Wednesday, June 7, 2023

लेखः पृथ्वीनारायणः हाम्रो इतिहास

 

(लेख)

पृथ्वी नारायणःहाम्रो इतिहास

-          जनार्दन कट्टेल

हाम्रो देशमा राजनीतिलाई नयाँ फण्डा र नयाँ नाराले तताई राख्ने र सत्ताको भर्‍याङ बनाउने प्रवृत्ति २०४६ को प्रजातन्त्रको पुनर्स्थापनादेखि यता बढ्दो क्रममा देखिएको छ । यस अघि एकीकृत नेपालको शुरुवाती कालदेखि नै दरवार भित्रै हुने गरेका हत्याका शृङ्खला, पर्व, काण्ड जस्ता परम्परागत शक्तिको प्रयोगलाई सत्ता हात पार्ने औजारको रुपमा प्रयोग गरिन्थ्यो भनी जग जाहेर भएकै कुरा हो । चीनका शासक माओले सत्ता बन्दुकको नालबाट मात्र प्राप्त हुन्छ भन्न भ्याए । उनले कुन अर्थले वा प्रसङ्गमा भनेका थिए वा त्यो नै अन्तिम र एक मात्र तरिका थियो वा धेरै तरिका मध्येको एउटा तरिका थियो यो अलग कुरा हो । तर नेपालमा सोही वाक्यांशको पछिल्लो समयमा गलत व्याख्या र प्रयोग समेत गर्ने कोशिष गरियो । एक अर्थमा केही ब्यक्तिहरु र समूहले बन्दुकको नालबाट सत्ता प्राप्त गरे पनि यो परम्पागत मान्यतालाई तोडेर उनीहरु नयाँ प्रवृत्तीलाई नै आत्मसात गर्नेहरुको  भिडमा हेलिएको देखिन्छ ।

इतिहासलाई भूतकालको राजनीति र राजनीतिलाई वर्तमान इतिहासक रूपमा लिने गरिन्छ । (विद्वान Freemanको बिचार) । अझ केही विद्वानले राजनीतिशास्त्रलाई इतिहासको फल र इतिहासलाई राजनीति शास्त्रको जराको रुपमा व्याख्या समेत गरेका छन् । (विद्वान सिलेको बिचार) । तर हाम्रो देशमा न त पछिल्लो राजनीतिले इतिहासलाई जराको रुपमा लियो न त इतिहासको फल लागेर पछिल्लो राजनीति परिपक्व भयो । पछिल्लो समय राजनीतिक फण्डाको प्रयोगमा हाम्रो इतिहास अल्झिएको छ । बि.सं. २००७ देखि २०४६ वा त्यसभन्दा केही वर्षसम्म जनताको मानस्पटलमा सेट भएको मिथक (वा सच्चाई?) लाई विनिर्माण गरी देशका विशेष गरी तल्लो वर्ग, सिमान्तकृत वर्गलाई लक्षित गरी एकोहोरो रुपमा एउटा फण्डा फालियो र त्यसैको बलमा राज्य सत्ताको परम्परागत शक्ति राजसंस्थालाई पाखा लगाइयो । त्यसपछि फण्डा फ्याकेर सत्ता प्राप्ति गर्नेहरुको सायद अभीष्ट पूरा भयो । त्यसपछि देशमा थुप्रै नयाँ साना ठूला राजाहरु निस्किए । यति भने पछि बुझ्नै पर्ने के हो भने त्यो फण्डा भनेको २५० वर्ष भन्दा बढी शासन गरेको राज संस्थाले जनतालाई अन्याय गर्यो । आत्म रतिमा रमायो । देश विकास भन्दा आफ्नो विकास मात्र गर्‍यो । जनताको शोषण गर्यो । यस बिनिर्माणमा सबै भन्दा आलोचित तत्कालिन राजा ज्ञानेन्द्र तथा शुरुवाती राजा पृथ्वी नारायण शाह देखिए । यस लेखमा पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर एउटा सानो  बिचार राख्ने जमर्को रहनेछ ।

हामी मध्ये कसैले पृथ्वीनारायण शाहका साना तिना कमजोरीहरु, जो तिल बराबर छन्, लाई पहाड बनाएर नकारात्मक प्रचार गरेर उनी प्रतिको आम आस्था खस्कायौ वा त्यस फण्डाबाट सत्ता प्राप्त गर्यौ वा केही किताब वा लेख बिकाउन सफल भयौं होला, केही आर्थिक जोहो गर्‍यौ होला । त्यसलाई आत्मरति भन्दा केही बढी मानिदैन । यो त आफ्नै बाबुलाई आमाको बलात्कारी भनेर गाली गरे जस्तो मात्र हो । यसबाट आफूलाई लाभ त होला तर दुनियाँले आफूलाई धुन्धुकारी भनेको थाहै पाइदैन । के बाबुप्रति रिस उठ्यो भने बाबु साट्न वा अर्को बाबु खोज्न जाने हो र ? हाम्रो इतिहास नै त्यही छ त, त्यसलाई मुर्खता पूर्ण रुपले थुक्दा हामी सभ्य देखिन्छौ त ?  हामीले हाम्रो इतिहास र इतिहासका अग्रज पुरुषका राम्रा कुरालाई आत्मसात गरी नराम्रा प्रवित्तिलाई नअंगाल्दा हुदैन र ? तर फण्डा प्रवित्तिको हाम्रो राजनीतिक संस्कारले हामीलाई इतिहास थुक्ने, वीर पूर्खालाई सराप्ने, उनीहरुको राम्रो कुराबाट नसिक्ने अनि नराम्रो चै निरन्तरता दिने कुराको  पक्षपोषण पो गरिरहेछ त !!! । यसो भनिरहदा मेरो के आग्रह छ भने- पृथ्वी नारयण शाह कुनै कमजोरी नै नभएका आदर्श राजा थिए भन्ने मात्र पनि मेरो आशय होइन ।

कतिपयको मनमा प्रश्न उठ्न सक्छ, युद्ध वा अन्यायपूर्ण तरिका मात्र थियो त एकीकरणको भनेर । शूरुमै भनियो यो राज्य एकीकरण र सत्ता आरोहणको परम्परागत तरिका नै हो । राज्यको उत्पत्ति भएदेखि संयुक्त राष्ट्रसंघको स्थापना भएसम्म पनि सत्ता प्राप्ति र राज्य विस्तारको लागि युद्ध भन्दा अर्को विकल्प मानिसले वा शासकले जानेकै थिएन । अझ भनौं आविश्कार नै भएको थिएन । के पृथ्वी नारायण शाह आफ्नो समय भन्दा २०० वा सो भन्दा बढी वर्ष पछिको राजनैतिक प्रवृत्ति अपनाउन जान्दथे त ? सफल हुन्थे त ? ठूलो देशको राजा हुने लोभले होस वा जे सुकै उद्देश्यले युद्ध गरेर भए पनि नेपाललाई ठूलो देश बनाउने अभियान नथालेको भए के हामी अहिले नेपाली भएर उनैलाई सराप्न पाउथ्यौ त ?

अझ कसैको मनमा प्रश्न उठ्ला के पृथ्वीनारायण शाहले राज्यको भौगोलिक रुपमा मात्र एकीकरण गरेर सिमान्तकृत वर्गलाई झन पछि पारेर र अझ अत्याचार गरेनन् त भनेर ।  एक पल्ट सम्झौं त, उनले भौगोलिक एकीकरण नगरेको भए हाम्रो देशलाई अंग्रेजले उहिल्यै ईष्ट इन्डिया कम्पनीमा गाभिसकेको हुन्थ्यो होला । अनि हामी अंग्रेजको गुलामी गर्दै उनीहरुको सेवा सुश्रुसामा तल्लो स्तरको कार्य गरी सास अड्याउन बाध्य भइरहेका हुन्थ्यौं होला । हाम्रो आज देखिएको सगरमाथा हिमाल भन्दा अग्लो स्वाभिमान अंग्रेजको जुत्ताको तलुवा मुनि हुन्थ्यो होला । हामी या त आज भारत माताकी जय भन्दै दगुरी रहेका हुन्थ्यौ या त हाम्रा प्रधान मन्त्री हुने उम्मेद्वारहरु गोर्खा राज्यको मुख्य मन्त्री हुन ठस ठस गरिरहेका हुन्थे । जे हुन्थे आज जस्तो शीर ठाडो पारेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नागरिकको हैसियतले इतिहासलाई समेत सराप्ने र थुक्न सक्ने औकात र अवसरमा हुदैनथे । 

अझै प्रश्न उठ्छ, परम्परागत इतिहासकारहरुले राजाहरुको मात्र इतिहास लेखिदिए वा उनीहरुलाई लेखाइएन । खोसिएका भनिएका राज्यमा भएका जनता र शासक प्रतिको अत्याचार र पृथ्वीनारायण शाहले आफ्नै सैनिक र भारदारहरुप्रति गरेको अन्यायको इतिहास लेखिएन भनेर प्रश्न उठ्न सक्छ। यो प्रश्न उठिरहेको पनि छ।  तपाई बिचार गर्नुहोस त, तपाईलाई मन परेको प्रधान मन्त्रीले ल्याएको एउटा ख्याति प्राप्त अभियान/ विकासको आयोजना/ नियुक्ती वा कसैलाई कुनै कार्यका लागि  गरिएको जिम्मेवारी हेरफेर आदिमा एकै समयमा कति बिरोधी वा आलोचक रहन्छन् ? त्यस्तै हो त्यति खेरको अन्याय पनि । प्रत्यक्ष दर्शी कोही थिएन ।भएका मरिसकेका थिए । इतिहासकारहरुले त आफ्नो बुताले जे भेटे, जे सुने वा देखे त्यसैलाई सन्दर्भ सामग्रीको प्रयोग गरेर लेख्ने हो नि, होइन र ? फरक चाँहि कति हो भने उक्त शासक प्रतिको त्यो लेखक/इतिहासकारको अभिवृत्ति (Attitude) कस्तो छ, त्यसमा चाँही अवश्य भर पर्छ । सामान्यतया परम्परागत इतिहासशास्त्रले जित्नेको इतिहास मात्र लेख्छ ।त्यसो त निभेको आगो तापेर अहिले नै पो को हिड्छ र ? 

राष्ट्र निर्माता पृथ्वी नारायण शाहप्रति पछिल्लो समय विकास गरिएका नकारात्मक धारणालाई लिएर यति गन्थन गरिसकेपछि आम पाठकले के बुझ्नु अनिवार्य छ भने यी नकारात्मकता कुनै न कुनै स्वार्थ प्रेरित थिए । त्यत्तिकै कसैले पनि आफ्नो इतिहासलाई थुक्दैन र पुर्खालाई सराप्दैन । समान्यतया जिउदो बाबुसँग पनि अंश खोज्दा बाहेक कोही झगडा गर्दैन भने सभ्य मानिसले पुर्खालाई सराप्दैन । बरु पिण्ड दान गर्छ । हाम्रो हिन्दु परम्परामा त श्राद्ध गर्छ ।

हालै परिवर्तिक जनमतको बलमा पृथ्वीनारायण शाह प्रतिको नकारात्मकता चिर्ने एउटा प्रयास भएको  छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन देशै भर सार्वजनिक बिदा सरकारले घोषणा गरेको छ । यो राजनीतिको सकारात्मक पाइला हो । हामीले इतिहासबाट सिकेर थप सुधार गर्नै पर्छ । विगतलाई सच्याउन सकिदैन । सच्याउने भनेको वर्तमानमा मेहनत गरेर हामीले हाम्रो आगतलाई नै हो । यसका लागि हामीसँग अग्रजहरुप्रति सम्मान गर्ने ठूलो छाति हुनु पर्छ । दिल तथा दिमागमा सकारात्मकता हुनुपर्छ ।

हाम्रो देशमा हरेक वर्षको सरकारको नीति र कार्यक्रम तथा बजेटमा आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वी नारायण शाहले आफ्नो दिब्य उपदेश समेत समावेश गरेका केही विषयहरु रहेकै देखिन्छन् । तर तिनीहरुको कार्यान्वयन पक्ष प्राय सँधै नै अलपत्र रहन्छ । केही उदाहरणहरु प्रस्तुत छ-

·         खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ । उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।(बस्ती विकास तथा कृषिको आधुनीकीकरण, जग्गा चक्लाबन्दी, उद्योग स्थापना)

·         मुलुकमा अन्याय हुन कहिल्यै नदिनु (सक्षम निश्पक्ष न्याय व्यवस्था)

·         सिपाही भन्याका तिखारी राख्न्या हुन । (कर्मचारी वृतिविकास र तालिम)

·         जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।(जनताको सशक्तिकरण र सुशासन)

·         सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।(राष्ट्र निर्माणमा सबैको भूमिका छ । सबैले मिलेर यसको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा गर्नु पर्छ ।)

·         नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु । (सुझवुझ पूर्ण र स्थिर विदेश नीति)

·         घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।भ्रष्ट्राचार विरुद्धको शुन्य सहिष्णुता, सुशासन)

·         यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो । (विविधता व्यवस्थापन, राष्ट्रिय एकताको प्रयास)

·         राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर । (वाणिज्य तथा उद्योग नीति)

अन्त्यमा सबैले सकारात्मक सोच र पुर्वजप्रति अनुग्रह राख्नुनै सभ्यताको मूल मन्त्र हो । आफ्नै इतिहास र पुर्खालाई सराप्नु भनेको आकाश तिर फर्किएर थुक्नु जस्तै हो । यसो गर्नाले आफ्नै मुखमा छिटा पर्छ । हामीले विगतका शासकलाई सराप्यौ भने आगामी पुस्ताले पनि हामीलाई अवश्य सराप्ने छ । त्यसैले सभ्य बनौं पुर्खाप्रति आदरगर्ने संस्कारको थालनी गरौं भन्ने लेखकको आग्रह छ ।

  

Monday, May 15, 2023

गीतः पिरतीको फूलबारीमा

 

ओत लाग्न आऊ प्रिय! मायाको यो छहारीमा

फक्रिएर मुस्काउनु छ पिरतीको फुलबारीमा

 

यो चाँदनी रातमा फुलेको रोशनीमा

मन्द मन्द बतासमा रुझाएर बयेलीमा

मीठो रापिलो बैंश बिसाएर जिन्दगीमा

फक्रिएर नाचौं लाग्यो पिरतीको फुलबारीमा

 

प्रेम सगरमा पंक्षी मिठो गीत गाउँदैछ

पिरतीमा अमर हुने मिठो मौसम आउदैछ

ढकमक फूल फुलाऊँ यो बैंसको वसन्तमा

फूलसँगै आउँ नाँचौ मायाको यो फुलबारीमा ।।

 

मस्त बैंशालु नशा पिई सँगै मातिदिऊँ

धड्कनको ताल सुनी मुटु मुटु साटिदिऊँ

बिसाऊँ हामी सँगसँगै जोवनको चौतारीमा

एकै स्वास थकाई मारौं पिरतीको फूलबारीमा ।

 

 ओत लागौं आऊ प्रिय ! मायाको यो छहारीमा

मगमग सुवास छरौं पिरतीको फुलबारीमा

Wednesday, February 1, 2023

सदाचार

 

सदाचार

 

१.           दुई हरफ आत्म प्रशंशा र

           एक अनुच्छेद बिक्रितिप्रति व्यङ्ग्य कसेपछि

      कवि निश्वास छोड्छ- आत्मसन्तुष्टिको ।

      अनि –

आफ्नो कमाउ धन्दामा लाग्छ,

उत्कृष्ट जिल्दा भित्र आत्म प्रशंशा र व्यङ्ग्य बिक्रीको निमित्त

बजार कब्जा गर्नतर्फ।

 

२.     टेलिभिजनको पर्दामा प्रशासरण हुने

उत्कृष्ट विज्ञापनले ग्राहकहरु दिग्भ्रमित भएकै छन्

उपभोक्ता छक्क पर्छन-

यथार्थ त प्रयोग गरेपछि त थाहा लाग्ने रहेछ,

ओहो!  विज्ञापन त भ्रमको खेति त रहेछ नि !!

उत्पादक/वितरकहरुको खेति मैलाएकै छ,

ठगिने ठगिएकै छन्,

त्यही ठगीबाट आर्जित नाफाको अंश

सरकारले आफ्नो कर थाप्छ र गर्छ

राजस्वको पुनर्वितरण

धन्य मेरो सरकार !!

 

३.     एउटा पेशाको चर्चित, सफल  वा असफल पेशाकर्मी

अझै राम्रो पेशाको खोजीमा

राजनीतिमा छिर्छ,

खै के देखेर ऊ यति आकर्षित भयो हँ ?

के साँच्चै राजनीति-

उसको पेशा भन्दा उपल्लो दर्जाको पेशा हो त ??

 

४.     यस्ता अनेकन दृष्यहरु/ रमिताहरु

रङ्गमञ्चमा मञ्चन भएपछि-

कथित देशभक्त आत्माहरु खुय्य गर्छन् ...

सपना पनि देख्छन् सुधारको कसैले त

जस्तो कि एउटा क्रान्तिकारी रोमञ्चकता !!

कतै यो सपना देखाई- हो कि अभिनय मात्र ?

 

५.     साँच्चै नै सपना देखेको भए त

जरामा लागेको रोगलाई जिस्क्याएर

किन कोही पातमा दवाई छर्किन्थ्यो ऊ ?

टाउको दुखेको बिरामी आउँदा

किन उसले भुँडी तिर उपचार गर्दो हो र ??

 

६.     ढाटछलीको कल्पवृक्ष हलक्क बढेर

जहर फल्न थालेपछि,

त्यही बृक्षमा आफू ओतिन नजानेपछि,  

सुरक्षित हुन नसकेपछि-

मेरै गाउँको प्रेम भाइले

आफूलाई प्रेम गर्न सकेन र उद्‍घोष छाड्यो-

म मरे पनि मेरो देश बाँचि रहोस् ।

 

७.     के प्रेमले सोचेन होला

देशको समृद्धि ?

के यो समृद्धिमा अट्दैनन-

उसको बाबुको दमको उपचार?

उसको आमाको जुन फुलेको मुहार,

न्यायो खुसी परिवारको

अनि,

ऋणले नकोपरेको आफ्नै गिदी ??

 

८.     प्रेमको देश भन्नु त बेलगामको सत्ता रहेछ, हो कि ?

बेलगाम व्यक्तिहरु

बेलगाम पेशाकर्मीहरु

बेलगाम निजी क्षेत्र / बेलगाम सार्वजनिक क्षेत्र

बेलगाम राजनीति

बेलगाम कवि

के यही मेरो देश हो त ?

 

९.     कि त यो देशमा डार्विनको सिद्धान्त बाँचेको छ,

सर्भाइभल अफ फिटेस्ट बनेर,

कि त यो देशमा आत्मरति बाँचेको छ

जस्तोकि- कसैले नदेख्ने गरी गरेको अपराध त बहादुरी हो

जस्तो कि- आफूले गरेको भ्रष्टाचार त कलाकारिता हो

अरुले नदेखेसम्म यो त सदाचार हो,

यस्तो कसरी  हुँन्छ हँ ??

 

१०.     भो अब त अति भो

आऊ, भत्काउ यी कुसंस्कारका पर्खालहरु-

जुन पर्खालले

सदाचारको सातो उडाइदिन्छ,

जुन फुल्नु पर्ने आमाको अनुहारमा

ग्रहण लगाइदिन्छ।

 

११.     ओ कवि,  सुन -

अब आत्म प्रशंशाको ऐनामा देखिने तिम्रा प्रत्येक हरफहरुमा

भेटिनुपर्छ निमुखा नेपालीको निधारको चाउरी,

भरिनुपर्छ - भाङ्ग्रोले छोपेको भोको पेट,

तिम्रो व्यङ्ग्यबाणको निशानाले

आफ्नै स्वार्थपुर्ति गर्न छोडेर

फेर्नु पर्छ नेपाल आमाको च्यातिएको पछ्यौरी

बचाउनु पर्छ लाज आमाको ।

 

१२.          ओ कवि, खोज अब यस्तो बाटो

जुन सफल पेशा कर्मीले

आफ्नै पेशामा रमाउन सकोस्

अझै राम्रो पेशाको खोजीमा-

राजनीतिलाई पेशा बनाउन नपरोस्॥

 

Thursday, December 22, 2022

गजलः कसरी हो यार बनाउने

 

दुश्मनलाई कसरी हो यार बनाउने ?

उज्यालो  र फराकिलो संसार बनाउने ??

चाँदनीको मुहारमा कालो दाग किन देख्नु ?

चाँदनी झैं शीतल अब घरबार बनाउने ??

देखेपछि सपना त पुरा गर्नु पर्छ पर्छ,

सच्चा बाटो कुन हो स्वप्न साकार बनाउने ?

बढारिए राणा अनि, राजाहरु कति यहाँ

लर्को देख्छु गाउँ पिच्छे दरबार बनाउने !!!

                        

भुतुक्क नै पारिहाल्यौ मुस्काँनैले कान्छी

गुलाबको ओठ किन तरबार बनाउने ??

Tuesday, August 16, 2022

कथाः ओरालो बग्ने माया

 अकथाःपाठकको विश्लेषण

जुकेखाडीमा भेटिएका वृद्धको कथा सुनेर जेन तेन अभिलेख गरेको बताउदै कथाकार जनार्दन कट्टेलको कथा झोलाभित्र नअटाएको कथा प्रकाशन भएको थियो । पुर्वाञ्चल दैनिकमा प्रकाशित कथा पढेर अग्रज साहित्यकार धराबासीले झोला कथा तन्किदै रहेछ भन्ने प्रतिक्रिया दिएको पाएँ । एक जना पाठक रमेश पौडेलले एउटा प्रतिक्रिया दिएका रहेछन् – “कथामा खड्गिएको हो- औधी छिटो फाच्चा । गोठसम्मको यात्रा सुहाउँदो गतिमा छत्यसपछि ओरालो भएर हो किसारै छिटो बग्यो ।” 

कथाकारले फेसबुकमा कथा राख्दा भने जस्तो लीला भयो कि भएन भन्ने प्रसङ्गमा पाठकको हैसियतले मेरो  बेग्लै धारणा छ । मैले मेरा ससुराबाट सुनेको मेरी बुढीसासुको कथा सुनाउन आएकिछु । मैले मेरा ससुराले भनेका तथा लेखकले झोला भित्र नअटाएको कथा शिर्षक दिएर लेखिएको कथामा नसमेटिएका केहि प्रसङ्गहरुलाई पुनः समेट्न कोशिष गरेको छु । म तिनै वृद्धकी बिधवा बुहारी हुँ जसले जनार्दनलाई खुदुनाबारीमा आफ्ना केही कथा सुनाएका थिए । मैले मेरो पतिलाई राजनैतिक अग्रगमन प्राप्त गर्ने निहुँमा सशस्त्र युद्धमा गुमाएकी हुँ ।

श्रुति स्मृति परम्पराबाट पुस्तौ पुस्ता हस्तान्तरण हुदै बाँचेको संस्कृत वाङ्मयलाई लीला प्रविधिको भन्न सकिन्छ होला - यो मेरो व्यक्तिगत धारणा हो । किनकि हामी कृष्ण लीला भन्छौ, राम लीला भन्छौं- यी  कथा प्रसङ्गहरु कसैले कसैलाई सुनाइएको हो । जस्तै ब्रह्माले नारदलाई, नारदले सुकदेवलाई, सुकदेवले राजा परीक्षीतलाई आदि । कृष्णजिले अर्जुनलाई सुनाएको गीता जस्ताको तस्तै सञ्जयले जन्मान्ध रहेका धृतराष्टलाई सुनाए । अझ मैले त यसलाई लेखकको कथाको प्रस्तुतीकरणको शैली र चातुर्यताको रुपमा बुझेकी छु । यही कथा विभिन्न ग्रन्थमा एकले अर्कोलाई आवश्यकता अनुरुप सुनाएको हामी संस्कृत साहित्यमा पाउँछौ ।

सापेक्षतालाई लीलाको अङ्गको रुपमा मैले बुझेकी छु । गोपिनीहरुले कृष्णलाई प्रेमीको रुपमा प्रेम गर्थे । आमाहरुले उनमा वात्साल्यको मुहान नै रहेको ठान्थे । कंसले कृष्णलाई मूख्य शत्रु वा संहारकको रुपमा बुझेको थियो, दुर्योधन लगायत उनका पक्षधरले उनलाई महाको छलिया देख्थे भने पाण्डु पुत्रहरुले साक्षात भगवान । संसारमा सत्य छ- तर त्यो व्यक्तिहरुको धारणाको सापेक्षतामा छ । मेरो बिचारमा यो नै लीला लेखन प्रविधिको अर्को पक्ष हो । लीला प्रविधिको अर्को महत्वपूर्ण पक्ष सकारात्मकता हो । भगवानका लीलाका हरेक प्रसंगहरुलाई सकारात्मक रुपमा व्याख्या गरिनु समाजलाई नैतिक र सकारात्मक दिशामा अघि बढाउन खोज्नु नै यसको एउटा विशेषता हो । लीला सम्बन्धी  सैद्धान्तिक बहश धेरै लामो हुन सक्छ ।

अब मेरो कथा तर्फ जाऔं ।

 पहिलो उपकथाः सति आमा

कुम्भ राशीमा जन्मिएकी थिएँ म । मलाई मेरा बाले सरिता भनेर बोलाउनु हुन्थ्यो । सरिताको अर्थ नदी हुने रहेछ । म नाम जस्तै गतिशील भएँ । जीवनमा कति बगें, कता कता बगें सम्झिदा अचम्म लाग्छ । आठ वर्षमा मुखियाको घरमा बिहे भएर गए पछि मेरो नाम हरायो । म सरिताबाट एक धर्को सिन्दुरले छोपिएर कान्छी मुखिनी भएँ । मैले मुखियाको घर गए पछि म भन्दा तीन गुणा ठूला त मेरा छोराहरु पाएकी थिएँ । सौतेनी छोराहरु । उनीहरुले कान्छ्यामा भन्थे । बिहेपछि करीब ४ वर्ष त माइतमै बसें होला । त्यसपछि भने मैले कान्छी मुखिनीको पुरापुर भूमिकामा कम्तिमा पनि पन्ध्र सोह्रहरु वर्षहरु बिताएँ । म सानी थिएँ तर सासु पनि थिएँ । म सानी थिएँ तर करीब तीन कोरी नाघिसकेका कान्छा मुखियाको अर्धाङ्गिनी भएकोले सबैले सम्मान गरेरै बोलाउथें । यस्तो अवसर मलाई प्राप्त थियो । कान्छा मुखियाको गतिलो छहारीले गर्दा सितिमिति झरीले मलाई रुझाउदैनथ्यो । सानो तिनो आँधीमा म टुट्तिन थिएँ । सोह्र वर्षमा यो घनश्याम जन्मियो ।

मेरो घर परिवारमा अगाडी सम्मान गरेर बोलाए पनि पछाडि कुरा काट्नेहरु पनि थिए । बुहारीहरु र मेरो उमेर उस्तै थियो। बुढा भएका बाउले कान्छी आमा ल्याएर थप सन्तान पनि जन्मेका कारण सौतेनी छोरा बुहारीलाई खप्नु खानु थिएन । सधै टोकसो गरिरहन्थे । आफू सासु भएर पनि बुहारीलाई कज्याउन नसकेको भन्दै कैले मुखिया पनि मलाई नै हप्काउथे । एक्लै कसैले नदेख्ने गरी रोएर मनको बह हलुका पार्थें ।

अंश बण्डा गरेर छुट्टिई सकेपछि भने बुहारीहरुको टोकसो केही मत्थर नै हुदैगएको थियो । घनश्याम दश वर्षको हुँदा ब्रतबन्ध गरिदियौं ।यसको बर्तबन्ध पछि मुखिया थलिइहाले । मुखिया थलिए पछि उनकै स्याहर सुसार, घर खेत तथा व्यवहारले मलाई पुरापुर बाँधेर राख्यो। तीज तथा दशैंमा माइत जानसम्म भ्याउदिनथें म । मेरो दुःख सुखका गफ गर्ने देउरानी थिइन । मेरो व्यस्तता, उमेर र  मुखियाको खस्किदो स्वास्थ्यले गर्दा मलाई भन्दा उनलाई बढी सताउथ्यो ।

दोस्रो उपकथाःघनश्याम (वृद्ध)

बाटो भरी आमाले कान्छालाई आफ्नो कहानी सुनाउदै हिड्नु भयो । एक आपसमा गफ गाफ गर्दै हिड्दा धेरै बाटो कटेको थाहा नहुनाले कान्छाले पनि के के भनेर हँसाइरहन्थ्यो । ठूलो स्वरमा आफू हाँसेर आमा र मलाई हँसाउने कोशिष गर्थ्यो । आमा जति गर्दा पनि हाँस्नसक्नु हुन्नथ्यो । मानौं वहाँको ओठमा बडेमानको ढुङ्गा झुण्याइएको थियो ।   

 तेस्रो उपकथाः सति आमा

पतिब्रता भएर नै होला मैले कहिले पनि कुनै दिन मेरा बुढा मर्लान र म सति जानु पर्छ सोच्दै सोचिनछु । यस्का बा बितेपछि आँगनमा आफ्नो खसमको मृत शरीर लिएर अर्धमुर्छित भई बसेका बेला हठात गाउँले आइमाईहरुले मलाई सिंगार्न भनी भित्र लैजादा मात्र मैले अब म सति हुँदैछु भन्ने थाहा पाएँ । मलाई लाग्यो मेरो ओत लाग्ने छहारी मात्र होइन अब म पनि त्यही छहारीको चितामा जल्दैछु । एउटा बुढो रुख-  जो वरीपरीका घर र बुट्यानको सहारा थियो आज त्यही बुढो रुखको ढलाईमा सारा माडिमैदान हुँदैछ । सोत्तर हुदैछ । आफू नै मर्नु पर्ने भएपछि मैले मेरो खसमको वियोगमा रुने कि के गर्ने ? मलाई डाँको छोडेर रुन मन थियो । तर खसमको मृत्यु पश्चात देखिएको आफ्नै दर्दनाक र विभत्स मृत्युको बादलले मलाई जकडिसकेको थियो । सत्ताइस वर्षमै चितामा जलेर प्राण त्याग्नुपर्ने अकाट्य परिस्थिति सिर्जना भएको थियो । त्यसैले मेरो आवाज हराएको थियो ।

बा मरेको खबर सुनेर घनश्याम सुक्क सुक्क रुदै आँगनमा आइपुगेको देखें । उसलाई थाहा रहेछ बा मरेपछि अब आमा पनि सति हुनुपर्छ भनेर । बाको लास देख्ने बित्तिकै उसले आमालाई जोगाउन असफल प्रयास गरिरह्यो । आमा !आमा!! तपाई सति होइन, मलाई छोडेर नजानु भन्दै चिच्याएर मलाई समात्न भित्र पस्यो । छेउमा आए पछि ठाँइला पुरेतले उसलाई समाते । भन्दै थिए- घनश्याम ! अब जिद्धि नगर । अब आमा सति भइसक्नु भयो । वहाँलाई तैले छुनु हुदैन ।यी सबै दृश्यहरु आँखामा नाचेपछि मेरो दिमाग शुन्य भयो । म कति पटक बेहोस हुँदै विउँझिदै गरें । बिउझिंदा आँखाबाट अविरल आँशु मात्र झरिरह्यो । म अर्ध पागल हो कि, होस ठेगाना हराएको हो कि, दिमाग नै नभएकी हो कि, एकोहोरी भैरहें ।

गाउँले आइमाईहरुले बेहुलीको जस्तै कपडा लगाइदिए । सबै गरगहाना लगाइदिए । बेहुलीको पहिरन, सिंदुर पोते र गहानामा म यसै गरी आज भन्दा बीस वर्ष अघि भित्रिदै थिएँ । त्यतिखेर नयाँ जीवनको शुरुवात गर्ने अपेक्षा थियो । जीवन ज्योतिलाई चम्काउनका लगि घरमा ध्वजा पताका र तोरणले सजावट गरिएको थियो । शुभाशुभलाई स्वागत गर्न नौमती बाजाहरु घन्काइएका थिए । आज त्यही भेषमा म मृत्यू पर्खिरहेकी थिएँ । मृत्युको भयानक कल्पना खसमको चिताको पीरो धुँवा, तातो अग्नीले शरीर पोलेको अनुभव मलाई त्यतिखेर भैरहेको थियो । नौमति बाजाहरु आज पनि आँगनमा घन्काइएका थिए । तिनीहरुले मेरो खसमको शोक मात्र होइन एउटी सतिको बिलौना बजाइरहेका थिए । मेरो विवशतालाई गिज्याइरहेका थिए ।   

घर पछाडि तिर देउरानीले डाँको छोडेको आवाज आयो । उनी रुदै भन्दै थिइन्-  “यो कस्तो चलन हो ? जिउदै मर्नु पर्ने ? पोलिनुपर्ने ? साठी वर्षको उमेरमा बिहे गर्दा एउटी आठ वर्षको केटीलाई भित्र्यायो, अनि आफु मर्दा बल्ल बल्ल परिपक्व मात्र हुन थालेकी स्वास्नीलाई जबरजस्ति सति बनाउनु पर्ने ? हे प्रभु यो आइमाइको जातलाई किन यस्तो निरिह बनायौ ?  आफूले पालेको खसी बोकालाई समेत माया गर्ने लोग्ने मान्छेको मनमा आँफैलाई जन्माउने आमा प्रति किन त्यति धेरै निष्ठुरता हालिदियौ ? हे प्रभु !!

त्यस पछि देवरले उनलाई हप्काएको जस्तो, निरिह भएर सम्झाएको जस्तो आवाज सुनियो- नकरा, अहिले गाउँलेहरुले मार्छन् । यो पुर्खा देखिकै रीत होके गर्नु ?

देउरानी प्रतिकार गर्दैथिन- मारुन् ।यसै पनि तपाई मरेका दिन यिनीहरुले आज दिदीलाई जस्तै सति बनाएर पोल्ने नै हुन । पापी लोग्ने मान्छेहरु !!” त्यसपछि देवर देउरानीको आवाजलाई नौमति बाजाको चर्को आवाजले ढाकिदियो । मलाई लाग्यो मेरी देउरानी म भन्दा दुःखी छिन् । मेरा खसम त बुढा भएर काल गतिले मरेका हुन् । तर आफ्नी जेठानीको यो अवश्यम्भावी अकाल हत्या तथा आम नारीहरुको नियति प्रति उनी साह्रै नै कुँडिएकी छिन् । उनी बिद्रोह गर्न चाहन्छिन् । तर निरिह छिन् ।

आफ्नो प्राण त जाने नै भयो । बरु छोरालाई पो दाजुका छोराहरुले हेप्लान्, दाजुहरुले नराम्रो गर्लान भनेर फेरि मनमा गाँठो पर्यो । आँखा अविरल बगिरहे ।  सिंगार सकियो । नौमति बाजासँगै एकोहोरो शंखको स्वर ठूलो हुदै गयो । कसैले उठेर हिड्न भन्यो र म यन्त्रवत हिडिदिएँ ।  मेरोपछि पछि मेरा खसमको लास, त्यसपछि नौमति बाजा र एकोहोरो शंखको चर्को धुन पछि पछि मलामीहरुको ताँति तमोरको पुर्वी किनार ताकेर हिड्यो । पीपल चौतारीमा पुगेर लास बिसाइयो ।  आइमाईहरुले मेरो सबै बस्त्रहरु खोलि दिए । ठाँइला पुरेतले चौंठोबाट मेरो कपालमा तेल खन्याए । त्यसपछि म निर्वस्त्र हिडेर खोलासम्म पुँगे । चितामा आगो लगाउन ....... अग्नी तयार गर्नु अघिको अनुष्ठान कर्म नसकिउन्जेल मेरा आँशु बगिरहे । कति बेला आगो छोड्लान र जलेर मरिएला भनी प्रतिक्षा गरेर पर्खिरहें ।

चौथो उपकथाः घनश्याम (वृद्ध)

यसरी मेरी आमाले कान्छा मुखियासँग आफ्नो लोग्ने मरेको र आफूलाई सति बनाएर उनको लास सँगै जलाएको घटना बाटो भरी सुनाउनु भयो । म त्यो सब घटनाको प्रत्यक्षदर्शी र भुक्तभोगी पनि थिएँ । कान्छा पनि आमाको यस्तो कहानी सुनेर घरि द्रवीभुत हुन्थ्यो भने घरि ती गाउँलेहरु प्रति मुर्मुरिन्थ्यो । अमरपुरबाट चियो भन्ज्याङ्ग जाने बाटोमा कति ठाउँमा कावेली नदी तर्नु पर्ने रहेछ । जङ्घारमा कान्छाले हामीलाई पालो पालो गर्दै तारिदियो । मैले त कान्छामा भएको सफा मन र स्नेह त्यतिखेरै देखेको थिएँ ।

आमा के कसरी आगोबाट उम्किनु भयो र गुफामा लुकेर कयौं दिन बस्नु भयो यसको अलग प्रसङ्ग छ ।

आमा सकेसम्म थोरै बोल्नु हुन्थ्यो । तर पनि लाग्थ्यो- आमामा कतै पुगेर बाँकी जीवन बिताउने र छोरालाई सक्षम बनाउने दृढ विश्वास छदै थियो । आमा र म यन्त्रवत कान्छालाई पछ्याइरह्यौं ।चियो भञ्ज्याङ्गमा बास बसेको घरमा धेरै थकाइले होला- आमाले खाना खानै सक्नुभएन । कान्छाले धेरै बेर कर गरिरह्यो । सुत्नेबेलामा उसले हामीलाई एक एक गिलास चौरीको तातो दुध ल्याएर दियो ।भन्दै थियो – “भोली दार्जिलिङ्ग सम्म हिड्नु पर्ने त्यसपछि रेल चढेर जानु पर्छ । अर्काको ठाउँ हो, कहाँ खाने, कहाँ बस्ने टुङ्गो पनि छैन । त्यसैले भोको पेट सुत्नु हुदैन ।आफुलाई कमजोर नबनाऊ ।कान्छाले यसो भन्दा मलाई ऊ कति  स्नेही मान्छे रहेछ भन्ने लाग्यो । मलाई बाले माया गरेर कखरा सिकाएको, अर्ति उपदेश दिए जस्तै लाग्यो कान्छाको बोली र व्यवहार ।

चिवा भञ्ज्याङ्गदेखि दार्जिङ्ग, दार्जिलिङ्गबाट सिलगढी र सिलगढीबाट आसामको बगाईंगाउँ सम्मको यात्राहामीले करीब सात दिनमा पुरा गर्यौ । कहिले मनकारी कुनै मानिसको घरमा त कहिले पाटीमा बास बस्दै दिनभरी हिंडेर हामी आसाम पुगेका थियौ । हरेक दिन बास बस्ने ठाउँमा पुग्दा मेरा खुट्टा दुखेर बाउडिन्थे । आमाले धेरै बेर मिचि दिनु हुन्थ्यो । कान्छो खाजा सामल बनाउने तरखर गर्थ्थो आमा सघाउनु हुन्थ्यो । यात्रामा हामी एकै परिवार भएका थियौं ।  यसो गर्दै जेन तेन आसाम पुगेका थियौं । आसाम भन्नु मात्र थियो । त्यहाँ कँहि जानु थिएन । त्यो नै हाम्रो गन्तव्य पनि थिएन । अब यतै कतै टुङ्गो लाग्न पाए हुन्थ्यो भन्ने चै थियो तर कहाँ, कसरी, कसलाई भन्ने आदि समस्याले हामीलाई उम्किन दिएन । हामी निरिह आमा छोरालाई मात्र छोडेर कान्छो फर्किन  पनि सकेन ।

आसामको एउटा गाँउसकिए पछि जङ्गलको बाटो पूर्व तिर जान्थ्यो । साँझपर्न लागि सकेकोले हामीले त्यतै तिर बस्ने सल्लाह गर्यौ । सँधै झैं आगो बाल्यौ । भात भन्साको लागि चुलो चौको जोड्यौं । सुत्नको लागि कान्छाले स्याउलाको गोठ बनायो । वरीपरी सुकेको घाँस भेला पारेर दुई वटा ओच्छ्यान लगायो । हामी हामीले अँध्यारो हुनु अघि नै भात खाइसकेका थियौं। आमाले भात खान सक्नु भएन ।

राति आमा जाडोले काँप्दै बरबराएको सुनेपछि मैले कान्छालाई ब्युझाएँ । आमालाई ज्वरो आएको रहेछ ।  फेदाङ्बा मेलोबाट उसले धेरैबेर लगाएर झारफुक गरिदियो । आमालाई पानी पट्टि गरिदियो । आमाको ज्वरो सात दिन सम्म पनि निको भएन । सातै दिन कान्छाले अहोरात्र आमालाई नछोडी स्याहार सुसार गरिरह्यो ।

वास्तवमा आमा ज्वरोले थलिएपछि मात्र हाम्रो यात्रा रोकिएको थियो । नत्र हामी अझै कति दिन कहाँ सम्म हिड्ने थियौं । किनकि हामीलाईजाने ठाउको कुनै टुङ्गो नै थिएन।  आठौ दिन आमाले अलिकति भातको माड खानुभो । एक हप्ता दिन सम्म त्यही गोठमा बस्दा थुप्रै गाउँले हरुसँग चिनजान  भएको थियो । गाउँलेहरुले यसै ठाउँमा खेतबारी बिराएर कमाइ गर्दाहुन्छ भन्न थालेका थिए ।  आमा निको हुँदासम्ममा मेरो पनि यात्राको थकाई मरिसकेको थियो । कान्छा र मैले चार पाँच वटा गह्राहरु खेति गर्नको लागि जोत खन गर्न मिल्ने गरी आली  लगाएर चिटिक्क पारेका थियौं । भाँडा माझेको पानीले भिजेका ठाउमा पन्ध्र बिस बोट रायोको बिरूवा सरिसकेका थिए । बोकेको अन्न सकिएकोले गाँउबाट निक्कै नै अन्न ल्याइसकिएको थियो । त्यो कुन शर्तमा हो मलाई थाहा थिएन ।

त्यसको केही दिन पछि आमालाई आफूले बिराएर खेति योग्य बनाएको केही नयाँ जमिन र थाकलले छाएर मजबुत गरी बर्खा समेतलाई हुने गरी बनाएको एउटा सानो घरमा हामीलाई छोडेर कान्छा आफ्नो घर पहाड तिर फर्कने कुरा गर्न थाल्यो । त्यो सुनेर मलाई पनि नमीठो लाग्यो । हामी एकै परिवारका जस्तै भएका थियौ । आमा र म दुबैलाई कान्छाको सामिप्यताले बानी परिसकेको थियो । आमाले पनि कान्छालाई नफर्कन सकेसम्म आग्रह गर्नु भयो । कान्छा जाने कुराले आमाको पनि मन पिरोलिएको थियो । कान्छाको मनमा हामी प्रति कति माया थियो,त्यो भन्न त सक्दिनथें । तर पनि उसलाई आमाको आँशुले रोकिछाड्यो । त्यसपछि कान्छा फर्किएन । 

बिस्तारै हिंउदका दिन सकिदै गए । मानिसहरुले मकै छर्न थाले । हामीले पनि छर्यौ ।  नयाँ माटो पाएर मकै असाध्यै धेरै फल्यो । बारीमा तरकारीहरु लटरम्म फल्न थाले । हामी  दिनभरी सँगै काम गर्थ्यौ । झरी पर्न थाले पछि धान रोप्यौं । बिस्तारै त्यो पनि पाक्ने बेला भयो ।

एक दिन बारीमा कामगर्दा गर्दै आमालाई अलि अलि  बेथा लागे जस्तो भयो । सुत्केरीको बेथा रहेछ । मैले धेरै कुरा बुझिन । पछि आमाले भाइ पाउनुभो । त्यसपछि भने कान्छालाई कान्छाबाबु भन्न थालेको हुँ ।  कान्छाले उसलाई आमाले पहाड जान रोकेकै दिन मलाई अबदेखि कान्छाबाबु भन्नुभनी मलाई जिस्काएको थियो । यो कुरा बुझ्न मलाई पनि नौ महिना नै लागेछ ।

ब्यथाः पाठक

मेरा ससुराले भनेको कथा यही थियो जुन यस पटक पनि लेखकले छुटाएको थिए     

यसरी एक पटक सति भएकी मेरी बुढी सासुलाई नयाँ जीवन शुरुवात गर्ने सुवर्ण मौका मिलेको थियो । तर मेरो हकमा के भयो ? म अग्रगमनको सशस्त्र लडाईमा बिधवा भएँ । छोरा छोरी समेत नपाएकी मैले आफ्नो लागि एउटा भरपर्दो फाच्चा लाने कुनै कान्छा पाउन किन सकिन ? के यो समाजको परिवर्तनशीलता हो त ? समाजको गति कता जाँदैछ ? के जवानीमा विधवा भएकी महिलाको दोस्रो विवाहको अधिकार खोस्नु र सति पोल्नुमा केही फरक छ  ?  या मैले आफूले पनि अर्को जीवन शुरु गर्न कुनै आशाम वा मुग्लान जानु पर्ने हो ? समाजमा नारीलाई सति बनाउने अन्य कति धेरै तरिका आविस्कार भएका हुन हँ ? मेरो मथिङ्गलले यी प्रश्नको जवाफ प्राप्त गर्न आजसम्म सकेको छैन ।

अस्तु । इटहरी २०७९/०४/३१