Thursday, March 10, 2022

धर्म प्रतिपादनः अत्याचार अन्त्यको लागि

 


-            जनार्दन कट्टेल

धर्मको शाब्दिक अर्थ धारणा भन्ने हुन्छ । यो ब्यक्ति तथा समुदायले असल आचरण धारण गर्ने विषयसँग सम्बन्धित छ ।  हरेक व्यक्तिले आफ्नो कर्तव्य पालन गर्ने सम्बन्धमा यसको प्रयोग हुने गर्दछ । धर्मकै माध्यबाट पुरै समाज  तथा राष्ट्रलाई डोहोर्याउने प्रचलन आज पर्यन्त पनि देख्न पाइन्छ । तथापि आधुनिकता र धर्मका प्रभावले मात्र समाजका नियमहरु व्यवस्थित गर्न नसकेको कुरा स्वीकार गरी आधुनिक राज्यहरुले विभिन्न ऐन नियम लगायतका आधुनिक कानून निर्माण गर्ने प्रचलन शुरु भएको हो । समान्यतया धर्मले एउटा जबरजस्त रुपमा सामाजिक मूल्य स्थापना गर्ने गर्दछ । जसरी समाज परिवर्तनशील छ, त्यसैगरी समाजिक मूल्यमा परिवर्तन भइरहदा पुरानो धर्मले स्थापित गरेका मूल्यको पुनरावलोकन हुन पुग्छ । यसरी मूल्यको पुनरावलोकन गरी नयाँ मूल्य स्थापना गराउनु चानचुने विषय होइन । हिन्दु धर्म ग्रन्थ श्रीमद्भागवत गीतामा यस्तो कार्य गर्ने व्यक्तिलाई ईश्वरीय अवतारको रुपमा अर्थ्याइएको छ । विश्वमा प्रचलित विभिन्न धर्ममा त्यस्ता महान पुरुष/ नायकलाई ईश्वरको दुत, रसुल, पुत्र आदि स्थान दिइएको छ ।

सामान्यतया कुनै पनि धर्ममा धर्मको सर्वोच्च शक्तिको रुपमा देवता वा देवताको वाणीलाई अङ्गिकार गरेको हुन्छ ।  उदाहरणको लागि हिन्दु धर्मले  ब्रह्मा, विष्णु महेश्वरलाई सर्वोच्च शक्तिको मूल कर्ताको रुपमा लिएको छ भने वेदलाई देववाणीको रुपमा लिएको छ । त्यसैगरी मुस्लिम धर्मले अल्लाह, ईशाई धर्मले पिता परमेश्वर (God) को सत्तालाई सर्वोच्च सत्ताको रुपमा स्वीकार गर्दछ ।

धर्मशास्त्रका (Theology) अनुसार समान्यतया धर्मका पाँचवटा महत्वपूर्ण खम्बा (Pillars) हुने गर्दछन् ।  पहिलो खम्बा सर्वोच्च सत्ता प्रतिको विश्वास हो । दोश्रो सर्वोच्च शक्तिसँग सम्बन्धित स्थानलाई मानिन्छ । उदाहरणको रुपमा स्वर्ग, जन्नत, देवलोक, पृथ्वीका धार्मिक स्थानहरुः मथुरा, वृन्दावन, कैलाश पर्वत, लुम्बिनी, कुशीनगर, मक्का, मदिना, यरुशेलम आदिलाई लिन सकिन्छ । तेस्रो खम्बा सर्वोच्च सत्ताको आदेशलाई मानिन्छ ।  यस्तो आदेशको उदाहरणको रुपमा वेद तथा गीताका बचनहरुलाई हिन्दुहरुले ईश्वरीय बचन र स्मृति परम्पराबाट ल्याई आधुनिक युगमा अभिलेखिकृत गरिएको हो भनी विश्वास गर्छन् । यहुदी, इशाई तथा मुस्लीमहरु आफ्ना पितामह प्रोफेट हजरत मुसाले अल्लाहका दश आदेशहरु (Ten Commandment of God) लाई  अल्लाह स्वयम्‌बाट प्राप्त गरी प्रचार प्रसार गरेका हुन भनी विश्वास गर्छन् । इशाई तथा मुस्लिम धर्महरु एकै धर्मको शीराबाट नवप्रवर्तन भएकोले गर्दा हजरत मुसा बाहेक उनीहरुले ईश्वरसँग प्रत्यक्ष बात मार्न सक्ने वा ईश्वरले नै पठाएको दुत वा रसुलको रुपमा मूख्य गरी क्रमशः जिससक्राइस्ट र  पैगम्बर मोहम्मद लाई मान्ने गर्छन् र उनीहरुले प्रप्त गरेको ईश्वरीय बचन नै धर्मग्रन्थको रुपमा स्वीकार गर्छन् (कुर–आन, वाइबल) ।   विश्वका सबै धर्ममा  कुनै न कुनै रुपमा ईश्वरीय सर्वोच्च सत्ताको आदेशलाई स्वीकार गरिएको  हुन्छ । र त्यसै प्रति विश्वासको घर बनाइएको हुन्छ, चाहे त्यो चीनको सिन्तो वा कन्फिसयन होस वा जापानको ताओ । यस पछि धर्मको चौथो खम्बा सर्वोच्च शक्ति/ सत्ता, त्यस सँग सम्बन्धित स्थान र आदेशप्रति  समर्पण र पाँचौ  त्यसप्रतिको स्तुति, उपाशना, पूजा वा आराधनालाई लिइन्छ ।  स्वभाविक रुपमा धार्मिक व्यक्तिहरु आफ्नो धर्मले स्वीकार गरेको सर्वोच्च सत्ता प्रतिको विश्वासको कारण सर्वोच्च सत्ता, सम्बन्धित स्थान र  सत्ताको आदेशको पालना प्रति कटिबद्ध रहन्छन् । र त्यस्तो सत्ताको उपाशनामा चाख लिन्छन् ।

  यस आलेखमा धर्मप्रवर्तनका विभिन्न सिद्धान्तहरु मध्ये मूल मानिएको एउटा मात्र सिद्धान्तको परिधिमा रहेर चर्चा गर्ने कोशिष गरिएको छ । त्यो हो –अत्याचार अन्त्यको सिद्धान्त । यसका लागि विश्वमा प्रमुख रुपमा मानिने हिन्दु, बौद्ध,  इशाई, मुस्लीम र यहुदी धर्मका एक एक वटा प्रसङ्गलाई उजागर गरी सङ्क्षेपमा चर्चा गर्ने कोशिष रहनेछ ।

भगवान कृष्ण आफू जन्मनु भन्दा अघि देखि नै प्रताडित थिए । सत्तारोहणको अति महत्वाकाङ्क्षाले उनको मामा कंस अन्धो भएको थियो । जनता तथा आफ्नै बाबुप्रति कंसको अन्यायले सीमा नाघेको थियो । यसै क्रममा उसले आफ्ना बाबु उग्रसेनलाई मथुराको कारागारमा कैद गरेको थियो । जतिबेला उसकी बहिनी देवकीको विवाह वासुदेबसँग हुदै थियो त्यसै दिन आकाशवाणीबाट देवकीको गर्भबाट जन्मिएको सन्तानबाट उसको हत्या हुने उद्घोष भयो । त्यस पछि कंस डरायो । उसले बहिनी ज्वाई दुबैलाई कैद गर्यो र जन्मेका सबै सन्तानहरुलाई क्रमशः मार्न थाल्यो । कंसमा दानवीय प्रवृत्ति विकसित भयो । छ वटा सन्तानको हत्या पछि सातौं सन्तान छोरी भएकोले मारिदैन । (विभिन्न ग्रन्थमा फरक फरक मत पाइन्छन् ।) आठौं सन्तानका रुपमा कृष्णले जन्म लिए । उनी चमत्कारिक रुपले बाँच्न सफल भए र गोकुलमा नन्द बाबा र यशोदा मैयाको घरमा हुर्किए । कंसको पाप र अत्याचारको अन्त्य गर्नैका लागि उनले कंसलाई मल्ल युद्धमा मारेको प्रसंग विभन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ । उनले कंश लगायत अत्यचारी तथा दुष्टहरुलाई मारेर एउटा जबरजस्त धार्मिक मूल्यको स्थापना गरेका छन् । कुरुवंशीय सत्ता लिप्सा र  महाभारतको युद्धमा उनलाई केन्द्रिय भूमिकामा देखाइएको भए तापनि त्यहाँ अत्याचार र पापको अन्त्य थोरै र राजनैतिक दर्शनको प्रसङ्ग बढी पाइन्छ । उनले आफ्नो वंश (आर्य?) को सत्ता प्राप्ति र रक्षाको लागि मगध नरेशसँग लडाई गरेका प्रसङ्गहरु पनि उल्लेखनीय छन् । हिन्दु धर्ममा आधारित साहित्यले चामत्कारिक व्यक्ति वा नायकलाई देवत्वकरण गर्दछ । र खलनायकलाई दानवीकरण । जे होस कृष्णले खडा गरेको धार्मिक मतको जग अन्याय, अत्याचार वा पापको अन्त्यमा नै रहेको देखिन्छ । उनले एउटा प्रसङ्गमा अर्जुनसँग जतिबेला धर्मको नाश भई पापले सीमा नाघ्छ त्यतिवेला आफू अवतरित हुने समेत बताएका छन् ।

हिन्दु धर्ममा जति पनि विष्णुका अन अन्य देवी आदिका अवतारहरु छन् सबैले अत्याचार र पापबाट धर्तीलाई मुक्त गर्न नै अवतार लिएको भनी धर्मग्रन्थहरुमा वर्णन गरिएको छ । हिन्दु बहुईश्वरबादी धर्म हो ।

अव एउटा प्रसँग यहुदीहरुको । यो समुदाय संसारमा सर्वाधिका विद्वान तर हेपिएका, दबाइएका समुदाय अन्तरगत पर्छन् । दोस्रो विश्वयुद्धताका जर्मन चन्सलर हिटलरले लाखौं यहुदी जनताहरुलाई ग्याँस च्यम्बरमा हाली हत्या गरेको इतिहास हाम्रो सामु छ । आधुनिक समाजमा यो भन्दा अर्को अन्याय एउटा जातिको लागि के हुन सक्ला ?  

इ. पु ८०० तिर इजिप्टका शासकले इजरायलका हिब्रु समुदायलाई सहर निर्माणको लागि दास बनाएर राखेको हुन्छ । एक दिन मिस्र राजा फिरौनको दरबारमा एउटा हल्ला पिटाइन्छ । हिब्रु समुदायमा अल्लाहको दुतको रुपमा एक बालकको जन्म भएको छ । एक दिन उसले हिब्रुहरुलाई दासताबाट मुक्त गर्नेछ भनी भनिन्छ ।  त्यसपछि हिब्रुहरुका सबै बच्चाहरु आमा बाबुबाट खोस्दै  मीस्र सेनाद्वारा मारिन थालियो । इजिप्टका क्रुर शासकहरु फिरौनहरुको पञ्जाबाट बचाउन एउटी हिब्रु आमाले आफ्नो बच्चा नाइल नदीमा कोक्रोमा हालेर बगाइदिन्छन् । त्यो बच्चा दरबारकै रानी र राजकुमारीले भेटेर पालन पोषण गर्छन । उसको नाम मुसा (धर्मको आदेश) राखिन्छ । नयाँ सहर निर्माणका लगि हिब्रु दासहरुलाई न्युनतम अन्न समेत नदिई काममा लगाउदा एक कामदारको मृत्यू हुन्छ । यसै प्रसङ्गमा मिस्र सिपाहीसँग विवाद हुँदा मुसाको हातबाट उक्त सिपाही मारिन पुग्छ । त्यस पछि उनी भागेर मरुभूमी पारी (मिदियान) जान्छन् । त्यहाँ उनले सफोरा नामक स्त्रीसँग घरजम गरेर बस्छन् । एक दिन आफ्ना छोराहरुका साथ भेडा चराउन जाँदा उनले अल्लाहको वाणी (Ten Commandments)  सुन्छन् । त्यसपछि उनलाई चामत्कारिक शक्ति प्राप्त हुन्छ । अल्लाहको निर्देशन अनुरुप मिस्र दरबारमा हुर्किएको त्यही मुसाले अन्त्यमा फिरौनहरुको क्रुर पञ्जाबाट इजरायली समुदायलाई बचाउछन् । त्यही अत्याचारको अन्त्य गर्ने क्रममा यहुदी धर्म प्रवर्तन गरेको भन्ने प्रसङ्ग बाइबलको पुरानो नियम, कुरान तथा यहुदीहरुको ग्रन्थ तनखमा उल्लेख गरिएको छ ।

बाइबलले मुसा हुँदै जिसस सम्मको कथालाई आफ्नो पुरानो नियममा समेटेको छ । वास्तवमा जिसस क्राइस्टले नयाँ धर्म स्थापना गर्न खोजेका थिएनन् ।  त्यतिबेला इजरायलमा यहुदीहरुको सत्ता थियो । यहुदीहरुको धार्मिक मूल्यहरु आधुनिक समाजमा नमिल्दा देखिएका थिए । यहुदी धर्मगुरुहरुको अन्याय आफ्नै भूमीमा बढ्दो थियो । समाजका मूल्यहरु परिवर्तित भएसँगै यहुदी धर्मका कतिपय बिचारहरुलाई आधुनिकीकरण गर्न, परिस्कृत गर्न र अझ लोकप्रिय बनाई संसारभर फैलाउने उनको अभिलाषा थियो । पछि घटनाक्रमले अर्कै मोड लियो । यहुदी धर्म गुरुहरुले उनी र उनका अनुयायीहरुमाथि नै अत्याचार गर्न थाले । अत्याचारले सीमा नाघ्यो । अन्त्यमा यहुदी धर्मगुरु तथा इजरायलका शासकहरुले जिसस क्राइष्टलाई क्रसमा झुण्ड्याए । यो घटनालाई पनि जिससले सकारात्मक व्याख्या गरिदिए । उनले अरुले गरेको पाप मेरो रगतले पखाल्नेछ भनेर घोषणा गरिदिए । मानिस जन्मजात पापी छ त्यसको फल मृत्यू हो । मानिसहरुको पापबाट मुक्तिका लागि मेरो बलिदान सहायक हुनेछ भनी उनले पिता परमेश्वरसँग प्रार्थना गरे । उनको मृत्यु पछि उनका अनुयायीहरुले उनको दर्शन र मतलाई व्यापक प्रचार प्रसार गरे ।  त्यो धार्मिक मत अति लोकप्रिय बन्यो । आज पनि विश्वको एक तिहाइ जनसङ्ख्या क्रिस्चियानिटीमा विश्वास गर्छ । यो हिसाबले पनि भन्न सकिन्छ कि ईशाइ धर्म पनि एउटा अत्याचारको अन्त्यका लागि भएको थियो ।

विश्वको दोस्रो धेरै जनसंख्याले मान्ने धर्म मुस्लिम हो । यो धर्मलाई विश्वको कान्छो धर्मका रुपमा लिने गरिन्छ ।  निकै नै छिटो प्रचार र आफ्नो साहित्यमा समृद्ध भएको यसको प्रतिपादन पैगम्बर मोहम्मदले गरेको मानिन्छ । मुस्लिम समर्थकहरु पैगम्बरलाई अल्लाहको रसुलको रुपमा मान्छन् ।  मुस्लीम धर्म यहुदी धर्मसँग मिल्दो जुल्दो छ । तथापी यहुदी धर्म गुरुहरुले जिसस क्राइष्टको बिरुद्ध गरेको अत्याचार लगायतका विभिन्न विषयलाई लिएर यहुदीसँग मुस्लीमको ठूलो मतान्तर देखिन्छ । दक्षिण पुर्वी युरोप तथा मध्य पुर्वमा विकसित यी तिनवटै धर्मको शुरुवात एकै ठाउँबाट भए पनि स्थान र कालको अन्तर तथा आफ्नै सम्प्रदायको अत्याचारको अन्त्य गर्नका लागि  धर्म नायकहरुद्वारा मौलिक रुपमा नयाँ धर्मको रुपमा प्रवर्तन गरेको पाउँन सकिन्छ  

ईशाइ धर्म भित्रै पनि चर्चका पादरीहरुको अत्याचारको बिरुद्धमा बनेको प्रोटेस्टेन्ट समुदाय होस वा आर्य धर्मको ब्राह्मणबादी बिचारसँग असहमतिको आलोकमा प्रवर्तित जैन तथा बौद्ध धर्म हुन सबै नै अन्याय र अत्याचारको अन्त्यका लागि प्रवर्तित धर्म हुन । यद्यपि बुद्ध धर्म अनिश्वरवादी धर्म हो । यसले इश्वरको अस्तित्वलाई अस्वीकार गर्दछ ।

विश्वमा दुई किसिमका मानिसहरु पाइन्छन् । एक आस्तिक र अर्को नास्तिक । उत्तर युरोप, रसिया, मङ्गोलिया, चीन,  उत्तर कोरिया लगायतका मूलुकमा नास्तिकको संख्या बढी छ भने दक्षिण युरोप, दक्षिण एसिया,  मध्यपुर्व तथा अमेरिकी महादेशमा आस्तिकहरुको सङ्ख्या बढी छ । ईश्वर र धर्ममा आस्था राख्नेहरुका लागि धर्म प्रतिपादन गर्ने ब्यक्ति, स्थान र प्रतिपादित ग्रन्थहरु ज्यादै महत्वपूर्ण र पवित्र रहेको हुन्छ । जे होस समग्रमा विश्वका मूख्य रुपमा मानिने सबै जसो धर्मलाई नजिकबाट नियाल्दा कुनै  न कुनै रुपमा विद्यमान रहेको अन्याय, अत्याचार र पापको अन्त्य गरी धार्मिकता, हार्दिकता, समृद्धि स्थापना तथा सर्वस्वीकार्य समाजिक मूल्य स्थापना गर्नु रहेको हुन्छ भनेर निश्कर्षमा पुग्छ सकिन्छ ।

(नोटः यो लेख धर्मशास्त्र विषयका विभिन्न युट्युब भिडियोहरु, हिन्दु धर्मका विभिन्न ग्रन्थहरु, बाइबलको पुरानो नियम तथा मजिदे कुर-आनको  केही प्रकाशनमा आधारित रहेर गरिएको अध्ययनपश्चात लेखिएको हो ।)

प्रतिक्रियाका लागिः janardan.kattel@gmail.com

No comments: