Sunday, May 24, 2020

गजलः ......होनहार बाँचेकोछ


मेरो देशमा कोही होनहार बाँचेकोछ ।
त्यसैले त मूलुक सदाबहार बाँचेकोछ ।।

कयौ सम्राज्यले फडा उठाइरहे पनि
मरेन मातृभूमी लगातार बाँचेकोछ ।।

नेताको त खासै भर लाग्दैन मलाई
खैर छाडौ, जनताको खबरदार बाँचेकोछ ।।

विश्वब्यापी छ मेरो देशको राष्ट्रियता
यो स्वाभिमान सीमा वारपार बाँचेकोछ ।।

कंहि छन्‌कि जन्मभूमीलाई ठेस पुर्याउनेहरु
साबधान !! अझै कोही लम्पसार बाँचेकोछ ।।

अतिरिक्त शेर,

बिगतमा कयौ‌ याम शिशिर रहेपनि,
त्याे गुलाबी बागको यादगार बाँचेकोछ ।।

रचना मितिः 2077/02/11

Wednesday, May 20, 2020

गजलः जब मलाई मर्नेको डर किञ्चित थिएन।

जब मलाई मर्नेको डर किञ्चित थिएन।
तथापि मरण हो कहिले निश्चित थिएन ।।

म मर्नका लागि कफन बाँधी निस्कदैथिएँ,
कसैले मलाई सम्झाउनु उचित थिएन ।।

ए मान्छेहरु !  तिम्रो अहंकारले सीमा नाघ्यो,
किन कोही कसै प्रति विनित थिएन ??

के प्रेम फगत  थियो त बाब् आमाको ?
देखें आशिष पश्चात् छोरा हर्षित थिएन।।

अदालतबाट फर्केर  यसर्थ निराश भए म
 जब निसाफ पाउने सुचिमा पिडीत थिएन ।। 


Sunday, May 17, 2020

गीतः मेरो माया हेर आज...

मेरो माया हेर आज जुन बनी आँउदैछ,
सातै सुर सरगमको धुन बनी आँउदैछ ।।

त्यो छातीमा लुटपुटिदै, कति होला मनोमानी,
लाज केले छोप्नेहोला बिउँझिदा त्यो बिहानी,
अधर फुल्ला ढकमक यस्तो बहार छाँउदैछ,
लजाउने गुलाबलाई छुन भनी आउँदैछ ।।

स्वागतमा  म उनको अब   केके गराै भनीदेउ
सृ‌‌गारेर लौ न  सखी मलाई   आज सजाइदेउ
मायालाई भेटी मीठो प्यास मेट्न धाउँदैछ
साइनो जाेडी आज  मलाई लिन भनी आँउदैछ ।। 

लाग्छ एकै ढुकढुकीमा दुई मुटु चल्छ होला,
पियारको बगैचामा बैसको फूल फुल्छ होला,
मेरो मनले कति मीठो उनको गीत गाँउदैछ,
त्यै गीतमा सास भर्न संगीत बनी आँउदैछ ।।

मेरो माया हेर आज जुन बनी आँउदैछ ।
सातै सुर सरगमको धुन बनी आँउदैछ ।।

Thursday, May 14, 2020

लकडाउन गजलः कतिलाई चिट्ठा पर्यो ...

लकडाउन गजल
*******************
कतिलाई चिट्ठा पर्यो यतिखेर लकडाउनमा
कोहि भने, जिउदै मर्यो यतिखेर लकडाउनमा।
ताँती देख्छु बटुवाको गन्तब्य नै खोजी हिड्ने
भोको पेट कति चर्यो यति खेर लकडाउनमा ?
सरकारले झोली भर्ला सोची राछौ बुढाबाबै ?
तिम्रो झोली अन्तै सर्यो यतिखेर लकडाउनमा ।
गरि खान पाएनछौ सुती सुती खाउ भन्छु
खाउला भन्छौ खै के झर्यो यतिखेर लकडाउनमा ?
पापी पेट लक गर्न मै दुखीले सकिन कि ?
रोगले हैन भोकले हर्यो यतिखेर लकडाउनमा ।।

२०७७/०१/३०

गजलः जीवनचक्र...









वालापनमा...

छु सुखी सोची कति खुसी मान्यो,
रहन्छु म यस्तै, सदा काल ठान्यो  ।।१।।


जवानीमा...

झै छु बलियो, कसै छैन कम्ति,
कटारीको भन्दा त्यो कर्दले जान्यो  ।।२।।

बलबुता छँदा...

अभिमान ज्यादा नगर्दा  हुनेथ्यो,
सबैलाइ दोशेर ‘म’ निर्दोश छान्यो ।।३।।

किन साँझ पर्दा बचेरालाई छोडी,
शिकारीले माउला ताकेर हान्यो ।।४।।

शक्तिक्षिण हुन थालेपछि ...

जीवनभरी साथ देला सोचेर यस्तै,
छोरो सम्झिएर लामो निश्वास तान्यो   ।।५।।

र अन्त्यमा ===

सखे ! छैन प्राणै किन आफूसँगै,
भनी धर्ती छोडेर बैकुण्ठ छान्यो ।।६।।


कनिकुथी गरेको मितिः  २०७७।०२।०३ गते शनिबार,
राजविराज सप्तरी

Saturday, May 9, 2020

कविता: पुकार यो भूमीको - झ्याउरे छन्द

कविता: पुकार यो भूमीको - झ्याउरे छन्द

*****************************************

कालीको शीर एक्लो भै रून्छ लिपुको त्यो लेक ,
रूदैछ भूमि नबन तिमी अबुझ अदेख ।।
देशका भक्त, जागेर उठ लिएर अठोट

कसैले किन यो भूमीलाई पुर्यायो कि चोट ?


पछाडिबाट धस्दैछ दाह्रा, शत्रुले आएर
भाइ हु तिम्रो भनेर खुबै बखान लाएर
जोगाउ दाजु, जोगाउ भाइ, यो भूमी तिम्रै हो
पुकार्छ माटो जोगाउनु छ कर्तब्य हाम्रै हो


मिचियो देश, चिरियो छाती पीडा भो मनमा
नेताले बोले नेताकै बोली म परें रनमा
कस्तो हो हाम्रो यो स्वाभिमान कसरी जोगाउ ?
सीमाको खम्बा ताकत शक्ति रक्षार्थ खटाउ


जन्मेनन् क्याहो अमरसिंह, यो देश भित्रमा ?
कसरी छुट्यो आमाको तस्बीर यो मानचित्रमा ?
कसरी भन्छौ यो देश मेरो, कर्तब्य नसम्झी ?
चुमिन्छ कहाँ हिमालचुली गन्तब्य नसम्झी ??


हिमाल, पहाड तराई हाम्रो उच्च छ गरीमा
भूस्वर्ग यस्तो भेटिन्छ कहाँ यो विश्व भरिमा ??
हीमाली टोपी लाएर हाँस्दा आँखैमा सजाउने
पियारो देश नेपाली माया मनैमा बसाउने ।


आमाको छाति बैरीको नङ्ग्रा फैलिन नदेउ
हँसिलो प्यारो आमाको मुहार मैलिन नदेउ
बिन्ति छ जुटौ, समय छदै कदम बढाउ
यो देशलाई खाँचो छ हाम्रो, कदम बढाउ ।।

*****************************************
कनि कुथी गरेको मिति २०७७।०१।२७