Sunday, July 16, 2023

कथा अन्तिम झुट

 

अन्तिम झुट

धेरै पछि गाउँ जाने मौका पर्‍यो । बिहानको खाना खाएर सदरमुकामबाट हिडेका थियौं हामी दुई भाइ- मोटरसाइकलमा । आफूँ पछाडिको सिटको यात्री । यात्राको साथी भने पनि सारथी भने पनि होम सर थिए । हामी स्कूल पढ्दा ताका ५ देखि ६ घण्टामा पैदलै हिडेर पार लगाउने गरेको त्यो बाटो मोटर साइकलमा यत्रा गर्दा पनि हामीलाई दुई घण्टा भन्दा बढी लागिसकेको थियो । गाउँको धुले बाटो भएकोले हामी दुबै नचिनिने अवस्थामा पुगिसकेका थियौं । होम सरलाई लिएर म आफ्नो होम जाँदै थिएँ धेर पछि ।

घर पुग्ने बेलमा मूल बाटोबाट ओरालो ताक्दै गर्दा तुलबहादुर काका भेटिए । उनको घर त्यहीं दुई कान्ला माथि थियो । उनी गाउँभरीका लुगा सिलाउथें ।लुगा सिलाइदिए बापत काकालाई परिवार सङ्ख्या अनुसार गाउँलेहरुले बालीको रुपमा कही पाथि धान, मकै आदि दिन्थे । यसैको सङ्कलनबाट तुलबहादुर काकाको परिवार पालिएको थियो । तुलबहादुरको सीप यति थियो कि दौरा सुरुवाल सिलाउनेमा जिल्ला भरिका मान्छे हरुमा एक नम्बरमा गनिन्थे । त्यही भएर होला बजारका कपडा व्यापारी कैयाँहरुको मुखमा उखानै झुण्डिएको थियो- कोट प्यान्ट मधेशी कालिगढलाई, दौरासुरुवाल तुलबहादुर दमाइलाई

मूल सडकबाट ओरालो मोटरसाइकल लैजान अलि गाह्रो पर्थ्यो हामी जस्तालाई । भरखर खनेको बाटो, त्यसमाथि बर्खाभरी ट्याक्टर र पानीको भेलले खोलेर खाल्डै खाल्डा परेको । त्यही भएर हामी मूल सडकमै ओर्लियौं। मोटर साइकल सडक छेउमा पार्क गर्दै गर्दा भेट भएको थियो तुलबहादुर काकासँग ।

जदौं नानी, । आज कसरी सम्झनुभो, आफ्नै गाउँ टेक्नलाई ?मलाई देख्ने बित्तिकै उनले आफ्नो परम्परागत अभिवादन गरिहाले । उनले आफूलाई तल्लो जातिको ठानेर हतार हतार बाहुनको छोरालाई गरेको अभिवादन मलाई चित्त बुझेकै थिएन । मैले उनको कुरा नसुने झैं गरेर बोल्न शुरु गरें ।

काका नमस्कार ।

बुढाले दुई कारणले मेरो नमस्कार फर्काएनन् । पहिलो, उनले आफूले नै पहिले जदौं भनिसकेका थिए । दोस्रो, नमस्कार आफू भन्दा सानाले गर्ने र ठूलाले फर्काउने भन्ने आम धारणा छ । बिचरा तुलबहादुर काका आफूलाई सँधै निच र हीन सम्झन्छन् । वास्तविक रुपमा समाजले दलित बनाएको छ- तुलबहादुर काकाहरुलाई । हुन पनि उनलाई अगाडि पर्दा मात्रै साइनो लगाउने र कन्ना पछाडि भने तुले दमाई भनेर हियाएर बोल्ने मानिसको बाहुल्यता छ गाउँमा । माओबादीले दलितलाई  खाना पकाउन लगाएर गाउँका पण्डित पुरेत लगायत भेला गराई भोज खुवाएपछि दलित युवाहरु भने गाउँमा उत्साहित भएका छन् । क्षेत्री बाहुनहरुसँग शीरठाडो गरेर बोल्छन् । तर पुराना पुस्ताका मानिसहरुलाई भने अझै हामी सानै जातका हौं भन्ने धारणा यथावत छ । 

के छ काका तपाईंहरुको खबर, सञ्चै हुनुहुन्छ नि ? अनि गाउँघर तिर के कस्तो छ ? मैले सबैको खबर एकमुष्टमा सोधें ।

के हुनु र नानी, गाउँघर सबै सुनसान भैगयो । गाउँ तिरको खेत बारी आधा भन्दा धेरै बाँझिई सक्यो । खेत बाँझिए पछि हामी पनि बाली उठाउन कहाँ जाने ?  मान्छे नभएपछि बाली नै कसले दिने ? हाम्रो पनि अब त उपाय सकियो नानी । मैले जस्तै बुढाले पनि निकै लामो खबर एकै खेपमा पोखे 

मेरा बाभन्दा एक वर्ष मात्र कान्छा तुलबहादुर काका आफ्नो उमेर भन्दा धेरै नै बुढा देखिएका थिए । पन्ध्रदिन भन्दा बढीको सेता दाह्रीले उनको चाउरिएको अनुहार ढाकिएको थियो । बेतको घुमाउने लठ्ठी हातैमा थियो । अनुहारको पसिना हेर्दा तल्लो गाँउ तिरबाट भर्खरै उक्लिएका जस्ता देखिन्थे । आफ्नो कुरा भन्दै भन्दै उनी घर तिर उक्लिन थाले । मलाई यिनको हीनता बोधमा अलिकति मलम लगाउन मन लाग्यो ।  होम सर तिर हेरेर भनें –

जाऊँ बुढाको घरमा गएर पानी सानी खाउँ । बुढासँग एक छिन गफ्फिनु पर्छ ।

हामीलाई पनि कुनै हतारो थिएन । त्यसैले काकाको पछि लाग्यौं । हामी आउछौं होला भन्ने त काकाले सोचेकै थिएनन् । आँगनमा पुगेर पछाडि फर्किएर हेर्दा बल्ल हामीलाई देखे ।

नानीहरु त यतै पो आउनु भयो त ?

किन तपाईंको घरमा आउन नहुने हो र ?

मैले प्रतिप्रश्न गरेपछि बुढाले आँगनको डीलमा रहेको उत्तिसको ठुटा भुईमा गाडेर फल्याक हालिएको लामो बेञ्च देखाउदै बस्न संकेत गरे । हामी दुबै बस्यौं । थकाइ लागेको थियो । बस्न पाएर आनन्द लाग्यो । आधा आँगन आल्चाको छाँयाले छोपेको थियो भने छेउ तिरको आधा भागमा पारिलो घाम थियो । हल्का सिरसिरे बतासले पहाडी हिँउदलाई साथ दिएकै थियो ।

खै त घरमा अरु देख्दिन । यसो पानीसम्म खान पाए त हुन्थ्यो । फेरि थपें ।

अलिकति संकोच र अलिकति अविश्वास मान्दै पिंढीमा बसे । केहि बोलेनन् । उनलाई हामीले ठट्टा गरेको नै लागेको हो कि ?

होइन हओ काका, केही बोल्नु हुन्न त ? खै त रिना ? अनि दाइ भाउजु कता गए ? साँच्चै तिर्खा लागेर पो मुखै फोरेको त ?रिना काकाकी नातिनी थिई । रोहित दाइकी छोरी ।

दोस्रो चोटी जिद्दि गरेपछि भने बुढा केहि भन्न बाध्य भए । साँच्चै पानी खाने र? गाउँ घर हो, अलि अफ्टेरो पर्ला कि ?

यसो भन्दै गर्दा रिना भरिएको गाग्रो बोकेर आँगनमै झुल्किई । रिनालाई देखेर मैले उसलाई आदेश दिए – ए रिना आइपुगिहाली त । लु पानी पनि लिएरै पो !  हाम्रो कुरा सुन्दै थिई कि क्या हो ? अब पानी दे हामीलाई । छोरी नै घरमा भए पछि त, चिया पनि खानैपरो । अब चिया नखाई गइदैन । त्यति बेर हामी गफगाफ गर्छौ ।

कुनै समय रिनालाई मैले विद्यालयमा पढाएको थिएँ । यस हिसाबले उसको शिक्षक थिएँ । मेरो आदेश नमान्नु उसको लागि असम्भव जस्तै थियो । उसले पिढीमै गाग्रो राखेर अभिवादनको औपचारिकता पूरा गरी । केही थप संकेत पाइन्छ कि भनेर हजुरबाका मूख तिर हेरी । हजुरबा यतिखेर निरपेक्ष देखिए । उसले भित्रबाट दुई वटा स्टिलका गिलास बोकेर आई र गाग्राको पानी सारेर हामीलाई दिई ।

आँतै सरर भिज्ने पहाडको जरुवाको पानी । है सर ? धन्न यी नानी आइन्, नत्र काकाले हामीलाई पानी  पनि नदिने हेनछन् ।  होम सरले पानी र नानी दुबैलाई एकै पटक बखाने । उनी तराई मै जन्मी हुर्की गरेको हुनाले पहाडको चिसो पानीको संधै प्रशंसा गर्छन् ।

“होइन अनि अझै ढुङ्गे धाराबाटै बोक्नुपर्छ?” गाउँमा खानेपानीको योजनाले घर घरमा धारा जडान गरिदिएको मलाई थाहा थियो । रिनाले गाग्रामा पानी लिएर आएको विषयप्रति म जिज्ञासु बनें ।

होइन सर, पिउनको लागि चैं ढुङ्गेधाराको नै ल्याउछौ । ढुङ्गेधाराको चिसो पानी सिधै पिउन मिल्छ । मीठो पनि छ । तताउनु पनि पर्दैन । धाराको पानी उमालिरहनु पर्छ । को दुःख गरोस ।” रीनाले ढुङ्गेधाराको पानीको मूल्य अभिवृद्धि गरिदिई ।

ढुङ्गेधारा नजिक भएकालाई त मोज छ है ! खानेपानी नजोडिदिएको भा पनि हुने रैछ ।  तिमेरु त डबल बेनिफिटमा पो देखियौ त !”  रिनालाई फुर्क्याउन खोजे । अलिकति आहारिस पनि देखाएँ ।  थपें- अब जाउँ,  चिया बनाऊ । चिया नखाई कता गईहाल्नु र ?

ऊ प्रतिउत्तर नगरी घर भित्र छिरी । साथमा पिंढीमा राखेको गाग्रो लिएरै गई । आँगनमा हामी तीन जना भयौं । गफगाफका लागि ।

काकाको संकोच हामीले पानी खाएर रिनालाई चियाको आदेश गरिसक्दा घटिसकेको थियो । मैले दाई भाउजुको बारेमा फेरि सोधें ।

काका अझै उदास देखिए। दाइको बारेमा भन्नु पर्ने नै भयो । यस्तै सोचे होलान् । केही क्षण रोकिएर भन्न लागे ।

-फेरि अर्को जागिर थालिरछ तिम्रा दाइले ।....

म गाउँमा छदै प्रहरी हवल्दारबाट अवकाश भएका रोहित दाइ । उनले के नयाँ जागिर शुरु गरेछन् त । कँही सेक्युरिटी गार्डको काम पो पाए कि !  मैले यस्तै केहि सम्झिएको थिएँ ।अनि थप जिज्ञासा राखें ।

कहाँ को जागिर हुनु नि नानि ! तारिक थाम्न गएको छ अदालत । त्यसलाई दशा लाग्या नि, ऊ बेलै । खुब दमाईको कोखमा जन्मेर भान्से बाहुनको जागिर खानु पर्ने !.....उनले क्रमशः बेलि विस्तार लगाउदै गए । हामी सुन्दै गयौं ।

एक जना पुलिसको ठूला हाकिमले रोहितलाई लाङ्ग्रीको काम गर्ने गरी लिएर गएका रहेछन् । बहुदल आए ताका । उनले नै प्रहरी व्यारेकमा आफ्नो नाम रोहित दर्जी नभन्नू,  रोहित दोर्जे भन्नू भनेर सिकाएका रहेछन् । बिचरा रोहित दाइले आफूलाई रोहित दोर्जे भन्दै चिनाएर नै जागिर शुरु गरेका रहेछन् । एक झुठ छिपाउन सय झुठ ढाट्नु पर्छ भनिन्छ । उनले प्रहरी किताबखानाको अभिलेख समेत रोहित दोर्जे नै लेखाएका रहेछन् । उसताका उनको नागरिकता पनि मागिएनछ वा पछि पेश गर्ने शर्तमा अभिलेख मात्र पठाइयो । त्यति खेरकै प्रहरी कर्मचारीहरुले जानून । यसै गरी देशभरी घुमी घुमी कयौ ठाउँमा जागिर खाएछन् रोहितले । बीचमा बढुवा पनि भए । १८ वर्षमा पेन्सन पाक्यो । पेन्सन पाकेपछि जागिर छोड्नलाई अवकाश पत्र बनाउदा नागरिकताको प्रमाण पत्र त पेश गर्नु पर्यो । नागरिकता जागिर खानुअघि नै बनाएको । प्रहरी किताबखानाको अभिलेखमा नाम मिल्दैन ।  के गर्ने ? के नगर्ने ? सोच्दा सोच्दै एक दिन आफ्नै नागरिकता ओल्टाइ पल्टाइ हेर्दै थिए । उपाय फुरिहाल्यो । नागरिकता हातले लेखिएको थियो दर्जीलाई मिल्दो मसीले का पछाडि ओकार थपिदिए । ऊ बेलाको हाकिमले सिकाएको जस्तै नाम त भैहाल्यो । तर प्रहरी अभिलेखमा त थर पनि थियो । के फरक पर्छ र, नागरिकतामा नामको पछाडि अझै ठाउँ छदै थियो । थर पनि थपिदिए लामा । उसले आफ्नो बाबुको नाम पनि त्यसै गरी मिलाइदिए । अरु त के थियो र नागरिकता अभिलेख बमोजिम भैहाल्यो । पेन्सन पाकिसकेको थियो । अब पेन्सन पट्टा बनाउन त हो, यही सम्झिएर अन्तिम ढाँट उनले राम्रैसँग ढाँटे । उसको पेन्सन पट्टा बन्यो । पट्टा बमोजिमको बैंक खाता खुल्यो ।

जागिर छोड्दा संचय कोष, बिरामी बिदा आदि बापत प्राप्त भएको केही रकम उनको साथमा थियो । त्यसबाट मधेशमा एक टुक्रा घडेरी जोड्नु पर्ला भन्ने सोचेर उनले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिने बिचार गरे । पहिलाको नागरिकता त बिग्रिसकेको थियो । उनले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिए । प्रतिलिपिमा नाम सही सलामत थियो । नयाँ प्रतिलिपि प्राप्त भए पछि उनले बिग्रएको पुरानो च्यातिदिएको भए हुन्थ्यो । ढाँटेकै ठाँउमा सही, कुनै दिन काम लाग्ला कि- यस्तै सोचेर दुवै नागरिकता जतन गरेर राखे ।

एक दिन समय यस्तो आयो। कतैबाट प्रहरीमा झोस पोल पर्यो । नजिकका साथी भाइ, परिवार भित्रकै सदस्य वा अन्य को हुन सक्ला र यसको लागि जिम्मेवार ? यो अलग कुरा भयो । प्रहरीले अचानक घर खानतलास गर्दा दुबै नागरिकता एकै ठाउँमा भेटियो । जतनले राखेको ।त्ससपछि मुद्दा चल्यो - नागरिकतामा विवरण थपघट गरेको भनेर । अहिले जिल्ला अदालतमा त्यसैको तारिखमा गएका रहेछन् रोहित दाइ । तुलबहादुर काकाले भनेको रोहितको कहानी यही थियो ।

रीनाले चिया ल्याई । सबैले चुपचाप चिया पियौं । आफ्नो बाबालाई मुद्दा चलाएकोमा रिना असन्तुष्ट देखिन्थी । भन्दैथी – बीस वर्ष त्यहीं कति दुःख गर्नु भो बाबाले, अहिले आएर त्यही प्रहरीले अर्को दुःख दियो । बाबाले आफ्नो नाम नढाटेको भए भान्सेको जागिर दिन्थे त ?  समाजले मान्छे मान्छेमा विभेद गर्ने, राज्यले त्यसलाई रोक्न नसक्ने, विभेद गर्नेलाई कुनै कारबाही नहुने । जो होचो उसको मुखमा घोचो !”

नाम जे भने पनि लेख्ने बेलामा सही नाम नै लेखाएको भा भैहाल्थ्यो नि, दुःख त पाइदैन थ्यो ?” होम सरले रीनालाई सोधी टोपले ।

मेरो छोराको तेत्रो बुद्धि थियो भने लाङ्ग्रीको जागिर खानु पर्थ्यो होला त नानी?  रीनाको सट्टा तुलबहादुर काकाले हामीलाई प्रतिप्रश्न गरे । फेरि प्रहरीले आफ्नो छातिमा नाम टाँसेर हिड्नुपर्छ । रोहीत दर्जी लेखेको बर्दी लगाएपछि कुन पुलिसले भात खाइदिन्थ्यो ?

रीनाले गाँउकै स्कूलबाट प्लसटु पास गरेकी थिई । बाठी थिई, अनि बाचाल पनि । भन्दै थिई । “लौ सरकारी कागजात सच्याउनु, थपघट गर्नु त अपराध नै भयो अरे, त्यसो गरेका कारणले समाजलाई, राज्यलाई के कति क्षति भयो वा फाइदा पुग्यो त्यसको लेखाजोखा गर्नुपर्दैन ? हामीलाई वर्षौदेखि अछुत, पानीसम्म पनि नचल्ने भनेर राज्य समेत लागेर विभेद गरेको छ । समाजले बहिस्कार गरेको छ । त्यसैबाट उम्किनलाई एउटा सानो प्रयास त गरेकोहो नि बाबाले । यसबाट राज्याई के क्षति भयो त ? समाज वा कुनै व्यक्तिलाई के हानी गर्यो त ? राज्यलाई गरेको बीस वर्षे सेवाको पुरस्कार बाबाले थाप्दै हुनुहुन्छ अहिले

रीनाले उठाएको गम्भीर सवाल सुनेर मैले प्रसङ्ग मोडें, तैले पढाइ कहाँ पुर्याइस, नानि?

-          धरानमा बी ए एलएल बी पढ्दैछु सर । अहिले तेस्रो वर्ष हो

मलाई रीनाको पढाइ देखेर औधी खुसी लाग्यो। भनें- स्याबास ।साह्रै ठीक पढाइ पढ्दै रहेछौ । मेहेनत गर्न नछोड्नू ।  

चिया खाइसकिएको थियो । रोहितको विषयमा अझै गफ त गर्ने मन थियो । मोटामोटी थाहा भने पाइएको थियो ।  हामीलाई घर तिर झर्नु पनि छदैथियो । रीनाले अपराधलाई व्याख्या गरेको फरक तरिका मेरो मानस्पटलमा घुमिरह्यो । यही विषयमा सोच्दै हामी काका र रिनासँग बिदा भई घर तिर लाग्यौं ।

राज्यले गर्नु भनेको नगर्ने र नगर्नु भनेको गर्ने कार्य नै अपराध हो भनेर कति पढियो ।  कानूनमा उल्लेख गरेका अपराधका धेरै सूचि हुन सक्लान । तर कुनै कार्यले समाजलाई, व्यक्तिलाई र राज्यलाई कुनै किसिमको हानी गर्दैन । उल्टो फाइदा नै पुग्छ भने त्यस्तो  अपराधलाई राज्यले किन अपराधको सूचिमा राख्ने त ? यसमा राज्यको विवेक देखिन्छ त ?  विवेक असम्मत कानूनको के उपचार छ? रोहित दाइको सवालले त्यस दिन एउटा गम्भीर प्रश्न खडा गरिदियो ।

धेरै पछि दशैंमा घर जाँदा थाहा भयो । अदालतले सामान्य जरिवाना, तर उनले खाइपाइ आएको पेन्सन पनि नपाउने गरी रोहितको मुद्दा फैसला गरेछ ।

 

No comments: