Tuesday, May 30, 2017

गीतःसानो कुरामा तिम्ले चित्त दुखायौ

सानो कुरामा तिमीले चित्त दुखायौ

किन यत्ति छिट्टै बाटो फुकायौ ?



तिमीले सुनेनौ, हो कि बुझेनौ ?

या फेरि बुझ्ने कोशिषै गरेनौ ,

त्यसैै भएर होला त्यो मौका चुकायौ

व्यर्थै तनावमा जिउज्यान सुकायौ ।


ऐना झैं लाग्दथ्यो, म त छर्लंग नै छु

एकै क्षणमा के भो नबुझेर अचम्म छु

किन आफ्नो कुरा मनमै लुकायौ ?

अनि फेरि एक्लै त्यो मन दुखायौ ?


खुसी छौ रे आज, तिम्रो अलग्गै बाटो

म कल्पन्छु  कैले भरिन्छ यो खाटो

कहाँ  हुन्छु खुसी ?यो  दीलमा दुखायौ

त्यो सानो कुरामा  किन चित्त दुखायौ । 

Saturday, May 13, 2017

गजलः बैगुनीको जात रैछौ, गुन दिएनौ ।



बैगुनीको जात रैछौ, गुन दिएनौ ।
मलाई तिम्रो आफ्नो मान्छे हुन दिएनौ ।।1।।


कस्तो होला मन भित्रको माया नपाउँदा,
किन फेरि धक फुकाई रून दिएनौ ? 2।।


सिंहमरमर बदनमा लाग्ने हो कि दाग !
गोरी तिम्रो सुन्दर रूप 'जुन' दिएनौ ।।3।।

दिवाना म! हेरिरहें, बृहन्नला* बनी,
फक्रिएको गुलाबलाई छुन दिएनौ ।।4।।

खोजेदेखी चाँदी भने जति पनि मिल्ला
'जनार्दन'लाई अकबरी सुन दिएनौ ।।5।।


*अर्जुनकाे गुप्तबास बस्दा बृहन्नला छद्मनामयुक्त नपुंषक (तेस्राे लिंगी) भेष थियाे ।(पुरानाे रचना हराएकाेले संझनाकाे अाधारमा पुनर्लेखन गरिएकाे ।




कथाःस्वीकृत अपराध र वर्जित प्रेम

टन्टलापुर घाममा एक्ले माझी एकोहोरो तमोरको पानीमा खेलिरहेको थियो । माथिबाट जति नै घामले पोले पनि  तमोरको चिसो पानीले उसको हात र खुट्टाहरुमा शितलता प्रदान गर्दथ्यो । घरि घरि जाल हान्दा पानी उछिट्टिएर केही थोपाले उसको अनुहार र शरीर समेत सिंचित गर्दथ्यो । त्यसैले पनि ऊ कुनै थकाई महशुश नगरिकनै दिनभरी माछा मार्न सक्थ्यो । उसले आज पनि त्यस्तै तीन चार शेर माछा मारिसकेको थियो ।
–“ ए माझि, यहाँ आ त !” आवाजले झस्किएर पछाडि फर्किदा उसले दुई जना सरकारी मान्छे देख्यो । एक जना अड्डाका कर्मचारी जस्तो र अर्को सिपाही ।
–“हजुर !”  करीब करीब कामेको स्वरमा डराउदै उसले ध्यान दृष्टि दियो ।
–“ताप्लेजुङ्गको देउलिङ्गे कता पट्टि पर्छ ?”,  आगन्तुक मध्ये सिपाहीले सोध्यो ।
–“ ऊ... त्यही देखिएको गाँउ त हो नि हजुर !”
–“ त्यहाँ भँडारी गाँउ कता पर्छ नि ? ” सिपाही फेरि बोल्यो ।
–“ देउलिङ्गेबाट उसो उसो कर्यु कर्यु उकालो जाँदा पुगिहालिन्छ, तेस्तै एक घडि त लाग्ला नि  हजुर!
–“ लु खोलो तारिदे त !” अलि जरखरिएको स्वरले अड्डाको मान्छेले भन्यो ।
उसको मनमा अनेक आशंका बढ्न थाल्यो । किन यति टाढाबाट सरकारी मान्छे आए ? यो पक्कै पनि शुभ होइन, फेरि भँडारी गाँउ नै किन चाहिएछ, यिनलाई ! कसले के विगार्यो ।  कतै शत्रु लागेर झोस पोल पो पर्यो कि ! मन मनै अनेक तर्कना गर्दै आगन्तुकलाई एक्लेले पारी तारिदियो ।  पारी तरेपछि उनीहरु फटाफट हिडिरहें ।  जंगलले नछेकुन्जेल उसले हेरिरह्यो तिनीहरुलाई ।
एक महिना भयो होला कान्छा भँडारी खसेका । “बुढा पनि साह्रै नै बुढा भएर बिते बिचरा ! गाँउकै बुढा थिए होलान हौ ।  कान्छी मुखिनीले पनि साह्रै धेरै सेवा गरिन् । के गर्नु तिनको कर्मै खोटो । कस्तो लाँउ लाँउ र खाँउ खाँउको उमेरमा बुढासँगै पोलिनु पर्यो । यो छेत्री बाहुनको रीति पनि कस्तो हो कोनि ! उसको छोरो जेठो ! कस्तो निर्दयी !  बाबुलाई दागबत्ति दिंदा त लौ रोएन, भरभराउदो उमेरकी आमालाई कसरी पोल्न मनले मानेको हो ! हुन त सौतेनि आमा ! छ्या कस्तो चलन हो यो सति पोल्ने ! एक्ले एक्लै फतफतायो  भँडारी गाँउको कुरा सम्झेर । “हे भगमान, कुनै दिन त यो मूलुकका राजाले सति नपोल, भनेर हुकुम छोडे पनि त हुन्थ्यो  होला ।  खै उहिल्यै मान्देब राजाले आफ्नी आमालाई बाबुको सति जान दिएनन् थे भन्छन । तर के गर्नु कहाँको राजा, कहाँ यो जंगलामुलुकका रैति ! दशवर्षे काखको छोरो छोडेर जिउदै जलिन कान्छी मुखिनी बिचरा !” उसको आँखा अघि कान्छी मुखिनीको  चिच्याहट र मुखियाको  चिताको डरलाग्दो आगो  नाच्न थाल्यो । किन हो कुन्नि, यस्ता कयौं लाश पोलेको देखेको छ उसले । तर त्यो घटना सम्झदा उसका आँखा रसाइहाल्छन् । एक्ले आँखा मिच्दै रुखको सियाँलमा बस्यो ।
“ खै धर्म, धर्म भन्छन् । यो धर्म हो कि होइन, त्यसरी भरिलो बैसकी आइमाई पोल्ने धर्मले के उँभो लाउला र ! झन् दुई साता अघि चाँगे तिरका मल्हामीले  कस्तरी सतिलाई ढुङ्गाले हानी हानी लडाएर बेहोश पारी आगोमा हालेका थिएँ । उफ तिनेर्को धर्म ! सब मल्हामीहरु राक्षस जस्तै देखिएका । ” एक्लेले सियाँलमा बसेर  सम्झियो ।
एक्लेले मुखिनीलाई सँधै देख्थ्यो, तिरो तिर्न जाँदा ।  मुखिया र मुखिनीको जोडी नमिलेको देखेर ऊ सधै हैरान हुन्थ्यो । उसको पापी मनमा मुखिया मरे पछि मुखिनीलाई आफ्नी बनाउने कल्पना  पनि कति पल्ट आयो – गनेर साध्यै छैन ।  के गर्नु उसका आँखै अघि उसकी कल्पनाकी प्रेमिकाको जीउ आगोले निल्यो ।
–“ आ ! आजुलाई पुग्यो अब, घर जानु पर्ला । बिर्सेर उसले ठूलो स्वरले बाेलिपठायाे । जाललाई सम्हालेर डुङ्गामा राख्यो । दिनभरी मारेको माछा पोको बाँधेर जालसँगै राख्यो र डुङ्गा खियाउन थाल्यो ।  केही बेरमा बगर एक्लो भयो । एक्ले भन्दा पनि एक्लो । 
घर त भन्यो नि !, एक्लेको पनि के घर भन्नु, एक्लो ढेडुको गुड भने पनि हुन्छ । झुक्किएर आफू एक्लै फतफताउनु बाहेक उसले कहिल्यै बोल्नु पर्दैन, कसैलाई अह्राउनु पर्दैन, बोलाउनु पर्दैन । उसलाई कसैले बोलाउदैन ।  कैले काही त महिंनौ दिनसम्म मान्छेको आवाज नसुन्दा ऊ आफ्नै आवाज समेत चिन्दैन । साँच्चै, महिंनौ बोलिएन भने आफ्नो आवाज आँफैले चिनिएला त !
कमसे कम एक्लेले आफ्नी आमालाई जिउदै पोल्नु परेन । ऊ करीब दशवर्षको हुँदा उसको बाबुभन्दा पहिला नै आमा मरिन् । आफ्नी आमा आँफै मर्न पाएको सम्झेर एक्ले हर्षित बन्छ । कति फरक छ जिउँदै जल्नु र कालले लानुमा । कति फरक छ मर्नु र मारिनुमा । मातृहत्याको कसुर गरेन उसले ।
एक्ले सोह्र वर्षको हुँदा उसको विहे भयो । विहे पछि चौध वर्षकी गोरीलाई माया गर्ने मौका पायो । कति मीठो र मायालु थियो जीवन । घरमा जहान हुनु भनेको स्वर्गको भोग नै रहेछ । बाबु, छोरा, बुहारी, सानो परिवार भए पनि सुखी परिवार थियो । सबै दुःख अभाव, पीडाहरु मायाले भुलाइदिदो रहेछ । सबै काल सधै भरी सबैको जीवन यस्तै हुनु नि ! साँच्चै भन्नु पर्दा गोरीलाई अँगालो हालेर रातमा मात्र हैन दिनमा पनि कति धेरै माया गर्दथ्यो ऊ । यस्तो लाग्थ्यो ग्रन्थमा लेखिएका अतिरञ्जित प्रेमकथाहरु सब मिथ्या हुन् । साँच्चै स्वर्गीय प्रेम हेर्न एक्लेकै घरमा जानु पर्थ्यो ।
समयको गति सधै एकनासको कहाँ हुन्छ र ! दैवले एक्लेको खुसी पन्ध्र महिना पनि हेर्न सकेन । सुत्केरी व्यथासँगै गोरीले आफ्नो सबै व्याथा लुकाइदिई ।  गोरीकै प्रतिमुर्ति थिई उसकी भरखर जन्मेकी छोरी पनि । तर पनि उसले धर्ति भन्दा स्वर्ग नै मनपराई । साह्रै छोटो समय सास लिएर – उसले आँखा उघार्नै सकिन । त्यो साउनको भयंकर रातको संझनाले एक्लेलाई घर भित्र छिरे पछि चिमोट्न थालिहाल्छ । त्यसै वर्ष पुषको स्याँठले उसको बाबुलाई पनि खायो ।  कुनै जराबुटाले भेटेन । धामी झाँक्रीलाई पनि कालले टेरेन । आखिर एक्ले त्यसैबेला देखि एक्लिएको थियो । घरमा एक्लो रहेकोले गाँउलेहरुले एक्ले नाम राखिदिए । उसलाई दोभानको घाटमा आउनेजति सबैले एक्ले माझी भनेर चिन्दछन् । प्रत्येक रात छानामा झुण्डिएका बँदियाको त्यान्द्रो हेरेर आफ्नो विगत नियाल्नु, मनमा कुरा खेलाउदा खेलाउदै निदाएर आफ्नो जीवनको त्यान्द्रो भोलिका लागि नचुडाइ जतन गर्नु नै उसको रातचर्या हो । दिनचर्या त बरु सुखमय नै छ । दिनभरी माछा मार्यो, एक्लै तमोरको चिसो पानीमा खेल्यो । कोही बटुवा आएभने पारी तारिदियो । उसका कर्म र धर्म तिनै  हुन् ।
त्यो रात उसले गोरीलाई गौण र कान्छी मुखिनीलाई प्रधानता दियो, सम्झनका लागि ।  गोरीले उसलाई साह्रै माया गर्थी  तर समयले त्यो माया पनि फिका पारेछ कि क्या हो । फेरि दैवले नै चुडे पछि जति माया गरेर, सम्झेर नै के गर्नु ! बरु कान्छी मुखिनी एक्ली भएकी  थिइन्– राम्री र तरुनी पनि  ।  उनलाई देख्दैमा कति चोटि कुतकुत उठ्थ्यो । “विधवा भइन भने यिनैलाई लिएर भाग्नु पर्यो ।” कति चोटि बिर्सेर एक्लै फतफताएको थियो एक्ले ।  ऊ कान्छी मुखिनीमा गोरीको आभास पाउथ्यो । तिनै मुखिनीले गर्दा त हो नि, गोरीलाई सम्झेर रुन छाडेको । गोरी र सास फेर्न नसकेकी छोरी सम्झेर नौ-नारी गलेर आए पनि ढिंडो – रोटो पकाएर खाने जाँगर तिनै कान्छी मुखिनी सम्झिएपछि मात्र आउँथ्यो । त्यसो त ऊ कहिल्यै घरमा मुख धुने, नुहाउने, लुगा धुने गर्दैनथ्यो । उसको शरीर र बस्त्र दुबै तमोरको पानीले सफा बनाउँथ्यो, बगरको घामले सुकाइदिन्थ्यो ।
भोलिपल्ट बिहान एक्ले निकै नै ढीलो गरी उठ्यो । रातभरी मनमा कुरा खेलाएर बसेपछि बिहानीपख निदाएको थियो । उठेर हतार हतार अँगेनामा आगो सल्कायो । हिजो मारेका माछा शिलमा उनेर अँगेनामाथि टाँग्यो । च्यादानीमा पानी ततायो ।  कसाैंडीमा अलिकति ढिंडो ओडाल्यो । बेलुकै माछा पकाएर राखेको थियो, अलिकति पानी र नुन थपेर ततायो ।  “मर्न सकिदैंन, के गर्नु बाँच्नलाई खानै पर्यो ।” सोच्यो –“आज चै कति माछा मारिएला, गाउँ तिर लगेर मकै साटेर ल्याउनु पर्ला, के गर्नु छाक टार्नै पर्यो ।”
दिउँसो खोलामा माछा मार्दै  गरेकोबेला भोलिपल्ट पनि एक्ले तमोर कै पानीमा देखियो ।  एकोहोरो बगेको जलप्रवाहले स्वाँऽ.. को अझ एकोहोरो ध्वनी प्रवाह गरिरहेको थियो, जसले गर्दा काममा लागेपछि सामान्यतया वारी पारी के भइरहेछ, थाहा हुदैनथ्यो । कसैले  पारीबाट औंलाको सिट्ठी बजाउँदा ऊ झस्कियो । –“स्वीऽय...।” हिजो तरेर जाने सरकारी मान्छेहरु नै रहेछन् । तर आज उनीहरु एक्लै थिएनन् । साथमा अरु पनि कोही थियो । नदी किनारामा आइपुगे पछि उसले नियाल्यो–  कान्छा मुखियाको जेठो– चन्द्रकान्त र हरि काकालाई हतकडि लगाइएको छ ।  एक्ले आश्चार्यले  केहीबेर हेरेको हेर्यै भयो । “छिटो गर !” भन्ने भावयुक्त अलि कठोर संकेत पछि ऊ हतार हतार डुङ्गा बाँधेको डोरी फुकाउन थाल्यो ।
सानो डुङ्गा भएकोले एकपटकमा दुई जना भन्दा तार्न नसक्ने बिन्ति बिसायो एक्लेले । यसको पछाडि रहस्य प्रतिको  जिज्ञासा मेटाउन सकिन्छ कि भन्ने थियो उसको मनमा ।  यिनीहरुलाई किन पक्डिएको हो भनेर सोध्ने आँट कहाँ पुग्थ्यो र ?
–“लु  तेसो भा, यिनीहरुलाई पारी पुर्याएर आ त ।” अड्डाको कर्मचारीले हप्कायो ।
उसले कल्पना गरे जस्तै उत्तर आएकोले मन मनमा खुसी हुँदै उसले चन्द्रकान्त र हरि काकालाई डुङ्गमा बस्न संकेत गर्यो । हातमा हतकडी भएकोले असजिलो गरी दुई काका–भतिज डुङ्गामा बसे ।  एक्लेले किनारामा बहानाले ठेलेर पानीको प्रवाहमा आफ्नो डुङ्गा पुर्यायो ।
“ए काका, के कसुर गर्यौ हौ ? अनि पक्डियो त ?”, एक्लेलाई आफ्नै गाँउका मान्छेसँग त्यति जिज्ञासा राख्न कुनै  गाह्रो थिएन ।
“खै ! नखा विष भनु भने खाकै हो , तै पनि देउताको पाला देखि चलेको रीत भनियो ।”, हरि काकाले भने ।
आ ! काका, मैले त छेउ टुप्पो केही बुझिन हौ ।”, एक्ले ले कुरो बुझेन ।
“कान्छी आमालाई सति पोल्यौं अरे । सति पोल्नु पाइँदैन रे अब ।” चन्द्रकान्तले प्रष्ट पारिदियो ।
“उहल्यिै १० सालमा श्री ३ ले तेस्तो नियम बाँधेका रैछन्, खै हामी त यो जंगलामुलुकमा बसेर केही थाहा पाँउदौन ।” हरि काकाले अलिकति गल्ती नै गरेको भावमा खुईय गरे, मानौ त्यो सुस्केराले अन्जानमा गरेको अपराध क्षमा गर्छ ।
एक्लेले कति सति पोलेको देख्यो गनेर साध्यै छैन । आफू जान्ने भए पछि उसले देखेको रमिता नै त्यही त हो ।  यो ठीक वा गलत भनेर कहिल्यै बिचार गरेन । तर कान्छी मुखिनीलाई भने नपोलेको भए हुन्थ्यो भन्ने उसलाई लागिरह्यो । उसको लागि त कान्छी मुखिनी मुखिनी मात्र थिइनन्, उनी त जीवनको त्यान्द्रो  नचुडाउनलाई मलहम थिइन् । उसले उनलाई गोरीको स्थानमा राखेको थियो ।
–    “कान्छो छोरो सोह्र वर्ष मुनि, कान्छी छोरी ५ वर्ष मुनि भएका आइमाई र गर्भिणी स्त्रीलाई सति जान दिनु हुदैनथेछ ।  फेरि अड्डामा जाहेर गरेर, स्वीकृति लिएर मात्र सति जान, पोल्न पाइने अरे ।  के गर्नु यस्तो कुरो हाम्लाई था भकोभा, त्यो घनश्याम भर्खर १० वर्षको हुदैछ । एक किसिमले त हामी अपराधी नै भयौं  तै अज्ञानता प्रति केही निगाह हुन्छ कि ! एक पटक चै वडा हाकिमको पाउ पर्नु पर्यो । ज्ञान मात्र भा भए हाम्रो मनमा पनि दया नै नभएको त कहाँ हो र !” हरि काका एक्लै फत्फताए ।
यतिबेरमा डुङ्गाले अर्को किनारा छोइसकेको थियो । दुई अभियुक्तलाई त्यही छोडेर फेरि पारीको यात्रामा निस्कियो एक्ले ।
अड्डाको कर्मचारी र सिपाहीलाई खोले तार्दै गर्दा  सिपाहीले भन्यो,  “तिमी चाँहि सँधै यही घाट कुरेर बस्छौ ?”
“हजुर, दिनभरी यतै हुन्छु,” विन्ती बिसाउदै उसले उसले उत्तर दियो । “गाँउको पुछारमा छ हजुर, एक्ले ढेडुको गुँड । ”
–“याँ आउने सबैलाई सति पोल्न नपाउन्या नियम बाधेको छ – राजाले, भन्नु ।  सबै घाटका माझिहरुलाई यस्तै भन्न खबर गरिदिनु । बदमासहरु, सधै जंगली भएर हुन्छ ? उता श्री ३ महाराजले बाँधेको तेत्रो ऐन, थाहा भएन भनेर हुन्छ ? तिनेर्को रीति !” कडा स्वरमा कर्मचारीले आदेश दियो ।
–“ एति राम्रो नियम रैछ साहेब, भेटेसम्म सम्झाउँछु मान्छेहरुलाई । मलाई पनि पुण्यै होला ।”, एक्लेले  आफूले आज्ञा पालन गरेको प्रष्ट पार्यो । 
एक्लेले कुराेकाे चुराे बुझेकाले मनमनै खुसी देखियाे । खुसी यसकारण पनि देखियाे कि आफ्नाे अव्यक्त प्रेमिकाका अपराधीलाई सिपाहीले पक्डिएर लगेकाे थियाे ।
खाेलाे तरेपछि चारजनाकाे टाेली  नाकेडाँडाका टुप्पाेमा पुगुञ्जेलसम्म हेरिरह्यो एक्ले । उनीहरू छेकिएपछि किन हाे उसकाे मनमा झिलिक्क बत्ति बलेकाे अनुभब गर्याे । माछा मार्न छाेडेर उसले पनि गाँउकाे बाटाे ततायाे ।
यो घटनाको करीब १ वर्ष पछि श्री ३ बीर समशेरले जंगबहादुरको मूलुकी ऐनमा उल्लेखित सति प्रथा सम्बन्धि नियमहरुलाई पुर्नलेखन गरी “सति प्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार” जारी गरी व्यापक प्रचार प्रसार गरे । कयाैं प्रति छपाएर गाैडा, गाैस्वरा, थुम, प्रगन्ना र गाँउगाँउमा टाँस्न पठाए । पछि चन्द्र समशेरकाे पालामा आइपुग्दा कता कति थाेरै मात्रमा मात्र बाँकी थियाे याे कुप्रथा। त्यसकाे समेत नियन्त्रण गरी सति प्रथाकाे अन्तकाे घाेषणा भने उनै चन्द्र शमसेरले गरे ।

                                                                        ∞∞∞

Wednesday, May 10, 2017

गजलः फोहोरको थुप्रो छेउ नमरेको लाश थियो


फोहोरको थुप्रो छेउ नमरेको लाश थियो ।
अम्मलको नशा भित्र जाडो छल्ने आशा थियो ।।

 रात पनि कहालिंदो बेइमानी शहरको
कर्णकटु कर्कश लाग्ने भुस्याहाको साथ थियो ।।

 

बनाएर साथी तिनलाई तिनै सँग गुडुल्किदै,
न्यानो पना साट्दै साट्दै बचाएको साथ थियो ।। 

सभ्यहरु देखेकै हो ठूला ठूला महल भित्र
तिनै सभ्यहरुबाटै लखेटिने त्रास थियो ।

किन  खाते भन्छौ उसलाई ? किन एक्लिदैछ बच्चा ?
यसको उत्तर खोज पैल्हा, परिस्थिति खास थियो ।।

फ्याङ्लो गुन्द्री, मैलो बस्त्र, आकाशको छानो, 
जीवन धान्ने सम्पत्तिको बोरा उसको पास थियो ।। 

खाते बन्ने बाध्यताले रहरले होइन ।
सडकछाप बालापन नै एन जि. ओ को गाँस थियो ।


Thursday, May 4, 2017

गजलःआफ्नै मान्छे पर्यौ र पो आएँ

धेरै कर गर्यौ र पो आएँ ।
आफ्नै मान्छे पर्यौ र पो आएँ ।

ओठ टोक्दै अलि मस्किएर,
मीठो मुस्कान छर्यौ र पो आएँ ।

मुटु भित्रै बास बस्छु भनीकन
अल्लि नजिक सर्यौ र पो आएँ ।

लेकबाट बैंसको त्यो बेंसी झर्दा
बेंसी तिरै झर्यौ र पो आएँ ।

सुन्दर गुलाबको थुंगा दिई
प्रेमघडा भर्यौ र पो आएँ ।

अग्नी अघि, यज्ञ मण्डपमा
खाली सिंउदो भर्यौ र पो आएँ ।