Thursday, January 11, 2018

गजलः सोह्रसृङ्गार गराैं अब कसको लागि ?

मन लगा सोह्रसृङ्गार गराैं अब कसको लागि ?
हृदयमा स्वागत घडा भराैं अब कसको लागि ??

प्यारो मान्छे भेट्न भन्दै गैरी खेत झर्थें सधैं ,
याद साँची गोधुलीमा झरूँ अब कसको लागि ??

साँच्चै तिमी आँउदैनाै– थाहा पाइसके पछि,
बाटोभरी फूलै फूल छरौं अब कसको लागि ??

तिमीबिना फूल पनि मुर्झाएरै बस्ने गर्छ,
मुस्कुराउँनु सुन्दर फूलहरू अब कसको लागि ??

सँगै जिउने सँगै मर्ने बाचा पनि गरेकै हो,

बाचा सम्झी जिउँदैमा मरूँ अब कसको लागि ??

२०७४/०९/२७

Thursday, January 4, 2018

गजलः वसन्तमा कोइली गाउँछ, अनि तिम्रो याद बढ्छ

वसन्तमा कोइली गाउँछ, अनि तिम्रो याद बढ्छ,
बगैचामा बहार छाउँछ, अनि तिम्रो याद बढ्छ ।।

प्रेमालाप गर्दै ढुकुर आफ्नै अघि प्रीती साट्छन्,
देख्दा त्यसै न्यास्रो लाउँछ, अनि तिम्रो याद बढ्छ ।।


तिमी छैनौ, केही गर्ने जाँगर चल्नै छोडी हाल्छ,
केही गर्ने कत्ति ठाँउ छ, अनि तिम्रो याद बढ्छ ।।

बिछोडको पीडालाई कुन शब्दले पोखौ र म ?
मलम छैनौ,  मात्रै घाउ छ, अनि तिम्रो याद बढ्छ ।।

कस्तो होला पैलो भेट एकान्तमा तिमीसँग !
अंगालोमै कस्ने दाउ छ, अनि तिम्रो याद बढ्छ ।।
2074/09/19

गजलः झिल्को लिई सारा बन डढाउनेलाई चिन साथी

झिल्को लिई सारा बन डढाउनेलाई चिन साथी
आफ्नालाई आँफैसँग लडाउनेलाई चिन साथी ।।१।।

चिन्नु र्पछ समयमै दैब हो कि राक्षस त्यो,
मित्रता कि दुष्मनी हो बढाउनेलाई चिन साथी ।।२।।

विवेकले काम गर्नु प्रतिफललाई सम्झिएर,
बुद्धि भुटी कुबुद्धिमा सडाउनेलाई चिन साथी ।।३।।

धान रोपे धानै फल्छ, कोदो रोपे फल्छ त्यही,
आफल्ने कुन ? अनि धाम चढाउनेलाई चिन साथी ।।४।।

गुरुमाथि भर पर्छ कस्तो गन्तब्यमा जाने,
शास्त्र भन्दै इन्द्रजाल पढाउनेलाई चिन साथी ।।५।।

२०७४/०८/१९