Friday, February 3, 2017

हुन नसकेको पण्डित म !!!

भाग्यको लहरमा लहरी लहरी 
पुगे म यस मरुस्थलमा कसरी 
तर  खेद छैन तिम्रो आकृति 
लेखिएको छ यो हृदय भरी ।।

युग कवि सिद्धिचरण श्रेष्ठको यी पङ्क्तिमा भनिए जस्तै सायद सबै मानिसहरु आफ्नै भाग्यको लहरमा लहरिदै लहरिदै कोही कुन मरुस्थल पुग्लान ? कति त हराभरा फाँट भेट्लान वा कसैले शान्त समुद्र भेट्लान । सबैको आआफ्नो दृष्टिकोण हो ।  आफ्नो गन्तव्यलाई मरुस्थल मान्ने वा स्वर्ग भूमी मान्ने । मेरो विचारमा आफू पुगेको ठाँउलाई मरुभूमी ठान्नु तीव्र असन्तुष्टिको अभिव्यक्ति हो । कविले आफ्नो धरातललाई (सायद काठमाण्डौ ?) भरुभूमी भने पनि आफ्ना उपलब्धीलाई मरुभूमी मान्नु हुदैन भन्ने मेरो ठम्याई छ । यसो भन्दैमा जे छ त्यसैमा सन्तुष्टि मानेर बस्ने भनेको चाँही होइन । 

यो प्रसंगको उठान किन गरियो भने मेरो बाल्यकाल, मेरा आमा र बुबाले  मेरो लागि देखेको सपना र त्यो सपना मैले पूरा गरे नगरेको सन्दर्भमा एउटा स्मरण यहाँ प्रस्तुत गर्न लागि रहेको छु ।


पण्डित यात्रा भाग १

म कक्षा सातमा भर्ना हुने बेलैमा मेरी माइली दिदीको विहे भयो । रातीको लगनमा विहे र त्यसको एक दिन अघि दिउसोको लगन पारेर त्यही समयमा मेरो ब्रतबन्ध पनि गरिएको थियो । मैले बिहेको कसारेका दिन आफ्नै बा र गुरु डमरुबल्लभ न्यौपानेबाट  पवित्र मन्त्र सुनें । त्यसपछि आमा र बाको चाहाना अनुरुप (जुन मेरो पनि उत्सुकता थियोे)  म संस्कृत पढ्न जाने भएँ ।  त्यसबेला आमा मलाई फुक्र्याउदै भन्नुहुन्थ्यो ममा पण्डित हुने क्षमता छ । मैले विद्या (आमाकै शब्दमा) पढेर धेरै ठूलो नाम कमाउन सक्छु । यदि यसो भयो भने हाम्रो कूलको इज्जत, प्रतिष्ठा उँचो हुनेछ । मलाई पनि के लाग्थ्यो भने अंग्रेजी विद्या (स्कूलको हाम्रो पढाईलाई भन्ने गरिन्थ्यो) त सबैले पढेका छन् । आफू मात्र संस्कृत पढेर पण्डित भइयो भने त  आमाले भने जस्तै हुनेछ । त्यसैले म सँस्कृत पढ्न जानको लागि राजी भएको थिएँ । 

दिदीको विवाह सकिए पछि  ठूलो दाजु र म झापाकोे जुकेखाडीको यात्रामा निस्कियौं । साथमा गोमा दिदी (फुपूकी छोरी) पनि हुनुहुन्थ्यो । हाम्रो टोली करीब दश घण्टा हिडेर बेलुका जुकेखाडी बढीबाकोे घरमा बास बस्न पुग्यो । बढीबालाई हामी केटाकेटीप्रति त्यतिखेरै उतीसाह्रो विश्वास रहेनछ, सायद । भन्नु हुन्थ्यो “संस्कृत पढ्ने भनेको त्यस्तै हो, हाम्रो बाहुनको चिनो, जनै चाँही कहिले पनि नछोड्नु ।” एक दिन आराम गरी त्यसको अर्को दिन हामी दाजु भाइ पैदलै सुरुंगा सानिमाको घरतर्फ लाग्यौ । सुरुंगा पुगेपछि रातीदेखि म निक्कै नै वरामी भएँ । मलाई धेरै नै बान्ता हुन थाल्यो । मेरो विचारमा यो अघिल्लो दिन ‘भुटेका मकै खाए झैं’ खाएको काँचो सुपारीको असर थियो । बिहान सानिमाले धामी बोलाउनु भयो । उसले धेरै बेर जोखाना हेरेर  ‘सिये लागेको’ निश्कर्ष निकाल्यो ।  त्यसपछ उसले अक्षता फुकेर खान दियो । मैले पनि उसले भनेझैं गरिदिएँ । विस्तारै मलाई ठीक हुँदै गयो । भन्न नसके पनि मलाई के लाग्यो भने धामीले ठ्यक्कै नमिलाए पनि अघिल्लो अक्षरचाँही मिलाउदा रहेछन् ।

सानाबा बैष्णब धर्म मान्नु हुन्थ्यो । वहाँकै सल्लाह अनुसार मलाई विराटनगरस्थित पाञ्चाली मन्दिरमा राखेर पढाउने निधो भयो । पाञ्चली बैष्णब सम्प्रदायकै  मन्दिर हो ।  केही दिनमा हामी तीनै जना (दाजु , म र सानाबा) बिराटनगर तर्फ लाग्यौं ।  मलाई मन्दिरमै छोडेर फर्कने बेलामा मन्दिरको अनुशासन आदिको बारेमा सानाबा र दाजुले केही सम्झाउनु भयो  । तर बासुदेब दाइ (सानिमाको छोरा) पनि त्यही मन्दिरमा बसेर पढ्ने भएकोले ढुक्क थिएँ । 

पाञ्चाली मन्दिरमा पुगेका दिन मैले प्रथम पटक टेलिभिजन देखें । अन्य विजुलीका सामानहरु पंखा तथा बत्तीहरु पनि त्यहीं नै दर्शन गरें । 

मन्दिरको अनुशासन बेग्लै थियो ।  केही झन्झटिलो भन्नु पर्छ । बिहान उठेर सुचि हुँदा कयौं पटक हातमा माटो लगाएर धुनु पर्ने,  दैनिक नुहाउनु पर्ने, यद्यपी शहरको बीचमा अवस्थित त्यो मन्दिरमा साबुनको प्रयोग भने बन्देज थियो । विहान बेलुका सधै गायत्री मन्त्र जप्नु पर्ने । विष्णुसहस्रनामस्तोत्र पढ्नु पर्ने आदि । प्रत्येक दिन करीब ११ बजे तिर गुरु आउनु हुन्थ्यो । वहाँले मेरो लागि लगभग दुई श्लोक विष्णुसहस्रनामस्तोत्र कण्ठ पार्न  गृहकार्य दिनु हुन्थ्यो । यसलाई ‘पाठ दिने’ भन्ने चलन थियो ।  गुरुले दिएको पाठ दशचोटि पढ्दा कण्ठ भै हाल्थ्यो । बाँकी समय मेरो पुरै खाली थियो ।
                    
म दिउँसो प्रायः साथीहरुसँग मन्दिरको गाई चराउन जान्थें । हामी महेन्द्र मोरंग बहुमुखी क्याम्पसको चहुर अनि अझै पर पर नहरको डिलसम्म गाई लिएर पुग्थ्यौं । मेरो गाई चराउने साथीहरु मध्ये एकजना चाँही अन्यन्त फटाहा लाग्थ्यो —मलाई । किनकी ऊ नहरको डिलमा आँखा चिम्ली टुक्रुक्क बसेर दिशा गथ्र्यो ।  उसको धारणा के रहेछ भने आफूले नदेखे पछि अरुले पनि देख्दैनन् । उसको नाम भगवान वा यस्तै केही थियो र आफूलाई खोटांग तिरबाट आएको हू्ँ भन्थ्यो ।

विस्तारै दिनहरु वित्दै थिए । तराइको गर्मी र मन्दिरको नयाँ वातावरणमा अनुकुलित हुदै थिएँ । तर मेरो मनमा एउटा यस्तो डर पैदा भयो जसका कारण आमाको छोरो पण्डित बनाउने सपना असरल्लै छाडिदिएर मैले मन्दिर छोड्न बाध्य हुनु पर्यो । त्यो डर थियो बैष्णब धर्म धारण गर्ने विधि ।

एक दिन मन्दिरमा नयाँ बटुकहरुलाई बैष्णब बनाउने कुरा चल्यो । त्यसको लागि आगामी एकादशी तिथीलाई साइत बनाएर गर्ने भनियो । एकादशीमा मन्दिरमा भव्य पूजा पाठ समेत हुने रहेछ । मेरो बाल सुलभ कौतुहलले बैष्णब बन्ने विधि जान्न खोज्यो । बासुदेब दाइलाई सोधिहालें ।  वहाँले भन्नु भायो, “मन्त्रले पूजा गरेर  शंख र चक्र कुँदिएको तामा वा सुनको पातालाई तताएर पाखुरामा डामिन्छ ।” मैले पोल्छ होला भनेर राखेको जिज्ञासामा वहाँले पोल्दैन त भन्नु भो तर मेरो मनले  पटक्कै मानेन । यो प्रक्रिया दाजुले मलाई जिस्क्याउन भन्नु भएको थियो वा साँच्चै नै हो मैले दोहार्याएर अझैसम्म कसैसँग सोधेको पनि छैन । जे होस ममाथि साह्रै ठूलो मनोबैज्ञानिक संकट आइलागेको थियो, त्यतिबेला ।

त्यसपछि मैले कुनै हालतमा मन्दिरबाट उम्कने वा बाहाना बनाएर भाग्ने उपाय सोच्न थालें । त्यसको योजना स्वरुप घरमा एउटा चिठ्ठी लेखें । यद्यपी त्यो चिठी घरमा पठाउनलाई नभई दाजुलाई पढाउन थियो । चिठीको सार यस्तो थियो —“ म घर आँउछु ।  भंैसीको भकारो सोहोरेर भए पनि अरुले पढेको विद्या नै पढ्छु ।  दैनिक सातवटा किताबका सातवटा पाठ पढ्ने मान्छेलाई यहाँ दुई श्लोक कण्ठ पार्न दिन्छन् र गाई हेर्न पठाउँछन् । यहाँ बसेर त म पण्डित होइन हली, गोठालो हुन्छु होला । आदि अदि ...”  चिठीका धेरै जसो कुराले म होम सिक भएको र विराटनगरमा कुनै हालतमा बस्न नसक्ने दर्शाउथ्यो । मेरो खास समस्या त लेख्नु पनि भएन, इज्जत जाने अर्को डर थियो । म बैष्णब बन्ने प्रक्रियाको भुतबाट तर्साइएको थिएँ ।
पत्र लेखिसकेर आफ्नै किताबको भित्र पट्याएर  अलिकति देखिने गरी राखें र उक्त किताब दाजुको संगै राखिदिएँ । अनि चिठी पठाएर आँउछु भनी दिनभरी बजार तिर भागें । फर्कदा दाजुले मेरो पत्र पढिस्क्नु भएको रहेछ । 

पत्रले राम्रो काम गर्यो ।  दाजुले मलाई घर फर्कन गाडि चढाइदिनुभयो । नौ दिनको पाञ्चाली मन्दिरको बसाईलाई छोडेर म अब आफ्नै घर फर्कने भएँ । मलाई उतीबेला आफ्नो भविश्य प्रति कुनै चिन्ता थिएन । म २ दिन पछिको समेत कल्पना गर्न सक्दिनथें  होला । 

त्यस मन्दिरमा भएका घटनाहरु मध्ये एउटा घटना उल्लेखनीय छ । एक दिन विराटनगर हुलाक कार्यालयको छेउमा घर भएको एउटा बुढो मान्छे साह्रै बिरामी भएछ । उसको दशदान बैतरणी गर्ने भनेर मन्दिरका बटुकहरु लिन एक जना गुरुजी आए । अरु सबै जना धोती लगाएर दशदान लिन गए । मैले धोती लगाउन जानेको थिइन । जाने पनि मेरो धोती अत्यन्त ठूलो थियो । मैले तौलिया बेरेर नै काम चलाएँ । हामी गए पछि दश दान बैतरणीको  काम शुरु भयो ।  म केही पछाडि नै थिएँ ।  दाजुले मलाई स्वर्ण दान लिने बेलामा अघि सर्न संकेत गर्नु भएको रहेछ, मैले बुभिंmन । म त बस्त्र दानमा परें । ‘तँ लाटो अघि सर्नु पर्देैन’ भनेर वहाँले पछि पनि गाली गर्नु भो । तर त्यतिबेला मलाई स्वर्ण र बस्त्रमा कुनै अन्तर थिएन । बरु मैले पाएको रु ७५  दक्षिणा भने  मुल्यवान थियो । तर त्यो पैसा समेत पछि मावलमा रातेखोलामा पौडि  खेल्न जाँदा हराएँ । 

यसरी म लगभग २०, २५ दिनको मधेश घुमघाम र बसाइ पछि  घर फर्किएँ । विद्यालय जान थाल्दा शैक्षिक सत्र शुरु भएको डेढ महिना वितिसकेको रहेछ ।  म फर्किएकोमा शिक्षकहरु अत्यन्त प्रशन्न हुनु भयो । किनकी कक्षाको चतुर छात्र मध्येको म एक थिएँ ।  यसपछि  भने म नियमित स्कूल जान थालें । ममा पण्डित हुने भुत एकप्रकारले समाप्त भएको थियो ।

पण्डित यात्रा भाग २

म आफ्नो एस. एल सी परीक्षा पश्चात केही न केही कुरा सिकेर बिताउन चाहन्थें ।  तर मैले यो कुरा कसैसंग भन्ने आँट गरिरहेको थिइन । घरमा दाजुहरु, दिदीहरु सबैजना भएकोले काम गर्न वा अन्य कुनै कुराको लागि घर बस्नै पर्ने बाध्यता पनि मसँग थिएन । त्यति बेला पनि आमाले एउटा छोराले संस्कृत पढिदिए हुन्थ्यो भनिरहनुहुन्थ्यो  । बा पनि संस्कृत विद्या भनेको अँध्यारोमा दियो बालेको जस्तै हो भन्ने गर्नुहुन्थ्यो । चार महिनामा पनि केही कुरा जानिन्छ भनेर बाले भनेपछि यही कुरालाई मैले अवसरको रुपमा लिएँ र पुनः सँस्कृत पढ्न जाने अल्पकालिन प्रस्ताब राखें (रिजल्ट आउनजेललाई) । 

हाम्रो साजबोटे खेत त्यही हिँउदमा बेचिएको थियो । त्यही पैसाले मधेशमा किनेको जग्गा पास गर्नलाई जानु पर्ने थियो ।  त्यही भएर हामी बाबु छोरा अलग अलग उद्देश्य लिएर सँगै मधेश झर्यौ । पैदलै । यस पटक हामी जुकेखाडी गएनौ । शनिश्चरे कान्छा हजुरबाको घरमा गयौं । यो २०५२ सालको फागुन तिरको प्रसंग हो । 
बा मलाई हजुरबाको जिम्मामा छोडेर आफ्नो काम तिर लाग्नु भो । कोहबरा तिर । अब शनिश्चरे पुष्पलाल गुरुको विद्यापिठमा मलाई पुर्याउने काम कान्छा हजुरबाको थियो । एक वा दुई दिन पछि वहाँले मलाई पुष्पलाल गुरुको आश्रममा लिएर जानु भयो । वहाँका अनुसार मैले चाहेको कोर्ष (लघुसिद्धान्त कौमुदी) सिध्याउन कमसेकम ३ वर्ष लाग्ने थियो । तर मैले यसमा कुनै प्रतिक्रिया गरिन ।  मलाई कोर्ष सिध्याउनु थिएन । रिजल्ट आउनजेलमा जति पढिन्छ पढ्नु थियो ।

मैले अब गुरुकुलमा बसेर पढ्नलाई बन्दोबस्तीका सामानहरु —थाल, बटुका, भाँडाकुडा, सिरक डसना, मेखला आदि  किन्नु पर्ने भयो । मसँग पैसा थिएन । हजुबाले त्यो झन्झटमा फस्नु भन्दा मलाई विर्तामोडमा लेखनाथ सानाबाको घरमा लगेर छोडिदिनुभो ।

सानाबालाई म चिन्दिनथें । सानिमासँग कुराकानी गर्दै र भाइ बैनीहरुसँग खेल्दै दिन बित्यो । साँझमा सानाबा आउनु भयो । वहाँले  किन आएको भनेर सोध्नु भयो । मैले पनि डराउदै आफ्नो उत्तर दिएँ । साँझमा त्यति धेरै कुरा हुन पाएन । 

बिहान मलाई बोलाएर सानाबाले कम्प्युटर सिक्न भन्नु भयो ।  कम्प्युटर मैले त्यसै दिन पहिलो पटक सुनेको शब्द थियो । म अलमल्ल परें । कस्तो हुन्छ ? कसरी सिक्ने ? यो सिक्दा के फाइदा हुन्छ ?  गाडि जस्तै पो हो कि ? आदि तर्कनामा रनभुल्ल हुदै मैले  यसबारे विभिन्न प्रश्नहरु गरे ।  वहाँले टि. भि. जस्तै हुन्छ, अक्षर छाप्ने मेसिन हो भने पछि केही धारणा त बन्यो तर त्यहाँ त धेरै पैसा लाग्ने रहेछ । कमसेकम चार देखि पाँचहजार । जति धेरै कोर्ष गर्दै गयो त्यति धेरै पैसा थप्नु पर्ने । मलाई केही न केही सिकेर नै त्यो चार वा पाँच महिनाको समय कटाउनु थियो । त्यसैले अब कम्युटर तिर ध्यान मोडियो । त्यस पछि मैले सानाबाकैमा बसेर वर्ड परफेक्ट, लोटस १२३ र एम एस डस गरी तीनवटा प्रोग्रामहरु सिके । त्यतिबेला वीन्डोज अपरेटिंग सिस्टम भरखरै शुरु भएको थियो ।  एस एल सीको रिजल्ट आए पटि कम्प्युटर सिक्ने काम स्थगित भयो । त्यसपछि पैसा तिरेर वा इन्स्टिच्युटमा गएर फेरि अरु सिक्न सकिएन, सिकिएन । यही चार महिना सिकेको कम्प्युटरको भरमा अहिले काम गरिदैछ । अचेल कलम छुुन अल्छि लाग्छ । बरु टाइप गर्न सजिलो ।

थाहा छैन मैले  चार वा पाँच महिना सँस्कृत पढेको भए मलाई अघिल्लो पढाईलाई कहाँ नेर सहयोग पुग्थ्यो । पहिलो प्रयासमा नौ दिन पढेको विद्या दोस्रो प्रयासमा त एक दिन पनि पढिएन । तर जे भए पनि प्रविधिसँग नजिक भइयो । 

यसपटक मेरा कान्छा हजुरबाको कञ्जुस्याईले गर्दा मैले फेरि पनि  बा आमाको सपना जस्ताको तस्तै छोडिदिए । त्यो विद्याबाट सँधै बन्चित भएँ ।  मेरो बिचारमा अचेल बा आमा पनि निक्कै नै फरवार्ड भैसक्नु भो, किनकी हुन नसकेको पण्डितप्रति र मैले पढेको विद्या प्रति पनि सन्तुष्ट नै हुनुहुन्छ ।

No comments: