Friday, April 13, 2018

गजलः उनको न्यानो...

उनको न्यानो अंगालोमा निदाउन पाए हुन्थ्यो । मायालाई छोप्ने प्वाख फिजाउँन पाए हुन्थ्यो ।।
जीन्दगीमा जित्नु के छ, किन धेरै दौडधुप ?
ठूलो जीत प्रेम नै हो बुझाउन पाए हुन्थ्यो ।।
एक प्याला प्रीतलाई टेबलमा टक्क राखी,
आधा आफै बाँकी उनलाइ पिलाउन पाए हुन्थ्यो ।।
एकनास माया गर्दा झर्काे लाग्ला तिमीलाई !
पियारको भाका फेरी रिझाउन पाए हुन्थ्यो ।।
जनार्दनलाई दिन्छौ कि त बास बस्न मुटुभित्र !
कस्तो होला दिल तिम्रो चिहाउन पाए हुन्थ्यो ।




Tuesday, April 10, 2018

काफिया र रदीफ...

काफिया र रदीफ बिना गजल हुदैन ।
 वाह वाही नभै गजल सफल हुँदैन ।।

मिसरालाई राम्रोसँग श्रृंगारले भर्नु पर्छ,
 बहरबद्ध नभै ‘शेर’ असल हुँदैन ।।

श्रृंगारिकता हुन्छ भन्छन् गजलभित्र धेरैजसो,
पैल्हा प्रीति नभै नयन सजल हुँदैन ।।

लेख्नै पर्छ दुई चार वटा आँफै निखारिन्छ,
 बिना परिश्रम कुनै फसल हुँदैन ।

‘जनार्दन’ ले कैलेकाँही तखल्लुस राख्ने गर्छ,
 तखल्लुस नभएनि बिफल हुँदैन ।  

रचना मिति २०७४ .१२. २७