Monday, January 2, 2017

नेपाली सेनामा पदपुर्ति

- जनार्दन कट्टेल

नेपालको रक्षा मन्त्रालय मातहतमा रहेको नेपाली सेना देशको राष्ट्रिय सुरक्षाको क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी बहन गर्ने निकाय हो । नेपाली सेनालाई सबल, सक्षम र प्रभावकारी बनाउन यसमा निरन्तर हुने भर्ना, छनौट, यसको प्रक्रिया र आधारभुत तथा अन्य तालिमको स्तरमा विशेष ध्यान पुर्याउनु पर्दछ । सैनिक सेवा नियमावली २०६९ अनुसार नेपाली सेनाको फलोवर्स र सैन्यपद तथा अधिकृत स्तरको सहायक सेनानी पदमा सत प्रतिशत नयाँ भर्ना प्रक्रियाबाट पदपुर्ति गरिने व्यवस्था भएकोले नेपाली सेना बन्दवृत्ति प्रणालीमा आधारित भएको प्रष्ट हुन्छ । यी बाहेकका अन्य पदहरुमा बढुवा प्रक्रियाबाट मात्र पदपुर्ति गरिने हुनाले सम्पूर्ण संगठनमा सैन्य वा सहायक सेनानी पदमा भर्ना भएका व्यक्तिहरु नै रहन्छन भन्ने कुरा प्रष्ट नै छ । (यद्यपी विभिन्न सेवा प्रवेश तथा सेवाकालिन तालिमले नयाँ कर्मचारीहरुलाई पुर्नताजगी तथा सवल र सक्षम बनाइरहेको हुन्छ ।) बन्दवृत्ति प्रणालीलाई अवलम्बन गरेको सैनिक संगठनमा भर्ना हुन आउने उम्मेदवारहरुको सक्षमता, गतिशीलता तथा सक्रियताले नेपाली सेनाको आगामी स्वरुप र सवलतालाई प्रतिनिधित्व गर्दछ ।

नेपाली सेनाको कार्यरथी विभाग, भर्ना छनौट निर्देशनालयले प्रत्येक वर्ष वार्षिक÷अर्धवार्षिक रुपमा भर्ना छनौटका लागि दरखास्त आहवान गर्ने गर्छ । दरखास्त फाराम भर्ने अन्तिम म्याद  सकिएको करीब दुई महिना वा सो भन्दा कम समयमै उम्मेदवारहरुको उपयुक्तताको विषयमा सम्पूर्ण रुपमा जाँच गरी नियुक्तिको लागि सिफारिस गर्ने कार्य सकिन्छ । यसरी छोटो अवधीमै सकिने सिफारिस प्रक्रियाका कारण संगठनमा  दरबन्दी रिक्तताको स्थिति नरहने प्रष्ट छ । उम्मेदवारहरुको उपयुक्तताको परीक्षण गरी नियुक्तिका लागि सिफारिस गर्न सैनिक सेवा नियमावली अनुरुप नै पदपुर्ति समिति बनेको हुन्छ । जसमा लोक सेवा आयोगको अध्यक्ष वा आयोगले तोकेको सो आयोगका सदस्य – अध्यक्ष, मन्त्रालयको सचिव वा निजले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत – सदस्य, कार्यरथी– सदस्य, प्रधान सेनापतिले तोकेको सम्बन्धित विषयको बिशेषज्ञ एक जना– सदस्य र भर्ना छनौट निर्देशनालयको निर्देशक– सदस्य–सचिव रहेका हुन्छन् । अधिकृत क्याडेट भन्दा तल्लो दर्जामा निर्धारित प्रक्रियाका आधारमा उपयुक्त उम्मेदवारको छनौट गरी नियुक्तिको लागि नियुक्ति गर्ने अधिकारी समक्ष सिफारिस गर्न लोक सेवा आयोग र मन्त्रालयको प्रतिनिधि समेत रहने गरी बढीमा पाँच सदस्यीय छुट्टाछुट्टै समिति गठन गरी कार्य सम्पन्न गर्ने गरिएको पाइन्छ । 

पदपूर्तिको लागि विज्ञापन गर्ने र परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने, पदपूर्तिको लागि प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षण, प्रयोगात्मक परीक्षाको व्यवस्था, गुणमापक परीक्षाको व्यवस्था, अन्तर्वार्ता लगायतका कार्यहरूका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी दक्ष वा विशेषज्ञको सेवा प्राप्त गर्ने र उम्मेदवारलाई सैनिक सेवाको रिक्त पदसंख्याको आधारमा योग्यता अनुसार तालिम वा नियुक्तिको लागि सिफारिस गर्ने कार्य नै पदपुर्ति समितिको कार्य हो ।

सैन्य सेवाका पदहरुमा आजकाल त्यति धेरै आकर्षण देखिदैन । दरखास्त आवेदन फाराम भर्ने अधिकांश परीक्षार्थीहरुको स्तर अत्यन्त न्यून देखिने गरेको छ । यसका मूख्य कारणहरुमा फौजी जागिरको जोखिम, पढाई राम्रो हुनेहरुको आकर्षणको क्षेत्र अन्यत्रै हुने गरेको, सैनिकको जागिर ‘बल बढी र बुद्धी कम हुनेले मात्र खाने हो’ भन्ने धारणा समाजमा व्याप्त रहनु नै हो ।

सैन्य क्षेत्रमा किन प्रतिभाशाली व्यक्तिलाई आकर्षण गर्न सकिएन भन्ने सन्दर्भमा कुरा गर्दा भर्ना छनौटको विश्वसनीयता तथा निश्पक्षता पनि प्रमूख रुपमा आउने गर्छ । परम्परागत शैली र मान्यतामा विश्वास गर्ने जनमानसमा अझै पनि भनसुन गर्दा आफ्नो मान्छे छिराउन सकिन्छ भन्ने सोच रहेको छ । यता  कतिपय सैनिक पदाधिकारीहरु समेत सैन्य परम्परायुक्त परिवारप्रति बढी विश्वस्त हुने गरेको पाइन्छ । पुरानो मान्यता अनुसार नेपाली सेना दरबारिया, राणा तथा खानदानी परिवार एवं जर्नेल, कर्नेलहरुका शाखा सन्तान र जानपहिचानको मात्र जागिर खाने ठाँउ थियो भन्नुमा अत्युक्ति नहोला । तर आज यो अवस्था छैन । विभिन्न जिल्लाका ग्रामीण क्षेत्र तथा दुर दराजका भाइ बहिनीहरु सेनामा भर्ना भैरहेको यथार्थ हाम्रो सामु छ । पदपुर्ति समितिमा लोक सेवा आयोग तथा रक्षा मन्त्रालयको प्रतिनिधि अनिवार्य रहने व्यवस्था, सबै परीक्षाहरु लोक सेवा आयोग तथा रक्षा प्रतिनिधीको रोहबरमा हुनु, लिखित परीक्षाको उत्तरपुस्तिका अनिवार्य रुपमा कोडिङ गर्ने र गोप्य रुपमा जाँच गर्ने व्यवस्था, सैनिक सेवा नियमावली २०६९ ले विभिन्न वर्ग र क्षेत्रका लागि तय गरेको आरक्षण कोटा तथा नेपाली सेनाले पहिला जस्तो राजाको नभई जनताको छोरा (राष्ट्रपति)को अविभावकत्व पाएकाले समेत क्रमशः स्थितिमा सुधार हुदै गएको छ । हाल सैन्य भर्ना प्रक्रियामा कुनै किसिमको भनसुन, सोर्स फोर्स वा जान पहिचानले कुनै फरक नपार्ने स्थिति सिर्जना भएको छ । जो हरेक चरणका परीक्षामा अब्बल ठहछ, ऊ सफल हुने पक्का छ । 
  
देशको विकास र समृद्धि सामान्यतया राज्यले लिने परराष्ट्र नीति, रक्षा नीति तथा राष्ट्रिय सुरक्षा नीति जस्ता महत्वपूर्ण नीतिमा भर पर्दछ । राष्ट्रिय सुरक्षाको क्षेत्रमा नीति निर्माण गर्ने तथा कार्यान्वयन प्रक्रियामा नेपाली सेनाको अहम् भूमिका हुन्छ त्यसैले सैैन्य क्षेत्रको जागिर अवश्य पनि बल मात्र बढी र बुद्धि कम हुनेले खाने जागिर होइन । सबल सक्षम र प्रतिभाशाली सिपाहीबाट मात्र सही रुपमा राष्ट्रिय सुरक्षामा बल पुग्ने हुनाले नेपाली सेनाको संगठनमा अवश्यक पर्ने सोही प्रकृतिका सिपाहीहरु भिÏयाउनु आजको प्रमूख चुनौति बनेको छ । सैनिकको  सबलता र सक्षमता तथा सामरिक शक्तिको सांकेतिक अर्थ राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा समेत महत्वपूर्ण रहन्छ । यसले राज्यको सबलता र राष्ट्रियताको मापन गर्दछ ।

सेनामा उत्तम, सम्भावनायुक्त कलिला प्रतिभाहरुलाई आकर्षण गर्न सकारात्मक आकर्षण नीति ९उयकष्तष्खभ चभअचगष्तmभलत उयष्अिथ० अवलम्बन गरिनु पर्दछ, यस्तो प्रयास विशेष गरी अधिकृत स्तरमा बढी प्रभावकारी देखिन्छ । आम मानिसको सेना र यसको भर्ना छनोट प्रतिको धारणामा परिवर्तन ल्याउनु जरुरी देखिन्छ । यसका लागि परीक्षा प्रणालीमा निरन्तर सुधार, प्रविधिको उपयोग तथा परदर्शी छनौट प्रक्रिया (विषेश गरी शारीरिक परीक्षणमा) तथा भर्ना छनौटमा संलग्न समितिका पदाधिकारी र कर्मचारीहरुद्वारा आचार सहिंताको पूर्ण परिपालना आवश्यक पर्छ ।

संभावनायुक्त जनशक्तिहरु नेपाली सेनामा भिÏयाउन सकिए मात्र देशको सैन्य शक्ति बलियो हुने तथा नेपाली सेनाको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सक्षमता प्रदर्शित भई नेपाल र नेपाली सेनाको  मनोबल बृद्धि हुनका साथै प्रतिष्ठा समेत उचो हुने कुरामा विश्वस्त हुन सकिन्छ ।
(कर्मचारी मिलन केन्द्र, इलामकाे स्मारिका माइबेनी मा प्रकािशत )

No comments: