Tuesday, July 28, 2020

कथाः अनागरिक

यस कथाका सबै पात्र यथार्थ हुन् । कसैलाई काल्पनिक जस्तो लागेमा त्यो संयोग मात्र  हुनेछ ।
          र त्यस दिन कार्यालयमा निक्कै चर्का चर्की भयो ।  कैलु सदाले पनि निकै नै आवेशमा आएर फाँटका कर्मचारी तथा  हाकिमहरुलाई मुखभरीको जवाफ दिएकै हो ।  तर के गर्नु उसले एउटा नागिरकताको लागि कति पटक धाउनुपर्ने हो, वा  जीन्दगीभरी अनागरिक भएर बस्नु  पर्ने हो - एउटा प्रष्ट चित्र देख्न मैले अझै सकेको छैन । हुन त म सानो स्तरको कर्मचारी हुँ । अभिलेख फाँटमा कार्यालय सहयोगीको रुपमा करारमा काम गरेको करीब पन्ध्र वर्ष भयो । यस्तो अफ्ट्यारो केश मैले आजसम्म अनुभव गरेको थिइन ।  
-तपाइले आफूलाई नेपाली नागरिकता बाहकको छोरी हो भनेर प्रमाणित गर्नै पर्छ, त्यो तपाईकै कर्तव्य हो । धेरै बेरको हो हल्ला र तनाब पछि  हाकिमले अन्त्यमा भनेका थिए ।
सदाका दम्पति ज्यादै पिरोलिए । कैलु नागरिकता फाँटको पछाडि पट्टि चिया पसलमा झोक्राएर बस्यो । करियाही भने उसकै छेउमा बसेर सुक्क सुक्क गरिरही । म उनीहरुको शोक साधनालाई नजिकबाट चियाको स्वादसँगै अनुभव गरिरहेको थिएँ । आज चियामा सँधै जस्तो स्वाद छैन  वा त्यो चियामा सदा दम्पतिको आँशु मिसिएको थियो - अलमल भैरह्यो ।
एकजना डिमन तिरकै मान्छेसँग करियाही बोल्दै थिई-
          हम अपना आपक कोन देशके नागरिक कहु ? जहियासँ हम होस सम्हालनेछी तहियासँ याह महुली आ डिमनके आसपासमे अपना आपके पौनेछी । हमर देखल स्वदेश कही या विदेश याह थिक । अहिठामसँ दूर कही त राजविराजधरि पहुँचल छी ।
“(मैले आफूलाई कुन देशको नागरिक भन्ने ? जबदेखि मैले होस सम्हाले, मैले आफूलाई यही महुली र डिमनको सेरोफेरोमा पाएकी छु । मैले देखेको स्वदेश भने पनि विदेश भने पनि यही हो । मैले टेकेको टाढाको भूमी यही राजविराज हो ।”


            केही बेर शान्त भए पछि उसले फेरि थपी-
            हमरा बहुतो बेर बहुतो गोटे हमर नाम, माय, बाबू, नैहर आ नातागोताके बिषयमे पुछैत छैक । किया हमरा अहि बिषयमे जानकारी नहि अछि से ? ओना त हमर उमेर कतेक भेल, हमर कोनो बाल्यकाल छल कि नइँ ? ई प्रश्नसभके उत्तर हमरो मालूम नहि अछि । नागरिकता देनिहार हमर नाम पुछलखिन्ह, बाबुके नाम मागलखिन्ह, जन्म मिति आ जन्मस्थान, विवाह मिति, पतिके नाम मागलखिन्ह । सभकियाके सामान्य लागैबाला एहेन प्रश्नसभ हमरा किया पहाड भजायत अछि ? कियो एकर उत्तर दऽ सकैत छन्हि ?
            हमर पतिके नाम कैलु सदा छियैक । कैलु सेहो हमरा अपन घरबाली कहैत छन्हि । सभ गामके लोगसभ सेहो वाएह कहैत छैक । मुदा हमरा मालूमे नहि अछि जे हमर विवाह कहिया भेल । कहियासँ कैलु सदाके घरबाली भेलु । हँहम होसमै एलाके बाद अपना आपक कैलु सदाके कोरामे पौने छी । ओकर बाद ओ हमरा तेक माया, ममता देलैत आ पालनपोषणमे जतन केलथि तकर लेखा जेखा नहि अछि । करीब पन्ध्र बेरसँ बेसी धान पाकल, गहुँम पाकल, हम काटय गेल छी १५ बेरसँ बेसी हमर घर डुवानमे परिचुकल अछि । पन्ध्र बेरसँ बेसी रौदी हमरासभक जरौलक अछि । एकटा झोपडीमे रहिरहल हमर दु दुखीके अहिसँ नम्हर खिस्सा हम यादे करय नहि सक्वे । मुदा हम कैलुके घरबाली भेलामे खुसी छी । ओ त हमरा लेल हमर भगवान बनिक आएल छथिहमरा खोजय महुली पुलधरि ।

(“मलाई धेरैपटक धेरै जनाले मेरो नाम, आमा बाबु, माइति र आफन्तहरुको बारेमा सोध्छन् । किन मलाई यी सब कुराहरुको बारेमा कुनै जानकारी छैन? मेरो उमेर कति भयो, मेरो कुनै वाल्यकाल थियो वा थिएन यी सबै प्रश्नको उत्तर मलाई नै थाहा छैन । नागरिकता दिनेले मेरो नाम माग्यो, बाबुको नाम माग्यो, जन्ममिति माग्यो, जन्मस्थान माग्यो, बिबाह मिति माग्यो, पतिको नाम माग्यो, सबैलाई सामान्य लाग्ने यस्ता प्रश्नहरु मलाई किन पहाड भएर उभिन्छन् ? के कसैले यसको उत्तर दिन सक्छ ?
मेरा पतिको नाम कैलु सदा हो । कैलु पनि मलाई मेरो स्वास्नी हो भन्छन् । सबै गाउलेहरु पनि त्यसै भन्छन् । तर मलाई थाहा छैन मैले कहिले विहे गरें । कहिले देखि म कैलु सदाको पत्नी भएँ । हो - म होसमा आउदा आफूलाई कैलु सदाको काखमा पाएको थिएँ । त्यसपछि उनले मेरो यति धेरै स्याहार र जतन गरे-त्यसको लेखा जेखा नै हुँदैन । करीब पन्ध्रचोटि भन्दा बढी धान पाक्यो, गहुँ पाक्यो, हामी खेताला गयौ । हामीले । पन्ध्र चोटि भन्दा बढी हाम्रो घर डुवानमा परिसक्यो । पन्ध्र चोटि भन्दा बढी खडेरीले हामीलाई डढायो । एउटा झुपडीमा बस्ने हामी दुई दुःखीको यस भन्दा लामो कथा म पटक्कै सम्झन सक्दिन । तर म कैलुको स्वास्नी भएकोमा खुसी छु । उनी त मेरा भगवान बनेर आएछन्- मलाई खोज्दै महुली पुल सम्म ।”)

            त्यस पछि कैलुले पनि केही भन्न सघाउदैथियो-
     सबगोटे ओकर बुढ भ्यागेली कहवे । ओकर उमर सत्तर वेरषसे बेसी भेले, से कहवे । कक्रो मालुम नैछे । लेकिन् सबगोटे ओक्रा शारीरिक बनावट, मुह, गालके शिकन और  पाकेवाला केश,  ओ सभ देखके बुढ भेली- से कहिछे  । ई सब गफसभ  जोइडकर कहि त ओकर  जन्मो  अन्दाजी पचास पच्पन् वरषक उमरमा मात्र भेलछेल ।  सेहो बिना माय बाबुके  ।”
            (सबैजनाले उसलाई बुढी भई भन्छन् ।  उसको उमेर सत्तरी वर्ष भन्दा बढी भइसक्यो  होला । कसैलाई थाहा छैन । तर सबैले उसको शारीरिक बनावट, मुखाकृति, गालाको चाउरी, र फुलेको कपाल यी सबै देखेरै त्यसो भनेका हुन् ।  यी सबै कुराहरुलाई जोडजम्मा पारेर  भन्ने हो भने उसको त जन्म नै पचास पच्पन्न वर्षको उमेरमा भएको थियो । त्यो पनि बिना आमा बाबुबाटै ।)

          करीब दुई वर्ष अघि देखि हो कैलुलाई आफ्नी स्वास्नीको पनि नागरिकता बनाउने भुत चढेको । हुन त उसले कहिले बिहे गर्‌यो कसैलाई थाहा छैन । टाउको लगायत शरीरका विभिन्न स्थानमा लागेको चोटैचोटले अत्यन्तै जीर्ण शरीर तथा विक्षिप्त अवस्थामा मुस्कीलले सास मात्र चलेको र ज्वरोले थरथर काम्दै गरेको अवस्थामा कैलुले महुली खोलाको पुलमुनी भेटाएको भन्छन् । करीब तीन महिनामा मात्र बोल्न सक्ने भएकी थिई रे करियाही । कैलुकै बोली टिपेर  करियाहीले मैथिली बोल्न सिकी । अरु मान्छेले जस्तै ।  अरु पहाडियाहरु र हाकिमहरुसँग बोल्न कैलुले मात्र सक्छ । करियाही नेपाली भाषा अझैसम्म बुझ्दिन । बोल्न सक्ने त कुरै भएन ।
          “सत्तरी वर्ष पुगेका बुढा बुढीलाई भत्ता दिन्छ सरकारले । त्यही भएर तिमेरु बुढा बुढीले नै नागरिकता बनाऊ ।  त्यही पैसाले तिमेरको गुजारा चल्छ । अब बुढा बुढी भयौ । ज्याला मजदुरी गर्न सक्दैनौ ।” वडाध्यक्षले दुबैलाई यसरी सम्झाएपछि मात्र करियाहीको लागि नागरिकताको आवश्यकता बोध गरेका थिए सदा दम्पतिले ।  
          टुहुरो भएकोले सदियौंदेखि नै यही मूलुकमा बसे पनि कैलुले जन्मको आधारमा २०६३ सालमा जसोतसो नागरिकता बनाएको थियो । यसको छुट्टै कथा छ । त्यसो त पहुँच हुनेले पारीबाट आएर समेत नागरिकता लिए भनेको उसका आफ्नै कानहरुले सुनेका छन् । तर कैलु त्यसको अर्थ बुझ्दैन ।उसले आफ्नो  नागरिकता बनाएर घर फर्किने क्रममा बाटोमा उसले करियाहीलाई भेटाएको थियो रे ।
          यिनीहरुको कथा सुनेपछि मैले हाकिमसँग एक पटक कुरा गरौला भनेर आश्वासन दिएँ । उनीहरु मेरै  गाँउका  पनि थिए । यस्तो बेला कुनै उपाय निकाल्दिन पाए बुढा बुढीको उद्धार नै हुनेथियो जस्तो लाग्यो । उनीहरुलाई घर पठाएँ र साँझमा घर जानुको सट्टा म हाकिमको क्वाटरतिर लागें ।
          हाकिमले पनि त्यस्तो कुनै उपाय सुझाएनन् । अन्त्यमा मैले  नै भनेंः-
     -“ए सर, नेपाल सरहद भित्र फेला परेको, पितृत्व र मातृत्वको ठेगाना नभएको मानिसलाई पनि बंशजको आधारले नागरिकता दिन मिल्छ भन्ने सुनेको छु । कि त्यसै आधारमा दिने हो त?  
-त्यो त हाम्रो संविधानमै लेखेको छ नि, तर वडाबाट,प्रहरीबाट प्रमाणित भएर आउनु पर्‌यो नि त्यस्तो कुरा । फेरी  सबैले  मान्नु पर्यो । भएका ( वा नभएका नै भए पनि) आमा बाबुलाई बिर्सिएर मेरा बा आमा छैनन् म यही सरहदमा फेला परेको हुँ भन्दा हुन्छ र ? उनले यति भनेर फेरि थपे - यो सप्तरी हो साथी । त्यसरी  बिना आधार सबैलाई नागरिकता बाँड्दै जाने हो भने एक दिन यहीका जनताले जेलको हावा खुवाउछन ।
          उनले सप्तरी जिल्लाको बिशेषता र नागरिकताको विशिष्टता सम्झाए पछि म कुई कुई गर्दै आफ्नो बाटो लागे – जसरी गल्लीको कुकुर एउटा पत्थरको चोटमा चुइकिदै भाग्छ ।
          घर फर्केपछि साँझको नित्य पुजा र खानपिन गरी सुतें  । परिवारका कसैसँग बोल्न मन लागेन । आँखा भरी करियाहीको आँशु टप्कीरह्ये ।  हारेर झोक्राएको कैलु सदाको अनुहारले रातभरी निमोठिरह्यो ।
          एउटी भारतीय महिलाले  बिबाह गरेको भोलीपल्ट  विवाहको सम्बन्धले अंगीकृत नागरिकता पाउछिन् । के करियाही भारतीय बाबुको छोरी भैदिएको भए हुन्थ्यो ? पाँउथी  त उसले नागरिकता ? होइन ऊ त नेपाली बाबुकी छोरी नै होली, मात्र उसलाई वा कसैलाई पनि त्यसको पहिचान नभएको मात्र त हो । किन उसले  पन्ध्र वर्ष अघिका कुरा सम्झन सक्दिन ? के उसको स्मृति फर्काएर मात्र उसलाई नागरिकता दिने हो ?  मन अनेकौ प्रश्न तथा तर्कनाले गिजोली रह्यो ।
          के मैले ठीकै भनेको थिइन हाकिमसँग ? उसले अब सोही प्रक्रियाबाट नागरिकता प्राप्त गर्न के के प्रक्रिया अपनाउनु पर्ला ? भोली  चिनेको कुनै वकिलसँग  सल्लाह गर्नु पर्ला । अन्त्यमा आफैभित्र उपाय फुराए । केही ढुक्क भए पछि ढीलो गरि निदाएछु ।
          एक हुल आवारा केटाहरुले कसैलाई लखेटिरहेको देखियो । जुनेली रात भए पनि बादलले ढाकेको आकाश भएकोले भरपुर उज्यालो थिएन । महुलीबजारको पूर्वबाट चलेको भागदौड बजारको पश्चिम पट्टिको बालुवाले पुर्न लागेको पुल छेउमा पुगेर अन्त्य भयो । केटाहरुले भाग्ने मान्छेलाई भेटाएछन । त्यो त महिला रहिछ । करियाही । ओहो ! करियाहीको  त्यो रुप त ठ्याक्कै उस्तै थियो । अलि मोटा गाला थिए । कपाल पनि  कालो नै थियो ।
          यी दुष्टहरुले करियाहीको इज्जत लुट्न खोज्दैछन्  - सोचेर केटाहरुलाई  हप्काउनु पर्यो भनी म पनि दौडिदै गएँ । कराउदै त्यहाँ पुग्दा त ती केटाहरु गाँउका आवारा नभएर डरलाग्दा राक्षसहरु पो रहेछन् ! अनि करियाही चै  स्वर्गकी कुनै अप्सरा । कसैले त्यो परीलाई च्याप्प समातिरहेको थियो । यसै बीचमा उनीहरुमध्ये दुई जना आएर मलाई डेरीले हलचल गर्न नसक्ने गरी बाँधे । मैले कुनै प्रतिकार गर्न सकिन । मेरै आँखा अघि त्यो अप्सरालाई ती राक्षसहरुले त्यो परीको पखेटा काटिदिए र पालै पालो बलात्कार गरे ।  त्यसपछि  पनि उनीहरु सन्तुष्ट भएनन्  । उनीहरुले भाला, मुङ्ग्रा र चाबुकले अप्सराको शरीर क्षतविक्षत हुने गरी प्रहार गरे ।   त्यतिकैमा एउटा राक्षससँग मेरो आँखा के जुधेथ्यो, अत्यन्त लामो तरबार लिएर उसले मेरो गर्धनमा प्रहार गर्यो । म जोडले चिच्याएँ ।   सपनाको त्यो आवाज बाहिरै बिस्फोट भयो । जुरुक्क उठ्दा म पसिनाले निथ्रुक्कै भिजेको थिएँ ।  मुटुको चाल नियन्त्रणमै थिएन ।  डर त  छँदैछ, मेरो आवाज अरुले सुनेकी भनेर अलिकति लज्जा बोध पनि भयो ।
          रातको डरलाग्दो सपनाले करियाहीको बेहोशीको संकेत गर्दथ्यो । नत्र किन ऊ आफ्ना बिगत सम्झिन सक्दिन । सपनाकै जस्तै  नभए पनि  पक्कै टाउकोमा भएको कुनै चोटका कारण उसको दिमागले पुराना कुरा गुमाएको हुन सक्छ सोचेर बिहानै घरबाट निस्किएँ ।
          अघिल्लो रातको आत्मयोजना बमोजिम जिल्ला प्रशासन कार्यालय पुग्नु अघि नै  तेजनारायण वकिलसँग भेट भयो ।  विहान चाँडै  घरबाट निस्किएको पनि फाइदै भयो ।
          करियाहीको सबै कहानी सुनेपछि वकिलले आशा व्यक्त गरे । गर्न सकिन्छ । तर सिडीओ साबलाई नै कन्भिन्स गर्नु पर्छ ।
          सिडीओ साबलाई यस विषयमा कुरा गर्ने चाहाना मेरो कहिल्यै पुरा भएन । कार्यालयमा पस्दा उनी कडा स्वारमा निर्देशन दिन थालिहाल्थे । सधैंको व्यस्तता । फेरि एउटा कार्यालय सहयोगीको कुनै मूल्य राख्ने चलन पनि थिएन त्यो बेला । त्यही कुरा हाकिम साबले लिएर गएको भए कन्भिन्स हुन्थे होला । तर न मैले हाकिमलाई दोहोर्याएर  त्यही कुरा भन्न सकें न त मैले कुनै दिन सिडीओ साबलाई करियाहीको कथा सुनाउन नै पाएँ ।  बरु अब सदा दम्पतिबाट तर्किएर हिड्नु भन्दा मेरो अर्को विकल्प रहेन ।
          दुई वर्ष वित्यो । करियाहीले नागरिकता अझै लिन सकेकी छैन । लियोस पनि कसरी ? नाम के हो ?  करियाही ? यो त कैलुले यत्तिकै बोलाउनका लागि राखिदियो – काली भएकीले वा प्रेमले ।  कसकी छोरी हो ? जन्मस्थान कहाँ हो ? कुनै कागज छ ? वाहियात !
***
          एक दिन हाम्रै कार्यालयका मसँगै काम गर्ने कर्मचारी बिलेक्षण यादबले रामायण पाठको प्रसाद खान मलाई समेत बोलाएका थिए । त्यही दिन उनले अर्को रामायण पनि सुनाए । दुई वर्ष अघि आँफैले देखे भोगेको । रामायण पाठको प्रसाद पनि खाइयो । तर अझैसम्म पनि करियाही जस्ता अनागरिकलाई नागरिक बनाउन सक्ने कुनै हाकिम राम बनेर सप्तरीमा आएको थिएन । कि त्यस्तो मानिस यहाँ सुहाउदैन ?
          त्यस रात मैले पनि बिलेक्षण यादबले जस्तै एउटा सपना देखें । तर यसमा करियाहीलाई कुनै राक्षसहरुले बलात्कार गरेनन्, उसको पखेटा पनि काटेनन् । बरु एकजना हाकिमले करियाहीको नागरिकता बनाएर  हातमा थमाउदैथिए । भन्दै थिए- नेपाल सरहद भित्र फेला परेको, पितृत्व र मातृत्वको ठेगान नभएको भनेर वडा र प्रहरीबाट समेत सर्जमिन मुचुल्का आएको थियो ।
          हाकिमप्रति कृतज्ञ भएर करियाही भन्दै थिई- हाकिम बौवा! आँहा हमर दोसर भगवान छिय् ।  आँहाके बहुत बहुत आशिर्वाद अइछ् । छिन्नमस्ता माई आहाँके सदा ईच्छा पूरा करवे ।

अस्तु
राजविराज
मिति २०७७/०४/११ रइव दिन ।
मैथिली भाषा सहयोगीः  अरुण कुमार राम / विष्णु यादब

Wednesday, July 22, 2020

गजलः आकाशमा

यो वर्षा र झरी साथै, बादल छ आकाशमा ।
साँच्चै  के छैन र ! कस्तो मालामाल छ आकाशमा ।।

अमृत वर्षा भए मात्र, जीवन धन्य  यो बन्दछ
बादलु  भित्रको घैला,  छ्यालब्याल छ आकाशमा ।।

निस्कनु पर्छ लौ  चाँडै,  सारा भोक मेटाउन
सबको पेटको रित्तो, सवाल् छ आकाशमा ।।

खेत खेत गराबाट,  गुञ्जिदैछ मीठो धुन
डमरु  र मृदङ्गको, सुरताल छ आकाशमा ।।

जाँऔं  हिंड खुसी खोज्न, किसानको मुहारमा
 उल्लासमय  भयो यस्तो, हालचाल छ आकाशमा ।।

Wednesday, July 1, 2020

गजलः तनाबमा छ मान्छे ....

के गरौ र कसो गरौ, तनाबमा छ मान्छे ।
बच्छ कसरी सृष्टि, दबाबमा छ मान्छे ।।

रोगग्रस्त छ विश्व, आक्रान्त छ विज्ञान,
सयौंपछिको यौटा अभावमा छ मान्छे ।।

प्रकृतिको पनि सहने सीमा हुँदो रैछ,
नसकी सहन उनकै श्रापमा छ मान्छे ।।

यो धर्म अफिम भन्थ्यो, पदार्थ मात्र देख्थ्यो,
धर्म सकिएछ अब त पापमा छ मान्छे ।।

हाइवर्नेसन के हो बुझेकै थिएनछ,
कैले जाला हिमकाल, सन्तापमा छ मान्छे ।।