Saturday, February 6, 2021

गीतः फेरिपनि साँझ पर्दा...



फेरि पनि साँझ पर्दा उसै गरी आउँछ याद
बिर्सिएर बोलाउछु नभए' नि तिमी साथ ।।

साथै थियौ - जीवन थियो, हराभरा बाग थियो ।
छोड्यौ जीवन बगर भयो, डढेलो भो खाग भयो ।।
दिन बित्छ जसो तसो बित्ला र खै कालो रात
फेरि पनि साँझ पर्दा उसै गरी आउँछ याद ।।

निष्ठुर त्यो माया तिम्रो माया हो कि आफ्नै छाँया
नभए'नि लागिरह्यो तिमी नै छौ दायाँबायाँ
कस्तो रित्तो भयो हेर मायालुको न्यानो काख
फेरि पनि साँझ पर्दा उसै गरी आउँछ याद ।।

दुई मुटु एकै धड्कन तिम्रो मेरो माया प्रिति
बाचा मीठो गरेकै हो नछुटिने एकै रति
बैरी आँखा लाग्यो प्यारा (प्यारी) दैब केले छोप्ला लाज
फेरि पनि साँझ पर्दा उसै गरी आउँछ याद
बिर्सिएर बोलाउछु नभए' नि तिमी साथ ।। 

No comments: