अकथाःपाठकको
विश्लेषण
जुकेखाडीमा भेटिएका वृद्धको कथा सुनेर जेन तेन
अभिलेख गरेको बताउदै कथाकार जनार्दन कट्टेलको कथा झोलाभित्र नअटाएको कथा प्रकाशन
भएको थियो । पुर्वाञ्चल दैनिकमा प्रकाशित कथा पढेर अग्रज साहित्यकार धराबासीले
झोला कथा तन्किदै रहेछ भन्ने प्रतिक्रिया दिएको पाएँ । एक जना पाठक रमेश पौडेलले
एउटा प्रतिक्रिया दिएका रहेछन् – “कथामा
खड्गिएको हो- औधी छिटो फाच्चा । गोठसम्मको यात्रा सुहाउँदो गतिमा छ, त्यसपछि ओरालो भएर हो कि, सारै छिटो बग्यो ।”
कथाकारले फेसबुकमा कथा राख्दा भने जस्तो लीला भयो
कि भएन भन्ने प्रसङ्गमा पाठकको हैसियतले मेरो बेग्लै धारणा छ । मैले मेरा ससुराबाट सुनेको मेरी बुढीसासुको कथा
सुनाउन आएकिछु । मैले मेरा ससुराले भनेका तथा लेखकले झोला भित्र नअटाएको कथा
शिर्षक दिएर लेखिएको कथामा नसमेटिएका केहि प्रसङ्गहरुलाई पुनः समेट्न कोशिष गरेको
छु । म तिनै वृद्धकी बिधवा बुहारी हुँ – जसले जनार्दनलाई खुदुनाबारीमा आफ्ना केही कथा सुनाएका थिए । मैले
मेरो पतिलाई राजनैतिक अग्रगमन प्राप्त गर्ने निहुँमा सशस्त्र युद्धमा गुमाएकी हुँ
।
श्रुति स्मृति परम्पराबाट पुस्तौ पुस्ता
हस्तान्तरण हुदै बाँचेको संस्कृत वाङ्मयलाई लीला प्रविधिको भन्न सकिन्छ होला - यो
मेरो व्यक्तिगत धारणा हो । किनकि हामी कृष्ण लीला भन्छौ, राम लीला भन्छौं- यी कथा प्रसङ्गहरु कसैले कसैलाई सुनाइएको हो । जस्तै
ब्रह्माले नारदलाई, नारदले सुकदेवलाई, सुकदेवले राजा परीक्षीतलाई आदि । कृष्णजिले
अर्जुनलाई सुनाएको गीता जस्ताको तस्तै सञ्जयले जन्मान्ध रहेका धृतराष्टलाई सुनाए ।
अझ मैले त यसलाई लेखकको कथाको प्रस्तुतीकरणको शैली र चातुर्यताको रुपमा बुझेकी छु
। यही कथा विभिन्न ग्रन्थमा एकले अर्कोलाई आवश्यकता अनुरुप सुनाएको हामी संस्कृत
साहित्यमा पाउँछौ ।
सापेक्षतालाई लीलाको अङ्गको रुपमा मैले बुझेकी छु
। गोपिनीहरुले कृष्णलाई प्रेमीको रुपमा प्रेम गर्थे । आमाहरुले उनमा वात्साल्यको
मुहान नै रहेको ठान्थे । कंसले कृष्णलाई मूख्य शत्रु वा संहारकको रुपमा बुझेको
थियो, दुर्योधन लगायत उनका
पक्षधरले उनलाई महाको छलिया देख्थे भने पाण्डु पुत्रहरुले साक्षात भगवान । संसारमा
सत्य छ- तर त्यो व्यक्तिहरुको धारणाको सापेक्षतामा छ । मेरो बिचारमा यो नै लीला
लेखन प्रविधिको अर्को पक्ष हो । लीला प्रविधिको अर्को महत्वपूर्ण पक्ष सकारात्मकता
हो । भगवानका लीलाका हरेक प्रसंगहरुलाई सकारात्मक रुपमा व्याख्या गरिनु समाजलाई
नैतिक र सकारात्मक दिशामा अघि बढाउन खोज्नु नै यसको एउटा विशेषता हो । लीला
सम्बन्धी सैद्धान्तिक
बहश धेरै लामो हुन सक्छ ।
अब मेरो कथा तर्फ जाऔं ।
पहिलो उपकथाः सति आमा
“कुम्भ राशीमा जन्मिएकी थिएँ म । मलाई मेरा बाले
सरिता भनेर बोलाउनु हुन्थ्यो । सरिताको अर्थ नदी हुने रहेछ । म नाम जस्तै गतिशील
भएँ । जीवनमा कति बगें, कता कता बगें सम्झिदा अचम्म
लाग्छ । आठ वर्षमा मुखियाको घरमा बिहे भएर गए पछि मेरो नाम हरायो । म सरिताबाट एक
धर्को सिन्दुरले छोपिएर कान्छी मुखिनी भएँ । मैले मुखियाको घर गए पछि म भन्दा तीन
गुणा ठूला त मेरा छोराहरु पाएकी थिएँ । सौतेनी छोराहरु । उनीहरुले कान्छ्यामा
भन्थे । बिहेपछि करीब ४ वर्ष त माइतमै बसें होला । त्यसपछि भने मैले कान्छी
मुखिनीको पुरापुर भूमिकामा कम्तिमा पनि पन्ध्र सोह्रहरु वर्षहरु बिताएँ । म सानी
थिएँ तर सासु पनि थिएँ । म सानी थिएँ तर करीब तीन कोरी नाघिसकेका कान्छा मुखियाको
अर्धाङ्गिनी भएकोले सबैले सम्मान गरेरै बोलाउथें । यस्तो अवसर मलाई प्राप्त थियो ।
कान्छा मुखियाको गतिलो छहारीले गर्दा सितिमिति झरीले मलाई रुझाउदैनथ्यो । सानो
तिनो आँधीमा म टुट्तिन थिएँ । सोह्र वर्षमा यो घनश्याम जन्मियो ।
मेरो घर परिवारमा अगाडी सम्मान गरेर बोलाए पनि
पछाडि कुरा काट्नेहरु पनि थिए । बुहारीहरु र मेरो उमेर उस्तै थियो। बुढा भएका
बाउले कान्छी आमा ल्याएर थप सन्तान पनि जन्मेका कारण सौतेनी छोरा बुहारीलाई खप्नु
खानु थिएन । सधै टोकसो गरिरहन्थे । आफू सासु भएर पनि बुहारीलाई कज्याउन नसकेको
भन्दै कैले मुखिया पनि मलाई नै हप्काउथे । एक्लै कसैले नदेख्ने गरी रोएर मनको बह
हलुका पार्थें ।
अंश बण्डा गरेर छुट्टिई सकेपछि भने बुहारीहरुको
टोकसो केही मत्थर नै हुदैगएको थियो । घनश्याम दश वर्षको हुँदा ब्रतबन्ध गरिदियौं
।यसको बर्तबन्ध पछि मुखिया थलिइहाले । मुखिया थलिए पछि उनकै स्याहर सुसार, घर खेत तथा व्यवहारले मलाई पुरापुर बाँधेर राख्यो।
तीज तथा दशैंमा माइत जानसम्म भ्याउदिनथें म । मेरो दुःख सुखका गफ गर्ने देउरानी
थिइन । मेरो व्यस्तता, उमेर र मुखियाको खस्किदो स्वास्थ्यले गर्दा मलाई भन्दा
उनलाई बढी सताउथ्यो ।”
दोस्रो उपकथाःघनश्याम (वृद्ध)
बाटो भरी आमाले कान्छालाई आफ्नो कहानी सुनाउदै
हिड्नु भयो । एक आपसमा गफ गाफ गर्दै हिड्दा धेरै बाटो कटेको थाहा नहुनाले कान्छाले
पनि के के भनेर हँसाइरहन्थ्यो । ठूलो स्वरमा आफू हाँसेर आमा र मलाई हँसाउने कोशिष
गर्थ्यो । आमा जति गर्दा पनि हाँस्नसक्नु हुन्नथ्यो । मानौं वहाँको ओठमा बडेमानको
ढुङ्गा झुण्याइएको थियो ।
तेस्रो उपकथाः सति आमा
“पतिब्रता भएर नै होला मैले कहिले पनि कुनै दिन
मेरा बुढा मर्लान र म सति जानु पर्छ सोच्दै सोचिनछु । यस्का बा बितेपछि आँगनमा
आफ्नो खसमको मृत शरीर लिएर अर्धमुर्छित भई बसेका बेला हठात गाउँले आइमाईहरुले मलाई
सिंगार्न भनी भित्र लैजादा मात्र मैले अब म सति हुँदैछु भन्ने थाहा पाएँ । मलाई
लाग्यो मेरो ओत लाग्ने छहारी मात्र होइन अब म पनि त्यही छहारीको चितामा जल्दैछु ।
एउटा बुढो रुख- जो
वरीपरीका घर र बुट्यानको सहारा थियो – आज त्यही बुढो रुखको ढलाईमा सारा माडिमैदान हुँदैछ । सोत्तर हुदैछ ।
आफू नै मर्नु पर्ने भएपछि मैले मेरो खसमको वियोगमा रुने कि के गर्ने ? मलाई डाँको छोडेर रुन मन थियो । तर खसमको मृत्यु
पश्चात देखिएको आफ्नै दर्दनाक र विभत्स मृत्युको बादलले मलाई जकडिसकेको थियो ।
सत्ताइस वर्षमै चितामा जलेर प्राण त्याग्नुपर्ने अकाट्य परिस्थिति सिर्जना भएको
थियो । त्यसैले मेरो आवाज हराएको थियो ।
बा मरेको खबर सुनेर घनश्याम सुक्क सुक्क रुदै
आँगनमा आइपुगेको देखें । उसलाई थाहा रहेछ बा मरेपछि अब आमा पनि सति हुनुपर्छ भनेर
। बाको लास देख्ने बित्तिकै उसले आमालाई जोगाउन असफल प्रयास गरिरह्यो । आमा !आमा!! तपाई सति होइन, मलाई
छोडेर नजानु भन्दै चिच्याएर मलाई समात्न भित्र पस्यो । छेउमा आए पछि ठाँइला
पुरेतले उसलाई समाते । भन्दै थिए- “घनश्याम ! अब
जिद्धि नगर । अब आमा सति भइसक्नु भयो । वहाँलाई तैले छुनु हुदैन ।” यी सबै दृश्यहरु आँखामा नाचेपछि मेरो दिमाग शुन्य
भयो । म कति पटक बेहोस हुँदै विउँझिदै गरें । बिउझिंदा आँखाबाट अविरल आँशु मात्र
झरिरह्यो । म अर्ध पागल हो कि, होस
ठेगाना हराएको हो कि, दिमाग नै नभएकी हो कि, एकोहोरी भैरहें ।
गाउँले आइमाईहरुले बेहुलीको जस्तै कपडा लगाइदिए ।
सबै गरगहाना लगाइदिए । बेहुलीको पहिरन, सिंदुर पोते र गहानामा म यसै गरी आज भन्दा बीस वर्ष अघि भित्रिदै
थिएँ । त्यतिखेर नयाँ जीवनको शुरुवात गर्ने अपेक्षा थियो । जीवन ज्योतिलाई
चम्काउनका लगि घरमा ध्वजा पताका र तोरणले सजावट गरिएको थियो । शुभाशुभलाई स्वागत
गर्न नौमती बाजाहरु घन्काइएका थिए । आज त्यही भेषमा म मृत्यू पर्खिरहेकी थिएँ ।
मृत्युको भयानक कल्पना खसमको चिताको पीरो धुँवा, तातो अग्नीले शरीर पोलेको अनुभव मलाई त्यतिखेर भैरहेको थियो । नौमति
बाजाहरु आज पनि आँगनमा घन्काइएका थिए । तिनीहरुले मेरो खसमको शोक मात्र होइन एउटी
सतिको बिलौना बजाइरहेका थिए । मेरो विवशतालाई गिज्याइरहेका थिए ।
घर पछाडि तिर देउरानीले डाँको छोडेको आवाज आयो ।
उनी रुदै भन्दै थिइन्- “यो कस्तो
चलन हो ? जिउदै मर्नु पर्ने ? पोलिनुपर्ने ? साठी वर्षको उमेरमा बिहे गर्दा एउटी आठ वर्षको केटीलाई भित्र्यायो, अनि आफु मर्दा बल्ल बल्ल परिपक्व मात्र हुन थालेकी
स्वास्नीलाई जबरजस्ति सति बनाउनु पर्ने ? हे प्रभु यो आइमाइको जातलाई किन यस्तो निरिह बनायौ ? आफूले पालेको खसी बोकालाई समेत माया गर्ने लोग्ने
मान्छेको मनमा आँफैलाई जन्माउने आमा प्रति किन त्यति धेरै निष्ठुरता हालिदियौ ? हे प्रभु !!”
त्यस पछि देवरले उनलाई हप्काएको जस्तो, निरिह भएर सम्झाएको जस्तो आवाज सुनियो- “नकरा, अहिले गाउँलेहरुले मार्छन् । यो पुर्खा देखिकै रीत हो” के गर्नु ?
देउरानी प्रतिकार गर्दैथिन- “मारुन् ।यसै पनि तपाई मरेका दिन यिनीहरुले आज
दिदीलाई जस्तै सति बनाएर पोल्ने नै हुन । पापी लोग्ने मान्छेहरु !!” त्यसपछि देवर देउरानीको आवाजलाई नौमति बाजाको
चर्को आवाजले ढाकिदियो । मलाई लाग्यो मेरी देउरानी म भन्दा दुःखी छिन् । मेरा खसम
त बुढा भएर काल गतिले मरेका हुन् । तर आफ्नी जेठानीको यो अवश्यम्भावी अकाल हत्या
तथा आम नारीहरुको नियति प्रति उनी साह्रै नै कुँडिएकी छिन् । उनी बिद्रोह गर्न
चाहन्छिन् । तर निरिह छिन् ।
आफ्नो प्राण त जाने नै भयो । बरु छोरालाई पो
दाजुका छोराहरुले हेप्लान्, दाजुहरुले नराम्रो गर्लान
भनेर फेरि मनमा गाँठो पर्यो । आँखा अविरल बगिरहे । सिंगार सकियो । नौमति बाजासँगै एकोहोरो शंखको स्वर ठूलो हुदै गयो ।
कसैले उठेर हिड्न भन्यो र म यन्त्रवत हिडिदिएँ । मेरोपछि पछि मेरा खसमको लास, त्यसपछि नौमति बाजा र एकोहोरो शंखको चर्को धुन पछि पछि मलामीहरुको
ताँति तमोरको पुर्वी किनार ताकेर हिड्यो । पीपल चौतारीमा पुगेर लास बिसाइयो । आइमाईहरुले मेरो सबै बस्त्रहरु खोलि दिए । ठाँइला
पुरेतले चौंठोबाट मेरो कपालमा तेल खन्याए । त्यसपछि म निर्वस्त्र हिडेर खोलासम्म
पुँगे । चितामा आगो लगाउन ....... अग्नी तयार गर्नु अघिको अनुष्ठान कर्म
नसकिउन्जेल मेरा आँशु बगिरहे । कति बेला आगो छोड्लान र जलेर मरिएला भनी प्रतिक्षा
गरेर पर्खिरहें ।”
चौथो उपकथाः घनश्याम (वृद्ध)
यसरी मेरी आमाले कान्छा मुखियासँग आफ्नो लोग्ने
मरेको र आफूलाई सति बनाएर उनको लास सँगै जलाएको घटना बाटो भरी सुनाउनु भयो । म
त्यो सब घटनाको प्रत्यक्षदर्शी र भुक्तभोगी पनि थिएँ । कान्छा पनि आमाको यस्तो
कहानी सुनेर घरि द्रवीभुत हुन्थ्यो भने घरि ती गाउँलेहरु प्रति मुर्मुरिन्थ्यो ।
अमरपुरबाट चियो भन्ज्याङ्ग जाने बाटोमा कति ठाउँमा कावेली नदी तर्नु पर्ने रहेछ ।
जङ्घारमा कान्छाले हामीलाई पालो पालो गर्दै तारिदियो । मैले त कान्छामा भएको सफा
मन र स्नेह त्यतिखेरै देखेको थिएँ ।
आमा के कसरी आगोबाट उम्किनु भयो र गुफामा लुकेर
कयौं दिन बस्नु भयो यसको अलग प्रसङ्ग छ ।
आमा सकेसम्म थोरै बोल्नु हुन्थ्यो । तर पनि
लाग्थ्यो- आमामा कतै पुगेर बाँकी जीवन बिताउने र छोरालाई सक्षम बनाउने दृढ विश्वास
छदै थियो । आमा र म यन्त्रवत कान्छालाई पछ्याइरह्यौं ।चियो भञ्ज्याङ्गमा बास बसेको
घरमा धेरै थकाइले होला- आमाले खाना खानै सक्नुभएन । कान्छाले धेरै बेर कर गरिरह्यो
। सुत्नेबेलामा उसले हामीलाई एक एक गिलास चौरीको तातो दुध ल्याएर दियो ।भन्दै थियो
– “भोली दार्जिलिङ्ग सम्म
हिड्नु पर्ने त्यसपछि रेल चढेर जानु पर्छ । अर्काको ठाउँ हो, कहाँ खाने, कहाँ बस्ने टुङ्गो पनि छैन । त्यसैले भोको पेट सुत्नु हुदैन ।आफुलाई
कमजोर नबनाऊ ।” कान्छाले यसो भन्दा मलाई ऊ
कति स्नेही
मान्छे रहेछ भन्ने लाग्यो । मलाई बाले माया गरेर कखरा सिकाएको, अर्ति उपदेश दिए जस्तै लाग्यो कान्छाको बोली र
व्यवहार ।
चिवा भञ्ज्याङ्गदेखि दार्जिङ्ग, दार्जिलिङ्गबाट सिलगढी र सिलगढीबाट आसामको
बगाईंगाउँ सम्मको यात्राहामीले करीब सात दिनमा पुरा गर्यौ । कहिले मनकारी कुनै
मानिसको घरमा त कहिले पाटीमा बास बस्दै दिनभरी हिंडेर हामी आसाम पुगेका थियौ ।
हरेक दिन बास बस्ने ठाउँमा पुग्दा मेरा खुट्टा दुखेर बाउडिन्थे । आमाले धेरै बेर
मिचि दिनु हुन्थ्यो । कान्छो खाजा सामल बनाउने तरखर गर्थ्थो आमा सघाउनु हुन्थ्यो ।
यात्रामा हामी एकै परिवार भएका थियौं । यसो गर्दै जेन तेन आसाम पुगेका थियौं । आसाम भन्नु मात्र थियो ।
त्यहाँ कँहि जानु थिएन । त्यो नै हाम्रो गन्तव्य पनि थिएन । अब यतै कतै टुङ्गो
लाग्न पाए हुन्थ्यो भन्ने चै थियो तर कहाँ, कसरी, कसलाई भन्ने आदि समस्याले
हामीलाई उम्किन दिएन । हामी निरिह आमा छोरालाई मात्र छोडेर कान्छो फर्किन पनि सकेन ।
आसामको एउटा गाँउसकिए पछि जङ्गलको बाटो पूर्व तिर
जान्थ्यो । साँझपर्न लागि सकेकोले हामीले त्यतै तिर बस्ने सल्लाह गर्यौ । सँधै झैं
आगो बाल्यौ । भात भन्साको लागि चुलो चौको जोड्यौं । सुत्नको लागि कान्छाले
स्याउलाको गोठ बनायो । वरीपरी सुकेको घाँस भेला पारेर दुई वटा ओच्छ्यान लगायो ।
हामी हामीले अँध्यारो हुनु अघि नै भात खाइसकेका थियौं। आमाले भात खान सक्नु भएन ।
राति आमा जाडोले काँप्दै बरबराएको सुनेपछि मैले
कान्छालाई ब्युझाएँ । आमालाई ज्वरो आएको रहेछ । फेदाङ्बा मेलोबाट उसले धेरैबेर लगाएर झारफुक गरिदियो । आमालाई पानी
पट्टि गरिदियो । आमाको ज्वरो सात दिन सम्म पनि निको भएन । सातै दिन कान्छाले
अहोरात्र आमालाई नछोडी स्याहार सुसार गरिरह्यो ।
वास्तवमा आमा ज्वरोले थलिएपछि मात्र हाम्रो यात्रा
रोकिएको थियो । नत्र हामी अझै कति दिन कहाँ सम्म हिड्ने थियौं । किनकि हामीलाईजाने
ठाउको कुनै टुङ्गो नै थिएन। आठौ दिन
आमाले अलिकति भातको माड खानुभो । एक हप्ता दिन सम्म त्यही गोठमा बस्दा थुप्रै
गाउँले हरुसँग चिनजान भएको
थियो । गाउँलेहरुले यसै ठाउँमा खेतबारी बिराएर कमाइ गर्दाहुन्छ भन्न थालेका थिए । आमा निको हुँदासम्ममा मेरो पनि यात्राको थकाई
मरिसकेको थियो । कान्छा र मैले चार पाँच वटा गह्राहरु खेति गर्नको लागि जोत खन
गर्न मिल्ने गरी आली लगाएर
चिटिक्क पारेका थियौं । भाँडा माझेको पानीले भिजेका ठाउमा पन्ध्र बिस बोट रायोको
बिरूवा सरिसकेका थिए । बोकेको अन्न सकिएकोले गाँउबाट निक्कै नै अन्न ल्याइसकिएको
थियो । त्यो कुन शर्तमा हो मलाई थाहा थिएन ।
त्यसको केही दिन पछि आमालाई आफूले बिराएर खेति
योग्य बनाएको केही नयाँ जमिन र थाकलले छाएर मजबुत गरी बर्खा समेतलाई हुने गरी
बनाएको एउटा सानो घरमा हामीलाई छोडेर कान्छा आफ्नो घर पहाड तिर फर्कने कुरा गर्न
थाल्यो । त्यो सुनेर मलाई पनि नमीठो लाग्यो । हामी एकै परिवारका जस्तै भएका थियौ ।
आमा र म दुबैलाई कान्छाको सामिप्यताले बानी परिसकेको थियो । आमाले पनि कान्छालाई
नफर्कन सकेसम्म आग्रह गर्नु भयो । कान्छा जाने कुराले आमाको पनि मन पिरोलिएको थियो
। कान्छाको मनमा हामी प्रति कति माया थियो,त्यो भन्न त सक्दिनथें । तर पनि उसलाई आमाको आँशुले रोकिछाड्यो ।
त्यसपछि कान्छा फर्किएन ।
बिस्तारै हिंउदका दिन सकिदै गए । मानिसहरुले मकै
छर्न थाले । हामीले पनि छर्यौ । नयाँ
माटो पाएर मकै असाध्यै धेरै फल्यो । बारीमा तरकारीहरु लटरम्म फल्न थाले । हामी दिनभरी सँगै काम गर्थ्यौ । झरी पर्न थाले पछि धान
रोप्यौं । बिस्तारै त्यो पनि पाक्ने बेला भयो ।
एक दिन बारीमा कामगर्दा गर्दै आमालाई अलि अलि बेथा लागे जस्तो भयो । सुत्केरीको बेथा रहेछ ।
मैले धेरै कुरा बुझिन । पछि आमाले भाइ पाउनुभो । त्यसपछि भने कान्छालाई कान्छाबाबु
भन्न थालेको हुँ । कान्छाले
उसलाई आमाले पहाड जान रोकेकै दिन “मलाई अबदेखि कान्छाबाबु भन्नु” भनी मलाई जिस्काएको थियो । यो कुरा बुझ्न मलाई पनि नौ महिना नै लागेछ
।
ब्यथाः पाठक
मेरा ससुराले भनेको कथा यही थियो – जुन यस पटक पनि लेखकले छुटाएको थिए ।
यसरी एक पटक सति भएकी मेरी बुढी सासुलाई नयाँ जीवन
शुरुवात गर्ने सुवर्ण मौका मिलेको थियो । तर मेरो हकमा के भयो ? म अग्रगमनको सशस्त्र लडाईमा बिधवा भएँ । छोरा छोरी
समेत नपाएकी मैले आफ्नो लागि एउटा भरपर्दो फाच्चा लाने कुनै कान्छा पाउन किन सकिन ? के यो समाजको परिवर्तनशीलता हो त ? समाजको गति कता जाँदैछ ? के जवानीमा विधवा भएकी महिलाको दोस्रो विवाहको
अधिकार खोस्नु र सति पोल्नुमा केही फरक छ ? या मैले आफूले पनि अर्को जीवन शुरु गर्न कुनै आशाम
वा मुग्लान जानु पर्ने हो ? समाजमा नारीलाई सति बनाउने
अन्य कति धेरै तरिका आविस्कार भएका हुन हँ ? मेरो मथिङ्गलले यी प्रश्नको जवाफ प्राप्त गर्न आजसम्म सकेको छैन ।
अस्तु । इटहरी २०७९/०४/३१