Tuesday, February 21, 2017

बाल गीतः सानी नानी कमला


सानी नानी कमला
कौशीमा गमला
गमलामा फुलेका
ढकमक फूल
रस चुस्न भन्दै आए
पुतलीका हुल


यति धेरै पुतलीको
गुण कहाँ होला
झरी पर्यो भने फेरि
कसो गर्ने होला

                                   


                                               मेरी सानी कमला
                                               बज्याे मादल समाला
                                              कसले पो बजायो
                                              यति मीठो ताल
                                            तालसगै मादलुको
                                            तिमी नाचिहाल ।।


मेरी सानी कमला
घर छेउ अमला
लटरम्म फलेका
रसिलो त्यो फल
फल खानलाई
गर्नु पर्छ बल

                            कसले टिपी देला
                           मीठो मीठो फल
                           मेहेनत नगरी
                           कहाँ मिल्छ फल

बालगीतः झुसिल्किरा


ठूला ठूला नाङ्लाभरी
के ल्यायौ हातमा
हेर्न जाँदा झुसिल्किरा
किम्बूका पातमा
               

       
                 
                           किन ल्यायौ झुसिल्किरा
                            किम्बुका पातमा ?
                             छोयो भने नराम्ररी
                                 झुस बिझ्छ हातमा


जुनी फेरी पुतली भई
उड्न थाल्छ झुसिले
रेसम किरा भएर
नाच्न थाल्छ खुशीले


                     किम्बुको पात खाँदै
                     झुसिल्किरा बढ्यो
                     हेर्दा हेर्दैं खोलभित्र
                   लुक्न पो थाल्यो ।


                             धागो कात्ने मान्छेहरु
                             कहाँबाट आए
                             झुसिलेलाई खोलभित्रै
                             तातो पानी खुवाए
                     

     
फुलदेखि जुनी फेर्दै
झुसिल्किरा भयो
                      खोल भित्र बास बस्दा
                     उसको प्राण गयो  ।।



बालगीतः तोरीबारी


ढकमक तोरी
मूखियाकी छोरी
न त सानी न त ठूली
कति राम्री गोरी

                   ढकमक तोरी फूल्यो
                   बारी भरी जम्मै
                  राम्रो गरी पानी हाले
                  फल्ला लटरम्मै

पेल्यो भने तोरीलाई
धेरै आउछ तेल
तेल हाली पकाउँ हामी
मीठो मीठो सेल

               सानू सानू नानी
              तोरी बारी जाने
             आमासँग तातो तातो
             सेलमागी खाने

तोरीबारी छेउमा
धेरै बेर नभुल
लड्यो भने देख्लाउ फेरि
तोरीको फूल

बाल गीतःपातलीको जामा


सानी नानी पातलीको
कति राम्रो जामा
धुला खेल्यो भने फेरि
मैलो हुन्छ जामा

मामाजीले किनिदिए
यति राम्रो जामा
मामालाई ठूली गर 
भन्नुहुन्छ आमा

घर सफा राख्नलाई
आमालाई सघाऊ
नाना पनि सफा गरी
ईस्त्री राम्रो लगाऊ

जतन गरे नानालाई 
कति राम्री भइन्छ 
अर्को वर्ष नाना लगाई 
मामा घर गइन्छ ।

सुचिकार दाजुको
कति राम्रो सीप
तिम्रो नाना भुईंमा झरे
जतनले टिप ।

गजल:मेरो शान्त मन भित्र हुरी चलाइदियौ

मेरो शान्त मन भित्र हुरी चलाइदियौ
माया दिने नाउमा तिम्ले पत्थर गलाइदियौ ।।

मीठा मीठा कुरा गर्यौ, कसम पनि खायौ ,
किन फेरि धोका दिई जिउॅदै जलाईदियौ ??

अभिनय राम्रो तिम्रो छलकपट शैली ।
मलाई माया गर्छु भनी जोबन कल्लाई दियौ??

उर्बरा त्यो बारी भरि माया रोप्दै थिएॅ ।
अमृत भने देखिएन,बिस फलाइदियौ ।।

कति ठूलो विश्वास थियो, समर्पण उस्तै,
यतै ठूलो विश्वासको महल ढलाइदियौ ।।

गजलःसपनीमा मात्र होइन विपनीमा आउनु तिमी ।



सपनीमा मात्र होइन विपनीमा आउनु तिमी ।
पिरतीको आँगनीमा जुनेली भै छाउनू तिमी ।।

स्वर्गबाट झर्यो तिमी मैरै निम्ति जस्तो लाग्छ ।
कोइली जस्तै मीठो गरी मेरै गीत गाउनू तिमी ।।

तिम्रो लागि बाटो भरी फूलै फूल सजाकोछु ।
माया गर्ने मान्छे भेट्न कैले काँही आउनू तिमी ।।

डर धक मान्नु हुन्न पिरतीको खेल खेल्दा ।
लुकी –लुकी मात्र हैन खुलेआम आउनु तिमी ।।

पिरतीकाे इतिहासमा हामी नयाँ लैला मजनु ।
हुनसक्छ यात्रा गाह्रो सफर गर्न आउनू तिमी ।।
 (पूरानाे रचना)

गजलःनयन जुध्नासाथै माया गर्न लागिछन् ।



नयन जुध्नासाथै माया गर्न लागिछन् ।
आफ्नो आसिक सँगै बाच्न मर्न लागिछन् ।

मधुप्याला नयन उनको कति मीठो माया
अलि अलि गर्दे मन हर्न लागिछन् ।

आजकलका आसिकहरु स्वतन्त्रता खोज्छन् ।
स्वतन्त्रताबीच पनि डर्न लागिछन् ।।

उनी पनि कम्ति छैनन् आधुनिक जीवनशैली ।
किफयति बन्दै शहर चर्न लागिछन् ।।

सबै भदा ठूलो कुरा विज्ञापन त रैछ ।
आफ्नो रुप र सौन्दर्यलाई छर्न थालिछन् ।।

पराकाष्ठा सभ्यताको कति बयान गरौं ?
डिस्कोबाट रातीरानी झर्न लागिछन् ।।
purano rachana bata.

Wednesday, February 15, 2017

कार्यालयमा सञ्चार र व्यवस्थापन सूचना प्रणाली

 कार्यालयमा सञ्चारको महत्व, प्रकार, माध्यम
दुई वा सो भन्दा बढी व्यक्तिहरु, संस्थाहरु वा निकायहरु बीचमा गरिने औपचारिक वा अनौपचारिक विचार, राय वा धारणा, सूचना आदि आदान प्रदान गर्ने काम नै सञ्चार हो । सामान्यतया सञ्चार भाषाको माध्यमबाट हुने गर्छ । यसमा प्रेशक (sender),  माध्यम (channel) र प्रापक (receiver) अनिवार्यता रहन्छ । प्रेशकले आफ्नो  शन्देश भाषा वा संकेतको माध्यमबाट प्रशारण गर्छ । माध्यमले प्रापक समक्ष लैजान मद्दत गर्छ भने प्रापकले आफुले प्राप्त गरेको शन्देश बुझेपछि सञ्चारको  एक तर्फि प्रक्रिया समाप्त हुन्छ ।

कार्यालयमा सञ्चारको महत्व 


  1.  कार्यालयको दैनिक कामका सिलसिलामा माथिल्लो तहबाट तल्लो तहमा दिइने आदेश तथा तलबाट  माथि गरिने रिपोटिङ मा मात्र पनि संचारको आवश्यकता हुन्छ । कार्यालयमा सञ्चार बिना कुनै पनि कार्य गर्न सकिदै न । 
  2.  समन्वय र नियन्त्रणका लागि सबै भन्दा महत्वपूर्ण औजार भनेको संचार हो । 
  3.  प्रभाववकारी संचारको माध्यमबाट कर्मचारीमा उत्पप्रेरणा जगाउन सकिन्छ । 
  4.  कर्मचारीहरुमा आवश्यक पर्ने ज्ञान सिप प्रवृत्तिमा सुधार ल्याउनको लागि प्रदान गरिने तालिमका लागि पनि संचार अति नै महत्वपूर्ण मानिन्छ ।
  5. व्यक्ति व्यक्ति तथा कार्यालय कार्यालय वा व्यक्ति कार्यालय बिचमा  सेवा र सूचना आदान प्रदान गर्न सञ्चारको आवश्यकता पर्छ । 
  6.  सेवाग्राहीलाई संगठनले प्रदान गरिने सेवा बारे जानकारी दिन सञ्चारको महत्त्वपूर्ण स्थान रहेको छ । 
  7.  निर्णयमा स्तरीयता तथा पारदर्शिता कायम गर्नलाई प्रभावकारी संचारको आवश्यकता रहेको छ ।
  8.  द्वन्द्व व्यवस्थापन तथा गुनासो सुनुवाहीका लागि पनि संचार अति नै महत्वपूर्ण मानिन्छ । 


संचारका प्रकार 

१. संस्थागत आधारमा संचारलाई आन्तरिक तथा बाह्य संचार गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ । संगठनको कुनै इकाई र अर्को इकाई वा भिन्न व्यक्ति आदिमा सुने संचार आन्तरिक संचार हो भने एक संगठन र अर्को संगठन बीच हुने संचारलाई बाह्य सञ्चार भनिन्छ ।
२. अभिव्यक्तिको माध्यमका आधारमा संचारलाई लिखित (निबेदन, तोक, टिप्प्णी र आदेश, पत्र, परिपत्र, फ््याक्स, आ. वा. टेलिप्रिन्टर, टेलेक्स, टेलिग्राफ, इमेल), मौखिक (आमने सामने वा यन्त्रको प्रयोग गरी ) वा सांकेतिक संचारका रुपमा विभक्त गर्न सकिन्छ ।
३. औपचारिकताका आधारमा औपचारिक र अनौपचारिक संचार गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ । कुनै व्यक्ति, निकायले अर्को कार्यालय, व्यक्ति वा निकायमा लिखित रुपमा गरिेको आवेदन, पत्र, परिपत्र आदिलाई औपचारिक संचारका रुपपमा लिइन्छ  भने व्यक्ति व्यक्ति बीचमा गरेको कुराकानी गफ आदि अनौपचारिक संचार हुन् ।
४. संचार प्रववाहको आधारमा अधोमूखी, उर्ध्वमूखी वा समतल संचारको रुपमा वगर्गीकरण गर्न सकिन्छ ।

संचारका माध्यमहरु 

ज्ञ) निबेदन, तोक, टिप्प्णी र आदेश, पत्र, परिपत्र, फ््याक्स, आ. वा., टेलिप्रिन्टर, टेलेक्स, टेलिग्राफ
द्द) ऐन कानुन, परिपत्र तथा निर्देशिकाहरु
घ) सिधा सम्पर्क (व्यक्ति, व्यक्ति बीचमा वा कुनै दुई पक्षहरुबीचमा)
द्ध) गोष्ठी सेमिनार आदि
छ) पारस्परिक छलफल
ट) संचार उपकरण जस्तै ः रेडियो, टि. भी., इमेल, इन्टरनेट, भिडियो कन्फेरेन्स आदि
ठ) सांकेतिक चिन्ह, होडिङ वोर्ड आदि ।

 कार्यालयमा व्यवस्थापन सूचना प्रणाली   (MIS) को आवश्यकता र महत्व 


सूचना तथा संचारलाई सरल, प्रभावकारी, शिघ्र र व्यववस्थित बनाउने आधुनिक प्रणाली नै व्यवस्थापन सूचना प्रणाली हो । यसमा सूचनाको आगत, प्रशोधन तथा निर्गत ( Inpiut,  process and output)  को प्रणाली सञ्चालनका लागि प्रबिधि (technology) र मानवीय संसाधन (humanware)  को सँगसगै प्रयोग गरिन्छ । MIS सूचना तथा तथ्याङ्कको संकलन, प्रशोधन एवं वर्र्गीकरण गरी तयारी अवस्थामा भण्डारण गरिने एक प्रकारको सञ्जाल हो । यसको उदाहरणको रुपमा अर्थ मन्त्रालयको FMIS निजाती किताबखानाको PIS भुमी सुधार मन्त्रालयको  LMIS अदिलाई लिन सकिन्छ ।
परम्परागत सूचना प्रणाली र आधुनिक व्यवस्थापन प्रणाली प्रयोगमा कति भिन्नता छ, यसले सञ्चारमा हुने असजिलो लाई सरल बनाउँछ भन्ने कुरा तलको चित्रबाट देखाउछ ।



व्यवस्थापन सूचना प्रणालीको अवश्यकता र महत्व 



  1. भरपर्दो र विश्वसनीय सूचना प्राप्त गर्न
  2. सूचना तथा तथ्यांकहरुमा एकरुपता कायम गर्न तथा स्वचालित हिसाबले अपडेट हुने व्यवस्था गर्न
  3. आवश्यक सूचना हरु एकैस्थानबाट प्राप्त गर्न 
  4. सूचना प्राप्तिका लागि व्यक्तिगत सम्बन्धले पार्ने असरलाई न्यूनीकरण गर्न 
  5. शीघ्र सूचना प्राप्त गर्न 
  6. योजना तथा कुनै नीति , कार्यक्रम आदि तयठ गर्दा वा कुनै निर्णय गर्ने कार्यमा सरल हुन्छ ।
  7. संगठनको प्रभावकारिता, दक्षता, कार्यकुशलता अभिवृद्धि हुन्छ । 
  8. नियन्त्रण र समन्वयमा सहयोग गर्छ । 
  9. सूचनाहरुको तुलनात्मक आधारको काम गर्छ जसले गर्दा उत्तम विकल्पको छनौट गर्न मद्दत गर्छ । 
  10. परिवर्तन व्यवस्थापनलाई सहयोग गर्छ ।


Friday, February 3, 2017

हुन नसकेको पण्डित म !!!

भाग्यको लहरमा लहरी लहरी 
पुगे म यस मरुस्थलमा कसरी 
तर  खेद छैन तिम्रो आकृति 
लेखिएको छ यो हृदय भरी ।।

युग कवि सिद्धिचरण श्रेष्ठको यी पङ्क्तिमा भनिए जस्तै सायद सबै मानिसहरु आफ्नै भाग्यको लहरमा लहरिदै लहरिदै कोही कुन मरुस्थल पुग्लान ? कति त हराभरा फाँट भेट्लान वा कसैले शान्त समुद्र भेट्लान । सबैको आआफ्नो दृष्टिकोण हो ।  आफ्नो गन्तव्यलाई मरुस्थल मान्ने वा स्वर्ग भूमी मान्ने । मेरो विचारमा आफू पुगेको ठाँउलाई मरुभूमी ठान्नु तीव्र असन्तुष्टिको अभिव्यक्ति हो । कविले आफ्नो धरातललाई (सायद काठमाण्डौ ?) भरुभूमी भने पनि आफ्ना उपलब्धीलाई मरुभूमी मान्नु हुदैन भन्ने मेरो ठम्याई छ । यसो भन्दैमा जे छ त्यसैमा सन्तुष्टि मानेर बस्ने भनेको चाँही होइन । 

यो प्रसंगको उठान किन गरियो भने मेरो बाल्यकाल, मेरा आमा र बुबाले  मेरो लागि देखेको सपना र त्यो सपना मैले पूरा गरे नगरेको सन्दर्भमा एउटा स्मरण यहाँ प्रस्तुत गर्न लागि रहेको छु ।


पण्डित यात्रा भाग १

म कक्षा सातमा भर्ना हुने बेलैमा मेरी माइली दिदीको विहे भयो । रातीको लगनमा विहे र त्यसको एक दिन अघि दिउसोको लगन पारेर त्यही समयमा मेरो ब्रतबन्ध पनि गरिएको थियो । मैले बिहेको कसारेका दिन आफ्नै बा र गुरु डमरुबल्लभ न्यौपानेबाट  पवित्र मन्त्र सुनें । त्यसपछि आमा र बाको चाहाना अनुरुप (जुन मेरो पनि उत्सुकता थियोे)  म संस्कृत पढ्न जाने भएँ ।  त्यसबेला आमा मलाई फुक्र्याउदै भन्नुहुन्थ्यो ममा पण्डित हुने क्षमता छ । मैले विद्या (आमाकै शब्दमा) पढेर धेरै ठूलो नाम कमाउन सक्छु । यदि यसो भयो भने हाम्रो कूलको इज्जत, प्रतिष्ठा उँचो हुनेछ । मलाई पनि के लाग्थ्यो भने अंग्रेजी विद्या (स्कूलको हाम्रो पढाईलाई भन्ने गरिन्थ्यो) त सबैले पढेका छन् । आफू मात्र संस्कृत पढेर पण्डित भइयो भने त  आमाले भने जस्तै हुनेछ । त्यसैले म सँस्कृत पढ्न जानको लागि राजी भएको थिएँ । 

दिदीको विवाह सकिए पछि  ठूलो दाजु र म झापाकोे जुकेखाडीको यात्रामा निस्कियौं । साथमा गोमा दिदी (फुपूकी छोरी) पनि हुनुहुन्थ्यो । हाम्रो टोली करीब दश घण्टा हिडेर बेलुका जुकेखाडी बढीबाकोे घरमा बास बस्न पुग्यो । बढीबालाई हामी केटाकेटीप्रति त्यतिखेरै उतीसाह्रो विश्वास रहेनछ, सायद । भन्नु हुन्थ्यो “संस्कृत पढ्ने भनेको त्यस्तै हो, हाम्रो बाहुनको चिनो, जनै चाँही कहिले पनि नछोड्नु ।” एक दिन आराम गरी त्यसको अर्को दिन हामी दाजु भाइ पैदलै सुरुंगा सानिमाको घरतर्फ लाग्यौ । सुरुंगा पुगेपछि रातीदेखि म निक्कै नै वरामी भएँ । मलाई धेरै नै बान्ता हुन थाल्यो । मेरो विचारमा यो अघिल्लो दिन ‘भुटेका मकै खाए झैं’ खाएको काँचो सुपारीको असर थियो । बिहान सानिमाले धामी बोलाउनु भयो । उसले धेरै बेर जोखाना हेरेर  ‘सिये लागेको’ निश्कर्ष निकाल्यो ।  त्यसपछ उसले अक्षता फुकेर खान दियो । मैले पनि उसले भनेझैं गरिदिएँ । विस्तारै मलाई ठीक हुँदै गयो । भन्न नसके पनि मलाई के लाग्यो भने धामीले ठ्यक्कै नमिलाए पनि अघिल्लो अक्षरचाँही मिलाउदा रहेछन् ।

सानाबा बैष्णब धर्म मान्नु हुन्थ्यो । वहाँकै सल्लाह अनुसार मलाई विराटनगरस्थित पाञ्चाली मन्दिरमा राखेर पढाउने निधो भयो । पाञ्चली बैष्णब सम्प्रदायकै  मन्दिर हो ।  केही दिनमा हामी तीनै जना (दाजु , म र सानाबा) बिराटनगर तर्फ लाग्यौं ।  मलाई मन्दिरमै छोडेर फर्कने बेलामा मन्दिरको अनुशासन आदिको बारेमा सानाबा र दाजुले केही सम्झाउनु भयो  । तर बासुदेब दाइ (सानिमाको छोरा) पनि त्यही मन्दिरमा बसेर पढ्ने भएकोले ढुक्क थिएँ । 

पाञ्चाली मन्दिरमा पुगेका दिन मैले प्रथम पटक टेलिभिजन देखें । अन्य विजुलीका सामानहरु पंखा तथा बत्तीहरु पनि त्यहीं नै दर्शन गरें । 

मन्दिरको अनुशासन बेग्लै थियो ।  केही झन्झटिलो भन्नु पर्छ । बिहान उठेर सुचि हुँदा कयौं पटक हातमा माटो लगाएर धुनु पर्ने,  दैनिक नुहाउनु पर्ने, यद्यपी शहरको बीचमा अवस्थित त्यो मन्दिरमा साबुनको प्रयोग भने बन्देज थियो । विहान बेलुका सधै गायत्री मन्त्र जप्नु पर्ने । विष्णुसहस्रनामस्तोत्र पढ्नु पर्ने आदि । प्रत्येक दिन करीब ११ बजे तिर गुरु आउनु हुन्थ्यो । वहाँले मेरो लागि लगभग दुई श्लोक विष्णुसहस्रनामस्तोत्र कण्ठ पार्न  गृहकार्य दिनु हुन्थ्यो । यसलाई ‘पाठ दिने’ भन्ने चलन थियो ।  गुरुले दिएको पाठ दशचोटि पढ्दा कण्ठ भै हाल्थ्यो । बाँकी समय मेरो पुरै खाली थियो ।
                    
म दिउँसो प्रायः साथीहरुसँग मन्दिरको गाई चराउन जान्थें । हामी महेन्द्र मोरंग बहुमुखी क्याम्पसको चहुर अनि अझै पर पर नहरको डिलसम्म गाई लिएर पुग्थ्यौं । मेरो गाई चराउने साथीहरु मध्ये एकजना चाँही अन्यन्त फटाहा लाग्थ्यो —मलाई । किनकी ऊ नहरको डिलमा आँखा चिम्ली टुक्रुक्क बसेर दिशा गथ्र्यो ।  उसको धारणा के रहेछ भने आफूले नदेखे पछि अरुले पनि देख्दैनन् । उसको नाम भगवान वा यस्तै केही थियो र आफूलाई खोटांग तिरबाट आएको हू्ँ भन्थ्यो ।

विस्तारै दिनहरु वित्दै थिए । तराइको गर्मी र मन्दिरको नयाँ वातावरणमा अनुकुलित हुदै थिएँ । तर मेरो मनमा एउटा यस्तो डर पैदा भयो जसका कारण आमाको छोरो पण्डित बनाउने सपना असरल्लै छाडिदिएर मैले मन्दिर छोड्न बाध्य हुनु पर्यो । त्यो डर थियो बैष्णब धर्म धारण गर्ने विधि ।

एक दिन मन्दिरमा नयाँ बटुकहरुलाई बैष्णब बनाउने कुरा चल्यो । त्यसको लागि आगामी एकादशी तिथीलाई साइत बनाएर गर्ने भनियो । एकादशीमा मन्दिरमा भव्य पूजा पाठ समेत हुने रहेछ । मेरो बाल सुलभ कौतुहलले बैष्णब बन्ने विधि जान्न खोज्यो । बासुदेब दाइलाई सोधिहालें ।  वहाँले भन्नु भायो, “मन्त्रले पूजा गरेर  शंख र चक्र कुँदिएको तामा वा सुनको पातालाई तताएर पाखुरामा डामिन्छ ।” मैले पोल्छ होला भनेर राखेको जिज्ञासामा वहाँले पोल्दैन त भन्नु भो तर मेरो मनले  पटक्कै मानेन । यो प्रक्रिया दाजुले मलाई जिस्क्याउन भन्नु भएको थियो वा साँच्चै नै हो मैले दोहार्याएर अझैसम्म कसैसँग सोधेको पनि छैन । जे होस ममाथि साह्रै ठूलो मनोबैज्ञानिक संकट आइलागेको थियो, त्यतिबेला ।

त्यसपछि मैले कुनै हालतमा मन्दिरबाट उम्कने वा बाहाना बनाएर भाग्ने उपाय सोच्न थालें । त्यसको योजना स्वरुप घरमा एउटा चिठ्ठी लेखें । यद्यपी त्यो चिठी घरमा पठाउनलाई नभई दाजुलाई पढाउन थियो । चिठीको सार यस्तो थियो —“ म घर आँउछु ।  भंैसीको भकारो सोहोरेर भए पनि अरुले पढेको विद्या नै पढ्छु ।  दैनिक सातवटा किताबका सातवटा पाठ पढ्ने मान्छेलाई यहाँ दुई श्लोक कण्ठ पार्न दिन्छन् र गाई हेर्न पठाउँछन् । यहाँ बसेर त म पण्डित होइन हली, गोठालो हुन्छु होला । आदि अदि ...”  चिठीका धेरै जसो कुराले म होम सिक भएको र विराटनगरमा कुनै हालतमा बस्न नसक्ने दर्शाउथ्यो । मेरो खास समस्या त लेख्नु पनि भएन, इज्जत जाने अर्को डर थियो । म बैष्णब बन्ने प्रक्रियाको भुतबाट तर्साइएको थिएँ ।
पत्र लेखिसकेर आफ्नै किताबको भित्र पट्याएर  अलिकति देखिने गरी राखें र उक्त किताब दाजुको संगै राखिदिएँ । अनि चिठी पठाएर आँउछु भनी दिनभरी बजार तिर भागें । फर्कदा दाजुले मेरो पत्र पढिस्क्नु भएको रहेछ । 

पत्रले राम्रो काम गर्यो ।  दाजुले मलाई घर फर्कन गाडि चढाइदिनुभयो । नौ दिनको पाञ्चाली मन्दिरको बसाईलाई छोडेर म अब आफ्नै घर फर्कने भएँ । मलाई उतीबेला आफ्नो भविश्य प्रति कुनै चिन्ता थिएन । म २ दिन पछिको समेत कल्पना गर्न सक्दिनथें  होला । 

त्यस मन्दिरमा भएका घटनाहरु मध्ये एउटा घटना उल्लेखनीय छ । एक दिन विराटनगर हुलाक कार्यालयको छेउमा घर भएको एउटा बुढो मान्छे साह्रै बिरामी भएछ । उसको दशदान बैतरणी गर्ने भनेर मन्दिरका बटुकहरु लिन एक जना गुरुजी आए । अरु सबै जना धोती लगाएर दशदान लिन गए । मैले धोती लगाउन जानेको थिइन । जाने पनि मेरो धोती अत्यन्त ठूलो थियो । मैले तौलिया बेरेर नै काम चलाएँ । हामी गए पछि दश दान बैतरणीको  काम शुरु भयो ।  म केही पछाडि नै थिएँ ।  दाजुले मलाई स्वर्ण दान लिने बेलामा अघि सर्न संकेत गर्नु भएको रहेछ, मैले बुभिंmन । म त बस्त्र दानमा परें । ‘तँ लाटो अघि सर्नु पर्देैन’ भनेर वहाँले पछि पनि गाली गर्नु भो । तर त्यतिबेला मलाई स्वर्ण र बस्त्रमा कुनै अन्तर थिएन । बरु मैले पाएको रु ७५  दक्षिणा भने  मुल्यवान थियो । तर त्यो पैसा समेत पछि मावलमा रातेखोलामा पौडि  खेल्न जाँदा हराएँ । 

यसरी म लगभग २०, २५ दिनको मधेश घुमघाम र बसाइ पछि  घर फर्किएँ । विद्यालय जान थाल्दा शैक्षिक सत्र शुरु भएको डेढ महिना वितिसकेको रहेछ ।  म फर्किएकोमा शिक्षकहरु अत्यन्त प्रशन्न हुनु भयो । किनकी कक्षाको चतुर छात्र मध्येको म एक थिएँ ।  यसपछि  भने म नियमित स्कूल जान थालें । ममा पण्डित हुने भुत एकप्रकारले समाप्त भएको थियो ।

पण्डित यात्रा भाग २

म आफ्नो एस. एल सी परीक्षा पश्चात केही न केही कुरा सिकेर बिताउन चाहन्थें ।  तर मैले यो कुरा कसैसंग भन्ने आँट गरिरहेको थिइन । घरमा दाजुहरु, दिदीहरु सबैजना भएकोले काम गर्न वा अन्य कुनै कुराको लागि घर बस्नै पर्ने बाध्यता पनि मसँग थिएन । त्यति बेला पनि आमाले एउटा छोराले संस्कृत पढिदिए हुन्थ्यो भनिरहनुहुन्थ्यो  । बा पनि संस्कृत विद्या भनेको अँध्यारोमा दियो बालेको जस्तै हो भन्ने गर्नुहुन्थ्यो । चार महिनामा पनि केही कुरा जानिन्छ भनेर बाले भनेपछि यही कुरालाई मैले अवसरको रुपमा लिएँ र पुनः सँस्कृत पढ्न जाने अल्पकालिन प्रस्ताब राखें (रिजल्ट आउनजेललाई) । 

हाम्रो साजबोटे खेत त्यही हिँउदमा बेचिएको थियो । त्यही पैसाले मधेशमा किनेको जग्गा पास गर्नलाई जानु पर्ने थियो ।  त्यही भएर हामी बाबु छोरा अलग अलग उद्देश्य लिएर सँगै मधेश झर्यौ । पैदलै । यस पटक हामी जुकेखाडी गएनौ । शनिश्चरे कान्छा हजुरबाको घरमा गयौं । यो २०५२ सालको फागुन तिरको प्रसंग हो । 
बा मलाई हजुरबाको जिम्मामा छोडेर आफ्नो काम तिर लाग्नु भो । कोहबरा तिर । अब शनिश्चरे पुष्पलाल गुरुको विद्यापिठमा मलाई पुर्याउने काम कान्छा हजुरबाको थियो । एक वा दुई दिन पछि वहाँले मलाई पुष्पलाल गुरुको आश्रममा लिएर जानु भयो । वहाँका अनुसार मैले चाहेको कोर्ष (लघुसिद्धान्त कौमुदी) सिध्याउन कमसेकम ३ वर्ष लाग्ने थियो । तर मैले यसमा कुनै प्रतिक्रिया गरिन ।  मलाई कोर्ष सिध्याउनु थिएन । रिजल्ट आउनजेलमा जति पढिन्छ पढ्नु थियो ।

मैले अब गुरुकुलमा बसेर पढ्नलाई बन्दोबस्तीका सामानहरु —थाल, बटुका, भाँडाकुडा, सिरक डसना, मेखला आदि  किन्नु पर्ने भयो । मसँग पैसा थिएन । हजुबाले त्यो झन्झटमा फस्नु भन्दा मलाई विर्तामोडमा लेखनाथ सानाबाको घरमा लगेर छोडिदिनुभो ।

सानाबालाई म चिन्दिनथें । सानिमासँग कुराकानी गर्दै र भाइ बैनीहरुसँग खेल्दै दिन बित्यो । साँझमा सानाबा आउनु भयो । वहाँले  किन आएको भनेर सोध्नु भयो । मैले पनि डराउदै आफ्नो उत्तर दिएँ । साँझमा त्यति धेरै कुरा हुन पाएन । 

बिहान मलाई बोलाएर सानाबाले कम्प्युटर सिक्न भन्नु भयो ।  कम्प्युटर मैले त्यसै दिन पहिलो पटक सुनेको शब्द थियो । म अलमल्ल परें । कस्तो हुन्छ ? कसरी सिक्ने ? यो सिक्दा के फाइदा हुन्छ ?  गाडि जस्तै पो हो कि ? आदि तर्कनामा रनभुल्ल हुदै मैले  यसबारे विभिन्न प्रश्नहरु गरे ।  वहाँले टि. भि. जस्तै हुन्छ, अक्षर छाप्ने मेसिन हो भने पछि केही धारणा त बन्यो तर त्यहाँ त धेरै पैसा लाग्ने रहेछ । कमसेकम चार देखि पाँचहजार । जति धेरै कोर्ष गर्दै गयो त्यति धेरै पैसा थप्नु पर्ने । मलाई केही न केही सिकेर नै त्यो चार वा पाँच महिनाको समय कटाउनु थियो । त्यसैले अब कम्युटर तिर ध्यान मोडियो । त्यस पछि मैले सानाबाकैमा बसेर वर्ड परफेक्ट, लोटस १२३ र एम एस डस गरी तीनवटा प्रोग्रामहरु सिके । त्यतिबेला वीन्डोज अपरेटिंग सिस्टम भरखरै शुरु भएको थियो ।  एस एल सीको रिजल्ट आए पटि कम्प्युटर सिक्ने काम स्थगित भयो । त्यसपछि पैसा तिरेर वा इन्स्टिच्युटमा गएर फेरि अरु सिक्न सकिएन, सिकिएन । यही चार महिना सिकेको कम्प्युटरको भरमा अहिले काम गरिदैछ । अचेल कलम छुुन अल्छि लाग्छ । बरु टाइप गर्न सजिलो ।

थाहा छैन मैले  चार वा पाँच महिना सँस्कृत पढेको भए मलाई अघिल्लो पढाईलाई कहाँ नेर सहयोग पुग्थ्यो । पहिलो प्रयासमा नौ दिन पढेको विद्या दोस्रो प्रयासमा त एक दिन पनि पढिएन । तर जे भए पनि प्रविधिसँग नजिक भइयो । 

यसपटक मेरा कान्छा हजुरबाको कञ्जुस्याईले गर्दा मैले फेरि पनि  बा आमाको सपना जस्ताको तस्तै छोडिदिए । त्यो विद्याबाट सँधै बन्चित भएँ ।  मेरो बिचारमा अचेल बा आमा पनि निक्कै नै फरवार्ड भैसक्नु भो, किनकी हुन नसकेको पण्डितप्रति र मैले पढेको विद्या प्रति पनि सन्तुष्ट नै हुनुहुन्छ ।