Friday, March 26, 2021

गजलः आफ्नै माया...


 

आफ्नै माया सस्तो भयो के गर्नु साराका कुरा

को हो आफ्नो पराया को कहाँ प्याराका कुरा

 

भनिएका मीठा मीठा बातहरु कहाँ गए   

राजनीति थिए कि  त थिए ती  नाराका कुरा

 

तिमी आँफै झिलमिलाउथ्यौ मेरो आँखा वरिपरी

दिपावली  किन गर्नु  ? किन जुनताराका कुरा ??

 

मनको धनी भए हुन्थ्यो, किन धन चाहियो र ?

सुनेकै हो  देश हाँक्ने त्यो सर्वहाराका कुरा ।

 

शान्ति खोज्न जाँउ भन्छ सँधै सँधै शान्तप्रिय ,

चिनौं आफ्नो मातृभूमि गरौं  धराका कुरा ।।

२०७७/१२/१२

Sunday, March 7, 2021

गीतः उही बाटो उही माटो ....

 

उही बाटो उही माटो अभिमानी  मुर्ति हो यो

आफ्नो औकात् बिर्सिएर मौलाएको फुर्ति हो यो  

*********

चार दिनको मात्र देख्छु जिन्दगानी हाम्रो यहाँ ।

रहदैन सँधै सँधै नौजवानी  राम्रो यहाँ ।

पुरुषार्थ  अमर बन्छ जीवन राम्रो छ सादगी।

कुनै दिन खरानीमा मिलिदिन्छ यो जीन्दगी ।

खुबै राम्रो गहनामा खेर गाको जर्ति हो यो ।

उही माटो उही बाटो अभिमानी  मुर्ति हो यो ।

***********

सुख हुँदा सबै वर, दुःख हुँदा  गए कहाँ ?

न छन पर, न छन् वर, देखिएका जस्तै यहाँ ।

सबै देख्छु  हैरानीले थिचिएर बेहोस भै,

अभिमानको बादलले ढाकिएर खोक्रिएझैं ।

नबुझ्नेलाई गालि हुन्छ नबुझ्नेलाई अर्ति हो यो

उही माटो उही बाटो अभिमानी मुर्ति हो यो ।

***********

किन कोही मानिसको भलाईमा  रुचि छैन

किन होला एउटाको खुसीमा ऊ खुसी छैन

ऊ ठान्दैन पाहुना हुँ  अवतारी देउता जस्तो  

मान्दैन ऊ जीवन मरण सत्य यही एउटा जस्तो ।

जाँदा एक्लै रित्तै जान्छ दुई दिनको प्रिति हो यो

उही बाटी उही माटो  अभिमानी मुर्ति हो यो

************

आफ्नो औकात बिर्सिएर मौलाएको फुर्ति हो यो ।।

उही बाटी उही माटो  अभिमानी मुर्ति हो यो ।।