शिबताण्डवस्तोत्र (भावानुवाद)
– जनार्दन कट्टेल
प्रवाह त्यो घटा घना–अरण्यमा जटाजुट, घटा–प्रवाहले सधैं गरेर कण्ठ सिंचित ।।
डमड् डमड् छ ताल जो डमड् गरी प्रतिक्षण, बजाउदै सुशोभना छ नृत्यकै प्रसारण ।।१।।
बिशाल सर्पको मणि छ कण्ठमा मनोहर, सुशोभिता सहश्र छन् र साथमा छ ताण्डब ।।
नमन् सधैं उनै प्रति छ संस्मरण् सदा सदा, गरुन् भलो सधैं भरी छ प्रार्थना सु सर्वदा ।।२।।
अतीव बेगले सदा विलास हर क्षणै गरी, मुकुटमा तरङ्ग छ पवित्र सिन्धुकै सरी ।।
धधक् धधक् छ मस्तकै प्रज्वल्लित प्रतिक्षण, प्रचण्ड कान्तियुक्त जो छ चन्द्रमा विभुषण ।।३।।
हिमालकी सुपुत्रीको परम् विलासदृष्टिमा, छ चित्त जो सँधै भरी अनिऽ लगाब सृष्टिमा ।।
छ बास सम्पूर्ण जगत् ललाटमा सधै भरी, र दूर गर्दछौ सदा दारुण्यता कृपा गरी ।। ४।।
रहोस चित्तमा सधैं शिवऽ शिवऽ शिवऽ, शिवऽ, सधैं प्रसन्न भैरहोस् मनै भरी सदाशिव ।।
म धन्य र आनन्दमा रमाउँन सकूँ सधैं, र भक्तिमा छ सम्पदा कमाउन सकूँ सधैं ।। ५।।
छ अर्पण सुपुष्पको उनै प्रभू प्रतिऽ सधैं, छ मस्तक त्यो पाउमा हरेक देवकै पनिऽ ।।
उनै प्रभू जटा विशे छ खेल नागको सदा, मणि छ कान्तियुक्त भै सपाट गर्दछ दिशा ।।६।।
अत्यन्त भीमकाय जो गजाधरैको चर्मले, सजेका छन् दिगम्बर, बनेको छ यो कर्मले ।।
जटाको बन्धनै पनि छ रक्त सर्प युक्तको, उनै त्रिनेत्र युक्तले देखाउ मार्ग मुक्तको ।।७।।
धधक् गरेर अग्नि ले जलाई कामदेवता, अति घमण्डको गरी समापनै ती देवको ।।
यिनै सुपुज्य छन् सदा र चन्द्रले सुशोभित, दिउन् प्रसिद्धि नै सदा, दया रहोस् जटाजुट ।।८।।
प्रकिर्ति छिन् ती पार्वती र सिर्जना कलाकृता, जया, तिनै पवित्रको रह्यो सुदृष्टिमा सदा ।।
अनादिका यि देवको गरेर प्रार्थना सधैं, खुसी बनोस् जीवन धरा पवित्र होस् यो मन् सधैं ।। ९।।
नवीन मेघ मण्डली छ औशिंको करालता, सुशोभितै गरी कनै छ कण्ठको सुभब्यता ।।
सशक्त छ जो भार नै जगत् स्वयं लिनै परोस्, स्वयं प्रभू कृपा भई सुसम्पदा प्रदत्त होस् ।।१०।।
अतिव बेगले सधै घुमेर यात्रा गर्छ जो, छ उच्चता त्यो शब्दमा फडा सहित सर्पको ।।
ललाटमा छ अग्निको धधक् धधक्, र धिम् धिमऽ गरी मृदङ्ग बज्दछन् ति तालमा प्रति क्षण ।।११।।
जो गर्छ नाश दक्षको घमण्ड रुपी यज्ञको, जो हर्छ दुःख लोकको र रक्षक त्रिलोकको ।।
गजासुरैको भक्षण र अन्धकासुरै पनि, पुरान्तकऽ उनै शिबऽ, भवः जटाधरै बनी ।। १२।।
म राख्दछु समानता यो भक्तिमा सबै क्षण, प्रजा र राजको अनि सुपुष्प र यो तृणको
र शत्रु र ती मित्रको, मणि – कुरुप भित्रको, र सर्पको सजावटै अनन्त नीलकण्ठको ।।१३।।
पढेर मन्त्रले सधै उपाशना गरी कनै, प्रकाट्य होस सभक्तिमा जपेर लाख झन्झनै ।।
किनारमा बसी भजन् जलाधीको समीपमा ? म कैले पाउँला प्रभू त्रिनेत्रको उपाशना ?? ।।१४।।
कृपानिधी जटाधरै उनै प्रभूको दिब्यता, के सक्छु रऽ म गाँउनऽ भुजङ्गयुक्त भव्यता ?
तथापि नै म गर्दछु सप्रेमले सभक्तिले, भजन् सदैब श्रीप्रभू बुता भरेर शक्तिले ।।१५।।
उपासना छ उत्तमै सपाठ ताण्डबै सदा, जो पढ्दछ र संझना गरी पबित्र बन्दछ ।
र गाँउछ भजन् सधैं सुप्राप्य छ शिवऽ शिबऽ, वरत्रमा सुखै सुख, परत्र लोकमा शिब ।।१६।।
ॐ नमः शिवायः
1 comment:
Nice creation
Post a Comment