Tuesday, February 19, 2019

गजलः हिसाब चाहिन्छ ।


यो थैली जनताको हो, हिसाब चाहिन्छ । 
के गर्यौ, कसो गर्यौ जवाफ चाहिन्छ ।



सुशासन भन्छौ, पारदर्शिता भन्छौ,
अन्याय भो सरकार ! निशाफ चाहिन्छ  ।

राम्रै गर्छौ, यहि सोची पठा’को हो तिम्लाई, 
सत्ता सम्हाल्नलाई पुरै होस हवास चाहिन्छ ।

सरकार ! किन आत्तिन्छौ जवाफ माग्दा, 
जनतासँग प्रस्तुत हुन मिजास चाहिन्छ । 

सत्तासँगै घुम्छ भन्छन् शक्ति तथा सम्पत्ति नि !
भोका जनार्दनलाई गाँस बास, कपास चाहिन्छ

रचना  मिति २०७५/११/०७ 
इलाम ।

Thursday, February 14, 2019

लघुकथाः भ्यालेनटाइन ।


उतीबेला भ्यालेन्टाइन डे हुन्छ भन्ने थाहा थिएन, प्रेममा परेपछि त्यो पनि थाहा भयो । प्रेम गर्न, प्रस्ताब राख्न तथा प्रेमको स्वीकारोक्तीका लागि कुनै दिवसको आवश्यकता नै पदैनथ्यो । प्रेमालापयुक्त सबै दिनहरु भ्यालेन्टाइन डेज हुन्थे तथापी भ्यालेन्टाइन डे त अझ स्पेशल ।


यसै प्रसंगमा मलाई प्रेमप्रस्ताब स्वरुप प्राप्त भएको प्रथप पत्रको अति नै संझना आईरहेछ । त्यसमा भएका शब्दहरु यति मिठासपूर्ण, आग्रहपुर्व, कोमल र मायालु थिए नि  ! त्यसको कुनै वर्णन नै सम्भव हुदैन । शायद मैले धेरै पटक पढेको कृति यही नै होला । तर त्यो प्रेमपत्रको मैले कुनै जवाफ दिइन । कारण प्रेम स्वीकार गर्न कुनै पत्रको आवश्यकता नै परेन । फेरि त्यति मीठा, मधुर शब्दको जवाफ त्यति नै ओजनदार हुनु पर्दथ्यो त्यो क्षमता मसँग थियो या थिएन भन्न सक्दिन । जे होस हाम्रो प्रेम बिना लिखित स्वीकारोक्ति शुरु भयो । त्यसबेला उक्त प्रेम सम्बन्धलाई सार्वजनिक रुपमा प्रकट गर्न हामी दुबैलाई साहस पुगेन ।  धेरै समय पछि उनले के बुझेर हो उक्त पत्र  मबाट फिर्ता मागेर मैले थाहा नपाउने गरी च्यातिदिइन् (तर मैले थाहा पाइ हालें)सँगै मेरो मन पनि ।  त्यसपछि  पनि उनले प्रेम नै गरिरहेको नाटकीय मल्हम गरिरहिन् र मैले पनि त्यसैमा चित्त बुझाइदिएँ । यसरी हामी करीब सात वर्ष गुज्रियौ ।  सात वर्ष पछि मैले नै हाम्रो पवित्र प्रेम सम्बन्ध समाप्त भएको घोषणा गरिदिएँ । त्ये कुनै प्रेम थिएन थियो त केबल आकर्षण । सायद उनको मनको चाहना नै बुझेर मैले त्यसो गरें भन्ने लाग्छ ।

त्यसपछि मैले बिना कुनै प्रेम÷ प्रेमप्रस्ताब बिवाह गरें र बिबाह गरेकी कन्यासँग प्रेम गर्न लागें । त्यसो गर्दा पनि कुनै विशेष दिवस आवश्यकता परेन । । प्रेमालापयुक्त सबै दिनहरु भ्यालेन्टाइन डेज हुन्थे, हुन्छन् र हुनेछन्  । पछिल्लो प्रेममा कुनै पत्र आदान प्रदान भएन र कुनै नाटकीय मल्हम पनि चाहिएन । अहिले आएर लाग्न थालेको छ पहिलेको प्रेम भ्यालेन्टाइन स्पेशल लब रहेछ र अहिलेको प्रेम स्पेशल लब अफ अल टाइम ।
- १४  फेब्रुअरी २०१९

Thursday, February 7, 2019

गजलः सुस्तरी आऊ कान्छी


धड्कन कसैले सुन्ला, सुस्तरी आऊ कान्छी
देखेर कस्तो ठान्ला, सुस्तरी आऊ कान्छी ।।

जुनी भरी तिम्रो निश्वास सुन्नलाई मञ्जुर छ,
सँगै जीवन बिताउला, सुस्तरी आऊ कान्छी ।।

आतुर छौ आफैलाई मभित्र नै लुकाउन ।  
म बाहु फैलाइरहुला, सुस्तरी आऊ कान्छी ।।

थाहा छैन अधर तिम्रो मोहनी कि मधुपर्क,
त्यो अधर पान गरौला, सुस्तरी आऊ कान्छी ।।

दुनियाले जेजे सोचोस् केको मतलब छ र यहाँ
दुई मुटु एकै बनाउला, सुस्तरी आऊ कान्छी ।।

रचना मिति २०७५/१०/२२