-
ऋषि शान्तिप्रिय
अघिल्लो दिनको बुढाबुढीको सल्लाह अनुरुप अलि चाँडै अफिसबाट निस्किएँ । घर
आइपुग्दा रुक्मिणीको घुर्क्याईं शुरु भै हाल्यो ।
भाइको विहे छ, किनमेलका लागि एक दिन त छुट्याउनु पर्यो रे । एक दिन छुट्टि लिनै पर्छ भनेर जिद्दि
गरिन् ।
मेरो आफ्नै खाले समस्या छन् । मेरो के भन्नु,
अफिसको भनौ न । जुन अफिसमा सरुवा भए पनि मलाई सँधै कामले नै गाँजेको हुन्छ । मैले
धेरै बेर सोचें । जागिर त दोस्रो कुरा हो - पहिलो त परिवार नै हो ।
भैगो, अफिसमा कामको चटारो नै भए पनि
शुक्रबार चैं छुट्टि बस्नु पर्यो । संसार हारे पनि परिवार जित्नु भन्छन् । स्वीकार
गरिदिएँ ।
-
"के के किन्नु पर्छ र ?",
सोधें ।
-
" विहेमा लगाउने लुगा कपडा,
गहना, नानीहरुलाई लुगा कपडा, हजुरको सुट छैन । अनि .."
-
"घरमा नभएर नै हो कि,
सबै कुरा किन किन्नु पर्यो ? तिमी एउटा सारी किन । नानीहरुलाई जामा सामा एसो फेसन बिचार गरेर
किनौला, भैगो नि ! कति नै बेर पो लाग्ला
र बरु चाँडै किनमेल सिद्धिए म एक
छिन त्यतैबाट अफिस पस्छु र केही काम गर्छु ।", रुक्मिणीको कुरालाई बिचैमा
रोकेर मैले आफ्नो कुरा भनिहालें ।
-
"त्यसो भनेर हुन्छ !
सधै काम काम, घर परिवारलाई चैं समय दिनु पर्दैन ? पुरा वर्षमा तपाईले एक दिन पनि
छुट्टि लिनु हुदैन ? ", उनको तीखो प्रश्न थियो ।
-
"मैले त्यसो कहाँ भने त
? हाम्रो काम चाँडै सकिए समयको सदुपयोग
गरौंला पो भनेको ।"
-
लु भो भो, मैले बुझें ।
जागिर त मैले पनि खाएकै हो । छुट्टि नै लिए पछि एक दिन त टेन्सन नलिई
बस्नु पर्छ । " रुक्मिणीले कुरा साफ गरिन् ।
-
"भनें त शुक्रबार पुरै
छुट्टी भनेर । अनि बिहे चै के बार पो अरे?"
-
"१७ गते चै हो । के बार
पर्छ ।" भन्दै रुक्मिणी उठिन् र क्यालेण्डर हेर्दै भनिन् –"सोमबार रैछ
।"
मलाई भने अर्को एक दिन पनि
थप छुट्टि मिलाउनु पर्ने भो भनेर छटपटि भयो । जे होस शुक्रबार छुट्टि बसी बुढीलाई
लिएर सपिङ जानु पर्ने भयो ।
सम्झें - किनमेल त एक्लै पनि
गर्न त सकिन्थ्यो होला तर पनि बिहे भएका स्वास्नी मानिसहरुलाई बुढासँग हिड्दा
गौरबै लाग्दो हो । अनि मलाई नि ! मलाई साँच्चै भन्ने हो भने कुनै
कुरामा गौरब लाग्छ वा लाग्दैन आँफैलाई थाहा छैन । किन हो मलाई साना तिना दुःखले
दुःख दिन छोडेका छन् अनि निकै ठूला सुखले भनी मलाई खुसी दिन छोडेका छन् । के
म यन्त्र हुदैछु ? कि मैले जिन्दगी जिउने कला
सिक्नै पाइन ? आफ्नै अपहिचानप्रति म आँफै छक्क पर्छु ।
-"बरु भ्याइयो भने बिहे घरमा के तयारी गर्दैछन् , पुग्नु पर्छ ।
उनीहरुको सपिङमा पनि जान भ्याइएन । कान्छो
गुनासो गर्दैथ्यो । आफ्नो भाइको विहेमा पनि
समय ननिकाल्ने दिदी कस्ती होस पो भन्छ त मलाई ।" रुक्मिणीले पनि आफ्नो
विवशता बताइन् ।
- "जाँऔला नि भ्याएसम्म
। जानु पर्ने त हो नि ! तिमी पनि उस्तै त भयौ, माइतिघरमा बिहे छ, जानु छैन । समय निकाल्नु छैन
। जागिरले नै खायो तिमीलाई पनि । "
मैले ढाडस दिदै भनें ।
बुढा बुढीको अब कुरा मिलिसकेको थियो
। छोरीहरु पनि स्कूलबाट आइपुगे ।
घरमा होहल्ला र रमाइलो शुरु भयो । यसै बिचमा चिया खाजा आदिसँगै
विभिन्न कुराकानी, बिहेकै सल्लाह के के किन्नै पर्ने छ, के के चाँही
नकिन्दा पनि हुन्छ आदि छलफल भए । छोरीहरुले आफ्नो माग राखे । मामाको विहेमा शनिबारदेखि नै जाने, आइतबारदेखि मंगलबारसम्म
स्कूलमा छुट्टी माग्ने लगायतका बाल
योजनाहरु सुनाए । उनीहरुमा पनि निकै ठूलो उत्साह भरिएको थियो । छोरीहरुको खुसी पनि
मामाको विहेले चुलीमै पुर्याइदिएको थियो । अन्त्यमा पैसाको कुरा भयो कति चै खर्च
हुन्छ, अनि आफूसँग कति छ भनेर चर्चा भयो ।
रुक्मिणीको खातामा पैसा छैन
अरे । बैंकको किस्ता, बिजुली, पानीको बिल, पसलको बाँकी सबै सबै गर्दा उनको अब तलब
नआइ पैसा छैन अरे । अनि मेरो ? मेरो खातामा केही होला
भन्ने थियो । मोबाइल बैंकको एप्लिकेसन
खोलेर हेरें - जम्मा तीस हजार त रहेछ । अघिको लिष्ट, लुगा फाटो, सारी गहना सुट
नानीहरुको लुगा आदि सबै सम्झदा आधा त के
एक छेउ पनि नपुग्ने जस्तो भयो । कसैसित सापट मागौं भने पनि कोसँग माग्ने, फेरि
कुनै दिन तिर्नै पर्छ । एक किसिमको तनाब भयो ।
दुबैले जागिर खाने कमाउने नै भएकोले यतिबेलाको पैसाको अभाव चै हामीले बिना
छलफल महशुस गर्यौ । दुबैले नबोलेरै धेरै बेर सोच्यौं ।
साँझको खाना खाइसकेपछि मैले
निर्मलालाई सम्झिएँ । निर्मलालाई कोठा बन्दोबस्त गर्दा मैलै चालीस हजार खर्च गरेको
थिएँ । ऊ काठमाण्डुमा सेटल भएको पनि झण्डै छ महिना भैसकेको थियो । केही जम्मा पारी
कि ! भने-
-" निर्मलाले दिन्थी कि
?"
- "के दिन सक्थी, हिजो
मात्र भेट भएको थियो । दुई जना छोरीहरुको स्कूलको खर्च, खाना, कोठा भाडा, सानो नानी,
बच्चाको औषधी अनि एउटा स्कूलको टिचरको जागिर । कमसे कम केटाहरु भए बिहान
बेलुकी ट्युसन पढाउथे, के गर्थे, अलिअलि
एक्स्ट्रा कमाइ भए पछि बचाउथे होला, उसको लागि त्यो सम्भव छैन । धन्न काखमा बच्चा
लिएरै भए पनि १० देखि ४ सम्म स्कूल पढाएर
आफ्नो खुट्टामा उभिएकी छ । ", रुक्मिणीले
निर्मलाको हालत बताएपछि मेरो पैसा नउठ्ने भयो भनेर पक्का भयो । रुक्मिणी थप भन्दै थिई-
-"बरु हामी सबैलाई एक
दिन बोलाएकी छ । खाना खाने गरी । हामीसँग साह्रै अनुगृहित छ ऊ ।
निर्मलाले आफ्नै पति र सासु
ससुराबाट तिरस्कृत भएर काठमाण्डुमा हाम्रो शरण पर्न आए पछि हामीले नै उसको लागि आवश्यक प्रबन्ध गरेका थियौ
। हामी पनि दुबै जागिरे भएको र "एकखालको जीवनयापन चलेकै छ" भन्ने आफूले
ठानेकोले आफुलाई निरिह सम्झनु परेको थिएन ।
असहायहरु सबैलाई त सहयोग गर्न सम्भव थिएन तथापि कुनै दिन मेरो दैनन्दिन
निर्मलासँग जोडिएको र महिलाहिंसाको शिकार भएकी निर्मलाको कथाले रुक्मिणीलाई भित्रैदेखि छोएकोले हामीले ऊ प्रति त्यति
सदासयता देखाएका हौं । निर्माला पनि यति सहयोगको सुनिश्चतता ठानेर नै हामीकहाँ,
विशेष मसँग पुनः ठोक्किएकी हो ।
बेलुका ओच्छ्यानमा पल्टिएर
फेसबुक खोलेर हेरैं । शुरुमै निर्मलाको फोटोमा आँखा पर्यो । आकर्षक फोटो राखेको
रहेछ । दुइटी छोरीहरुको साथमा । मैले त निर्मलालाई त्यही पुल्चोक इन्जिनियरिङ क्याम्पसकी
निर्मला देंखें । म आफ्नो बिगत र निर्मलासँग बस्न नसकेको घरबार
सम्झेर केहीबेर टोलाएँ । निकै नोस्टाल्जिक भएछु ।
गरगहना पनि धेरै लगाइएको, सोह्रशृङ्गार
गरी आफूलाई निक्कै नै सजाएर कुनै स्टाफको
विहेमा गएकी रहिछ । भने-
"गहानाको बन्दोबस्त भयो
प्यारी, किनेको हो कि मागेको, कस्ले चिन्छ ? हामी जत्तिको मान्छेले लगाएपछि मागेको पनि किनेको नै ठान्छ दुनियाँले
।"
रुक्मिणीले कुरा नबुझेर
मतर्फ फर्किएपछि उनलाई निर्मलाको फोटो देखाएँ
। निर्मलासँग सुनको राम्रो गहनाको सेट रहेछ भन्ने पक्का भयो ।
बुढाबुढीको सल्लाह मिलिहाल्यो ।
भोलि बिहान निर्मलालाई साँझको खाना खान आउने भन्ने खबर गरिन् रुक्मिणीले ।
साँझ खाना खाना गयौं सबैजना
। रुक्मिणी र निर्मलाले धेरै बेर गफ गाफ गरे । उनीहरु मिल्ने साथी भैसकेका थिए ।
यस बिचमा छोरीहरुको पनि केमेष्ट्री मिल्न थालेको थियो । रुक्मिणीले खुसुक्क गरगहनाको कुरा गरिन् । गहना
पोको पारिन् अनि हामी खाना खाएर आफ्नो घर फर्कियौ ।
शुक्रबार पुर्वनिर्धारित
हामी दुबैले छुट्टि लियौ । किनमेलका
लागि बजार जानु थियो । गयौं ।
सुन किन्नै नपर्ने भयो । अजिङ्गरको आहारा दैबले जुराएकै थियो । बाँकी कुराहरु
पुर्व निर्धारित खरिद कार्य सम्पन्न भयो । मैले एउटा रेडिमेड कोट किनें । रुक्मिणीलाई
नयाँ डिजाइनको पार्टि सारी किनिदिएँ । बुढी मक्ख परी ।
बिहेमा जान नयाँ पोशाकमा सजिएर गहना पनि लगाइसकेपछि रुक्मिणीलाई सजग गराएँ
," बिहेको भीड भाड हुन्छ, कसको दाउ के के मा हुन्छ, गहाना चै ख्याल राख्नु नि
! लुट्ने पनि पो हुन्छन् त, कोही चोर
फटाहाले थाहै नपाइ चेन काटेर लगेका पनि सुनिन्छन् । त्यसमाथि अर्काको गहना
लाइएको छ ।"
मेरो कुरा सुनेर श्रीमतीजिले
हाँस्दै कानमा खुसुक्क भनिन्- "हराएमा डर छैन, ग्यारेन्टेड हो ।"
मैले एक दिन कुरै कुरामा
कार्यालयका एकजाना साथीले सुनाएको एउटा कथा मनमनै सम्झिएँ –
ऐसेलुखर्कमा एक जना घनश्याम
भन्ने मान्छे थियो । ऊ सामान्य परिवारको थियो । बिहे त गर्नै पर्यो । धनीहरुले
जस्तो उसले बिहेमा सुनका गहना लान सकेन ।
तैपनि जेनतेन गहनाको जोहो गर्यो ।
घनश्यामको बिहे सकियो ।
सामान्य परिवारको मन्छेले पनि यति राम्रो गर गहना ल्याएको भनी सबैले तारिफ गरे ।
बेहुली पक्षका गाउँले सबै खुसी भए । बेहुला पक्षका जन्ती तथा सबै गाँउलेहरुले छक्क
पर्दै भने –"हैन बिदेशबाट राम्रै कमाएर ल्याएको रहेछ क्यारे ।"
बेहुली भित्र्याइयो । बेहुली
पनि खुसी थिइन् । आफ्नो रोजाइको दुलाहा
अनि यति धेरै गहना पाएर मक्खै थिइन् ।
सुहागरात नसिद्धिदै गहनाको बारेमा बेहुला
बेहुलीको गफगाफ त भैहाल्यो । खास कुरा के
हो बेहुलाले आफ्नी दुलहीलाई ढाँट्ने कुरा पनि भएन ।
त्यसपछि त के चाहियो र? बेहुली रिसाइहालिन । कसैले सम्झाउन सकेनन्
। नयाँ दुलहीको आन्दोलन शुरु भयो बिहे
घरमा । सारा गाँउभरी हल्ला फैलियो । घनश्यामले किनेको ग्यारेन्टेड सुनले पोल्यो रे
दुलहीलाई । यो खबर आगोको झिल्को जस्तो एक कान मैदान हुँदै उसैको माइती गाउँसम्म
पनि फैलियो ।
अहिले घनश्यामलाई
ऐसेलुखर्कमा घनश्यामको नामले भन्दा ग्यारेन्टीको नामले चिनिन्छ ।
सालो बिहेमा जन्त त गइयो । तर
मलाई त्यो ग्यारेन्टेड सुनवाला घनश्यामको कथाले दिनभरी पोलिरह्यो । भगवानलाई
पुकारिरहें । हे भगवान रुक्मिणीले लगाएको
गहना ग्यारेन्टेड सुनको हो भनेर कसैले नचिनोस् । यदि कसैले चिनेमा मेरो पनि नाम 'ग्यारेन्टी'मा
परिणत हुनेछ घनश्यामको जस्तै ।
-मिति २०७८/०१/१९
-इटहरी ।
No comments:
Post a Comment