Thursday, January 4, 2018

गजलः वसन्तमा कोइली गाउँछ, अनि तिम्रो याद बढ्छ

वसन्तमा कोइली गाउँछ, अनि तिम्रो याद बढ्छ,
बगैचामा बहार छाउँछ, अनि तिम्रो याद बढ्छ ।।

प्रेमालाप गर्दै ढुकुर आफ्नै अघि प्रीती साट्छन्,
देख्दा त्यसै न्यास्रो लाउँछ, अनि तिम्रो याद बढ्छ ।।


तिमी छैनौ, केही गर्ने जाँगर चल्नै छोडी हाल्छ,
केही गर्ने कत्ति ठाँउ छ, अनि तिम्रो याद बढ्छ ।।

बिछोडको पीडालाई कुन शब्दले पोखौ र म ?
मलम छैनौ,  मात्रै घाउ छ, अनि तिम्रो याद बढ्छ ।।

कस्तो होला पैलो भेट एकान्तमा तिमीसँग !
अंगालोमै कस्ने दाउ छ, अनि तिम्रो याद बढ्छ ।।
2074/09/19

No comments: