Thursday, January 26, 2017

विश्वविद्यालय की अनुभव ?


हिउँदको एक दिन म बेंसीको गोठमा एक्लै खेल्दै थिएँ । किनकी मलाई गोठ रुँगेर बस्न अह्राइएको थियो । गोठ देखि तल मभन्दा करीब चार पाँच वर्ष जेठा दाजु दिदीहरु भैसी चराउदै भैसी चरनमै कुन्नी के हो खेल्दै थिए । त्यो दृष्य गोठबाट प्रष्ट देखिन्थ्यो । स्वाभाविक रुपमा उनीहरुको खेलले मलाई आकर्षण गरिहाल्यो । म खेतका अग्ला अग्ला कान्ला नाघ्दै त्यस खेलमा समाहित हुने उद्धेश्यले उधै उँधो दौडिएँ । अन्त्यमा म उनीहरुले खेल्दै गरेको खेलमा सामेल भँए । खेल थियो — खेतका कान्लामा दौडिएर पर सम्म अडिएर जानु पर्ने, दौडदा मात्र जिउ अडिन्थ्यो । दौडिदै को पर पुग्ने भनेर ‘कान्लाको खेल’ हाम्रो चल्न थाल्यो  । वास्तवमै रमाइलो थियो त्यो खेल – बाख्राको पाठो जस्तो एका तिरबाट बुरुक्क उफ्रियो अर्को तिर पुग्यो । कति मजा ! 
केही बेरमा गाई भंैसीहरु केही पर पुगेछन् क्यारे वा बाली खान गएकाले पनि हुन सक्छ, मेरा अग्रजहरु खेल छोडेर बस्तु धपाउन कुदे । मलाई कुनै कुराको मतलब थिएन । किनकी गाई बस्तु हेर्ने काम मेरो थिएन ।

मैले खेललाई निरन्तरता दिइरहें ।  खेल्ने क्रमको अन्त्यमा नै भनौ, किनकी त्यसपछि पुनः उक्त खेल खेलिएन, म कन्लामा अडिन नसकेर खेतका गह्रामा लडें । आफ्नै शरीरले मेरो वाँया हात थिच्यो र भाँचियो ।  त्यो क्षण  यस्तो थियो, हात भाँचिनु र हात पनि भाँचिने चिज रहेछ भनेर अन्तरज्ञान हुनु सँगसँगै भयो । मलाई र्दुघटाना हुने सम्भावित ठाँउ अवस्था र खेल बारे कुनै ज्ञान रहेनछ त्यतिखेर,  भन्नु पर्छ । हात भाँचिए पछिको मेरो बालसुलभ रुवाइसँगै निस्केको पहिलो शब्द नै मेरो ज्ञानसँग सम्बन्धित थियो – हात भाँचियो ।  उक्त शब्द मैले प्रयोग समेत गरेको वा सुनेको थिइन होला । मलाई लाग्छ मैले नयाँ घटनासँगै नयाँ ज्ञान प्राप्त गरें, नयाँ शब्दको प्रयोग गरें । त्यति बेला म छ वर्षको थिएँ । २०४३ को माघ महिनाको घटना हो यो, किनकी फागुनदेखि हाम्रो कक्षा २ मा भर्ना हुने गरी कक्षा १ को नतिजा आइसकेको थियो ।
त्यसपछि हातको उपचारको क्रम शुरु भयो । बाले गम्छाले मेरो हात काँधमा झुण्ड्याइदिनुभो ।  घर गएपछि आमाले चम्सुर पिसेर त्यसको लेप भाँचिएको ठाँउमा लगाइदिनुभो । र तातो गाईको दुध खान दिनु भयो । दुधको स्वाद सँधैको जस्तो थिएन । अलि नमीठो  बाक्लो थियो । पछिमात्र थाहा भयो त्यसमा त चिप्ले किराको फुल घोलिएको रहेछ ।

त्यतिखेर झापाको शनिश्चरे बजारमा शंकर डाक्टर बस्थे । उनी नामुद डाक्टर थिए । भोलिपल्ट बा र मामाको सल्लाह बमोजिम मलाई शंकर डाक्टरकोमा उपचारार्थ लैजाने निर्णय गरिएछ । शनिश्चरे जान गोलाखर्कबाट गाडि चढ्नु पथ्र्यो । त्यहासम्म माइली दिदीले डोकामा राखेर पुरयाइदिनुभो । त्यसपछि गाडि चढेर विर्तामोड तर्फ लाग्यांै । बास बस्न साइली सानिमाको घर सुरुंगा  गएको अलि अलि सम्झन्छु । त्यहाँ मैले भात नखाँदा “सानिमा भनेको त आमा  जस्तै हो, आमाले दिएको भात नखाने हो र ? भात खानु पर्छ ।” भन्दै बाले फकाएको स्मृतिको पानामा धमिलो रुपमा बाँकी नै छ ।

विर्तामोडमा मलाई नौलो के लाग्यो भने चुलेसी आकारको धाराबाट पानी आउदो रहेछ ।  पछि थाहा भयो — चुलेसी आकारको धारा भनेको त ट्युब वेल पो रहेछ । अर्को कुरा हाम्रो पहाडमा गाडि कुद्दामात्र आवाज आउथ्यो  तर त्यहाँ भने रोक्दा पनि आवाज आयो यसको भेद मैले अझै सम्म बुझेको छैन – या त त्यहाँ अरु गाडिहरु थिए या त्यसको इन्जिन बन्द गरिएको थिएन । जे होस पहाडबाट मधेश झर्दा मलाई विभिन्न नौला नौला अनुभवले गंगदास बनायो । 

शंकर डाक्टर कै सल्लाह बमोजिम विर्तामोडमा एक्स रे गरेर  हेरियो । कुहिनोको जोर्नीमा एउटा हाड खुस्किएको र अर्को अलिकति भाँचिएको रहेछ ।  डाक्टरले राम्रोसँग ब्याण्डेज गरिदिए । 


एक प्रकारले उपचारको क्रम सकिएको थियो । त्यसपछि मामा कता जानु भयो मैले थाहा पाइन । बाले मलाई लिएर इलाम आउनुभयो ।  

मलाई किन हो, जिल्ला अस्पताल इलाममा पुनः भर्ना गरियो । त्यसबेला इलाम अस्पतालको उपचार व्यवस्था कस्तो थियो, गुणस्तरीय थियो वा थिएन त्यो आफ्नो ठाउँमा छ तर शंकर डाक्टरको उपचारमा के कैफियत भएर हो वा किन हो मलाई पुनः भर्ना गरियो । केही दिन कुर्दा पनि डाक्टर नआएको भएर वा पालो नआएर हो फेरि इलाम अस्पतालबाट निकालेर नजिकैको माइ मेडिकल हलमा  मलाई लगियो ।  त्यहाँका डाक्टर (?) ले  पुरानो ब्याण्डेज खोलेर नयाँ ब्याण्डेज लगाइदियो । यसो गर्दा मेरो दुख्न छोडेको हात साह्रै नमीठो गरी दुख्यो । अत्यन्त पीडा भएर धेरै बेरसम्म डाँको छोडेर रोएको स्मृति अझै ताजै छ । 
मेडिकलको मान्छेले ब्याण्डेज खोल्न यही ल्याउनु भनेको थियो । खोलेर एक्सरे गरेर हेर्नु पर्छ भनेको थियो । तर मेरो हात घरमै फुकाइयो । यसको मूख्य कारण ब्याण्डेज भित्र जुम्रा परेर र अचाक्ली चिलाएर थियो ।  हात खोलेर हेर्दा मेरो हात बांगो भएर जोडिएको रहेछ । त्यो देखेर मेरा अविभावकको चेतनाले चुँ चुँ सविाय केही गर्न जानेन, सकेन । अब तोरीको तेलले सेकेर नै सीधा पर्नु पर्छ भनेर निश्कर्ष निकाली उपचारको सम्पूर्ण क्रम सिध्याइयो । बरु ब्याण्डेजको कपडा देखि हाम्रो गोठको गाई यति धेरै तर्सियो  कि उसले  उसले त्यो बाटे कहिल्यै हिड्न मानेन । सधै मकै बारीबाट हिड्थ्यो । 

मेरो विचारमा शंकर डाक्टरले गरेको ब्याण्डेज फुकाएर जोडिएको हातलाई फेरि भाँचिकन अर्को ब्याण्डेज गर्नाले मेरो हात बांगो जोडिएको हो । त्यहाँनेर मेरा अविभावक कसरी चुके ? यो प्रश्न मेरो मनमा रही रहन्छ । मेरो हात अझै उस्तै छ । मेडिकल साइन्सको युगमा  यसलाई पहिले नै र अझै पनि अपरेशन गरी सोझो बनाउन सकिन्छ । कति डाक्टरले उपचार गर्न सल्लाह पनि दिए तर यसलाई एउटा ज्ञानआर्जनको शुरुवाती माध्यम मानेर जस्ताको तस्तै राखिनु पर्छ भन्ने नै मेरो ठहर छ । 

मेरो हात भाचिनु साँच्चि नै ज्ञान आर्जनको माध्यम हो । थप एउटा प्रसंगबाट यसको पुष्टि गर्नै पर्छ । हाम्रो साजबोटे भन्ने खेत थियो । बाले २०४२ सालमा किनेर २०५३ सालमा बेच्नु भयो ।  एक दिन यो खेतको धान रुङ्न खलामा बस्दा मैले एकजना च्याखु नाम गरेकी बुढी लिम्बूनीलाई (जो डुम्की नाम गरेकी आइमाइकी आमा थिई ।) “धान चोर्न आएकी बुढी” भनेर हप्काएको थिएँ । यसो किन गरे भने मलाई खलामा बस्न मन लाग्दैनथ्यो । आमाले “धान चोर्न आउनेलाई हप्काउनु” भनेर फकाएर त्यहाँ राख्नु भएको थियो । वास्तवमा त्यहाँ धान चोर्न मान्छे आउदैन रहेछन् । गाई बाख्राले फुकेर छर्छन वा परालको भारी फुकाउछन भनेर रुङ्नु पर्ने रहेछ । मेरो केटाकेटीपन त हो – मैले त्यो बुढीलाई थर्काइहालें ।  त्यसपछि उसले सधै “तँलाई नकटी छोडदिन” भनेर खुर्पा लिएर खेदिहाली । पछि सम्म पनि उसले मलाई देख्नै हुदैनथ्यो ।  खुर्पा  उचालेर काटुला झैं गर्थी । म डरले सधैं कुलेलम ठोक्थें । यो हात भाँचिनु भन्दा अघिको प्रसंग थियो ।


मेरो हातमा ब्याण्डज भएका बेला उसले फेरि पनि मलाई भेटी । पछाडीबाट देखेर मलाई उसले फेरि पनि काट्न झम्टिहाली । म डरले कालो नीलो भएँ र रुन थाले । उसले मेरो हातमा व्याण्डेज  भएको देखे पछि आफ्नो व्यवहार तुरुन्त  परिवर्तन गरिहाली ।  भनी – “ ए, हात भाँचिएको नानी पो रहेछ, कहाँ, मैले त जिस्काएको पो त, म कहाँ साँचै नै काट्छु त !, म त तिम्रो आमा जस्तै हुँ । नडराऊ , आमाले कतै छोरा छोरी काट्छन् !” यस पछि उसले आफ्नो माया यसरी दशाँई कि  च्याखुमा त स्नेह रहेछ भन्ने अनुभुत भयो । त्यो बुढीमा त आमामा हुनु पर्ने गुण पो रहेछ भन्ने सुझ्यो । त्यही घटनाले  गर्दा मलाई बृद्धबृद्धाहरु त मायाका खानी नै हुदा रहेछन् । यिनीहरुले केटाकेटीलाई गाली गरेको पनि जिस्क्याएको मात्रै हो । यिनीहरु त राम्रो मनका पो हुदारहेछन् भन्ने  भनुभव भयो । शायदै मैले बीसौ वर्षे स्कूल र क्याम्पसको अध्ययन बाट यति ठूलो नैतिकता र आदर्श सिकेकौ छैन होला । 

No comments: