Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Monday, April 19, 2021

लेखः महाभारतको विनिर्माण र साहित्यप्रतिको अपेक्षा

-       जनार्दन कट्टेल


विहानै रेडियोबाट अनुराधा पौड्वालको मीठो स्वर गुञ्जियो ।  यशोमिती मैयाको पुछे नन्दलाला, राधा क्यू गोरी मैं क्यू काला..... ।

उतिबेला  रेडियो नेपालका अतिरिक्त भारतका विभिन्न ठाँउबाट प्रसारण हुने सर्ट वेभ तथा मेडियम वेभ रेडियोको प्रचलन थियो । अहिले जस्तो टेलिभिजन, एफ एम तथा युट्युब जस्ता आधुनिक प्रसारण माध्यमहरुको शुरुवात भएकै थिएन, गाँउमा पुगेकै थिएन । चर्चित रेडियो स्टेशनहरुमा रेडियो नेपाल, अल इन्डिया रेडियो, विविध भारती, रेडियो खर्साङ आदि थिए । कहिले काँही रसियाको मस्को तथा चीनको बेजिङबाट समेत नेपाली कार्यक्रमहरु प्रसारण भएको पाइन्थ्यो ।  उतीबेला रेडियोमा पत्राचार गरी आफ्नो फरमाइसको गीत सुन्ने चलन ब्यापक थियो ।

केहीबेरमा नन्दलाल र यशोदा माताको संबाद शुरु भयो –

यशोदा मैयाले कृष्णलाई दही चोरेर खाएको भनी गाली गरिन् । कृष्णले आफूले त्यस्तो गल्ती नगरेको अनेक प्रमाण दिन थाले ।  अन्त्यमा यशोदा मैयाले स्वीकारिन् - तिमीले दहि खाएको होइन रहेछ भनेर । अनि कृष्णले पनि आमालाई किन ढाँट्नु भनेर मेलै दही खाएको नै हो भनिदिए । अनुप जलोटाले कलात्मक स्वरमा त्यस्तो संबाद सुनाए । रेडियो खर्साङबाट ।   यो मेरो बाल स्मृति मात्र हो  ।

यो हाम्रो धर्म थियो । धर्मले, धर्मशास्त्रका कहानीहरुले सजिलै भनिदिन्छन् चोर्नु पाप हो । छल्नु पाप हो ।  तर यहाँ प्रस्तुत भजनमा कृष्णजिले या त चोरे, या त ढाँटे । त्यसै कुरालाई साहित्यले मलजल गर्यो । संगीतले सुललित बनायो । अनि बाल मस्तिस्कमा भरिदियो । यसबाट बाल मस्तिस्कले के बुझ्ने ? चोर्नु हुने कि नहुने ? ढाँट्नु हुने कि नहुने ? म बयस्कले नबुझेको कुरा बालकले के बुझ्छन् ?  रनभुल्ल पर्छु ।

मैले पनि कृष्णको कथा सुनेर बालककालमा कति उट्पट्याङ कुराहरु गरेको छु । त्यसको सट्टामा कति झापड खाए हुँला बा आमाबाट, दाजु दिदीबाट । कति चोरियो । कति ढाँटियो । आखिर ढाँट्न  चोर्न त हाम्रै नैतिकता सिकाउनुपर्ने धार्मिक ग्रन्थलेले सिकाएछ नि त ।  म भन्दिन धर्म अनैतिक हुन्छ भनेर । म भन्दिन धर्म  अधार्मिक  हुन्छ भनेर । तर धर्मले बोकेको दर्शनलाई, नैतिकतालाई जुन उमेर समुहमा जसरी ब्याख्या गर्नु पर्ने हो नगर्नाले, जसरी प्रस्तुत गर्नु पर्ने हो नगर्नाले, या त सानै उमेर देखि विश्लेषणात्मक चेत नभरिदिनाले हाम्रा धार्मिकताहरु कति ठाँउमा अधार्मिक र अनैतिक भएका छन् । यो हामीले धेरै ठाँउमा देखेका छौं ।

त्यसो त रित्तो गाग्रोको आवाज ठूलो हुन्छ । अनि आधा भरिएपछि बढी छचल्किन्छ ।  हामीले हाम्रो समाजलाई या त रित्तो राख्यौं, या त आधा राखेर छचल्काइदियौं ।

हिजोसम्म हाम्रो पाठ्यक्रममा नैतिक शिक्षा थियो । मानिसहरुले यसलाई अनावश्यक ठाने । नैतिक शिक्षाले राजतन्त्रलाई नेतृत्व दियो अरे । निरङ्कुश तन्त्रलाई मलजल गर्यो अरे । अनि पञ्चायती पक्षधरलाई प्रस्ताब गर्यो अरे । अनि अरु पनि थुप्रै के के गर्यो थाहा छैन । तर भन्नेले भनिदिए- यो त बुर्जुवा शिक्षा भयो । हेडमास्टर हटाइए । शिक्षकहरु कुटिए । संस्कृत त झनै आधुनिक समाजको शत्रु नै ठहरियो  के कुरा गर्नु र ?

हालसालै मात्र महाभारतमा आधारित टेलिशृङ्खला हेरिसकें । मलाई पहिला त महाभारतमा कुनै रुचि थिएन । पढ्ने वा फिलिम हेर्ने फुर्सद पनि थिएन । तर केही साहित्यकारहरुको महाभारतमा आधारित विनिर्माणहरु पढेपछि रुची बढ्यो । हुन त टेलीशृङ्खला पनि पनि मूल ग्रन्थ होइन । तथापि यसबाट महाभारतमा के विषय कसरी उठाइएको छ भनी प्रष्ट हुन केही मद्दत चाँहि अवश्य मिलेको छ ।  म अझै पनि भन्न सक्दिन कि बेदब्यासले लेखेको महाभारतको जस्ताको तस्तै रुपमा यो शृङखला तयार पारिएको थियो वा थिएन । वा यसमा पनि केही कथानकहरु थप्ने, नाटकीय रुप दिनका लागि संबादहरु थप्ने लगायतका कार्य भएकै होलान् । या त कथालाई अलि धेरै विनिर्माण नै गरिएको नै थियो कि ?  मूल ग्रन्थ अझै नपढेकोले भन्न सकिएन । शृङ्खलाको कथा र चरित्र चित्रणलाई नै ब्यासको आधिकारिक धारणा मान्ने हो भने मैले हाल सालै पढेका दुबै- कृष्ण धराबासी र कुमार भट्टराईका कृतिहरु क्रमशः राधाअश्वत्थामामा कथालाई थुप्रै विनिर्माण गरिएको पाएँ । यसमा ब्यासका खलनायकहरु नायक र नायकहरु खलनायकमा थाहै नपाई परिवर्तन भएका रहेछन् । मानौं कि अदालतमा बादी पक्षका वकील बेदव्यास र  प्रतिवादी पक्षमा कृष्ण धराबासी र कुमार भट्टराई  बकालत गरिरहेछन् ।  यसले धार्मिक कथा भित्र पनि विश्लेषण गर्न सकिने चेत भने अवश्य थपेको छ – तथापि उपुक्त उमेर समुहका लागि मात्र ।  

भारतीय प्राचिन इतिहास महाभारतको कथामा आधारित छ । इतिहासकारले आफ्नो ऐतिहासिकताको आधार महाभारतलाई बनाएको हो या बेदव्यासले आफ्नो काब्यको प्लट भारतीय इतिहासलाई लिएको हो भन्न अलि गाह्रो छ । त्यसो त अन्य एतिहासिक उपन्यासका पृष्ठभूमीहरु पनि माहाभारतको कथामा वर्णित राज्यहरु, राजाहरु तथा वर्णित विषयवस्तुहरुसँग मिल्दजुल्दा लाग्छन् । फेरि भारतीय बुझाईमा रामायण काब्य हो भने महाभारत इतिहास नै हो भन्ने ठम्याइ छ ।  जे होस दार्शनिक हिसाबले महाभारतमा प्रत्येक सम्बादमा उत्तिकै महत्वपूर्ण ज्ञान, नैतिकता पाउन सकिन्छ तर सापेक्षिक रुपमा । यसर्थ महाभारतलाई सापेक्षिक नैतिकता, सापेक्षिक दर्शन भन्दा अत्युक्ति हुदैन । त्यसका प्रत्येक पात्रहरु उत्तिकै बलिया छन् – ज्ञानमा, बुद्धिमा, विवेकमा अनि तर्कमा । सबैले साँच्चै हो जस्तो लाग्ने बोली बोल्छन् । अनि अकाट्य लाग्ने संबादले भरिपूर्ण छन् सबै पङ्क्तिहरु । यो तर्कशास्त्रको भण्डार हो दर्शनको दस्तावेज हो ।

हामीले पनि सानो छँदा नैतिक शिक्षामा गुरुभक्तिको प्रतिकका लागि एकलब्यका कथाहरु नपढेको होइन । लक्ष्यका लागि अर्जुनको कथा नपढेको होइन । केही यस्ता केटाकेटीका लागि उपयुक्त हुने कुराहरु छन् यस कथामा । तर धेरै जसो जाल झेल, कुनै एउटा आदर्शलाई अघि सारेर जस्तो सुकै हर्कत गर्न पछि पर्न नहुने तर्कहरु, आँफैले बनाएका नियमहरु कुनै अभीष्ट पुर्ति हुने भए पछि आफै तोड्दा पनि फरक नपर्ने जस्ता फोहोरी राजनैतिक कुराहरु हामी यसै काब्य भित्र पाँउछौं । सम्भवतः पुर्वीय राजनीतिमा यसैको धेरै प्रभाव  छ । धेरैका लागि भलाई हुन्छ भने आत्म समर्पण गर्दा, केही त्याग गर्दा पनि हुन्छ भन्ने कुरा यहाँ कंहि कतै पनि देखिएन । कोही राष्ट्रबादको अतिमा लागेर जनहत्या र युद्धका लागि मरिमेट्छ भने कोही प्रतिशोधको ज्वालामा पिल्सिएर अनि कोही पुत्रमोहका कारणले । प्रत्येकसँग कुनै न कुनै रुपमा रहेको इगो छ । जुन झांगिएर सुपरइगो नै भएको छ । तिनै इगोका कारणले  एक से एक सबै अन्धा भएका छन् । साँच्चै भन्ने हो भने कौरब मात्र होइन पाण्डब र उनीहरुसँग धर्मको पक्षमा छु भनी वकालत गर्ने कृष्ण तथा पाण्डबका सहयोगी राजाहरु कुनै न कुनै रुपले अन्धा भएर त्यस युद्धाग्नीमा होमिन आइपुग्छन् ।  आगो तब मात्र निभ्छ जब सबै कुरा जलिसक्छ । अझ महाभारत पछि अन्य ग्रन्थहरुमा उल्लेखित कथा समेतलाई जोडेर भन्ने हो भने त कृष्णको कुल र समस्त द्वापर युगको सभ्यता नै  अन्त्य भए पछि मात्र यो आगो निभेको पाइन्छ । युद्ध र प्रतिशोधको आगो निभ्नु अघिको समय र पछिको समयलाई दुई युगको नामः द्वापर र कली दिइनु यस प्रसंगमा बडो सान्दर्भिक देखिन्छ ।

जे होस महाभारत नैतिकतामात्र सिकाउने कुनै आदर्श ग्रन्थ होइन भन्ने कुरामा प्रष्ट छ । यो राजनीतिक अभ्यास, आदर्शको मलजल गर्ने पाठशाला र कपटको इन्द्रजाल हो । यहाँबाट नैतिकताको पाठ भेट्न त्यत्तिकै तार्किकता, चतुरता आवश्क पर्छ जति कृष्ण द्वैपायनले कृष्णलाई काव्यिक शृङ्गारले भरेर चतुर र तार्किक बनाएका छन् ।

कृष्ण धराबासीले राधालाई मुख्य पात्रको रुपमा उभ्याएर यस कथालाई केही विनिर्माण सहित त्यो युगमा स्त्री जातिमाथि भएको अन्याय पूर्ण ब्यवहार कति सम्म गरिन्थ्यो भनेर एउटा दृष्टान्त नै पेश गरेका छन् ।  युद्ध पराक्रमको पुरस्कारको रुपमा महिलाहरुको लेनादेना त्यतिबेलाको परम्परा नै थियो । कृष्णले जता जता युद्ध जित्दै गए त्यता त्यता पत्नीको संख्या थप्दै गए । आखिरमा राधा जसलाई उनले आफ्नो आधा  भाग सम्झन्थे, उनीसँग आँफैले विबाह गर्न  सकेनन् । किनकी पराक्रमबाट होइन फगत प्रेमबाट सहजै प्राप्य थिइन् राधा । उनी विबाहको लागि पछि छुटिन । पछि राधाको लागि छुट्टै महल नै तयार गरेर  कृष्णले विबाहको प्रस्ताब त राख्छन् तर त्यो बेला समयले नेटो काटिसकेको हुन्छ । जे भए पनि राधाको प्रेम मर्दैन । कृष्णको प्रेम के हुन्छ भन्न गाह्रो छ ।

धराबासीले राधालाई पुरै नेपाल घुमाएर अन्त्यमा किचकबधमा बास बसाएको र पाण्डुलिपि लेखाएको कुरा ले बडो औपन्यासिकता पाएको छ । यसले  विनिर्माणको माध्यमबाट नै सही नेपाल पनि महाभारतकालिन कथाको पृष्ठभूमि देखिएको छ भने यसैको कारणले नेपालको पर्यटकीय महत्व बढेको छ । मूल कथामा कीचक बध मत्स्यदेशको राजधानीमै  बिराट दरबार भित्र नै भएको भनिएको छ । 

महाभारतको विश्लेषण गरी गैरआख्यानात्मक विश्लेषण गर्ने  वर्मामा जन्मेकी मराठी साहित्यकार इरावति कर्वे एक प्रमूख साहित्यकार हुन् । उनले युगान्त मार्फत यो काब्यलाई वास्तविकता र स्वैरकल्पनाको कसीमा दाँजेर विश्लेषण गरेकी छन् । आम भारतीयहरुले झैं उनले पनि  महाभारत एतहासिक काब्य नै हो सत्य घटनामा आधारित भनेर स्वीकार त गरेकी छन् । तथापी उनले अन्य ग्रन्थहरुसमेतको हवाला दिएर थुप्रै संस्करणहरुमा सम्पादन गर्दै अन्त्यमा आज हामीकहाँ उपलब्ध भएको महाभारतको स्वरुप तयार भएको भनेर निचोड दिएकी छन् ।  सम्पत्तिको रुपमा नै सही पराक्रमी पुरुषसँग विवाह गर्न पाउने वा पराक्रमी पुरुष रोज्न पाउँने नारीको स्वतन्त्रता त क्षत्रीय समाजमा विद्यमान नै देखिन्छ । तथापि प्राचिन भारतीय समाजमा नारीको कुनै मोल थिएन भन्ने कुरा अन्य इतिहासका दस्ताबेजहरुले पुष्टि गरेका छन्  । नारीको पीडा र बाध्यता अनि निस्सारतालाई राम्ररी केलाएकीछिन कर्बेले । यो विश्लेषणमा उनलाई आफू नारी भएकोले, नारीबादी साहित्यकार भएकोले र भारतीय प्राचिन इतिहासको कटुसत्यताले राम्ररी सहयोग गरेको छ ।

महाभारतलाई हिन्दुहरुको महान ग्रन्थ मानिन्छ । यो कहिले देखि मानिन थालियो यसका लागि बेग्लै ठूलो सोधको आवश्यकता पर्दछ ।  यसै ग्रन्थलाई  आफ्नो आफ्नो बुझाइ अनुसार, विश्लेषण क्षमता, बौद्धिकता अनुसार कसैले भनेर र कसैले नभनेरै थुप्रै विनिर्माणहरु तयार भएका छन् । यस्ता महत्वपूर्ण विनिर्माणहरुमा मदनमणि दिक्षितको माधवी प्रमूख रुपमा देखा पर्छ ।  विश्वेश्वरप्रसाद कोइरालाको मोदीआइन्, विनोदप्रसाद धितालको योजनागन्धा, राजेश्वर देवकोटाको द्वन्द्वको आवशान, नीलम कार्की निहारिकाको चीरहरण, घनश्याम कडेलको धृतराष्ट्र,  नवराज लम्सालको कर्ण तथा रमेश विकलको मिल्किएको मणि जस्ता  नेपाली साहित्यका कृतिहरुले कुनै न कुनै रुपमा महाभारतको कथालाई बोकेर हिंडेकाछन् । यी बाहेक हिन्दी मराठी बंगाली  तथा अन्य थुप्रै भाषामा लेखिएका कयौं कृतिहरुको त  हिसाबै छैन ।  यी सबैको आफ्नो आफ्नै विशेषता र बैशिष्ट्यता पनि छन् । सबैको विश्लेषण एउटै लेखमार्फत गर्न सम्भव हुदैन । यदि यसो हुदो हो त इरावति कर्वेको झैं अर्को गैरआख्यानात्मक पुस्तकाकारमा  आउँने थियो ।  हुनत कर्बेले कही कतैं आख्यानात्मक अध्यायहरु पनि पेश गरेकीछन् ।

त्यसो त महाभारत हिन्दुहरुको ग्रन्थको रुपमा मात्र नभएर पाखण्डिहरुको पुजा सामग्री, मागी खाने भाँडो पनि भएको छ । विद्वान लेखकहरुको सारथी तथा सिकारुहरुको बैशाखीको रुपमा पनि यसैले काम गरेको छ । मलाई के लाग्छ भने लेखकको बौद्धिकता भन्दा ठूलो विद्वता कुनै देवताको पनि हुदैन । किन कि कृष्ण आदिलाई देवत्वकरण गर्ने उनै कृष्णद्वैपायन ब्यास हुन् । उनलाई देवीभागवत लगायतका कृतिमा उन्तीसौं ब्यासका रुपमा ब्याख्या गरिएको छ । कालो बर्णका ऋषि परासरका छोरा, सत्यवतीद्वारा गोप्य रुपमा कुनै अनकन्टार द्वीपमा जन्म गराइएको र द्वीपमा बस्ने भएकाले उनलाई कृष्णद्वैपायन भनिएको थियो । उनी  ऋषि तथा साहित्यकार भए पछि ब्यासको उपाधी दिइएको थियो । अहिलेका बिनिर्माणहरुले ब्यासले देवत्वकरण गरिएका कृष्णलाई मानबरुपमा आरोपित गर्नु त्यत्तिकै चुनौतिपूर्ण छ जति चुनौति ब्यासले मान्छेलाई देवता बनाउन खपेका थिए । यो सबैमा लेखककै बौद्धिकता झल्कने नै हो ।

 जे होस्, महाभारत एउटा धार्मिक, साहित्यिक र ऐतिहासिक कृति भएकोमा अब कसैको दोस्रो मत आँउदैन । त्यसो त सडकमा लेखिएको अंग्रेजीको ६ लाई कसैले अर्को तर्फबाट ९ देखेजस्तै सबैले हरेक कुरालाई आफ्नो आफ्नो ढंगबाट बुझ्ने हो । त्यसैले बुझाइ सापेक्षिक हुन्छ भनिएको हो । मानिसले आफ्नो परिवेश, आफू हुर्किएको वातावरण, आफ्नो बौद्धिक क्षमता, आर्थिक क्षमता, आफूलाई अरुले हेर्ने दृष्टिकोण, सरसंगत लगायत अनेकौ परिवेशजन्य र पारिस्थितक कुराहरुबाट आफ्नो हरेक चिजलाई हेर्ने धारणा बनाएको हुन्छ । सम्भवत यो कोहीसँग अर्को कसैको मिल्दैन । यो नै सापेक्षिकता हो । यिनै सापेक्षिकतालाई समेत बिचार गरेर हरेकलाई चित्त बुझ्ने साझा दृष्टिकोण अबका विनिर्माणहरुमा अपेक्षित छ ।  अहिलेसम्म गरिएका र अब हुने यस्ता खाले बिनिर्माणहरुले नैतिकता र सामाजिक अनुशासनलाई जोगाएर अघि बढ्नु आवश्यक छ । उमेर समूह लक्षित विनिर्माण गरेर बाल मस्तिस्कमा नैतिकता  र आदर्श, युवाहरुमा  हिम्मत जाँगर र उद्यमशीलता तथा प्रौढ तथा बृद्धहरुमा दर्शन साहित्य तथा  धार्मिकतालाई अभिवृद्धि हुनेगरी काव्यिक विनिर्माण गरी नयाँ कृतिको सिर्जना गर्न सकेमा अबको युग सुहाउदो समाज निर्माणमा साहित्यको  ठूलो योगदान रहनेछ भन्ने  मेरो ठम्याई रहेको छ ।

Thursday, January 7, 2021

बैशालीकी नगरबधुः एक मिमांशा

प्रमूख पात्र तथा स्थानहरु

वैशालीः

महानामन्,  देवी अम्बपाली, सिंह,  युवराज स्वर्णसेन, युवराजको साथी सूर्यमल्ल, दस्यु बलभद्र (सोमप्रभ), कृतपुण्य सेठ (हर्षदेव), कृतपुण्य का पुत्र भद्रगुप्त, महाबलाधि‍कृत सुमन, सेनापति सिंह, उपसेनापति, संधि‍वैग्राहिक जयराज, रशायनशास्त्री गौड़पाद, वेश्या भद्रनंदिनी (कुंडनी), एउटा कालो छाँया, गणदूत काप्यक, वादरायण मठका अधीश्‍वर भगवान् वादरायण आदि ।

मगधः (राजधानी : राजगृह)

राजा: बिम्बिसार वा श्रेणि‍क, अमात्य: वर्षकार, राजकुमार अभयकुमार, आचार्य शाम्बव्य काश्यप, मातंगी, सेनापति सोमप्रभ, कुंडनी (जो बिषकन्या हुन्छिन), आम्बपाली । कुंडनी मातंगीकी छोरी हुन्  उनका बाबु - आर्य वर्षकार । सोमप्रभ कुंडनीको भाइ तर बाबुचाही बिम्बिसार हो ।  मगधको महासेनापति चंडभद्रिक ।

अन्य

कोसल: राजधानी – श्रावस्ती । राजा : प्रसेनजित्, उनका पुत्र: विदूडभ, विदूडभकी आमा दासी थिइन्, जो पछि राजमाता नंदिनी बनिन्, सेनापति: कारायण, आचार्य अजित केसकम्बली।

चम्पा: राजा: दधि‍वाहन, राजकुमारी राजनंन्दिनी।

अवन्तिकाः राजा चंडमहासेन प्रद्योत, मथुराका राजा अवंतिवर्मन, कौशाम्बीका राजा उदयन, कुशीनाराका योद्धा बंधुल मल्ल, गांधारकी कलिंगसेना, जो श्रावस्तीमा बस्थिन्।

कथाको सारांश

बैशालीको सैन्य सेवाबाट बयालिस वर्षको सेवावधी पछि अवकास भएका बृद्ध महानामन् समक्ष उनकी पुत्री आम्बपालीले राम्रो रेशमी चोली किनिदिन जिद्धि गरेपछि उनले त्यसका लागि बैशालीको यात्रा गर्नुपर्छ । छोरी साथमा लिएर । यसको मूलकथा यहीबाट शुरु हुन्छ ।उनी जे कुराका डरले बैसाली छोडेर गाँउमा लुकेर बसेका थिए, आखिर बैसाली गए पछि त्यही भयो । घटना क्रमले उनलाई बैशालीमै रोक्यो । अठार वर्ष उमेर पूरा भए पछि नगरकी सर्बश्रेष्ठ सुन्दरी भएका कारणले आम्बपालीलाई बज्जीसंघको कानून मान्य बाध्य बनाइन्छ । उनका बाबुले पनि कुनै दिन बैशालीको नुन खाएकोले त्यो विषय टाल्न सक्दैनन् । आम्बपालीले गणसभामा यो कानूनलाई खुलेआम धिकृत कानून घोषणा गर्दछिन् । उनले आफूलाई सप्तभूमिप्रासाद, त्यस भवनका सम्पूर्ण वैभव तथा नौ कोटी स्वर्णभार बज्जीसंघले दिनुपर्ने,  उनको आवासलाई दुर्गझैं व्यवस्थित गरी सजाइनुपर्ने तथा उनको आवासमा आउने अतिथिहरुलाई गणकाध्यक्षले चेकजाँच गर्न नपाउने तीनवटा शर्त प्रकटमा राखेर तथा बज्जीसंघ गणराज्यको नै नष्ट गर्ने अप्रकट संकल्प गर्दै आफ्नो रुप, यौबन, सतित्व, स्तृत्व तथा सम्पूर्ण देह बज्जीसंघलाई साझा रुपमा सुम्पने घोषणा गर्दछिन् ।

आम्बपाली बैशालीको कानूनलाई अत्यन्तै घृणा गर्थिन् । एक दिन बैसालीबाट राजगृह जाने बाटोमा जब उनले बादरायण ब्यासको  कुटीमा सम्राट बिम्बिसारलाई भेट्छिन । उनले उक्त कुरा बताउछिन् । बिम्बिसारलाई आम्बपाली प्रति प्रेम हुन्छ तर उनले आफ्नो हैसियतका कारण राजालाई प्रेम गर्न सक्दिनन् । तर राजाको याचनाको गहनता बुझेर यदि आफूबाट जन्मेको सन्तान मगधको सम्राट हुन्छ भने म प्रेम स्वीकार गर्छु भन्छिन् ।त्यहाँ दुबैले बैशालीको पतन गर्ने सङ्कल्प गछन् । उनले आफूलाई जवरजस्ती बेश्या बनाउने राज्य प्रति निष्ठा देखाउन सक्दिनन् ।

आम्बपालीको भब्य दरबारमा एक दिन कौशाम्‍बीपति संगीतज्ञ महाराज उदयन आए।उनले महान् वीणा बजाए । उनको तीन ग्राम एकसाथ बज्ने बाध्यको धुनमा विवश भएर देबी अम्बपालीले अलौकिक नृत्य गरिन् । राजाले यस्तै बिणा बजाउनेका अघिल्तिर मात्र नाच्नु भनेर आम्बपालीलाई सजग गराए ।

मधुपर्वको दिन वैशालीमा अम्‍बपालीको सवारी निस्कियो । त्यो यात्रामा युवक तथा नगरबासीहरुको अत्यन्त ठूलो भीड लागेको थियो । यात्रा मधुबन पुगेर रोकियो । उनले युवकको भेषमा युवराज स्वर्णसेनको साथमा शिकार खेल्न जाने निधो गरिन् । पुरुष-भेषमा घोडसवार देवी तथा स्वर्णसेन धेरै टाढा घना जंगलमा पुगे । यसैबीच स्‍वर्णसेनले प्रणयका लागि प्रस्ताब राख्यो । दुबै बिच केही कुरा हुँदा हुदै अचानक एउटा सिंहले देवीमाथी आक्रमण गर्यो । यो दृश्यको सामना गरेका युवराज भागेर मधुवन पुगे र देबीलाई सिंहले खाइदिएको खबर दिए । सर्वत्र शोक फैलियो । खोजि गर्दा पनि नगरबासीले आम्बपालीलाई भेटाएनन् ।

जब अम्‍बपालीको होश आयो, उनले सिंह मारिएको देखिन् । उनका अगाडि एक चित्रकार खडा थियो । ऊ अरु कोही नभएर सोमप्रभ थियो ।  सोमप्रभकै कुटीमा उनले त्यसपछिका केही रातहरु बिताइन् । सोमप्रभले राजा उदयन भन्दा राम्रो वीणा बजाउथे र त्यो बीणा त्यहा देखेपछि उनले सोमप्रभको अघि नृत्य गरिन् । सोमप्रभले कयौ दिन लगाएर नृत्याँगना देबो आम्बपालीको चित्र बनाए । दुबै बिचमा प्रेम भयो । आम्बपालीले सोमप्रभको कुटीलाई नै आफ्नो घर सम्झन थालिन् । आफ्नो दरबारलाई घृणित स्थानको दर्ज सोमप्रभले दिएकाले उनले आफ्नो चित्र बनाउन त्यही रोकिनु परेको थियो । चित्र पुरा भए पछि अरुचि पूर्वक उनी नगर फर्किइन् । अम्‍बपाली फर्किए पछी बैशालीमा त्यौहार मनाइयो । देवी आम्बपालीको जय जयकार गरियो ।

सोमप्रभ र कुण्डनी अविबाहित माता मातंगीका सन्तान थिए । सोमप्रभ तक्षशिलाबाट स्नातक गरी फरकिएका बिर योद्धा थिए भने कुण्डनीलाई आचार्य शम्बाब्यले शर्पदंश बिधिबाट बिष कन्या बनाएका थिए । उनीहरु मगधका रक्षकका रुपमा नियुक्त गरिए । सोमप्रभ र कुण्डनीले असुरपुरीका असुरहरु र चम्पाका राजा दधिबाहनलाई मृत्युचुम्बन र अनेक यत्नद्वारा हराई यी देशहरुलाई आफ्नो राज्यमा बिलय गराएको रोचक कथा उपन्यासको महत्वपूर्ण कथांश हो ।

चम्पा विजय पछि सोम, कुंडनी, असुर पुरीबाट उद्धारित शम्‍ब तथा चम्‍पाकी राजकुमारी राजनन्दिनी श्रावस्‍ती गए । बाटोमा राजकुमारीलाई दास ब्यापारीहरुले अपहरण गरी दास हाटमा बेचिदिन्छन् । संयोगबास उनी कोशलकी राजा प्रसेनजीतको हातमा बेचिएकी हुन्छिन् । स्त्रीलम्पट राजा प्रसेनजितले गन्धार पुत्री कलिङ्गसेनासँग विवाह गर्दै हुन्छन् । बिवाहमा रानीलाई उपहार दिन भनी किनिएकी दासी आखिर चम्पा राजकुमारी राजनन्दिनी हुन्छिन् ।

सोमप्रभ, कुण्डनी र शम्बले महाविर जैन तथा नवविवाहित रानी गान्धार पुत्री कलिङ्गसेनाकै मद्दतले राजनन्दिनीको उद्दार त गर्छन् । तर कोशल राजकुमार बिदुडभले राजनन्दिनीको अभिभाभकत्व ग्रहण गर्छन् र सोम र राजनन्दीनीको मधुर प्रेमसम्बन्ध बिघटित हुन्छ । राजकुमार विदूडभ र राजा प्रसेनजीतको अन्तरद्वन्द तथा सोमले प्रसेजिनका दासीपुत्रका तर्फबाट जन्मिएका राजकुमार विदुडभलाई गरेको सहयोग र राजनन्दिनीको त्यागलाई उपन्यासमा ज्यादै रोचक ढंगले प्रस्तुत गरिएको छ ।

यसपछि सोम, कुण्डनी तथा शम्‍ब वैशाली आए ।त्यतिबेला बैसाली र मगधको सम्बन्ध बिग्रन शुरु हुदै थियो । बैशालीका कमजोरी पत्ता लगाउन अनेक गुप्तचर सकृय थिए ।यसै भित्र प्रभन्जन नामक एक हजाम पर्दथे भने कुण्डनीले बेश्याको रुप धारण गरेर बसेकी थिइन् ।बिम्बसारसँग बिवाद भएर अमात्य वर्षाकार पनि यति खेर बैशालीमा बसेका थिए  । उनी दक्षिण ब्राह्मण कुंडग्राममा सोमिल श्रोत्रियका अतिथि भएर बसेका थिए । लुटेरा दस्यु बलभद्रको रुपमा सोमप्रभ पनि बैशालीमा लुटपाट मचाउन सकृय भए । देबी आम्बापालीको जन्मोत्सबका अवसरमा उनले तिनै देबीसँग मिलेर सामन्त, सेठ, निगम तथा त्यहाँ उपस्थित हरेक धनी नागरिकहरुको आभुषण र रत्नाभरण लुटी गरीब किसानहरुलाई दिएको कथाको वर्णनले जो कोही पाठकलाई रोमाञ्चित बनाउछ ।

उपन्यासमा त्यसपछी थुप्रै कथा उपकथाहरु आउछन् । अन्तिमका चौथाई खण्ड मा रहस्य, विज्ञान, चमत्कार र युद्ध रणनीति तयारी आदिको प्रसंग आँउछ । जसमा एउटा कालो छायाले नगरमा मच्चाएको आतंक  बढी रोचक छ । बैशालीमै आफ्ना मृत छोराका चार बुहारीहरुका लागि गोप्यरुपमा सन्तान लाभका लागि एक ब्राह्मणीद्वारा प्रयोग गरिएका कृतपुण्यले कसरी सम्पत्ति कमाए भन्ने कथा उपन्यासको अर्को महत्पूर्ण अंश हो । कृतपुण्यले समुद्रबाट आठ असाधारण घोडा ल्याएको थियो ।

रसायनशास्त्री गौड़पाद आफ्नो प्रयोगशालामा देश-विदेशका विद्यार्थीहरुलाई रसायनशास्त्र पढाउथे ।त्यसैबेला उनले कृतपुण्यको छोरा देवजुष्‍ट सेट्ठिपुत्र भद्रगुप्त लाई देखे । उनले कालोछायाँको शक्ति खिचेको रहस्य पत्ता लगाए ।तर त्यसै कालो छाँयाको बलले सेट्ठिपुत्रले बेश्या भद्रनन्दिनीको भेष धारण गरेर बसेकी बिसकन्या कुण्डनीलाई आफ्नो माया जालमा पारेर जुठो मद्य तथा चुम्बनद्वारा मार्न सफल भए ।

नगरका विभिन्न घटनाहरुले युद्धलाई आमन्त्रण गरिरह्यो । बैशालीबाट गुप्तचरहरु मगध गए ।सन्धीबैग्रहिक जयराज समेत यसैमा सामेल थिए । जयराजको बिम्बिसारसँगको साक्षात्कारले झनै आगोमा घ्यू थप्ने काम गर्यो । अन्त्यमा युद्ध भएरै छाड्यो ।

केही कमजोर भए पनि एउटा रहस्य/आश्चार्यका कारण बैशाली ठूलो पराजयबाट जोगिन्छ र मगधमा बिलय हुन पाँउदैन । यद्यपि बैशालीको भूगोलमा दुबै देशका गरी ९६ लाख सैनिक योद्धा मारिनु र सताब्दियौंसम्म पनि नभरिने गरी धन बैभब तथा सम्पदाको क्षतिको घाउ यी दुई देशले सामना गर्नुपर्छ ।

बैशालीको पराजयलाई रोक्ने आश्चार्य भनेको राजा बिम्बिसार देबी आम्बपालीलाई पाउनका लागि मात्र लडेको कुरा उनकै छोरा सोमप्रभले थाहा पाँउछ, जुन अनुचित थियो । लडाइ मगध राज्यकालागि मात्र हुनुपर्छ । देशभन्दा ठूलो राजा र राजाको प्रेम हुन सक्दैन भन्ने सोमप्रभको दृढ मत थियो । त्यसो त उनी आँफै पनि देबी आम्बपालीलाई आफ्नो बनाउन चाहन्थे । यस कारण सोमले आफ्नो बिजय सुनिश्चित हुँदा हुँदै अनायसै युद्ध अन्त्यको घोषणा गरिदिन्छन् । यस पछि दुई बाबु छोराको बिवाद हुन्छ   सोमप्रभले बिम्बिसारलाई कैद गर्छन । तर त्यो बिवाद त्यतिबेलै अन्त्य भैहाल्छ, जब राजालाई सोमप्रभ आफ्नै छोरा भएको थाहा हुन्छ । राजाले आम्बपालीलाई दिएको बचन सम्बन्धमा सोमप्रभलाई बताउछन् । सोमप्रभ किंकर्तब्यबिमुढ बन्छन् । आफू राजाको पुत्र हुँ भन्ने जीवनभर थाहा नपाएका सोमप्रभको भाग्यमा सँधै अरुलाई नै जिताउने र आफू त्यसैमा सन्तुष्ट हुने लेखिएको पाउछन् । जीवनमा उनको प्रेमयात्रा पनि कहिल्यै पूरा हुँदैन ।

पराजय नब्यहोरे पनि अपरिपक्व नेतृत्व, खुलेआम बेश्यावृत्ति, ब्याभिचार र मदको ब्यापार संस्कृति मौलाएका कारण बैशालीको बिक्रिति अवर्णनीय बन्छ र राज्य नै धराशायी हुन्छ अनि उपन्यासको ढोका बन्द हुन्छ । उपन्यासको अन्त्यमा देबी आम्बपाली र उनका भाइ सोमप्रम बुद्ध भगवानको शरणमा जान्छन् ।

सम्बाद

उपन्यासको सम्पूर्ण कथाबस्तु बज्जीसंघ गणराज्यको राजधानी बैशालीको धिकृत कानूनद्वारा बलात् रुपमा बेश्या वा नगरबधु बनाइएकी देबी आम्बपालीको वरिपरी घुमेको छ । मूल भाषा हिन्दीमा लेखिएको  बुद्धकालिन पौराणिक कथाबस्तुमा आधारित भएकोले यसको भाषा पनि संस्कृतका तत्सम शब्दहरुले भरिपूर्ण छ । यसलाई देव भाषाको नाम दिन पनि सकिन्छ । पात्रहरुको सम्बाद मीठो, औपचारिक र देववाणी युक्त छ । यसमा प्रयुक्त केही सम्बादलाई उदाहरणको रुपमा हेरौं (अनुबादित)-

 आम्बपाली - भन्ते ! तपाईको  आदेशमाथि मैले बिचार गरेकी छु । म बज्जीसंघको धिकृत कानूनलाई स्वीकार गर्छु ।  यदि गणपरिषदलाई मेरा शर्तहरु स्वीकार छन् भने ।.... भन्ते !  यी शर्तहरु गणपतिले तपाईलाई बताइदिनुहुनेछ ।

आचार्य शाम्बव्य - अरे यो त तिमीले त्यस शाक्य श्रमण गौतमबाट सिकेका हौला, आयुष्मान !  ऊ आर्य धर्मको प्रबल विरोधी हो । उसले वेद प्रतिपादित श्रेणी विभागलाई मान्दैन । ऊ आर्य अनार्यलाई  समान पद दिन्छ । ऊ ब्राह्मणहरुको बिरोधी हो । यज्ञहरुलाई हेय बताउँछ । स्त्रीहरुलाई निर्वाणको अधिकार दिन्छ ।

आयुश्मान आनन्द – भन्ते ! तथागत-प्रवेदित धर्म- विनयमा घरबाट बेघर भएर प्रव्रजित भई स्त्रीहरुले अहर्त फललाई साक्षात गर्न योग्य हुन्छन् भने भन्ते !  भगवती आम्बपाली यसका लागि सर्वथा उपयुक्त छिन् ।

सामाजिक परिवेश

उपन्यासमा तत्कालिन समाजको चित्रण गरिएको समाजमा नारीको अत्यन्त दयनीय स्थान दर्शाइएको नारी  कि गृह बधु हुन्छे , या नगरबधु हुन्छे यस अलाबा नारी दासी हुन्छे समाजमा भएका गरीब समुदाय राज्यलाई बलि दिन पनि पछि पर्नु नहुने /नपाइने बैशालीको कानून  छ भने मगधमा केही बढी मात्रामा स्वतन्त्रता छ । गान्धारमा नारी स्वतन्त्रता र मानबीय मूल्य बढी नै भएको कुरा कलिङ्गसेनाले ब्यक्त गर्दछिन । त्यहा दासीहरु हुदैनन् भए पनि उनीहरुको स्वतन्त्रता धेरै बढी छ । दासबजारमा भएको दास दासीको क्रय बिनिमय तथा बिक्रीका लागि ल्यायिएका दासहरुसँग उनीहरुको मालिकले गरेको कुराकानी ग्राहकले दासीको गुणस्तर जाँच गर्न उनका हरेक अँङ्गमा छाम्नु तथा मुखभित्र औला समेत छिराएर क्षमता, उमेर, आदिको मूल्याङ्कन गर्नु जस्ता कुराहरु अहिलेको समाजमा खसी बोकाको खरिद बिक्री गर्दाको दृश्यसँग तुलना गर्न सकिन्छ । यसर्थ दासहरु बोल्न सक्ने, सबै काम गर्न सक्ने, मान्छे नै भए पनि उनीहरु मान्छे थिएनन्- मूल्य पशुको तुल्य थियो । यवनीहरुलाई पनि (मुस्लीमधर्म मान्ने मानिसहरु) दास दासीको रुपमा बैशाली, कोशल र अन्य राज्यमा पनि बिक्री गरिन्थ्यो । श्रावस्तीमा त दासहरुको हाटबजजार अति नै प्रख्यात थियो । 

गौतम बुद्ध तथा महाविर जैनको ज्ञान प्रसारण त्यसको प्रभाव

आर्यहरुको पुरै बर्चस्व रहेको त्यतिखेरको समाजमा सामाजिक नियमहरुको अभावमा समाज  अब्यवस्थित थियो । भएका नियम तथा कानुनहरु धिकृत थिए । त्यसलाइ ब्यवस्थित गर्नका लागि आर्य ब्राह्मणहरुले पाञ्चालहरुको परिषद बोलाए ।  जसमा कुरुसंघ राज्यका धनञ्जय र स्रुतसोम,अस्सकका राजा ब्रह्मदत्त, कालिङ्ग राज सत्तभु, विदेहका रेणु, काशीराज धत्तरथ,मद्रराज, कोशलका पाँचै जना सामन्तपुत्रहरु, कपिलबस्तुका धन्यकण्टक, त्यस्तै गरी नालन्दा, लक्षशिला, कन्नौज, काँशी उज्जयिनी, मिथिला, मगथ, राजगृह प्रतिनिधिहरु, ब्राह्मणका प्रतिनिधिहरु, श्रोतृय भारध्वाज, कात्यायान, शौनक, बोधायन, गौतम, अपस्तम्भ, शाम्बव्य, जैमिनी, कणाद, औलुक, बशिष्ठ सांख्ययान, हारित, पाणिनी बैशम्पायन, पैल र अथर्ब अंगीरस आदि उपस्थित भएर समाजमा चलेका आठप्रकारका विवाहहरुको ब्याख्या गरेका छन् । यिनको नाम दिएका छन् ।  बिधवास्त्रीलाई सन्तानप्राप्तीको लागि गुरुजनहरुको आज्ञा लिएर देवरसँग ऋतुगमन गर्न सकिने प्रावधानहरु खडा गरेका छन् । उनीहरुले छ प्रकारका कन्याहरुको नामङ्कन तथा विधि स्थापना गरेका छन् ।  यो प्रभाब शाक्यमुनी गौतम र जैनको बढ्दो प्रभाबलाई रोक्नका लागि पनि आवश्यक थियो । तर त्यसले त्यति धेरै काम गर्न सक्दैन ।

तत्समय काँशीमा श्रमण गौतमले बोधी सत्व प्राप्त गरेर ज्ञानको रश्मी फिजाउदै हुन्छन् भने महाविर जैन पनि आफ्नो धर्म प्रचार र शिक्षामा सकृय रहेका हुन्छन् ।मानिसहरु बुद्ध र महाबिर जैन प्रति क्रमश आकर्षित भइ परम्परागत ब्राह्मण तथा आर्यहरुको आतमकेन्द्रित र स्वार्थप्रेरित  रुढीबाद र ढोंगयुक्त ज्ञान भनिएको सिद्धान्तप्रति विकर्षित भइरहेका हुन्छन् । आफ्नो जीवनभरी अनगिन्ति कृति तथा उपन्यास लेखेपछि दशौं वर्ष सम्म हिन्दु, जैन तथा बौद्ध धर्मशास्त्र, साहित्य तथा दर्शन पढेर यस अघि लेखिएका सबै कृतिहरु खारेज गर्दै यो उपन्यास पहिलो हो भनी घोषणा गरेका आचार्यले आर्यको  धर्म  नीच र सँस्कृति भ्रष्टता उन्मुख छ भनी प्रष्ट्याउने कोशिष गरेका छन् । यसै प्रसंगमा उपन्यासको एक पात्र भन्छन्-  यो आर्यको पूरानो नीचता हो । लोभ लालच देखएर कुमारीहरु किन्नु,  छल बलले उनीहरुलाई बसमा पार्नु, रुदै गरेकी बेसाहारा कन्याको बलपूर्क हरण गर्नु, मुर्छित तथा बेहोसको कौमार्य भंग गर्नु आादि जस्ता कुराहरुलाई समेत आर्यहरुले विवाहको श्रेणीमा राखेका छन् ।

यसको सट्टा अनार्यहरुलाई उच्च श्रेणीमा राख्दै सर्वजित निग्रन्थ महावीर जैन तथा शाक्य पुत्र गौतमले आर्यधर्म धराशायी बनाइदिएको कुरा उल्लेख गरेका छन् । उनीहरुका मतमा नयाँ धर्मचक्र प्रवर्तनको माध्यमबाट सामाजिक क्रान्ति शुरु भएको घोषणा गरेका छन् जहाँ बेद छैन, ईश्वर छैन थुप्रै दक्षिणा लिइ पापको समर्थन गर्ने ब्राह्मण छैनन् । ब्रह्मा र आत्माको पाखण्ड छैन । उनीहरुले जीवनको सत्यता देखेका छन् र यही प्रचार गरिरहेको  भनेका छन् ।

विज्ञान बैज्ञानिकहरु

उपन्यासमा रसायनशास्त्री गौडपादले विभिन्न रसायनहरुको समिश्रण गरेर जीवनोपयोगी प्रयोगमा ल्याउन सक्ने भनी देखाइएको छ । गौडपादको शिक्षालयमा रासायन शास्त्र र भौतिकशास्त्रहरुको चर्चा र ज्ञानादान प्रदान हुने गर्छ ।मगधका आचार्य शाम्बव्य अनेक जन्तुहरुको  विभिन्न अंग तथा जनावर आदिबाट निस्कने रसायनहरुको संकलन गरेर यसको परीक्षण गर्दथे । उनले सर्पदंश बिधिबाट मातंगीबाट जन्मेकी अबैध पुत्री कुण्डनीलाई बिषकन्यामा परिणत गरेका छन्  । उपन्यासमा थुप्रै विद्वानहरुको चर्चा छ जसले विज्ञानसम्मत परीक्षण गरेको होस ।

कुटनीति / बैदेशिक सम्बन्ध / सौर्यता

युद्ध वर्णन/ बिरता/ सौर्यताः युद्ध बर्णन , बिरता र सौर्यता उपन्यासको  प्रमुख आकर्षण हो ।  असुरहरुको नगरीमा सोम र कुंडनीदले देखाएको युद्धकौशल, सोमप्रभले चम्पामा प्रस्तुत गरेको युद्ध कला, राजकुमार बिदुडभलाई जलकारागृहबाट  उद्धारका लागि गरेको यत्न तथा उपन्यासको अन्त्यमा भएको बैशाली मगध युद्धको तयारी, युद्धका पोतहरु, युद्ध कला अद्वीतीय ठहर्छन् । हरेक देशमा सन्धिबैग्रहिकहरुको व्यवस्था गरिएको छ जसले राजदुत भएर कुटनीतिकको रुपमा कार्य गर्छ । मागध जयराज यसका उदाहरण हुन ।

संगीत / कला / ललितकला

उपन्यासमा अति मीठो बज्ने उच्च कोटीको बिणाको प्रसंग छ । शुरुमा राजा उदयनले लोपाञ्जन विद्याद्वारा (अरुसामू अदृश्य हुने)  आफू आम्बपालीको दरबारमा प्रबेश गरेपछि उनले त्यी बीणा बजाउछन् । त्यो बीणाको संगीत अलौकिक हुन्छ । तीन ग्राममा एकै साथ बीणा बजाउने राजा पनि ओस्ताद नै हुन्छन् । राजको बादन र देबी आम्बपालीको नृत्यको प्रसारण उपन्यासकारले बहुतैं सुन्दर तरिकाले गरेका छन् ।पछि सिंहको आक्रमणबाट मुक्त गरी देबी आम्बपालीलाई आफ्नो कुटीमा बसाएर त्यही बीणा द्वारा नचाउछन् । अघिल्लो भन्दा पछिल्लो बादन र नृत्य अझ श्रेष्ठ ठहरिन्छ ।कुण्डनीले असुपुरीमा असुरहरुलाई आफ्नो नृतयद्वारा आकर्षित  गरेर मध्य पान गराइ मृत्यूचुम्बन गर्दै असुरपुरी ध्वस्त गरेको र सोही प्रक्रियाद्वारा चम्पा नरेश दधिबाहनलाई मारेको प्रसंग उल्लख्य रहेका छन् । नगरको दुर्गसंरचनाहरु प्रासादहरु पुस्करिणीहरु, बगैचा तथा आन्तरिक सजावटका सामग्री, सुगन्धित घ्यूको बातीमा बलेका सुगन्धित दिपहरुको वर्णनले उपन्यासमा बर्णित सबै नगरहरु हर प्रकारका कलाले सम्पन्न प्रतित हुन्छन् । सोमप्रभलाई आँफै देबी आम्बपालीको नृत्यको हरेक भावभंगीको चित्र अलौकिक रुपले बनाउनसक्ने भनी बर्णन गरिएको छ ।राजनन्दिनीले बनाएको सोमप्रभको चित्रमा उनीहरु दुइ प्रेमका प्राणी छुट्ने बेलामा झरेको आँशुले भिझाइदिन्छ । यसरी उपन्यासकारले मानब मनका कोमलतम भावनाहरुलाई सबै प्रकारका कलाहरु, संगीत, नृत्य, चित्रकला आदिका माध्यमबाट प्रस्तुत गरेका छन् ।  

कौतुहलता

उपन्यासलाई जम्मा १५६ वटा अलग अलग शिर्षक दिएर कुशलता पुर्वक विषयबस्तुलाई पेश गरिएको छ ।प्रत्येक शिर्षकबाट उपन्यासको कथा अब आउने अघिल्लो कथामा के होला वा कसको कथा आउला भन्ने पाठकको कौतुकताले कतिखेर उपन्यास मध्यभागमा पुग्छ कतिखेर सकिन्छ थाहै हुँदैन । तैपनि  साना धैर्यताले यो पुस्तक पढ्न मुस्किलै पर्छ । एकै बसाइमा सिध्याउनु पर्छ भन्ने मान्यता राख्ने पाठकका लागि त्यो अलि व्यवहारिक हुन नसक्ला तथापी अघिल्लो कथाको कौतुकताले कुनै पनि पाठकलाई बाँधेर राख्ने क्षमता यस कृतिमा रहेको छ ।

ऐतिहासिकता

बैशालीको अतिरिक्त यस उपन्यासमा मगध राम्राज्यको बिशेष महत्व दर्शाइएको छ । एकातिर बैशाली संघीय गणराज्य हो भने अर्को तिर मगध साम्राज्य राजतन्त्रात्मक शासन व्यवस्था भएको । राजाको ईच्छा नै मगधको कानून हो ।मगध राजा सँधै आफूलाई दिग्बिजयी र  बिक्रमादित्य भएको हेर्न चाहन्थे । यो साम्राज्य आँफैमा शक्तिशाली र वैभवले सम्पन्न थियो । तथापि बैशालीको बल भनेको प्रत्येक ७ वर्षमा हुने चुनाब, त्यहाँको जातीय विविधता र जनताको उक्त देश माथिको देशभक्ति थियो । बैशाली पनि कम शक्तिशाली भने थिएन ।यो कुरा भारतीय प्राचीन इतिहासले पनि पुष्टि गरेको छ ।

आचार्य चतुरसेनले  त्यस समयको गणतन्त्र र राजतन्त्रको राम्रा तथा विक्रित पक्षहरुलाई समेटेर मिहिन रुपले तुलना गरेका छन् । ऐतिहासिकतामा समसामयिकता पनि सान्दर्भिक देखिनु भने कृतिको कालजयी विशेषता ठहर्छ । उपन्यासमा चतुरसेन सँधै बैशालीको पक्षपाती देखिन्छन् । उपन्यास शुरु भएदेखि अन्त्य सम्ममा बैशालीको बढ्दो बिक्रिति र मागधहरुको बढ्दो उन्नतीको स्तरमा अघि बढेको देख्न सकिन्छ । उपन्यास घटनाहरुको वर्णनमा आधारित छ । तत्समयको ऐतिहासिक स्रोतहरु र प्रमाणिकतालाई  सकेसम्म नबिगारी जतनले औपन्यासिकता दिएकाछन् आचार्यले । 

भौगोलिकता

उतीबेला बज्जीसंघ अष्टकुलहरुको बसोबास भएको संयुक्त गणराज्य  थियो । यसलाई विश्कै सबैभन्दा पुरानो गणराज्य मानिन्छ । अष्टकुलमा विदेह, लिच्छबी, क्षात्रिक, बज्जी, उग्र, भोज, इच्छ्वाकु र कौरब गरी आठ कूलहरु पर्दथे । अघिल्ला चार प्रमूख राज्यहरुको राजधानीहरु क्रमशः मिथिला, बैशाली, कुण्डपुर, कोल्लाग थिए भने बैशाली समग्र गणराज्यको राजधानी थियो । पुरै भारतवर्षमा कूल १६ वटा जनपदहरु (देश) थिए । ती देशहरुमा  मगध साम्राज्य, कोशल गणराज्य,  मथुरा, गान्धार, अंग, बंग, कालिंग चम्पा आदि प्रख्यात थिए । उपन्यासमा बज्जीसंघसँग  उक्त  देशहरुको आपसी सम्बन्ध, त्यतिबेलाको समाजको रीतिस्थिति, परम्परा, महिला र दासदासीहरुको अवस्था, दानव, देब र राक्षस गण भनी मानिएका सम्प्रदायहरु, लिच्छबी, ब्राह्मण आदि र तिनीहरुको आपसी सम्बन्धको बारेमा प्रकाशित गरिएको छ ।

औपन्यासिकता

कथाले एउटा छोटो कहानी र त्यसमा बिलुप्त समाजको अवस्था, कुनै नैतिक दर्शन वा केही सानो संझ्‌यालबाट देखिने दृश्य वा परिवेशको चित्रण गर्छ भने त्यसको तुलनामा उपन्यास एउटा बृहत बहु आयामिक र बहुपात्रको जीवनी  समेटेको बहु घटनाको वर्णन वा विश्लेषण मार्फत सम्पूर्णता प्रदान गर्ने कृति हो । यसमा कथानक, पात्र/चरित्र, दृष्टिबिन्दु, परिवेश तथा भाषा शैली जस्ता औपन्यासिक तत्वहरुको रहन्छन् । अन्य तत्वहरुको कुरा गर्नै पर्दैन । तृतीय पुरूष प्रधान बाह्य दृष्टि बिन्दुको प्रयोग गरिएको भए पनि कथामा उपन्यासकार आफ्नो कथनीय वा सम्प्रेशणीय उद्देश्यमा सफल र कालजयी भएकाछन् ।यसमा उनलाई  यसैमा प्रयुक्त देबवाणी जस्तै लाग्ने भाषा शैली र शैलीगत माधुर्यताले साथ दिएको छ ।

निष्कर्ष

आफ्नो जीवनकालमा चारसय पचास भन्दा बढी कथा र बत्तीसवटा भन्दा बढी उपन्यास लेखेका भारतका प्रसिद्ध लेखक आचार्य चतुर्सेनको उपन्यास बैशालीको नगरबधु आज भन्दा करीब ७० वर्ष भन्दा अघि लेखिएको एक शास्त्रीय उपन्यास हो । मूल भाषा हिन्दीमा लेखिएको उपन्यासलाई मञ्जरी पब्लिकेसनले रोशन दाहालद्वारा नेपाली भाषामा अनुदित पुस्तकको रुपमा प्रकाशनमा ल्याएपछि मात्र पढ्दा आँफैले आँफैलाई झण्डै गाली नै गरुँ झैं लाग्यो । के हिन्दी अबोध्य थियो र हालसम्म नपढेको ?  वा किन यस्तो गहन कृति पढ्नलाई बाँकी राखेको ?  यस्तै केही भनेर । त्यसैले पनि अहिलेसम्म नपढेका पाठकहरुका लागि पढ्ने उर्जा मिलोस् र यस्तो पुस्तकको अध्ययनबाट जो लाभ मिल्नु पर्ने हो मिलोस् भन्नका खातिर यो समालोचनात्मक लेख प्रस्तुत गर्ने धृष्टता गरिएको छ ।नत्र त  एउटा अन्तरराष्ट्रिय रुपमा स्थापित विद्वान उपन्यासकारको उपन्यास माथि मिमांशा गर्नु सूर्यलाई बत्ती देखाउनु झैं हो ।

र अन्त्यमा उपन्यासकारको प्रवचनको यो अंशः अपने जीवन के पूर्वान्हमे - सन् १९०९ में जब भाग्य रुपैयों से भारी थैलियो मेरे हाथों में पकडना चाहाता था – मैंने कलम पकडी । ईस बातको आज चालीस वर्ष बीत रहे हैं । ईस बीच मैंने छोटी बढी ८४ पुस्तकें विवध विषयों पर लिखीं । अथच १० हज्जार से अधिक पृष्ठ विविध समसामयिक पत्रिकाओंमे लिखें । ईस साहित्य साधना में मैंने पाया कुछ भी नहीं, खोया बहुत कुछ - धन बैभव आराम और शान्ति । इतना हि नहीं यौवन और सम्मान भी । इतना मूल्य चुकाकर निरन्तर चालिस वर्षों की अर्जित अपनी सम्पूर्ण साहित्य सम्पदा को आज मैं प्रसन्नता से रद्द करता हूँ । और यह घोषणा कर्ता हुँ- कि आज मैं अपनि पहली कृति   बिनयाञ्जली सहित आपको भेट कर रहा हुँ । ......

-         अस्तु -

Saturday, January 7, 2017

प्रशासनमा समन्वय र प्रविधिकाे प्रयाेग

— जनार्दन कट्टेल

सरकारले राज्यका तर्फबाट जनतालाई प्रदान गरिने सेवा नै सार्वजनिक सेवा हो । यसरी सेवा प्रबाह गर्दा कहिले निशुल्क त कहिले सिमित वा लागत अनुसारको शुल्क लिने गरिन्छ ।  हुनत सार्वजनिक सेवा हाल नीजि क्षेत्र र सामूदायिक र गैरसरकारी क्षेत्रबाट समेत प्रदान गरिन्छ तथापी यस आलेखमा सरकारका तर्फबाट गरिने सार्वजनिक सेवा, त्यसमा भएको समन्वयको अवस्था र प्रविधिको प्रयोग सम्बन्धी केही विश्लेषण गर्ने प्रयास गरिएको छ । 
हाल प्रविधिको प्रयोग भई प्रदान गरिएका सेवाहरुमा नागरिकताको प्रमाण पत्र, मतदाता परिचय पत्र, अनलाइन बोलपत्र, लोक सेवा आयोगको अनलाइन दरखास्त फाराम, शुरु हुनै लागेको अनलाइन राहादानी फाराम, आदि सिधैं जनताले अनुभुति गर्न पाउने सेवाहरु हुन् । तर यिनीहरुपनि पूर्णरुपमा अनलाइनमा आधारित छैनन् । आंशिक रुपमा प्रविधिले सहयोग गरेको छ । साच्चै भन्नु पर्दा यी सेवाहरु अझै पनि सेवाग्राहीभन्दा पनि सेवा प्रदायकउन्मूख रहेका छन् । सेवा प्रदायकले प्रयोग गर्ने अन्य अनलाइन सेवाहरुमा निजामति किताबखानाको PIS,  अर्थ मन्त्रालयको ASSICUDA, RMISभूमी सुधार मन्त्रालयको LMIS आदि उल्लेख्य मानिन्छन् । त्यसो त सबै निकायका बेवसाइटहरु छन् । सूचना जानकारी लिन सकिन्छ । तर नेपालमा न त सेवा प्रदायककोे आफ्नै लागि, न त सेवाग्राहीको लागि, पूर्णरुपमा प्रविधिको प्रयोग भएको एउटै निकाय छैन भन्दा अत्युक्ति नहोला । 
प्रविधिको प्रयोगले समन्वयलाई सघाउ पुर्याउँछ । विभिन्न निकायहरुबीच ती निकायहरुले गर्ने क्रियाकलापहरुमा सकारात्मक सम्बन्धको स्थापना गर्ने कार्य नै समन्वय हो । अर्को शब्दमा संगठनका विभिन्न पक्ष जस्तै  — इकाइहरु, संगठनमा आवद्ध व्यक्तिहरु, सरोकारवाला समूहहरुमा कार्यस्तरीयता र प्रभावकारिताको लागि सम्बन्धन गर्ने , एकीकरण गर्ने र समान्जस्यता कायम गरी सबै पक्षहरुलाई लक्षोन्मूख बनाउने कार्य हो समन्वय । राम्रो समन्वयका लागि प्रभावकारी संचार आवश्यक पर्छ र प्रभावकारी संचारका लागि प्रविधिको निर्विकल्प प्रयोग हुनु पर्छ । 
हामीकहाँ  भएका समन्वय सम्बन्धी केही समस्याहरु यहाँ प्रस्तुत गरिएको छ ।
एउटा नागरिकले १६ वर्ष हुँदा नागरिकता प्राप्त गर्छ । उसले पछि राहदानी प्राप्त गर्न, मतदाता परिचय पत्र बनाउन अपांगता परिचय पत्र बनाउन वा अझ वृद्ध-वृद्धा परिचयपत्र बनाउन बेग्ला बेग्लै र झन्झटिलो प्रक्रिया अघि बढाउनुपपर्छ । किनकी नागरिकता बनाउन जुटेका प्रमाणहरु अन्य निकायमा हुदैनन् । र ती प्रमाण आफैले नदेखेसम्म अन्य निकायले सम्बन्धित सेवा दिदैनन् । एउटै प्रमाणका लागि सेवा ग्राही चारतिर दौडन्छ । 
निर्माण कार्यको स्थिति त्यस्तै छ । एउटा निकायले सडक पीच गरेको महिना दिन नबित्दै अर्को निकायले पाइपलाइन विच्छ्याउन वा ढल खन्न सडक भत्काउँछ ।
एउटा निकायले सडक वा कुनै विद्युत प्रसारण लाइन निर्माणको लागि बजेट छुट्याउछ र कार्य प्रारम्भ गर्छ, अर्को निकायले बनको रुख काटेको भनी उपभोक्ता समिति र ठेकेदारलाई मुद्धा हाल्छ ।
पर्यटनसंग सम्बन्धित निकायले ताल सफा गर्न त्यहाँ रहेका झ्याउ र अन्य बनस्पति झिकेर सफा गर्छ अनि सोही कुरा वातावरणसंग सम्बन्धित निकायलाई पच्दैन । वनस्पति कार्यालयले तगारो हाल्छ ।
सहकारीले दिनु पर्ने सहकारी सम्बन्धी तालिम, लेखा तालिम, व्यवस्थापन सम्बन्धी सचेतना महिला तथा वालकालिका कार्यालयले दिदै हिड्छ । अझ पहिला महिलाहरुको समूह बनाउने त्यसपछि फेरि त्यही समूहलाई सहकारीकरण गर्ने भनेर आफ्नै काममा दोहोरो पना पनि देखिन्छ  ।
प्रविधिकै प्रयोगमा पनि भिन्न निकायले भिन्न भिन्न सफ्टवेर कम्पनिबाट आफ्नो अनलाइन एप्लिकेशन तयार गरेका छन् । त्यसमा कुनै इन्टरलिंक छैन । कुनै समन्वय छैन । 
उचित समन्वयको अभावमा हाम्रो मन्त्रालयहरुको कार्यविभाजन कस्तो छ एक पटक त्यता हेर्दा पनि केही सुझ्छ कि । नेपाल सरकारको कार्यविभाजन नियमावली २०६९ ले सत्ताइसवटा मन्त्रालयको नाम आफ्नो अनुसुचीमा उल्लेख गरेको छ । सरकारलाई आफ्नो अनुकुल मन्त्रालयको संख्या थपघट गर्न मिल्ने गरी राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर गर्न सकिने प्रावधान समेत राखिएको छ । यता हाम्रो राजनीतिक सँस्कार कस्तो छ भने मन्त्रालयको संख्या कार्य विभाजनमा आधारित नभई मन्त्री हुने उम्मेदवार /दावेदारहरुको संख्यामा भर पर्छ । त्यसैले कहिले मन्त्रालयको संख्या बढेर ३१ पुग्छ  र कहिले १  वा २ अंकले खुम्चन्छ । 
मन्त्रालयको बाँडफाँड पनि उपयुक्त छैन । जस्तै — बन तथा भूसंरक्षण मन्त्रालयँंग वातावरण बढी नजिक देखिन्छ । तर वातावरणलाई विज्ञान प्रविधिसँग जोडिएको छ । सूचना तथा संचार मन्त्रालय भित्रको एउटा विभाग, हुलाक सेवा विभागको हाल सान्दर्भिकता नै अन्त्य भएको  छ । संचार क्षेत्र विज्ञान प्रविधिसँग नजिकको हुनाले संचारलाई विज्ञान प्रविधिसंग जोड्दा के विग्रन्छ र ? उसै पनि प्रशासनिक सुधारका लागि गठित सबैजसो आयोगहरुले मन्त्रालयको संख्या घटाउने र प्रशासनको निजामति सेवाको उपयुक्ताकार बनाउने भनेर सुझाव दिएका दियै छन् । तर हाम्रो कार्यान्वयन ?  अर्को तिर निजामती कर्मचारीको दरबन्दी सिर्जना गर्दा, थपघट गर्दा O & M सर्भे गर्नु पर्ने प्रावधान रहेको छ । त्यस्तो सर्भेक्षणमा कार्य विश्लेषण, कार्य विस्तृतीकरण, कार्यमूल्यांकन र कार्य विवरणलाई ध्यान दिनु सट्टा लहड र एक दुई जनाको तर्कको आधारमा दरबन्दी सिर्जना र थपघट गर्ने गरेको पाइन्छ । यसले गर्दा कुनै अड्डामा कामको अत्यधिक चाप छ, जसले सेवा प्रवाह नै प्रभावित बनेको छ  । कुनैमा काम नभएर कर्मचारी घाम तापेर बसेका छन् । 
यी सम्पूर्ण विषयवसतुहरुको निचोडलाई हेर्ने हो भने हाम्रो सेवा प्रवाहमा तलका समस्याहरु देखिन्छनः 
  • सेवाप्रवाह गर्दा नीतिगत तह देखि कार्यान्वयन तह सम्म नै समन्वयको अभाव देखिन्छ । 
  • समन्वयको अभावमा सेवा कतै झन्झटिलो, कतै अनावश्यक, कतै बढी खर्चिलो त कतै नाम मात्रको सेवा दिएर मेवा खाने व्यापार बनेकाेछ  । 
  • कुन निकायको कार्य के हो प्रष्ट भएन । एउटा निकायले अर्को निकायको कार्य गर्यो । अझ कतिपय ठाँउमा त एक निकायले अर्को निकायको  मुख ताक्दा कामै भएन । 
  • दुई वा सोभन्दा बढी निकायबीचको द्वन्द्वात्मक स्थिति र विरोधाभाष कार्यशैलीले गर्दा  जनताले अनावश्यक दुःख पाए । 
  • सुशासन नाममा मात्र सीमित रहयो । 
यो समस्याको एक मात्र समाधानको उपाय भनेको  असल समन्वय र सेवा प्रवाहमा प्रविधिको प्रयोग नै हो ।  तर कसरी ?  कुनै पनि निकायको कार्य अर्को सँग नबाझिने गरी प्रष्ट रुपमा तोकिनु पर्छ । अटोमेसनमा आधारित एप्लिकेसनहरुको प्रयोग गरिनुपर्छ र त्यस्ता एप्लिकेसनहरुमा अन्तर मन्त्रालयगत / अन्तर निकायगत इन्टररिलेसनसीप हुुनुपर्छ । प्रविधिमा आधारित एप्लिकेसनहरु तयार गर्दा विज्ञान तथा प्रविधि मन्त्रालयले समन्वयात्मक भूमिका खेल्नु पर्दछ ।
निर्माणसँग सम्बन्धित कार्य गर्नु पूर्व त्यहाँ कुन कुन सरोकार निकायहरु, समूहहरु व्यक्तिहरु आकर्षित हुन्छन्, सबैसँग समन्वयात्मक बैठक, छलफल गरी योजनाबद्ध तरिकाले कार्य गर्नु पर्छ । योजनाहरु तय गर्दा नै समन्वय गरेर मात्र तय गर्नु पर्छ । 
अटोमेसनको एउटा उदाहरणबाट हेरौं — नागरिकता जारी गर्दा नै नागरिकको सिटिजनसिप आइ. डी नम्बर उपलब्ध हुन्छ । त्यसपछिका सम्पूर्ण सेवा सोही आइ. डीका आधारमा उसले प्राप्त गर्छ । उसको सम्पूर्ण प्रोफाइल सोही आइ. डीबाट प्राप्त हुन्छ । सायदै यसले देशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, भ्रष्ट्राचार नियन्त्रण जस्ता कुरामा समेत सहज बनाउँछ । अझ यो आई. डी जन्म दर्ता कै क्रममा उपलब्ध गराउनु उपयुक्त हुन्छ । सरकारले राष्ट्रिय परिचय पत्रको अवधारण अघि सारेको छ । पक्कै पनि यो प्रविधिमा आधारित होला । यसले प्रत्येक नागरिकलाई एउटै पहिचानको आधारमा सबै निकायबाट सेवा प्रदान गर्न मद्दत पुग्नेछ । फेरि नागरिकतालाई विस्थापन नगर्ने गरी यसको व्यवस्था गरियो भने एकै प्रयाजनको सेवामा दोहोरोपना कायम हुने देखिन्छ ।
अन्त्यमा जुनसुकै देशको पनि स्थायी सरकार र घरदैलोको सरकार भनेको सार्वजनिक प्रशासन नै हो । यो निर्बैयक्तिक र तटस्थ हुन्छ । सार्वजनिक प्रशासन राजनैतिक एजेण्डाहरुको कार्यान्वयनमा प्रतिवद्ध समेत रहनुपर्छ । चुस्त र छरितो प्रशासनयन्त्रबाट मात्र जनताले  सरकार र अशल शासनको अनुभुति गर्न पाँउछन् । यसो भएमा निजामति सेवाप्रतिको नकारात्मक दृष्टिकोण कमजोर भएर जान्छ । यसका लागि प्रविधिको प्रयोग अनिवार्य छ । प्रविधिको प्रयोगले नै हाम्रो समन्वय गर्ने क्षमता र समन्वयको प्रभावकारिता बढाउछ । त्यसैले एक्काइसौ शताब्दीको कम्प्युटर र इन्टरनेटले प्रदान गरेको अवसरलाई उपयोग गर्दै संचार प्रविधिमा आधारित सेवा प्रवाहको शुरुवात गरी देशलाई सम्वृद्धिको दिशातर्फ डोहोरयाउनु आजको आवश्यकता हो । यसका लागि सम्बन्धित सबैको ध्यान जान जरुरी देखिन्छ ।
प्रतिकृयाको लागिः  janardan.kattel@gmail.com.