भुजङ्गप्रयात छन्दमा एक प्रयास
ISS ISS ISS ISS
बनी एक खम्बा म राष्ट्रियताको
म पाऊँ उचाल्न ध्वजा एकताको
अँगालू यो राष्ट्र यही पाखुरामा
उमारेर मोती यहीँका गरामा ॥१॥
म माटो यहाँको लिई एक हात
उठाएर माथी गरी उच्च माथ
ध्वजाको सुरक्षा गरूँ कर्म साथ
यिनै पाइलाले हिँडी साथ साथ ॥२॥
सबै जात धर्म, जति जे छ हाम्रो
यिनै सम्पदाको छ सौन्दर्य राम्रो
सयौं पुष्प साथS सजेको यो वाग
छ विश्वमा यौटा अभेद्य र साज ॥३॥
म जागूँ बिहानै हिमाली धरामा
म खेलूँ धराका कुना कन्दरामा
म राष्ट्रियताको जपूँ एक मन्त्र
फलाऊँ फुलाऊँ यहाँ लोकतन्त्र ॥४॥
नआऊ बिथोल्न सहिष्णु समाज
अंगालेर बैरी, पचाएर लाज
कही चोट देलान् रिपुका खुडाले
म रोक्दै बढूला यिनै पाइलाले ॥५॥