Sunday, July 16, 2023

कथा म र मेरो बालसखा

 


म र मेरो बालसखा

 

कदमका रुखमा बसेर श्रीकृष्ण भगवानले बाँसुरी बजाउँदा गाईहरू ठाडा ठाडा कान बनाउथें । कतिपय गाई त चर्नै बिर्सिएर एकोहोरो हुन्थे र त्यो बाँसुरीको धुनले गोपिनीहरू लट्ठै पर्थे । अझ राधा त बाँसुरीको धुनले तानिदै तानिदै कृष्णजिको अङ्गालो मै बेरिन आइपुग्थिन । उनी भन्थिन- तिमीले फुकेको बाँसुरी त मेरो ओठ नै जस्तो लाग्यो । सुन त कृष्ण ! त्यो धुनमा मै त बजिरेहेकी छु । कृष्णलीलाको यस्ता अनेकन् अद्भुत र तिलस्मी कथा सुन्दा म आँफूलाई नै श्रीकृष्ण सम्झन्थें र अमलाको रुखमा चढेर झन् झन् जोडले बाँसुरी बजाउथें । गोठाला जाँदा जाँदै सानैदेखि मैले बासुरी बजाउन जानेको थिएँ ।  

बाल्यकालमा गाई र बाख्राहरू चराउने क्रममा शीतलमा बसेर आमाका मुखबाट यस्ता कथा सुन्दा सुन्दा मलाई आफू पनि ब्रतबन्ध पश्चात विद्या आर्जनका निमित्त वृन्दाबन जाने भूत सवार भएको थियो, जसरी कृष्ण र बलरामलाई गोकुलबाट विद्या आर्जनका निमित्त वृन्दाबन पठाइएको थियो । स्कूल छुट्टीका दिन खेत खलियानमा गाई बस्तु चराउने, खेति पातिको काममा बा आमालाई सघाउने नै हाम्रो दिनचर्या थियो ।

यस्तैमा एक दिन मेरो ब्रतबन्ध गर्ने दिन पनि आयो र आमाले सुनाएको कथामा झैं म पनि विद्याध्ययनका लागि जाने भएँ । पढिरेहको गाउँको विद्यालयलाई छोडेर । कथामा श्री कृष्ण र बलरामलाई गोकुलबाट वृन्दाबन पठाइएको थियो तर म भने नजिकैको मन्दिरको गुरुकुलमा बसी संस्कृत  शिक्षा  पढ्ने भएँ । मेरा लागि यो नै प्रारम्भिक वृन्दाबन थियो । कनकाइ नदीको पश्चिम पट्टि रहेको कृष्ण मन्दिरको गुरुकूल नै मेरो लागि वृन्दाबन थियो जहाँ रहेर मैले श्रीमद्भागवतगीता, विष्णु सहश्रनामस्तोत्र, सप्तसति चण्डि, रूद्री लगायत धार्मिक किताबहरू पढ्न सिक्दथे । मन्दिर र गुरुकूलमा स्थापित नियमहरू बाहिर भन्दा केही अलग र हाम्रो परिवारमा गरिने अभ्याससँग केही मिल्दा जुल्दा पनि थिए । विहानको नित्य कर्म पश्चात गुरु आउनु हुन्थ्यो । हामी सबै विद्यार्थीहरूको लागि एक एक नयाँ पाठ प्रदान गर्नु हुन्थ्यो । हामी अघिल्लो दिन आफूलाई दिइएको पाठ गुरूलाई सुनाउथ्यौं । त्यो  त्यहाँको सिकाइ परम्परा थियो ।   

दिउसो फुर्सतमा आश्रमका गाईहरू लिएर हामी खोला किनारमा चराउन जान्थ्यौं । गाईहरू काँस र दुबोको हरियो चौरमा दाह्रा दलेर चर्न थाल्थे भने हामीहरू कन्काई नदीमा थकाइ लागुन्जेल पौडी खेल्ने गर्थ्यौ । थकाई मार्न छेउका ढुङ्गामा, चौर तथा पीपलका वृक्षमुनी सुस्ताउने गर्थ्यौ । बाल्यकालको यो दिनचर्या र बालक्रिडा अहिलेको व्यस्त जीवनमा कति अपेक्षित सँगसँगै  कति दुर्लभ छ – अहिले सोच्ने गर्छु । पहाडलाई छेडेर तराई झरेको माई नदीले दोमुखामा तराई टेक्ने बित्तिकै नयाँ नाम पाइहाल्छ –कनकाईको रुपमा । चुरे पहाडको हरियो बनलाई छिचोलेर बगेकी माई भगवती नै हाम्रो लागि आमाले कथा गर्नु भएको गंगा थिइन् जो ऋषिकेषमा आइपुगेपछि आफ्नो बेग थामेर सुस्तसँग बग्ने गर्छिन् । त्यही माई भगवतीको चरणमा विभिन्न बाल सखाहरूसँग खेल्दै र उफ्रदै मेरो प्रारम्भिक विद्याध्ययनको कार्य सम्पन्न भएको थियो ।

यस्तैमा एक दिन पहाडबाट एक जना भाइ मेरै जस्तो उद्देश्य बोकेर मन्दिरमा आइपुग्यो । उसको नाम बलराम रहेछ । हामी कृष्ण र बलराम दाजुभाइ भयौ । कृष्णकै कथामा जस्तो । फरक कति भने कथामा कृष्ण भाइ र बलराम दाइ थिए । यहाँ त्यसको ठिक बिपरित, साथमा गोपिनीहरू पनि थिएनन् । राधा त अझ परको कुरा । जे जस्तो भए पनि म भने आमाले सानोमा सुनाएको कृष्णलीलाको कृष्ण नै आफूलाई सम्झन्थें । त्यसै गरी गाई चराउन जान्थें । त्यसै गरी बाँसुरी बजाउँथें । त्यसै गरी नदी किनारामा खेल्थें । त्यसै गरी पौडी खेल्थें । हुँदा हुँदा कथाकै जस्तो अब बलराम पनि आइपुगेको थियो- मेरो बालापनलाई साथ दिन ।

बलराम आए पछि मेरो हैसियत बढेको थियो । उसले मलाई दाजु भन्थ्यो । उसलाई मैले त्यस स्थानमा अभिभावकत्व प्रदान गर्नु पर्थ्यो । गुरुकुलको काइदा कानूनबारे सम्झाउने, विहान उठेर गर्ने नित्य कर्मदेखि पाठ पूजा गर्दा, खाना खाँदा, पढ्दा र सन्ध्या आरति लगायत काममा गर्नु पर्ने आचरण अनुशासनका कुराहरू सम्झाउने सिकाउने जिम्मा गुरूहरूले मलाई नै सुम्पिनु भएको थियो । बलराम एक प्रकारले मेरो भाइ तथा साथी दुबै थियो भने उ मलाई दाइ, साथी र गुरु समेतको नजरले हेर्ने गर्थ्यो । केटो मेधावी र तीक्ष्ण बुद्धिको थियो । कहिले काही त गुरुले दिएको  पाठ अधाघण्टामै कण्ठ पारिहाल्थ्यो र मसँग गुनासो गर्थ्यो । दिनमा यति थोरै पढेर कहिले यत्रा यत्रा किताबहरू पार लगाउनु भनेर । कति पटक मैल नै गुरुलाई भनेर एकै दिनमा दुई चोटि पाठ दिन लगाएकोछु । अन्य विद्यार्थीहरूलाई दिने पाठको तुलनामा उसलाई पाँचदेखि दश गुणासम्म पनि बढी चाहिन्थ्यो । उसमा जे कुरा पनि अति चाँडै कण्ठ पार्ने क्षमता थियो भने अक्षरहरू पनि असाध्यै राम्रा थिए ।

बलराम आएको एक सप्ताह जति बितेपछि अर्को सप्ताहन्तमा एकादशी तिथि थियो । गुरु तथा मन्दिरका मठाधीष लगायत ठूला मान्छेहरूले आगामी एकादशीमा नयाँ अगमन भएका बटुकहरूको लागि वैष्णब दीक्षा प्रदान गर्ने भनेर घोषणा गरे । यो थाहा पाए पछि जिज्ञासु बलरामले यस बारेमा थप जान्न चाहेको थियो । सुत्ने बेलामा झुल हाल्दै गर्दा बैष्णब दीक्षाको बारेमा बलरामले मसँग सोधेको थियो । मैले उसको प्रश्नलाई अति स्वभाविक भन्ठानेर पूजा आजा हुन्छ, अनि दिक्षाको क्रममा बटुकको पाखुरामा शङ्ख चक्रको छाप लगाइन्छ भन्ने कुरा बताएको थिएँ । उसले थप जिज्ञासा राखेपछि मैले शङ्ख चक्र कुदिएको सुनको पाताले पाखुरामा डामेर छाप बनाइन्छ समेत भनेको थिएँ । यसो भन्दा केटो अध्याँरो भएको थियो । पोल्दैन ? भनेर सोधेको थियो ।  मैले त्यस्तो केही हुँदैन, डराउनु पर्दैन भनेर ढाडस समेत दिएको थिएँ ।

भोलिपल्ट बिहानका राति बलराम आफ्नो कापीमा खे के के कुरा लेखिरहेको थियो । मैले भने थाहा नपाए जस्तो गरें । उसले एक दुई पाना लेखेर कापीको पाना छुट्यायो र पट्याएर गीताको किताब भित्र हाल्यो । यति गरिसकेपछि उ सुरुक्क ओछ्यानमा छिरेर सुत्यो । उ निदाउन नसकेर छटपटाएको देखिन्थ्यो ।बलराम सुतेपछि शौचालय जानको लागि म बाहिर निस्किएँ  । रात अझै केही बाँकी नै थियो । आकाशमा बादलले ढाकेर जुनको धमीलो प्रकाश मात्र आएको थियो । टाढा कतै मेघको गर्जना सुनिदैथियो । लाग्यो - केही दिनमा वर्षा हुनेछ । 

बिहान उठेपछि पनि बलरामले आफूलाई स्वभाविक देखाउने असफल प्रयास गरिरह्यो । उसले जेनतेन नित्य कर्म सिध्यायो । सन्ध्या, समवेत विष्णुसहश्रनामस्तोत्र गायन तथा रामानुज गायन र बेदपाठमा समेत उसले सानो स्वरमा जेनतेन मात्र साथ दियो । जे होस, केटोमा सँधै जस्तो उत्साह छदै थिएन । यो कुरा मैले मात्र थाहा पाए कि ?

गुरुलाई पाठ बुझाए पछि उसले नयाँ पाठ पनि थोरै मात्र लियो । सँधै जसो गाई लिएर खोला किनारमा जाने साथीहरूलाई समेत वास्ता गरेन । खाना खाए पछि उसले मसँग आफू हुलाक गएर आउछु भन्यो । मैले हुलाक त सुरुङ्गामा मात्र छ, गाडी चढेर जानुपर्छ भनेको थिएँ । ऊ मेरो कुरा राम्रो सुन्दै नसुनी बाहिर निस्कियो ।

मन्दिरबाट बाहिर निस्किए पछि ऊ दिनभरी हरायो । हुलाक जान्छु भनी हिडेको केटो  दिनभरी नआउँदा मलाई झन तनाब थपियो । मन्दिरका गुरुहरू तथा साथी भाइ सबै आत्तिने अवस्था भयो । उसको गीताको किताबमा राती लेखेर पट्याएर राखेको पत्र फेला पर्यो । पत्र फेला परेपछि ममा सिमित भएको तनाब सबैको सामूहिक बन्यो । त्यो पत्र सबैले पढ्यौ -

आदरणीय बुबा तथा आमा,  साष्टाङग ढोग । म यहाँ सञ्चै छु हजुरहरू पनि सञ्चै हुनुहुन्छ भन्ने आशा राखेको छु । खासमा म यहाँ जे पढ्न भनेर आएको थिएँ, मेरो जस्तो किसिमको अपेक्षा थियो त्यस्तो पढाइ त यहाँ दशांश पनि हुदैन ।  म त घर नै आँउछु ।  गाई भैंसी चराएर र बा आमालाई सघाउदै भए पनि अरुले पढेको विद्या नै पढ्छु ।  दैनिक सातवटा किताबका सातवटा पाठ पढ्ने मान्छेलाई यहाँ दुई श्लोक कण्ठ पार्न दिन्छन् र गाई हेर्न पठाउँछन् । यहाँ बसेर त म पण्डित होइन हली, गोठालो हुन्छु होला । ... ... ....” 

पत्रमा अरु पनि गन्थन मन्थन धेरै लेखेको थियो । सबै कुरा सम्झन पनि सकिएन । तर आफूले लेखिसकेको चिठी नलिई कन ऊ किन हुलाक गयो त ? के यो चिट्ठी पठाउनलाई भन्दा पनि हामीलाई संकेत गर्न मात्र लेखिएको थियो त ? यो जिज्ञासा पनि सबैको मनमा रह्यो । के यो चिट्ठी मन्दिर प्रतिको वितृष्णा थियो ? गुरुकुल प्रतिको असन्तुष्टि थियो ? अर्थात उसको अपेक्षा अनुरुपको पढाई गुरुकूलमा थिएन त ? यी प्रश्नहरूले मन्दिरका मठाधिष र आश्रमका गुरुहरू सबैलाई एकपटक सोचमग्न बनायो ।

बैष्णब दीक्षा प्रदान गर्ने प्रक्रियाको बारेमा उसले राखेको जिज्ञासा र मैले भनेको प्रत्युत्तरका सम्बन्धमा कसैलाई भन्नु मलाई उपयुक्त लागेन । किनकि यसो भनेकोमा मलाई ठूला मान्छेहरूले गाली गर्छन भन्ने लाग्यो । मलाई थाहा थियो-  सुनौलो शंख चक्रको तातो डाम पाखुरामा पर्नु भन्दा अघि ऊ उम्कन खोज्दै थियो । आफूलाई आइपर्ने सम्भावित दुर्घटनासँग ऊ जोगिन खोज्दै थियो ।

साँझमा सिमसिम पानी पर्न थाले पछि भिज्दै बलराम मन्दिरमा प्रवेश गर्यो । एक किसिमले बलरामलाई देखेपछि सबै हर्षित बने । सबै भन्दा खुसी त्यो मन्दिरमा म नै भएँ भन्दा फरक पर्दैन । उसले लेखेको चिट्ठी, हुलाक जान्छु भनेर दिनभरी हराएको प्रसङ्ग, सबै कुराहरू उसलाई सोधियो । गुरुहरूले पनि सोधे । ऊ मरिगए बोले पो ! आँखाभरी आँशु पारेर पिल पिल गरिरह्यो । बेलुकाको खाना पनि जुठो मात्र लगाएर छोड्यो ।

सुत्ने बेलामा उसले मलाई आफू घर जान चाहेको कुरा बतायो । जसरी पनि घर पठाइदिनू भनेर फेरि पिलपिलायो । मैले पनि उसलाई आश्वासन दिएँ । भोली पल्ट आश्रमका गुरुहरूलाई भने पछि उसको घरमा सम्पर्क भयो । उसलाई घरसम्म पुर्याइदिने भनेर हामीले एकजना आफन्तको जिम्मा लगायौं ।

आमाले म सानो  छदाँ भनेको कथामा श्रीकृष्णलाई बलरामले महाभारत युद्धको विषयमा मतान्तर भएकाले साथ दिएनन् र आफ्नो आफ्नो बाटो लागे । कृष्ण युद्धमा व्यस्त भए, बलराम आफ्नै राज्यमा राजकाज गर्न व्यस्त बने । भन्नु भएको थियो । मेरो जीवनमा भेटिएका बलराम मेरै कारणले आफ्नो लक्ष्य नै छोडेर अर्कैतर्फ लाग्यो । उसले पनि आफू भित्रको स्वधर्म मर्न दिएन नै होला, महाभारतको बलरामले जस्तै । त्यसपछि मैले पनि आफ्नै खालको युद्ध लडिरहें । महाभारतमा कृष्णका पक्षले जितेको भन्ने प्रष्ट घोषणा गरे जस्तो त्यो युद्ध मैले वा मेरा पक्षले जितेको हो वा हारेको हो अझैसम्म छुट्याउन सकेको छैन । बलरामले यसपछि के कस्तो शिक्षा लियो ? आधुनिक शिक्षा पढेर के कति प्रगति गर्यो वा गरेन ? मेरो भाइ बलराम अहिले कहाँ के गर्दै होला ? मेरो मनमा यी प्रश्नहरूले राम्रैसँग डेरा जमाएका छन् ।    

 

        

No comments: