Saturday, May 9, 2020

कविता: पुकार यो भूमीको - झ्याउरे छन्द

कविता: पुकार यो भूमीको - झ्याउरे छन्द

*****************************************

कालीको शीर एक्लो भै रून्छ लिपुको त्यो लेक ,
रूदैछ भूमि नबन तिमी अबुझ अदेख ।।
देशका भक्त, जागेर उठ लिएर अठोट

कसैले किन यो भूमीलाई पुर्यायो कि चोट ?


पछाडिबाट धस्दैछ दाह्रा, शत्रुले आएर
भाइ हु तिम्रो भनेर खुबै बखान लाएर
जोगाउ दाजु, जोगाउ भाइ, यो भूमी तिम्रै हो
पुकार्छ माटो जोगाउनु छ कर्तब्य हाम्रै हो


मिचियो देश, चिरियो छाती पीडा भो मनमा
नेताले बोले नेताकै बोली म परें रनमा
कस्तो हो हाम्रो यो स्वाभिमान कसरी जोगाउ ?
सीमाको खम्बा ताकत शक्ति रक्षार्थ खटाउ


जन्मेनन् क्याहो अमरसिंह, यो देश भित्रमा ?
कसरी छुट्यो आमाको तस्बीर यो मानचित्रमा ?
कसरी भन्छौ यो देश मेरो, कर्तब्य नसम्झी ?
चुमिन्छ कहाँ हिमालचुली गन्तब्य नसम्झी ??


हिमाल, पहाड तराई हाम्रो उच्च छ गरीमा
भूस्वर्ग यस्तो भेटिन्छ कहाँ यो विश्व भरिमा ??
हीमाली टोपी लाएर हाँस्दा आँखैमा सजाउने
पियारो देश नेपाली माया मनैमा बसाउने ।


आमाको छाति बैरीको नङ्ग्रा फैलिन नदेउ
हँसिलो प्यारो आमाको मुहार मैलिन नदेउ
बिन्ति छ जुटौ, समय छदै कदम बढाउ
यो देशलाई खाँचो छ हाम्रो, कदम बढाउ ।।

*****************************************
कनि कुथी गरेको मिति २०७७।०१।२७

1 comment:

देबेन्द्र सुबेदी said...

पछिल्लाे समय छन्दकाे प्रयाेगमा न्युन प्रयाेग गरिएकाे विधा हाे छन्द याे विधा झन्डै वेछन्द जस्ताे लाग्छ मलाइ , यस्काे वाचन शैलिकाे कम प्रयाेगले हाेला पछिल्लाे प्लसटु पुस्ताका विद्यार्थिले निक्कै अन्ट सन्ट मान्ने गरेकाे मेराे अुनभव छ । तर याे जति सजिलाे छन्द मलाइ अरू लाग्दैन । कविताका सम्बन्धमा अदेख,पियाराे जस्ता शब्दहरूकाे प्रयाेगले पाठकलाइ थाेरै अफ्टेराे पारिदिन सक्छ । कविता अब्बल छ सरः जन्मेनन् क्याहो अमरसिंह, यो देश भित्रमा ?
कसरी छुट्यो आमाको तस्बीर यो मानचित्रमा ?
कसरी भन्छौ यो देश मेरो, कर्तब्य नसम्झी ?
चुमिन्छ कहाँ हिमालचुली गन्तब्य नसम्झी ??