Wednesday, May 12, 2021

लेखः माधवी-दासत्वबिरुद्धको गद्यकाव्य

 

माधवीः शोषण बिरुद्धको गद्यकाव्य

-ऋषि शान्तिप्रिय

साझा प्रकाशनको बिक्री कक्षमा पुग्दा मेरो नजर सिधै माधवीमा ठोकियो ।  पुस्तक किनेरै निस्किएँ । माधवी हातमा देख्दैखेरी एक जना विद्वान मित्र भन्दै थिए- अलि गाह्रो छ बुझ्न तर प्रसिद्ध उपन्यास हो । मनमनै सोचें – "गाह्रो भए पनि कसो नबुझिएला त !" लेखकका मन्तव्य र थप केही पृष्ठ पढेपछि लाग्यो – पहिल्यै पढ्नु पर्ने पुस्तक रहेछ । तथापि पढी सकेपछि लाग्यो - एउटा योग्यताको स्तरमा पुगेपछि मात्र पढ्नु पर्ने रहेछ । मेरो जन्म भन्दा २ वर्ष कान्छो नेपाली उपन्यास पढ्न मैले प्रकाशन पछिका ३८ वर्ष पर्खिएँ । अहिले सोच्दैछु - कम्तिमा मैले पुस्तक पढ्न सक्ने  आँट, धैर्यता र योग्यता जम्मा गरेरै पढेंछु – पढ्नकै निमित्त । मलाई लाग्यो सबै पाठकहरुले गहन कृतिलाई न्याय दिन सक्दैनन् । बरु मेरो यो लेखले जिज्ञासु पाठकलाई पुस्तकप्रति सम्मोहन जगाओस भन्ने मेरो मनसुवा निवेदन गर्दछु ।

विद्वान लेखक मदनमणि दीक्षितले यस उपन्यासलाई छैटौं संस्करणमा समीक्षा बेगरको माधवी  भनेर आफूले नै यस प्रति बारम्बार साना लेखहरु लेख्ने गरेको बताएका छन् । उनी बितेर गएको केही वर्षपछि उनलाई श्रद्धाञ्जली स्वरुप यो समीक्षा/समालोचना लेख्ने धृष्टता गरेको छु । कृति ज्यादै गहन छ । यसका चरित्रहरुका आफ्ना आफ्नै विशेषताहरु छन् । महत्वहरु छन् । यसका साह्रै धेरै आयामहरु पनि देखिएका छन् । एउटा छोटो आलेखमा अटाउन सक्ने गरी सकेसम्म थोरै शब्दद्वारा यहाँ माधवी सम्बन्धमा चर्चा गर्ने जमर्को गरेको छु । शुरुवातमै तमाम विद्वान पाठकहरुप्रति मेरा कमजोरीप्रति क्षमादान माग्दै सकेसम्म लेखकीय, चरित्रहरु, उपन्यास र यसको मूल मर्मलाई केलाउने कोशिष गर्दछु ।

महर्षि बेदव्यासले महाभारतको उद्योग पर्वमा देबी माधवी र राजा ययातीको कथा प्रस्तुत गरेका थिए । यसै कथाको पृष्ठभूमी र आफ्नो लामो अध्ययन तथा शोधलाई समेत समाविष्ट गर्दै उपन्यासकार दीक्षितले यो  ग्रन्थलाई पेश गरेका छन् । पहिलो संस्करणबाट छैटौंसम्म आइपुग्दा कयौं ठाउँमा संशोधन गरिएको र उतिबेला उत्तर बैदिक उपन्यास वा एघारौं विक्रम पुर्वको भनिएकोमा त्यसरी  समय नै तोक्नु उचित नहुने ठहर्‌याएका छन लेखकले । जे होस हरप्पा र महेनजोदाडो सभ्यताको लोप भए पछि र उत्तर भारतीय समाजमा साना ठूला राज्यहरु स्थापना भई सभ्यताले बामे सर्दै गर्दा ताकाको समयलाई उपन्यासको आधार समय बनाइएको छ ।

माधवीको भूगोल चम्पा देखि बागमती किनाराको मण्डलक जनपदसम्म  फैलिएको छ । यसका केही प्रसंगहरुले शैवालिक चुरे क्षेत्र सम्म, हरियुपिया (हरप्पा) र सिन्धु नदीसम्म तथा ब्रह्मपुत्र नदी सम्मको भूगोललाई समेटेका छन् । यसमा साना ठूला गरी करीब १५ वटा राज्यसँग सम्बन्धित प्रसंगहरु आए पनि उपन्यास कौशिक तटको विश्वामित्र आश्रम, अहिच्छत्र राज्य तथा प्रतिष्ठानपुर, अयोध्या (कोशल), काशी, भोजनगर, बिदेह, मण्डलक, अङ्ग (चम्पा),  तथा बङ्ग लगयतका प्रसङ्गहरु प्रमूख रुपले आउछन् । महाभारत तथा श्रीमद्भागवत महापुराणको कथामा आउने राजा ययाती र उनकी छोरी माधवी तथा विश्वामित्र एबं उनैका अन्तेबासिन् (शिष्य) गालबको प्रसङ्गमा आवश्यकता अनुसार थप पात्र, घटना विवरण तथा विश्लेषण अनि प्रेम प्रसंगसँग जोडिएको कर्तब्यबोध र  साँस्कृतिक अभ्यास, त्यति बेलाको समाजको रोगको रुपमा रहेको दास प्रथा तथा नारी र शिशुहरु प्रति परिवर्तकको सामग्रीको रुपमा गरिने ब्यवहारहरुलाई केन्द्रमा राखेर एउटै मालामा उनेका छन् दीक्षितले ।

उपन्यासको विविध आयाम बारेमा चर्चा गर्नु पूर्व यस उपन्यासको सार यहाँ चर्चा गर्नु उपयुक्त हुनेछ ।

माधवीको कथाले वैदिक कालमा अभिशापको रुपमा रहेको दास व्यवस्थालाई परिवर्तनको बाटोमा डोहोर्याएको छ ।  ऋषि विश्वामित्रले दासत्व बिरुद्धको राजनैतिक उद्देश्यबाट शुरु गरेर केही प्रयासहरुद्वारा समाज परिवर्तन गर्न कोशिष त गरे । तर विस्तारै बिस्तारै विभिन्न राज्यमा आफैं चेतना बढ्दै गएर, सानातिना दास विद्रोह र मानवीयता भरिदै भरिदै जाँदा गृहदास तथा शृङ्खलामा बाँधिएका दासहरु समेत कृषक, अन्य पेशाहरु र राज्यका सेना आदिमा परिवर्तन हुँदै एउटा आशालाग्दो किरण देखाएर समाजलाई उन्नति पथमा लम्कदो र सभ्यतामा फड्को मार्दो अवस्थामा छोडेका छन् लेखकले । तैपनि विश्वामित्रले दासप्रथाको अन्त्यको लागि अश्वमेध यज्ञ गर्ने र दास प्रथा एकै चोटिमा समाप्त पार्ने भन्ने उद्देश्यले आफ्ना शिष्य गालबसँग गुरुदक्षिणामा चारवटा श्याकर्ण घोडा मागेर जुन धाक देखाए , त्यसको नैतिक धरातल दक्षिणा प्राप्त गर्दा सम्म बचाउन सकेनन् ।  पछि उनले अश्वमेध यज्ञ पनि गरेनन् ।

यसै कथामा नारीको दारुण्यता, शक्तिहीनता र निस्सारतालाई उदाङ्गो रुपमा पेश गरिएको छ । सम्भवत कतिपय प्रसङ्गमा आजको आधुनिक समाजमा समेत यो अवस्था कालजयी बनेर बसेको महशुश हुन्छ । यसको ज्वलन्त उदाहरण माधवी स्वयम् नै हो ।  नहुषनन्दन असुर सम्राट ययातिकै छोरी भए पनि उसकी माता विश्वाचीले ऊ जन्मेकै दिन छोडेर जानाले ऊ जन्मजात निस्सहाय हुन्छे । तथापी उसकी विमाता शर्मिष्ठा, धातृ सुनन्दा र दरबारका दासीहरुको समान्य स्यहार पाएर माधवी हुर्किन्छे । माधवीलाई बीस वर्षको उमेरमा अहिच्छत्र राज्यकी महामाया बारूणीको रुपमा बरण गर्छ - अहिच्छत्र सभाले । यसपछि हरेक वर्ष बरुण महोत्सवमा उसलाई शिशुहरुको बली दिनका निम्ति उपयोग गरिन्छ भने महाप्रोहित हलिमकले उसलाई सँधै नै दुर्व्यवहार गरिरहन्छ । दासशालाहरुबाट तिनीहरुका शिशु खोसेर बरुणलाई हरेक वर्ष बलि चढाउने आसुरी प्रथा त्यस राज्यमा विद्यमान छ ।

अर्कोतर्फ विश्वामित्र र बशिष्ठबिच राजा सुदासको पौरोहित्यको विषयमा मतभेद भएर बिग्रह हुदा विश्वामित्रको शिष्य गालबले आफ्नो गुरुलाई निश्चय नै साथ दिएको थियो । त्यसबाट प्रसन्न भई बिना गुरुदक्षिणा गरीब शिष्य गालबको समावर्तन (दीक्षान्त) हुने बताएपछि स्वाभिमानी गालबले गुरुदक्षिणा नदिई आफू समावर्तन नलिने अड्डि लिन्छ । अन्त्यमा विश्वामित्रले रिसाएर गुरु दक्षिणामा चार वटा श्यामकर्ण घोडाको माग गरे र नदिएमा श्राप दिई तिर्यग्योनीमा पुर्याउने भनी धम्की पनि दिए । (मूल ग्रन्थमा आठसय भनिएको - जसको उद्देश्य माथि उल्लेखत छ ।)

त्यसपछि गालबको यात्रा शुरु हुन्छ – गुरु दक्षिणाका लागि  । सर्वप्रथम ऊ आफ्नो बालसखा सुपर्ण कर्कोटक नागजेयलाई भेट्न र सहयोगको यचनाको निमित्त मण्डलक जनपद जान्छ । ऊ गरुण बंशको हुन्छ । ऊ विभिन्न स्थानमा घुमिरहने र  विभिन्न विषयमा जानकारी राख्ने भएकोले उसले सहयोग गर्न सक्छ भन्ने आत्मविश्वासका साथ गएको हुन्छ । त्यहाँ कर्कोटक सुपर्ण गरुणको आफ्नै संस्कृति तथा रीतिस्थिति हुन्छ । सदानीरा नदी छेउ भएको त्यो जनपदमा गालबले सुपर्णकी जाया (सन्तान जन्माउनको लागि पाणिग्रहण गरिएकी पत्नी जो सन्तान जन्मेपछि स्वाधीन हुन्छे ।) जवामा पुत्रमन्थतन्त्र र पुत्रेष्टि यज्ञका विधिहरु सम्पन्न गराएर आफूमा रहेको दक्षता समेत प्रमाणित गर्छ । यसपछि नगजेयको साथमा ऊ असुरसम्राट ययातिको दरबार अहिच्छत्रमा पुग्छ ।

अहिच्छत्रमा पुग्दा उसको भेट बारुणी महामाया त्रिलोक सुन्दरी माधवीसँग हुन्छ । उसको सुन्दरता र ब्यक्तित्वबाट प्रथम दृष्टिमै कौशिक गालबमा एक प्रकारको कुतकती उठ्छ । त्यति नै बेला माधवीले एउटा शिष्यलाई बरुण बलिको रुपमा प्रज्वल्लित अग्नीमा दाह गर्छे । गालब बिस्मित बन्छ । भोलिपल्ट ययाति सभामा गरुण नागजेय समेतको मद्दतले गालब आफू चारवटा श्यामकर्ण घोडा भिक्षाको रुपमा माग्न आएको कुरा बताउछ ।  तर त्यसको उद्देश्य अहिच्छत्र संस्कृतिको (दास प्रथाको) बिरुद्ध भएकोले राजसभाले आफ्नै बिरुद्धको कदम ठहराउछ । तथापि ययातीको दानशीलता विश्वभर प्रख्यात थियो । दान गर्न पाउनु ठूलो अहोभाग्य सम्झन्थ्यो ऊ । उसले दान दिने त भन्छ । तर ऊसँग वास्तबमा एउटा पनि श्यमकर्ण घोडा हुदैन । हरेक दिन दान गर्नाले ययातिकोष पनि करिब करिब रित्तिएको हुन्छ । श्यामकर्णको सट्टामा दौतल दिन समेत असमर्थ भएपछि केही दिनसम्म नै संसदमा ठूलो बहस चल्छ र अन्त्यमा ययातीले माधवीलाई नै उपयोग गरेर "आँफै ती श्याकर्ण घोडा प्राप्त गर र गाधेय विश्वामित्रको गुरुदक्षिणा बुझाऊ " भन्दै माधवीलाई नै गालबको हातमा सुम्पिन्छ ।  यस बिचमा गालबको प्रयासले त्यहाँ केही दासहरुले मुक्ति पाउँछन् । उसले थुप्रै दासहरु दासशालामा शृङ्खलामा बाँधिएको देख्छ । साथै दासहरुप्रति गरिएको क्रुर र अमानवीय व्यवहार, साधारण कसुर वा बिनाकसुर नै पनि काशाघात तथा मरणदण्ड समेतको सजायको पनि अनुभव गर्छ । अन्त्यमा माधवीलाई अघि लगाई ऊ अयोध्याको बाटो लाग्छ ।

माधवीलाई सुवाहुले चारवटा चक्रवर्ति सम्राटकी माता बन्नेछ्यौ भनेर बरदान दिएको हुन्छ । केशशुल्काको रुपमा (कुनैकुरा प्राप्त गर्ने परिवर्तकको रुपमा सन्तान जन्माइदिने आइमाई) चक्रवर्ति सम्राट जन्माइदिएर गालबनिम्ति श्यामकर्ण घोडा प्राप्त गर्ने अभियानमा आफू सरिक हुँदा उसको लागि फाइदाको विषय भनेको महाप्रोहित हलिमकको दुर्व्यवाहारबाट मुक्त हुने र गालबप्रतिको चित्ताकर्षण नै थियो  । तथापि त्यो निर्णयले माधवीलाई एउटा दलदलबाट झिकेर अर्को दलदलमा फ्यक्दै थियो ।

कोशलमामा हर्यश्व राजा हुन्छ । त्रिलोक सुन्दरीसँगको करारीय प्रस्ताब उसले नमान्ने कुरै भएन । गालबले माधवीको हर्यश्वसँग पाणिग्रहण गराउँछ । आँफै नै माधवीको पुत्रमन्थ तन्त्र तथा पुत्रेष्टि यज्ञकर्म गराउन सरिक हुन्छ । भावविह्वल भएर गालबले यो सबै गराउँछ । गालबले माधवीको सामिप्यता भने पाइ नै रहन्छ  । उसको नियुक्ती बेद तथा शास्त्राध्यायन गराउनको निम्ति उपाध्यायमा गरिन्छ । हर्यश्वको जायाको रुपमा गर्भवती भए पनि गालब र माधवीको प्रेम झन झन गाढा हुँदै जान्छ ।  कोशल राजधानी अयोध्यामा रहदा माधवीले ठूलो प्रसब ब्यथा पश्चात एक पुत्र पैदा गर्छे । एक श्याकर्ण घोडा प्राप्त हुन्छ ।  छोराको नाम बसुमना राखिन्छ ।

 त्यसपछि ती युगलको यात्रा काशी नरेश दिवोदासको दरवारका लागि शुरु हुन्छ ।  दिबोदासले आफ्नो राज्यमा दाश ब्यवस्थालाई अन्त्य गर्दै लगेको छ । त्यहाँका दासहरुलाई मुक्ति गरेर राष्ट्र (खेत) प्रदान गरिने र उक्त राष्ट्रबाट जनपदका लागि बलि (कर) प्राप्त गरी अर्थब्यवस्था सञ्चलन गर्ने आधुनिकता त्यहाँ अनुभव गर्छन् । काशीमा रहदा दिवोदासको प्रमूख ऋत्विजको भुमिका पाउछ गालबले । त्यहाँ रहदा गालबले दासी गिरिकालाई बिर्यदान गरी दास पति-पत्नी भल्लाक्ष गिरकाको बिमोचन गराउछ । अरिष्टनेमी ऋषिले ती युगललाई श्राप दिई तिर्यग्योनीमा पठाउदा दासत्वबाट मोक्षको मार्ग यही नै देखाइदिएको थियो । दिवोदासको सहचार्यमा पनि उक्त बमोजिम नै माधवीले एक पुत्र प्राप्त गर्छे । उसको नाम प्रतर्दन राखिन्छ । बदलामा उनीहरुले एउटा श्यामकर्ण घोडा प्राप्त गरी विश्वामित्रलाई पठाउछन् ।

 त्यस पछि उनीहरु पुनः अर्को राज्य भोजनगर तर्फ लाग्छन् । भोजनगर उशीनर बैश्यहरुको राज्य हो । उनीहरु यायावरहरुले सिकाएको / प्रतिपादन गरेको वैष्णवी धर्ममा आस्था राख्छन् । त्यस धर्मले दास व्यवस्था मान्दैन । उनीहरु हरेकले आफ्नो लागि आँफै कर्षण (खेति) गरेर  जिविकोपार्जन गर्छन् । हरेक अघिल्लो भन्दा पछिल्लो राज्यको व्यवस्था झन् उन्नत र आधुनिक हुदै गएकोमा उनीहरु दङ्ग पर्छन् ।  उशीनरहरुका राजा शिविले माधवी र गालबको ठूलो सम्मान गर्छन् । माधवीबाट शिविले एक पुत्र जन्माउछन् उसको नाम शिवि नै राखिन्छ ।  गालबले पनि केही राष्ट्र उशीनरहरुबाट प्राप्त गरी त्यहा रहदा कर्षण गर्छ । गालबको खेतमा झुलेका धान्य तथा बगैचामा पल्लवित पुष्प र पुष्करमा फुलेका कमलहरुको मनोहरता देखेर सम्पूर्ण उशीनरहरु आफ्नो स्नान तथा संध्या गर्न त्यतै ओइरिन्छन् । त्यहाँ रहदा माधवी र गालबको प्रेम झन धेरै गाढा हुन्छ । दुबै मिलेर जुहीको माला उन्ने  र एक अर्कालाई पहिर्याइदिने चित्ताकर्षक सपना माधवीले देख्छे । तेस्रो सन्तान प्राप्ति पछि माधवीको स्वास्थ्य अवस्था केही बिग्रन्छ । अब कुन राजासँग श्यामकर्णको परिवर्त्य गर्ने भन्नेमा उनीहरुको अलमल हुन्छ  । त्यति नै बेला  सुपर्ण गरुण नागजेय उनीहरुको दिशाबोध गराउन आइपुग्छ । विश्वभरीमा जम्मा तीनवटा मात्र श्यामकर्ण घोडा रहेको र  थप घोडा अब बाँकी नरहेको भन्ने थाहा पाएपछि माधवी मुर्छित हुन्छे ।

नागजेयको सल्लाहमा अबको यात्रा उनीहरुको चम्पातर्फ अघि बढ्छ । यात्रामा सुपर्णले समेत साथ दिन्छ ।  विश्वामित्रले ब्रम्हर्षिको रुपमा चम्पाको राज्य प्राप्त गरेको हुन्छ । तर उसकै राज्यमा दास व्यवसथाको अवशेषहरु प्रसस्तै देखिन्छन् । गालबले आफुले गुरुदक्षिणामा तीनवटा श्यामकर्ण पठाइसकेको र चौथोको सट्टा आफैं माधवीको उपयोग गरेर चक्रवर्ति सम्राट जन्माऊ भनेर विश्विमत्रलाई बताउँछ । माधवीको व्यक्तित्व, रुप रङ्ग, तथा आफ्नो बुढ्यौली अवस्था समेत विचार गरी उसले गालबलाई "पहिले नै माधवीलाई मकहाँ ल्याउनु पर्दैन? मलाई यी श्यामकर्णको के काम ?  बरु म आँफै माधवीबाट चारजना चक्रवर्ति सम्राट जन्माउथें" भनी हप्काउछ ।

माधवी, गालब र विश्वामित्रबिचमा केही भनाभन हुन्छ । माधवी अस्वीकार गरे गालब स्वयम् नै विश्वामित्रलाई श्रापित गरी तिर्यग्योनीमा पठाइदिने सम्मको धम्की दिन्छ । माधवीले पनि साथ दिन्छे । अन्त्यमा विश्वामित्र माधवीको पाणी ग्रहण गर्न स्वीकार त गर्छ तर उसको शारिरीक अवस्थाले गर्दा आँफै छोरो जन्माउन सक्दैन । आफ्नो भानिजलाई  प्रतिनिधि बनाएर माधवीसँग नियोग गरी तिनीहरुले पुत्र प्राप्त गर्छन् । तथापि यो क्रममा विश्वामित्र र उसको भानिज प्रमतक माधवीको नजरमा पतित बन्छन्  । माधवीले प्रमतकबाट पुत्र प्राप्त गर्छे  । उसको नाम विश्वमित्रले अष्टक राखिदिन्छ । पुत्र प्राप्त भएपछि माधवी र गालबले विमोचन प्राप्त गर्छन् ।  माधवी र गालब उनीहरुप्रति  अत्यन्तै घृणा भाव लिएर त्यहाँबाट जतिसक्दो छिटो प्रस्थान गर्दछन् ।

अङ्गदेशको राजधानी चम्पामा रहदा पनि उनीहरु  विश्वामित्र प्रासादमा नभई त्यहाँको ग्रामीण परिवार जरिताको घरमा बसेका हुन्छन् । उशिनर तथा यायावरको संगतले माधवी तथा गालबमा बैष्णवी धर्मप्रतिको आस्थामा वृद्धि भएको हुन्छ । धार्मिक आस्थाको हिसाबले पनि विश्वामित्रसँग उनीहरुको कुरा मिल्दैन । उनीहरु ॐ नमोनारायण तथा अमोहमस्मीको मन्त्रको साथमा आफुलाई अनासक्ति तथा स्थावरजंगम नारायणमा समर्पण गर्दै अघि बढेका हुन्छन् । इन्द्रलाई सर्बेसर्वा मान्ने विश्वामित्रको धर्मले दास प्रथाको अन्त्य गर्न नसक्ने जिकिर गालबले गर्छ । गालबले बिष्णुलाई बेद र यज्ञ यज्ञादिमा स्थान दिनु पर्ने भनी विश्वमित्र समक्ष प्रस्ताब गर्छ । दुबैजना धेरै तर्क वितर्क गर्छन् । दुबैका मार्गबाट दास ब्यवस्था अन्त्य हुदै गएको उदाहरण सहित जिकिर पेश गर्छन् ।

त्ससपछि करीब ६ महिना भन्दा बढी अवधी हिडेर उनीहरु पैदलै अहिच्छत्र राजधानी प्रतिष्ठानपुर पुग्छन् । यस बिचमा बाटोमा दुबै बिरामी पर्छन, निको हुन्छन । निषादहरुले उनीहरुको सहायता गर्छन । बाटोमा थरी थरीका गण गोत्र चिन्ह भएका विभिन्न जातिका मानिसहरुसँग भेट हुन्छ । विभिन्न  संस्कृति र सभ्यताको प्रत्यक्ष परोक्ष अनुभव गर्दै उनीहरु पुग्छन् । यसै बिचमा उनीहरुको प्रेम झाङ्गिन्छ । कैलेकाही प्रेममा मनोबैज्ञानिक तिक्तता समेत देखापर्छ दुबैमा । तथापि माधवीमा क्षणिक हुन्छ भने गालबको अन्तरहृदयमा  कति कुरा तुष बनेर अल्झिन्छ ।

प्रतिष्ठानपुर पुगेपछि गालबले पुर्वप्रतिज्ञा अनुरुप माधवी बाबु ययातिलाई बुझाउँछ । अनि माधवी र गालबको घरजमको कुरो उठ्छ । ययातिले कन्या शुल्क तिरेर माधवीलाई पत्नी बनाउन सुझाब दिन्छ । तर गालब त्यसो गर्न चाहदैन । किनकी ऊ माधवी परिवर्त्य सामग्री हो भन्ने ठान्दैन । ययाति फेरि गालबलाई आफ्नो  बिर्य शुल्क निर्धारण गर्न सझाउँछ । त्यो पनि त्यही बैष्णवी धर्मले रोक्छ दुबैका लागि । कन्या शुल्क तिरेर मात्रबीलाई आफ्नो पत्नी बनाउनु र आफ्नो बिर्यशुल्क निर्धारणद्वारा माधवीले गालब प्राप्त गर्नु भनेको दुबै दासत्वलाई समर्थन गर्ने र अनासक्ति रहने बैष्णवी धर्मको उल्लङ्घन हुनाले ती दुबै विधि त्याज्य ठहराए दुबैले । अन्त्यमा उनीहरु स्वयम्बर बिधिको अवलम्बन गर्ने भए । स्वयम्बरको मिति तोकिन्छ ।

स्वयम्बरको मिति तोकिसकेपछि गालबले सुपर्णलाई सम्झन्छ  । त्यत्रो महान अवसरमा सुपर्णको अनुपस्थिति रहनु हुदैन भन्दै आँफै सुपर्णलाई लिएर स्वयम्बरभन्दा पहिले नै आइपुग्ने बाचा बाँधेर मण्डलक जनपदतर्फ प्रस्थान गर्छ । बाटामा थाहा पाउँछ सुपर्ण विदेहको यात्रामा छ । ऊ बाटो फेर्छ । विदेहमा सुपर्ण बिरामी  भई नाजुक अवस्थामा रहेको हुन्छ । धेरै दिनपछि सुपर्ण निको हुन्छ ।  एक दिन सुपर्णसँग "मैले आज प्रतिष्ठानपुरमा हुनुपर्थ्यो । यस अघि नै जानु पर्थ्यो । माधवीसँगको स्वयम्बरको मिति आजै तोकिएको थियो" भनी गालबले बताउँछ - सुपर्णलाई ।  सुपर्णलाई बज्रले प्रहार गरेझैं हुन्छ र गालबलाई गाली गर्छ- सम्झाउछ ।  उनीहरु माधवीसमक्ष माफ मागेर यो गल्ती सच्याउनु पर्छ भन्नेमा पुग्छन् र जतिसक्तो चाँडो प्रतिष्ठानपुर फर्कन्छन् । फर्कदा बाटोमै थाहा हुन्छ माधवी बैरागी भएर अब गृहस्थी जीवनमा नरहने भन्दै दक्षिणतर्फ साम्बाला गणमा गएकी हुन्छे । गालब र नागजेय त्यहाँ पुग्छन् । अनुनय विनय गर्छन् ।

साम्बालागण जनपद भनेको मुक्त दासीहरुको नयाँ राज्य हो । त्यहाँको सदस्य सभासद भैसकेकी माधवीले उनीहरुसँग फर्कन नसक्ने र आफुले सम्बालागणले दिएको भूमका नै निर्वाह गर्ने बताएपछि उनीहरु बाध्य भएर फर्कन्छन् । माधवी र गालबलाई जोड्ने तन्तु चुडिन्छ ।

समय सबै कुराको औषधी हो । जति समय वित्दै जान्छ उनीहरुमा एक अर्काप्रतिको स्नेह र एक्लो जीवनको बिरक्तिले च्याप्न थाल्छ । करीब ७ वर्ष एकले अर्कोलाई खोज्दै बिताउछन् । दुबै एक ठाउँबाट अर्को ठाउँमा हिडिरहने भएकोले उनीहरुको भेट हुन सक्दैन । अन्त्यमा अब पक्कै भेट हुन्छ भन्ने जस्तो मोडमा पुर्याएर उपन्यासकारले  समयको फड्को मारेका छन् करीब ५० वर्षको ।

जब माधवी ७९ र गालब ८३ का हुन्छन् त्यहीबेला गङ्गा र यमुनाको सङ्गमस्थित प्रतिष्ठनपुरमा कोशल, काँशी, भोजनगर र चम्पाका सम्राटहरु  क्रमशः बसुमना, प्रतर्दन, शिवि र अष्टकद्वारा  चतुराष्ट्र बाजपेय यज्ञ गरिरहेको भूमीमा अकास्मात पहिला माधवी र केही क्षणमै गालब देखा पर्छन् । उनीहरुको सम्बादबाट ती दुबै एकै कुटीमा बन्यप्रान्तमा सहचारीका रुपमै रहेका थिए भन्ने संकेत मिल्छ । तथापी उनीहरुले बिवाह गरेको बुझिदैन । चारै जना सम्राटहरु माधवीले जन्म दिएका हुन्छन् । परिचयात्मक वार्ता पछि माधवी र गालब दुबै आफ्नो जीवनकथा छोराहरुलाई सुनाउन थाल्छन् । अनि माधवीको कथानक समाप्त हुन्छ ।

पुरुषहठ र  गालबको हीनता बोधले गर्दा माधवीको स्वयम्बर हुन पाउदैन । जब चम्पामा गुरुदक्षिणाको काम सिध्याएर उनीहरुको यात्रा प्रतिष्ठानपुर तर्फ सोझिन्छ - त्यतिबेलाको कुरा हो यो ।  प्रेमील संबादका बिचमा दुबैले एक अर्का प्रतिको अनुराग बारेमा सोध्छन् । दुबैले एक अर्काबिना जीवनको कुनै मूल्य नभएको अनुभव गर्छन् र सोही कुरा बताउछन् । एक दिन यस्तो मोड आउँछ - माधवी गालबको काखमा उसकै आँखा तिर हेरेर पल्टिएकी हुन्छे । त्यो बेला माधवी अत्यन्त सुन्दरी देखिन्छे । सम्मोहनबस गालबले उसको  पल्लवित ओठ चुम्न खोज्छ । तर माधवीले त्यसलाई टारिदिन्छे । भन्छे –"तपोधन उपाध्याय !    .... केहि दिन धैर्य गर न, न्यास रहेकी मलाई सम्राटमा फिर्ता बुझाउनु तिम्रो धर्म होइन ?  हेर अहिले द्यौ-पृथ्वीको चुम्बनलाई  किन्चित समयपछि मात्र स्वर्णीम आभा प्रकट गर्नेछिन । सूर्य अझै क्षितिज माथि नै छन् । त्यहाँ हेर गालब ! "  यसलाई गालबले आफ्नो पराजयको रुपमा लिन्छ । ऊ सँधै झैं माधवीसँगको पराजयसँग डराउँछ र आफूभन्दा श्रेष्ठ नारीसँग स्वयम्बर गर्न डराउँछ र प्रकटमा स्वयम्बरमा अर्कै निहुँ पारेर अनुपस्थित रहन्छ ।

उपन्यासमा नारीलाई परिवर्तकको रुपमा अझै भनौ नरीको प्रयोग जहाँ जे जसरी गर्दा पनि हुन्छ भन्ने मान्यतालाई देखाइएको सम्बन्धमा अब थप भनिरहनु परेन ।  गालबलाई सत्कार स्वरुप नागजेयले आफ्नै जाया  जवालाई अर्पित गर्छ । पुरै उपन्यास त्यस समयको नारीहिंसा र दास व्यवस्थालाई उदाङ्गो बनाउदै हिडेको छ ।  परिवर्तन राजनैतिक छलाङ्गको रुपमा नभइ जनचेता अभिवृद्धि र सभ्यताको विकाससँगै क्रमशः हुदै जाने कुराहो भन्ने उपन्यासको सन्देश आजका राजनीतिकर्मी जो देशलाई एकै झड्कामा युरोप बनाइदिन्छु भन्ने हरुलाई काम लाग्ने विषय हुन सक्छ ।

वेद तथा काब्य कथाहरु लेखिनु अघिको कालखण्डको यो उपन्यासले संकेत गर्छ । मन्त्रद्रष्टा ऋषि विश्वामित्रसँग बेदमा विष्णुलाई पनि स्थान दिन आग्रह गरिनुले पनि यसलाई थप पुष्टि गरेको छ ।

सभ्यताको शुरुवातमा जे काम गर्दा पनि साइत हेरेर त्यसलाई तान्त्रिक विधिबाट पुजा शुरु गरी गरिन्थ्यो ।  उशीनरहरुले भोजनगरमा क्षेत्रतन्त्र गरेर कर्षणको कार्य प्रारम्भ गर्थे भने पुत्र मन्थतन्त्रको तान्त्रिक अनुष्ठान र अष्टमातृकालाई घ्युधार दिएर पति- पत्नी बिच खुलेआम सम्भोग गरेर पुत्रेष्टि यज्ञ गरिन्थ्यो ।

उपन्यासको विषयबस्तु मानब विकास क्रम र मानव रचना शास्त्रको सिद्धान्तसँग ठ्यक्कै मेल खान्छ ।  त्यतिवेलाका राज्य तथा समाजहरु कुनै नारीप्रधान र कुनै पुरुषप्रधान थिए । त्यतिबेलाका मानिसहरु आफूलाई कुन कुल गोत्रको हो भनेर चिनाउन गोत्र चिन्ह पहिरिएर हिड्दथे । जस्तै- मुसिकहरु मुसाको दाँतको माला लगाउथे । गरुणहरु गरुणको चिन्ह टाउकोमा लगाएर हिड्थे । असुरहरु मुखुण्डो भिरेर हिड्थे, कौशिकहरु दाँया पाखुरामा खरानीको त्रिपुण्ड बनाएर हिड्थे  आदि ।  खानका लागि माछा, गाइको मासु, कोदो केरा तथा केही मात्रमा धान, जौ आदिको प्रयोग गर्दथे । उखुको रसमा पकाएको खीर त्यतिबेलाको चौरासी ब्यन्जन नै थियो । खेतिपाति भर्खर शुरु भएको थियो । आधुनिक भन्नेहरु लाङ्घालको प्रयोग गर्दथे  । लाङ्घाल (हलो) लाई तान्न गोरुको प्रयोग शुरु भर्खरै गरिएको थियो भने त्यस अघि नारीहरु वा दासीहरुलाई हलो तान्न लगाइन्थ्यो । हलोमा ढुङ्गाको फालि हालिन्थ्यो । काट्नको लागि ढुङ्गा, बाँसको भाटा (घास काट्न हाडबाट बनेका हँसिया आदि) को प्रयोग गर्दथे । हरियुपियाको शहरको भग्नावशेषमा इटाको प्रयोग देखेर सुपर्ण नागजेय छक्कै परेको थियो । बाणको टुप्पोमा फलाम हाल्न थाल्ने विद्वान ठहरिन्थ्यो । आम जनताले जनावरको छाला तथा पात, रुखका बोक्रा आदि बेरेर हिड्थे । सुती बस्त्र सबैको औकातमा थिएन । त्यो समय सभ्यताको उदय हुन मात्र लागेको थियो । 

उपन्यासमा गालबको विद्वताको खुब वर्णन गरिएको छ । उसले कपालिक शङ्खग्रीब, काशीको राजप्रोहित प्रयुत तथा विदुषी वृद्धा काक्षिवति घोषा जस्ता विद्वान विदुषीहरुसँग शास्त्रार्थ गरी सबैलाई मुग्ध बनाएको थियो । शास्त्राभिमानी प्रयुत त शास्त्रार्थमा हारेर साँच्चै नै पलायन भएको थियो । उपन्यासमा गालब तथा माधवीलाई बैष्णवी धर्मका धरोहरका रुपमा उभ्याइएको छ । मांसहार नगर्ने परमपरा सायद यायावर समूह र गालबकै अनुसरण गरी त्यसै समयमा शुरु भएको हुनुपर्छ ।

उपन्यासलाई प्राचीन समयको जस्तै बनाउन उपन्यासकार दीक्षितले संस्कृतका तत्सम तथा ज्यादै औपचारिक र शिष्ट शब्दहरु प्रयोग गरेका छन् । निश्चय नै त्यतिबेला यस्तो भाषा बोलिदैनथ्यो ।  भिन्न स्थानमा भिन्न भाषा प्रयोग हुन्थ्यो । हुनसक्छ - ऋषि तथा राजाहरु संस्कृत बोल्थे । तथापि उपन्यासमा सार्थवाह, बैश्यहरु, केवटहरु, निषादहरु तथा विभिन्न जाति जनजाति र समुदायका मानिसहरुको उपस्थिति छ । त्यसो त कतिपय साहित्यिक रचनाहरुमा काल्पनिक वा विश्वमा हुँदे नभएको भाषाको प्रयोग पनि पाइन्छ । तथापि नेपाली भाषाको उपन्यासलाई त्यतिबेलाको घटनासँग लय मिलाउन उनले यस्तो प्रयोग गरेको देखिन्छ । शुरुमा प्रयुक्त अन्य भाषा तुर्क, फारसी लगायतका शब्द संशोधन गरिएको भनी दीक्षित स्वयंले भुमिकामा बताएका छन्  । भाषिक आधार संस्कृत वा  संस्कृत साहित्यमा रुचि हुनेहरुको लागि त यो उपनयास केही सुगम नै लाग्ला तर अरु नै नेपाली भाषीहरु जो त्यस मध्ये पर्दैनन् उनीहरुका लागि पनि पहिला करिब ४० पृष्ठ पढ्नसके बाँकीमा प्रासङ्गिक हिसाबले अर्थ खुल्नेछ भन्ने विश्वास छ । लेखकले गहकिला शब्दहरुको अर्थ समेत साथमा राखिदिएका छन् ।  शुद्धाशुद्धिमा प्रकाशकले ध्यान दिनु जरुरी थियो । आशा छ आगामी संस्करणमा त्यो हुनेछ ।

उपन्यासकी प्रमूख नायिका माधवी नै हो जो दासत्व र हिंसा बिरुद्धमा मोक्ष पाउन/ दिलाउन आँफै सयौ हिंसा सहन्छे । केशशुल्का बन्छे ।  माधवीसँग जोडिएका गालबको नयकत्व तथा विश्वामित्र तथा माधवीसँग सहबास गरेर चक्रवर्ति सम्राट जन्माउने राजाहरु, ती राज्यमा आफ्नो आफ्नो भुमिकामा रहने अमात्यहरु प्रोहितहरु, दास दासी र सेविकाहरु, गालबको अभिन्न बालसखा सुपर्ण गरुण तथा उसकी जाया जवा उपन्यासका अभिन्न अङ्गहरु हुन । उनीहरु सबैको आफ्नो आफ्नो भुमिका छ । कुनै पनि कमजोर भन्दा कमजोर भुमिका भएको पात्र नै किन नहोस ऊ बिना उपन्यास यो रुपमा आउदैनथ्यो ।

 सरयु नदी किनारमा रहेको बनायु जनपदकी प्रमूख प्रौढा निषाद माता चौलाको ममताले माधवीको आँचल भिजेको छ । उसले दिएको औषधीले गर्भाधारणमा सधै सहयोग मिल्छ । चौलाको आफ्नै कथा छ । उनको राज्यमा दास छैनन् । त्यसले माधवीलाई खुब रमाइलो लाग्छ । चौलाले गरेको अतिथि सत्कार, सुपर्णले गालबलाई गरेको अतिथि सत्कार, हरेक राजाहरुले गालब र माधवीलाई गरेको अतिथि सत्कारहरु आधुनिक युगमा समेत हस्पिटालिटी म्यानेज्मेन्टको विषय बन्न सक्छ ।

करारमा आधारित सुपर्ण र जवाको विवाह पछि प्रेमील र गृहस्थ बन्छ । गालबले माधवीलाई स्वयम्बरको बरमाल्य पहिर्याउन नसकेपनि उनीहरुको प्रेमील यात्रा जीवन पर्यन्त चलिरहन्छ । प्रेमको अटुटता र अमरतामा यो उपन्यास एउटा उदाहरण बनेको छ । माधवीले गालबको प्रेम प्राप्तिका निमित्त केशशुल्का भई गरेको सहयोग उपन्यासको केन्द्रीय विषय हो ।  माधवी बिरामी हुँदा गालबले मरिहत्ते गरेर अनेक उपाय र सुश्रुसा गर्छ । गालब बिरामी परेर अचेत भई आफ्नी आमाको नाम पुकार्दा माधवीले आफ्नै स्तन उसको ओठमा लगाइदिन्छे, अहोरात्र सेवा टहल गर्छे । यो भन्दा ठूलो प्रेम खोज्न अर्को कुन शास्त्र कुन गाथा खोज्न जानु पर्ला र ?

उपन्यासको हरेक जसो अध्यायमा ऋग्वेदका सुक्तहरु, स्तुतिहरु प्रयोग हुन्छन् । यज्ञ परम्परा हरेक राजा तथा ऋषिहरुको आफ्नै भैहाल्यो । माधवीको वारुणी भूमिकामा रहदाको लास्य नृत्य अलौकिक छ । खुसी मनाउन कौमुदी महोत्सब तथा मदन महोत्सब आयोजना गरिन्छन् । तिनीहरु नै बिस्तारै परमपरा बन्छन् । नाच गान, भजन कीर्तन तथा बाध्यहरुले उपन्यासलाई धेरै ठाउँमा सजाइएको छ । उपन्यासमा शुरु देखि अन्त्यसम्म नै यसपछि के होला भन्ने जिज्ञासाले डोहोर्याइरहन्छ र पढ्न सम्भव बनाइदिन्छ । साना ठूला कथा उपकथा तथा अनेकौं प्रसङ्गहरुको माल्यबनाएर पाठकवर्गमा लेखकले माल्यार्पण गरेका छन् । ती सबै कुराहरु यो एउटा आलेखमा समेट्न सम्भव छैन । तसर्थ मूल कृतिलाई एकपटक पढेमा यसले पाठकीय जीवनमा एउटा ठूलो अनुभव थप्नेछ भन्ने लेखकको अभिमत रहेको छ ।

No comments: