Saturday, December 31, 2016

लाेक सेवा अायाेगकाे नतिजा र मेची अञ्चल


खरिदार वा सो सरहको पदको लिखित परीक्षा नतिजा प्रकाशन हुँदा इलामका विद्यार्थीहरु साच्चै नै खिन्न भए । लोक सेवा आयोगको कर्मचारीको हैसियतले नतिजा सम्वेदनशीलताले नछुने भए पनि इलामेली हुनुको नाताले मलाई शायद त्यो भन्दा बढी खिन्न बनायो । शायद म आँफैले कति ठाँउमा यो खिन्नताको प्रकट विभिन्न तरिकाले गरे हँुला । जस्तै — लोकसेवाले खरिदारको पाठ्यक्रम बनाउँदा नै कमजोरी गर्यो, वा यसपाली परीक्षकले केही अन्यायपूर्ण तरिकाले नै उत्तरपुस्तिका जाँच गरे । आदि आदि । तर यसरी आलोचना गर्नुको  पनि कुनै अर्थ थिएन । यो त केबल खिन्नताको प्रकटीकरण मात्र थियो । किनकी पाठ्यक्रम देश भरीको यही हो, हाम्रो लागि मात्र यो पाठ्यक्रम अवश्य बनेको होइन । फेरि कूल चौध मध्ये अन्य तेह्र ठाँउको विज्ञापनमा सबै तिर सबै समूहमा पदपुर्ति हुने गरी नै नतिजा प्रकाशन भएको छ  । हाम्रो मात्र यो हालत छ । अर्थात लिखित नतिजाबाट नै महिला, आदिबासी जनजाती, दलित समूहमा पर्याप्त संख्यामा सिफारिस नहुने देखिइसकेको छ । अन्तरवार्ताको क्रममा उम्मेदवारहरुको उपस्थितिले अझै थप समूह वा खुलामा समेत पदपुर्ति नहुने संकेत दिइरहेको छ । 

किन यस्तो भयो यसको केही विश्लेषण गर्न आवश्यक ठानेकाले यहाँ केही विचारहरु राख्ने जमर्को गरिएको छ । त्यसो त लोक सेवा आयोग मेची अञ्चल कार्यालय, इलामले प्राविधिक तथा अप्राविधिक खरिदार वा सो सरहको  विज्ञापन गर्छ र उक्त पदमा सिफारिस समेत गर्दछ । यो लेखमा अप्राविधिक खरिदार परदमा मात्र केन्द्रित भएर केही विवेचना गर्न खोजिएको छ । 

अप्राविधिक खरिदार वा सो सरहको पाठ्यक्रममा मूख्य गरी तीन पत्र छन् । पहिलो पत्रमा पूर्णांक १०० को  सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण राखिएको छ । जुन पत्रमा उम्मेदवारहरुले न्यूनतम अंक ४० प्राप्त गरे मात्र अर्को चरणको परीक्षामा सहभागी हुन पाउने पछिल्लो व्यवस्था रहेको छ । दोस्रो चरणको दोस्रो र तेस्रो पत्रमा क्रमशः विज्ञान र गणित (पुर्णांक १००) र समाजिक अध्ययन तथा कार्यालय सञ्चालन (पूर्णांक १००) विषयहरु रहेका छन् । पहिलो र दोस्रो चरणको परीक्षाको कूल प्राप्तांकको आधारमा योग्यताक्रम तयार हुन्छ र  माग पदसंख्याको करिब एक तृतीयांश बढी संख्यामा उम्मेदवारहरु कम्प्युटर सीप परीक्षण तथा अन्तरवार्ताका लागि छनौट हुन्छन् । यो पाठ्यक्रम संयुक्त  तथा एकीकृत परीक्षा प्रणालीमा आधारित छ । यसबाट सिफरिस भएका उम्मेदवारहरु कार्यालयहरुको मागको आधारमा न्याय सेवाको न्याय र सरकारी वकील समूहमा तथा प्रशासन समूहको समान्य प्रशासन र लेखा समूहमा जान सक्छन् । निजामति सेवाको सानो पद नै भए पनि निजामति सेवाका गतिशलि कर्मचारीहरुको प्रवेश विन्दु भएकोले कुन शैक्षिक, बौैद्धिक स्तर र क्षमताका उम्मेदवारहरुले सेवा प्रवेश गरे भन्ने कुराले ज्यादै ठूलो महत्व राख्दछ । 
के हामी कमजोर छौ त ? 
आयोगको मेची अञ्चल कार्यालयमा संकलन भएका मागहरुलाई मेची अञ्चल कार्यालयले विज्ञापन गर्ने गर्छ । तर उम्मेदवारहरुको हकमा देशभरिका उम्मेदवारहरुलाई यहाँ आई परीक्षामा समावेश हुन पाउने स्वतन्त्रता छदैछ । त्यसैले यहाँ कम्तिमा पनि पचास प्रतिशत उम्मेदवारहरु मेची अञ्चल बाहिरबाट आई सहभागी हुन्छन् । यसपटक खरिदारको कूल ३८  खुला तथा समावेशी पदका लागि ४३ जना उम्मेदवार छनौट भएकोमा ताप्लेजुंगबाट  २ जना, पाँचथरबाट १ जना, इलामबाट १० जना र झापाबाट ५  जना  र बाँकी सबै अन्य जिल्लाबाट अन्तरवार्तामा सहभागि हुनुले पनि समग्र मेची अञ्चलको परीक्षा प्रतिस्पर्धामा कमजोर पकड देखाउँछ । लिखित नतिजाको खिन्नतालाई इलामको उत्तीर्ण संख्याले केही मलहम लगाएको भए पनि यो हाम्रो लागि सन्तुष्टी दिने आँकडा होइन । 
हामीलाई हाम्रो यस वर्षको नतिजाले त साँच्चै  नै कमजोर सावित गरिसक्यो । तर एक वर्षको मात्र नतिजालाई आधार मानेर निष्कर्षमा पुग्न सकिदैन । यति हुँदा हुदै पनि केही वास्तविकताहरु 
हेरौ —
गणित र विज्ञान केन्द्रित पाठ्यक्रमले पक्कै पनि विज्ञान वा गणित विषयमा अब्बल उम्मेदवारहरुलाई सहज हुन्छ । तर हाम्रो विडम्बना मेची अञ्चलमा कक्षा ११ र १२ मा विज्ञान पढाइ हुने विद्यालयहरु साह्रै थोरै त्यसमा पनि पहाडी तीन वटा जिल्लामा छदै छैन भने पनि हुन्छ ।  
लोक सेवा आयोगले यो पाठ्यक्रम तयार गर्दा कक्षा ११ र १२ मा विज्ञान र गणित पढ्ने छात्र छात्राहरुलाई आकर्षित गर्ने उद्धेश्य राखेको देखिन्छ । तर व्यवाहारिकतामा कहिल्यै त्यसो भएन । पाठ्यक्रम लागु भएको ५ वर्षको अनुभव हेर्ने हो भने विद्यालयमा विज्ञान वा गणित अध्यापन गराउने शिक्षकहरु धेरैलाई लोक सेवाले निजामती कर्मचारी बनाइसक्यो । हाम्रो सन्दर्भमा पनि ठ्याक्कै त्यही लागु हुन्छ । अन्तरवार्तामा आउने ८० प्रतिशत उम्मेदवारहरु विज्ञान र गणितका शिक्षकहरु छन् । अझ केही त स्थायी शिक्षकहरु समेत । लिखित परीक्षामा सम्मिलित हुने अधिकांश उम्मेदवारहरुको उमेर र शैक्षिक योग्यता विचार गर्दा  कक्षा ११ वा १२ पढ्ने उम्मेदवार ५ प्रतिशत पनि छैनन् ।  पढाई सिध्याएका, परिपक्व र  कुनै जागिरलाई टेक्ने विन्दु बनाएर निजामती सेवामा छिर्न आतुर उम्मेदवारहरु नै लोक सेवाको उम्मेदवार बजार हो । 
आयोगको मेची अञ्चल कार्यालयबाट झापा स्थित केही नगरपालिकाहरुमा पदपुर्ति गर्दा हासिल गरेको अनुभव, परीक्षामा झापालीहरुले देखाएको प्रतिस्पर्धात्मकता,  ना. सु , शाखा अधिकृत तथा अन्य पदमा भएको झापाको उपस्थिति र खरिदार सरहकै विभिन्न पदमा यस कार्यालयबाट गरिएको सिफारिस संख्यालाई हेर्दा पहाडका तीन जिल्ला भन्दा झापा केही उर्वर देखिन्छ । यस पटक झापामा परीक्षा उपकेन्द्र नराखिएकोले (विगतमा वर्षहरुमा राख्ने गरिएको) पनि झापालीहरुलाई केही अन्याय भएको हो कि भन्ने  लाग्छ । फेरि तयारी पूरा गरेका उम्मेदवारहरु त इलाम आएर जाँच दिन पनि त सक्छन, जस्तो कि— खाने मुखलाई जुँगाले छेक्दैन । 
विश्वव्यापीकरण र फैलदो श्रमबजारलाई पनि हाम्रो कमजोरीको अपजस लगाउन सकिन्छ । दुई महिना लोक सेवाका लागि मेहेनत गर्नु भन्दा दुई महिना कोरियन भाषामा मेहेनत गर्दा फाइदा देख्ने जमात पनि हामी कहाँ नभएको होइन । 
उत्तरपुस्तिका परीक्षण गर्ने दक्षहरु हामी प्रति असंबेदनशील भएको भन्ने हो भने तिनै दक्षहरुले अन्यत्रको उत्तर पुस्तिका परीक्षण गर्दा अन्यत्र राम्रै नतिजा आयो । कोडिङ गरिएको उत्तर पुस्तिका कुन अञ्चलको विज्ञापनको हो दक्षलाई थाहा हुने कुरा पनि भएन । अनि कसरी उनीहरु हामी प्रति असंवेदनशील बने त ? यसरी हेर्दा दक्षहरुपनि अपजसका पात्र होइनन् ।
कसै कसैले हाम्रो सजिलो खेति प्रणाली, नगदे बाली र हाम्रो आफ्नै आत्मनिर्भरतालाई लोक सेवाको अनाकर्षणको अपजस दिने गरेको समेत पाइन्छ । यदि त्यसो हो भने यसमा कुनै आपत्ति मान्नु हुदैन । 
अब के गर्ने त ? 
एउटा यथार्थ, विद्यालय र कलेजका उम्दा विद्यार्थीहरुलाई हामीले आकर्षण गर्न नसकेकै हो । हामी कहाँ नकारात्मक भर्ना नीति मात्र छ । सकारात्मक भर्ना नीति अवलम्बन गर्ने हो भने कलेजमा नै आयोगकोे परीक्षा प्रणाली र निजामति सेवाको बैैशिष्यताको चर्चा गरेर धेरै राम्रा उम्ेदवारहरुलाई अकर्षण गर्न सकिन्छ । हामीले विद्यालय र कलेजमा भएका क्रिम विद्यार्थीहरुलाई लोक सेवाकोे परीक्षा हल सम्म ल्याउन पहल गरेकै छैनौ । 
जो बिद्यार्थी आयोगको विज्ञापनको लागि फाराम भर्छ, उसले पनि सुधार गर्न सक्ने धरै ठाउँ छन् । जस्तो कि  — पढाइमा निरन्तरता दिने, एकै पटकको असफलताबाट हरेस खाई नभाग्ने, पढाइसँगै लेखन सीप बढाउदै लैजाने, समसामयिक घटनाहरु प्रति चासो राख्ने, नोट गर्ने, अग्रजहरुसँग पृष्ठपोषण लिने, पाठ्यक्रममा केन्द्रित भएर कम्तिमा दुई वा सो भन्दा बढी पुस्तकबाट तयारी गर्ने, आँफै नमूना प्रश्नपत्र बनाई त्यसको उत्तर लेख्ने आदि । लोक सेवा आयोगको परीक्षामा प्रतिश्पर्धा हुन्छ  । यो अवश्य हो । तर उक्त प्रतिश्पर्धा अरुसँग नभई आफू स्वयंसँग हो । उम्मेदवारले आफ्नो क्षमता बढाई न्यूनतम ज्ञान, सीप र क्षमता हासिल नगरे सम्म कोरा जनशक्तिलाई लोक सेवा आयोगले कुनै पनि हालतमा निजामति सेवामा भिÏयाउदैन । यति कुरा उम्मेदवारहरु— जसले फारम भर्छन र मेहेनत गर्दैनन्, उनीहरुले मनन गर्नै पर्छ । 
पाठ्यक्रममा निरन्तर सुधार र समसामयिकीकरण हुदै जान्छ र हुनु पर्छ । खरिदार पदमा सेवा प्रवेश गर्ने उम्मेदवारहरुको स्तर हेर्दा यो अनुपयुक्त पाठ्यक्रम हो भन्न सक्ने अवस्था छैन । बरु गैर विज्ञान र गणितका उम्मेदवारहरुलाई केही अन्याय भएको स्वीकार्न सकिन्छ । यद्यपी विज्ञान र गणित विषय कक्षा ९ र १० मा अनिवार्य छ, र पाठ्यक्रम पनि उक्त कक्षाहरुमा भएको विषयवस्तु लिई तयार पारिको देखिन्छ ।  
हामीले सुधार गर्न सक्ने अर्को ठाँउ भनेको धेरै भन्दा धेरै विद्यालयहरुमा कक्षा  ११ र १२  मा विज्ञान र गणितका विषयहरु समावेश गर्ने । उपलब्ध जनशक्तिलाई रोजगार दिने गरी शिक्षा कलेज र दश जोड २ (विगतमा) खोल्नुको सट्टा कतैबाट शिक्षक झिकाएरै भए पनि विज्ञान, गणित र व्यवस्थापनका कलेज र दश जोड दुई खोलेको भए हाम्रो यो अवस्था हुने थिएन । सम्बन्धित सबैले यो विषय विचार गरी आगामी कदम चाल्दा उपयुक्त हुने देखिन्छ । 
निश्कर्ष 
निजामती कर्मचारीको बजार हाम्रो समाज नै हो । हामीसँग छैनन् भन्दैमा लोक सेवाले अन्यत्रबाट मानिस आयात गर्दैन । उपलब्ध भए सम्मका उम्दा जनशक्ति छनौट गरी सिफारिस गर्न आयोग कटिबद्ध छ ।  व्यवस्थित र मर्यादित परीक्षा प्रणाली र निश्पक्षताको आधारमा उपयुक्त उम्मेदवार छनौट गरी निजामति सेवाका लागि  सिफारिस गर्ने भएकोले उम्मेदवारले आफ्नो उपयुक्तता प्रमाणित गर्न आयोगको परीक्षा उत्तीर्ण गर्नु पर्छ । यसका लागि आयोग स्वयम्ले आफ्नो पाठ्यक्रम, परीक्षा केन्द्र  परीक्षा प्रणाली लगायतका कमजोरीहरु पत्ता लगाई क्रमशः सुधार गर्दै जाने, सकारात्मक भर्ना नीतिको अवलम्वन गर्ने, सरकार र सम्बन्धित सरोकारबालाहरुले शिक्षा प्रणालीलाई थप मजबुत पार्दै विद्यार्थीको क्षमता विकास र सशक्तिकरणमा जोड दिने, उम्मेदवारहरु समेत आफ्नो निजामति कर्मचारी बन्ने सपनालाई साकार पार्न दत्तचित्त भई मेहेनत गर्ने बानीको विकास गर्ने हो भने पक्कै पनि अहिलेको अवस्थामा सुधार हुने आशा गर्न सकिन्छ । 
मितिः २०७३।०९।१०  प्रतिकृयाको लागिः  jannardan.kattel@gmail.com

No comments: