कथाः झोला भित्र
नअटाएको कथा
-
जनार्दन कट्टेल
झोला छोडेर जाने बृद्धको कथा निकै नै मार्मिक थियो
। कोमल हृदय भएका सारा पाठक रुवाउने उक्त कथा पढ्दा धराबासीको आँखा नरसाउने कुरै
थिएन । इतिहासका कुपात्र मानिएका पात्र चन्द्रशमसेरको कति सुन्दर पक्षको उजागर भयो
यो कथामा । पात्रमा असल र खराब पक्ष दुवै पक्ष हुँदाहुँदै कत्रो भ्रम पालेर बस्ने
रहेछ मान्छे, एकतर्फी विश्लेषण र विश्वासको आधारमा । तथापि मलाई भने कता कता उक्त
विनिर्माणमा केही खड्किरहेको थियो । सति प्रथा अन्त्य यति सजिलै राजा वा श्री ३ को
इच्छामा भर पर्ने कुरा थियो वा थिएन, सधै मेरो मनमा जिज्ञासाको रुपमा रहरिहेको थियो ।
उता धराबासीको आधा बाटोमा उल्लेखित बसाईं सरेर
आएपछिको सन्ठीले बेरा गरेको घर, अनि पछि
किनेको शनिश्चरे बजारको घर मलाई वास्तविक भएर पनि औपन्यासिक
लाग्दथे । त्यो क्षेत्रमा कति पटक पुगियो । यहीं नेर भन्ने थाहा नभए पनि यतै कतै
होला भनी आँखाहरू उत्सुक हुन्थे । अझ ती खोरिया फाँड्न समेत मद्दत नगर्ने स्वार्थी आफन्तहरूको गाँउ कुन
होला, झोला भित्रको कथा छोडेर
जाने बृद्ध अझै जिवित छन् कि छैनन होला, जस्ता जिज्ञासाले कहिले काँही त्यस क्षेत्रको भ्रमणलाई अझ कौतुक
बनाउने गर्दथ्यो ।
सानो उमेरमा दर्जनौ पटक गएको भए पनि धेरै भएको
थियो त्यता तिर नपुगेको । करीब बाह्र बर्षको काठमाण्डु बसाइ पछि लोक सेवा आयोग, इलामको जागिरे जीवन शुरु भएको थियो । त्यस पछि भने
बेला बेला त्यता तिर जाने काम पर्न थाल्यो । पदपुर्तिकै प्रसंगमा । आफ्नै जागिरी
कर्मको व्यस्तताले त्यति धेरै घुमफिर र जनसम्पर्क नहुने । मेरो जिज्ञासाको
सापेक्षतामा कति पछिल्ला भ्रमणहरू निरर्थक रहे, गनेर साध्य नै छैन । एकपटक पदपुर्तिको सिलसिलामा खुदुनाबारी गा. वि.
स. जाने मौका पर्यो । यँहाको काम सकिए पछि जुकेखाडीमा रहनु भएका बढीबाको घरमा
भेटघाट गर्ने र त्यतै बास बस्ने मेलो समेत मिलाउन भ्याएँ । आधाबाटोको भु–पृष्ठ हेर्दा धराबासी र वहाँको आमालाई खोरिया
फाड्न असहयोग गर्ने आफन्तहरूको जस्तै लाग्ने गाँउको झझल्को दिन्थ्यो जुकेखाडीले ।
त्यो ठाँउ जङ्गलको सिमानामा रहेको र करीव तीस-चालीस वर्ष अघि खोरिया
फाँडी बस्ती बसाइएकोले त्यस्तो लाग्नु स्वाभाविक नै थियो । म यस अघि पुग्दा
धराबासीको आधाबाटो प्रकाशित भइनसकेकोले मलाई मेरै पुरानो ठाँउले नयाँ झझल्को
दिइरहेको थियो ।
जुकेखाडीको बसाइको क्रममा त्यसैदिन त्यही ठाँउमा
बसोबास गर्ने एक जना बृद्धसँग भेट भयो र
लामै गफ गर्ने मौका मिल्यो । संयोग नै भनौ- जसले धराबासीको घरमा आफ्नो जीवन कथाको
एउटा अंश बाल स्मृतिको रुपमा झोला भित्र छोडेर गएका थिए, उनै बृद्ध रहेछन् उनी ।
उनले त्यो लिखित कथा आफ्नी आमा र आफूले भोगेको वास्तविक कथा भएको पुष्टि गरे ।
सँगसँगै आफ्ना नलेखिएका कथाहरू धेरै भएको बताए । भने – के गर्नु धराबासीलाई कथा लेखेर दिंदा मात्र
छापिदिए । उनले मेरो पुरै कहानी सुनेकै भरमा लेखेर छापी दिए कति जाति हुन्थ्यो । साँच्चै, मेरा बा र आमाको आत्माले शान्ति पाउँदो हो ।
आफ्नी सति आमालाई साथमा लिएर गाँउ छोडेर भागेको
अलिखित कथा सुनाउदै गर्दा आफू दुखियाको सन्तान भएको ग्लानी प्रकट गर्दथे भने कतै
आफ्नी आमाको हिम्मत र क्रान्तकारितामा गर्व गर्दथे । उक्त कथा त्यसै हराएर जाने भो
। कसैले लेखिदिएनन् । कुनै साहित्यकार, कथाकारलाई चिनेको पनि छैन भनेर गुनासो समेत गरे । यस्तो लाग्यो – कतै म आफू नै कथाकार भै दिएको भए यही प्लटलाई लिएर
एउटा सुन्दर कथा बनाउथें ।
०००
काका–काकीसँग जङ्गलमै गोप्य रुपमा विदा भई हिडेपछि हामी निरुद्देश्य
यात्रामा निस्कियौं । म त यसै खुसी थिएँ । किनकी मैले सति भएकी, मरिसकेकी
भनिएकी आमाको काख पाएको थिए । सायद आमा खुसी हुनु र नहुनुको दोधारमा हुनुहुन्थ्यो
। उर्जाहीन, लक्ष्यहीन, असामाजिक प्राणको खुसी पनि के खुसी ? दुःख पनि के दुःख ? उहाँमा त अझै मान्छेसँग डर थियो । तिनै मान्छेले
आफूलाई सतिको रुपमा डढाएका थिए । ती सबै मान्छेलाई मुखिनी मरिसकी भन्ने भ्रम छ ।
कसैले देख्यो भने भुत भनेर भाग्ने वा प्रतिकार गर्ने सम्भवना पनि त्यत्तिकै थियो ।
काकाले साँझ पर्नु अघि तमोर तरिसक्नु भन्नु भएको
थियो । तर तमोर तर्न त्यति सहज थिएन । तमोरको प्रबाहले मान्छे त पात झैं बगाउन
सक्थ्यो । माझीलाई सहयोग माग्न आमाको आँट पुग्ने थिएन । त्यसमाथि खोला पारी तिरबाट
लास लिएर आएका मलामीहरू बगर भरी थिए । यसो हुनाले हामी दुई आमा छोरा ओरालो
लाग्नुको सट्टा तेर्सै तेर्सो दक्षिण तिर हानियौं । मध्यान्ह पछि शुरु भएको हाम्रो
यात्रा डाँडामा घाम बस्दा बाहनन्दे पुछारको खेत हुदै ल्याङ्बा खोला तरेर म्योवाखा
डाँडामा पुगेको थियो । म्योवाखा डाँडामा पुग्दा म भोक र थकाइले लखतरान भइसकेको
थिएँ । पाइला अघि बढाउनै सकिन । एउटा रुखको फेदमा हामीले आफूले बोकेको सानो भारी र
आफ्नो शरीर बिसायौ । काकीले बाटामा खानका लागि खट्टे बनाएर पठाइदिनु भएको रहेछ ।
दुवैजनाले खपाखप खट्टे खायौं र नजिकैको खोल्साबाट मानेको पातमा उघाएर चिसो पानी
पियौं । दिनभर निशब्द हिंडेर बसिएको पहिलो बास थियो त्यो ।
मारिएको पहिलो थकाइ थियो त्यो ।
खाजा खाए पछि थाकेको शरीर कति छिट्टै निदाउन थालेछ
। त्यसमा पनि आमाको काख जो थियो । पुसको त्यो साँझ, म्योवाखाको जंगल, अग्लो
डाँडामा भएको आमाको काखको सुख मेरो जीवनमा कहिल्यै नविर्सने गरी बसिरह्यो ।
साँझ छिप्पिदै गर्दा चिसो हावाले सेक्न थालिहाल्यो
। एक्लो जंगलमा निरिह दुई प्राणी केहीबेर सम्म जाडोले थरथर काँप्दै बसिरह्यौं ।
अति नै भए पछि आमाले भन्नु भयो –“अलि
गहिरो ठाम वा ढुङ्गाको फेदमा न्यानो हुन्छ । हिंड, केहि परसम्ममा भेटिन्छ कि !” त्यसपछि झटपट उठेर जुनको मधुरो उज्यालोमा हामी
पुनः हिड्न थाल्यौ । आफूले सोचे जस्तो ठाँउ नपाएकोले होला, आमा फटाफट हिडिरहनु भो, म पच्छ्याइरहें । बीचमा मैले दुई चार ठाँउहरू
सम्भावित विकल्पको रुपमा देखाएको भए पनि अझैं राम्रो ठाँउको खोजीमा वहाँ हिंडिरहनु
भएको रह्यो- म पछ्याइरहें । छिप्पिदो साँझमा किराहरूको किटिटि..., पश्चिम तर्फ गहिराइमा तमोरको सुसाइ र सुकेका
पातमाथि हिंडेको आमा छोराको पदचाप नै हाम्रा साहारा थिए । केही बेरमा दक्षिणमा
हामी तिरै फर्किएर सुतेका खेतका गह्राहरू र खेतको पुछारमा लमतन्न सुतेको कावेली
नदी टलक्क टल्किए । र अन्त्यमा एउटा ठूलो रुखको फेदमा पातै पातले भरिएको न्यानो
ठाँउ भेटियो । हामी त्यही सुस्ताउन थाल्यौ ।
“मान्छेको गन्ध जंगली जनावरले छिट्टै थाहा पाउछन् ।
आगो बालेर बस्नु पर्छ ।” आमाले त्यहाँ पुगेपछि
अत्यन्तै महत्वपूर्ण कुरा सुनाउनु भयो । अनि दर्शन ढुङ्गा घोटेर साह्रै मुस्किलले
आगो बाल्नु भयो । आगो पिल पिल बल्दा आमाको मुहार खुसीले चम्कियो । मलाई लाग्यो
आकाशको जुन भन्दा त मेरी आमाको मुहार कस्तो धपक्क बल्दो रहेछ । मैले आमाको
सुन्दरताको अनुभुति सायदै पहिलो पटक गरको थिएँ । अनि त्यो भन्दा बढी माया ।
मध्यराततिर म पातलो तन्द्रामा थिएँ । आमा निदाउनु
भयो भएन मैले थाहा पाइन । एकदमै डरलाग्दो जङ्गली जनावरको आवाजले म बिउँझिएको थिएँ
। बिउँझिदा आमा हतार हतार आगो ठूलो बाल्न कोशिष गर्दै हुनुहुन्थ्यो । वरिपरीका पात
सोहोरेर हालेकोले झण्डै डढेलो जत्रो आगो बल्यो । आगोको उज्यालोमा प्रष्ट देखियो – हामीलाई झम्टिने दाउमा एउटा डरलाग्दो चितुवा
दाह्रा किटेर गर्जिरहेको थियो । म अत्यन्तै डराएको र ठूलो स्वारमा चिच्याएँ । आमा
पनि चिच्याउनु भो । आत्तिएर आमाले एउटा अगुल्टो टिपेर चितुवा तिर
फ्याक्नुभो । चितुवा अझै अटेर गरी हामीलाई झम्टने दाउमै गर्जिरहेको थियो । धन्य
संयोग ! आमाले फालेको अगुल्टोबाट चितुवाकै छेउमा आगो सल्किएर ठूलो ज्वाला निस्कियो
। त्यसपछि भने बल्ल चितुवा भाग्यो । त्यसपछि हामी रातभरी डरले
थरथरी काम्दै एक आपसमा टाँसिएर त्यो भयंकर रात कटायौं । रातभरी आमाले आगोको ज्वाला
घट्न दिनु भएन ।
झिसमिसेमा कावेली पारीबाट दुईजना मान्छेहरू हामी
बसेको ठाँउमा आइपुगे । एक जना करीब पचास वर्षको, माथिल्लो तुना खुलै छोडेर घुँडासम्म आउने लामो दौरा लगाएको, त्यति कै लामो खुकुरी भिरेको, चिउडामा गन्न सकिने लामा लामा दाह्री पालेको, त्यो मान्छे देख्दैमा खुब रवाफिलो, गाउँकै सुब्बा
होला जस्तो देखिन्थ्यो । अर्को भने उसकै छोरा जस्तो – पहिरन उस्तै, जिउडाल उस्तै, उमेरले मात्र कलिलो लाग्थ्यो । अमरपुरको सुब्बा र
उनका छोरा रहेछन् । आफ्नो परिचय दिए र हामीलाई पनि सोधे । आमाले रातभरी बालेको
ठूलो आगो, चितुवाको गर्जन देखेर अनि
सुनेर सुब्बाका बाबु–छोरा अत्ताल्लिएका रहेछन् ।
अनि के भएछ भनी हेर्न आएका रहेछन् ।
आमा डरले बोल्न सक्नु भएकै थिएन । सुब्बाले भन्यो – “आइमी, केटकेटी मात्र पो रैछ । हाओ, तिमेर्को खप्पर चै दरो रैछ । मो त राती नै सको होला चितुवाले
भनिपठाको । लु तिमेर्को दिन बलियो
थिएछ ।”
सुब्बाले बोलिसक्न नभ्याउदै छोरा चाँहीले हप्कायो –“अन्त यहाँसम्म आएपछि पारी तर्नु पर्दैनथ्यो त ?”
सुब्बाको छोरोले हप्काए पनि त्यो गाली मलाई मीठो
लाग्यो । सायद आमालाई पनि त्यस्तै लागेको हुँदो हो । हामीप्रति अत्यन्तै सहृदयता
देखाएर हामीलाई आफूसँगै लिएर गएपछि आमाले पनि के भएको हो सबै बेलि बिस्तार
लगाइदिनु भयो । सुब्बाले चिन्दोरहेछ –हाम्रा बालाई । भन्यो –“ उहिल्यै धरान नुन बोक्नु जाँन्दा, अनि एक दुई फेर धनकुटा गौडा तिर बडाहाकिमको मा जाँन्दा पनि भेट भई पो
रहन्थ्यो हाउ !”
कावेली तरेपछि करिब एक घण्टा उकालो हिड्दा
सुब्बाको खेतको याक्सामा पुगियो । याक्सा भित्र पसेपछि टोपीले पसिना पुछ्दै सुब्बा
बर्बरायो –“थुक्का ! बाउन काठाहरूको
बुद्धि ! सति भन्या पुरानो थिति हो । तेस्तो अमानुष, अपराधी काम अझै छोडेनछ है, ताप्लेजुङ्गे बाउनहरूले ? हाओ, अनि एता त छैना त तेस्तो !”
सुब्बाको छोरो पनि बाबु जत्तिकै रवाफिलो थियो ।
हेर्दैमा देश दुनियाँ खान सक्ने लाग्थ्यो । भन्यो –“आभो सम्पत्ति खाने स्वास्नी ल्यायो, सौतेनी छोरो जन्म्यो भनेर जेठालाई भतभती पोल्याथ्यो । कान्छी आमालाई
पोलेपछि आफूलाई भने शीलत भयो होला, चाँठा !” झन आबो त चिट्ठै पारिगो नि
सौतेनी भाइले पनि छोडिपठायो । हाइना, कस्ता जङ्गली हुन् हौ त्यहाँका मान्छे ? यो छेत्री बाउनको जात पण्डित
हुने जात भन्थे – उसकै चै कण्डोमा बुद्धि ?”
अब बाबुको पालो थियो –“ तेसो नभन हाउ कान्छा, जे हुनु त भै गयो । यो मुखिनीको भग्यमा के लेख्या छ, अस्ति नै गाँउलेले मारिसक्या थिएछन् । उम्किएर आयो
। बरु हिजो चाइन् कसो चितुवाले भ्याएन !”
याक्सामा केही बेर गन्थन मन्थन गर्दै बसेपछि खेतका
आलि आलिमा घाम झुल्कियो । उत्तर पटिको पाखो अनि हिंउदको समय भएर होला, ढीलो गरी घाम आउने रहेछ । यसै गरी ढीलै भए पनि
आमाको जीवनमा पनि पारिलो घाम लागिदिए कस्तो हुन्थ्यो होला ? खाना खाने प्रसंगमा
सुब्बाले भन्यो – “आभो मुखिनी, बाहुनको बुहारी, हाम्रो भात चल्दैना, क्या
अर्ने ? खानु ता
परो नै !”
सुब्बाको बोलीभुईमा खस्न
नपाउदै छोरो चाँहि उफ्रिहाल्यो- “आ ! बाउ, बाउनको बुहारी त पैल्हा पो त । त्यो
ज्यान, त्यो शरीर, त्यो जात त पैल्हा नै तिनै बाउनहरूले चितामा
डढाइसके । आभो के को बाउन ?”
यी सबै जात र भातको विश्लेषण म बुझ्दिनथें । तर
मलाई के थाहा थियो भने लिम्बूका घरमा भातै चाँही खानु हुदैनथ्यो । मेरो पनि
ब्रतबन्ध गरिसकेको थियो । तर जे भए पनि आमा हुँदाहुँदै मैले बोल्नै कुरै भएन ।
“यत्रो सङ्कटमा हामीलाई यहाँसम्म ल्याएर उद्दार
गर्नु भएको छ । बरु म सबैलाई भात भान्सा गरिहाल्छु नि । तेसो अर्दा मलाई नि सजिलो, हजुहरूलाई नि ।”, अहिले भने ठूलै आँट गरेर आमाले जीत–जीतको कुरा उठाउनु भयो ।
सुब्बाले पनि त्यसमा सहमति जनाए । त्यसपछि कान्छाले चामलको भुने
देखाइदियो । भुनेबाट चामल झिकेर आमाले चारजानालाई कसौडिमा भात पकाउनुभयो । लेकको
घरबाट ल्याएको रायोको साग रहेछ । रायोको साग र दहीसँग त्यसदिन लिम्बुका गोठमा
पहिलोपटक लुगा नछोडाइकन आमा र मैले भात खायौं । मलाई लाग्यो, मेरी आमाको जात बाको चितामा साँच्चै
नै डढिसकेको छ र म पनि त्यही आमाको छोरा हुँ । कान्छाले कावेलीका
माछाको सुकुटी भन्दै सुकेका माछाको अचार बनायो । सुब्बाका बाबु छोराले हाम्रो
भन्दा बढ्ता त्यही माछाको अचार खाए ।
भात खाएपछि केहीबेरमा पेरुङ्गामा हालिएका चारवटा
सुँगुरका पाठा ढाकरमा बोकेर सुब्बेनी आइपुगिन् । खेतमा छाडा खेलेर हुर्किउन् भनेर
बेंसी तिर ल्याएको अरे । आफ्नो याक्सामा नौला मान्छे पाहुना देखेर सुब्बेनीले सोधिन् –
–“अच्या, कन् तरेमान् हा पे ?”
–“ताप्लेजुङ्गबाट आकी रैचन हाउ । भागेर । बुढा मर्दा
सति पठौने अरेछन् । आगोले पोलेपछि आत्तिएर पानीमा हाम फालिपठाएछ । जाङ्गलमा लुकेर
बसेकोमा एक दिन गोठाला गर्दा यै नानीले भेटाइपठाएछ । अनि देवर देउरानीको सघाउनीमा
भागेर यहाँसम्म आइपुगेका ।” सुब्बाले सबै कुरा एकै
पटकमा खुलस्त पारिदियो ।
–“अल्ल, थेमान् चोगु ? सुब्बेनीले यस पछि ती
बिचरीले के गर्लिन भनी सोधिन् ।
– “खै के गर्नु , फाच्चा जान हुन्थ्यो, उमेर छ, जीवनभर एक्लै के गर्ला र ? कोही साहारा त चाहियो होला नि !”
– “माउ बच्चा नै फाच्चा कसले लान्थ्यो र नि लै लै !” सुब्बेनीले ओठ लेप्राइन् ।
– “हाओ, कि मै पो राखुम् हौ ? एउटा घरमा, एउटा बेंसीमा हुन्थ्यो, राम्रै पो हुन्थ्यो त !” कान्छाले ठट्टै ठट्टामा त्यति भनिदियो ।
– “चुपलाग तो कान्छा, मान्छेलाई कति पीर होला, जिस्काइपठाउछा !” सुब्बेनीले
छोरालाई हप्काइन ।
-“हाइना, ठट्टा पो गरेको हौ मैले त ।” कान्छाले फेरि प्रष्ट पार्यो ।
फाच्चा जानु वा दोस्रो विवाह गर्नु लिम्बू
समुदायको लागि त्यति ठूलो कुरा थिएन । जनजातिमा यो अर्थमा नारी स्वतन्त्रता राम्रै
थियो । तर क्षेत्री बाहुनको जातमा फाच्चा जानु त्यति सजिलो थिएन । जसले लान्थ्यो
जात काढिन्थ्यो । बिचरा क्षेत्री बाहुनको दुब्लो जात ! हुनसक्छ मेरी आमाले फाच्चा
जाने कल्पनै गर्नु भएको थिएन होला । तर सुब्बाको परिवारले कति सजिलै त्यही कुरा भनिदिए
।
हामी त्यसरी लिम्बूको परिवारमा भित्रिएपछि, हाम्रो व्यवस्थापन गर्ने नैतिक जिम्मेवारी सम्झियो
त्यो परिवारले । आमालाई त्यही ठाँउमा फाच्चा जानु पनि सजिलो थिएन ।
फेरि छोरा सहितको माउलाई कसले लगोस् ! काकाको सल्लाह सम्झेर आमाले भन्नुभयो – “सुब्बाज्यू बरु हामीलाई सिमाना कटाइदिनुहोस् । उता
आशामतिर गएर कतै केही गरेर छोरो पाल्छु ।”
त्यसपछि कान्छाले हामी आमा छोरालाई त्यहाँबाट
सिक्किम सम्म पुर्याएर फर्किने गरी बाबुको आदेश पायो । हामी दुई थियौ । दुई दिन
पछि अमरपुरको बेंसीबाट तीन जानको यात्रा शुरु भयो – सिक्किम सम्मको । त्यहाँबाट हिंडेको साँझ हामी फलैंचा भन्ने ठाउँमा
कान्छाको आफन्तको घरमा बास बस्न पुग्यौं । भोलि पल्ट घाम छदैं हामीले चिवा
भञ्ज्याङ्ग काटिसकेका थियौं । कान्छाले ठट्टा गरेको होइन रहेछ । उसले त आमालाइ
माया गर्न थालेछ । उसले त आमालाइ साँच्चै नै फाच्चा लगेको रहेछ ।अर्थात् मेरी
आमाकान्छासँग फाच्चा जानुभएको रहेछ । सिक्किमबाट पनि ऊ फर्केन । बरु हामीसँगै आशाम
नै गयो । मैले त्यसपछि कान्छालाई ‘कान्छाबाउ’ भन्न थालें । करीब ५ वर्ष
पछि हाम्रो कमाइ गर्ने जमिन धेरै भयो आमापनि भाइहरू पाउनु पर्ने हुदा कमजोर हुदै
जानुभो ।त्यसपछि जेठी कान्छी भएर मिलेर बस्नु भन्दै जेठीआमा पनि आशाम ल्याए
कान्छाबाउले । एक दुई पटक सुब्बा र सुब्बेनी पनि आएका थिए त्यहाँ । मेरो आमाले
कान्छाबाउका तर्फबाट दुई छोरा र एक छोरी पाउनु भयो । अहिले त्यहाँ कान्छाबाउको परिवार
छदैछ । आशाम गएको करीब दश वर्षमा मेरो विहे भयो । त्यसपछि मैले कान्छाबाउ र उनै तिरका
सन्तानहरूलाई आमाको जिम्मा लगाएर छुट्टै गरिखान थालें । अहिले कान्छाबाउ, आमा र जेठीआमा सबै बितिसके ।
मेरी आमाले सुब्बा कान्छासँग घरजम गरेको त वहाँका
लागि राम्रै थियो । तर मलाई भने उमेर ढल्दै जाँदा मेरा पितृपट्टिका बंशहरू नजिक भए
पनि हुन्थ्यो भन्ने लाग्यो । सुनें – दाजु र काकाका छोराहरू शरणामति तिर बसाई झरेका छन् अरे । बिस्तारै
आउजाउ हुदै गयो । पछि फेरि यहाँ ऐलानी भए पनि सस्तो जग्गा भेटियो र यतै बसें ।
०००
जुकेखाडीमा
भेटिएका ती वृद्धले आफ्नो अलिखित जीवन कहानी यसरी सुनाए । उनको सति आमाको संघर्ष, भागदौड, अनि
उनलाई दैवले जुराएको अर्को जीवनको यो कथा मैले सकेछु भने म पक्कै लेखेर छपाइदिनेछु
भनी बाचा बाँधेर म उनीसँग छुट्टिएँ ।