Tuesday, October 6, 2020

कथाः पाहुना

 

अफिसको काम सकेर पाँच बजे तिर घर फिर्ने तयारीमा थिएँ । मोबाइलको घण्टि बज्यो । रुक्मिणीको रहेछ ।

-हजुर कतिबेला आउने ?"

-हिड्न लागेको, अब आइहाल्छु ।  भनें र सोधें- किन र ?

-आउदा बजारबाट तरकारीहरु लिएर आउनु । डेरिबाट दुध र दही पनि ल्याउनु है, घरमा पाहुना आएका छन् ।

-हुन्छ, अनि को पाहुना नि ?”

- आउनु न, थाहा पाइहाल्नु हुन्छ नि ! उनले भन्न चाहिनन् ।

-“किन, भन्न नमिल्ने ?   मैले फेरि सोधेपछि उनले छोटो जवाफ दिइन्-

-तपाईंकै कथाका पात्रहरु ।

फोन काटियो ।

फोन सुनिरहेका अफिसका साथीहरु हाँसे । कृष्ण सरसँग नसकिने भो । हुँदा हुँदा कथाका पात्रहरु समेत घरमै भेट्न आइपुगे । पात्रहरुलाई राम्रो सम्मान गर्नुहोला । नत्र तिनै पात्रहरु तपाईको बिरुद्धमा लाग्ने छन् । कुनै पात्रले कथामा आफूलाई हिरो बनाइदिएबापत धन्यबाद भन्न आयो होला । उनीहरुको आशय थियो । निस्कने बेला भै सकेको थियो । हेल्मेटको फिता बाँध्दै भनें-

म्याडमको किनमेल गराउने आइडिया होला । म अझ भनौं हामी दुबै पनि त एउटा न एउटा कथाको पात्र नै हौं । एउटा के कयौं कथा बन्छन हाम्रै पात्रत्वमा । ल है म निस्किएँ ।

कार्यालयबाट निस्कने बित्तिकै ट्राफिक जाममा परियो । काठमाण्डुको धेरैवटा रोग मध्येको यो रोग पुरानो हो । कोही ठूला गाडिको चेपबाट मोटरसाइकल छिराउने कोशिष गरिरहेका थिए भने । कोही लगातार हर्न बजाइरहेका थिएँ । सडक किन अवरुद्ध भएको थियो कसैलाई मतलब थिएन । उनीहरुलाई आफू अघि जानु थियो – बस । यो  मानिसहरुको दौडधुप उदेक लाग्दो थियो । दुई जना ट्राफिक प्रहरीहरु सिट्ठीको चर्को आवाजले सवारीलाई यता उता जान संकेत गरिरहेका थिए । बल्ल तल्ल जाम खुले पछि म माइतिघरबाट कोटेश्वर तिर लागे ।  कोटेश्वरको तरकारी बजारबाट निस्किदा छ बजि सकेको थियो ।

यस अघि लेखेको एउटा कथा सम्झिएँ-

रीमालाई कुनै दिन विर्तामोडको सडक पेटीबाट उठाएर काठमाण्डु आफैले लिएर गएको थिएँ । एक धनाढ्यका घरमा काम दिलाइदिन । वास्तविक जीवनमा उसको के हालत भयो म जान्दिन तर कथामा उसलाई अन्याय हुन दिंइन । उसलाई मैले संघर्ष पछि सफल तुलयाइदिएको थिए ।के कुनै कारणले  रीमा मलाई भेट्न आई होली ? वास्तविक जीवनमा ऊ सफल भई वा भइन ?

मलाई मेरा कथामा पात्रहरुप्रति भएको अन्याय मन पर्दैन । चाहे त्यो उसको वास्तविक जीवनमा  होस वा कथानकमा । वास्तवमा मेरा कथाका पात्रहरु विल्कुलै काल्पनिक हुदै हुदैनन् । उनीहरुको कथानकमा केही कल्पनाशीलता भने अवश्य जोडिन्छ । तर यही कुरा मैले रुक्मिणीलाई ढाँटेको थिएँ । त्यो मेरो परिस्थति अनुरुपको प्रतिक्रिया मात्र थियो ।

बाटो भरी सोच्दै थिएँ –

पहिला पहिला टाढको साइनो लगाएर आउने पाहुनालाई गोरु बेचेको साइनो भन्थे । आज भोलि कथाका पात्रहरु समेत पाहुना आउन थाले । त्यसै त महंगो काठमाण्डु, अझ पाहुनाको लर्को थपिएपछि कसरी थाम्ने । को चाँहि आएको रहेछ ? मनमा लाग्यो कोही टाढाको आफन्त पाहुना आयो होला अनि उनले रिसले कथाको पात्र भनिदिएको हुन सक्छ । के गर्नु हामी पाहुना राख्न सक्दैनौ  भनेर पहिल्यै हात ठड्याउन पनि सकिदैन ।

फेरि सोचें- पाहुना नै नदेखी नचिनी उसप्रति नकारात्मक किन हुने । मेरा लागि त्यो कुनै हिसाबले महत्वपूर्ण नै छ कि ? अतिथी देवो भवः भन्छन् – ठीकै छ । एक दुई छाक त हो । सुत्ने ठाँउ छँदैछ । हामीलाई सम्झेरै आएको होला । किन सानो मन बनाउनु ?

मेरो घरमा आएको पाहुना मैले यसअघि लेखि सकेका कथाको पात्र हो वा अब लेख्नु पर्ने (लेख्न सकिने) कथाको पात्र हो त्यो प्रष्ट त थिएन । त्यो पाहुना कहिल्यै नलेखिने कथाको पात्र पनि त हुन सक्छ । श्रीमतिजीले ठीक भनिन् - हरेक ब्यक्ति संसारको पाहुना नै हो र ऊ  कुनै न कुनै कथाको एउटा पात्र ।

मोटरसाईकललाई पार्किङ गरेर भित्र पस्दा बैठक कोठामा शाम वर्णका दुईजना अपरिचित बालिकाहरुसँग हाम्रा छोरीहरु खेलिरहेका थिए । लाग्यो- पाहुना त शाखा सन्तानै लिएर आएका रहेछन् । मलाई देखेपछि छोरीहरु बाबा भन्दै झुण्डिन आए भने अपरिचित बालिकाहरु केहि सतर्क भए र चुपचाप बसे ।

-पख नानीहरु, म नाना फेर्छु, फ्रेस हुन्छु अनि तिमीहरुसँग खेलौला है त ।”

यति भनेर तरकारी र दुध, दहीको झोला ठूली छोरीको हातमा थमाउदै म आफ्नो कोठा भित्र पसें । कोठाबाट फ्रेस भई निस्कदा रुक्मिणीसँग निर्मलालाई देखेपछि बल्ल प्रष्ट भएँ । पहुना साँच्चै नै कथाकै पात्र परिछन् ।

निर्मालाले मलाई देखे पछि उठेर नमस्कार गरी । उसको अनुहार फुङ्ग उडेको, अनुहारमा चाँया र पोतो फैलिएको, आँखाहरु भित्र गाडिएका, हेर्दैखेरि एउटा ठूलो पीरबाट गुज्रिएर बल्लतल्ल उम्केजस्तो लाग्दथ्थो । पूलचोक इन्जिनियरिङ क्याम्पस पढ्दाकी निर्मलालाई मैले उसैको अनुहारमा खोजिहेरें । अँह कतै पाइन । आँखाको चन्चलता,  अनुहारको लालित्य कही कतै छोडेर आइछ आज । त्यो निर्मल जल झै निर्मला मधेशको माटोले गलेर आइछ । तयहींको घामले डढेर आइछ । मैले नमस्कार फर्काएँ । निर्मलालाई मेरो कारणले कुनै असजिलो नहोस, यसका लागि आफू सतर्क थिएँ ।  

सोफामा बस्ने बित्तिकै दुबै छोरीहरु काखमा आएर बसे । निर्मलाका छोरीहरु पनि उसँगै टाँसिए । मैले त्यतैतिर फर्किएर सोधें-

के छ हाल खबर, थकित देखिन्छौ, कुनै पीरमा छौ कि ?

दबेको सानो स्वरमा उसले भनी –ठिकै छ ।

यस पछि रुक्मिणीको पालो थियो तपाई काल्पनिक कथा लेख्नुहुन्छ होला भनेको त सप्पै आफ्नै इतिहास मात्रै ?  तपाईको छेका शीर्षकको कथाकी पात्र निर्मला त आज हाम्रै पाहुना भएर आइन त ?  तपाई वास्तबमा कथाकार भन्दा वढी  प्रेमकथा अझ आत्मकथाकार हुनुहुदोरहेछ नि त !

मलाई कुनै जवाफ दिनु थिएन । उनको शंकालु मनमा मैले लेखेको त्यो कथा पढे पछि विवाह अघि अर्कै केटीसँग अफेयर रहेछ भन्ने लागेको थियो । यस बारेमा सोध्दा मैले भन्ने गरेको कुरा आज झुट सावित हुँदै थियो । त्यति बेला कथाकारहरु काल्पनिक कुराहरुलाई आफ्नै जस्तो बनाउन र आफ्ना कुरालाई काल्पनिक जस्तो बनाउन निपूर्ण हुन्छन भनेर टारेको थिएँ । वास्तबमा निर्मला  कुनै दिन मेरी प्रेमिका नै थिई । वास्तविक जीवनको । आज उनको शंकालाई सत्यको साविति दिइरहेकी थिई निर्मलाले –पाहुनाको रुपमा आफ्नै अघि उभिएर ।

राधाको प्रेम अघि रुक्मिणी जल्नु अस्वभाविक थिएन । तर कृष्ण नैतिक धरातालमा उभिएकोले न त रुक्मीणीले राधा प्रति, न त राधाले रुक्मिणीप्रति बैरभाव राखेको देखियो । यो कृष्णलीलाको अनुभव आफ्नै जीवनमा हुदै थियो । यो सब हुनुमा निर्मलालाई समयको घनचक्करले पेलेको थियो भने रुक्मिणीलाई पति पत्नीको बलियो बन्धन र विश्वासले बाँधेको थियो । र त उनले निर्मलालाई पाहुनाको रुपमा स्वीकार गरिन् ।

अन्य हालखबर र सामान्य भलाकुसारी भयो । खाना पाकिसकेको रहेछ । पहिलो लटमा निर्मलाका दुई र हाम्रा दुई गरी चार जना भुराभुरीलाई खुवाउने कुरा आयो । निर्मलाकी सानी छोरी भित्र सुतेकी रहिछ - चार महिनाकी । जम्मा पाहुना संख्या चार ।

सबैले खाना खाई किचनको काम सिध्याउँदा रातको नौ बजेको थियो । त्यसपछि केहि बेर फेरी गफगाफ भयो ।निर्मला बिद्रोह गरेर घरबाट हिडेकी रहिछ । बिद्रोह पनि के भन्नु, आफ्नैहरुले घरबाट निकालिदिएछन् । शादी अघिदेखि नै दहेजबाट शुरु भएको बार्गेनिङ शादी पछि पनि यथावत रहेछ । झन् छोरी पाउन थालेपछि त त्यसका हाँगा विंगा पलाएर कति धेरै फैलिएछ । सासु ससुरा तथा पति समेतले ठूलो आशा राखेका रहेछन् – तेस्रो सन्तान छोरा हुन्छ भनेर । तर त्यो आशा निराशामा मात्र होइन भौतिक आक्रमण र दुरब्यवहारमा परिणत भएपछि असैह्य भएर घर छोडेकी रहिछ निर्मलाले । मेरो पहिलाको मोवाइल नं. रुक्मिणीले बोक्ने गरेकोले उनीसँग सम्पर्क भएर सोधी खोजी गर्दै हाम्रो डेरामा आइपुगिछन् । साहारा र सहयोगका लागि । यी सबै कथा उनले मलाई नभई रुक्मिणीलाई अघि नै भनिसकेकी रहिछन् ।

- बरु तिमीले उतिबेलै बिद्रोह गरेर, छेका तोडेर कृष्णसरसँग बिहे गरेको भए यो दिन देख्नु पर्दैनथ्यो ।” हैन ! रुक्मिणीले यति सहजै कसरी यस्तो कुरा गर्दैछ, म छक्क परें ।

- के थाहा, कृष्णसरलाई पनि मैले छोरा दिन सक्दिनथें होला । निर्मलाको उत्तर ।

-होइन, तिमीलाई पनि छोरा नै चाहिएको हो कि पारिवारिक सुख शान्ति ?”  मैले अलि झोंकिएर निर्मलालाई सोधें । ऊ केही बोल्न सकिन । केही बेरमा भन्दैथिई –

- “अब जे हुनु भै सक्यो । विगतलाई सच्याउन सकिदैन । फेरि कृष्णसरको भाग्यमा मेडम हुनुहुदो रहेछ र मेरो भाग्यमा मेरै दुष्ट, पापी पति ।

त्यसो भन्दा बालकृष्ण समले लेखेको दुई आदर्श वाक्य सम्झिएँ – पति भक्ति त मर्दैन पापी पति भए पनि, देशभक्ति त मर्दैन चुत्थै देश भए पनि ।

-के गर्नु तिम्रा भाग्यमा म जस्तो असल पति पाँउन लेखेको रहेनछ । माया गर्छु भनेकै थिए । कलेज पढ्दा, प्रष्ट गरी । तिमीले बुझेनौ । बुढीको शंका यसै सत्य उसै सत्य, मैले मनको कुरा फुकाई नै दिएँ ।मेरो यो भनाईले भने दुबैलाई भित्र कतै नराम्रोसँग छोयो – आआफ्नै किसिमले । रुक्मीणीलाई लाग्यो होला आफ्नो पतिको त पूर्व प्रेमिकासँगको माया अझै उस्तै रहेछ । कतै यो आफ्नैलागि प्रत्युत्पादक त बन्ने होइन ? निर्मलाले त पश्चाताप गर्नुको पनि कुनै अर्थ थिएन । तैपनि उसलाई उसकै विगतले नराम्रोटसँग चिमोट्यो ।

गफको क्रम अनायस रोकियो । कसैसँग कुनै शब्द भन्नलाई बाँकी नभएझै भयो ।

पाहुना कोठामा निर्मलाको परिवारलाई छोडेर हामी जोइपोइ आफ्नो कोठामा छिर्यौ । सुत्न लाग्दा रुक्मिणीले भनिन्- “त्यसो त हाम्रा पनि दुई वटी छोरी मात्र छन् ।”

मलाई निर्मलाको कथा र आफ्नो कथामा केही फरक लागेन । फरक यति मात्र हो छोरी मात्र पाएर पनि रुक्मिणीको पति उनकै पक्षमा छ तर निर्मलाको पति ?  केही बेर चुपचाप बस्यौं दुबै ।

भनें- निर्मला र हाम्रो समाजको रोग एउटै हो । मात्र अलिकति मात्राको अन्तर छ । त्यहाँ बढी र यहाँ केहि कम । बस । हामी प्रति छोराको आशा नगर्नेको के यहाँ कमि छ र ? तिम्रै सासु ससुरा, परिवारका अन्य सदस्य, माइति, मावली । मात्र यति हो- प्रकटमा ब्यक्त गर्न सक्दैनन् । गाँउका मान्छेको सोच धेरै पछि छ कान्छी । हरेक सासु ससुरालाई पिण्ड चाहिएको छ । उनीहरु छोराको माध्यमबाट बैतरणी नदी तर्न चाहन्छन् - मरेपछि । जिउँदो छोरालाई नाविक बनाएर ।

“फरक छ । आज मधेशमा निर्मलाहरु गलहत्यायिन्छन् आफ्नैहरुबाट । याताना, दुर्वव्यवहार सहन बाध्य छन् निर्मलाहरु । आफ्नै पतिका समबयस्कहरु तथा ससुरा तथा जेठाजु समेतबाट हुने ब्याभिचारबाट बचाउन भन्दै घुम्टोको आवरणले महिलालाई छोप्दा त्यस्ता व्याभिचारीहरुलाई नांगेझार पारेर ठिंगुराउन नसक्ने समाज र सभ्यताको के कुरा गर्नु  ? महिलालाई जिउदै आगोमा जलाउने, बोक्सी मानेर अभक्ष खुवाउने पनि तिनै समाजका बुज्रुकहरु हुन् । के जनचेतना नभएको भन्न सुहाउँछ ? मेरो बिचारमा मधेश भनेको महिलाहरुको लागि नरक हो ।रुक्मिणीको आक्रोश पुरै मधेशप्रति खनियो । यस्तो लाग्यो दिउसैदेखि निर्मला पाहुना आएर उनीसँग मनका पीडाहरु अलि धेरै नै बिसाइछ।

मैले यसमा धेरै बोल्नु थिएन । मलाई मेरै पहाडी समाजको यथार्थताले पोलेकै थियो ।ठाउँ अनुसारको मात्रात्मक घटि बढीको कुरा गर्नु भन्दा सिंगो विश्वमै महिला प्रति हुने दुर्व्यवहार र विभेदसँग परिचित भैसकेपछि मधेश र पहाडमा यस्तो उस्तो भनेर उफ्रनुको कुनै तुक देखिन । बरु अब निर्मलाको लागि के ब्यवस्था मिलाउने हो भन्ने कुराले पिरोलिएँ । भनें– बरु अब यिनीहरुलाई के गर्ने, कहाँ टुङ्गो लगाउने ?”

पढेलेखेकी मान्छे दुई दिनमा केही न केही काम भेटिन्छ । बरु साथीभाइहरुसँग सम्पर्क गरी अलिकति सहयोग चै हामीले गर्नै पर्ला । जागिर जता भेटिन्छ, त्यहीअनुसारले नजिकै डेरा खोज्नु पर्छ । क्रमशः सबै समस्या ठीक हुदै जान्छ ।” रुक्मिणीमा निर्मलाप्रतिको विश्वास कति छिटो झाँङ्गिएछ मैले पत्तै पाईन ।

-दुधे नानी लिएर कसरी काम गर्न सक्ली त्यसले ?” मैले जानी जानी अड्को थापीदिएँ ।

-मैले कसरी खाएँ ? हो त्यसरी नै खानु पर्छ । किन सकिदैन ?उनले आफ्नै उदाहरण दिएर प्रतिप्रश्न अनि समाधान सहितको उत्तर दिए पछि म चुप भएँ ।

रुक्मिणीको आजको व्यवहार र सोचबाट पनि केहि सिक्न सकिने अन्दाज गरें । उनी प्रति अगाध माया उर्लेर आयो ।

गन्थन मन्थन गर्दागर्दै कति खेर निदाइएछ पत्तै भएन ।


- रचना मिति २०७७/०७/२० राजविराज, सप्तरी