Saturday, December 31, 2016

लाेक सेवा अायोगकाे परीक्षा तयारी गर्दै हुनुहुन्छ ?


नेपालको रोजगार बजारमा सरकारी क्षेत्र, स्थानीय निकाय, संस्थान तथा फौजी क्षेत्रको ठूलो स्थान रहेको छ । नीजि क्षेत्रले राम्रो गति लिन नसकेको हाम्रो जस्तो मुलूकमा सो क्षेत्रमा रोजारको अवसर निकै नै कम छ । हाम्रो लागि नीजि क्षेत्र भन्नु नै बैदेशिक रोजगारी हो । स्वरोजगार र उद्यमशीलताको गति समेत धिमा रहेको अवस्थामा सरकारी क्षेत्र र संस्थान लगायतमा रोजगारीको आकर्षण बढ्नु स्वभाविक नै हो । फेरि यी क्षेत्रमा प्रवेशका लागि लिखित परीक्षाको सम्पूर्ण व्यवस्थापन र सञ्चालन  तथा नतिजा तयारी समेतको कार्यहरु लोक सेवा आयोगको क्षेत्राधिकार भित्र  संबैधानिक रुपमा नै आइसकेको सन्दर्भमा कुनै पनि प्रतियोगितात्मक परीक्षामा खरो उत्रनका लागि  उम्मेदवारहरुलाई  मेहेनत गर्नु अनिवार्य छ । बिना प्रतिस्पर्धा सेवा प्रवेश — अब सम्भव छैन । 
हालै मात्र लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरहका विभिन्न अप्राविधिक पदहरुमा ठूलो संख्यामा विज्ञापन खुलाएको छ । आयोगको वार्षिक कार्यतालिका अनुसार ना. सु र खरिदारको पनि विज्ञापन खुल्ने निश्चित छ । विभिन्न स्थानीय निकायहरुले विभिन्न पदहरुका लागि विज्ञापन गरिरहन्छन् । उता बाणिज्य बैंकको विभिन्न तहका लागि परीक्षा मिति तय भैसकेको छ । यस्तो परिप्रेक्ष्यमा यी विभिन्न परीक्षाका उम्मेदवारहरुलाई दृष्टीगत गरी परीक्षा तयारी कसरी गर्ने भन्ने सन्दर्भमा केही सुझाव यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ । आशा छ सम्पूर्ण विद्यार्थी वर्गलाई यसले फाइदा पुर्याउने छ ।
परीक्षाको तयारी गर्दा रुटिन बनाएर पढ्ने र अभ्यास गर्ने गर्नु पर्छ । प्रत्येक विषय र च्याप्टर समेतका लागि अलग अलग समय छुट्याउन सकिन्छ । बिहानको समयमा अरु उठ्नु भन्दा अघि नै हामी संग ३, ४ घण्टा समय हुन्छ । पढाई शान्त बातावरणमा गर्नु आवश्यक छ । अभ्यास गर्दा विषयबस्तुमा पुरै केन्द्रित भएर मात्र गर्नुपर्छ । हातमा पुस्तक — मनमा दशथोक राखेर अध्ययन अघि बढ्दैन । तनाब व्यवस्थापन पनि सफल अध्ययनको महत्वपूर्ण पक्ष हो । दैनिक रुपमा पढेको कुराहरुलाई सुत्ने बेलामा एकपटक मनमनै सम्झने कोशिश गर्नुपर्छ । आफ्नो काम र पढाईलाई उचित समय व्यवस्थापनद्वारा सँगसँगै लैजान सकिन्छ ।
पढ्ने विद्यार्थीहरुका लागि निन्द्रा र विश्राम ज्यादै महत्वपूर्ण मानिन्छ ।  सुत्दा आरामदायी तरिकाले सुत्ने । निद्रा राम्ररी पुर्याएर मात्र पढ्न थाल्ने गर्नु पर्छ ।  हातमुख धुने, दारी काट्ने, सफा पोशाक लगाउने जस्ता व्यक्तिगत सरसफाईका कुरामा हेलचेक्राई गर्नु हुदैन । कसै कसैले पढ्दा दारी काट्न नभ्याएको सम्म कुरा गर्छन त्यो आफ्नो अल्छिपनालाई छोप्ने असफल प्रयास मात्र हो । पढ्ने क्रममा निन्द्रा लाग्नुको अर्थ हुन्छ— शरीरमा थकान छ, आलश्यता छ, निन्द्रा राम्रो पुगेको छैन वा पढाइमा रुचि नै छैन । तपाईंलाई पढाईमा  भित्रैबाट रुचि नभएको भए त समय किन खेर फाल्ने, अन्य कार्यमा लाग्दा भैहाल्छ ।
विद्यार्थीको खानेकुरा हलुका र मसला नभएको हुनु पर्छ । पानी प्रशस्त पिउनु पर्छ । फलफूल तथा पौष्टिक खानामा जोड दिनु पर्छ । मदिराजन्य, मसलेदार, मासु र तारेको खानाले उत्तेजना बढाउने, निन्द्रा लगाउने र शरीरलाई छिटै थकाउने गर्छ । यस्तो खाना खानेले सफलताको आशा नगरेकै राम्रो ।
प्रत्येक विषयका लागि अलग अलग नोट गर्ने गरी आफ्नो अभ्यासलाई व्यवस्थित गर्न सकिन्छ । नोट गर्दा सटिक र आफ्नो शब्दमा मौलिक हिसबले गर्नु पर्छ । पढाई र लेखाईलाई सँगसगै लैजानु पर्छ । शूरुमा बुँदा टिपोटमा सिमित रहेको लेखाईलाई एक पटक सम्पूर्ण कोर्षको अध्ययन पश्चात नमूना प्रश्नबाट उत्तर लेख्ने अभ्यास सम्म पुर्याउनु पर्दछ । 
उत्तर लेख्ने अभ्यास गर्दा समयको व्यवस्थापनलाई सँगसगै लैजानु पर्छ । जस्तै — १०० पुर्णांकलाई २ घण्टा र ३० मिनेट परीक्षा समय हुन्छ भने १० अंकको उत्तर १५ मिनेटमा सक्ने गरी अभ्यास गर्नु पर्छ । जसरी नाटक खेल्नु भन्दा अघि रिहर्सलको आवश्यकता पर्छ त्यसै गरी परीक्षामा जानु पुर्व  घरैमा पुर्वाभ्यासको जरुरत पर्दछ ।  परीक्षामा तीन घण्टाको अवधी विताउन घरमा कम्तिमा ३० घण्टा अभ्यास गर्नु पर्छ । परीक्षामा आएको प्रश्न हेरेर उत्तर सम्झदै लेख्दै गर्दा सफल हुन गाह्रो हुन्छ । प्रश्न देख्दैमा उत्तरको आकृति दिमागमा आए मात्र राम्रो नतिजा हात पर्छ । 
सामूहिक र व्यक्तिगत दुवै रुपमा अध्ययन गर्नु उपयुक्त हुन्छ । नमूना प्रश्नबाट आफूले तयार गरेको उत्तर समय भित्र छ छैन भनेर जाँच्ने आफैले हो । विषयवतुको पर्याप्तता, उपयुक्तता, उदाहरणको सान्दर्भिकता जस्ता कुराहरु मिले नमिलेको सम्बन्धमा शुरु शुरुमा आफू भन्दा अग्रज, सम्बन्धित सेवामा पहिला उत्तीर्ण भएका उम्मेदवारहरु वा सो भन्दा माथिल्लो पदमा रहेका कर्मचारीहरु जो आफूलाई सहज प्राप्त हुन्छ उसलाई देखाएर पृष्ठपोषण लिने गर्नु पर्छ ।  अभ्यास बढ्दै गएमा उत्तरको गहनता बारेमा आफैलाई पनि अनुभव हुँदै जान्छ । आफ्नो उत्तर आफै जाँच्ने स्वमुल्यांकन पद्धति अपनाएर प्रत्येक पटकको अभ्यासबाट आफूलाई परिस्कृत गर्दै जानु पर्छ ।
एउटा विषयबस्तुमा ध्यान केन्द्रित हुन सकेन वा बुझिएन भने तुरुन्तै अर्को विषयबस्तुमा जानु पर्छ । नबुझेको कुरा अर्को पुस्तकद्वारा, साथीभाइसँगको छलफलबाट वा पुन पठनबाट प्रष्ट हुन सकिन्छ । समय समयमा एकपटक पढेका विषयहरुलाई रिभिजन गर्दै गर्नु उपयुक्त हुन्छ । 
पढ्नु भनेको किताबको कीरो हुनु पनि होइन ।  समसामयिक घटानहरुसंग अपडेट रहनु पनि पढ्नु नै हो । रेडियो तथा पत्र पत्रिकाको माध्यमबाट हासिल गर्न सकिने ज्ञान भनेको समसामयिक घटनाक्रमहरु, समसामयिक ज्वलन्त मुद्धाहरु हुन । यसको क्षेत्र अत्यन्त व्यापक छ । परीक्षाको तयारी गर्ने व्यक्तिले अनिवार्य रेडियोको समाचार सुन्ने र आफूलाई महत्वपूर्ण लागेको विषयवस्तु टिपोट गर्ने गर्नु पर्छ । रेडियो, पत्रपत्रिका वा पुस्तकको छनौट गर्दा त्यसको आधिकारिकता बारे ध्यान दिनु पर्छ । जस्तै ¬रेडियो नेपाल, गोरखापत्र सरकारको मुखपत्र जस्तै हुन्  यसमा प्रसारित÷प्रकाशित सामग्रीहरु आधिकारिक हुन्छन् । पुस्तक र पत्रपत्रिकाहरु पनि त्यसैगरी छनौट गर्नु पर्छ । 
बुँदा टिपोट गर्दा वा याद गर्दा रमाइला सुत्र बनाउन पनि सकिन्छ ।  धेरै पुस्तक भेला पार्दैमा धेरै पढिदैन । पढ्दा एउटा मात्र पुस्तकलाई मूख्य आधार बनाउनुहोस् । पाठ्यक्रमकमा भएका सबै विषयबस्तुहरुलाई उत्तिकै महत्व दिनुहोस् । तुलनात्मक अध्ययनका लागि कम्तिमा दुईवटा र बढीमा चारवटा भन्दा कुनै पनि एक विषयको पुस्तक पढ्न आवश्यक छैन । त्यसो त कति वटा पुस्तक भन्ने कुरा कति समय भित्रको तयारी हो भन्नेमा भर पर्छ ।  परीक्षाको तयारी गर्न रुटिन आएपछि वा फाराम भरे पछि पढ्ने भन्ने कुरा गलत छ । निरन्तरता नै सफलताको सुत्र हो । 
लोक सेवा आयोगको तयारी गर्ने व्यक्तिले फेल हुँदा लाज लाग्छ भनेर सोच्नु हुदैन । फेल हुँदा अर्को पटकमा अवश्य पास गरिन्छ भनेर आत्मबल दह्रो बनाउनु पर्छ । आयोगको परीक्षा तयारीको क्रममा फेल हुँदा आफन्तले, साथी भाइले र अन्यले गीत गाउन सक्छन् , म त्यो सहन वा वेवास्ता गर्न सक्छु भनेर अठोट गरेर पढ्न शुरु गर्ने हो । 
लोक सेवा आयोगको परीक्षामा सामान्यतया सादा (लाइन नभएको) उत्तरपुस्तिकामा लेख्नु पर्ने हुन्छ । त्यसो हुनाले घरमा अभ्यास गर्दा पनि सोही किसिमको कापीमा अभ्यास गर्नु पर्छ । उत्तर पुस्तिकामा मार्जिन छोड्ने, कालो मसी प्रयोग गर्ने, प्रश्न नंं. प्रष्ट रुपमा लेख्ने, प्रश्नपत्रको की लेख्ने जस्ता समान्य कार्यहरु गर्न विर्सनुहुँदैन ।
परीक्षामा उत्तर लेख्दा सरल वाक्यबाट शुरु गर्नु पर्छ । लेखन मौलिक हुनु पर्छ । शुद्धतालाई ख्याल राख्नु पर्छ । यसरी लेख्नु पर्छ, मानौं जाँचकीले उत्तर जानेको छैन— उसलाई आफ्नो लेखन कै भरमा सोधिएको सम्पूर्ण विषयबस्तु प्रष्ट पारिदैछ । लेखनमा विषयवस्तुको सामान्य परिचय देखि आवश्यकता अनुसार तुुलनात्मकता, चित्रात्मक  प्रस्तुती, बँुदागतता र संक्षिप्तता, विश्लेषणत्मकता र निश्कर्ष आदिलाई  ख्याल गरिनु पर्छ । उत्तर सिलसिलेवार र मिठासपूर्ण रुपमा लेख्नु पर्छ । भनिन्छ — उत्तर जाँचकीका लागि शुरुमा पढौं पढौ लाग्ने र अन्त्यमा नम्बर दिऔ दिऔ लाग्ने हुुनु पर्छ । उत्तर दमदार चोटिलो र जाँचकीलाई प्रभावित गर्न सक्ने हुनु पर्छ । 
उत्तर लेख्न शुरुवात गर्दा प्रश्न राम्ररी बुझेर र एकै प्रश्नका कतिवटा भाग छन् सो समेत पहिचान गरेर शुरु गर्नु पर्छ । कतिपय प्रश्नमा दुई वा तीन वटा भागमा प्रश्न सोधिएको हुन्छ । प्रत्येक भागको लागि बेग्ला बेग्लै शीर्षक बनाएर लेख्दा प्रस्तुतीकरण राम्रो र सरल बन्छ । लेखनमा बहकाउ आएमा सम्झनुहोस् — अरुले उछिन्दैछ । प्रश्नले सोधेको नलेखी आफूले जानेको मात्र लेख्नाले नै फेल भइने हो । 
सोचाई, पढाई, लेखाई सबैमा सकारात्मता ल्याउनुहोस् । बादलमा चाँदीको घेरा हुन्छ भने झंै जस्तै नकारात्मक मानिएको विषयमा पनि सकारात्मता रहेको हुन्छ । सकारात्मकता तपाईंको लेखनमा पनि आवश्यक पर्छ । नकारात्मक मनोवृत्ति भएका उम्मेदवारहरु परीक्षामा सफल हुदैनन् । कुनै कुराको आलोचना नै गर्दा पनि शुरुवात सकारात्मक कुराबाट गर्ने, बीचमा नराम्रा पक्षहरु राख्ने र अन्त्यमा फेरि ‘यसो भएको भए वा गर्न सकिएको भए यसको नकारात्मकता हटाउन सकिन्छ’ भनेर सकारात्मक कुरा को नै संकेत गर्ने गर्नु पर्छ ।
अन्तरवार्ता पनि परीक्षाकै महत्वपूर्ण पाटो हो । अन्तरवार्ताले व्यक्तिको पारिवारिक, समाजिक र आर्थिक अवस्था, आन्तरिक  सोच, विषयवस्तु प्रतिको प्रष्टता, दृष्टीकोण, समाजिक व्यवहार, मनोविज्ञान, व्यक्तित्व, प्रवृत्ति तथा संवेगको परीक्षण गर्दछ । यसो हुनाले अन्तरवार्तामा आफूलाई सकेसम्म जस्ताको तस्तै स्वाभाविक रुपमा प्रस्तुत गर्नु पर्छ । कृतिमता थप्ने, आफूले प्रयोग गर्ने नगरिएका सम्मानार्थी शब्दको प्रयोग गर्ने, आफ्नो स्वाभाव भन्दा बढी औैपचारिक र शिष्ट हुन खोज्दा  आफ्नो व्यक्तित्व झल्कदैन । अन्तरवार्तालाई ज्यादै  न्यून आँकलन गरेर केही नपढीकन वा मानसिक रुपपमा तयार नभई जाँदा र  यसलाई धेरै डर र तनाबको रुपमा लिंदा, दुवै अवस्थामा तपाईको अन्तरवार्ता विग्रन सक्छ । अन्तरवार्तामा आफूलाई आफ्नै रुपमा चिनाउनुहोस् । स्वाभाविक शिष्टाचारबाट आफ्नो परिचय दिन शुरु गर्नुहोस् । परिचयकै क्रममा आफ्नो रुची र सबल ज्ञानको क्षेत्र तथा अनुभवको क्षेत्र बताउनु भयो भने त्यसैको वरिपरी रहेर तपार्इंको अन्तरवार्ता सकिन्छ । नजानेको विषयवस्तु शिष्ट रुपमा जानिन भन्नुहोेस् । नहडबडाउनुहोस । ज्यादै सानो वा ज्यादै ठूलो स्वरमा नबोल्नुहोस् । अन्त्यमा शिष्टता पुर्वक विदा मागेर जानुहोस् । त्यति भएमा तपाईको अन्तरवार्ता सहज रुपमा सकिन्छ । 
अन्त्यमा 
सबैका आ आफ्ना पढ्ने तरिका हुन्छन् । शैली हुन्छन्  । कसैलाई एक चोटी पढ्दा आइहाल्छ भने कसैले पटक पटक  वा घोक्नै पर्ने हुन्छ । आफ्नो बानी, स्वभाव, शरीरको प्रकृति, बौद्धिक क्षमता र अनुभवलाई समेत मध्यनजर राख्दै परीक्षाको तयारी गर्नु अनिवार्य छ । जे होस् लोक सेवाको परीक्षा कुनै ट्यालेन्टले मात्र पास गर्ने वा मन्दले फेल गर्ने भन्ने हुदैन । सबैको आफू भित्र अन्तरनिहित रुपमा प्रतिभा, क्षमता रहेको हुन्छ । त्यसलाई उजागर गरी परीक्षामा सक्षम सावित गरिदिए सरकारी जागिर निश्चित छ । सफलताको लागि आवश्यक पर्ने अकाट्य कुराहरु भनेको मेहेनत, लगनशीलता, निरन्तरता, इमान्दारिता, धैर्यता र दृढ इच्छा शक्ति हुन् । यी कुराहरु आफूभित्र छन् भने सफल हुने पक्का छ । सबै उम्मेदवारहरुलाई सफलताको र सेवाप्रवेशको लागि शुभकामना ।
प्रतिकृयाको लागिः janardan.kattel@gmail.com

लाेक सेवा अायाेगकाे नतिजा र मेची अञ्चल


खरिदार वा सो सरहको पदको लिखित परीक्षा नतिजा प्रकाशन हुँदा इलामका विद्यार्थीहरु साच्चै नै खिन्न भए । लोक सेवा आयोगको कर्मचारीको हैसियतले नतिजा सम्वेदनशीलताले नछुने भए पनि इलामेली हुनुको नाताले मलाई शायद त्यो भन्दा बढी खिन्न बनायो । शायद म आँफैले कति ठाँउमा यो खिन्नताको प्रकट विभिन्न तरिकाले गरे हँुला । जस्तै — लोकसेवाले खरिदारको पाठ्यक्रम बनाउँदा नै कमजोरी गर्यो, वा यसपाली परीक्षकले केही अन्यायपूर्ण तरिकाले नै उत्तरपुस्तिका जाँच गरे । आदि आदि । तर यसरी आलोचना गर्नुको  पनि कुनै अर्थ थिएन । यो त केबल खिन्नताको प्रकटीकरण मात्र थियो । किनकी पाठ्यक्रम देश भरीको यही हो, हाम्रो लागि मात्र यो पाठ्यक्रम अवश्य बनेको होइन । फेरि कूल चौध मध्ये अन्य तेह्र ठाँउको विज्ञापनमा सबै तिर सबै समूहमा पदपुर्ति हुने गरी नै नतिजा प्रकाशन भएको छ  । हाम्रो मात्र यो हालत छ । अर्थात लिखित नतिजाबाट नै महिला, आदिबासी जनजाती, दलित समूहमा पर्याप्त संख्यामा सिफारिस नहुने देखिइसकेको छ । अन्तरवार्ताको क्रममा उम्मेदवारहरुको उपस्थितिले अझै थप समूह वा खुलामा समेत पदपुर्ति नहुने संकेत दिइरहेको छ । 

किन यस्तो भयो यसको केही विश्लेषण गर्न आवश्यक ठानेकाले यहाँ केही विचारहरु राख्ने जमर्को गरिएको छ । त्यसो त लोक सेवा आयोग मेची अञ्चल कार्यालय, इलामले प्राविधिक तथा अप्राविधिक खरिदार वा सो सरहको  विज्ञापन गर्छ र उक्त पदमा सिफारिस समेत गर्दछ । यो लेखमा अप्राविधिक खरिदार परदमा मात्र केन्द्रित भएर केही विवेचना गर्न खोजिएको छ । 

अप्राविधिक खरिदार वा सो सरहको पाठ्यक्रममा मूख्य गरी तीन पत्र छन् । पहिलो पत्रमा पूर्णांक १०० को  सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण राखिएको छ । जुन पत्रमा उम्मेदवारहरुले न्यूनतम अंक ४० प्राप्त गरे मात्र अर्को चरणको परीक्षामा सहभागी हुन पाउने पछिल्लो व्यवस्था रहेको छ । दोस्रो चरणको दोस्रो र तेस्रो पत्रमा क्रमशः विज्ञान र गणित (पुर्णांक १००) र समाजिक अध्ययन तथा कार्यालय सञ्चालन (पूर्णांक १००) विषयहरु रहेका छन् । पहिलो र दोस्रो चरणको परीक्षाको कूल प्राप्तांकको आधारमा योग्यताक्रम तयार हुन्छ र  माग पदसंख्याको करिब एक तृतीयांश बढी संख्यामा उम्मेदवारहरु कम्प्युटर सीप परीक्षण तथा अन्तरवार्ताका लागि छनौट हुन्छन् । यो पाठ्यक्रम संयुक्त  तथा एकीकृत परीक्षा प्रणालीमा आधारित छ । यसबाट सिफरिस भएका उम्मेदवारहरु कार्यालयहरुको मागको आधारमा न्याय सेवाको न्याय र सरकारी वकील समूहमा तथा प्रशासन समूहको समान्य प्रशासन र लेखा समूहमा जान सक्छन् । निजामति सेवाको सानो पद नै भए पनि निजामति सेवाका गतिशलि कर्मचारीहरुको प्रवेश विन्दु भएकोले कुन शैक्षिक, बौैद्धिक स्तर र क्षमताका उम्मेदवारहरुले सेवा प्रवेश गरे भन्ने कुराले ज्यादै ठूलो महत्व राख्दछ । 
के हामी कमजोर छौ त ? 
आयोगको मेची अञ्चल कार्यालयमा संकलन भएका मागहरुलाई मेची अञ्चल कार्यालयले विज्ञापन गर्ने गर्छ । तर उम्मेदवारहरुको हकमा देशभरिका उम्मेदवारहरुलाई यहाँ आई परीक्षामा समावेश हुन पाउने स्वतन्त्रता छदैछ । त्यसैले यहाँ कम्तिमा पनि पचास प्रतिशत उम्मेदवारहरु मेची अञ्चल बाहिरबाट आई सहभागी हुन्छन् । यसपटक खरिदारको कूल ३८  खुला तथा समावेशी पदका लागि ४३ जना उम्मेदवार छनौट भएकोमा ताप्लेजुंगबाट  २ जना, पाँचथरबाट १ जना, इलामबाट १० जना र झापाबाट ५  जना  र बाँकी सबै अन्य जिल्लाबाट अन्तरवार्तामा सहभागि हुनुले पनि समग्र मेची अञ्चलको परीक्षा प्रतिस्पर्धामा कमजोर पकड देखाउँछ । लिखित नतिजाको खिन्नतालाई इलामको उत्तीर्ण संख्याले केही मलहम लगाएको भए पनि यो हाम्रो लागि सन्तुष्टी दिने आँकडा होइन । 
हामीलाई हाम्रो यस वर्षको नतिजाले त साँच्चै  नै कमजोर सावित गरिसक्यो । तर एक वर्षको मात्र नतिजालाई आधार मानेर निष्कर्षमा पुग्न सकिदैन । यति हुँदा हुदै पनि केही वास्तविकताहरु 
हेरौ —
गणित र विज्ञान केन्द्रित पाठ्यक्रमले पक्कै पनि विज्ञान वा गणित विषयमा अब्बल उम्मेदवारहरुलाई सहज हुन्छ । तर हाम्रो विडम्बना मेची अञ्चलमा कक्षा ११ र १२ मा विज्ञान पढाइ हुने विद्यालयहरु साह्रै थोरै त्यसमा पनि पहाडी तीन वटा जिल्लामा छदै छैन भने पनि हुन्छ ।  
लोक सेवा आयोगले यो पाठ्यक्रम तयार गर्दा कक्षा ११ र १२ मा विज्ञान र गणित पढ्ने छात्र छात्राहरुलाई आकर्षित गर्ने उद्धेश्य राखेको देखिन्छ । तर व्यवाहारिकतामा कहिल्यै त्यसो भएन । पाठ्यक्रम लागु भएको ५ वर्षको अनुभव हेर्ने हो भने विद्यालयमा विज्ञान वा गणित अध्यापन गराउने शिक्षकहरु धेरैलाई लोक सेवाले निजामती कर्मचारी बनाइसक्यो । हाम्रो सन्दर्भमा पनि ठ्याक्कै त्यही लागु हुन्छ । अन्तरवार्तामा आउने ८० प्रतिशत उम्मेदवारहरु विज्ञान र गणितका शिक्षकहरु छन् । अझ केही त स्थायी शिक्षकहरु समेत । लिखित परीक्षामा सम्मिलित हुने अधिकांश उम्मेदवारहरुको उमेर र शैक्षिक योग्यता विचार गर्दा  कक्षा ११ वा १२ पढ्ने उम्मेदवार ५ प्रतिशत पनि छैनन् ।  पढाई सिध्याएका, परिपक्व र  कुनै जागिरलाई टेक्ने विन्दु बनाएर निजामती सेवामा छिर्न आतुर उम्मेदवारहरु नै लोक सेवाको उम्मेदवार बजार हो । 
आयोगको मेची अञ्चल कार्यालयबाट झापा स्थित केही नगरपालिकाहरुमा पदपुर्ति गर्दा हासिल गरेको अनुभव, परीक्षामा झापालीहरुले देखाएको प्रतिस्पर्धात्मकता,  ना. सु , शाखा अधिकृत तथा अन्य पदमा भएको झापाको उपस्थिति र खरिदार सरहकै विभिन्न पदमा यस कार्यालयबाट गरिएको सिफारिस संख्यालाई हेर्दा पहाडका तीन जिल्ला भन्दा झापा केही उर्वर देखिन्छ । यस पटक झापामा परीक्षा उपकेन्द्र नराखिएकोले (विगतमा वर्षहरुमा राख्ने गरिएको) पनि झापालीहरुलाई केही अन्याय भएको हो कि भन्ने  लाग्छ । फेरि तयारी पूरा गरेका उम्मेदवारहरु त इलाम आएर जाँच दिन पनि त सक्छन, जस्तो कि— खाने मुखलाई जुँगाले छेक्दैन । 
विश्वव्यापीकरण र फैलदो श्रमबजारलाई पनि हाम्रो कमजोरीको अपजस लगाउन सकिन्छ । दुई महिना लोक सेवाका लागि मेहेनत गर्नु भन्दा दुई महिना कोरियन भाषामा मेहेनत गर्दा फाइदा देख्ने जमात पनि हामी कहाँ नभएको होइन । 
उत्तरपुस्तिका परीक्षण गर्ने दक्षहरु हामी प्रति असंबेदनशील भएको भन्ने हो भने तिनै दक्षहरुले अन्यत्रको उत्तर पुस्तिका परीक्षण गर्दा अन्यत्र राम्रै नतिजा आयो । कोडिङ गरिएको उत्तर पुस्तिका कुन अञ्चलको विज्ञापनको हो दक्षलाई थाहा हुने कुरा पनि भएन । अनि कसरी उनीहरु हामी प्रति असंवेदनशील बने त ? यसरी हेर्दा दक्षहरुपनि अपजसका पात्र होइनन् ।
कसै कसैले हाम्रो सजिलो खेति प्रणाली, नगदे बाली र हाम्रो आफ्नै आत्मनिर्भरतालाई लोक सेवाको अनाकर्षणको अपजस दिने गरेको समेत पाइन्छ । यदि त्यसो हो भने यसमा कुनै आपत्ति मान्नु हुदैन । 
अब के गर्ने त ? 
एउटा यथार्थ, विद्यालय र कलेजका उम्दा विद्यार्थीहरुलाई हामीले आकर्षण गर्न नसकेकै हो । हामी कहाँ नकारात्मक भर्ना नीति मात्र छ । सकारात्मक भर्ना नीति अवलम्बन गर्ने हो भने कलेजमा नै आयोगकोे परीक्षा प्रणाली र निजामति सेवाको बैैशिष्यताको चर्चा गरेर धेरै राम्रा उम्ेदवारहरुलाई अकर्षण गर्न सकिन्छ । हामीले विद्यालय र कलेजमा भएका क्रिम विद्यार्थीहरुलाई लोक सेवाकोे परीक्षा हल सम्म ल्याउन पहल गरेकै छैनौ । 
जो बिद्यार्थी आयोगको विज्ञापनको लागि फाराम भर्छ, उसले पनि सुधार गर्न सक्ने धरै ठाउँ छन् । जस्तो कि  — पढाइमा निरन्तरता दिने, एकै पटकको असफलताबाट हरेस खाई नभाग्ने, पढाइसँगै लेखन सीप बढाउदै लैजाने, समसामयिक घटनाहरु प्रति चासो राख्ने, नोट गर्ने, अग्रजहरुसँग पृष्ठपोषण लिने, पाठ्यक्रममा केन्द्रित भएर कम्तिमा दुई वा सो भन्दा बढी पुस्तकबाट तयारी गर्ने, आँफै नमूना प्रश्नपत्र बनाई त्यसको उत्तर लेख्ने आदि । लोक सेवा आयोगको परीक्षामा प्रतिश्पर्धा हुन्छ  । यो अवश्य हो । तर उक्त प्रतिश्पर्धा अरुसँग नभई आफू स्वयंसँग हो । उम्मेदवारले आफ्नो क्षमता बढाई न्यूनतम ज्ञान, सीप र क्षमता हासिल नगरे सम्म कोरा जनशक्तिलाई लोक सेवा आयोगले कुनै पनि हालतमा निजामति सेवामा भिÏयाउदैन । यति कुरा उम्मेदवारहरु— जसले फारम भर्छन र मेहेनत गर्दैनन्, उनीहरुले मनन गर्नै पर्छ । 
पाठ्यक्रममा निरन्तर सुधार र समसामयिकीकरण हुदै जान्छ र हुनु पर्छ । खरिदार पदमा सेवा प्रवेश गर्ने उम्मेदवारहरुको स्तर हेर्दा यो अनुपयुक्त पाठ्यक्रम हो भन्न सक्ने अवस्था छैन । बरु गैर विज्ञान र गणितका उम्मेदवारहरुलाई केही अन्याय भएको स्वीकार्न सकिन्छ । यद्यपी विज्ञान र गणित विषय कक्षा ९ र १० मा अनिवार्य छ, र पाठ्यक्रम पनि उक्त कक्षाहरुमा भएको विषयवस्तु लिई तयार पारिको देखिन्छ ।  
हामीले सुधार गर्न सक्ने अर्को ठाँउ भनेको धेरै भन्दा धेरै विद्यालयहरुमा कक्षा  ११ र १२  मा विज्ञान र गणितका विषयहरु समावेश गर्ने । उपलब्ध जनशक्तिलाई रोजगार दिने गरी शिक्षा कलेज र दश जोड २ (विगतमा) खोल्नुको सट्टा कतैबाट शिक्षक झिकाएरै भए पनि विज्ञान, गणित र व्यवस्थापनका कलेज र दश जोड दुई खोलेको भए हाम्रो यो अवस्था हुने थिएन । सम्बन्धित सबैले यो विषय विचार गरी आगामी कदम चाल्दा उपयुक्त हुने देखिन्छ । 
निश्कर्ष 
निजामती कर्मचारीको बजार हाम्रो समाज नै हो । हामीसँग छैनन् भन्दैमा लोक सेवाले अन्यत्रबाट मानिस आयात गर्दैन । उपलब्ध भए सम्मका उम्दा जनशक्ति छनौट गरी सिफारिस गर्न आयोग कटिबद्ध छ ।  व्यवस्थित र मर्यादित परीक्षा प्रणाली र निश्पक्षताको आधारमा उपयुक्त उम्मेदवार छनौट गरी निजामति सेवाका लागि  सिफारिस गर्ने भएकोले उम्मेदवारले आफ्नो उपयुक्तता प्रमाणित गर्न आयोगको परीक्षा उत्तीर्ण गर्नु पर्छ । यसका लागि आयोग स्वयम्ले आफ्नो पाठ्यक्रम, परीक्षा केन्द्र  परीक्षा प्रणाली लगायतका कमजोरीहरु पत्ता लगाई क्रमशः सुधार गर्दै जाने, सकारात्मक भर्ना नीतिको अवलम्वन गर्ने, सरकार र सम्बन्धित सरोकारबालाहरुले शिक्षा प्रणालीलाई थप मजबुत पार्दै विद्यार्थीको क्षमता विकास र सशक्तिकरणमा जोड दिने, उम्मेदवारहरु समेत आफ्नो निजामति कर्मचारी बन्ने सपनालाई साकार पार्न दत्तचित्त भई मेहेनत गर्ने बानीको विकास गर्ने हो भने पक्कै पनि अहिलेको अवस्थामा सुधार हुने आशा गर्न सकिन्छ । 
मितिः २०७३।०९।१०  प्रतिकृयाको लागिः  jannardan.kattel@gmail.com