Monday, May 4, 2026

नीतिः बिदुर नीति

 बिदुर नीतिः  भाग एक

 

पाण्डवहरुको ११ वर्ष बनबास र १ वर्ष गुप्तवास पूरा भइसकेको थियो । पाण्डवहरु विराट राजको दरबारमा गुप्त बासमा नै बस्दै थिए। पूर्व शर्तबमोजिम राज्यको आफ्नो भाग/अंश माग गर्दा दुर्योधनले स्पष्ट रुपमा इन्कार गर्यो। सबै परिवारजन कसरी लडाइँ रोक्न सकिएला भन्नेबारे सल्लाह गर्न थाले। राजा द्रुपदले युधिष्ठिरको तर्फबाट राज्य दिनुहोस् भनी आफ्ना पुरोहितलाई धृतराष्ट्रकहाँ दूत बनाई पठाए तर कौरवहरूले मानेनन्। सञ्जयले पनि प्रयास गरे तर कुनै काम लागेन । युद्ध हुने नै लक्षणहरू देखापर्न थाले। यसै बेला राजा धृतराष्ट्रले विदुरको राय जान्न खोजे । यसै प्रसङ्गमा धृतराष्ट्रले मागेको सल्लाह बमोजिम एक प्रसङ्गमा पण्डित वा ज्ञानी जनको लक्षण के हुन्छ भनी विदुरले व्यक्त गरेको विचारलाई यहाँ प्रस्तुत गरिएको छः

महाभारत उद्योग पर्वको ३३ औं अध्याय (२० औं श्लोकदेखि ४५औं श्लोकसम्म)

 

किं पण्डितोच्यते ?

आत्मज्ञानं समारम्भस्तितिक्षा धर्मनित्यता

यमार्थान्नापकर्षन्ति स वै पण्डित उच्यते ॥२०॥

 

निषेवते प्रशस्तानि निन्दितानी न सेवते

अनास्तिक श्रद्दधान एतत् पण्डित  लक्षणम् ॥२१॥

 

क्रोधो हर्षश्च दर्पश्च ‍र्‍हीः स्तम्भो मान्यमानिता

यमार्थान्नापकर्षन्ति स वै पण्डित उच्यते ॥२२॥

 

यस्य कृत्यं न जानन्ति  मन्त्रं वा मन्त्रितं परे

कृतमेवास्य जानन्ति  स वै पण्डित उच्यते ॥२३॥

 

यस्य कृत्यं न विघ्नन्ति शीतमुष्ण भयं रतिः

समृद्धिरसमृद्धिर्वा स वै पण्डित उच्यते ॥२४॥

 

यस्य स्सारिणी प्रज्ञा  धर्मर्थावनुवृतते

कावदर्थ घृणीते यः स वै पण्डित उच्यते ॥२५॥

 

यथाशक्ति चिकिर्षन्ति पथाशक्ति च कुर्वते  

नकिंचिदवमन्यन्ते नराः पण्डित बुद्धयः ॥२६॥

 

क्षिप्रं  विजानति चिरंशृणोति

विज्ञायचार्थ भजते न कामान्

नासम्पृष्टोव्युप युङ्क्ते  परार्थे

तत् प्रज्ञानं प्रथमं पण्डितस्य ॥ २७॥

 

नाप्राप्यमभिवाञ्छन्ति नष्टं न्च्छन्ति शोचितुम् ॥

आपत्सु च न मुह्यन्ति  नरा पण्डित बुद्धयः ॥२८॥

 

निश्चित्य यः प्रक्रमते नान्तवर्सति कर्मण ॥

अवन्ध्यकालो वश्यात्मा स वै पण्डित उच्यते ॥२९॥

 

आर्य कर्वाणि रज्यन्ते भूतिकर्माणि कुर्वते ॥

हितं च नाभ्य सूयन्ति पण्डिता भरतर्षभ ॥ ३०॥

 

न हृस्यत् आत्मसम्माने नावमानेन तप्यते

नाङ्गो हृद इवाक्ष्योभ्यो यः स पण्डित उच्यते  ॥३१॥

 

तत्त्वज्ञः सर्वभूतानां योगज्ञः सर्वकर्मणाम् ॥

उपायज्ञो मनुष्याणां नरः पण्डित उच्यते ॥३२॥

 

प्रवृत्तवाक्-चित्रकथ ऊहवान् प्रतिभानवान् ॥

आशु ग्रन्थस्य वक्त च यः स पण्डित उच्यते ॥३३॥

 

श्रुतं प्रज्ञानुगं यस्य प्रज्ञा चैव श्रुतानुगा ॥

असम्भिन्नार्यमर्यादः पण्डिताख्यां नभेत सः ॥३४॥

 

मुर्खस्य लक्षणम् ?

अश्रुतश्च समुन्नद्धो दरिद्रश्च महामनाः ॥

अर्थाश्चाकर्मणः प्रेप्सुर्मूढ इत्युच्यते बुधैः ॥३५॥

 

स्वमर्थ यः परित्यज्य परार्थमनुतिष्ठतिः ॥

मिथ्या चरित मित्रायें यश्च मूढः स उच्यते ॥३६॥

 

अकामान् कामयति यः कामयानान् परित्यजेत् ॥

बलवन्तं च यो द्वेष्टि तमाहुर्मूढचेतसम् ॥३७॥

 

अमित्रं कुरुते मित्रं मित्रं द्वेष्टि हिनस्ति च ।।

कर्म चारभते दुष्टं तमाहुर्मूढचेतसम् ॥३८॥

 

संसारयति कृत्यानि सर्वत्र विचिकित्सते ॥

चिरं करोति क्षिप्रायें स मूढो भरतर्षभ ॥ ३९॥

 

श्राद्धं पितृभ्यो न ददाति दैवतानि न चार्चति ॥

सुहृन्मित्रं न लभते तमाहुर्मूढचेतसम् ॥४०॥

 

अनाहूतः प्रविशति अपृष्टो बहु भाषते ॥

अविश्वस्ते विश्वसिति मूढचेता नराधमः ॥४१॥

 

परं क्षिपति दोषेण वर्तमानः स्वयं तथा ॥

यश्च क्रुद्धत्यनीशानः स च मूढतमो नरः ॥४२॥

 

आत्मनो बलमज्ञाय, धर्मार्थपरिवर्णितम् ।।॥

अलभ्यमिच्छन् नैष्कर्ष्यान्मूढबुद्धिरिहोच्यते ॥४३॥

 

अशिष्यं शास्ति यो राजन् यश्च शून्यमुपासते ।।

कदर्य भजते यश्च तमाहुर्मूढचेतसम् ॥४४॥

 

अर्थ महान्तमासाद्य विद्यामैश्वयन्मेव वा ॥

विचरत्यसमुन्नद्धो यः स पण्डित उच्यते ॥४५॥

 

भावार्थ

पण्डित कसलाई मान्ने ?

२०. आफ्‌नो वास्तविक अवस्थाको ज्ञान, उद्योग, दुःख सहने शक्ति तथा धार्मिकपन - यी गुणहरू जुन मान्छेमा छन् ऊ नै पण्डित (असल मान्छे) कहिन्छ ।

२१. नराम्रो कामबाट टाढा रहँदै राम्रा कामहरू जसले गर्छ अनि जो मान्छे आस्तिक छ र ईश्वरमा श्रद्धा राख्दछ यिनै सद्‌गुणले उसलाई पण्डित कहलाउँछ ।

२२.  रिस, खुसी, घमण्ड, लाज, उद्दण्डता भएको र आफूलाई नै सर्वमान्य सम्झने इत्यादि भावनाले जो मानिस प्रभावित छैन उसैलाई पण्डित भनिन्छ ।

२३.  जुन मानिसको भविश्यमा गरिने कार्य, गर्न लायक भएको काम, अरुले दिएको सल्लाह एवम्  आफूले पहिले गर्ने भन्ने ठहर्‍याएको काम पनि पूर्ण भइसकेपछि मात्र अरु व्यक्तिले थाहा पाउँछन् त्यस्तो मानिस नै पण्डित कहलाउँछ ।

२४.  जुन व्यक्तिले गरेको कामलाई चीसो तातो डर प्रेम बासना वैभव दीनता आदिले बाधा पुर्‍याउन सक्दैनन त्यस्तो व्यक्तिलाई पण्डित भनिन्छ ।

२६.  जसले आफ्नो गच्छे  र क्षमता अनुसार काम गर्न जान्दछन् अनि सोही अनुसार काम पनि गर्छन्  अनि जसले अरु कसैको अपमान पनि गर्दैनन् तीनै मानिसहरुलाई ज्ञानी भनिन्छ ।

२७. विद्वान् पुरुषले कुनै पनि विषयलाई धेरैबेरसम्म सुनिरहन्छ। अनि छिटै नै अवगत गर्दछ अर्थात बुझ्दछ/सम्झन्छ पनि। सम्झिएपछि आफनो कर्तव्य बुद्धिद्वारा पुरुषार्थतर्फ प्रवृत्त रहन्छ, आफ्नो इच्छाले होइन सोध खोजखबर अरूले नगरेसम्म अन्य जनको बारेमा व्यर्थै पनि कुराकानी गर्दैनन्। यिनै स्वभावहरूले पण्डितको परिचय दिन्छन् ।

२८.  जसले दुर्लभ अप्राप्य वस्तुलाई पाउँछु भन्ने लालसा (इच्छा) राख्दैनन् । हराइसकेको र नोक्सान भईसकेको वस्तुबारे शोक वा पीर गर्न पनि रुचाउँदैनन्, आपत विपत पर्दा पनि हडबडाउँदैनन् । यस किसिमका मानिस नै पण्डित हुन् ।

२९. पण्डितले सबैभन्दा पहिले काम गर्ने भन्ने अठोट गर्दछ, अनि काम गर्न पनि शुरु गर्दछ । शुरु गरेको कामलाई बीचमै रोक्दैन, समयलाई पनि व्यर्थे खेर फाल्दैन, अनि आत्मनियन्त्रणसमेत गर्दछ।

३०. हे धृतराष्ट्र ! पण्डितहरू असल काम गर्नेतर्फ रुचि राख्दछन् । राम्रो र उन्नति हुनेखालका कामहरू गर्दछन् । अरूलाई भलो हुने कार्यमा टाङ्ग अडाउँदैनन् ।

३१. जसले आफूलाई आदर सम्मान हुँदाबखत हर्षविभोर भई ज्यादै मख्ख परेको दर्शाउँदैन अर्थात् आत्मसम्मानमा विशेष प्रशन्न नहुने आत्मगौरव नठान्ने र अनादर हुँदा पनि संतप्‍त हुने वा अपमानित हुँदा पनि रिस इवी नगर्ने गंगा र समुद्र समान शान्त रहिरहनेलाई पण्डित भनिन्छ ।

३२. सम्पूर्ण भौतिक पदार्थबारे यथार्थ कुरा जान्ने सबै काम गर्ने तौरतरिका थाहा पाएको अरू मानिसहरूभन्दा कार्यसिद्धिका उपायहरू बढी मात्रामा जान्ने मानिस पण्डित हो ।

३३. धारा प्रवाहसँग बोल्न सक्ने, विचित्र ढङ्गले कुराकानी छलफल गर्न सक्ने, तर्कशक्ति भएको प्रतिभा सम्पन्न अनेक ग्रन्थहरूको उदाहरण दिँदै कुरा गर्न सिपालु व्यक्ति पण्डित कहलाइन्छ ।

३४.जसको विद्याले बुद्धिको अनुसरण गर्दछ, बुद्धिले पनि विद्या र शिष्ट पुरुषहरूको मर्यादालाई उल्लङ्घन गर्दैन, उसले नै पण्डित भन्ने संज्ञा पाएको हुन्छ ।

 

 

 

 

मुर्खका लक्षणहरु

३५. मूर्खले पढ्नु, खेल्नु अर्थात् विनाअध्ययनमा नै गर्व गर्दछ, गरीब हुँदाहुँदै पनि ठूला ठूला चाहना (हवामहल) राख्तछ, मिहेनत नै नगरी धन आर्जन गर्ने इच्छा गर्दछ भनी विद्वानहरूले मूर्ख मानिसको परिभाषा गरेका छन् ।

३६.  जसले आफूले गर्नुपर्ने काम भने नगरेर अरूले गर्ने काम गर्दछ तथा (मित्र) साथीसँग मिथ्या (गलत) व्यवहार गर्दछ ऊ नै मूर्ख कहलाइएको छ।

३७. आफूलाई जसले मन पराउँदैन उसलाई मन पराउने र आफूउपर चाहना राख्नेलाई त्यागिदिने  अनि आफूभन्दा बलियोसँग वैरभाव गर्ने व्यक्तिलाई मूर्ख व्यक्ति भन्ने ठानिन्छ ।

३८. शत्रुलाई मित्र बनाउने तथा मित्रसँग वैरभाव राख्दै कष्ट पुऱ्याउने सधैंभर खराब कामको थालनी गर्ने व्यक्तिलाई मूर्खबुद्धि भएको मानिन्छ।

३९.आफूले गर्नुपर्ने काम आफैँले नगरेर नोकर चाकरलाई सुम्पन्छ । अनि अरूलाई विश्वास पनि गर्दैन छिटो सम्पन्न हुन सक्ने कामलाई नचाहिंदो ढिलाइ गर्दछ भने त्यस्तोलाई मूर्ख ठान्नुपर्दछ।

४०.जसले पितृ‌को श्राद्ध गर्दैन, अनि देवताहरूको पूजा अर्चना पनि गर्दैन। साथी र इष्टमित्र पनि पाउन सकेको छैन भने त्यस्तालाई मूर्खबुद्धि भएको मानिन्छ ।

४१.मूर्ख वा अधम मान्छे नबोलाएर नै भित्र पस्तछ । नसोद्धा नै बढी बोल्दछ । अनि विश्वास गर्न नहुनेलाई पनि विश्वास गर्न पुग्दछ ।

४२. आफू स्वयम्ले बदमासी गरेर पनि अरूले बदमासी गर्यो भन्ने आक्षेप जसले लगाउने गर्दछ, अनि आफू असमर्थ हुँदाहुँदै पनि व्यर्थैमा डाहा वा रिस गर्छ भने त्यस्तो मान्छे महामूर्ख हो ।

४३. आफू कति बलियो हुँ भन्ने विचारै नगरेर धर्मार्थ विपरीत पाउन योग्य नभएको चिज पाउन लालायित हुने व्यक्ति संसारमा मूढबुद्धि कहलाइएको छ ।

४४. उपदेश प्राप्त गर्न अयोग्य भएको व्यक्तिलाई आदेश दिन खोज्ने शून्य (हुँदै नभएको वस्तु) को उपासना (ध्यान) गर्ने कञ्जुस मानिसमा आश्रित रहने व्यक्तिलाई मूर्खबुद्धि भएको मानिन्छ ।

४५.जो मान्छे अत्यधिक मात्रामा विद्या र सम्पत्ति प्राप्त गर्दा पनि उद्दण्ड हुँदैन, त्यसलाई पण्डित भनिन्छ।

धन्यवाद् ।

(बाँकी अर्को भेटमा)