनीहरुको काँडा पानी सेवन गर्ने, पानीको वाफ लिने जस्ता कार्य गरेमा केही हदसम्म स्वस्थ्य सुधारमा मद्दत गर्ला । तर, जडीबुटीको प्रयोग जथाभावी गरेमा यसले राम्रो नतिजा दिन सक्दैन भन्ने कुरा पनि ख्याल राख्नुपर्छ । ज्वरो आउँदा कसरी प्राथमिक उपचार गर्ने भन्ने जानकारी राख्दा सबैको लागि फाइदा नै हुने देखिन्छ । बरु हामीले सँधै देखेर आफूसँगै रहेर पनि वास्ता नगरेका धेरै कुराहरु हुन्छन्– त्यस्ता कुराहरुमा ध्यान दिनुपर्छ । उदाहरणको लागि सँधै पत्रिकामा एम्बूलेन्स लगायत महत्वपूर्ण टेलिफोन नम्बरहरु छापिन्छन् । तर कहिल्यै पढ्दिैन । हामीले घरका सबैले देख्ने ठाउँमा एम्बुलेन्स, नजिकको स्वास्थ्यकर्मी वा डाक्टर, प्रहरी, जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, वडाध्यक्ष तथा मेयर÷ उपमेयर, दमकल आफूले प्रयोग गर्ने गरेको अटो रिक्सा आदि आफूलाई भैपरी आउन सक्ने व्यक्ति वा संस्थाहरुको फोन नम्बर लेखेर टाँस्नु वा मोवाइलमा सेभ गर्नु जरुरी छ ।

महामारीको समयमा सबैले सिटामोलको एक दुई फाइल घरमा राख्नुपर्छ । थर्मोमिटर तथा अक्सिमिटर सकेसम्म घरमा राखेर बेला–बेला आफ्नो स्वास्थ्यको जाँच गर्दै गरे आफू र परिवारको स्वास्थ्यमा सजग रहन मद्दत पुग्छ । यी सबै कुरा गरिसक्दा, हालसम्म कुनै पनि भाइरसजन्य रोगको पूर्ण रुपमा उपचार गर्न सक्ने औषधि बनेको छैन । चाहे त्यो जति सुकै अघि नै जनार्दन कट्टेल देखापरेको किन नहोस् । यसको नियन्त्रण वा रोकथाम गर्न सकिन्छ तर निर्मूल पार्ने औषधि बनेको छैन । पछिल्लो समय देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्टको पनि उपचार सम्बन्धमा सोही कुरा लागु हुन्छ । डाक्टरले लक्षणको आधारमा बिरामीलाई सपोर्ट गर्ने हो । रोगलाई जित्ने हाम्रै शरीरभित्रको इम्युनिटीले मात्र हो । यसै सन्दर्भमा सामाजिक सञ्जालमा आइरहने एउटा सकारात्मक सोचको अर्को छोटो किस्सा यहाँ प्रस्तुत गर्न उपयुक्त देखिएको छ । अमेरिकामा एकपटक एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

उसलाई परीक्षणका लागि मृत्युदण्ड बिषालु सर्पको डसाइबाट दिइनेछ भनी बताइयो । उसको आँखामा पट्टी बाँधेर सर्पको जस्तै दाँत भएको सुईले घोचियो । अभियुक्तलाई लाग्यो कि– मलाई सर्पले टोकी सकेको छ । त्यसपछि २४ घण्टा भित्रै उसको मृत्यु भइ हाल्यो । यो साँच्चै नै अचम्मको र रहस्यमय घटना थियो । बैज्ञानिकहरूका लागि पनि ठूलो अनुसन्धानको विषय बन्यो । त्यसपछि मृतकको शरीरको जाँच गरिहेर्दा उसको रगतमा सर्पको विषको मात्रा पाइयो । यस कथाको सन्देशबाट हामीले भन्न सक्छौं कि – हाम्रो मस्तिष्कले जस्तो सोच राख्यो त्यस्तै नै शरीरले रसायनिक पदार्थ उत्पादन गर्ने रहेछ । कोभिडको सन्दर्भमा पनि हामीले नकारात्मक कुराहरु मात्र सोच्यौं भने हामी झनै कमजोर बन्दै जान्छौं र हामी रोग प्रतिरोध क्षमताहीन हुनेछौं । त्यसैले हामीले दह्रो आत्मबल तथा हामीभित्रै रहेको सकारात्मक उर्जाद्वारा रोगलाई परास्त पार्नु पर्ने समेत देखिएको छ । त्यसो भएपछि अब कोरोना भाइरसलाई जित्ने दुइटा तरिका मात्र देखिए । पहिलो इम्युनिटी बढाउने । जसका बारेमा चर्चा गरिसकियो । इम्युनिटी हामीसँग जे छ छँदैछ । बढाउने भन्दैमा केही महिना वा दिनको योगाभ्यास, व्यायाम वा आहार विहारले बढ्दैन ।

यो त जन्मेदेखि लगातार विकास भएको हुन्छ । हाम्रो जीवन पद्धति÷ शैलीले समेत निर्धारण गर्छ । यसमा सकारात्मक सोचजन्य उर्जाले पक्कै सहयोग पु¥याउने नै छ । दोस्रो पद्धति भनेको सङ्क्रमण फैलन नदिने नै हो । त्यसका लागि सङ्क्रमणको शृङ्खलालाई चुडाउनुपर्ने हुन्छ । जसको लागि आइसोलेसनको जरुरी हुन्छ । देशसँग देशलाई आइसोलेट गर्ने, प्रदेशसँग प्रदेश, जिल्लासँग जिल्ला, गाउँसँग गाउँ, प्रत्येक घरसँग घर र व्यक्तिसँग व्यक्तिको आइसोलेसन गरिएपछि करिव ३ हप्तामा भाइरसको चक्र पुरा हुन्छ र आफै सङ्क्रमण कम हँुदै जान्छ भनेर चिकित्सकहरुले बताउदै आएका छन् । तर, एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने क्रम जारी रहेपछि कहिल्यै यसको चक्र पुरा हुँदैन र सङ्क्रमण भई नै रहन्छ । यसरी सङ्क्रमण लामो समयसम्म जारी रहनाले भाइरसले आफ्नो रुप परिवर्तन गर्छ ( म्युटेसन) र नयाँ भेरिएन्टको रुपमा फेरि अर्को सङ्क्रमण लिएर आँउछ । त्यसैले सबै कुरा त्यागेर अहिले आइसोलेसनको विकल्प छैन ।

यो कुरा नबुझेर होला अझै पनि आफ्नो काम, व्यापार र टार्गेटलाई चैं पार गरिहालौ भन्दै कतिपय व्यक्ति, कार्यालय तथा व्यापारीहरु आफ्नो काम चालु राखेर झन् ठूलो संक्रमणलाई निम्ता दिइरहेका छन् । त्यसैले अहिले उसको बाउ मर्दा हामीले नबुझे जस्तो ग¥यौ, आफ्नै खाले अर्ति र बुद्धि दिदै हाम्रा क्रियाकलापलाई जारी राख्यौ भने भोलि आफ्नै पिताजी मर्दा सम्झाउने साथी पनि बाँकी रहदैनन् भन्ने बुझ्नु अत्यन्तै जरुरी छ ।

कथाः भोग

कथाः भोग

-ऋषि शान्तिप्रिय


जेठको महिना । सत्र ठाँउमा हिलो बाटोमा मोटर साइकलमा पछारिदै  र उठ्दै  अफिस पुगेको थिएँ । माई नगरपालिका वडा नं. ७ को कार्यालयमा काम गर्न थालेको करीब तीन वर्ष भैसकेको थियो । भिजेका लुगा तथा गमबुटहरु धोइपखाली गरेर अफिसमै राखेका लुगा फेरेर बस्दै मात्र थिएँ । एक जना करीब ८० वर्षका मान्छेले कार्यालय प्रवेशसँगै लामो सुस्केरा हाले । बुढो शरीरलाई लट्ठीमा अड्याउँदै, मुसो झैं भिजेर, थरथर काम्दै कार्यालयमा आइपुगेकका रहेछन् ।  सोधें- "हजुरको के काम थियो ?"

-"......... मृत्यु दर्ता गर्नु थियो ।" अझै पिलपिलाउदो अनुहार लगाएर उनले आफ्नो कुरा भने । शुरुमा भनेको केही वाक्यांश बुझिन । बलेंसीको धररर... आवाजले छेकेको थियो उनको शब्द।

 मलाई लाग्यो- धेरै नै प्रेम गरिएको कोही थियो उनको । त्यस्ता मान्छेको मृत्यु दर्ता आँफैले गर्नु पर्ने बाध्यता पर्दा त्यसको मानसिकता के हुन्छ भन्ने कुराहरुको अध्ययन मैले यस अघि पनि धेरै नै गरिसकेको थिएँ । मैले यस वडा कार्यालयमा वडा सचिबको जिम्मेवारी सम्हालेपछि आर्जन गरेको अनुभव त्यही हो । भन्नलाई घटना दर्ता भनिन्छ । तर अरु घटना जस्तो होइन मृत्यु दर्ता ।आफ्नो आँखा भित्र लुकाउनु पर्ने मानिसको लागि अन्तिम अग्नी हो मृत्यु दर्ता ।जीवित आफन्तको कानूनी दागबत्ती हो मृत्यु दर्ता । दुखद मृत्यूलाई  र मृतकको बियोगलाई कानूनी रुपमा स्वीकार्न बाध्य गराउँछ मृत्यू दर्ताले ।

आगन्तुकको मनस्थिति बुझेपछि उनी झरी बन्नु अघि नै मैले अनुसुची फाराम निकाले र भरिदिन थालें । लेख्दै गएँ -  सूचकको नाम, मृतकको नाम, स्थायी ठेगाना, उमेर, मृत्यूको कारण.....

एउटा अनुसुची फारम भरिसक्दा थाहा भयो-  ती आगन्तुक त उनकी १४ वर्षकी नातिनीको मृत्यु दर्ता गर्न आएका रहेछन् । उनले अर्को पनि सुचना फारम भर्नु पर्ने बताए । त्यो पनि भरिदिएँ । दोस्रो सूचना फाराम थियो उनकै १५ वर्षिया अर्की नातिनीको । अनि फेरि तेस्रो फाराम भरिदिएँ उनको १७ वर्षका नातीको । एकै मितिमा खोलाले बगाएर मृत्यु भएका तीन जना सन्तानलाई कानूनी दागबत्ती दिन बुढाले ढुङ्गाको मुटु बनाएर मकहाँ आएका रहेछन् ।  आगन्तुक भन्दा अघि नै मेरो आँखा रसाइसकेका थिए । उनी तिर टाउको उठाएर हेर्न सकिन । के उनी मसँग सँगै रोइरहेका थिएनन् होला त  ? के उनका आँखा जीवन भर कहिल्यै ओभाउलान ?  मुटु मिचेर तीनवटा अनुसुची फारम भरिदिएँ ।  घटनाबारे मलाई थप जिज्ञासा भयो । केही भन्नको लगि उनलाई आग्रह गरें ।  पहिला त 'त्यो कालो दिनको बज्र प्रहारलाई कसरी भन्न सक्छु  ? बरु यसलाई कुनै तरिकाले बिर्सन पाए पनि हुन्थ्योभनेर आँशु पुछ्दै सुकसुकाइरहे ।  मैले  दुःख बाँड्दा  मन हलुका हुन्छ भन्दै धेरै नै जिद्दी गरेपछि त्यो दिनको कहानी छोटकरीमा भन्न बुढाबाबै राजी भए ।

उनी जन्मनु भन्दा अघि नै उनका बाबु मरेका रहेछन ।आमाले पनि उनको जन्मको बदला आफ्नो शरीर नै यमराजलाई अर्पण गरेकी रहिछन् । उनी काकीको दुध खाएर हुर्किएका रहेछन् । उनी भन्दा १ महिना जेठो दाजु छ काकाको छोरो । बाबुआमा नभए पछि आफ्नो छोरालाई झैं समान व्यवहार गर्न सकेनन् काका काकीले ।त्यस माथि पोलियोले गर्दा उनका खुट्टाहरु पनि लुला थिए । धेरै काम गर्न नसक्ने थिए । २०१२ साल तिर एक दिन काका र गाउँका अरु धेरै मान्छेसँग साथ लागेर शन्सरे बजार नुन बोक्न झरेका उनी अहिलेसम्म जन्मभुमि जितपुर तिर फर्केका छैनन् रे । त्यतिखेर त्यस्तै १५ वर्ष जतिका थिए । खोरिया फाँड्नेहरुको जमातमा लागेर आफ्नो भाग अलिकति फाँडेर त्यतै घरजम गरेका रहेछन् । अलिकति खेत बिराएर र केही बारी समेत थप गरी एउटा परिवार पालिन पुग्ने जग्गा जमिन कमाएर गुजारा गर्दै आएका रहेछन् । छोरा बुहारी र नाति नातिनाको धनी भएर मन भरी सुखै सुख लिएर सन्तोषको जीवन बाँच्न थालेका रहेछन् ।

यसै बिचमा तीनबर्ष अघि एउटा बज्रपात भयो उनको जीवनमा । उनका छोरा र बुहारीलाई त्यही माई खोलाले निल्यो । साउने सङ्क्रान्तिको लागि किनमेल गर्न शुक्रबारे बजार जाँदा डुङ्गा दुर्घटनाले उनको ढकमक्क फुलेको फुलको पत्रबाट सुन्दर दुई पत्र चुँडालिदियो । उनी साह्रै शोकमा परे । नपरुन पनि किन ? संसारमा आफ्नै छोराको अर्थी उठाउनुको दुःख कसैले कल्पना गर्न सक्ने भन्दा ठूलो दुःख हो । आफूलाई जसो तसो सम्हालेर छोराको नासो नाती नातिनाको जिम्मा लिई मन बुझाएर बसेका रहेछन ।

"बाबुआमा बितेको तीन वर्ष पनि नबित्दै हुर्किसकेका नाती र नातिनीहरुलाई त्यही खोलाले बगायो । आँखै अगाडि उनीहरु भेलमा पसे । कति खोजियो, लाससम्म फेला पार्न सकिएन......." त्यसपछिको कष्टकर कहानीलाई बुढाले एकै सासमा भने र लामो सुस्केरा हाले । उनका आँखाको भेलले उनको दुःखलाई कसै गर्दा बगाउन सक्दैन । उनको कहानी सुनेर मलाई लाग्यो, दैब भन्ने न्यायकर्ता छ र कतै ? या त छैन, या त त्यो न्यायकर्ता नभई अन्यायकर्ता र पीडक हो । नत्र किन एकै व्यक्तिको जीवनमा पीडा माथि पीडा थपिदिन्छ ? कति परीक्षा लिन्छ एउटा अपाङ्ग बेसाहाराको ?

उनी अरु थप भन्दैथिए । "त्यही खोलाले मेरो छोरा बुहारी खायो, नाती नातिनी खायो । अनि मलाई चै किन खाँदैन ? खान्थ्यो पनि होला, म त्यही खोलामा फाल हाल्न सक्दिन ।अहिले सर्खारले पुल हालिदियो, मोटर चल्ने...

... कन्काइ हाइस्कूलको कक्षा १२ मा पढ्थ्यो नाती । साह्रै जाति थियो । आफ्नो बाबुआमा बितेपछि घरको सबै जिम्मा लिई बसेको थियो । बहिनीहरु त्यही स्कूलमा १० र ९ कक्षामा पढ्दै थिए । साह्रै माया गर्थ्यो बहिनीहरुलाई पनि

 । स्कूल हिडेंका त्यस्ता लाउँलाउँ र खाउँखाउँ उमेरका नानीहरुको भोग खायो यो पुलले ।"

त्यसो त माई खोलाले वर्षैपिच्छे महमाईका मानिसहरु निल्थ्यो । वर्खा लागे पछि महमाई एउटा टापुमा परिणत हुन्थ्यो । उत्तर, पुर्व र दक्षिण तिर माईको छेको हुन्थ्यो । तर्नलाई कसैको पिताम् चल्दैनथ्यो । पश्चिम तिरको झोडाको बाटोमा सयौं खहरेहरुले छेक्थे । कि त प्राणको बाजी थापेर पारी जानु पर्थ्यो कि त चुपचाप आफूसँग जे छ, त्यसैमा सन्तोष मानेर बस्नु पर्थ्यो, हलचल नगरी । उनले आफ्नो कथा सकेसम्म छोटकरीमा सुनाएर हिक्क हिक्क गर्दै रुन थाले । मैले आजभन्दा २० वर्ष अघिको आँफैले भोगेको कथा सम्झिएँ ।

****

कलकत्तेबाट फर्किदा खेरि माई खोलामा केही पानी बढेको जस्तो देखिएको थियो। हिजो पानी कम्मर कम्मरसम्म मात्र थियो । यति पानी भनेको दानाबारी तथा महमाईका मान्छेका लागि अति साधारण कुरा हो । तर हिजोको एकै भङ्गालो भई बगेको पानी आज दुई ठाउँबाट बगिरहेको देखिएको थियो । मनमा लाग्यो - 'पहाड तिर अलिअलि पानी परेछ ।पानीमा टेक्न पनि डराउने मान्छे थिएँ । दानाबारीको बसाईले मलाई पानी देखि नडराउने बनाइसकेको थियो ।  खोलामा पस्ने बेलामा अरु पनि मान्छे बिस्नेटार तिरबाट आएको देखेर थप आश्वस्त पनि भएको थिएँ -  खोला तर्न सकिएला भनेर ।

पहिलो जङ्घार मेरो लागि नौलो थियो । हिजोको बगरमा पानीले आज धेरैजसो अड्डा जमाइसकेको थियो । पानीको बहाब बिचार गरेर खुट्टाले नै जमिनको सतह थाहा पाई सन्तुलित भई हिडेमात्र पारी पुग्न सकिन्छ । खोला तर्ने  सिद्धान्तको यस विषयमा म जस्तो दुई चार दिन दानाबारी बसेर सिक्नेहरुका लागि ठूलै कुरा हुन्थ्यो । मेरा लागि पहिलो जङ्घार नै निकै चुनौतिपुर्ण भएको थियो । साँच्चै नै जङ्घार तर्नु थियो, तिघ्रा कमाउनु थिएन । मनोबल सकेसम्म दह्रो बनाएर पाइला चालें । पहाड मधेश गरिरहने काकाका छोराहरुले माई खोलो तरेका विभिन्न कथाहरु सुनाएका थिए । तिनै कथाहरुको सम्झना गरें । साउनका भेलमा समेत खोलो तरेको साहासिक कथाहरु सम्झेर आफूलाई कमजोर हुन पटक्कै दिइन । आजको दिन साउन पनि थिएन । यो त बैसाखको अन्तिम तिर थियो । बैसाखको मध्य दिनको धुपमा पानी खेल्ने ठाउँको कथा थियो यो । 

खुट्टाले बालुवा सरर बगिरहेको अनुभब गरिरहेको थियो । जमिन पनि अलि कति कमजोर नै थियो । टेकेको ठाउँको बालुवा पानीले तुरुन्तै बगाइहाल्ने भएकोले तुरून्तै पाइला चालि हाल्नु पर्थ्यो नत्र लडिने डर हुन्थ्यो ।  पानीको सतह क्रमशः बढीरहेको थियो । पानीको धार पनि पहिला भन्दा अलि धेरै नै थियो । नत्र चण्डालघाटमा आइपुग्दासम्म माइखोला निक्कै नै लोतो गरी बग्न थालिहाल्नु पर्ने हो । यसै खोलाको माथिल्ला जङ्घारहरु सिस्ने, घण्टे, निर्फुक, बेलासीहरुमा पानी निक्कै नै बेगले बग्ने गर्छ । त्यसैले त्यहाँ खोला तर्न निक्कै नै जमेर बगेको ठाउँ खोज्नु पर्छ । तर यहाँ जङ्घार खोज्न त्यति धेरै मिहिनेत गर्नु पर्दैन थियो ।  तर आज के भइरहेछ ?

पहिलो जङ्घारमा करीब एक सय मिटर तल पुगेर पारी उत्रिएँ । एउटा फराकिलो सडक जत्ति नै ठाँउ छोडेर दोस्रो जङ्घार शुरु हुन्थ्यो । मेरो मूल सातो त्यही पहिलो जङ्घारले लगिसकेको थियो । दुईपट्टि खोला बिचको टापुमा म एक्लो यात्री उभिएको थिएँ । अघि देखिएका बिस्नेटार तिरका युवा साथीहरुलाई हेरें । उनीहरु बगरबाट बिस्नेटार तिरै फर्किरहेका देखिए । के उनीहरु खोलो कति बढेछ भनी हेर्न मात्र आएका थिए ? कदाचित् तिनीहरुमा खोलो तर्न आँट पुगेन होला त ? खोलो तर्ने साथीहरु पनि छैनन् भनेर पूर्ण रुपमा पुष्टि भयो । मेरा लागि नितान्त एक्लै माईखोलासँग युद्ध गरेर पारी जानु पर्ने भन्ने संकेत पनि थियो यो । हुनत हिजो आफ्नै खुट्टाले हिडेर तरेको जङ्घार थियो त्यो । त्यही सोचेर आफूलाई थप तयार पार्दै लगें । हिजो कम्मरसम्म आएको पानी आज अर्को जङ्घारबाट पनि बगेको छ । त्यसैले सोचें- कति बढी नै पो होला र ? त्यसपछि दोस्रो जङ्घार तर्नलाई पाइला अघि बढाएँ ।  पानीमा पसें ।

 पहिलो जङ्घार करीब १० मिटर चौडाइको थियो होला । दोस्रोलाई किनारबाट नियाल्दा यसको चार गुणा  देखिन्थ्यो । किनारमा बसेर गरेको अन्दाज थियो त्यो । करीब मध्यतिर पुगेर  पछाडि फर्किएर किनार नियालें । तर्दै गरेको खोलो समुद्र जस्तो देखियो । पानीले छातिमात्र छोएको थियो ।  त्यसो त अघि नै घाँटीसम्म आउने पानीसँग परिचय भैसकेको थियो । बहाबलाई काट्दै दक्षिण तिर फर्किएर अलि अलि पुर्ब तिर छड्किदै थिएँ ।  अब पार लगाइएला जस्तो महसुस गर्दै थिएँ । पानीको सतह नबढे त के थियो र जति सुकै फराकिलो भए पनि खास फरक पर्ने थिएन ।

सोचे जस्तो मात्र कहाँ हुने रहेछ एक दुई पाइला अघि बढ्दैमा पानीको सतह माथि आइहाल्यो । अघि बढ्दैछु, पानी अझ बढ्दैछ ।  छाती छोपियो । पछाडि भिरेको सानो झोलामा जुत्ता र एक जोर लुगा थिए- सबै भिजे । त्यसलाई छुट्टै बगाउन खोज्छ । पछाडिको झोलाले आँफैलाई तान्न खोज्छ । निकै बेर घम्साघम्सी भैरह्यो । सम्भवतः खोलाको सबैभन्दा गहिरो ठाँउ थियो त्यो- पानीले तल्लो ओठ छोयो । भगवान भन्दा अरु सम्झन सकिन ।  सम्झनु मात्र न थियो । भगवानले त्यहाँ कसरी बचाउदा हुन् र ? मनोबल दरो बनाउदै अघि बढ्नु भन्दा अर्को विकल्प थिएन । सबैतिर समान रुपले बगेको र भुमरी नपरेको पानी भएकोले डुबेरै भए पनि हिडिरहन्छु जस्तो आँट पलायो । पछाडि फर्कने कुरै थिएन । खोलाको चौडाइको हिसाबले एक तिहाइ पानी पार भैसकेको थियो । मैले खोलो पुरै पार लगाएँ भन्ने अनुमान लगाएँ । पारी किनारमा डिपु डाँडाबाट मान्छेहरु झरेका रहेछन् । खोलाको बाढी हेर्न ।   

ओठसम्म पानी आएपछि भने बहाबकै दिशामा सिधै उँधो तिर हिडें । छड्किन सकिन । केही तल गए पछि पानीको सतह घट्यो तर बेग अझ तिब्र भयो । पानीको तीब्र वेगले मलाई उभिन दिएन ।मेरा खुट्टाले जमिन टेक्न सकेनन् र म पानीमा तैरिन पनि सकिन । मलाई माईको जल प्रवाहले बगाउन थाल्यो । जतिनै उत्रने वा सिधा भई भुईं टेक्ने प्रयास गरेपनि मैले सकिन । मुख खुलेका बेला दुई घुट्की पानी  निलियो । त्यसपछि म लाचार भएँ । थाहा छैन मलाई कति तल सम्म बगायो । म पानीमा डुवेर मरें भन्ने आफैलाई निश्चय भयो । प्राण जानु भन्दा अघिको तन्द्रावस्था थियो यो ।अर्थात वेहेश अवस्थामा थिएँ कि ?

म बादलमा तैरिदै तैरिदै कतै जाँदै थिएँ । उड्न पनि कति सजिलो हुँदो रहेछ । मलाई चराजस्तै उडेको अनुभव थिएन ।तर कसरी हो, शरीर र हात खुट्टाको सन्तुलन मिलाउँदा उडिदो रहेछ त । यत्रो जीवनमा यति जाबो काम गर्न जानिएन छ । यही सोच्दै म झन झन माथि उडिरहें। आकाशको अन्त्यमा एउटा गेट आयो । गेटमा  भित्रपट्टि जान टिकट देखाउनु पर्दो रहेछ । मँसग टिकट होला भनी सबै गोजीमा छामें । अँह ! मसँग टिकट थिएन ।त्यसपछि त्यही उभिएको डिपुडाँडाको गोपाल दाइले एक झापड लगाए । टिकट नलिइ आउने हो भनेर ।

उनको झापड हनाइसँगै म झसंग भई बिउझिएँ । मेरो मुखबाट हुलुक्क गरेर धमीलो पानी निस्कियो । म माईखोलाको पुर्वी किनारमा लडिरहेको थिएँ । गोपाल दाइ मेरो पेट थिच्दै पेटको पानी निकाल्दै गर्दै थिए । मैले आँखा खोल्दा डिपुडाँडाबाट आउने रमितेहरु वरिपरीबाट मलाई नै हेरिरहेका थिए । उनीहरु आत्तिइरहेका थिए ।गोपाल दाइले म होसमा आएको थाहा पाएर थर्काए- "हैन तपाई आफूलाई के ठान्नु हुन्छ ? कि मर्ने नै बिचार हो ? पौडी खेल्न समेत नजान्ने मान्छे यसरी बाढीमा पस्ने हो त ?"

त्यसपछि मात्र मैले आफूले कत्रो गल्ती गरेको रहेछु भनेर बोध भयो । केही उत्तर दिन सकिन । त्यो कहाली लाग्दो माई खोलाको बाढीसँग जुधेको र मृत्युको मुखबाट फर्किएको सम्झेर एकातिर मन हर्षित भयो भने अर्को तिर सम्भावित जोखिम सम्झेर पैताला चिसा भएका थिए । मनमनै उद्दार गर्ने डिपु डाँडाका रमितेहरु तथा विशेष गरी गोपालदाइलाई धन्यबाद दिएँ । साँच्चै भन्ने हो भने त्यस्तो बाढी आएको खोलो तरेर आउनै पर्ने आकस्मिक काम पनि थिएन मेरो । यो त अति साधारण कामका लागि अज्ञानताबस लिइएको जोखिम थियो ।

***

आफ्नो कर्तव्य त गर्नै पर्यो -  मन आँफै मृत्युको मुखबाट फर्किएको सुखद (?)  र आगन्तुक बुढा बाबैको आँशुको कहानीले अमिलो भएको थियो । बुढाले गुमाएका सम्पूर्ण परिवारहरुको तुलनामा मेरो कथा लाजमर्दो भयो । एक पटक झण्डै मर्दैमा यसलाई कथा भन्नु पर्ने के थियो र ? मरकै त होइन नि !  बुढाले कत्रो दुःखको खोला तरेर आएका रहेछन् सम्झेर एक प्रकारले मन भरङ्ग भयो । मनमा गाँठो पार्दै तीनै जनाको मृत्यु दर्ता प्रमाण पत्र बनाइदिएँ ।अनलाईन तथा कार्यालयको अभिलेख रजिष्टरमा चढाए पछि काम सकियो । बुढाबा भन्दै थिए-  "नानी जस्तै थियो मेरो छोरो पनि । नानीलाई देख्दा आफ्नै नाति जस्तो लागेर म त शुरुमै ब्याकुल भएको थिएँ । जिद्दी गर्ने स्वभाव पनि मेरो नातिकै जस्तो ..."

"बा पनि एक्लै हुनुहुदो रहेछ, मेरो घर त्यहीं शनिश्चरे त हो नि। कैले काँही न्यास्रो लाउदा आउनुहोला । अहिले त माईमा पुल पनि हालेका छन् । गाडि चलिहाल्छ । अब त खोलाले बगाउदैन नि !"  मैले बुढालाई आफ्नोपनको सकेसम्म अनुभुति दिलाउने कोशिश गरें ।

"साह्रै धेरै मान्छेको भोग खायो नानी, पापी खोलाले !"  उनले आफ्नो लौरोले माई खोलालाई देखाएर सरापे । भने- "हुन्छ नानी अब त एक्लो बुढो बाँकी रहेको छु, जे होला । सकेंछु भने शन्सरे तिर आउछु नि !"

यसपछि मसँग बिदा भई ती आगन्तुक आफ्नो घरतर्फ फर्किए । उनी निस्कदा पानी पर्न रोकिएको थियो ।माई खोलाको सुसाईलाई बतासले यतै तिर बोकेर ल्याउदै थियो । त्यो भोग खाएर अघाएको माईखोलाको सन्तुष्टि थियो कि ?

अस्तु

२०७८/०२/१३

शनिश्चरे, झापा  

 


Wednesday, May 12, 2021

कथाःग्यारेन्टी

 

-            ऋषि शान्तिप्रिय

   अघिल्लो दिनको बुढाबुढीको सल्लाह अनुरुप अलि चाँडै अफिसबाट निस्किएँ । घर आइपुग्दा रुक्मिणीको घुर्क्याईं शुरु भै हाल्यो ।  भाइको विहे छ, किनमेलका लागि एक दिन त छुट्याउनु पर्‌यो  रे । एक दिन छुट्टि लिनै पर्छ भनेर जिद्दि गरिन् ।  

मेरो आफ्नै खाले समस्या छन् । मेरो के भन्नु, अफिसको भनौ न । जुन अफिसमा सरुवा भए पनि मलाई सँधै कामले नै गाँजेको हुन्छ । मैले धेरै बेर सोचें ।  जागिर  त दोस्रो कुरा हो - पहिलो त परिवार नै हो । भैगो, अफिसमा कामको चटारो  नै भए पनि शुक्रबार चैं छुट्टि बस्नु पर्यो । संसार हारे पनि परिवार जित्नु भन्छन् । स्वीकार गरिदिएँ ।

-            "के के किन्नु पर्छ र ?", सोधें ।

-            " विहेमा लगाउने लुगा कपडा, गहना, नानीहरुलाई लुगा कपडा, हजुरको सुट छैन । अनि .."

-            "घरमा नभएर नै हो कि, सबै कुरा किन  किन्नु पर्यो ?  तिमी एउटा सारी किन ।  नानीहरुलाई जामा सामा एसो फेसन बिचार गरेर किनौला, भैगो नि ! कति नै बेर पो लाग्ला    बरु चाँडै किनमेल सिद्धिए म एक छिन त्यतैबाट अफिस पस्छु र केही काम गर्छु ।", रुक्मिणीको कुरालाई बिचैमा रोकेर मैले आफ्नो कुरा भनिहालें ।  

-            "त्यसो भनेर हुन्छ ! सधै काम काम, घर परिवारलाई चैं समय दिनु पर्दैन ? पुरा वर्षमा तपाईले एक दिन पनि छुट्टि लिनु हुदैन ? ", उनको तीखो प्रश्न थियो ।

-            "मैले त्यसो कहाँ भने त ?  हाम्रो काम चाँडै सकिए समयको सदुपयोग गरौंला पो भनेको ।"

-            लु भो भो, मैले बुझें । जागिर त मैले पनि खाएकै  हो  । छुट्टि नै लिए पछि एक दिन त टेन्सन नलिई बस्नु पर्छ । " रुक्मिणीले कुरा साफ गरिन् ।

-            "भनें त शुक्रबार पुरै छुट्टी भनेर । अनि बिहे चै के बार पो अरे?"

-            "१७ गते चै हो । के बार पर्छ ।" भन्दै रुक्मिणी उठिन् र क्यालेण्डर हेर्दै भनिन् –"सोमबार रैछ ।"

मलाई भने अर्को एक दिन पनि थप छुट्टि मिलाउनु पर्ने भो भनेर छटपटि भयो । जे होस शुक्रबार छुट्टि बसी बुढीलाई लिएर सपिङ जानु पर्ने भयो । 

सम्झें - किनमेल त एक्लै पनि गर्न त सकिन्थ्यो होला तर पनि बिहे भएका स्वास्नी मानिसहरुलाई बुढासँग हिड्दा गौरबै लाग्दो हो    अनि मलाई नि ! मलाई साँच्चै भन्ने हो भने कुनै कुरामा गौरब लाग्छ वा लाग्दैन आँफैलाई थाहा छैन । किन हो मलाई साना तिना दुःखले दुःख दिन छोडेका छन् अनि निकै ठूला सुखले भनी मलाई खुसी दिन छोडेका छन् । के म  यन्त्र हुदैछु ? कि मैले जिन्दगी जिउने कला सिक्नै पाइन ? आफ्नै अपहिचानप्रति म आँफै छक्क पर्छु ।

-"बरु भ्याइयो भने  बिहे घरमा के तयारी गर्दैछन् , पुग्नु पर्छ । उनीहरुको सपिङमा पनि जान भ्याइएन ।  कान्छो गुनासो गर्दैथ्यो । आफ्नो भाइको विहेमा पनि  समय ननिकाल्ने दिदी कस्ती होस पो भन्छ त मलाई ।" रुक्मिणीले पनि आफ्नो विवशता बताइन् 

- "जाँऔला नि भ्याएसम्म ।  जानु  पर्ने त हो नि ! तिमी पनि उस्तै त भयौ,  माइतिघरमा बिहे छ, जानु छैन । समय निकाल्नु छैन ।  जागिरले नै खायो तिमीलाई पनि । " मैले ढाडस दिदै भनें ।

            बुढा बुढीको अब कुरा मिलिसकेको थियो ।  छोरीहरु पनि स्कूलबाट आइपुगे । घरमा  होहल्ला र रमाइलो शुरु भयो ।  यसै बिचमा चिया खाजा  आदिसँगै  विभिन्न कुराकानी, बिहेकै सल्लाह के के किन्नै पर्ने छ, के के चाँही नकिन्दा पनि हुन्छ आदि छलफल भए । छोरीहरुले आफ्नो माग राखे । मामाको विहेमा   शनिबारदेखि नै जाने, आइतबारदेखि मंगलबारसम्म स्कूलमा छुट्टी माग्ने  लगायतका बाल योजनाहरु सुनाए । उनीहरुमा पनि निकै ठूलो उत्साह भरिएको थियो । छोरीहरुको खुसी पनि मामाको विहेले चुलीमै पुर्याइदिएको थियो । अन्त्यमा पैसाको कुरा भयो कति चै खर्च हुन्छ, अनि आफूसँग कति छ भनेर चर्चा भयो ।

रुक्मिणीको खातामा पैसा छैन अरे । बैंकको किस्ता, बिजुली, पानीको बिल, पसलको बाँकी सबै सबै गर्दा उनको अब तलब नआइ पैसा छैन अरे । अनि मेरो ? मेरो खातामा केही होला भन्ने थियो ।  मोबाइल बैंकको एप्लिकेसन खोलेर हेरें - जम्मा तीस हजार त रहेछ । अघिको लिष्ट, लुगा फाटो, सारी गहना सुट नानीहरुको  लुगा आदि सबै सम्झदा आधा त के एक छेउ पनि नपुग्ने जस्तो भयो । कसैसित सापट मागौं भने पनि कोसँग माग्ने, फेरि कुनै दिन तिर्नै पर्छ । एक किसिमको तनाब भयो ।  दुबैले जागिर खाने कमाउने नै भएकोले यतिबेलाको पैसाको अभाव चै हामीले बिना छलफल महशुस गर्यौ । दुबैले नबोलेरै धेरै बेर सोच्यौं ।

साँझको खाना खाइसकेपछि मैले निर्मलालाई सम्झिएँ । निर्मलालाई कोठा बन्दोबस्त गर्दा मैलै चालीस हजार खर्च गरेको थिएँ । ऊ काठमाण्डुमा सेटल भएको पनि झण्डै छ महिना भैसकेको थियो । केही जम्मा पारी कि ! भने-

-" निर्मलाले दिन्थी कि ?"

- "के दिन सक्थी, हिजो मात्र भेट भएको थियो । दुई जना छोरीहरुको स्कूलको खर्च, खाना, कोठा भाडा,  सानो नानी,  बच्चाको औषधी अनि एउटा स्कूलको टिचरको जागिर । कमसे कम केटाहरु भए बिहान बेलुकी ट्युसन पढाउथे, के गर्थे,  अलिअलि एक्स्ट्रा कमाइ भए पछि बचाउथे होला, उसको लागि त्यो सम्भव छैन । धन्न काखमा बच्चा लिएरै भए पनि  १० देखि ४ सम्म स्कूल पढाएर आफ्नो खुट्टामा उभिएकी छ । ", रुक्मिणीले  निर्मलाको  हालत बताएपछि मेरो  पैसा नउठ्ने भयो भनेर पक्का भयो ।  रुक्मिणी थप भन्दै थिई-

-"बरु हामी सबैलाई एक दिन बोलाएकी छ । खाना खाने गरी । हामीसँग साह्रै अनुगृहित छ ऊ ।

निर्मलाले आफ्नै पति र सासु ससुराबाट तिरस्कृत भएर काठमाण्डुमा हाम्रो शरण पर्न आए पछि  हामीले नै उसको लागि आवश्यक प्रबन्ध गरेका थियौ । हामी पनि दुबै जागिरे भएको र "एकखालको जीवनयापन चलेकै छ" भन्ने आफूले ठानेकोले आफुलाई निरिह सम्झनु परेको थिएन ।  असहायहरु सबैलाई त सहयोग गर्न सम्भव थिएन तथापि कुनै दिन मेरो दैनन्दिन निर्मलासँग जोडिएको र महिलाहिंसाको शिकार भएकी निर्मलाको कथाले रुक्मिणीलाई  भित्रैदेखि छोएकोले हामीले ऊ प्रति त्यति सदासयता देखाएका हौं । निर्माला पनि यति सहयोगको सुनिश्चतता ठानेर नै हामीकहाँ, विशेष मसँग पुनः ठोक्किएकी हो ।

बेलुका ओच्छ्यानमा पल्टिएर फेसबुक खोलेर हेरैं । शुरुमै निर्मलाको फोटोमा आँखा पर्यो । आकर्षक फोटो राखेको रहेछ । दुइटी छोरीहरुको साथमा । मैले त निर्मलालाई त्यही पुल्चोक इन्जिनियरिङ क्याम्पसकी निर्मला देंखें ।    आफ्नो बिगत र निर्मलासँग बस्न नसकेको घरबार सम्झेर केहीबेर टोलाएँ । निकै नोस्टाल्जिक भएछु ।  गरगहना पनि  धेरै लगाइएको, सोह्रशृङ्गार गरी आफूलाई निक्कै नै सजाएर कुनै  स्टाफको विहेमा गएकी रहिछ । भने-

"गहानाको बन्दोबस्त भयो प्यारी, किनेको हो कि मागेको, कस्ले चिन्छ ? हामी जत्तिको मान्छेले  लगाएपछि मागेको पनि किनेको नै ठान्छ दुनियाँले ।"

रुक्मिणीले कुरा नबुझेर मतर्फ फर्किएपछि उनलाई निर्मलाको फोटो देखाएँ  । निर्मलासँग सुनको राम्रो गहनाको सेट रहेछ भन्ने पक्का भयो । बुढाबुढीको  सल्लाह मिलिहाल्यो । 

भोलि बिहान निर्मलालाई  साँझको खाना खान आउने भन्ने  खबर गरिन् रुक्मिणीले ।

साँझ खाना खाना गयौं सबैजना । रुक्मिणी र निर्मलाले धेरै बेर गफ गाफ गरे । उनीहरु मिल्ने साथी भैसकेका थिए । यस बिचमा छोरीहरुको पनि केमेष्ट्री मिल्न थालेको थियो ।  रुक्मिणीले खुसुक्क गरगहनाको कुरा गरिन् । गहना पोको पारिन् अनि हामी खाना खाएर आफ्नो घर फर्कियौ ।

शुक्रबार पुर्वनिर्धारित हामी दुबैले छुट्टि लियौ ।  किनमेलका लागि  बजार जानु थियो ।  गयौं  । सुन किन्नै नपर्ने भयो । अजिङ्गरको आहारा दैबले जुराएकै थियो । बाँकी कुराहरु पुर्व निर्धारित खरिद कार्य सम्पन्न भयो । मैले एउटा रेडिमेड कोट किनें । रुक्मिणीलाई नयाँ डिजाइनको पार्टि सारी किनिदिएँ । बुढी मक्ख परी ।

 बिहेमा जान नयाँ पोशाकमा सजिएर  गहना पनि लगाइसकेपछि रुक्मिणीलाई सजग गराएँ ," बिहेको भीड भाड हुन्छ, कसको दाउ के के मा हुन्छ, गहाना चै ख्याल राख्नु नि ! लुट्ने पनि पो हुन्छन् त, कोही चोर  फटाहाले थाहै नपाइ चेन काटेर लगेका पनि सुनिन्छन् । त्यसमाथि अर्काको गहना लाइएको छ ।"

मेरो कुरा सुनेर श्रीमतीजिले हाँस्दै  कानमा खुसुक्क भनिन्-  "हराएमा डर छैन, ग्यारेन्टेड हो ।"

मैले एक दिन कुरै कुरामा कार्यालयका एकजाना साथीले सुनाएको एउटा कथा मनमनै सम्झिएँ –

ऐसेलुखर्कमा एक जना घनश्याम भन्ने मान्छे थियो । ऊ सामान्य परिवारको थियो । बिहे त गर्नै पर्यो । धनीहरुले जस्तो उसले बिहेमा  सुनका गहना लान सकेन । तैपनि जेनतेन गहनाको जोहो गर्यो ।

घनश्यामको बिहे सकियो । सामान्य परिवारको मन्छेले पनि यति राम्रो गर गहना ल्याएको भनी सबैले तारिफ गरे । बेहुली पक्षका  गाउँले सबै खुसी भए ।  बेहुला पक्षका जन्ती तथा सबै गाँउलेहरुले छक्क पर्दै भने –"हैन बिदेशबाट राम्रै कमाएर ल्याएको रहेछ क्यारे ।"

बेहुली भित्र्याइयो । बेहुली पनि खुसी थिइन् ।  आफ्नो रोजाइको दुलाहा अनि यति धेरै गहना पाएर मक्खै थिइन्  । सुहागरात नसिद्धिदै  गहनाको बारेमा बेहुला बेहुलीको गफगाफ त भैहाल्यो । खास कुरा  के हो बेहुलाले आफ्नी दुलहीलाई ढाँट्ने कुरा पनि भएन । 

त्यसपछि त के चाहियो र?  बेहुली रिसाइहालिन । कसैले सम्झाउन सकेनन् ।  नयाँ दुलहीको आन्दोलन शुरु भयो बिहे घरमा ।  सारा गाँउभरी हल्ला फैलियो ।  घनश्यामले किनेको ग्यारेन्टेड सुनले पोल्यो रे दुलहीलाई । यो खबर आगोको झिल्को जस्तो एक कान मैदान हुँदै उसैको माइती गाउँसम्म पनि फैलियो । 

अहिले घनश्यामलाई ऐसेलुखर्कमा घनश्यामको नामले भन्दा ग्यारेन्टीको नामले चिनिन्छ ।

सालो बिहेमा जन्त त गइयो । तर मलाई त्यो ग्यारेन्टेड सुनवाला घनश्यामको कथाले दिनभरी पोलिरह्यो । भगवानलाई पुकारिरहें । हे भगवान  रुक्मिणीले लगाएको गहना ग्यारेन्टेड सुनको हो भनेर कसैले नचिनोस् । यदि कसैले चिनेमा मेरो पनि नाम 'ग्यारेन्टी'मा परिणत हुनेछ घनश्यामको जस्तै ।

-मिति २०७८/०१/१९

-इटहरी ।