Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Tuesday, November 5, 2024

दशैं : नेपालीहरूको कि हिन्दुहरूको ?

 


दशैं : नेपालीहरूको कि हिन्दुहरूको ?

 

चन्द्रमासमा आधारित वर्ष गणना विधिअनुसार हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापना गरेर विधिवत जमरा राखेपछि दशैं पर्व शुरू भएको मानिन्छ । यसका विशेष दिनहरूमा आश्विन शुक्ल सप्तमीलाई फुलपाती, अष्टमीलाई महाअष्टमी, नवमीलाई महानवमी र दशमीलाई विजया दशमीको रूपमा मनाउने चलन छ । विशेष गरेर विजयादशमी र तत्‍पश्चात पुर्णिमासम्म मान्यजाहरूबाट दशैंको टीका र जमरा लगाई आशिर्वाद थाप्ने छ । केही दशक अघिसम्म यसलाई आम नेपालीको पर्वको रूपमा मनाइदै थियो भने अहिले यसलाई हिन्दूहरूको मात्र हो भनी संकुचित रूपमा ब्याख्या गर्ने क्रम बढेको छ ।

के यो हिन्द्हरु मात्रको पर्व हो त ? यसतर्फ बिचार गर्दा नेपालमा २०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार हिन्दू धर्म मान्ने जनसङ्ख्या ८१.१९ प्रतिशत छन् । बाँकी १८.८१ प्रतिशत जनसङ्ख्या बौद्ध, इस्लाम, ईसाई तथा किराँत लगायत अन्य धेरै किसिमका धर्म मान्नेहरू छन् । हिन्दूहरूको करीब आधा जनसङ्ख्या तराईमा बस्छ । तथापि तराईको हिन्दू सम्प्रदायले मनाउने दशैं र पहाडी समुदायमा मनाउने दशैंको तौर तरिकामा आकाश जमिनको फरक छ । त्यसैले पनि यो हिन्दूहरूको पर्व हो भन्नु त्यति उपयुक्त नहोला । अर्कोतिर पहाडी समुदाय, जो आफूलाई हिन्दू नभई किराँत वा यस्तै अन्य प्राकृतिक धर्म मान्ने बताउदै आएको छ, उनीहरूको दशैं मान्ने आफ्नै परम्परा र मौलिकता छ । हिन्दू वा बौद्ध धर्म मान्ने नेवार समुदायले दशैंका हरेक दिन विभिन्न शक्ति पीठहरूमा पुजा अर्चना गरेको देखिन्छ । नेवाः सम्प्रदाय धार्मिक सहिष्णुता र अन्तरसम्बन्धको फराकिलो फाँट हो। पशुपतिमा बुद्ध मुकुट पहिर्‍याउने चलन पनि नेवाः सम्प्रदायको मौलिकता हो।
यसरी हेर्दा दशैं पर्व कुनै धर्म विशेष वा जातजाति विषेशले मात्र नभई नेपालको पहाडको समुदायमा धुमधामसँग मनाइने  गरेको देखिन्छ । फरक फरक समुदायमा आफ्नै मौलिक विधिअनुसार मनाइने गरेको देखिन्छ । साँस्कृतिक अन्तरघुलनले गर्दा पहाडी समुदायबाट उद्गम भएको यो पर्व विस्तारै आम नेपाली जातिमा फैंलदो क्रममा रहेको देखिन्छ । त्यसो त भारत लगायत विश्वका विभिन्न गैरनेपाली हिन्दू समुदायहरूमा नवरात्र, दशहरा आदि नामले यो पर्व मनाउने गरिन्छ । समुदाय अनुसारका मौलिक परम्परा तथा विधिले गर्दा यी सबैलाई दशैंको रूपमा नै बुझ्ने कि नबुझ्ने भन्ने प्रश्न मात्र बिचारयोग्य छ ।

अर्को एउटा विषय आज अझ गम्भीर भएर हामी माझ खडा भएको छ। त्यो के भने कतिपय मानिसहरूको धारणामा क्रमशः थपिदै गरेको दशैं प्रतिको नकारात्मकता । कहिँ कतै त सेतो टीका लगाउने समुदायका मानिसहरूले रातो रङ्ग चै आफ्नै पुर्खाको रगत भएको ब्याख्या गर्ने गरेको देखियो,  सुनियो। दशैंको रातो टीका र जमरालाई ब्राह्मणवाद अझ भनौं पुरेतवादसँग जोडेर आफू हिन्दू धर्म वर्णित राक्षस सम्प्रदायको भएको र आफूलाई मारेर त्यसको विजयोत्सबको रूपमा बाहुनहरूले दशैं मनाएको भनी ब्याख्या गरेको समेत पाइयो । तर यी भनाइमा के कति सत्यता छ र त्यसको वास्तविकता के हो भन्ने खोजी गर्ने प्रयास भएको भने साह्रै थोरै मात्र देखियो।

रातो रङ वा अविरको आयातपूर्व सर्वत्र सेतो टीकाको प्रयोग गरिन्थ्यो भनी जानकारहरू बताउँछन् ।  टीकालाई आकर्षकता प्रदान गर्न रातो रङको प्रयोग गरिएको हो भनी बुझ्न अब गरो भएन ।

दशैंमा पढिने दुर्गा माताको प्रार्थना समेटिएको दुर्गा सप्तसतिको (चण्डी) केहि प्रसङ्गहरूको विश्लेषण गरी माथिको अनुच्छेदमा भनिएको कुरामा त्यति धेरै सत्यता नरहेको जिकीर गर्न चाहन्छु ।

मार्कण्डेय पुराण अन्तरगत देवी भागवतको सावर्णिक मन्वन्तरको देवी तथा दानवहरूको लडाँइको प्रसङ्ग तथा त्यस युद्धका रोमाञ्चक प्रसङ्गहरूको वर्णन दुर्गा सप्तसतिमा गरिएको छ । कथामा एक जना समाधी नामक ब्यापारी (वैश्य) तथा सुरथ नाम गरेका राजा  आफूसँग भएको सबै कुरा हारेर, गुमाएर कसरी मेधा ऋषिका शरणमा पुग्छन् र कसरी आफ्नो मनकामना पूरा गर्न सफल हुन्छन् भन्ने प्रसङ्गलाई मार्कण्डेय ऋषिले वर्णन गरेका छन् । अनि मेधा ऋषिले श्रीदुर्गा भवानीको प्रार्थना गरेर सम्पूर्ण देव समुदायलाई विजय गरी सत्ताच्यूत गर्न सक्ने बलशाली दानबहरूलाई देवी एक्लैले के कसरी विजय प्राप्त गर्छिन् भन्ने कथा सुनाउदै त्यस्ती शक्तिशाली देवीको आराधना गरेमा मनोकामना पूरा हुने तथा विजय प्राप्त हुने बताउछन् । कथामा देवीका विभिन्न स्वरूप जस्तै कौमारी, ब्राह्मी, सरस्वती, माहेश्वरी, महाकाली, शिवा आदिलाई सत्यको प्रतिकका रुपमा तथा दानवहरू जस्तैः धुम्रलोचन, महिषाशुर, चण्ड, मुण्ड, रक्तविज, कालेय, कालकेय, शुम्भ, निशुम्भ, लगायतका पात्रहरूलाई असत्यको प्रतिक पात्रको रूपमा व्याख्या गरिएको छ । मातृ शक्तिद्वारा दानव प्रवृत्तिमाथि भएको यही विजयलाई नै विजया दशमीको रूपमा मनाउन थालिएको भनिएको छ । आश्विन शुक्ल प्रतिपदादेखि नौ दिनसम्म उनै दुर्गाको नौ वटा विभिन्न रूपको पूजा आराधना गरेर नवरात्री मनाउने गरिन्छ । यस ग्रन्थमा श्री दुर्गा भवानी तथा मातृशक्तिको पवित्रता तथा शक्तिको चर्चा, प्रशंशा र आराधना गरिएको छ । यसको उत्कृष्ट एक श्लोक भन्नु पर्दा निम्न श्लोकलाई छनौट गर्नु उपयुक्त हुन्छः

कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति ।

अर्थात पुत्र खराब हुन सक्ला तर आमा कुनै पनि हालतमा खराब हुदिनन् । सप्तसतिमा दुर्गा भवानीको शरणमा पर्ने  जति सबैको उद्दार गर्ने क्षमता भएकी देवीको रूपमा उनको प्रार्थना गरिएको छ ।

शरणागत दीनार्त परित्राण परायणे

सर्वस्यार्ती हरे देवी नारायणी नमोस्तुते ।

माता दुर्गाको उपाशना पश्चात् विजया दशमीको दिन आशिर्वाद दिंदा धार्मिक साहित्यमा भएका विभिन्न पात्रहरूको झैं उत्कृष्टता प्राप्त गर्न सफल हुनु भन्ने आशिर्वाद दिने चलन छ। उदाहरणको निमित्त द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होओस्, दशरथ राजाको जस्तो श्री होओस, नहुष राजाको जस्तो शत्रुको नाश होओस, पवन वा हावाको जस्तो वेग वा गति होओस आदि। यो बाहेक कुनै उपमा नदिइकन वा पात्रसँग तुलना नगरी कुशल रहनु, चिरायु हुनु, गाई तथा धनधान्यको वृद्धि होओस, शत्रुहरू नाश होउन् जस्ता आशिर्वादहरू पनि दिने गरिन्छ । पहाडी सम्प्रदायमा माइती पक्षका तल्लो पिंढीले समेत चेली तर्फका माथिल्लो पिंढीलाई टीका जमारा लगाई आशिर्वाद दिने प्रचलन देखिन्छ।

यो मौलिक अनि अलौकिक परम्परा हो। ग्रन्थ पनि अलौकिक भएकोले गर्दा यहाँका सबै पात्रहरू काल्पनिक हुने नै भए । ग्रन्थ पढ्दा पात्रहरूलाई साङ्केतिक रूपमा मात्र बुझ्न उपयुक्त हुन्छ। होइन, यो भएकै घटना हो र देउता पक्षका फलाना अनि दानव पक्षका ढिस्काना भनी कुनै पण्डितले ब्याख्या गर्छ भने उसले आफ्नै ग्रन्थको अपव्याख्या गरी आफ्नै पण्डित्याईंको खिल्ली उडाएको ठहर्छ । यस्तो प्रवृत्तिले गर्दा हाम्रो संस्कृतिले विक्रितिको रूप लिन्छ र समुदायहरूबिचमा स्पष्ट विभाजनको रेखा कोरिन्छ । स्वभाविक छः साँस्कृतिक रूपमा हामी कमजोर भयौं भने अर्को कुनै बलियो वा बहुसङ्ख्यकको सँस्कृतिले हाम्रो मौलिकतालाई खाइदिन्छ । अनि कुनै समुदाय विशेषले हामी देवता पक्षका हौं भन्नु भनेको विशुद्ध पुरोहितवाद र पाखण्डताको अहंकार मात्र हो भने कुनै समुदायले हामी दानब पक्षका हौं, हाम्रा पुर्खालाई मारेर त्यही रगतमा कसैले होली खेलेको सम्झनु झन् हीन ग्रन्थीद्वारा आफ्नै समुदायको आँफैले अपमान गर्नु मात्र हो ।


वास्तवमा भन्ने हो भने हामी मानव जातिमा कोही पनि दानव जातिको छैन । हामी सबै देवताकै अंश हौं। मान्छे भित्र दानव प्रवृत्तिको प्रवेश भयो भने चाहिं जो कोही दैत्य वा दानव बन्न सक्छ। उदाहरणको लागि तपाईं चोरी डकैती गर्दै हिड्नु हुन्छ, अरुलाई दुःख दिनु हुन्छ, महिला हिंसा, व्याभिचार गर्नु हुन्छ भने तपाईंमा दानव प्रवृत्ति छ । यसलाई तपाईंले आफूमै सुधार गरेर देवत्व भर्नु नै दानव माथिको विजय हो । यो कुरा हिन्दू मात्र नभएर बौद्ध, ईसाई, इस्लाम लगायत धर्म ग्रन्थका विभिन्न प्रसङ्गमा साङ्केतिक रूपमा धेरै ठाँउमा उल्लेख गरिएको पाइन्छ।


अर्को प्रसङ्गमा त्रेता युगमा विष्णु भगवनाका आठौं अवतार रामले रावण माथिको विजयलाई लिएर हिन्दूहरूले विजया दशमी वा दशैं मनाउन थालिएको भन्ने कुरा पनि कतै कतै सुनिन्छ । अनि यो दशैं चैं चैत्र शुक्ल नवमी तथा दशमीमा मनाउने गरिएको भनिएको छ । आज पर्यन्त चैते दशैंको रूपमा यो पर्व मनाइदै आइएको छ । विशेष गरी राम नवमीको विशेष महत्व छ । कसैले त भन्छन् यही दशैंलाई उपयुक्त मौसम र आम मानिसको फुर्सत् समेत विचार गरी आश्विन शुक्ल पक्षमा सारिएको हो । तर यसलाई पुष्टि गर्ने धार्मिक साहित्यहरू भेटिदैनन् । यही किंबदन्तिलाई लिएर पनि समुदायहरूमा कित्ताकाट गर्ने प्रवृत्ति नदेखिएको होइन । तर हामी मध्ये न कसैलाई राम वा रावणको पक्षको हुन जरुरी छैन ।

त्यसो त रामायणका लेखक पिच्छेका अलग अलग विश्लेषण र घटनावलीहरू हेर्दा यो विशुद्ध साहित्यिक रचना हो भन्ने स्पष्ट छ । अर्को कुरा रावण दानव हो भन्ने विषय पनि विवादित छ । दैत्य कूल भनेको दिती तर्फका सन्तान दर सन्तानलाई भनिएको हो । राक्षस वा दानवलाई होइन। ऊ शिव भगवानको अनन्य भक्त थियो । धनको देवता कुवेरको दाजुभाइ थियो, लङ्काको जनप्रिय राजा थियो। समृद्ध लङ्का निर्माणमा उसको अहम् भुमिका थियो। यता राम अयोध्याका राजा थिए। उनी सत्ताको पारिवारिक दाउपेचबाट देश निकाला भएका थिए । उनका भाइ लक्ष्मणले रावणको बहिनी सुर्पणखा प्रति गरेको बेइजतीको बदला स्वरूप रावणले रामकी पत्नी सीतालाई अपहरण गरेको थियो । अपहरण गरे पनि सीताको इच्छा विपरित रावणले जवरजस्ती उनीमाथि व्याभिचार गरेको थिएन । यसर्थ पनि रावण राक्षस वा दानव हो भन्ने ठाँउ छैन । फेरि राम आफू पुरुषोत्तम भएको बहानामा सीताको बिनाकारण अग्नि परीक्षा लिदै थिए भने अग्नी परीक्षा उत्तीर्ण भइकेकी सीतालाई एउटा मामुली चराको कुरा सुनेर त्याग्दै थिए। त्यसैले आधुनिक समाजमा राम आँफै विवादित छन् । उनले मर्यादा पुरूषोचित व्यवहार गरे वा नगरेको भनी ।


यी त भए राम रावणका कुरा। तथापि मैले आश्विन शुक्ल मासमा मानिने दशैंको सम्बन्धमा राम रावणसम्बन्धी साहित्य पढेको छैन। मेरो बिचारमा दशैंको पृष्ठभूमि दुर्गा माता तथा दावनहरूकै प्रसङ्ग अर्थात देवी भागवतको सावर्णिक मन्वन्तरको कथा नै हो।


आजको युग विश्वव्यापीकरणको युग हो । सूचनाको युग हो । विश्वव्यपीकरणले साँस्कृतिक हस्तान्तरण र विनिमयको माग गर्दछ । हिजो कसले के गर्यो कुन समुदायको मौलिक साहित्यको प्रभावबाट कुन पर्व मनाउन थालियो भन्दा पनि आजको सामुदायिक र साँस्कृतिक प्रवृत्ति कता तिर जाँदैछ त्यो महत्वपूर्ण हुन्छ । मानिसहरू कस्ता सँस्कृतिमा रमाउँदैछन् भन्ने विचार गर्नु पर्छ । विश्वव्यापी रूपमा फैलिएका ठूला समुदायका सँस्कृतिले हाम्रो जस्तो सानो समुदायको सँस्कृति हराउला कि भन्ने चिन्ता एकातिर छ भने हाम्रो जस्तो सानो भूगोल र समुदायमा रहेको संस्कृतिलाई विश्ववयापी बनाउने अवसर हामीलाई त्यही विश्ववयापीकरण र प्रविधिले दिएको छ । फलस्वरूप हिन्दुहरू हालोविन र क्रिसमसमा समेत रमाउन लाग्दा युरोपियन इसाइहरू कृष्ण भजन र हिन्दु मौलिक संस्कृतिमा रमाउन थालेका छन्। यहाँ आउने विदेशी पर्यटकहरूले यहाँको विवाह परम्परा अनुरूप विवाह गरेको समेत यदाकदा देखिएको छ । यस्ता घटनाहरूलाई नकारात्मक रूपमा किमार्थ हेर्न हुदैन । यसले त विश्वलाई एक बनाउँछ । विश्ववन्धुत्वको भावना अभिवृद्धि गर्दछ । नेपालभित्र बसोबास गर्ने हामीले नै एक अर्काको चाड पर्वलाई अपनत्व ग्रहण गरी रमाए मात्र हाम्रो सँस्कृति बलियो हुनेछ । जब एउटा बाहुन वा क्षत्री लिम्बूको पालम तथा राई किराँतको साकेलामा रमाउँछ र जनजातीहरूले दशैं तिहार तिज जस्ता चाडमा रमाउँछन् तबमात्र हाम्रो विशाल हृदयमा नेपाली संस्कृति मौलाउँछ । नेपालभित्र मनाउँने सबै जातजातिका सँस्कृतिहरू, चाडपर्वहरू आम नेपालीका नीधि हुन । हामीले अरूको संस्कृतिको सम्मान गर्दै आफ्नो मौलिक संस्कृतिलाई सामयिकीकरण र विक्रितिहरूको निरन्तर सुधार गरी सही व्याख्या तथा अभ्यास गरेमा हामी साँस्कृतिक उत्थानशीलता तर्फ उन्मुख हुनेछौं।त्यसैले दशैंको सम्बन्धका माथि भनिएका (र नभनिएका समेत) कुनै पनि खाले विभाजित मतहरूको आजैदेखि अन्त्यको आह्वान गर्दै हिन्दुहरूको मात्र पर्वको रूपमा अर्थ्याउन लागिएको यो पर्वलाई सारा नेपालीको पर्वको रूपमा बुझी आफ्नो मौलिक परम्परा र पारिवारिक सम्प्रदायिक प्रचलन अनुसार उल्लास पुर्वक मनाउन लेखक अग्रह गर्दछ । यसले नेपाली राष्ट्रिय एकता अखण्डता तथा सार्वभौमिकता समेत बलियो हुने अपेक्षा गर्न सकिन्छ ।

Wednesday, June 7, 2023

पृथ्वी पथः हाम्रो मौलिक दर्शन

(लेख)

-          जनार्दन कट्टेल

हाम्रो देशमा राजनीतिलाई नयाँ फण्डा र नयाँ नाराले तताई राख्ने र सत्ताको भर्‍याङ बनाउने प्रवृत्ति २०४६ को प्रजातन्त्रको पुनर्स्थापनादेखि यता बढ्दो क्रममा देखिएको छ ।
यस अघि एकीकृत नेपालको शुरुवाती कालदेखि नै दरवार भित्रै हुने गरेका हत्याका शृङ्खला, पर्व, काण्ड जस्ता परम्परागत शक्तिको प्रयोगलाई सत्ता हात पार्ने औजारको रुपमा प्रयोग गरिन्थ्यो भनी जग जाहेर भएकै कुरा हो । चीनका शासक माओले सत्ता बन्दुकको नालबाट मात्र प्राप्त हुन्छ भन्न सम्म भ्याए। उनले कुन अर्थले वा प्रसङ्गमा भनेका थिए वा त्यो नै अन्तिम र एक मात्र तरिका थियो वा धेरै तरिका मध्येको एउटा तरिका थियो यो अलग कुरा हो । तर नेपालमा सोही वाक्यांशको पछिल्लो समयमा गलत व्याख्या र प्रयोग समेत गर्ने कोशिष गरियो । एक अर्थमा केही ब्यक्तिहरू र समूहले बन्दुकको नालबाट सत्ता प्राप्त गरे पनि यो परम्परागत मान्यतालाई तोडेर उनीहरू नयाँ प्रवृत्तिलाई नै आत्मसात गर्नेहरूको  भिडमा हेलिएको देखिन्छ ।
इतिहासलाई भूतकालको राजनीति र राजनीतिलाई वर्तमान इतिहासक रूपमा लिने गरिन्छ। (विद्वान Freemanको बिचार) । अझ केहि विद्वानहरूले राजनीतिशास्त्रलाई इतिहासको फल र इतिहासलाई राजनीति शास्त्रको जराको रुपमा व्याख्या समेत गरेका छन् । (विद्वान सिलेको बिचार) । तर हाम्रो देशमा न त पछिल्लो राजनीतिले इतिहासलाई जराको रुपमा लियो न त इतिहासको फल लागेर पछिल्लो राजनीति परिपक्व भयो । पछिल्लो समय राजनीतिक फण्डाको प्रयोगमा हाम्रो इतिहास अल्झिएको छ । बि.सं. २००७ देखि २०४६ वा त्यसभन्दा केही वर्षसम्म जनताको मानस्पटलमा सेट भएको मिथक (वा सच्चाई?) लाई विनिर्माण गरी देशका विशेष गरी तल्लो वर्ग, सिमान्तकृत वर्गलाई लक्षित गरी एकोहोरो रुपमा एउटा फण्डा फालियो र त्यसैको बलमा राज्य सत्ताको परम्परागत शक्ति राजसंस्थालाई पाखा लगाइयो। त्यसपछि फण्डा फ्याकेर सत्ता प्राप्ति गर्नेहरूको सायद अभीष्ट पूरा भयो । त्यसपछि देशमा थुप्रै नयाँ साना ठूला राजाहरू निस्किए ।
 पछिल्लो समय जनतालाई दिग्भ्रमित पार्न फ्याकिएका फण्डाहरु यस्ता  थिएः २५० वर्ष भन्दा बढी शासन गरेको राजसंस्थाले जनतालाई अन्याय गर्यो । आत्म रतिमा रमायो । देश विकास भन्दा आफ्नो विकास मात्र गर्‍यो। जनताको शोषण गर्यो जुन सत् प्रतिशत गलत हो । एक हिसाबले भन्ने हो भने सुगौली सन्धी अघिसम्म देश निर्माण र भौगोलिक एकीकरणमै व्यस्त थियो राजसंस्था । त्यसपश्चात् राणाहरू जो अहिलेका नेता भन्दा किमार्थ फरक थिएनन्, उनीहरूले सत्ता आफ्नो हातमा लिए । त्यस अवधिमा राजसंस्था उनीहरूको बन्दीको रुपमा रहेर देशको बर्वादीको साक्षी बन्न विवश भयो । २०१५ देखि २०२८ सम्म राजा महेन्द्र र त्यसपछि २०४६ सम्म बिरेन्द्र राजाको पालमा जति आधुनिक नेपालको जग बसाइयो त्यसलाई २०४६ सालदेखि यताको कथित लोकतन्त्र (नेतातन्त्र) ले ध्वस्त पार्ने काम मात्र गर्‍यो । राजसंस्था जुन हाम्रो गौरब र नेपाली हुनुको पर्याय थियो उसले नेपाल बनाएको बिर्साउनका लागि जनतालाई भुलभुलैयामा पारिएको छ। कथित लोकतन्त्र (नेतातन्त्र) ले राजसंस्थालाई यसरी हुर्मत लिएर भ्रम फैलायो कि त्यो भ्रममा परेर जनता पनि केहि क्षणको लागि दिग्भ्रमित भए । यस बिनिर्माणमा सबै भन्दा आलोचित तत्कालिन राजा ज्ञानेन्द्र तथा शुरुवाती राजा पृथ्वी नारायण शाह देखिए । यस लेखमा यस पछि पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर एउटा सानो  बिचार राख्ने जमर्को रहनेछ ।
हामीमध्ये कसैले पृथ्वीनारायण शाहका साना तिना कमजोरीहरू, जो तिल बराबर छन्, लाई पहाड बनाएर नकारात्मक प्रचार गरेर उनी प्रतिको आम आस्था खस्कायौ वा त्यस फण्डाबाट सत्ता प्राप्त गर्यौ वा केहि किताब वा लेख बिकाउन सफल भयौं होला, केहि आर्थिक जोहो गर्‍यौं होला । त्यसलाई आत्मरति भन्दा केही बढी मानिदैन । यो त आफ्नै बाबुलाई आमाको बलात्कारी भनेर गाली गरे जस्तो मात्र हो । यसबाट आफूलाई लाभ त होला तर दुनियाँले आफूलाई धुन्धुकारी भनेको थाहै पाइदैन । के बाबुप्रति रिस उठ्यो भने बाबु साट्न वा अर्को बाबु खोज्न जाने हो र ? हाम्रो इतिहास नै त्यही छ त, त्यसलाई मुर्खता पूर्ण रुपले थुक्दा हामी सभ्य देखिन्छौ त हामीले हाम्रो इतिहास र इतिहासका अग्रज पुरुषका राम्रा कुरालाई आत्मसात गरी नराम्रा प्रवृत्तिलाई नअंगाल्दा हुदैन र ? तर फण्डा प्रवित्तिको हाम्रो राजनीतिक संस्कारले हामीलाई इतिहास थुक्ने, वीर पूर्खालाई सराप्ने, उनीहरूको राम्रो कुराबाट नसिक्ने अनि नराम्रो चै निरन्तरता दिने कुराको  पक्षपोषण पो गरिरहेछ त !!! । यसो भनिरहदा मेरो के आग्रह छ भने- पृथ्वी नारयण शाह कुनै कमजोरी नै नभएका आदर्श राजा थिए भन्ने मात्र पनि मेरो आशय होइन ।
कतिपयको मनमा प्रश्न उठ्न सक्छ, युद्ध वा अन्यायपूर्ण तरिका मात्र थियो त एकीकरणको भनेर । शूरुमै भनियो यो राज्य एकीकरण र सत्ता आरोहणको परम्परागत तरिका नै हो । राज्यको उत्पत्ति भएदेखि संयुक्त राष्ट्रसंघको स्थापना भएसम्म पनि सत्ता प्राप्ति र राज्य विस्तारको लागि युद्ध भन्दा अर्को विकल्प मानिसले वा शासकले जानेकै थिएन । अझ भनौं आविश्कार नै भएको थिएन । के पृथ्वी नारायण शाह आफ्नो समय भन्दा २०० वा सो भन्दा बढी वर्ष पछिको राजनैतिक प्रवृत्ति अपनाउन जान्दथे त ? सफल हुन्थे त ? ठूलो देशको राजा हुने लोभले होस वा जे सुकै उद्देश्यले युद्ध गरेर  भए पनि नेपाललाई ठूलो देश बनाउने अभियान नथालेको भए के हामी अहिले नेपाली भएर उनैलाई सराप्न पाउथ्यौ त ?
अझ कसैको मनमा प्रश्न उठ्ला के पृथ्वीनारायण शाहले राज्यको भौगोलिक रुपमा मात्र एकीकरण गरेर सिमान्तकृत वर्गलाई झन पछि पारेर र अझ अत्याचार गरेनन् त भनेर ।  एक पल्ट सम्झौं त, उनले भौगोलिक एकीकरण नगरेको भए हाम्रो देशलाई अंग्रेजले उहिल्यै ईष्ट इन्डिया कम्पनीमा गाभिसकेको हुन्थ्यो होला । अनि हामी अंग्रेजको गुलामी गर्दै उनीहरूको सेवा सुश्रुसामा तल्लो स्तरको कार्य गरी सास अड्याउन बाध्य भइरहेका हुन्थ्यौं होला । हाम्रो आज देखिएको सगरमाथा हिमाल भन्दा अग्लो स्वाभिमान अंग्रेजको जुत्ताको तलुवा मुनि हुन्थ्यो होला । हामी या त आज भारत माताकी जय भन्दै दगुरी रहेका हुन्थ्यौ या त हाम्रा प्रधान मन्त्री हुने उम्मेद्वारहरू गोर्खा राज्यको मुख्य मन्त्री हुन ठस ठस गरिरहेका हुन्थे । जे हुन्थे आज जस्तो शीर ठाडो पारेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नागरिकको हैसियतले इतिहासलाई समेत सराप्ने र थुक्न सक्ने औकात र अवसरमा हुदैनथे । 
अझै प्रश्न उठ्छ, परम्परागत इतिहासकारहरूले राजाहरूको मात्र इतिहास लेखिदिए वा उनीहरूलाई लेखाइएन । खोसिएका भनिएका राज्यमा भएका जनता र शासक प्रतिको अत्याचार र पृथ्वीनारायण शाहले आफ्नै सैनिक र भारदारहरूप्रति गरेको अन्यायको इतिहास लेखिएन भनेर प्रश्न उठ्न सक्छ। यो प्रश्न उठिरहेको पनि छ।  तपाई बिचार गर्नुहोस त, तपाईलाई मन परेको प्रधानमन्त्रीले ल्याएको एउटा ख्याति प्राप्त अभियान/ विकासको आयोजना/ नियुक्ती वा कसैलाई कुनै कार्यका लागि  गरिएको जिम्मेवारी हेरफेर आदिमा एकै समयमा कति बिरोधी वा आलोचक रहन्छन् ? त्यस्तै हो त्यति खेरको अन्याय पनि । प्रत्यक्षदर्शी कोही थिएन ।भएका मरिसकेका थिए । इतिहासकारहरूले त आफ्नो बुताले जे भेटे, जे सुने वा देखे त्यसैलाई सन्दर्भ सामग्रीको प्रयोग गरेर लेख्ने हो नि, होइन र ? फरक चाँहि कति हो भने उक्त शासक प्रतिको त्यो लेखक/इतिहासकारको अभिवृत्ति (Attitude) कस्तो छ, त्यसमा चाँही अवश्य भर पर्छ। सामान्यतया परम्परागत इतिहासशास्त्रले जित्नेको इतिहास मात्र लेख्छ ।त्यसो त निभेको आगो तापेर अहिले नै पो को हिडेको छ र
राष्ट्र निर्माता पृथ्वी नारायण शाहप्रति पछिल्लो समय विकास गरिएका नकारात्मक धारणालाई लिएर यति गन्थन गरिसकेपछि आम पाठकले के बुझ्नु अनिवार्य छ भने यी नकारात्मकता कुनै न कुनै स्वार्थ प्रेरित थिए । त्यत्तिकै कसैले पनि आफ्नो इतिहासलाई थुक्दैन र पुर्खालाई सराप्दैन । समान्यतया जिउदो बाबुसँग पनि अंश खोज्दा बाहेक कोही झगडा गर्दैन भने सभ्य मानिसले पुर्खालाई सराप्दैन । बरु पिण्ड दान गर्छ। हाम्रो हिन्दु परम्परामा त श्राद्ध गर्छ ।
हालै भएको जेन्जी आन्दोलन तथा पछिल्लो समय तयार भइरहेको जनमत लगायतको बलमा पृथ्वीनारायण शाह प्रतिको नकारात्मकता चिर्ने एउटा प्रयास भएको  छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन देशै भर सार्वजनिक बिदा सरकारले घोषणा गरेको छ । यो राजनीतिको सकारात्मक पाइला हो । हामीले इतिहासबाट सिकेर थप सुधार गर्नै पर्छ । विगतलाई सच्याउन सकिदैन । सच्याउने भनेको वर्तमानमा मेहनत गरेर हामीले हाम्रो आगतलाई नै हो । यसका लागि हामीसँग अग्रजहरूप्रति सम्मान गर्ने ठूलो छाति हुनु पर्छ । दिल तथा दिमागमा सकारात्मकता हुनुपर्छ ।
पृथ्वीपथ
पृथ्वी नारायण शाह हाम्रा पुर्खा हुन् । वहाँको जीवन शैली तथा प्रजाहरू प्रतिको दृष्टिकोण र जीवनको आखिरी समयमा दिएको दिव्योपदेशलाई नै पृथ्वी पथको रुपमा बुझिन्छ । वहाँको उपदेश भित्र आधुनिक राज्यले अपनाउनु पर्ने सन्तुलित परराष्ट्र नीति, औध्योगिक नीति,  कृषि नीति,  आदि महत्वपूर्ण नीतिहरू समेटिएका छन् । हाम्रो आजको कथित लोकतन्त्र (नेतातन्त्र)) ले त्यस्ता नीतिहरूलाई वेवास्ता गरी विदेशी दाताको इशारामा अन्य नीतिहरू नै कार्यान्वयन गर्ने गरेको छ ।यस्तै नीतिहरुका कारण राष्ट्रियता नै अत्यन्त कमजोर बनेको छ । देशको अर्थतन्त्र डामाडोल बनेको छ । सरकार प्रति जनताको भरोसा टुटेको छ। चरम निराशा जनतामा व्याप्त छ ।जनताको माग भन्दा पनि दाताको आपूर्तिलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिने नीतिले राष्ट्रलाई विदेशीको कठपुतली बनाउने निश्चित छ । त्यसैले आयातीत कुनै बादभन्दा पृथ्वीपथ नै राष्ट्र निर्माण, समृद्धि, स्थिरता र हाम्रो स्व पहिचानका लगि ज्यादै सान्दर्भिक देखिन्छ।
पृथ्वीपथका केही महत्वपूर्ण बुँदाहरूलाई देहाय बमोजिम राखिएको छः
·         खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ । उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।(बस्ती विकास तथा कृषिको आधुनीकीकरण, जग्गा चक्लाबन्दी, उद्योग स्थापना)
·         मुलुकमा अन्याय हुन कहिल्यै नदिनु (सक्षम, निश्पक्ष न्याय व्यवस्था)
·         सिपाही भन्याका तिखारी राख्न्या हुन । (कर्मचारी वृतिविकास र तालिम)
·         जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।(जनताको सशक्तिकरण र सुशासन)
·       सानो दुःखले आर्जेको मुलुक होइनसबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।(राष्ट्र निर्माणमा सबैको भूमिका छ । सबैले मिलेर यसको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा गर्नु पर्छ ।)
·        नेपाल दुई ढुंगाबीचको तरुल जस्तै होछिमेकीसँग सतर्क रहनु । (सुझवुझ पूर्ण र स्थिर विदेश नीति)
·         घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।भ्रष्ट्राचार विरुद्धको शुन्य सहिष्णुता, सुशासन)
·       यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।(विविधता व्यवस्थापन, राष्ट्रिय एकताको प्रयास)
·       राष्ट्रिय उद्योगको विकास गरविदेशमा आफ्ना सामान निर्यात गर। (वाणिज्य तथा उद्योग नीति) आदि।
अन्त्यमा सबैले सकारात्मक सोच र पुर्वजप्रति अनुग्रह राख्नुनै सभ्यताको मूल मन्त्र हो । आफ्नै इतिहास र पुर्खालाई सराप्नु भनेको आकाश तिर फर्किएर थुक्नु जस्तै हो । यसो गर्नाले आफ्नै मुखमा छिटा पर्छ । हामीले विगतका शासकलाई सराप्यौ भने आगामी पुस्ताले पनि हामीलाई अवश्य सराप्ने छ । त्यसैले सभ्य बनौं पुर्खाप्रति आदरगर्ने संस्कारको थालनी गरौं भन्ने लेखकको आग्रह छ ।

Thursday, March 10, 2022

धर्म प्रतिपादनः अत्याचार अन्त्यको लागि

 


-            जनार्दन कट्टेल

धर्मको शाब्दिक अर्थ धारणा भन्ने हुन्छ । यो ब्यक्ति तथा समुदायले असल आचरण धारण गर्ने विषयसँग सम्बन्धित छ ।  हरेक व्यक्तिले आफ्नो कर्तव्य पालन गर्ने सम्बन्धमा यसको प्रयोग हुने गर्दछ । धर्मकै माध्यबाट पुरै समाज  तथा राष्ट्रलाई डोहोर्याउने प्रचलन आज पर्यन्त पनि देख्न पाइन्छ । तथापि आधुनिकता र धर्मका प्रभावले मात्र समाजका नियमहरु व्यवस्थित गर्न नसकेको कुरा स्वीकार गरी आधुनिक राज्यहरुले विभिन्न ऐन नियम लगायतका आधुनिक कानून निर्माण गर्ने प्रचलन शुरु भएको हो । समान्यतया धर्मले एउटा जबरजस्त रुपमा सामाजिक मूल्य स्थापना गर्ने गर्दछ । जसरी समाज परिवर्तनशील छ, त्यसैगरी समाजिक मूल्यमा परिवर्तन भइरहदा पुरानो धर्मले स्थापित गरेका मूल्यको पुनरावलोकन हुन पुग्छ । यसरी मूल्यको पुनरावलोकन गरी नयाँ मूल्य स्थापना गराउनु चानचुने विषय होइन । हिन्दु धर्म ग्रन्थ श्रीमद्भागवत गीतामा यस्तो कार्य गर्ने व्यक्तिलाई ईश्वरीय अवतारको रुपमा अर्थ्याइएको छ । विश्वमा प्रचलित विभिन्न धर्ममा त्यस्ता महान पुरुष/ नायकलाई ईश्वरको दुत, रसुल, पुत्र आदि स्थान दिइएको छ ।

सामान्यतया कुनै पनि धर्ममा धर्मको सर्वोच्च शक्तिको रुपमा देवता वा देवताको वाणीलाई अङ्गिकार गरेको हुन्छ ।  उदाहरणको लागि हिन्दु धर्मले  ब्रह्मा, विष्णु महेश्वरलाई सर्वोच्च शक्तिको मूल कर्ताको रुपमा लिएको छ भने वेदलाई देववाणीको रुपमा लिएको छ । त्यसैगरी मुस्लिम धर्मले अल्लाह, ईशाई धर्मले पिता परमेश्वर (God) को सत्तालाई सर्वोच्च सत्ताको रुपमा स्वीकार गर्दछ ।

धर्मशास्त्रका (Theology) अनुसार समान्यतया धर्मका पाँचवटा महत्वपूर्ण खम्बा (Pillars) हुने गर्दछन् ।  पहिलो खम्बा सर्वोच्च सत्ता प्रतिको विश्वास हो । दोश्रो सर्वोच्च शक्तिसँग सम्बन्धित स्थानलाई मानिन्छ । उदाहरणको रुपमा स्वर्ग, जन्नत, देवलोक, पृथ्वीका धार्मिक स्थानहरुः मथुरा, वृन्दावन, कैलाश पर्वत, लुम्बिनी, कुशीनगर, मक्का, मदिना, यरुशेलम आदिलाई लिन सकिन्छ । तेस्रो खम्बा सर्वोच्च सत्ताको आदेशलाई मानिन्छ ।  यस्तो आदेशको उदाहरणको रुपमा वेद तथा गीताका बचनहरुलाई हिन्दुहरुले ईश्वरीय बचन र स्मृति परम्पराबाट ल्याई आधुनिक युगमा अभिलेखिकृत गरिएको हो भनी विश्वास गर्छन् । यहुदी, इशाई तथा मुस्लीमहरु आफ्ना पितामह प्रोफेट हजरत मुसाले अल्लाहका दश आदेशहरु (Ten Commandment of God) लाई  अल्लाह स्वयम्‌बाट प्राप्त गरी प्रचार प्रसार गरेका हुन भनी विश्वास गर्छन् । इशाई तथा मुस्लिम धर्महरु एकै धर्मको शीराबाट नवप्रवर्तन भएकोले गर्दा हजरत मुसा बाहेक उनीहरुले ईश्वरसँग प्रत्यक्ष बात मार्न सक्ने वा ईश्वरले नै पठाएको दुत वा रसुलको रुपमा मूख्य गरी क्रमशः जिससक्राइस्ट र  पैगम्बर मोहम्मद लाई मान्ने गर्छन् र उनीहरुले प्रप्त गरेको ईश्वरीय बचन नै धर्मग्रन्थको रुपमा स्वीकार गर्छन् (कुर–आन, वाइबल) ।   विश्वका सबै धर्ममा  कुनै न कुनै रुपमा ईश्वरीय सर्वोच्च सत्ताको आदेशलाई स्वीकार गरिएको  हुन्छ । र त्यसै प्रति विश्वासको घर बनाइएको हुन्छ, चाहे त्यो चीनको सिन्तो वा कन्फिसयन होस वा जापानको ताओ । यस पछि धर्मको चौथो खम्बा सर्वोच्च शक्ति/ सत्ता, त्यस सँग सम्बन्धित स्थान र आदेशप्रति  समर्पण र पाँचौ  त्यसप्रतिको स्तुति, उपाशना, पूजा वा आराधनालाई लिइन्छ ।  स्वभाविक रुपमा धार्मिक व्यक्तिहरु आफ्नो धर्मले स्वीकार गरेको सर्वोच्च सत्ता प्रतिको विश्वासको कारण सर्वोच्च सत्ता, सम्बन्धित स्थान र  सत्ताको आदेशको पालना प्रति कटिबद्ध रहन्छन् । र त्यस्तो सत्ताको उपाशनामा चाख लिन्छन् ।

  यस आलेखमा धर्मप्रवर्तनका विभिन्न सिद्धान्तहरु मध्ये मूल मानिएको एउटा मात्र सिद्धान्तको परिधिमा रहेर चर्चा गर्ने कोशिष गरिएको छ । त्यो हो –अत्याचार अन्त्यको सिद्धान्त । यसका लागि विश्वमा प्रमुख रुपमा मानिने हिन्दु, बौद्ध,  इशाई, मुस्लीम र यहुदी धर्मका एक एक वटा प्रसङ्गलाई उजागर गरी सङ्क्षेपमा चर्चा गर्ने कोशिष रहनेछ ।

भगवान कृष्ण आफू जन्मनु भन्दा अघि देखि नै प्रताडित थिए । सत्तारोहणको अति महत्वाकाङ्क्षाले उनको मामा कंस अन्धो भएको थियो । जनता तथा आफ्नै बाबुप्रति कंसको अन्यायले सीमा नाघेको थियो । यसै क्रममा उसले आफ्ना बाबु उग्रसेनलाई मथुराको कारागारमा कैद गरेको थियो । जतिबेला उसकी बहिनी देवकीको विवाह वासुदेबसँग हुदै थियो त्यसै दिन आकाशवाणीबाट देवकीको गर्भबाट जन्मिएको सन्तानबाट उसको हत्या हुने उद्घोष भयो । त्यस पछि कंस डरायो । उसले बहिनी ज्वाई दुबैलाई कैद गर्यो र जन्मेका सबै सन्तानहरुलाई क्रमशः मार्न थाल्यो । कंसमा दानवीय प्रवृत्ति विकसित भयो । छ वटा सन्तानको हत्या पछि सातौं सन्तान छोरी भएकोले मारिदैन । (विभिन्न ग्रन्थमा फरक फरक मत पाइन्छन् ।) आठौं सन्तानका रुपमा कृष्णले जन्म लिए । उनी चमत्कारिक रुपले बाँच्न सफल भए र गोकुलमा नन्द बाबा र यशोदा मैयाको घरमा हुर्किए । कंसको पाप र अत्याचारको अन्त्य गर्नैका लागि उनले कंसलाई मल्ल युद्धमा मारेको प्रसंग विभन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ । उनले कंश लगायत अत्यचारी तथा दुष्टहरुलाई मारेर एउटा जबरजस्त धार्मिक मूल्यको स्थापना गरेका छन् । कुरुवंशीय सत्ता लिप्सा र  महाभारतको युद्धमा उनलाई केन्द्रिय भूमिकामा देखाइएको भए तापनि त्यहाँ अत्याचार र पापको अन्त्य थोरै र राजनैतिक दर्शनको प्रसङ्ग बढी पाइन्छ । उनले आफ्नो वंश (आर्य?) को सत्ता प्राप्ति र रक्षाको लागि मगध नरेशसँग लडाई गरेका प्रसङ्गहरु पनि उल्लेखनीय छन् । हिन्दु धर्ममा आधारित साहित्यले चामत्कारिक व्यक्ति वा नायकलाई देवत्वकरण गर्दछ । र खलनायकलाई दानवीकरण । जे होस कृष्णले खडा गरेको धार्मिक मतको जग अन्याय, अत्याचार वा पापको अन्त्यमा नै रहेको देखिन्छ । उनले एउटा प्रसङ्गमा अर्जुनसँग जतिबेला धर्मको नाश भई पापले सीमा नाघ्छ त्यतिवेला आफू अवतरित हुने समेत बताएका छन् ।

हिन्दु धर्ममा जति पनि विष्णुका अन अन्य देवी आदिका अवतारहरु छन् सबैले अत्याचार र पापबाट धर्तीलाई मुक्त गर्न नै अवतार लिएको भनी धर्मग्रन्थहरुमा वर्णन गरिएको छ । हिन्दु बहुईश्वरबादी धर्म हो ।

अव एउटा प्रसँग यहुदीहरुको । यो समुदाय संसारमा सर्वाधिका विद्वान तर हेपिएका, दबाइएका समुदाय अन्तरगत पर्छन् । दोस्रो विश्वयुद्धताका जर्मन चन्सलर हिटलरले लाखौं यहुदी जनताहरुलाई ग्याँस च्यम्बरमा हाली हत्या गरेको इतिहास हाम्रो सामु छ । आधुनिक समाजमा यो भन्दा अर्को अन्याय एउटा जातिको लागि के हुन सक्ला ?  

इ. पु ८०० तिर इजिप्टका शासकले इजरायलका हिब्रु समुदायलाई सहर निर्माणको लागि दास बनाएर राखेको हुन्छ । एक दिन मिस्र राजा फिरौनको दरबारमा एउटा हल्ला पिटाइन्छ । हिब्रु समुदायमा अल्लाहको दुतको रुपमा एक बालकको जन्म भएको छ । एक दिन उसले हिब्रुहरुलाई दासताबाट मुक्त गर्नेछ भनी भनिन्छ ।  त्यसपछि हिब्रुहरुका सबै बच्चाहरु आमा बाबुबाट खोस्दै  मीस्र सेनाद्वारा मारिन थालियो । इजिप्टका क्रुर शासकहरु फिरौनहरुको पञ्जाबाट बचाउन एउटी हिब्रु आमाले आफ्नो बच्चा नाइल नदीमा कोक्रोमा हालेर बगाइदिन्छन् । त्यो बच्चा दरबारकै रानी र राजकुमारीले भेटेर पालन पोषण गर्छन । उसको नाम मुसा (धर्मको आदेश) राखिन्छ । नयाँ सहर निर्माणका लगि हिब्रु दासहरुलाई न्युनतम अन्न समेत नदिई काममा लगाउदा एक कामदारको मृत्यू हुन्छ । यसै प्रसङ्गमा मिस्र सिपाहीसँग विवाद हुँदा मुसाको हातबाट उक्त सिपाही मारिन पुग्छ । त्यस पछि उनी भागेर मरुभूमी पारी (मिदियान) जान्छन् । त्यहाँ उनले सफोरा नामक स्त्रीसँग घरजम गरेर बस्छन् । एक दिन आफ्ना छोराहरुका साथ भेडा चराउन जाँदा उनले अल्लाहको वाणी (Ten Commandments)  सुन्छन् । त्यसपछि उनलाई चामत्कारिक शक्ति प्राप्त हुन्छ । अल्लाहको निर्देशन अनुरुप मिस्र दरबारमा हुर्किएको त्यही मुसाले अन्त्यमा फिरौनहरुको क्रुर पञ्जाबाट इजरायली समुदायलाई बचाउछन् । त्यही अत्याचारको अन्त्य गर्ने क्रममा यहुदी धर्म प्रवर्तन गरेको भन्ने प्रसङ्ग बाइबलको पुरानो नियम, कुरान तथा यहुदीहरुको ग्रन्थ तनखमा उल्लेख गरिएको छ ।

बाइबलले मुसा हुँदै जिसस सम्मको कथालाई आफ्नो पुरानो नियममा समेटेको छ । वास्तवमा जिसस क्राइस्टले नयाँ धर्म स्थापना गर्न खोजेका थिएनन् ।  त्यतिबेला इजरायलमा यहुदीहरुको सत्ता थियो । यहुदीहरुको धार्मिक मूल्यहरु आधुनिक समाजमा नमिल्दा देखिएका थिए । यहुदी धर्मगुरुहरुको अन्याय आफ्नै भूमीमा बढ्दो थियो । समाजका मूल्यहरु परिवर्तित भएसँगै यहुदी धर्मका कतिपय बिचारहरुलाई आधुनिकीकरण गर्न, परिस्कृत गर्न र अझ लोकप्रिय बनाई संसारभर फैलाउने उनको अभिलाषा थियो । पछि घटनाक्रमले अर्कै मोड लियो । यहुदी धर्म गुरुहरुले उनी र उनका अनुयायीहरुमाथि नै अत्याचार गर्न थाले । अत्याचारले सीमा नाघ्यो । अन्त्यमा यहुदी धर्मगुरु तथा इजरायलका शासकहरुले जिसस क्राइष्टलाई क्रसमा झुण्ड्याए । यो घटनालाई पनि जिससले सकारात्मक व्याख्या गरिदिए । उनले अरुले गरेको पाप मेरो रगतले पखाल्नेछ भनेर घोषणा गरिदिए । मानिस जन्मजात पापी छ त्यसको फल मृत्यू हो । मानिसहरुको पापबाट मुक्तिका लागि मेरो बलिदान सहायक हुनेछ भनी उनले पिता परमेश्वरसँग प्रार्थना गरे । उनको मृत्यु पछि उनका अनुयायीहरुले उनको दर्शन र मतलाई व्यापक प्रचार प्रसार गरे ।  त्यो धार्मिक मत अति लोकप्रिय बन्यो । आज पनि विश्वको एक तिहाइ जनसङ्ख्या क्रिस्चियानिटीमा विश्वास गर्छ । यो हिसाबले पनि भन्न सकिन्छ कि ईशाइ धर्म पनि एउटा अत्याचारको अन्त्यका लागि भएको थियो ।

विश्वको दोस्रो धेरै जनसंख्याले मान्ने धर्म मुस्लिम हो । यो धर्मलाई विश्वको कान्छो धर्मका रुपमा लिने गरिन्छ ।  निकै नै छिटो प्रचार र आफ्नो साहित्यमा समृद्ध भएको यसको प्रतिपादन पैगम्बर मोहम्मदले गरेको मानिन्छ । मुस्लिम समर्थकहरु पैगम्बरलाई अल्लाहको रसुलको रुपमा मान्छन् ।  मुस्लीम धर्म यहुदी धर्मसँग मिल्दो जुल्दो छ । तथापी यहुदी धर्म गुरुहरुले जिसस क्राइष्टको बिरुद्ध गरेको अत्याचार लगायतका विभिन्न विषयलाई लिएर यहुदीसँग मुस्लीमको ठूलो मतान्तर देखिन्छ । दक्षिण पुर्वी युरोप तथा मध्य पुर्वमा विकसित यी तिनवटै धर्मको शुरुवात एकै ठाउँबाट भए पनि स्थान र कालको अन्तर तथा आफ्नै सम्प्रदायको अत्याचारको अन्त्य गर्नका लागि  धर्म नायकहरुद्वारा मौलिक रुपमा नयाँ धर्मको रुपमा प्रवर्तन गरेको पाउँन सकिन्छ  

ईशाइ धर्म भित्रै पनि चर्चका पादरीहरुको अत्याचारको बिरुद्धमा बनेको प्रोटेस्टेन्ट समुदाय होस वा आर्य धर्मको ब्राह्मणबादी बिचारसँग असहमतिको आलोकमा प्रवर्तित जैन तथा बौद्ध धर्म हुन सबै नै अन्याय र अत्याचारको अन्त्यका लागि प्रवर्तित धर्म हुन । यद्यपि बुद्ध धर्म अनिश्वरवादी धर्म हो । यसले इश्वरको अस्तित्वलाई अस्वीकार गर्दछ ।

विश्वमा दुई किसिमका मानिसहरु पाइन्छन् । एक आस्तिक र अर्को नास्तिक । उत्तर युरोप, रसिया, मङ्गोलिया, चीन,  उत्तर कोरिया लगायतका मूलुकमा नास्तिकको संख्या बढी छ भने दक्षिण युरोप, दक्षिण एसिया,  मध्यपुर्व तथा अमेरिकी महादेशमा आस्तिकहरुको सङ्ख्या बढी छ । ईश्वर र धर्ममा आस्था राख्नेहरुका लागि धर्म प्रतिपादन गर्ने ब्यक्ति, स्थान र प्रतिपादित ग्रन्थहरु ज्यादै महत्वपूर्ण र पवित्र रहेको हुन्छ । जे होस समग्रमा विश्वका मूख्य रुपमा मानिने सबै जसो धर्मलाई नजिकबाट नियाल्दा कुनै  न कुनै रुपमा विद्यमान रहेको अन्याय, अत्याचार र पापको अन्त्य गरी धार्मिकता, हार्दिकता, समृद्धि स्थापना तथा सर्वस्वीकार्य समाजिक मूल्य स्थापना गर्नु रहेको हुन्छ भनेर निश्कर्षमा पुग्छ सकिन्छ ।

(नोटः यो लेख धर्मशास्त्र विषयका विभिन्न युट्युब भिडियोहरु, हिन्दु धर्मका विभिन्न ग्रन्थहरु, बाइबलको पुरानो नियम तथा मजिदे कुर-आनको  केही प्रकाशनमा आधारित रहेर गरिएको अध्ययनपश्चात लेखिएको हो ।)

प्रतिक्रियाका लागिः janardan.kattel@gmail.com