कर्णबहादुर
सम्पत्तिको विवाद रहुन्जेल दाजुभाइहरुको बीचमा खटपट रहन्छ । जब सम्पत्ति बाँड्नु पर्दैन वा अंश गर्नुपर्ने स्थिति रहदैन तब तिनै दाजुभाइ पारिवारिक बन्छन्, आफन्त र आदरणीय बन्छन् । सायद यही कारणले होला कूल, खान्दान वा फलानो परिवार, खलक भनिएको । यस्तो तर्कना मनमा आएपछि जिल्ला प्रशासन कार्यालय दांङमा परेको एउटा उजुरी/विवाद र सो झगडा मिलाउन चलाइएको छलफललाई आधार बनाएर भएर एउटा कथाले जन्म लिन्छ । सो कथा हो कर्णबहादुरको कथा ।
ᴥᴥᴥ
कर्णबहादुरलाई आफ्नी आमाले सँधै किन गाली गरेको होला भन्न थाहा थिएन । जे होस उसले सधैं जसो आमाको गाली खाने गर्थ्याे । कहिले काँही पिटाइ समेत खानुपर्थ्याे । उसका बाबु गाँउको रक्स्याहाहरु मध्ये नं. १ नै थियो । बिहान भात खाएपछि कहाँ जान्थ्यो त थाहा थिएन । तर बेलुका रक्सी खाएर लरबरिदै आउँथ्यो र सबैलाई गाली गर्थ्याे , थोरै भात खान्थ्यो र सुत्थ्यो ।
कहिले काँही चाँडै निदाएर रातमा विउँझिदा कर्णबहादुरले केही आवाज सुन्थ्यो — अचम्मको । उसकी आमा र बाबुको खासखुस समेत मिसिएको उक्त आवाजका भरमा के भइरहेछ, ऊ पटक्क बुझ्दैनथ्यो । किनकी अँध्यारो थियो - रातको अनि अज्ञानताको समेत । कर्णबहादुर चाल मारेर केही बुझ्ने प्रयास गर्दा गर्दै फेरि निदाउथ्यो ।
कर्णबहादुरका तीनजना भाइहरु थिए । माइलो लाले , साँइलो बलु र कान्छो बिरु र उनीहरु करीब एक एक वर्षले जेठा —कान्छा थिए । यस्तै सात, छ र पाँच वर्षका । त्यतिबेला कर्णबहादुर करिब एघार जतिको हुँदो हो । ऊ बस्तुको गोबर सोहोर्थ्याे । घाँस काट्थ्यो । गाई, बाख्रा चराउन लैजान्थ्यो — ल्याउथ्यो । यसै बीच किन हो कहीले काँही पिटाइ पनि खान्थ्यो र अक्सर गाली सुनिरहन्थ्यो आमाको — भात खाँदैखादै । तर उसले आफ्ना भाइहरुलाई आमाले कहिले पनि गाली गरेको सुनेन र न त देख्यो पिटेको नै ।
एक दिन उसको बाबुलाई छिमेकीले हतेर्दै ल्याइदिए — घरसम्म । त्यस दिन उसले भात समेत खाएन । कसैलाई गाली गर्न समेत सकेन । सिधै ओच्छ्यानमा पल्टियो । त्यसपछि कर्णबहादुरको बाबु कहिल्यै बाहिर निस्केन । सधै सुतिरहन्थ्यो, खोकिरहन्थ्यो । अय्या अय्या भन्थ्यो । साँझमा धामी बोलाइन्थ्यो । धामीले
धेरै बेर चामलका गेडा गनेपछि धुप बाती बाल्थ्यो , फलाक्थ्यो , ढ्यांग्रो ढोक्थ्यो र सकुन्जेल उफ्रन्थ्यो । तथापी उसको बाबु उठ्न सकेन । थलिएको थलियै भयो ।
अर्को एक दिन उसको बाबुले बोल्न समेत सकेन । सास घ्यार घ्यार भयो । आमा अत्तालिइन् । ऊ पनि अक्क न बक्क भयो । भाइहरु पनि टोलाएर हेरिरहे । बिरामी कुर्न छरछिमेकीहरु पनि आएका थिए । तर कसैको केही लागेन । सबै रुन थाले । उसको बाबु त मर्यो अरे — सबैको रुवाई र कुरा गराईबाट उसले कुरा बुझ्यो ।
बाबुको कृयाकर्रम सिद्धिए पछि पुनः उसले उसकी अामाको गाली सुन्यो । परिपक्वता बढ्दै गएकाले होला, गालीमा भनिएका शब्दसमेत बुझ्ने प्रयास गर्यो । र उसले थाहा पायो —ऊ त सौतेनी छोरो पो रहेछ । अनि भाइहरु आमाका आफ्नै छोराहरु ।
कर्णबहादुरको बाल्यकालको कथा यत्ति थियो । यिनै घटनावृत्तमा अन्य घटनाहरुले कथालाई थप जीवन्तता दिन्थे । पाठकको विद्वतालाई कदर गर्नका लागि अन्य घटना वर्णन गरिएन ।
ᴥᴥᴥ
अब कर्णबहादुर जस्तो सुकै काम गर्न सक्ने भयो । घरको सबै काम ऊ सहजै गर्दथ्यो । भाइहरु स्कूल गए, पढे । कर्णबहादुर हलो जोत्थ्यो, खन्थ्यो , भैसी पाल्थ्यो — खेति किसानीमा गर्नु पर्ने सबै काम गर्थ्यो । आमा भात पकाउँथिन । ठूलो भएकोले होला गाली अलिअलि मात्र गर्थिन आमा, आक्कल झुक्कल ।
भाइहरु क्रमशः कक्षा दश, नौ र आठ कक्षामा पढ्दै गर्दा कर्णबहादुरले प्रहरी जवानमा भर्ति हुने अवसर पायो । घरको काम गर्न केही समस्या भए पनि ऊ घरमा बराबर पैसा पठाउथ्यो । कहिले काही मात्र घर आउथ्यो ।भाइहरुले त्यति धेरै त पढेनन् । तीनै जनाले आई. ए . सम्म पढे । पास फेल जानिएन । त्यसपछि माइलो भाइ घर पेन्टिङको काम गरेर अलिअलि कमाउथ्यो । साइलो इन्डिया तिर कमाउन हिड्यो । कान्छो आमासँगै बसी घर व्यवहार जेनतेन चलाउथ्यो । कर्णबहादुरले सब ठीकठाक सम्झ्यो । सबैका आआफ्नो इलम— व्यवहार आफ्नो आफ्नो ।
एक दिन कर्णबहादुरले आँफै केटी फकाएर ल्यायो र घर लगेर भित्र्यायाे । उसले आफ्नी आमालाई सासु बन्ने अबसर प्रदान गर्यो । अनि छोराबुहारी तराइतिर बस्न थाले, जागिर खाएकै ठाँउतिर ।
यसै बीचमा कान्छो भाइले कर्णबहादुरलाई घरमा बोलायो । सरसल्लाह गर्न । कुरा अंश बण्डाकै रहेछ । कुरा गर्दा गर्दै थाहा भयो, बाबुको सम्पत्ति आमाले भाइहरुको समेत सल्लाहमा धितोमा राखी ऋण लिएको रहेछ —निकै ठूलो । भाइले ऋण धन सबै अंश गरौ भनी जोड दियो । कर्णबहादुरलाई आफ्नोे भूमिका पित्रीससाद घटाउन वा बढाउन केमा दरियो बुझ्न मुस्किल पर्यो । आफू घर बसुन्जेल कुनै ऋण नभएको, भाइहरुलाई स्कूल पठाएर आफूले हलो जोतेको, धेरै समय पछि आफूले जागिर खाएर घरमा पैसा समेत बारम्बार पठाउन गरेको मनमनै सम्झ्यो । फेरि उसले आमाको गुनासो सुन्यो —“मलाई हेरिनस्, पालिनस, तँ कमाउने भइस, हामीलाई ऋणमा डुवाइस ।” अनि भाइको पनि कुरा सुन्यो, धम्कीको रुपमा, “दाजुको सम्पत्तिमा भाइको हक रहन्छ भन्छ त कानून !”
उसले फेरि सम्झियो, यो सम्पत्ति बाँडचुड गर्नु नपर्ने भए, आमाले पनि गाली गर्न छाडेकी थिइन् । भाइहरु पनि बैरी हुने थिएनन् । त्यसैले उसले पञ्च भलाद्मीका अघि आफूले कुनै सम्पत्ति पनि नलिने र ऋण पनि नव्यहोर्ने कागज गरिदियो । लामो झै झगडा, भनाभन पछि घटनाले यस्तो रुप लियो । उसले त्यसपछि मालपोत कार्यालयमा गई अंश बुझेको भरपाई गरिदियो ।
बिस्तारै बिस्तारै भाइहरुले ऋण पनि तिरे । तर पछि अंशका लागि पुनः आपसमा झगडा गर्न थाले । यता कर्णबहादुरको सम्बन्ध बिस्तारै सबैसँग सुध्रदै गयो । अन्त्यमा छोरा बुहारीसँग बस्ने गरी आमा पनि तराई झरिन् ।
एउटा सुखी परिवार भित्र अहिले आमा, छोरा, बुहारी एवम् नाती र नातिनी गरी पाँच जना बस्छन् । न आमाले आफ्ना छोरा बुहारीलाई गाली गरेको सुनिन्छ न नाति नातिनीलाई कुटेको वा गाली नै गरेको सुनिन्छ । बुहारीको व्यवहार चित्त बुझेरै त आमा तराई झरिन होला, थप भन्नै परेन । आज सम्मको कर्णबहादुरको कथा यत्ति हो ।
घोराही दाङ, २०७० फाल्गुण ।
No comments:
Post a Comment