Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Wednesday, October 4, 2023

कविताः दुई किनारा

 दुई किनारा 


साँझको शीरमाथि

जुन ढकमक्क फुलेर त्यसैको सुवासले

यो मन त्यसै त्यसै मादक भएको बेला

तिमी आएको भए कति जाति हुन्थ्यो !!

 

आकाशको शरदीय बगैंचामा गम्किएर

झुलेको त्यो जुनसँग

त्यसैको मोहनी मुस्कानसँग लट्ठ परेर

शीतल बतासको मुलयाम डोरीले लिङ्गे पिङ हालेर

तिमी र म,  

पालै पालो, उठ्दै बस्दै, पिङ मच्चाउदै

अल्हादित बन्न

कल्पनातीत भैरेहको बैंसालु बेलामा

तिमी आउनु पर्थ्यौ नि !!

 

तिमीलाई कसले भन्यो,

आकाशको बगैंचा मात्र सुन्दर हुन्छ भनेर ?

धर्तीमै ढकमक्क फुले पनि लजाएर बस्ने,

पुतलीहरुसँग लुकामारी खेल्ने,

जिस्किदै, जिस्किदै, खिलखिलाउदै,

कोपिलाहरुलाई आफूप्रति ईर्श्या जगाउदै

यतै कतै आउदै गरेकी

तिमीलाई नै सम्झिरहेको थिएँ म

तिमी त्यतिखेरै आउनुपर्थ्यो नि !!

 

आउन त आयौ नि तिमी, तर !

कस्तो असमयमा, कस्तो सङ्कटमा !!

जतिबेला म -

उज्यालोको खोजीमा भौतारिदै, भौतारिदै,

रापिलो तेजपुञ्जतर्फ एकोहोरिदै थिएँ ।

सोचें-

त्यो खोजमा साथ दिनेछौ,

मेरो अल्पबुद्धि, अनि तिम्रो दुर्भाग्य,

हाम्रो तेज त्यही बिशाल तेजपुञ्जमा विलय भयो,

त्यतिबेला मैले आफ्नो अस्तित्व गुमाउदै थिएँ,

अब तिम्रो अस्तित्व कहाँ खोजु?

 

आउन त आयौ नि तिमी, तर!!

साँझमा जुन फुल्नु अघि,

पा..री डाँडामा रापिलो सूर्यपिण्ड 

सेलाएर, शक्ति क्षिण भई

भोलिका निम्ति शक्ति संचित गर्न घोरिइरहेको थियो,

मेरो हालत पनि त उस्तै थियो कि !!

सोचें- त्यो शक्ति संचयमा साथ दिनेछौ,

तर तिमीले ठान्यौ-

यस्तो दुर्वल कसरी मेरो रक्षार्थ उभिएला ?

त्यतिबेला मलाई कस्तो निरीह पायौ !

तिमी त सान्त्वना दिएर फर्कियौ,

आफ्नो कर्तव्य पूरा गर्यौ नि, होइन?

हिच्किचायौ नि  होइन, साथ दिन ?

 

सोचेथें जुनझै ढकमक्क फुलेकी तिमी,

आकाशमा फुलेको शरदीय जुनले झै मलाई

अल्हादित बनाउनेछौ, जीवनमा मादकता थप्नेछौ

सोचेथें तिमी र म,

शीतल बतासको मुलयाम डोरीले लिङ्गे पिङ हालेर

पालै पालो उठ्दै बस्दै,पिङ मच्चाउदै

अल्हादित बन्नेछौ- शरदीय साँझको सिरसिर बतासमा ।

 

सबै जुनहरु एकैनाश कहाँ हुदारहेछन र !

सबै जुनले रातमा शीतलता र प्रीत कहाँ पोख्दा रहेछन र !

मेरो त भ्रम यस्तै बसेछ,

संयोगै भनौ-

मैले चाँहदा तिमी आएनौ,

जब आयौ, तिमीले चाहेझै पटक्कै भएन

त्यसैले त आज एउटा नदी बगि..रहेछ,

दुई किनारामा हामीलाई मुकदर्शक बनाएर

 

****

Wednesday, February 1, 2023

सदाचार

 

सदाचार

 

१.           दुई हरफ आत्म प्रशंशा र

           एक अनुच्छेद बिक्रितिप्रति व्यङ्ग्य कसेपछि

      कवि निश्वास छोड्छ- आत्मसन्तुष्टिको ।

      अनि –

आफ्नो कमाउ धन्दामा लाग्छ,

उत्कृष्ट जिल्दा भित्र आत्म प्रशंशा र व्यङ्ग्य बिक्रीको निमित्त

बजार कब्जा गर्नतर्फ।

 

२.     टेलिभिजनको पर्दामा प्रशासरण हुने

उत्कृष्ट विज्ञापनले ग्राहकहरु दिग्भ्रमित भएकै छन्

उपभोक्ता छक्क पर्छन-

यथार्थ त प्रयोग गरेपछि त थाहा लाग्ने रहेछ,

ओहो!  विज्ञापन त भ्रमको खेति त रहेछ नि !!

उत्पादक/वितरकहरुको खेति मैलाएकै छ,

ठगिने ठगिएकै छन्,

त्यही ठगीबाट आर्जित नाफाको अंश

सरकारले आफ्नो कर थाप्छ र गर्छ

राजस्वको पुनर्वितरण

धन्य मेरो सरकार !!

 

३.     एउटा पेशाको चर्चित, सफल  वा असफल पेशाकर्मी

अझै राम्रो पेशाको खोजीमा

राजनीतिमा छिर्छ,

खै के देखेर ऊ यति आकर्षित भयो हँ ?

के साँच्चै राजनीति-

उसको पेशा भन्दा उपल्लो दर्जाको पेशा हो त ??

 

४.     यस्ता अनेकन दृष्यहरु/ रमिताहरु

रङ्गमञ्चमा मञ्चन भएपछि-

कथित देशभक्त आत्माहरु खुय्य गर्छन् ...

सपना पनि देख्छन् सुधारको कसैले त

जस्तो कि एउटा क्रान्तिकारी रोमञ्चकता !!

कतै यो सपना देखाई- हो कि अभिनय मात्र ?

 

५.     साँच्चै नै सपना देखेको भए त

जरामा लागेको रोगलाई जिस्क्याएर

किन कोही पातमा दवाई छर्किन्थ्यो ऊ ?

टाउको दुखेको बिरामी आउँदा

किन उसले भुँडी तिर उपचार गर्दो हो र ??

 

६.     ढाटछलीको कल्पवृक्ष हलक्क बढेर

जहर फल्न थालेपछि,

त्यही बृक्षमा आफू ओतिन नजानेपछि,  

सुरक्षित हुन नसकेपछि-

मेरै गाउँको प्रेम भाइले

आफूलाई प्रेम गर्न सकेन र उद्‍घोष छाड्यो-

म मरे पनि मेरो देश बाँचि रहोस् ।

 

७.     के प्रेमले सोचेन होला

देशको समृद्धि ?

के यो समृद्धिमा अट्दैनन-

उसको बाबुको दमको उपचार?

उसको आमाको जुन फुलेको मुहार,

न्यायो खुसी परिवारको

अनि,

ऋणले नकोपरेको आफ्नै गिदी ??

 

८.     प्रेमको देश भन्नु त बेलगामको सत्ता रहेछ, हो कि ?

बेलगाम व्यक्तिहरु

बेलगाम पेशाकर्मीहरु

बेलगाम निजी क्षेत्र / बेलगाम सार्वजनिक क्षेत्र

बेलगाम राजनीति

बेलगाम कवि

के यही मेरो देश हो त ?

 

९.     कि त यो देशमा डार्विनको सिद्धान्त बाँचेको छ,

सर्भाइभल अफ फिटेस्ट बनेर,

कि त यो देशमा आत्मरति बाँचेको छ

जस्तोकि- कसैले नदेख्ने गरी गरेको अपराध त बहादुरी हो

जस्तो कि- आफूले गरेको भ्रष्टाचार त कलाकारिता हो

अरुले नदेखेसम्म यो त सदाचार हो,

यस्तो कसरी  हुँन्छ हँ ??

 

१०.     भो अब त अति भो

आऊ, भत्काउ यी कुसंस्कारका पर्खालहरु-

जुन पर्खालले

सदाचारको सातो उडाइदिन्छ,

जुन फुल्नु पर्ने आमाको अनुहारमा

ग्रहण लगाइदिन्छ।

 

११.     ओ कवि,  सुन -

अब आत्म प्रशंशाको ऐनामा देखिने तिम्रा प्रत्येक हरफहरुमा

भेटिनुपर्छ निमुखा नेपालीको निधारको चाउरी,

भरिनुपर्छ - भाङ्ग्रोले छोपेको भोको पेट,

तिम्रो व्यङ्ग्यबाणको निशानाले

आफ्नै स्वार्थपुर्ति गर्न छोडेर

फेर्नु पर्छ नेपाल आमाको च्यातिएको पछ्यौरी

बचाउनु पर्छ लाज आमाको ।

 

१२.          ओ कवि, खोज अब यस्तो बाटो

जुन सफल पेशा कर्मीले

आफ्नै पेशामा रमाउन सकोस्

अझै राम्रो पेशाको खोजीमा-

राजनीतिलाई पेशा बनाउन नपरोस्॥

 

Friday, July 15, 2022

कबिताः केही हाइकुहरु

१. 


यो देश मेरो

भन्छौ त भन्नलाई 

अनि के गर्यौ ?

२. 

ऊ बेला त्यस्तै

लेखेथे त  सामयिक 

लौ न सुधार  ।

३.

तिम्रा पुर्खाले 

गरेजत्ति मात्र त 

खोज्दैछ मूलुक ।

४. 

बाबुको भैंसी

के महत्वको छ र ?

मेरो  त दाम्लो !!!

५. 

खहरे खोला 

उत्ताउलो हुने हो

नदी झैं बन ।


 मिति २०७९/०३/३१, इटहरी ।






Saturday, May 9, 2020

कविता: पुकार यो भूमीको - झ्याउरे छन्द

कविता: पुकार यो भूमीको - झ्याउरे छन्द

*****************************************

कालीको शीर एक्लो भै रून्छ लिपुको त्यो लेक ,
रूदैछ भूमि नबन तिमी अबुझ अदेख ।।
देशका भक्त, जागेर उठ लिएर अठोट

कसैले किन यो भूमीलाई पुर्यायो कि चोट ?


पछाडिबाट धस्दैछ दाह्रा, शत्रुले आएर
भाइ हु तिम्रो भनेर खुबै बखान लाएर
जोगाउ दाजु, जोगाउ भाइ, यो भूमी तिम्रै हो
पुकार्छ माटो जोगाउनु छ कर्तब्य हाम्रै हो


मिचियो देश, चिरियो छाती पीडा भो मनमा
नेताले बोले नेताकै बोली म परें रनमा
कस्तो हो हाम्रो यो स्वाभिमान कसरी जोगाउ ?
सीमाको खम्बा ताकत शक्ति रक्षार्थ खटाउ


जन्मेनन् क्याहो अमरसिंह, यो देश भित्रमा ?
कसरी छुट्यो आमाको तस्बीर यो मानचित्रमा ?
कसरी भन्छौ यो देश मेरो, कर्तब्य नसम्झी ?
चुमिन्छ कहाँ हिमालचुली गन्तब्य नसम्झी ??


हिमाल, पहाड तराई हाम्रो उच्च छ गरीमा
भूस्वर्ग यस्तो भेटिन्छ कहाँ यो विश्व भरिमा ??
हीमाली टोपी लाएर हाँस्दा आँखैमा सजाउने
पियारो देश नेपाली माया मनैमा बसाउने ।


आमाको छाति बैरीको नङ्ग्रा फैलिन नदेउ
हँसिलो प्यारो आमाको मुहार मैलिन नदेउ
बिन्ति छ जुटौ, समय छदै कदम बढाउ
यो देशलाई खाँचो छ हाम्रो, कदम बढाउ ।।

*****************************************
कनि कुथी गरेको मिति २०७७।०१।२७

Thursday, November 16, 2017

भावानुवादः शिबताण्डवस्तोत्र (पञ्चचामर छन्दमा)

शिबताण्डवस्तोत्र (भावानुवाद)


– जनार्दन कट्टेल

प्रवाह त्यो घटा घना–अरण्यमा जटाजुट, घटा–प्रवाहले सधैं गरेर कण्ठ सिंचित ।।
डमड् डमड् छ ताल जो डमड् गरी प्रतिक्षण, बजाउदै सुशोभना छ नृत्यकै प्रसारण ।।१।।


बिशाल सर्पको मणि छ कण्ठमा मनोहर, सुशोभिता सहश्र छन्  र साथमा छ ताण्डब ।।
नमन् सधैं उनै प्रति छ संस्मरण् सदा सदा, गरुन् भलो सधैं भरी छ प्रार्थना सु सर्वदा ।।२।।


अतीव बेगले सदा विलास हर क्षणै गरी, मुकुटमा तरङ्ग छ पवित्र सिन्धुकै सरी ।।
धधक् धधक् छ मस्तकै प्रज्वल्लित प्रतिक्षण, प्रचण्ड कान्तियुक्त जो छ चन्द्रमा विभुषण ।।३।।


हिमालकी सुपुत्रीको परम् विलासदृष्टिमा, छ चित्त जो सँधै भरी अनिऽ लगाब सृष्टिमा ।।
छ बास सम्पूर्ण जगत् ललाटमा सधै भरी, र दूर गर्दछौ सदा दारुण्यता कृपा गरी ।। ४।।


रहोस चित्तमा सधैं शिवऽ शिवऽ शिवऽ, शिवऽ,  सधैं प्रसन्न भैरहोस् मनै भरी सदाशिव ।।
म धन्य र आनन्दमा रमाउँन सकूँ सधैं, र भक्तिमा छ सम्पदा कमाउन सकूँ सधैं ।। ५।।


छ अर्पण सुपुष्पको उनै प्रभू प्रतिऽ सधैं, छ मस्तक त्यो पाउमा हरेक देवकै पनिऽ ।।
उनै प्रभू जटा विशे छ खेल नागको सदा, मणि छ कान्तियुक्त भै सपाट गर्दछ दिशा ।।६।। 


अत्यन्त भीमकाय जो गजाधरैको चर्मले, सजेका छन् दिगम्बर, बनेको छ यो कर्मले ।।
जटाको बन्धनै पनि छ रक्त सर्प युक्तको, उनै त्रिनेत्र युक्तले देखाउ मार्ग मुक्तको ।।७।।


धधक् गरेर अग्नि ले जलाई कामदेवता,  अति घमण्डको गरी समापनै  ती देवको ।।
यिनै सुपुज्य छन् सदा र चन्द्रले सुशोभित, दिउन् प्रसिद्धि नै सदा, दया रहोस् जटाजुट ।।८।।


प्रकिर्ति छिन् ती पार्वती र सिर्जना कलाकृता, जया, तिनै पवित्रको रह्यो सुदृष्टिमा सदा ।।
अनादिका यि देवको गरेर प्रार्थना सधैं, खुसी बनोस् जीवन धरा पवित्र होस् यो मन् सधैं ।। ९।।


नवीन मेघ मण्डली छ औशिंको करालता, सुशोभितै गरी कनै छ कण्ठको सुभब्यता  ।।
 सशक्त छ  जो भार नै जगत् स्वयं लिनै परोस्, स्वयं प्रभू कृपा भई सुसम्पदा प्रदत्त होस् ।।१०।।


अतिव बेगले सधै घुमेर यात्रा गर्छ जो, छ उच्चता त्यो शब्दमा फडा सहित सर्पको ।।
ललाटमा छ अग्निको धधक् धधक्, र धिम् धिमऽ गरी मृदङ्ग बज्दछन् ति तालमा प्रति क्षण ।।११।।


जो गर्छ नाश दक्षको घमण्ड रुपी यज्ञको, जो हर्छ दुःख लोकको र रक्षक त्रिलोकको ।।
गजासुरैको भक्षण र अन्धकासुरै पनि, पुरान्तकऽ उनै शिबऽ, भवः जटाधरै बनी ।। १२।।  


म राख्दछु समानता यो भक्तिमा सबै क्षण, प्रजा र राजको अनि सुपुष्प र यो तृणको
र शत्रु र ती मित्रको,  मणि – कुरुप भित्रको, र सर्पको सजावटै अनन्त नीलकण्ठको ।।१३।।


पढेर मन्त्रले सधै उपाशना गरी कनै, प्रकाट्य होस सभक्तिमा जपेर लाख झन्झनै ।।
किनारमा बसी  भजन् जलाधीको समीपमा ? म कैले पाउँला प्रभू त्रिनेत्रको उपाशना ?? ।।१४।।


कृपानिधी जटाधरै उनै प्रभूको दिब्यता, के सक्छु रऽ म गाँउनऽ भुजङ्गयुक्त भव्यता ?
तथापि नै म गर्दछु सप्रेमले सभक्तिले, भजन् सदैब श्रीप्रभू बुता भरेर शक्तिले ।।१५।।


उपासना छ उत्तमै सपाठ ताण्डबै सदा, जो पढ्दछ र संझना  गरी पबित्र बन्दछ ।
र गाँउछ भजन् सधैं सुप्राप्य छ शिवऽ शिबऽ, वरत्रमा सुखै सुख, परत्र लोकमा शिब ।।१६।।

 नमः शिवायः 

Thursday, September 7, 2017

कविताः मातृभूमी जितपुरप्रति

ढोलेदेवि पवित्र शीर छ यहाँ श्रद्धालुको तीर्थ छ ।
देवीको रसीलो महिमा भजने आधार स्वीकार्य छ ।
फाल्गुनन्द विभुतीको वयभूमि आस्था छ उस्तै गरी
घण्टा माङ्हिममा बजाउन पुगे आनन्द स्वर्गै सरी ।।१।।

हब्बाँ गर्दछ गाईले सबलले लक्ष्मी स्वरुपा बनी
देऊ भन्छ सधैं आहार रसीलो मीठो पुकारा गरी
लक्ष्मीको रसिलो सुस्वाद रसले हुन्छन् अमीरी जन
लक्ष्य कृषकको चुलिन्छ जसरी हिमश्रृंखला आसन ।।२।।

विद्याको अतिनै अपूर्व थल हो यो मेरो मातृभूमी
बुद्धिको पनि त्यो हरीत बिरुवा उमार्ने मातृभूमी
कम्ति सुन्दर फाँट छ र यसको ! उस्तै उपज्युक्त छ ।
हेर्दैमा हृदय अल्हादित भई श्रद्धा, शीर झुकदछ ।।३।।

अम्लिसो अदुवा छ त्यो अकबरे बारीको डिलै भरी
चियाको हरीयो बगान बीचमा गुञ्जिन्छ  रे लैबरी
गर्दामा नहुने रहेछ र यहाँ इलम परिश्रम शुरू ?
पालिन्छन् यसकै अनाज भरमा सम्पुर्ण क्रेताहरु ।।४।।

लिम्बू राई मगर् र भोटे अनि ती ब्राह्मण र क्षेत्रीहरु
कस्तो उत्तम बाग भिन्न थरका फक्रेका पुष्पहरु
आफ्नै भिन्न सबै परम्परामा रमने सँस्कृतिका रक्षक
भिन्न भित्र अभिन्न उत्तम छ यो सहिष्णुता पक्ष त ।।५।।

सिद्धिथुम्का – अजम्बरेहरु मिली जोगाउँछन् सम्पदा
गर्दै स्वागत श्री रबी किरणको स्वर्गीय त्यो भव्यता 
बस्छन् देवहरु गुथेर पगरी स्वर्गै सरी ठाँटमा
बोक्छन् स्वप्नहरु यहाँ सजनले थुम्का अनि फाँटमा ।।६।।

जन्मी यै जितपुर बेंसीको बगलमा हुर्की रमाई यही
आमा तुल्य ममत्व पाएर सधैं बन्ने भनी सद्गुणी
यस्तो प्यारो भूमि पवित्र नगरी पाएर मक्खै बनी
सानैमा चुलबुल गरीगरी सधैं गयौ पढौंला भनी ।।७।।

रम्यौ साथी र शिक्षकहरुसँग मिल्यौ बहुतै पनि
गर्दै कर्म  कुनै पनि बखतमा  गरेर खोस्री खनी
शिक्षाकै क्रममा अलिअलि गरी चढ्यौ उकालो सरी
तिम्रै देनहरु भए यति सबै धन्य छ मातृभूमी ।।८।।


Thursday, June 15, 2017

कविताः पण्डितज्यू के सेवा गराै ?

पण्डितज्यू , के सेवा गरौ ?
धेरै पछि आउनुभएछ,
यजमान सम्झेर ।

तर पण्डितज्यू
तपाईले सम्झे जस्तो शुद्ध
ब्राह्मण – यजमान रहिन अब म,
हुन त यहाँले नै मेरो कर्मकाण्ड गरिदिएको,
यज्ञोपवित धारण गराएको
कहाँ बिर्सन्छु र ?



तैपनि ...
तपाईले दिएको गोप्य मन्त्र
म भने प्रचार गर्दै हिड्छु,
ओम भुर्भुवः स्वः, तत् सवितुर्वरेण्यम् ...
बेग्लै बुझाइमा ।

तपाँईले मन्दिरमा देख्ने भगवान,
स्वर्गमा देख्ने देव अनि,
बैकुण्ठमा देख्ने परमात्मा
म त धरतीमै, गल्ली गल्लीमा
मान्छेमै देख्छु ।
ठमठम हिड्ने,
बोल्नु पर्ने,
खानु पर्ने,
बात मार्नु पर्ने ।
तपाईको भू, भूव, स्वः त्रिलोक छ,
म त  लोक  भित्रै भू , भूव र स्व देख्छु ।

तपाईको देवताले जस्तो
मेरा देवताले तथास्तु भन्दैनन् ।
केबल दिन्छन् आशिर्वाद ।
तपाईको जस्तो देवता खुसीपार्न
मलाई पूजाथाली, फूल अक्षता र शंख–घण्ट चाहिन्न,
चाहिन्छ त केवल मन ।

तपाईका देवता
मन्दिरमा कति खुसी छन् ,
हरदम ।
तर मेरा हेर्नु न,
त्यत्तिकै दुःखि
कसैका मन्दिर नै छैनन्
कोही गरीबीमा छट्पटाएका
कोही रोगले सताइएका
कोही कसैद्वारा त्याज्य
कोही हेपिएका,
लुटिएका,
पिल्सिएका,
पिसिएका,
खेदिएका
बेसाहारा
उफ !!!

हजुर ब्राह्मणलाई शुद्ध भन्नुहुन्छ,
पुराणलाइ पवित्र मान्नुहुन्छ !
म हजुरको शुद्रलाइ शुद्ध देख्छु
अरूको सेवामा सदैव तत्पर
मानव सेवक ।
अनि
पुराणलाइ फगत एउटा साहित्य,
आँफैले लेखेको कविता जस्तै,
कथा जस्तै,
वा उपन्यास जस्तै ।
बरू हजुरले देखेको ब्राह्मणलाई
केहि हदसम्म ढोंगी,
अफिमले मात्तिएको,
र यथार्थमा
बिचरा अबुझ ।।

तर मलाई यसर्थ खुसी लाग्छ कि–
तपाई पनि शुद्रले सिलाएको कमिज र धोति लागाउनु हुन्छ
टोपी लगाउनुहुन्छ,
जुत्ता लगाउनुहुन्छ,
उसैले कमाएको सुन पानीले तपाइको बैतरणी पार हुन्छ
गाना उसैको,
नाना उसैको ।

तपाईका शास्त्रका हरेक पात्र –
उच नीच, देवता, राक्षस,
ब्राह्मण, क्षत्री, बैष्य, शुद्र,
यस्तै यस्तै ।
मलाइ त यस्ता पात्र खोज्न शास्त्र सम्म पुग्नै पर्दैन
मेरो परिवेशमै भेटिन्छन् ।
जस्तो कि–
परोपकारी, मानबसेवी– ब्राह्मण,
रक्षक– क्षत्री,
ठग, दुष्ट, भ्रष्ट, आडम्बरी– शुद्र

भो पण्डित जि !
तपाई र मेरो बिचार मिल्दैन
शास्त्र मिल्दैन
देवता मिल्दैन
देश मिल्दैन
परिवेश मिल्दैन

भन्ला नि तपाइको शास्त्रले त ?
भूत, प्रेत, पिसाच, देवी देउराली, धामी, बोक्सी
उँच निच आदिको बारेमा ?
स्त्रीको रजलाइ शुद्र देख्ने तपाईंको शास्त्रले
 के कति प्रथा र परम्परा चलाएछन् - त्यो हिसाब गरौ‌ला दुबै मिली 
मेरा शास्त्रले मान्छेलाई मान्छे मात्र मान्छ ।
म त रजलाई शुद्र हैन शुद्ध  देख्छु,
अनि भूत, प्रेत, आत्मालाइ आडम्बर ।

अनि कसरी रूच्ला त,
मेरी जहानले बनाएको मीठो भोजन
अनि कसरी गरूँ हजुरको सत्कार
चौरासी व्यन्जनले  ?
ब्राह्मणको सेवा गर्नु पर्ने तपाईको यजमान
आजकल तपाइले भन्ने गरेको
शुद्रको सम्मान गर्ने भएको छ
के तपाइलाई यो कुरा पाच्य होला र ?
भैगो पण्डित जी,
तपाईको यजमान अब तपाइले सोचे झैं शुद्ध छैन,
त्यसैले
माफ पाँउ,
हजुरको सेवा गर्न असमर्थ छु ।


Thursday, April 13, 2017

शुभकामना

नॅया वर्ष बनोस हाम्रो समृद्धि-फलदायक
पाओस यो राष्ट्रले सारा राष्ट्रको हीत-नायक ।।

लागोस सुमार्गमा चित्त, भरोस सद्बुद्धिले मन
छाओस सद्भावले विश्व, मीत होस् बैरको मन ।।

पुरोस सन्त्रासका घाउ पलले ओखति गरी
मिलोस सन्तापले मुक्त नॅया युग कसै गरी ।।

सपूत र स्वपितृको शुभाशिष् प्राप्त भैकन
मिलोस स्वतन्त्रता भित्र कर्म-कर्तव्य संझना ।।


सॅधै वसन्तमा फुल्छ नॅया वर्ष हराभरा
संकल्पको घडा भर्छ उज्यालो पुष्प ऑकुरा ।।


नॅया उमंग बोकेर उन्नति पथमा पुगी
स्फुर्ति औ परिश्रमले सतत लक्ष्यको चुमी ,

दीर्घायु र सुस्वास्थ्यको पूर्ण होस मनकामना
पुनित पावन पलमा यही छ शुभकामना ।।

Tuesday, February 21, 2017

बाल गीतः सानी नानी कमला


सानी नानी कमला
कौशीमा गमला
गमलामा फुलेका
ढकमक फूल
रस चुस्न भन्दै आए
पुतलीका हुल


यति धेरै पुतलीको
गुण कहाँ होला
झरी पर्यो भने फेरि
कसो गर्ने होला

                                   


                                               मेरी सानी कमला
                                               बज्याे मादल समाला
                                              कसले पो बजायो
                                              यति मीठो ताल
                                            तालसगै मादलुको
                                            तिमी नाचिहाल ।।


मेरी सानी कमला
घर छेउ अमला
लटरम्म फलेका
रसिलो त्यो फल
फल खानलाई
गर्नु पर्छ बल

                            कसले टिपी देला
                           मीठो मीठो फल
                           मेहेनत नगरी
                           कहाँ मिल्छ फल

बालगीतः झुसिल्किरा


ठूला ठूला नाङ्लाभरी
के ल्यायौ हातमा
हेर्न जाँदा झुसिल्किरा
किम्बूका पातमा
               

       
                 
                           किन ल्यायौ झुसिल्किरा
                            किम्बुका पातमा ?
                             छोयो भने नराम्ररी
                                 झुस बिझ्छ हातमा


जुनी फेरी पुतली भई
उड्न थाल्छ झुसिले
रेसम किरा भएर
नाच्न थाल्छ खुशीले


                     किम्बुको पात खाँदै
                     झुसिल्किरा बढ्यो
                     हेर्दा हेर्दैं खोलभित्र
                   लुक्न पो थाल्यो ।


                             धागो कात्ने मान्छेहरु
                             कहाँबाट आए
                             झुसिलेलाई खोलभित्रै
                             तातो पानी खुवाए
                     

     
फुलदेखि जुनी फेर्दै
झुसिल्किरा भयो
                      खोल भित्र बास बस्दा
                     उसको प्राण गयो  ।।



बालगीतः तोरीबारी


ढकमक तोरी
मूखियाकी छोरी
न त सानी न त ठूली
कति राम्री गोरी

                   ढकमक तोरी फूल्यो
                   बारी भरी जम्मै
                  राम्रो गरी पानी हाले
                  फल्ला लटरम्मै

पेल्यो भने तोरीलाई
धेरै आउछ तेल
तेल हाली पकाउँ हामी
मीठो मीठो सेल

               सानू सानू नानी
              तोरी बारी जाने
             आमासँग तातो तातो
             सेलमागी खाने

तोरीबारी छेउमा
धेरै बेर नभुल
लड्यो भने देख्लाउ फेरि
तोरीको फूल

बाल गीतःपातलीको जामा


सानी नानी पातलीको
कति राम्रो जामा
धुला खेल्यो भने फेरि
मैलो हुन्छ जामा

मामाजीले किनिदिए
यति राम्रो जामा
मामालाई ठूली गर 
भन्नुहुन्छ आमा

घर सफा राख्नलाई
आमालाई सघाऊ
नाना पनि सफा गरी
ईस्त्री राम्रो लगाऊ

जतन गरे नानालाई 
कति राम्री भइन्छ 
अर्को वर्ष नाना लगाई 
मामा घर गइन्छ ।

सुचिकार दाजुको
कति राम्रो सीप
तिम्रो नाना भुईंमा झरे
जतनले टिप ।

Tuesday, January 31, 2017

सरस्वती बन्दना

देवी तिम्रो कसरी महिमा गाउँ अज्ञानी मैले
 विद्या ज्ञान कसरी सहजै प्राप्त र्गछन सबैले
 तिम्रो स्नेह मकन भरिद्यौ हेरी अज्ञानीलाई
 गर्छु सेवा सरस खुसीले प्रार्थना तिम्रो गाई ।१।

  

ब्रह्मा विष्णु सकल गणले गर्दछन् तिम्रो  ध्यान
तिम्रै दृष्टि मकन गरिद्यौ आँउछ बल्ल ज्ञान
विणा हुन्छ जसरी करमा बाद्य तिम्रो सुरिलो
गर्छु पूजा हर समयमा बुद्धि देऊ भरिलो ।।२।।

माला तिम्रो सकल करमा ज्ञानको ज्योति छर्ने
वर्ण शुभ्र असल अति  नै  रात्री अँध्यारो चिर्ने
चक्षुमात्र गहन बढीया बेद, शास्त्र मिमांशा
झुक्छु  नित्य  मनन गरदै राखी अत्यन्त आशा ।।३।।


बस्त्र सेतो कमल दलमा आसन तिम्रो खुल्छ
तिम्रो पाउ परिकन अब मेरो विज्ञान  खुल्छ
बाह्रै रुप नूतन समझी तिम्रो स्तुति गाई
माग्छु जान  हर समयमा देऊ न लाै मलाई ।।४।।


ज्ञानी बन्छन् कसरी  भन लौ हिजो थिए  गवार
जस्मा पर्यो ममता उनको  ज्ञान हुन्छ सवार
भक्ति तिम्रो चरणतलमा मेरो कर्मले बोल्छ
युक्ति तिम्ले जसरी मकन भर्छौ संज्ञान डुल्छ ।।५।।


विद्याकी बरदे बस न मनमा तिमी हौ देवी एक
प्रज्ञा निम्ति मेहेनत गरी माग्छु बुद्धि विवेक
पूजा तिम्रो असल मनले, गर्दछु नित्य कर्म
मेरो प्राप्ति हर प्रहरको, मेरो सत्कार्य, धर्म ।।६।।



Thursday, January 26, 2017

भानु












सबले हरिभक्ति गरी रसले 
तनले धनले, प्रभुका जपले 
मुखिया कूलले पनि हुन्न ठूलाे 
गर यिन् नरकाे उपकार ठूलो ।।

भनी घाँसी गयाे उसकाे सुरमा 
खनियाे त कुवा उसकाे पुरमा 
यिनका बचन लिइ याे मनमा 
लिइ जाेस, रही अब हाेसमहाँ ।।

अपठहरू  खातिर धन्य हुने 
मरदा पनि लोकमा नाम र ने 
रसिलाे सरल स्व सु भाषा हुने 
पहिचान अनि अपनत्व हुने ।।

म त बन्छु कवि रचदै कविता 
बहिदिन्छु जतै सुरिलाे सरिता
यसरी कविता सरिता भरिए 
तनहुँ तिरमा यसरी छरिए ।।

सबका मनमा भरिए रचना 
मृदुछन्दमयी सुनरी सपना
अब भानु भए धरती भरिका 
सबले पुजने भगवान सरिका ।।
रचना मिति २०६३ असार २९ 
पद्मकन्या विद्याश्रम मा. वि. डिल्लीबजार, काठमाण्डाै 

Thursday, January 12, 2017

कविताः मेराे देश



मेरो देश

-        जनार्दन कट्टेल

हिमालको सुशोभना, छ अन्त खै कहिँ कतै 
पहाडको यो सम्पदा छ  विश्वमा कहिं कतै
अर्पूव छ स्वदेश यो जहाँ तहाँ जता ततै
तिमी मभित्र नै यतै लुकेकोछौ जहाँ जतैं  ।। १।।

सबै परिश्रमी भए छ उर्वरा मधेश यो
छ मोहनी, छटा, मनै हुरुक्क विश्वको
सबै पवित्र सन्तति यो देशका सबै मणिऽ
उठौं जुरुक्क भै सबै विकासको छ यो घडिऽ ।।२।।

अंगालेर असभ्यता, निकृष्टता र निचता,
अज्ञानको प्रयोगले मिलेछ के त उच्चता ?
नसम्झ यो अनन्तमा  विलाउँदै छ बीरता,
गुराँसको सछत्रमा लुकेको छ सबै दिशा ।।३।।

अबेर भो अझै पनिऽ सुतेर बन्छ कि भुमी ?
अटूट र्काय भित्र नै बनी  रहुन् सधैं भुमी ।
नचिनेर स्वयंप्रति तिमी भने बेहोश छौ,
ए राष्ट्रका अनन्य हो ! तिमी कता हराएछौ ? ४।।

यो देशको उज्यालोको छ विश्वमा के संशय ?
गरे के हुन्न ? पाखुरा तिमीसँगै छ निश्चय ।
फुलाउनु छ राष्ट्रको सगर्व फूल आँकुरा
अनेकतामा एकता मिलाउँदै यि टाकुरा ।।५।।

छ दूर लक्ष एक यो मिलाउने सबै जनऽ
जुटी महान संप्रभू फुलाउने सबै कणऽ ।
गरौं पवित्र निश्चय, गरेर ज्ञान संचयऽ
सम्बृद्धता यो देशको जपेर लाख तन्मयऽ ।। ६ ।।

भलो छ यो सबै मन मिलेर बस्दिए कतिऽ
सयौं सुपुष्प हार यो उनिएमा अझै कतिऽ
अति सुगन्ध देशको, हराभरा भई फुलोस् !
यही छ कामना अझैं हिमालमा नयन् खुलोस ।।७।।


Friday, January 6, 2017

मैले नबुझेकाे बोर्डिङ स्कूल

हिल्डा तावा र मन्टेशाेरीकाे नाम बेचेर,
टायलर र डिवेकाे नाम बेचेर
व्यापारिक केन्द्रकाे शैलीमा स्कूल खाेलेछाै
किनकी तिमीले राज्यले गर्न नसक्ने काम गर्नु छ,
साना नानीहरूलाइ बाल सुलभ शिक्षा दिएर ।

मैले,
तिमीले बच्चालाई यातना दिएकाे देखेकै छैन ।
तिमीले मन्टेशाेरीले भने जस्तै गरी खेलकाे विधिबाट मात्र
सिकाएकाे देखेकाे छु
रूसाेले भने  झैं प्रकृतिबाट सिक्ने अवसर  दिएकाे  देखेकाे छु

म अविभावक,
अझ तिम्राे भाषामा गार्जियन,
मेरा अाफ्ना कुरा पनि तिमी सुन्छाै,
ध्यान  दिएर ।
किनकी तिम्राे भन्दा मेराेसाथमा बच्चा धेरै समय रहन्छ ।
तिमी सुकीर्ति हाै,
तिमीमा कुनै विकृति  नै छैनन्
 तिम्राे सुधार गर्ने ठाँउ नै छैनन् ।
किनकि तिमीले टि क्यु एम पद्धति जानेका छाै,
त्याे त व्यवस्थापनमा प्रयाेग हुने, कहाँकाे स्कूलमा !
तैपिन तिमीले अविभावकसँग निरन्तर छलफल गर्छाै, सुधारका लागि
अझ अभिभावकलाई
अाफ्नाे कुरा मञ्चबाटै राख्न  दिएकाे देखेकाे छु मैले
तिम्राे वार्षिक उत्सबमा ।
नराम्राे  शिक्षककााे बारेमा कुनै टिप्पणी गर्दा-
चित्त नबुझे अर्कै स्कूलमा लैजानु भन्ने
तिम्राे अाेठे जवाफ मैले सुनेकै छैन ।

तिम्राे स्कूलका शिक्षकहरू -
बच्चालाई क्लास वर्क दिएर घाम पनि तापेका छैनन्
बच्चलाई गाली गर्दैनन् , यातना दिदैनन्
शिक्षण विधि - विद्यार्थी केन्द्रित छ,  अादर्श छ
सबै  शिक्षकहरू तालिम प्राप्त छन्
तिम्रा शिक्षकले बाेलेकाे
कति शुद्ध,
कति सभ्य,
कति  शिष्ट
कति प्रभावकारी  सिकाइ
कति उपलब्धी मूलक
मेट्रिककाे नतिजा हेरेरै थाहा हुन्छ
सब एक से एक , सब ए प्लस
अाहा !

बरू म मुर्ख अविभावक,
किनकी म मेराे नानीलाइ कुटी कुटी घाेकाउनु भन्छु,
हाेम वर्क जति सक्दाे धरै दिनु भन्छु ,
मेराे नानी जसरी नि फष्ट हाेस भन्ने चाहान्छु
बरू व्यवहारिक ज्ञानकाे मतलब गर्दिन
मलाइ ए प्लस भए पुग्छ ।
मेराे नानीलाइ देश सिकाउनु पर्दैन ,
मेराे नानीलाइ सँस्कार र सँस्कृति सिकाउनु पर्दैन
व्यवहार  सिकाउनु पर्दैन ।
उनीहरूलाइ अाइ इ ए एल्टी एस र टाेफेलमा पास हुन सिकाए हुन्छ

अफसाेस,
कसैले तिमीलाइ  बाेइलर कुखुरा उत्पादक भनेछ,
कस्ताे लज्जास्पद !!
तिमीलाइ राज्यले कर पाे मागेछ !
तिमी कम्पनि एेन अनुसार दर्ता भएका हाै र कर तिर्ने ?
समाज सेवा गर्ने तिमी
अाफ्नाे लगानी गरेर
नाफा रहित
तिमीले कमाएकाे मैले देखेकाे छैन
तिम्राे  सम्पत्ति त, पुर्ख्खयाेली पाे त !
बरू स्कूल चलाएकाले तिमी कति गरीब भयाे हाेला !!
त्यसकाे मुल्यांकन खै त ?

नयाँ वर्ष

यस्तो चिसो मौसममा
किन आयौ?
के वसन्तको हरियाली मन पर्दैन?
कि कोइलीको सुरिलो स्वरले झर्को लाग्छ?
खै ! तिमी आएको
मलाई त खासै मन परेन ।
हुन त तिमीले डलर खुब कमाएर ल्यायौ होला
तिमी सॅग आइ एन जि ओ ले दिएको सवारी होला
चिसो छेक्न सक्ने
ए सी युक्त ।
सयद तिमी शक्तिसम्पन्न छौ
र त सास्कृतिक रूपमा अरूलाई परास्त गर्न सक्छौ ।
globalization को हतियार लिएर ।
धर्मनिरपेक्षता र
मानब अधिकार
अनि समावेशीकरण आदि आदिका
ढाल लिएर ।
हुन त हामी पनि उस्तै छौ,
हिन्दी प्रति हुरूक्कै हुन्छौ ,
दौरा सुरुवालमा भन्दा टाई सुटमा भलाद्मी सम्झन्छौ
आफ्नै सॅस्कृतिलाई सराप्छौ
इतिहासलाई धारे हात लगाउछौ
राष्ट्रिय विभुतिलाई थुक्छौ
क्रीसमसमा सार्वजनिक छुट्टी दिन्छौ र
हाम्रो आफ्नै चाड पर्वहरूलाई छुट्याउछौ
यो फलाना र ऊ ढिस्काना जातको भनेर ।
अनि आफ्नो मौलिकतालाई अवमूल्यन गर्छौ ।
जे भए पनि तिमी आए पछि
स्वागत गर्नै पर्यो ।
चिन्ता नगर!
हाम्रो सरकारले
तिम्रो आगमनलाई केही बर्ष भित्रै
सार्बजनिक विदा गरेर औपचारिक स्वागत गर्नेछ
बैसाख 1 लाई गोली मारेर ।