Thursday, January 12, 2017

कविताः मेराे देश



मेरो देश

-        जनार्दन कट्टेल

पञ्चचामर छन्द  ज त ज र ज गु isi sis isi sis isi s

स्वदेशको प्रदीपमा नराख लौ न संशय,
गरेर नित्य साधना, अझेै  भएर तन्मय ।
फुलाउनु छ राष्ट्रको सगर्व फूल आँकुरा
मिलाउँदै अनेकता चुमेर उच्च टाकुरा ॥१॥


पुकार यै छ धर्तिको सधैँ सधैँ प्रकाशमा- 

फुलाउने, बगाउने विकासको प्रवाहमा

गरौं पवित्र निश्चय, भरेर दिव्य कामना

गरौं भलो स्वदेशको रहेर नित्य कर्ममा ॥२॥


हिमालको सुशोभना, छ अन्त खै कहीँ कतै 
पहाडको यो सम्पदा छ  विश्वमा कहीँ कतै
अपूर्व यो छ भूधरा जहाँ तहाँ जता ततै

पवित्र छ स्वदेश यो हरेक स्वासमा जतैं  ॥३

परिश्रमी सबै छँदा छ उर्वरा मधेश यो

छ मोहनी छटा उतै, मनै हुरुक्क विश्वको
सबै पवित्र सन्तति र देशका सबै मणि
उठौं जुरुक्क भै सबै विकासको छ यो घडी ॥४॥

नबोक रे असभ्यता  निकृष्टता र निचता
अज्ञानको प्रयोगले रहन्छ के त उच्चता ?
नसम्झ यो अनन्तमा  बिलाउँदै छ बीरता,
गुराँसको तरङ्गमा लुकेर बस्छ सभ्यता ॥५॥

अबेर भो अझै पनिऽ सुतेर बन्छ के भुमी ?
अटूट कार्य भित्र नै बनी  रहुन् सधैं भुमी ।
कतै अज्ञानले तिमी स्वयंप्रति अचेत छौ,

सुपुत्र हौ त ! देशका तिमी कता हराएछौ ? ॥६

सबै मिलेर बस्दिए भलो छ हेर लौ कति

सयौं लता र पुष्पमा सुहाँउला अझै कतिऽ
यही सुगन्ध देशको, हराभरा भई फुलोस् !
यही छ कामना सधैँ हिमालमा नयन् खुलोस ॥७॥


No comments: