Wednesday, February 12, 2020

सोह्र सृंगार नेपालको ...










सोह्र सृंगार नेपालको मेरी मायाको झैं लाग्यो
भुषण हिमालको हेरी मायाको झैं लाग्यो ।। १।।

शीरको टोपी मुस्कुराउँछ, लाली छर्दै बिहानीमा,
स्वागत् घडा भरी  हाँस्दा, खेरी मायाको झैं लाग्यो ।। २।।

सरगम त्यो बतासको, छहराको ताल छोपी
कति मीठो धुन यो फेरि मायाको झैं लाग्यो ।। ३।।

रेशमको बुट्टेदार  फरिया  र लोभ लाग्दो,
पहाडको बान्कीलो पच्छेरी मायाको झैं लाग्यो ।।४।।

पवित्रता बोकी कलकल  गर्दै संगीतमय यात्रा
मेची काली कर्णाली र भेरी मायाको झैं लाग्यो ।।५।।

मन्दिर भेट्छु मस्जीद भेट्छु, जँहा जतै पुगेपनि
स्नेहयुक्त ममता मझेरि मायाको झैं लाग्यो ।। ६।।

समृद्धिको सुन फल्ने मधेश मेरो मातृभूमी
यस्को सजावट हेर्दै खेरी मायाको झैं लाग्यो ।। ७।।

--  रचना मिति २०७६।१०।२९ गते । 
राजविराज, नेपाल