Thursday, January 5, 2017

कथाः रीमा


दशैको छुट्टी मानेर काठमाण्डू फर्कने क्रममा बसको टिकट काट्न हतार हतर काउन्टर तिर हुर्रिदै थिएँ ।'पहाडसम्म जान सहयोग गरिदिनु न अंकल !' चौध पन्ध्रकी काली काली केटीका यस्तै भावका केही कामेका अस्पष्ट शब्दले म तानिएँ । मलाई लाग्यो- माग्ने पनि अनेक बहाना तय गर्न थाले मानिसहरूले । 'किन पहाड जानु पर्यो नि, तिमी मधेषकी मान्छेले ? त्यहाँ तिम्रो को छ र ?'  मैले यस्तो प्रश्न गरेपछि त्यो केटी  रून थाली । मैले त्यो रुन्चे केटीमा कुनै रहस्य होला भन्ने अनुमान गर्ने कुरा पनि भएन । मैले टिकट खरिद गरें- काठमाण्डूको । उसलाई त्यत्तिकै छाडेर म आफ्नो झोला लिएर बसतर्फ गएँ र आफ्नो सीटमा बसें । केही बेरमै बस काठमाण्डौको लागि रमाना भयो । बसको आघिल्लो सीटमा थिएँ म । बस हिडेपछि देखे ड्राईभरको बायाँ पट्टिको बर्नेटमा मपट्टि नै फर्केर त्यही केटी बसेकी थिई । यसले मेरो पीछा गरी होला भन्ने त सोचिन । त्यसैले, र हामी आमने सामने नै भएर बसेकोले गर्दा मैले नबोल्नुपर्ने कारण देखिन । तिमी पहाड जाने बाटो सोध्ने मान्छे,  किन काठमाण्डूको बस चढ्यौ त ? ऊ केहि पनि बोलिन । बरू आँखाबाट आँशु झार्न थाली । मेरै सामने एउटी केटी रोइरहेकी थिई । मलाई असजिलो लाग्यो । केहीबेर झ्‍यालबाट बाहिर हेर्ने निहुँ गरेर अर्को पट्टि फर्किएँ । बसले सुरुङ्गा आएर दुईजना यात्रु थप्यो  र आफ्नो गति लियो । कन्काई नदीको पूल पार गरेपछि कन्डक्टर टिकट चेक गर्दै आयो । मैले आफ्नो टिकट देखाएँ । त्यस केटीको टिकट थिएन । कण्डक्टरले त्यस केटीलाई 'पैसा तिर, नत्र बसबाट झारी दिन्छु'  भन्यो । त्यो केटी रोइरही । धेरै बेर कण्डक्टरले विवाद गरेपछि मैले भने 'योसँग पैसै भए जस्तो लाग्दैन, कहाँ हिडेकी हो, अघि मसँग पैसा माग्दै थिई काउण्टरमा । पहाड जाने भन्थी, फेरि यता आइछ ।' मेरो कुरा सुने पछि कण्डक्टर उल्टै मतिर खनियो । 'तपाँईको मान्छे रहिछ, त्यसो भए पैसा तिर्नु पर्यो नि ! पैसा नतिर्ने आइडिया गरेको कि कसो ?' उसले मेरो पहाडिया भएर पनि कालो कालो लाग्ने छालालाई ब्यङ्ग्य गर्दै भन्यो 'हेर्दा दाजु बहिनी झैं लाग्छन्, फेरि नचिनेको बहाना गर्नु !' कण्डक्टरको कुरा सुनेर उत्साहित भएको खलाँसीले थप्यो, 'हुनेवाला लोग्ने स्वास्नी भन्नुस न, के को दाजु बहिनी नि !' यसरी कण्डक्टर र खलासीहरू मप्रति लगातार खनिएपछि  मैले भने ‍- 'भाइ! दाजु बहिनी, लोग्नेस्वास्नी जे देख्छौ हामी त्यही हौं । तिमीलाई पैसा चाहिया होइन, बर्नेटमा बसेर गएको कति लिन्छौ ?' पैसा पाउने सुईको पाएपछि तिनीहरू सम्हालिइहाले । तुरुन्तै कण्डक्टर पेशागत धर्ममा फर्कियो 'मिलाएर दिनु न।' मैले तीन सय रूपैयाँ त्यसका हातमा हाल्नै लाग्दा केटीले भनी 'म यहीं ओर्लन्छु ।' त्यसपछि भने म बडो असमज्जमा परेको थिएँ ।
मञ्जु म्याडम, र म एउटै विद्यालयमा कार्यरत थियाैं। वँहाले एउटा 'काम गर्ने मान्छे' चाहिएको कुरा गर्नु भएको थियो । मैले त्यही केटी लगिदिनु पर्यो भनेर मनमनै सोचिसकेको थिएँ । केटी अचानक बसबाट झर्न खोज्दा म केही समस्यामा परेको थिएँ । तै एक चोटी  फकाइहेरूँ मानिहाल्छे कि भन्ने लाग्यो । 'कहाँ हिडेकी तिमी? आखिर तिमी पहाड जाने भन्दै थियौ, यता आएछौ, फेरि बीचमा झरेर झन अलपत्र पर्छौ । बरू मसँग हिड । म तिम्रो मद्दत गर्छु ।' त्यसो भनेपछि त्यो अलमल्लिई । मैले पुन दृढताका साथ त्यही कुरा दोहोर्‍याएर फकाउन प्रयास गरें । उसले भनी 'त्यसो भए म तपाँईकै भर परेर तपाँईसँग जाँउ त ?'
मैले भने - 'तिमीलाई कस्तो भर चाहिएको हो, त्यो त मलाई थाह छैन । तिमी कसैको घरमा काम साम गरेर बस्ने भए म मिलाइदिउला । हेर्दा खेरी घरबाट भागेकी जस्ती छ्यौ । नानी ! छोरीमान्छेको घर नहुदा त साह्रै बिजोक हुन्छ । घरबाट भागेको भए भन, किन त्यस्तो निर्णय लियौ ?  तिमीले आफ्नो यथार्थ बतायौ भने मलाई मद्दत गर्न सजिलो हुन्छ । त्यसपछि ऊ मसँगै काठमाण्डौ जाने भई । पैसा तिरेपछि  हाम्रो सँगसँगैको सीट कायम भयो ।एउटै सीटमा बसेपछि मैले उसको समस्या के हो, फेरि सौधें । त्यसपछि ऊ लगातार पोखिदै गई ।
000000
म साँच्चै नै घरबाट भागेकी हुँ । सायद मसँग अर्को विकल्प पनि थिएन ।
रसीदले बीचबजारबाट जबरजस्ति ताने पछि ममा निराशा छायो ।त्यसो त पहिले नै पनि अत्यन्त उराठ लाग्दो र पट्याईंलाग्दो रतुवा खोलाको बगर हेर्दा मन दिक्दार हुन्थ्यो । धेरै टाढा टाढा उत्तरमा देखिने नीला पहाडहरू हेरेर कति खुल्दुलीहरू उठ्थे । पहाडहरू हेरेर, त्यहाँको सुखी जीवन र सुखी संसारका खुसीहरूलाई कल्पनामै भोगेर सिध्याइन्थे । किन किन त्यो रतुवाको बगरले खिन्नता भन्दा बढी केही दिन सकेको थिएन । त्यो बगरले बोकेको नैराश्यता, उराठ लाग्दो, उकुस मुकुस हुने वातावरणमा कहिले काँही त यस्तो लाग्थ्यो   - त्यो गाँऊ - ठेकीटोला नै चटक्क छोडेर कतै टाढा नयाँ दुनियामा जाँऊ । बिस्तारै नयाँ ठाँउमा कुनै न कुनै तरिकाले समायोजन भइएला । सायदै यहाँ भन्दा राम्रो होला किनकी यहाँ त राम्रो भन्ने नै केही छैन । एउटा अभाबग्रस्त सुकुम्बासी परिवारमा जन्मेकी महत्त्वाकांक्षी केटीलाई के नै पो आवश्यकता पूरा हुन्छ र परिवारसँग रहदा ? मैले रतुवाको बगरमा जन्मेर हुर्केर के पाँए ? के मैले जीवन पाए पछि जीवनले उपभोग गर्न पाउनै पर्ने अधिकार सुख सुबिधा पाँए ? मेरो अर्थ के थियो ? के हो ? मैले समाजमा स्वतन्त्रतापूर्वक जिउन पाउनु  मेरो हक, अधिकार थियो वा थिएन ? मैले शिक्षा कति पाउनु पर्थ्यो ? यस्ता विविध तर्कनाले टाउको फुट्ला जस्तो गरी दुखेर आउथ्यो ।
के मैले ६ कक्षा पढ्दा पढ्दै जवरजस्ति मेलाबाट तानिएर रसीदकी स्वास्नी हुनु जायज थियो ? थिएन भने मलाई मेरा सारा आफन्तले मिलेर, एक मुख लागेर, 'रीमा, हाम्रो परम्परा नै यही हो, जा रसीदसँगै तेरो भाग्य लेख्या रहेछ' भन्नूको अर्थ के थियो ? म तेह्र वर्षकी केटी, रसीदको वास्तविक उमेर मलाई थाह छैन, तैपनि ऊ पैंतीसभन्दा घटिको होइन । के यो दुई जनाको उमेर हेर्दा विवाह गर्न सुहाउथ्यो त ? म आफ्नो बाबुको भन्दा सायदै पाको उमेरको मानिससँग किमार्थ बिवाह गर्न सक्तिनथें । जे होस फूलपातीको दिन दामुना बजारमा लाग्ने मेलाबाट रसीदले मलाई जबरजस्ती तानेपछी मेरो जीवन अत्यन्त नारकीय बन्न पुग्यो र म घर छोड्न बाध्य भएँ ।
म दामुना ७ नम्बरको जनज्योती निम्न माध्यमिक विद्यालयमा पढ्दैथिएँ । झापाको सुदुर पश्चिमी गाँउ कोहबरा भरीमा यो स्कूल दोश्रो ठूलो थियो । दश कक्षा सम्म पढाई हुने गरेको चप्रामारीको स्कूल त्यहाँबाट निक्कै टाढा पर्थ्यो। गौरीगञ्ज स्कूल  झन टाढा थियो। त्यसो त हाम्रो टोलमा कसैको पनि पढ्ने चलन थिएन। सात कक्षामा पढ्ने कबिराज राजबंशी र म मात्रै ठेकी टोलाका सम्पूर्ण विद्यार्थीहरू थियौं। सम्पूर्ण स्कूल पहाडिया टोलका केटाकेटीहरूले भरिएको थियो ।
आमाले जुटका झल्लाहरू बुनेर गोधुलीको बजारमा बेच्न लैजाने गर्नुहुन्थ्यो । यो नै हाम्रो परिवारको गुजारा गर्ने राम्रो माध्यम थियो । त्यसवर्ष पनि दसै अघि देखि नै चाडबाड मनाउने धान किन्न भनेर झल्ला बिक्रिको लागी ठिक्क पारेर राखिएका थिए । तर ती बिक्री भएका थिएनन् । म घर छोडेर अनिश्चित दिशा तर्फ हिड्दा तिनै झल्लाहरूलाई सम्पत्तिको रूपमा लिएर हिडेकी थिएँ ।  
फुलपातीको दिन, वर्षौ देखि मधेषी समुदायको साँस्कृतिक मेला लाग्ने गर्छ दामुना बजारमा । म पनि मेला हेर्न आफ्नी आमासँग दामुना बजार गएकी थिएँ, त्यस दिन । दामुना बजार गाई, गोरू, भैसी,  आदि पशुको बजार लाग्ने ठाँउ, बिक्री केन्द्र । सिख्टी तिरबाट आएका मीयाहरू, धेरै पैसावाल ब्यापारीहरू यँहा आउने गर्छन- पशु किन्न । यिनले पहाडिया बस्तिबाट ल्याइएका पशुहरू किनेर लैजाने गर्छन । दशैको रमझमले एकातिर छपक्कै छोपेको दामुना बजार, चहुरको एक कुनामा लिङ्गेपिङ हालिएको थियो । मानिसहरू पिङ्गमा मच्चिरहेका थिए । अर्को कुनामा दबाई बेच्नेले ठूलो स्वरमा टेप बजाई रहेको थियो 'ढील जुम्रा मार्नेका दवा, उडुस उपियाँ मार्नेका दवा ... ...।' एक कुनामा जादुगर आफ्नी बच्चीलाई अग्लो डोरीमा नचाइरहेको थियो चर्को बाजाको तालमा- छन छननन छन, छननन छन, छन छन, छन छन । आफ्नो आफ्नो ध्याउन्न, यो मेलाको रौनक वास्तवमै अर्कै थियो । चहुरको एउटा कुनामा रोटेपिङमा कति मानिसहरू लगातार घुमिरहेका थिए । यो देखे पछि मैले पनि आमासँग रोटे पिङ खेल्ने प्रस्ताव राखें । तर मेरो उत्साह तुरुन्तै तुसारापात भयो। किनकी आमाले मेरो सोचाई विपरित जवाफ दिनुभयो । त्यँहा पहाडिया मानिसहरू, धनीहरू खेल्छन्, हाम्रो लागि त्यो बनाईएको होइन । 
अन्त्यमा हामी राजबंशीहरूको खेल हेर्न पुग्यौं । छोटो मैलो लगौटी लगाएका, छातिमा त्यान्द्रे भोटो भिरेका, सायद यी पेशाक नयाँ हुँदाहुन त यी सेता देखिदा हुन् । तर मधेशीहरूको कालो छालालाई  चुनौती दिने भएका थिए मैलोले । यस्तो मैलो लुगा लगाउँदा तिनलाई कुनै संकोच सम्म थिएन । उनीहरूको चेतनाले सायद मैलो र सुकिलो छुट्याउन्नथ्यो । (मलाई पहाडियाहरूले लगाउने पोशाक देख्दा ईर्श्या लाग्छ।) केही सन्थाली भुस्तिघ्रे लाठेहरू पनि राजबंशीहरूको चाबुक नृत्यमा समेल थिए । उनीहरू आफ्नो हातमा भएको चाबुकले साथीलाई मर्ने गरी हान्थे । कहिले त उनीहरू  एकै चोटी मरेको जस्तो अभिनय गर्थे भने कोही जादुको शैलीमा तिनीहरूलाई ब्युझाएको झैं पनि गर्थे । जे होस दामुना बजारमा आयोजित यो नाँच अत्यन्त डरलाग्दो थियो। पहाडियाहरू र बाहिरबाट आउने पर्यटकलाई यसले भरपुर मनोरञ्जन दिदो हो । डोरीले नाङ्गो छालामा जति नै साह्रो हिर्काए पनि तिनीहरू दुखेजस्तो नमान्ने साह्रै ज्याद्रा थिए । कति पहाडियाहरू पनि यो नाचको दृश्य हेर्न मस्त थिए । यसै नाचमा सम्लग्न थियो रसीद हस्ता ।
मोटा, बाँउठिएका पिडुला, चाबुक खेलाउने डरलाग्दा हात खुट्टा भएको र भक्का पकाउने हण्डीको पींध झैं कालो अनुहार भएको  रसीद हामी फर्कनै लाग्दा बाटो छेक्न आएको थियो । त्यतिबेला म डरले काली नीली भएकी थिएँ । उसले भन्यो 'रीमा तिमी त हिड्न लाग्यौ ? मसँग हिड, म तिमीलाई स्वास्नी बनाएर राख्छु ।' कस्तो निर्लज्ज मानिस ! आफ्नी आमाको हात समाएर हिडेकी सानी केटीको जबरजस्ती हात खोस्न आउँछ। मलाई ऊ प्रती अत्यन्त घृणा जागेर आयो । एक क्षण आमाले केही प्रतिकार गर्नुहुन्छ कि भनेर मैले आमाको मुख तिर हेरें । आमा भने केही नभएजस्तो भावमा हुनुहुन्थ्यो । मलाई यो देखेर झनसाह्रो निराशाले छोप्यो । म डरले गर्दा 'के उत्तर दिने' भनेर सोच्न नसक्ने अवस्थामा थिएँ । मैले 'नाँई जान्न' मात्र भन्न सकें र  रोएँ । म निक्कै जोडले रोएको सुनेर ठूलो भीड नै जम्मा हुन लाग्यो । सन्थालीहरू 'ए! रसीदले केटी तान्न लागेको रहेछ । केही होइन ।' भन्दै फर्किए । मानौं मेरो हात समातेर तान्ने रसीदको आधिकार नै थियो । मेरो पर्याय रसीदकी स्वास्नी नै हो निशर्त । मधेशी समूदायका सबैलाई सामान्य लागेको कुरा मैले भने किन पचाउनै सकिन ? पहाडियाहरू रमिते थिए । उनीहरू भन्दै थिए 'खै यी सतारहरूको कुरा बुझिदैन । मेलाबाट जबरजस्ती तान्नु नै यिनीहरूको विवाहको प्रक्रिया हो । अनौठो सँस्कृति ।' म रोइरहेकी थिएँ, उता रसीद मलाई झाँगल झुँगल पारिरहेको थियो । यति बेलासम्ममा मेरी आमा हराइसकेकी थिइन । आफनी आमाको यो ब्यवाहारले अत्यन्त रिस उठ्यो, म अत्यन्त लाचार भएँ । म रसीदका बलिया हातहरूले जकडिएकी थिएँ । रसीद मलाई जबरजस्ती तानिरहेको थियो । ऊ चुपचाप हिडिरहेको थियो । जसले गर्दा म बाध्य थिएँ - पशुवत अघि बढ्नलाई ।
मेरोलागि यो जीवनकै ठूलो अन्याय हुदै थियो भने उता मेरो परिवारलाई यो कुनै घटना नै थिएन । हामी केटीहरूले यसतो अन्यायलाई अन्याय नै मान्नु हुदैन, सहज लिनु पर्छ भन्ने मेरो परिवार त के सारा सन्थाल समुदायमा धारणा बसेको थियो । मेरी आमालाई मेरा बाबुले आजभन्दा बीसवर्ष अघि यसैगरी तानेर स्वास्नी बनाएका हुन रे । मेरै दिदी फूलसरीलाई गौरादह तिरको रन्वीर मुर्मूले त्यसैगरी तीनवर्ष अघि तानेर लगेको थियो । मैले यो घटना आफूमा पनि घट्न सक्ने  कल्पना त्यतिबेलै गरेकी थिएँ जतिबेला मेरी दिदी हातमा नीलडाम देखाउदै रुनूहुन्थ्यो । नाईनास्ती गर्दा रन्वीरले अत्यन्त यातना दिएर जवरजस्ती गर्यो रे । मैले प्रत्येक रात रसीदबाट बलात्कृत भइने अत्यन्त डरलाग्दो र पीडादायी घटना अब घटेरै छाड्ने भयो भनेर अन्दाज गरिसकेकी थिएँ । यसबाट छुटकारा पाउन मैले बुद्धिले काम गर्ने र मौका मिल्ना साथ भाग्ने सोच बनाएर  दामुना बजार कटे पछि  खुरू खुरू हिड्न थालें । सहज हिडाई हिडेको देखेर रसीद रमारहेको थियो । हण्डिको पींध जस्तो कालो अनुहारको बीचमा दुईटा सेता दाँत देखाउथ्यो । के गरोस, ऊ सँग भएको सेतो त्यत्ति होला। सबै कालो - न काया न मन । रसीद मेरोलागि मसान थियो । म कृतिम खुसीसाथ मसानघाट जादै थिएँ ।
केही बेरमा रसीदको आँगनमा पुगियो । रसीदकी अर्की पनि स्वास्नी रहिछ । आँगनबाट रसीदले कराएर आफ्नी स्वास्नी, बुढी आमा र भुराभुरीलाई बोलायो र मलाई चिनायो । केटाकेटीले मलाई छोटी माईं भन्ने भए । छोटी माईं पाएर उनीहरू खुसी भए । उसकी आमा र स्वास्नीले केही प्रतिक्रिया जनाएनन् । बुढी आमा सरासर भित्र गएर हण्डीमा राखेको अलिकती दही र  अलिकती हर्दी लिएर फर्किइन् । रसीदले मलाई हर्दीको टीका लगाइदियो । आमाले दिएको दही अलिकति जुठो हालेर मलाई त्यही जुठो दही खान लगायो । मैले मुस्किलले ओठमात्र दहिमा पुर्याइदिएँ । यो सबै प्रक्रियाको अर्थ म अब रसीदकी स्वास्नी भइसकेकी थिएँ कान्छी स्वास्नी । तर मेरो मनले यो कुनै कुरा स्वीकार गरेको थिएन । म त केबल मौकाको प्रतिक्षामा थिएँ । 
आकाशमा कालो बादलले ढाकेर पानी पर्ला जस्तो भइरहेको थियो । कालो बादल र घरका जीवित मुर्दाहरूको मनको अन्धकारबीचको तादम्यता खपिनसक्नु सुहाएको थियो । म भित्र लगिएँ । साँघुरो घरको एक कुनामा डोरीको खाट राखिएको थियो । मलाई त्यही बसाएर रसीदले भन्यो 'अब तिमेरू घरमा बस, म मासु खोज्न जान्छु । आज साथीहरूलाई बोलाएर रमाइलो गर्नुपर्छ । बरू मासु पकाउन अलि धेरै गुईठा खोजिराख । बाहिर तिर पनि घर सफा सुघ्घर गर ।'
मैले सुनेकी थिएँ, आइमाईलाई सौताको रिस जस्तो केही कुरामा पनि रिस उठ्दैन । त्यसो भए रसीदकी जेठी स्वास्नीलाई म देखि किन रिस नउठेको । सौताहाल्ने पोइदेखि किन रिस नउठेको ? रसीदकी स्वास्नी हेर्दा सन्थाली सम्प्रदायमा महिला कति दास बनाइएका रहेछन् प्रस्ट हुन्थ्यो । सन्थाली पित्रीसत्तात्मक सोचले गर्दा, कुसँस्कृतिको अन्धकारले गर्दा महिलाको जीवन साँच्चै कुनै पाल्तु जनावरको जत्ति पनि सार्थक थिएन । म त्यो भावशुन्यता देखेर छक्क परिरहेकी थिएँ । रसीदकी स्वास्नी प्रति मलाई अत्यन्त दया लाग्यो । तर मैले आफूलाई दया गर्नु पर्दैनथ्यो त, त्यस्तो बेला ? रसीदले अर्की स्वास्नी ल्यायो यसमा कसैको गुनासो छैन । मानौ केही भएकै छैन । वा यो कुनै घटना नै होइन । साँच्चै भन्दा परिवार सङ्ख्या बढ्दा कमसेकम तिनीहरूलाई के ख्वाउने, कसरी पाल्ने चिन्ता हुनु पर्ने होइन ?  रसीदलाई कुनै फिक्री छैन । मानौ उसलाई सम्पत्तिको कुनै कमी छैन । त्यहाँको वातावरण हेर्दा यस्तो लाग्थ्यो यिनीहरू सबै यन्त्रवत चल्छन् , यिनीहरूको चेतना पशुको जत्ति पनि छैन । संवेदना शून्य, दिमागका रित्ता रोबोर्टहरूको संसारमा मेरो मात्र टाउको दुखिरहेको छ ।
बिस्तारै साँझ पर्दै गयो । बादल आकाशमा छाएकाले गर्दा चन्द्रमा पनि मेरो सङ्कट हेर्ने मनसुवा त्यागेर कतै त्यसै बादलको गर्भमा अलप थिइन् । म गुईठा खोज्न सघाउने बाहानामा साँझ पर्नु अघि देखि नै खेत खलियानहरूमा सुरक्षित स्थान खोज्दै थिएँ । यसै बीचमा मैले रसीदको घरको पछाडि बाक्लो मन्सुली धान ढलेको देखेकी थिएँ । प्रशस्त गुइठा जम्मा भइसकेको थियो । अँध्यारोमा म 'चारवटा गुईठा छुटेका छन, लिएर आउछु' भनेर कसैको उत्तरको प्रतिक्षा नगरी सुटुक्क बाहिर निस्किएँ । धन्य शशी ! आज तिमी बादलमा लुक्यौ, र त म पनि ढलेको धानमा लुक्न सकें, नत्र उज्यालोमा मेरो केही जोर चल्ने थिएन । आफ्नो सास दवाएर म अझै राम्रो परिस्थितिको कामना गर्दै जमिनमा लेटिएकी थिऐँ ।
केही छिनमा रसीद मासु लिएर आयो । उसले मासुको पन्नी आमालाई राख्न दिदै सोध्यो 'रीमा कहाँ छ ? चालचुल छैन त ? '
रसीदकी आमाले भनिन्- ' गुईठा छुटेका छन भन्थी कहाँ गइछ ?' रसीदले सोच्यो गुइठा लिन गएकी रीमा आउछे । समय बित्दै गयो । विस्तारै आमा र रसीदकी जेठी स्वास्नीले गुइठाको आगोमा मासु पकाए । भात र खेसरीको दाल अघि नै पाकिसकेको थियो । तिनीहरूले पकाएको मासुको वासनाले घरवरीपरी ढाकेको थियो । रसीदको अनुहारमा मासुको बास्ना सँगै रीमाको अनुपस्थितिले ढाक्यो । कता कता मासुको बास्ना पनि नमीठो लाग्यो । माईत गई क्यारे,  भोली त आउली नि- यही सोचेर आफ्नो मनलाई सान्त्वना दियो । तर उसले घरको यता उता हेर्ने सोच बनाएन ।
गाँउघरका करीब पाँच सात जना साथीहरू आए । उनीहरू भन्दै थिए 'ए रसीद, दुलहीलाई माइत पठाइस् कि क्या हो ? आज सुहाग रातको दिन किन पठाएको त ?' रसीदको अन्दाज र साथीहरूको अन्दाज मिलेर सबैको अन्दाज भयो र त्यो अन्दाज बलीयो भयो । रीमाको चिन्ता गर्नु पर्ने कुनै कारण रहेन । उनीहरू केही बेरमै मासु र रक्सी खानमा ब्यस्त भए । रक्सीको मात सँगै उनीहरूको गफ पनी मात्तिदै गयो । घरमा भएकी आमा, स्वास्नी र केटाकेटीहरूको अगाडि उनीहरू निर्लज्ज र छाडा प्रकृतिका कुराहरू गर्न थाले । उनीहरूका कुरा सुन्दा मलाई नै लाज लाग्न थालिसकेको थियो । मैले सोचें अब यिनले मलाई आज खोज्दैनन् । त्यसैले म विस्तारै त्यहाँबाट निस्केर अँध्यारोमा छामछुम गर्दै निस्किएँ । पछाडि पट्टि निक्कै परबाट घुमाउरो बाटो भएर म आफ्नो घर गएँ ।
मैले आफ्नो घर जान कुनै संकोच मान्नु पर्ने ठनिन । सरासर घर पुगें । घरको आँगनमै कदमका फेदमा बाबु र काका बसेका रहेछन् । मलाई देख्दा मेरो बाबु झस्कनुभो । 'के तँ भागेर आइस?' मैले हो भने ।
काकाले मलाई धेरै बेर लगाएर सम्झाउनु भयो । हाम्रो संस्कृति परम्पराको कुरा गर्नुभयो । म केही नबोलेको देखेर उहाँले गफको सिलसिलालाई सन्थाल जातिको उद्गमस्थल र हालको बसोबास भएको ठाँउको बारेमा बताउनु भयो । सन्थालीहरूको  बसोबास मूख्य गरेर झापाको पूर्वी भाग र दक्षिणमा भएको र निक्कै अल्पसङ्ख्यामा  भएको भनेर उहाँले भन्नु भयो । हामी थोरै सङ्ख्यामा भएकोले गर्दा हाम्रो पहिचान कायम राख्न हामीले कुनै पनि हातलमा हाम्रो परम्परा छोड्न हुदैन  रे ।
आमा भन्दै हुनुहुन्थ्यो, तैले कदमका पातका दुना गाँसेर हर्दीमा डुबाउनु र तिनमा आफैले चामल राखेर आफन्तहरूलाई निम्ता गर्नु । अनि हामीलाई पनि निम्ता गर्नु । तिमीहरूको बिहेमा हामी पनि आउने छौ । बिहान हर्दीले शरीरमा लेपन गरेर दुलाहा दुलहीले नुहाउनु । दिउसो माञ्जीहाडम (मूखिया) लाई बोलाएर तिम्रो र रसीदको बिहे गर्नु पर्छ । तैले बिहे भोजको चिन्ता लिनु पर्दैन । त्यो सबै रसीदले गर्छ । रसीदले आफ्नो ससुरालीलाई पक्कै रिझाउला, रिझाउने नै भन्थ्यो । हामी धेरै पनि खोज्दैनौ । गच्छे अनुसार नै केही चामल दश बोतल जति रक्सी, एक दुई धार्नी मासु दिएर हाम्रो मान राखे भैगयो । तँ नजिकै परिस् । सतारका छोरीको कर्म यस्तै हुन्छ । चिन्ता नगर । तेरी दिदीको हालत तैले देखिस नै होला । भनेको नमान्दा रन्वीरले अलिअलि अर्जापेछ । बिनासित्ती दु:ख मात्रै पाई । चुप लाग्नु नै तेरो कल्याण छ ।
आमाले अरू पनि के के भन्दै हुनुहुन्थ्यो, मेरो साहस थपिदै जान्थ्यो । रतुवाको बगरबाट देखिने नीला पहाड जहाँ हाम्रो जाति छैन पहाडिया बस्तीमा कसैको गोठाल्नी भएर पनि मेरो पढ्ने ईच्छा चुलिदै थियो । किनकी त्यहाँ रसीद जस्ता क्रुर सतार हुदैनन् । ससुराली रिझाएको भरमा कसैकी छोरी जबरजस्ती खुलेआम तानेर बिहा गर्ने संस्कृति त्यहाँ छैन । यी सतारहरू निगुरो टिप्न जाँदा होस, कसैको मेलापात जाँदा होस्, सन्थाली पातामेलाबाट होस् गिद्दले झैं नवयौवना तरूनी हरूमाथी आँखा गाड्छन् र जबरजस्ती तान्छन् चाहे  त्यो किशोरीले चाहोस वा नचाहोस । अझ भनौं त्यसले शारीरिक मानसिक परिपक्वता हासिल गरेको होस वा नहोस् । परम्पराका भरमा संस्कृतिको नाममा यिनीहरू सदियौं देखि उपद्रो गर्दा छन् । केटीका बाबुहरू खुसीसाथ यो पचाउन सक्छन् किनकी तिनीहरू खुकुरी हुन् । जसले जहिल्यै अचानोमाथी प्रहार गर्छ, अचानाको पीडा थाहा पाउदैन । उनीहरू तिनै पातामेलाबाट केटी तानेर ल्याउने बहादुर पुरुष हुन् । केटीका आमाहरू पुरूष प्रधान समाजका कारणले, चेतनाको स्तर कम भएकाले यही कुरा ठीक भन्छन् । किनकी बाबुहरूको ठीक नै आमाहरूको ठीक र बाबुहरूको बेठिक आमाहरूको बेठिक हुन्छ । यहाँ यसको अर्को बाटो छैन,  बिकल्प छैन । म लगातार चुप लागेको देखेर हो वा आफना कुराहरू सबै सकिएर हो । बाबु आमा तथा काका चुप लागे ।
अत्यन्त साघुरो र होचो लाग्ने  हाम्रो घरको बाहिर पट्टीको आधा भागमा भान्छा छ । त्याहा होचो चुल्हो र चुलहाको छेउमा एउटा माटाको सुराही भुइमा गाडिएको छ । केही थाल बटुका र भाँडाकुडा चुल्हा माथी रहेको भारमा झुण्ड्याइएको छ । बाबु र आमा भित्र पट्टीको भागमा सुत्छन । म भने त्यही भान्छाको अर्को कुनामा सुकुलमा केहीबेर होमवर्क गरेर सुत्नेगर्छु । अब भोली देखी त्यहाँ कोही सुत्दैन । मेरा बा आमा पनि हुने छैनन् दशैको छुट्टी पछि म दामुना  स्कूलमा पढ्न जाने पनि छैन । यत्रो धेरै बिद्यार्थीमा कुनै पनि पहाडिया सरहरूलाई मेरो केही याद सम्म आउने छैन । न खोजी, न खबरी । म यो सिङ्गो समाज र हाम्रो समुदायलाई मेरा बा आमा निदाए पछि छोडेर जाने छु । उज्यालो हुँदा कमसेकम म दमक बजार पुगिसकेको हुनेछु । मन मा यस्तै कुरा खेली रहेका थिए । केही बेरको सन्नाटालाई चिर्दै आमाले भन्नु भयो 'अनि खाना केही खाईस कि ? ' बाबु र आमाले अघि नै भात खाई सकेका थिए । उनीहरूको कुरा र ब्यवाहारले यस्तो लाग्थ्यो कि म प्रति उनीहरूको केही कर्तब्य नै छैन । दिउसो एउटा भुस्तिघ्रेले तानेर आमासँगै हिडेकी केटीलाई लग्यो, उसले खान दियो वा दिएन, राम्रो व्यवाहार गर्यो कि गरेन केही मतलब छैन । आफ्नै सन्तान प्रति अत्यन्त गैर जिम्मेवार आमा बाबुदेखि मलाई अत्यन्त रिस उठ्यो । औपचारिकता निभाए जस्तो प्रश्न सुनेर मेरा  रौं ठाडा भए, कन्सिरी ताते । मैले भने 'बिहानदेखि पानी समेत खाएको छैन । भोक नलाग्नु पर्ने ।' यति भन्दा अरू बोल्न सकिन । मेरा आँखा बाट रिस र घृणा तथा भोक पानी बनेर बग्न थाल्यो । मन लागि रहन्थ्यो डाँको छोडेर रोऊ। आमाको काखमा घोप्टिएर घुँक्क घुँक्क रोऊँ । तर के गर्नु आमा त्यस्ती निर्दयी छिन् बाबुको के कुरा, संस्कृतिको नाममा चलनको नाममा रोवोट वा यन्त्र बनाइएका यी सतारहरू प्रति  भित्र भित्र आन्दोलित हुनु भन्दा कुनै अर्को उपाय मसँग थिएन । फेरि यो मैले आज कुनै हातलमा पनि ब्यक्त गर्ने कुरा थिएन । बाहुलाले आँशु पुछ्दै हातले मूख छोपेर आफ्नो आवाज नियन्त्रण गरे । पेटमा भोकको राँको दन्किएको थियो । भने मनमा सन्त्रास छाएको थियो । हरे ! सम्पूर्ण दामुना निदाएको मौकामा यो गाँउ छोडी अरू दश गाँउ टाढा रातभरीमा पुग्नु छ । यसै योजनामा आफू फेरि सोचमग्न हुन पुगेछु । यसै बीचमा आमाले दुइवटा ठूला ठूला भक्का पकाइदिनुभयो । मैले भोकको सितनसँग खपाखप दुईवटै भक्का एकै क्षणमा खाइसिध्याएँ । अन्त्यमा सुराहीबाट पानी झिकेर चुपचाप एक लोहोटा पानी पिएँ ।
रात छिप्पिदै गएकाले काका  अघि नै केही पर भएको आफ्नो छाप्रो तिर सुत्न गईसकेका थिए । मैले भक्का खाइसक्दा नसक्दा बाबु घुर्न थालीसकेका थिए । पानीको गिलास राख्दा ट्वाक्क आवाज आयो । आवाज सँग आमाले मट्टितेलको धिब्री निभाउनु भयो । घर पुरै अन्धकार भयो । त्यो भन्दा आन्धाकार थियो मन । आमा बाबु भित्र पट्टी गएर सुतेपछि म पनि चुल्हाको अर्को कुनामा झल्लामा पल्टिएँ । 'पढ्नु त आखिर जँहा भए पनि छ, किताब बोकुँ कि, नबोकिकन जाऊ ', यो तर्कना मनमा आयो । 'कँहा जानेहो त टुङ्गो छैन के किताब बोक्नु ? पहाड जान त दमक बाट गाडि चढ्नु पर्छ, पैसा कहाँ बाट जुटाउने', मन मनै सोचे, 'त्यही कुनामा पाँच वटा झल्लाहरू राखिएका छन् हिजो सम्ममा तयार भएका यिनैलाई बेच्यो भने पाँच सय त हुन्छ नि ! फेरि कहाँ बेच्ने ? गाउँका कसैले बजारमा देखे भने जवरजस्ती घर फर्काउन पनि सक्छन् । राती नै भागेकी केटी घरबाट, माईतबाट - तिनैहरूकै शब्दमा । तर मेरो बुझाइमा न घर घर नै हो न त माईत माईत । जुन ठाउँलाई घर भन्न चाहन्छु त्यो त्यतिखेर नै माईतमा परिणत भयो जतिखेर रसीदले जबरजस्ती मलाई बजारबीचबाट तान्यो । र रसीदको घरलाई मेरो घर भन्यो, यो कुरा म किमार्थ स्वीकार्न सक्दिन ।'    
यसरी कुराहरू शृङ्खलित र बिशृङ्खलित रूपमा आइरहे मनमा । फेरि कुनै शक्तिले मेरो शरीर जमजमायो । लाग्यो बाबु आमा निदाईसके । म बिस्तारै चाल मारेर उठें । ढोका सम्म पुगें, ढोका खोलेर छेउमा भएका ५ वटा झल्लाहरूको बिटो काँधमा हालें र लुसुक्क ढोकाबाट बाहिर निस्किएँ । आँगनमा मधुरो उज्यालो थियो । जुनलाई बादलले छेके पनि केही प्रकाश मेरालागि नै आए झैं लाग्थ्यो बिस्तारै झल्लाको बिटो टाउकोमा राखेर छिटो छिटो पूर्व तिर पाईला चालें । केही बेरको हिडाई पछि नै दामुना बजार  आइपुग्यो । त्यही पापी ठाँउ जसले मेरो जीवनमा यस्तो सङ्कट ल्यायो, त्यसलाई पार गरेर सुनसान धुले सडकमा आफ्ना पाईला चालिरहें । चकमन्न रातको समय, एकनाशले चमेराहरू रूखमा फटफटाइरहेका थिए । कतै कतै रातको सन्नाटालाई चिर्दै अनौठो आवाज आइरहेको थियो । सहज स्थितिमा भए डरले कहालिने वातावरण थियो । मलाई अरू कुनै पर्वाह थिएन । प्रत्येक पल बित्ने बिगत भुल्दै प्रत्येक आउने आगतको तयारीको लागि मनमा बिबिध योजनाहरू बुन्दै म त्यो रात सडक नापिरहें । मेरो एउटै ध्याउन्न थियो, उज्यालो हुदा दमक बजार पुगिसक्ने ।
भुईमा ढुङ्गा छापेको बाटो लगातार एक्लै हिड्दा मेरा खुट्टा अत्यन्त दुख्न थालेका थिए । गौरादह बजार कटेपछि बाटाको छेउमा भएको परालको माँचमा अडेस लागेर केही बेर सुस्ताउने क्रममा  आँखा लागेछन् । बिउझिदा भुईमा उज्यालो खसिसकेको थियो । उज्यालो हुदा पनि दमक नपुगिएकाले मन अमिलो भयो । मानिसहरूले देख्लान कि भनेर लाजले छोप्यो । हतार हतार आफ्नो भारी टाउकामा बोकेर म पुन: उत्तर हानिएँ । केही माथी पुग्दा मानिसहरू भेटिन थाले । नयाँ दिनसँगै नयाँ काममा जुटेका मानिसहरू यता उता अघि बढिरहेका थिए । कोही बयल गाडामा बसेर गइरहेका थिए, कोही साइकलको घण्टी बजाउदै हिडेका । ती सबैलाई हेर्दा केही हतारो छ,  केही न केही खोजिरहेका छन झैं लाग्थ्यो  । मनमा घरी घरी तर्कना आयो,  'यो बीचमा कतै मलाई चिन्ने कोही फेला परे भने के भन्ने होला ?'  फेरि मनमनै मनलाई दह्रो पारें । 'मलाई यति टाढा कसले चिन्ला र म एक सतारकी छोरी , गरीब सुकुम्बासीपुत्रीको यहाँ के को पहिचान छ र ? यस्तो कल्पनाले म ढुक्क भए ।'
'ए बैनी झल्ला बेच्न लग्या हो ?' मनमा एक तमासको कुरा खेलिरहेका बेला पाडाजुँगी चोकमा एक नेपाली भाषी महिलाको स्वर सुनेर म अत्यन्त डराएँ । मलाई लाग्यो उसले मेरो सबै कुरा थाहा पाइछ । सायद मलाई यसले चिन्दिरहिछ । आवाज तिर दृष्टि दिएँ । त्यो आइमाई मेरो उत्तर नै पर्खी रहेकी थिई । उसले तत्कालै कतिवटा छन् र कसरी दिने भनेर सोधी । झल्ला बेच्ने काम मैले पहिले देखि नै गर्दै आएकोले कुनै गार्हो भएन । केही बेरकाे कसाकस पछि पाँचसय पचासमा झल्लाहरू बेच्न सफल भएँ। एक किसिमले मेरो भारी पनि घटेको थियो भने अचानक सकिएको यो कामले मलाई पहाडै पुग्ने उत्सुकताले छपक्कै छोपएको थियो । मेरो हातमा पाँचसय पचास रूपैया पनि थियो । पैसा जतनसाथ थैलीमा हाले पछि म ढुक्कले पश्चिम तिर लागें । दमकको बस पार्कमा पुग्दा कम्तिमा ९ बजेको थियो ।
त्यसपछि मेरो उत्साह यति चुलियो भन्ने साध्यै छैन । मलाई लाग्यो गाँउ छोडेपछि सबै मेरा मित्र, मेरा सहयोगी हुँदा रहेछन् । परिणाम त यस्तो सधै नहुने रहेछ ।सबै भन्दा ठूलो दुर्भाग्य मेरो स्त्रीत्त्व थियो । यसै कारणले मैले कतिपय अवस्थामा हरेक मानिससँग जोगिएर हिड्नुपर्ने, लुकेर बस्नुपर्ने स्थिति सिर्जना भयो । दमक बजारको रमिता हेर्दा हेर्दै प्रशस्त समय बिताएछु । जसोतसो पूर्व जाने गाडि चढेर बिर्तामोडसम्म आइपूग्दा झमक्क साँझ परेको थियो ।गाडिबाट ओर्लिएपछि म नित्तान्त एक्ली, साहारबिहिन, भएँ । मानिसहरू सबै आ अाफ्नाे धुनमा थिए । मलाई त्यसरात कुनै पनि ठाँउ त्यस सहरले जुटाएन । दिउसो दमक बजारमा किनेर खाएको भक्काको भरमा मैले भोकै त्यस रात सडकमा बिताए । कति पटक आवारा केटाहरूले मलाई दुर्व्यवाहार गर्न खोजे । म प्रत्येक पटक भागेर र कतै लुकेर कटाएँ । भोली बिहान त्यही शहरमा भौतारिदा भौतारिदै मेरो एक जना राजबंशी बुढीसँग भेट भयो । त्यो बुढी मेरी आमा जस्तै भक्का बेचेर बसेकी थिई, बिर्तामोडको गल्लीमा । मैले त्यही बुढीको भक्का किनेर खाँए । बुढीले नै मलाई अर्को साहारा दिई जसले गर्दा मलाई दशै र तिहारमा घर छोडेको कुनै अफसोच भएन । घरमा बुढी एक्लै थिई ।  त्यसैले उसले मलाई अत्यन्त माया दिई । हामी एक आपसमा दु:ख सुख बाड्थ्यौ । म बुढीसँग बस्न थालेको २ दिनमै बुढी नराम्रो गरी बिरामी परी । त्यसैले गर्दा मेरो पैसा सबै औषधी किन्नमा खर्च भयो । बुढीले भन्दै थिई 'म मर्छु होला, तँ मलाई छोडेर नजा । यही बसेर पढ्नु ।' मेरो पहाड जाने सपना सपना मात्र बनिरहेको थियो । दशैंको रमझम, तिहार र छटको बेला मलाई पनि बुढीको माया पाएर म आफ्नो उद्धेश्यबाट बिचलित हुन खोज्दै थिएँ । तिहार पछि फेरि बुढीको छोरो आयो । ऊ भारतको पञ्जाबमा फलाम कारखानामा काम गर्दो रहेछ र छुट्टीमा घर फर्केको रहेछ । जसले गर्दा मैले फेरि हिड्न बाध्य हुनु पर्यो । किन की म महिला थिएँ । म पुरूषको ब्यवाहार सहन तयार थिइन । पूरूषहरू केटी भनेको भोग्या मात्र हुन भन्ने सम्झने मात्र मैले पाएको छु । म पुन: केही गरी पहाड जाने कुराले पिरोलिएँ । मसँग पैसा पनि थिएन । यसैक्रममा तपाँईसँग भेट भयो । मेरो एउटै उद्धेश्य पढ्नु र भविष्यमा केही गर्न सक्ने बन्नु हो । म सक्षम बनेर समाजमा ब्याप्त अन्धकारलाई चिर्न चाहन्छु । पुरूष हुदैमा अधिकारी र महिला भएको कारणले अपहेलित, दासीको जीवन बिताउनु पर्ने कुसंस्कृतिलाई अन्त्य  गर्न चाहन्छु ।
000000

विद्यालयमा शैक्षिक सत्रको अन्त्य हुने समय थियो । नीमा मीस, सुलोचना मीस र म कक्षा ८ को परीक्षाफल तयार गर्नमा निक्कै ब्यस्त थियौं ।  बिहान पनि एस एल सीको परीक्षामा बसेकोले गर्दा बिहानको  खाना पनि नखाई काम गर्दै थियौ । त्यत्तिकैमा बिष्णु दाइले भेज म:म:  ल्याइदिए । म: म: खानै लाग्दा बिष्णुदाई फेरि आएर भने 'सरलाई भेट्न एक जना अभिभावक आउनु भएको छ ।' सुलोचना मिस पिरोलिनु भयो ' फेरि को आयो नि ! कसलाई पास गराउनु पर्ने भयो । रिजल्ट तयार गर्न थाल्यो की यस्तै हुन्छ, हाम्रो स्कूलमा ।'  मैले थपें –'पहिले कुरा त सुनौ । पासै भएको होला नि, यसै पनि यसपाली धेरै फेल छैनन् ।' मैले यसो भनेपछि विष्णुदाइले आगन्तुकलाई भित्र आउन सङ्केत गरे । कोठामा एक जना युवती हामीलाई आभिवादन गर्दै भित्र पसी । मैले म: म:को डल्लो मुखमा हाल्दै हातले अभिवादन फर्काएँ ।  निमा मिसले जिज्ञासा राख्नु भयो ' के काम होला ?' यस पछि आगन्तुक युवतीको पालो थियो 'जनार्दन सरलाई भेट्न आएकी ।' त्यसपछि मैले किन होला भनेर जिज्ञासा राखे पछि ऊ केहीक्षणका लागि  चुप भई । उसको अनुहारमा मैले उसलाई नचिनेकोमा केही  असजिला भाव एक सर्को दगुरेको देखियो । काली काली भए पनि गहुगोरी नै लाग्ने, सेतो कुर्थासलवार लगाएकी, आकर्षक आँखा र लामो ओठ, अलिकति उठेको बक्षस्थल, अलिकति केशराशीले अगाडि अनुहारलाई स्पर्श गरिरहेको,  सामान्य सृङ्गार गरेकी युवती हेर्दा निक्कै आकर्षक देखिन्थी । उसको अनुहारमा देखिएको गाम्भिर्यताले मलाई निकै मनोवैज्ञानिक सङ्कट परिरहेको थियो । मलाई लागिरहेको थियो यो अहिले नआएकी भए हुन्थ्यो, मैसँग यसको के विशेष काम होला र ?  बरु यसले मलाई बाहिरै बोलाएको भए हुन्थ्यो, मिसहरूको अगाडि कस्तो कुरा गर्ने हो, भित्र भित्र डर लागि रहेको थियो । तर मेरो सङ्कट ऊ बोल्न थाले पछि टरिहाल्यो ।
उसले भनी ' सरले मलाई चिन्नु भएन क्यारे । म रीमा, हजुरले नै मलाई काठमाण्डूसम्म ल्याइदिनु भएको थियो । शुरूमा मलाई मञ्जु मीसको घरमा काम मिलाइदिनु भएको थियो ।' मैले बिर्तामोडमा १२ वर्ष अघि भेटेकी रुन्ची केटीलाई संझिएँ । 'त्यही रुन्ची केटी नै यति राम्री तरूनी हो त !' म केहीबेर कल्पनामा डुबें । 
ऊ बोल्दै गई 'म बिर्तामोडबाट निराश भएर अब रसीद कै घर नै फर्कन्छु भनेर पश्चिम आउने बस चढेकी थिएँ । त्यसैको शरणमा जान्छु, मारे पनि मारोस, जे गर्नु छ गरोस भनेर हारेर फर्किएकी थिएँ । परिस्थिति त्यस्तै बन्यो । बसमा बसका खलाँसी र कण्डक्टरलाई उत्तर दिने क्रममा हजुरले मलाई स्वीकार्नु भयो, निशर्त । मलाई नबुझेरै हजुरले बुझिदिनु भयो र काठमाण्डौ ल्याइदिनु भयो । यहाँ आएर मैले सोचे जस्तै प्रगति गर्न पाएँ । यसको मतलब मैले कुनै कष्ट बेहोर्नु परेन भन्ने त होइन । हजुरले जसको घरमा काम गर्न मिलाइदिनु भएको थियो, त्यसै घरको मालिकले मलाई अत्यन्त दुर्व्यवाहार गर्यो । म स्त्री भएको फाइदा त्यसले पनि उठाउन खोज्यो । त्यहाँबाट पनि छोडेर म केही समय त सडकको जीवन विताउने अवस्थामा पुगें । मलाई लाग्थ्यो हामी महिलाहरूको कमजोरी नै स्त्रित्त्व हो । जुनसुकै पुरूषबाट हामी डराउनु पर्ने, यिनले फकाएर होस वा डर धम्की दिएर होस, हाम्रो स्त्रित्त्वको उपभोग गर्न खोजिरहेका हुन्छन् । महिला धनी होस वा गरीव, सफा होस वा फोहोरी, राम्री होस वा कुरुप सबैको समस्या एउटै छ, सबैसँग  एक थान याेनी र दुइ स्तन हुन्छ । त्यसैले ऊ पछि पर्छे ।
सुलोचना मीस ले भन्दै हुनुहुन्थ्यो –' त्यसो भए मनोज सरको समाजमा देखिएको प्रतिष्ठाको के अर्थ लागाउने ? मञ्जु मीसले पनि वहाँको बारेमा नराम्रो त कुरा गर्नु हुन्नथ्यो !' मैले थपे –'त्यो त वहाँहरूको घरको कुरा आँफैले कहाँ बाहिर लैजान्छन् त ?'
ऊ भन्दै थिई –' जे होस अनेक हण्डर र दु:खका बीच मैले फेरि एउटा साहारा पाँए । सीवीन नामक सँस्थाको मद्दतले आफ्नो स्कूल सम्मको पढाईलाई सिध्याएँ । फर्स्ट डिभिजनमा एस एल सी पास गरे पछि मैले सोही सँस्थामा भोलेन्टियरको रुपमा काम गर्दै पढ्दै पनि गएँ । यसपाळी मैले अङ्ग्रेजी र सोसियोलोजीमा बी ए पास गरें । अहिले सोसियोलोजीमा एम ए गर्ने तरखरमा छु । यसै बीच मैले 'महिला उत्थानका लागि जनचेतना' कार्यक्रमको नेतृत्त्व गरी झापालाई नै कार्य क्षेत्र बनाएर जाने तयारी गरिरहेकी छु । ममा आत्मविश्वास छ  यो कार्य म अत्यन्तै प्रभावकारी रूपमा गर्न सक्छु भन्ने । मलाई हाम्रो सन्थाल समुदायले अपनाएको कुसंस्कार र कुरीति प्रति अत्यन्तै दया लागेको छ । यस्ता समस्या एउटामात्र सम्प्रदायमा सीमित छैनन् । आम गरीव मानिसहरूले कुनै न कुनै अन्धविश्वास र कुसंस्कृतिको मार खप्नु परिरहेको छ । यसबाट विषेश महिलाहरू पीडित छन् । यसलाई सुधार गर्ने काम हाम्रै हो । हामीले नै हिम्मत गरेर काम शुरू गर्यौ भने मात्र भावी पुस्ताले अमनचयन पाउने छ । हाम्रो पछिल्लो पुस्ताले मुक्ति पाँउने छ । सर ! मलाइ आशीर्वाद दिनुहोस् मैले हजुरले देखाएको गोरेटोबाट धेरै ठूलो सडक भेटिसकेकी छु । हजुरले देखाएको बाटोबाट मैले सङ्घर्ष गर्न सिकें र असफल पनि भइन । म अहिले जे छु हजुर कै कारणले छु । मैले पहाडमा गएर रसीदको क्रुर पञ्जाबाट छुटकारा पाउने भन्दा ठूलो सपना देखेकी थिइन । यस्तो सपनालाई मोडेर तपाँईले मलाई आजकी रीमा हेमरम बनाउनु भयो जो आज समस्याबाट भाग्ने होइन, अरूको समस्यामा डटेर लड्न सक्ने, आम मानिसका समस्यालाई जरै देखि उखेल्ने अभियान चलाउन सक्ने सामर्थ्यवान भएकी छ । म जे छु आफूलाई तपाँईकै सृष्टी सम्झन्छु ।
मैले म: म: खाइसकेछु । म लगातार सोचिरहेको थिएँ 'जीवनमा मेरो कारणले एक जनालाई अलिकति गुन भएछ क्यार ! राम्रै हो । तर सबै नारीमा यस्तो हिम्मत भए, सङ्घर्षको शुरुवाती पाइला मात्र चाल्ने सामर्थ्य भए उनीहरूले कहीं न कहीं त सहयोगी हातहरू पाइहाल्ने थिए नि !' जे होस रीमाको सफलताले मलाई ज्यादै हर्षित तुल्यायो ।
रीमा मसँग विदावारी भई गइसकेपछि निमा मीस जिस्क्याउदै हुनुहुन्थ्यो, क्या हो जनार्दन !  तिम्रोमात्र सृष्टी त त्यति स्मार्ट छ, कि अब संयुक्त सृष्टीकाे प्रवन्ध गर्ने त ! सोच है ।

रचना समय २०६३।चैत्र
रातोपुल, काठमाण्डौ

  

1 comment:

janardan.kattel@gmail.com said...

पाठक वृन्दमा पठेर अाफूलाइ लागेकाे कुरा लेखी पृष्ठपाेषण प्रदान गर्नुहुन विनम्र अनुराेध छ ।