Monday, May 31, 2021

कथाः भोग

कथाः भोग

-ऋषि शान्तिप्रिय


जेठको महिना । सत्र ठाँउमा हिलो बाटोमा मोटर साइकलमा पछारिदै  र उठ्दै  अफिस पुगेको थिएँ । माई नगरपालिका वडा नं. ७ को कार्यालयमा काम गर्न थालेको करीब तीन वर्ष भैसकेको थियो । भिजेका लुगा तथा गमबुटहरु धोइपखाली गरेर अफिसमै राखेका लुगा फेरेर बस्दै मात्र थिएँ । एक जना करीब ८० वर्षका मान्छेले कार्यालय प्रवेशसँगै लामो सुस्केरा हाले । बुढो शरीरलाई लट्ठीमा अड्याउँदै, मुसो झैं भिजेर, थरथर काम्दै कार्यालयमा आइपुगेकका रहेछन् ।  सोधें- "हजुरको के काम थियो ?"

-"......... मृत्यु दर्ता गर्नु थियो ।" अझै पिलपिलाउदो अनुहार लगाएर उनले आफ्नो कुरा भने । शुरुमा भनेको केही वाक्यांश बुझिन । बलेंसीको धररर... आवाजले छेकेको थियो उनको शब्द।

 मलाई लाग्यो- धेरै नै प्रेम गरिएको कोही थियो उनको । त्यस्ता मान्छेको मृत्यु दर्ता आँफैले गर्नु पर्ने बाध्यता पर्दा त्यसको मानसिकता के हुन्छ भन्ने कुराहरुको अध्ययन मैले यस अघि पनि धेरै नै गरिसकेको थिएँ । मैले यस वडा कार्यालयमा वडा सचिबको जिम्मेवारी सम्हालेपछि आर्जन गरेको अनुभव त्यही हो । भन्नलाई घटना दर्ता भनिन्छ । तर अरु घटना जस्तो होइन मृत्यु दर्ता ।आफ्नो आँखा भित्र लुकाउनु पर्ने मानिसको लागि अन्तिम अग्नी हो मृत्यु दर्ता ।जीवित आफन्तको कानूनी दागबत्ती हो मृत्यु दर्ता । दुखद मृत्यूलाई  र मृतकको बियोगलाई कानूनी रुपमा स्वीकार्न बाध्य गराउँछ मृत्यू दर्ताले ।

आगन्तुकको मनस्थिति बुझेपछि उनी झरी बन्नु अघि नै मैले अनुसुची फाराम निकाले र भरिदिन थालें । लेख्दै गएँ -  सूचकको नाम, मृतकको नाम, स्थायी ठेगाना, उमेर, मृत्यूको कारण.....

एउटा अनुसुची फारम भरिसक्दा थाहा भयो-  ती आगन्तुक त उनकी १४ वर्षकी नातिनीको मृत्यु दर्ता गर्न आएका रहेछन् । उनले अर्को पनि सुचना फारम भर्नु पर्ने बताए । त्यो पनि भरिदिएँ । दोस्रो सूचना फाराम थियो उनकै १५ वर्षिया अर्की नातिनीको । अनि फेरि तेस्रो फाराम भरिदिएँ उनको १७ वर्षका नातीको । एकै मितिमा खोलाले बगाएर मृत्यु भएका तीन जना सन्तानलाई कानूनी दागबत्ती दिन बुढाले ढुङ्गाको मुटु बनाएर मकहाँ आएका रहेछन् ।  आगन्तुक भन्दा अघि नै मेरो आँखा रसाइसकेका थिए । उनी तिर टाउको उठाएर हेर्न सकिन । के उनी मसँग सँगै रोइरहेका थिएनन् होला त  ? के उनका आँखा जीवन भर कहिल्यै ओभाउलान ?  मुटु मिचेर तीनवटा अनुसुची फारम भरिदिएँ ।  घटनाबारे मलाई थप जिज्ञासा भयो । केही भन्नको लगि उनलाई आग्रह गरें ।  पहिला त 'त्यो कालो दिनको बज्र प्रहारलाई कसरी भन्न सक्छु  ? बरु यसलाई कुनै तरिकाले बिर्सन पाए पनि हुन्थ्योभनेर आँशु पुछ्दै सुकसुकाइरहे ।  मैले  दुःख बाँड्दा  मन हलुका हुन्छ भन्दै धेरै नै जिद्दी गरेपछि त्यो दिनको कहानी छोटकरीमा भन्न बुढाबाबै राजी भए ।

उनी जन्मनु भन्दा अघि नै उनका बाबु मरेका रहेछन ।आमाले पनि उनको जन्मको बदला आफ्नो शरीर नै यमराजलाई अर्पण गरेकी रहिछन् । उनी काकीको दुध खाएर हुर्किएका रहेछन् । उनी भन्दा १ महिना जेठो दाजु छ काकाको छोरो । बाबुआमा नभए पछि आफ्नो छोरालाई झैं समान व्यवहार गर्न सकेनन् काका काकीले ।त्यस माथि पोलियोले गर्दा उनका खुट्टाहरु पनि लुला थिए । धेरै काम गर्न नसक्ने थिए । २०१२ साल तिर एक दिन काका र गाउँका अरु धेरै मान्छेसँग साथ लागेर शन्सरे बजार नुन बोक्न झरेका उनी अहिलेसम्म जन्मभुमि जितपुर तिर फर्केका छैनन् रे । त्यतिखेर त्यस्तै १५ वर्ष जतिका थिए । खोरिया फाँड्नेहरुको जमातमा लागेर आफ्नो भाग अलिकति फाँडेर त्यतै घरजम गरेका रहेछन् । अलिकति खेत बिराएर र केही बारी समेत थप गरी एउटा परिवार पालिन पुग्ने जग्गा जमिन कमाएर गुजारा गर्दै आएका रहेछन् । छोरा बुहारी र नाति नातिनाको धनी भएर मन भरी सुखै सुख लिएर सन्तोषको जीवन बाँच्न थालेका रहेछन् ।

यसै बिचमा तीनबर्ष अघि एउटा बज्रपात भयो उनको जीवनमा । उनका छोरा र बुहारीलाई त्यही माई खोलाले निल्यो । साउने सङ्क्रान्तिको लागि किनमेल गर्न शुक्रबारे बजार जाँदा डुङ्गा दुर्घटनाले उनको ढकमक्क फुलेको फुलको पत्रबाट सुन्दर दुई पत्र चुँडालिदियो । उनी साह्रै शोकमा परे । नपरुन पनि किन ? संसारमा आफ्नै छोराको अर्थी उठाउनुको दुःख कसैले कल्पना गर्न सक्ने भन्दा ठूलो दुःख हो । आफूलाई जसो तसो सम्हालेर छोराको नासो नाती नातिनाको जिम्मा लिई मन बुझाएर बसेका रहेछन ।

"बाबुआमा बितेको तीन वर्ष पनि नबित्दै हुर्किसकेका नाती र नातिनीहरुलाई त्यही खोलाले बगायो । आँखै अगाडि उनीहरु भेलमा पसे । कति खोजियो, लाससम्म फेला पार्न सकिएन......." त्यसपछिको कष्टकर कहानीलाई बुढाले एकै सासमा भने र लामो सुस्केरा हाले । उनका आँखाको भेलले उनको दुःखलाई कसै गर्दा बगाउन सक्दैन । उनको कहानी सुनेर मलाई लाग्यो, दैब भन्ने न्यायकर्ता छ र कतै ? या त छैन, या त त्यो न्यायकर्ता नभई अन्यायकर्ता र पीडक हो । नत्र किन एकै व्यक्तिको जीवनमा पीडा माथि पीडा थपिदिन्छ ? कति परीक्षा लिन्छ एउटा अपाङ्ग बेसाहाराको ?

उनी अरु थप भन्दैथिए । "त्यही खोलाले मेरो छोरा बुहारी खायो, नाती नातिनी खायो । अनि मलाई चै किन खाँदैन ? खान्थ्यो पनि होला, म त्यही खोलामा फाल हाल्न सक्दिन ।अहिले सर्खारले पुल हालिदियो, मोटर चल्ने...

... कन्काइ हाइस्कूलको कक्षा १२ मा पढ्थ्यो नाती । साह्रै जाति थियो । आफ्नो बाबुआमा बितेपछि घरको सबै जिम्मा लिई बसेको थियो । बहिनीहरु त्यही स्कूलमा १० र ९ कक्षामा पढ्दै थिए । साह्रै माया गर्थ्यो बहिनीहरुलाई पनि

 । स्कूल हिडेंका त्यस्ता लाउँलाउँ र खाउँखाउँ उमेरका नानीहरुको भोग खायो यो पुलले ।"

त्यसो त माई खोलाले वर्षैपिच्छे महमाईका मानिसहरु निल्थ्यो । वर्खा लागे पछि महमाई एउटा टापुमा परिणत हुन्थ्यो । उत्तर, पुर्व र दक्षिण तिर माईको छेको हुन्थ्यो । तर्नलाई कसैको पिताम् चल्दैनथ्यो । पश्चिम तिरको झोडाको बाटोमा सयौं खहरेहरुले छेक्थे । कि त प्राणको बाजी थापेर पारी जानु पर्थ्यो कि त चुपचाप आफूसँग जे छ, त्यसैमा सन्तोष मानेर बस्नु पर्थ्यो, हलचल नगरी । उनले आफ्नो कथा सकेसम्म छोटकरीमा सुनाएर हिक्क हिक्क गर्दै रुन थाले । मैले आजभन्दा २० वर्ष अघिको आँफैले भोगेको कथा सम्झिएँ ।

****

कलकत्तेबाट फर्किदा खेरि माई खोलामा केही पानी बढेको जस्तो देखिएको थियो। हिजो पानी कम्मर कम्मरसम्म मात्र थियो । यति पानी भनेको दानाबारी तथा महमाईका मान्छेका लागि अति साधारण कुरा हो । तर हिजोको एकै भङ्गालो भई बगेको पानी आज दुई ठाउँबाट बगिरहेको देखिएको थियो । मनमा लाग्यो - 'पहाड तिर अलिअलि पानी परेछ ।पानीमा टेक्न पनि डराउने मान्छे थिएँ । दानाबारीको बसाईले मलाई पानी देखि नडराउने बनाइसकेको थियो ।  खोलामा पस्ने बेलामा अरु पनि मान्छे बिस्नेटार तिरबाट आएको देखेर थप आश्वस्त पनि भएको थिएँ -  खोला तर्न सकिएला भनेर ।

पहिलो जङ्घार मेरो लागि नौलो थियो । हिजोको बगरमा पानीले आज धेरैजसो अड्डा जमाइसकेको थियो । पानीको बहाब बिचार गरेर खुट्टाले नै जमिनको सतह थाहा पाई सन्तुलित भई हिडेमात्र पारी पुग्न सकिन्छ । खोला तर्ने  सिद्धान्तको यस विषयमा म जस्तो दुई चार दिन दानाबारी बसेर सिक्नेहरुका लागि ठूलै कुरा हुन्थ्यो । मेरा लागि पहिलो जङ्घार नै निकै चुनौतिपुर्ण भएको थियो । साँच्चै नै जङ्घार तर्नु थियो, तिघ्रा कमाउनु थिएन । मनोबल सकेसम्म दह्रो बनाएर पाइला चालें । पहाड मधेश गरिरहने काकाका छोराहरुले माई खोलो तरेका विभिन्न कथाहरु सुनाएका थिए । तिनै कथाहरुको सम्झना गरें । साउनका भेलमा समेत खोलो तरेको साहासिक कथाहरु सम्झेर आफूलाई कमजोर हुन पटक्कै दिइन । आजको दिन साउन पनि थिएन । यो त बैसाखको अन्तिम तिर थियो । बैसाखको मध्य दिनको धुपमा पानी खेल्ने ठाउँको कथा थियो यो । 

खुट्टाले बालुवा सरर बगिरहेको अनुभब गरिरहेको थियो । जमिन पनि अलि कति कमजोर नै थियो । टेकेको ठाउँको बालुवा पानीले तुरुन्तै बगाइहाल्ने भएकोले तुरून्तै पाइला चालि हाल्नु पर्थ्यो नत्र लडिने डर हुन्थ्यो ।  पानीको सतह क्रमशः बढीरहेको थियो । पानीको धार पनि पहिला भन्दा अलि धेरै नै थियो । नत्र चण्डालघाटमा आइपुग्दासम्म माइखोला निक्कै नै लोतो गरी बग्न थालिहाल्नु पर्ने हो । यसै खोलाको माथिल्ला जङ्घारहरु सिस्ने, घण्टे, निर्फुक, बेलासीहरुमा पानी निक्कै नै बेगले बग्ने गर्छ । त्यसैले त्यहाँ खोला तर्न निक्कै नै जमेर बगेको ठाउँ खोज्नु पर्छ । तर यहाँ जङ्घार खोज्न त्यति धेरै मिहिनेत गर्नु पर्दैन थियो ।  तर आज के भइरहेछ ?

पहिलो जङ्घारमा करीब एक सय मिटर तल पुगेर पारी उत्रिएँ । एउटा फराकिलो सडक जत्ति नै ठाँउ छोडेर दोस्रो जङ्घार शुरु हुन्थ्यो । मेरो मूल सातो त्यही पहिलो जङ्घारले लगिसकेको थियो । दुईपट्टि खोला बिचको टापुमा म एक्लो यात्री उभिएको थिएँ । अघि देखिएका बिस्नेटार तिरका युवा साथीहरुलाई हेरें । उनीहरु बगरबाट बिस्नेटार तिरै फर्किरहेका देखिए । के उनीहरु खोलो कति बढेछ भनी हेर्न मात्र आएका थिए ? कदाचित् तिनीहरुमा खोलो तर्न आँट पुगेन होला त ? खोलो तर्ने साथीहरु पनि छैनन् भनेर पूर्ण रुपमा पुष्टि भयो । मेरा लागि नितान्त एक्लै माईखोलासँग युद्ध गरेर पारी जानु पर्ने भन्ने संकेत पनि थियो यो । हुनत हिजो आफ्नै खुट्टाले हिडेर तरेको जङ्घार थियो त्यो । त्यही सोचेर आफूलाई थप तयार पार्दै लगें । हिजो कम्मरसम्म आएको पानी आज अर्को जङ्घारबाट पनि बगेको छ । त्यसैले सोचें- कति बढी नै पो होला र ? त्यसपछि दोस्रो जङ्घार तर्नलाई पाइला अघि बढाएँ ।  पानीमा पसें ।

 पहिलो जङ्घार करीब १० मिटर चौडाइको थियो होला । दोस्रोलाई किनारबाट नियाल्दा यसको चार गुणा  देखिन्थ्यो । किनारमा बसेर गरेको अन्दाज थियो त्यो । करीब मध्यतिर पुगेर  पछाडि फर्किएर किनार नियालें । तर्दै गरेको खोलो समुद्र जस्तो देखियो । पानीले छातिमात्र छोएको थियो ।  त्यसो त अघि नै घाँटीसम्म आउने पानीसँग परिचय भैसकेको थियो । बहाबलाई काट्दै दक्षिण तिर फर्किएर अलि अलि पुर्ब तिर छड्किदै थिएँ ।  अब पार लगाइएला जस्तो महसुस गर्दै थिएँ । पानीको सतह नबढे त के थियो र जति सुकै फराकिलो भए पनि खास फरक पर्ने थिएन ।

सोचे जस्तो मात्र कहाँ हुने रहेछ एक दुई पाइला अघि बढ्दैमा पानीको सतह माथि आइहाल्यो । अघि बढ्दैछु, पानी अझ बढ्दैछ ।  छाती छोपियो । पछाडि भिरेको सानो झोलामा जुत्ता र एक जोर लुगा थिए- सबै भिजे । त्यसलाई छुट्टै बगाउन खोज्छ । पछाडिको झोलाले आँफैलाई तान्न खोज्छ । निकै बेर घम्साघम्सी भैरह्यो । सम्भवतः खोलाको सबैभन्दा गहिरो ठाँउ थियो त्यो- पानीले तल्लो ओठ छोयो । भगवान भन्दा अरु सम्झन सकिन ।  सम्झनु मात्र न थियो । भगवानले त्यहाँ कसरी बचाउदा हुन् र ? मनोबल दरो बनाउदै अघि बढ्नु भन्दा अर्को विकल्प थिएन । सबैतिर समान रुपले बगेको र भुमरी नपरेको पानी भएकोले डुबेरै भए पनि हिडिरहन्छु जस्तो आँट पलायो । पछाडि फर्कने कुरै थिएन । खोलाको चौडाइको हिसाबले एक तिहाइ पानी पार भैसकेको थियो । मैले खोलो पुरै पार लगाएँ भन्ने अनुमान लगाएँ । पारी किनारमा डिपु डाँडाबाट मान्छेहरु झरेका रहेछन् । खोलाको बाढी हेर्न ।   

ओठसम्म पानी आएपछि भने बहाबकै दिशामा सिधै उँधो तिर हिडें । छड्किन सकिन । केही तल गए पछि पानीको सतह घट्यो तर बेग अझ तिब्र भयो । पानीको तीब्र वेगले मलाई उभिन दिएन ।मेरा खुट्टाले जमिन टेक्न सकेनन् र म पानीमा तैरिन पनि सकिन । मलाई माईको जल प्रवाहले बगाउन थाल्यो । जतिनै उत्रने वा सिधा भई भुईं टेक्ने प्रयास गरेपनि मैले सकिन । मुख खुलेका बेला दुई घुट्की पानी  निलियो । त्यसपछि म लाचार भएँ । थाहा छैन मलाई कति तल सम्म बगायो । म पानीमा डुवेर मरें भन्ने आफैलाई निश्चय भयो । प्राण जानु भन्दा अघिको तन्द्रावस्था थियो यो ।अर्थात वेहेश अवस्थामा थिएँ कि ?

म बादलमा तैरिदै तैरिदै कतै जाँदै थिएँ । उड्न पनि कति सजिलो हुँदो रहेछ । मलाई चराजस्तै उडेको अनुभव थिएन ।तर कसरी हो, शरीर र हात खुट्टाको सन्तुलन मिलाउँदा उडिदो रहेछ त । यत्रो जीवनमा यति जाबो काम गर्न जानिएन छ । यही सोच्दै म झन झन माथि उडिरहें। आकाशको अन्त्यमा एउटा गेट आयो । गेटमा  भित्रपट्टि जान टिकट देखाउनु पर्दो रहेछ । मँसग टिकट होला भनी सबै गोजीमा छामें । अँह ! मसँग टिकट थिएन ।त्यसपछि त्यही उभिएको डिपुडाँडाको गोपाल दाइले एक झापड लगाए । टिकट नलिइ आउने हो भनेर ।

उनको झापड हनाइसँगै म झसंग भई बिउझिएँ । मेरो मुखबाट हुलुक्क गरेर धमीलो पानी निस्कियो । म माईखोलाको पुर्वी किनारमा लडिरहेको थिएँ । गोपाल दाइ मेरो पेट थिच्दै पेटको पानी निकाल्दै गर्दै थिए । मैले आँखा खोल्दा डिपुडाँडाबाट आउने रमितेहरु वरिपरीबाट मलाई नै हेरिरहेका थिए । उनीहरु आत्तिइरहेका थिए ।गोपाल दाइले म होसमा आएको थाहा पाएर थर्काए- "हैन तपाई आफूलाई के ठान्नु हुन्छ ? कि मर्ने नै बिचार हो ? पौडी खेल्न समेत नजान्ने मान्छे यसरी बाढीमा पस्ने हो त ?"

त्यसपछि मात्र मैले आफूले कत्रो गल्ती गरेको रहेछु भनेर बोध भयो । केही उत्तर दिन सकिन । त्यो कहाली लाग्दो माई खोलाको बाढीसँग जुधेको र मृत्युको मुखबाट फर्किएको सम्झेर एकातिर मन हर्षित भयो भने अर्को तिर सम्भावित जोखिम सम्झेर पैताला चिसा भएका थिए । मनमनै उद्दार गर्ने डिपु डाँडाका रमितेहरु तथा विशेष गरी गोपालदाइलाई धन्यबाद दिएँ । साँच्चै भन्ने हो भने त्यस्तो बाढी आएको खोलो तरेर आउनै पर्ने आकस्मिक काम पनि थिएन मेरो । यो त अति साधारण कामका लागि अज्ञानताबस लिइएको जोखिम थियो ।

***

आफ्नो कर्तव्य त गर्नै पर्यो -  मन आँफै मृत्युको मुखबाट फर्किएको सुखद (?)  र आगन्तुक बुढा बाबैको आँशुको कहानीले अमिलो भएको थियो । बुढाले गुमाएका सम्पूर्ण परिवारहरुको तुलनामा मेरो कथा लाजमर्दो भयो । एक पटक झण्डै मर्दैमा यसलाई कथा भन्नु पर्ने के थियो र ? मरकै त होइन नि !  बुढाले कत्रो दुःखको खोला तरेर आएका रहेछन् सम्झेर एक प्रकारले मन भरङ्ग भयो । मनमा गाँठो पार्दै तीनै जनाको मृत्यु दर्ता प्रमाण पत्र बनाइदिएँ ।अनलाईन तथा कार्यालयको अभिलेख रजिष्टरमा चढाए पछि काम सकियो । बुढाबा भन्दै थिए-  "नानी जस्तै थियो मेरो छोरो पनि । नानीलाई देख्दा आफ्नै नाति जस्तो लागेर म त शुरुमै ब्याकुल भएको थिएँ । जिद्दी गर्ने स्वभाव पनि मेरो नातिकै जस्तो ..."

"बा पनि एक्लै हुनुहुदो रहेछ, मेरो घर त्यहीं शनिश्चरे त हो नि। कैले काँही न्यास्रो लाउदा आउनुहोला । अहिले त माईमा पुल पनि हालेका छन् । गाडि चलिहाल्छ । अब त खोलाले बगाउदैन नि !"  मैले बुढालाई आफ्नोपनको सकेसम्म अनुभुति दिलाउने कोशिश गरें ।

"साह्रै धेरै मान्छेको भोग खायो नानी, पापी खोलाले !"  उनले आफ्नो लौरोले माई खोलालाई देखाएर सरापे । भने- "हुन्छ नानी अब त एक्लो बुढो बाँकी रहेको छु, जे होला । सकेंछु भने शन्सरे तिर आउछु नि !"

यसपछि मसँग बिदा भई ती आगन्तुक आफ्नो घरतर्फ फर्किए । उनी निस्कदा पानी पर्न रोकिएको थियो ।माई खोलाको सुसाईलाई बतासले यतै तिर बोकेर ल्याउदै थियो । त्यो भोग खाएर अघाएको माईखोलाको सन्तुष्टि थियो कि ?

अस्तु

२०७८/०२/१३

शनिश्चरे, झापा  

 


Wednesday, May 12, 2021

कथाःग्यारेन्टी

 

-            ऋषि शान्तिप्रिय

   अघिल्लो दिनको बुढाबुढीको सल्लाह अनुरुप अलि चाँडै अफिसबाट निस्किएँ । घर आइपुग्दा रुक्मिणीको घुर्क्याईं शुरु भै हाल्यो ।  भाइको विहे छ, किनमेलका लागि एक दिन त छुट्याउनु पर्‌यो  रे । एक दिन छुट्टि लिनै पर्छ भनेर जिद्दि गरिन् ।  

मेरो आफ्नै खाले समस्या छन् । मेरो के भन्नु, अफिसको भनौ न । जुन अफिसमा सरुवा भए पनि मलाई सँधै कामले नै गाँजेको हुन्छ । मैले धेरै बेर सोचें ।  जागिर  त दोस्रो कुरा हो - पहिलो त परिवार नै हो । भैगो, अफिसमा कामको चटारो  नै भए पनि शुक्रबार चैं छुट्टि बस्नु पर्यो । संसार हारे पनि परिवार जित्नु भन्छन् । स्वीकार गरिदिएँ ।

-            "के के किन्नु पर्छ र ?", सोधें ।

-            " विहेमा लगाउने लुगा कपडा, गहना, नानीहरुलाई लुगा कपडा, हजुरको सुट छैन । अनि .."

-            "घरमा नभएर नै हो कि, सबै कुरा किन  किन्नु पर्यो ?  तिमी एउटा सारी किन ।  नानीहरुलाई जामा सामा एसो फेसन बिचार गरेर किनौला, भैगो नि ! कति नै बेर पो लाग्ला    बरु चाँडै किनमेल सिद्धिए म एक छिन त्यतैबाट अफिस पस्छु र केही काम गर्छु ।", रुक्मिणीको कुरालाई बिचैमा रोकेर मैले आफ्नो कुरा भनिहालें ।  

-            "त्यसो भनेर हुन्छ ! सधै काम काम, घर परिवारलाई चैं समय दिनु पर्दैन ? पुरा वर्षमा तपाईले एक दिन पनि छुट्टि लिनु हुदैन ? ", उनको तीखो प्रश्न थियो ।

-            "मैले त्यसो कहाँ भने त ?  हाम्रो काम चाँडै सकिए समयको सदुपयोग गरौंला पो भनेको ।"

-            लु भो भो, मैले बुझें । जागिर त मैले पनि खाएकै  हो  । छुट्टि नै लिए पछि एक दिन त टेन्सन नलिई बस्नु पर्छ । " रुक्मिणीले कुरा साफ गरिन् ।

-            "भनें त शुक्रबार पुरै छुट्टी भनेर । अनि बिहे चै के बार पो अरे?"

-            "१७ गते चै हो । के बार पर्छ ।" भन्दै रुक्मिणी उठिन् र क्यालेण्डर हेर्दै भनिन् –"सोमबार रैछ ।"

मलाई भने अर्को एक दिन पनि थप छुट्टि मिलाउनु पर्ने भो भनेर छटपटि भयो । जे होस शुक्रबार छुट्टि बसी बुढीलाई लिएर सपिङ जानु पर्ने भयो । 

सम्झें - किनमेल त एक्लै पनि गर्न त सकिन्थ्यो होला तर पनि बिहे भएका स्वास्नी मानिसहरुलाई बुढासँग हिड्दा गौरबै लाग्दो हो    अनि मलाई नि ! मलाई साँच्चै भन्ने हो भने कुनै कुरामा गौरब लाग्छ वा लाग्दैन आँफैलाई थाहा छैन । किन हो मलाई साना तिना दुःखले दुःख दिन छोडेका छन् अनि निकै ठूला सुखले भनी मलाई खुसी दिन छोडेका छन् । के म  यन्त्र हुदैछु ? कि मैले जिन्दगी जिउने कला सिक्नै पाइन ? आफ्नै अपहिचानप्रति म आँफै छक्क पर्छु ।

-"बरु भ्याइयो भने  बिहे घरमा के तयारी गर्दैछन् , पुग्नु पर्छ । उनीहरुको सपिङमा पनि जान भ्याइएन ।  कान्छो गुनासो गर्दैथ्यो । आफ्नो भाइको विहेमा पनि  समय ननिकाल्ने दिदी कस्ती होस पो भन्छ त मलाई ।" रुक्मिणीले पनि आफ्नो विवशता बताइन् 

- "जाँऔला नि भ्याएसम्म ।  जानु  पर्ने त हो नि ! तिमी पनि उस्तै त भयौ,  माइतिघरमा बिहे छ, जानु छैन । समय निकाल्नु छैन ।  जागिरले नै खायो तिमीलाई पनि । " मैले ढाडस दिदै भनें ।

            बुढा बुढीको अब कुरा मिलिसकेको थियो ।  छोरीहरु पनि स्कूलबाट आइपुगे । घरमा  होहल्ला र रमाइलो शुरु भयो ।  यसै बिचमा चिया खाजा  आदिसँगै  विभिन्न कुराकानी, बिहेकै सल्लाह के के किन्नै पर्ने छ, के के चाँही नकिन्दा पनि हुन्छ आदि छलफल भए । छोरीहरुले आफ्नो माग राखे । मामाको विहेमा   शनिबारदेखि नै जाने, आइतबारदेखि मंगलबारसम्म स्कूलमा छुट्टी माग्ने  लगायतका बाल योजनाहरु सुनाए । उनीहरुमा पनि निकै ठूलो उत्साह भरिएको थियो । छोरीहरुको खुसी पनि मामाको विहेले चुलीमै पुर्याइदिएको थियो । अन्त्यमा पैसाको कुरा भयो कति चै खर्च हुन्छ, अनि आफूसँग कति छ भनेर चर्चा भयो ।

रुक्मिणीको खातामा पैसा छैन अरे । बैंकको किस्ता, बिजुली, पानीको बिल, पसलको बाँकी सबै सबै गर्दा उनको अब तलब नआइ पैसा छैन अरे । अनि मेरो ? मेरो खातामा केही होला भन्ने थियो ।  मोबाइल बैंकको एप्लिकेसन खोलेर हेरें - जम्मा तीस हजार त रहेछ । अघिको लिष्ट, लुगा फाटो, सारी गहना सुट नानीहरुको  लुगा आदि सबै सम्झदा आधा त के एक छेउ पनि नपुग्ने जस्तो भयो । कसैसित सापट मागौं भने पनि कोसँग माग्ने, फेरि कुनै दिन तिर्नै पर्छ । एक किसिमको तनाब भयो ।  दुबैले जागिर खाने कमाउने नै भएकोले यतिबेलाको पैसाको अभाव चै हामीले बिना छलफल महशुस गर्यौ । दुबैले नबोलेरै धेरै बेर सोच्यौं ।

साँझको खाना खाइसकेपछि मैले निर्मलालाई सम्झिएँ । निर्मलालाई कोठा बन्दोबस्त गर्दा मैलै चालीस हजार खर्च गरेको थिएँ । ऊ काठमाण्डुमा सेटल भएको पनि झण्डै छ महिना भैसकेको थियो । केही जम्मा पारी कि ! भने-

-" निर्मलाले दिन्थी कि ?"

- "के दिन सक्थी, हिजो मात्र भेट भएको थियो । दुई जना छोरीहरुको स्कूलको खर्च, खाना, कोठा भाडा,  सानो नानी,  बच्चाको औषधी अनि एउटा स्कूलको टिचरको जागिर । कमसे कम केटाहरु भए बिहान बेलुकी ट्युसन पढाउथे, के गर्थे,  अलिअलि एक्स्ट्रा कमाइ भए पछि बचाउथे होला, उसको लागि त्यो सम्भव छैन । धन्न काखमा बच्चा लिएरै भए पनि  १० देखि ४ सम्म स्कूल पढाएर आफ्नो खुट्टामा उभिएकी छ । ", रुक्मिणीले  निर्मलाको  हालत बताएपछि मेरो  पैसा नउठ्ने भयो भनेर पक्का भयो ।  रुक्मिणी थप भन्दै थिई-

-"बरु हामी सबैलाई एक दिन बोलाएकी छ । खाना खाने गरी । हामीसँग साह्रै अनुगृहित छ ऊ ।

निर्मलाले आफ्नै पति र सासु ससुराबाट तिरस्कृत भएर काठमाण्डुमा हाम्रो शरण पर्न आए पछि  हामीले नै उसको लागि आवश्यक प्रबन्ध गरेका थियौ । हामी पनि दुबै जागिरे भएको र "एकखालको जीवनयापन चलेकै छ" भन्ने आफूले ठानेकोले आफुलाई निरिह सम्झनु परेको थिएन ।  असहायहरु सबैलाई त सहयोग गर्न सम्भव थिएन तथापि कुनै दिन मेरो दैनन्दिन निर्मलासँग जोडिएको र महिलाहिंसाको शिकार भएकी निर्मलाको कथाले रुक्मिणीलाई  भित्रैदेखि छोएकोले हामीले ऊ प्रति त्यति सदासयता देखाएका हौं । निर्माला पनि यति सहयोगको सुनिश्चतता ठानेर नै हामीकहाँ, विशेष मसँग पुनः ठोक्किएकी हो ।

बेलुका ओच्छ्यानमा पल्टिएर फेसबुक खोलेर हेरैं । शुरुमै निर्मलाको फोटोमा आँखा पर्यो । आकर्षक फोटो राखेको रहेछ । दुइटी छोरीहरुको साथमा । मैले त निर्मलालाई त्यही पुल्चोक इन्जिनियरिङ क्याम्पसकी निर्मला देंखें ।    आफ्नो बिगत र निर्मलासँग बस्न नसकेको घरबार सम्झेर केहीबेर टोलाएँ । निकै नोस्टाल्जिक भएछु ।  गरगहना पनि  धेरै लगाइएको, सोह्रशृङ्गार गरी आफूलाई निक्कै नै सजाएर कुनै  स्टाफको विहेमा गएकी रहिछ । भने-

"गहानाको बन्दोबस्त भयो प्यारी, किनेको हो कि मागेको, कस्ले चिन्छ ? हामी जत्तिको मान्छेले  लगाएपछि मागेको पनि किनेको नै ठान्छ दुनियाँले ।"

रुक्मिणीले कुरा नबुझेर मतर्फ फर्किएपछि उनलाई निर्मलाको फोटो देखाएँ  । निर्मलासँग सुनको राम्रो गहनाको सेट रहेछ भन्ने पक्का भयो । बुढाबुढीको  सल्लाह मिलिहाल्यो । 

भोलि बिहान निर्मलालाई  साँझको खाना खान आउने भन्ने  खबर गरिन् रुक्मिणीले ।

साँझ खाना खाना गयौं सबैजना । रुक्मिणी र निर्मलाले धेरै बेर गफ गाफ गरे । उनीहरु मिल्ने साथी भैसकेका थिए । यस बिचमा छोरीहरुको पनि केमेष्ट्री मिल्न थालेको थियो ।  रुक्मिणीले खुसुक्क गरगहनाको कुरा गरिन् । गहना पोको पारिन् अनि हामी खाना खाएर आफ्नो घर फर्कियौ ।

शुक्रबार पुर्वनिर्धारित हामी दुबैले छुट्टि लियौ ।  किनमेलका लागि  बजार जानु थियो ।  गयौं  । सुन किन्नै नपर्ने भयो । अजिङ्गरको आहारा दैबले जुराएकै थियो । बाँकी कुराहरु पुर्व निर्धारित खरिद कार्य सम्पन्न भयो । मैले एउटा रेडिमेड कोट किनें । रुक्मिणीलाई नयाँ डिजाइनको पार्टि सारी किनिदिएँ । बुढी मक्ख परी ।

 बिहेमा जान नयाँ पोशाकमा सजिएर  गहना पनि लगाइसकेपछि रुक्मिणीलाई सजग गराएँ ," बिहेको भीड भाड हुन्छ, कसको दाउ के के मा हुन्छ, गहाना चै ख्याल राख्नु नि ! लुट्ने पनि पो हुन्छन् त, कोही चोर  फटाहाले थाहै नपाइ चेन काटेर लगेका पनि सुनिन्छन् । त्यसमाथि अर्काको गहना लाइएको छ ।"

मेरो कुरा सुनेर श्रीमतीजिले हाँस्दै  कानमा खुसुक्क भनिन्-  "हराएमा डर छैन, ग्यारेन्टेड हो ।"

मैले एक दिन कुरै कुरामा कार्यालयका एकजाना साथीले सुनाएको एउटा कथा मनमनै सम्झिएँ –

ऐसेलुखर्कमा एक जना घनश्याम भन्ने मान्छे थियो । ऊ सामान्य परिवारको थियो । बिहे त गर्नै पर्यो । धनीहरुले जस्तो उसले बिहेमा  सुनका गहना लान सकेन । तैपनि जेनतेन गहनाको जोहो गर्यो ।

घनश्यामको बिहे सकियो । सामान्य परिवारको मन्छेले पनि यति राम्रो गर गहना ल्याएको भनी सबैले तारिफ गरे । बेहुली पक्षका  गाउँले सबै खुसी भए ।  बेहुला पक्षका जन्ती तथा सबै गाँउलेहरुले छक्क पर्दै भने –"हैन बिदेशबाट राम्रै कमाएर ल्याएको रहेछ क्यारे ।"

बेहुली भित्र्याइयो । बेहुली पनि खुसी थिइन् ।  आफ्नो रोजाइको दुलाहा अनि यति धेरै गहना पाएर मक्खै थिइन्  । सुहागरात नसिद्धिदै  गहनाको बारेमा बेहुला बेहुलीको गफगाफ त भैहाल्यो । खास कुरा  के हो बेहुलाले आफ्नी दुलहीलाई ढाँट्ने कुरा पनि भएन । 

त्यसपछि त के चाहियो र?  बेहुली रिसाइहालिन । कसैले सम्झाउन सकेनन् ।  नयाँ दुलहीको आन्दोलन शुरु भयो बिहे घरमा ।  सारा गाँउभरी हल्ला फैलियो ।  घनश्यामले किनेको ग्यारेन्टेड सुनले पोल्यो रे दुलहीलाई । यो खबर आगोको झिल्को जस्तो एक कान मैदान हुँदै उसैको माइती गाउँसम्म पनि फैलियो । 

अहिले घनश्यामलाई ऐसेलुखर्कमा घनश्यामको नामले भन्दा ग्यारेन्टीको नामले चिनिन्छ ।

सालो बिहेमा जन्त त गइयो । तर मलाई त्यो ग्यारेन्टेड सुनवाला घनश्यामको कथाले दिनभरी पोलिरह्यो । भगवानलाई पुकारिरहें । हे भगवान  रुक्मिणीले लगाएको गहना ग्यारेन्टेड सुनको हो भनेर कसैले नचिनोस् । यदि कसैले चिनेमा मेरो पनि नाम 'ग्यारेन्टी'मा परिणत हुनेछ घनश्यामको जस्तै ।

-मिति २०७८/०१/१९

-इटहरी ।

लेखः माधवी-दासत्वबिरुद्धको गद्यकाव्य

 

माधवीः शोषण बिरुद्धको गद्यकाव्य

-ऋषि शान्तिप्रिय

साझा प्रकाशनको बिक्री कक्षमा पुग्दा मेरो नजर सिधै माधवीमा ठोकियो ।  पुस्तक किनेरै निस्किएँ । माधवी हातमा देख्दैखेरी एक जना विद्वान मित्र भन्दै थिए- अलि गाह्रो छ बुझ्न तर प्रसिद्ध उपन्यास हो । मनमनै सोचें – "गाह्रो भए पनि कसो नबुझिएला त !" लेखकका मन्तव्य र थप केही पृष्ठ पढेपछि लाग्यो – पहिल्यै पढ्नु पर्ने पुस्तक रहेछ । तथापि पढी सकेपछि लाग्यो - एउटा योग्यताको स्तरमा पुगेपछि मात्र पढ्नु पर्ने रहेछ । मेरो जन्म भन्दा २ वर्ष कान्छो नेपाली उपन्यास पढ्न मैले प्रकाशन पछिका ३८ वर्ष पर्खिएँ । अहिले सोच्दैछु - कम्तिमा मैले पुस्तक पढ्न सक्ने  आँट, धैर्यता र योग्यता जम्मा गरेरै पढेंछु – पढ्नकै निमित्त । मलाई लाग्यो सबै पाठकहरुले गहन कृतिलाई न्याय दिन सक्दैनन् । बरु मेरो यो लेखले जिज्ञासु पाठकलाई पुस्तकप्रति सम्मोहन जगाओस भन्ने मेरो मनसुवा निवेदन गर्दछु ।

विद्वान लेखक मदनमणि दीक्षितले यस उपन्यासलाई छैटौं संस्करणमा समीक्षा बेगरको माधवी  भनेर आफूले नै यस प्रति बारम्बार साना लेखहरु लेख्ने गरेको बताएका छन् । उनी बितेर गएको केही वर्षपछि उनलाई श्रद्धाञ्जली स्वरुप यो समीक्षा/समालोचना लेख्ने धृष्टता गरेको छु । कृति ज्यादै गहन छ । यसका चरित्रहरुका आफ्ना आफ्नै विशेषताहरु छन् । महत्वहरु छन् । यसका साह्रै धेरै आयामहरु पनि देखिएका छन् । एउटा छोटो आलेखमा अटाउन सक्ने गरी सकेसम्म थोरै शब्दद्वारा यहाँ माधवी सम्बन्धमा चर्चा गर्ने जमर्को गरेको छु । शुरुवातमै तमाम विद्वान पाठकहरुप्रति मेरा कमजोरीप्रति क्षमादान माग्दै सकेसम्म लेखकीय, चरित्रहरु, उपन्यास र यसको मूल मर्मलाई केलाउने कोशिष गर्दछु ।

महर्षि बेदव्यासले महाभारतको उद्योग पर्वमा देबी माधवी र राजा ययातीको कथा प्रस्तुत गरेका थिए । यसै कथाको पृष्ठभूमी र आफ्नो लामो अध्ययन तथा शोधलाई समेत समाविष्ट गर्दै उपन्यासकार दीक्षितले यो  ग्रन्थलाई पेश गरेका छन् । पहिलो संस्करणबाट छैटौंसम्म आइपुग्दा कयौं ठाउँमा संशोधन गरिएको र उतिबेला उत्तर बैदिक उपन्यास वा एघारौं विक्रम पुर्वको भनिएकोमा त्यसरी  समय नै तोक्नु उचित नहुने ठहर्‌याएका छन लेखकले । जे होस हरप्पा र महेनजोदाडो सभ्यताको लोप भए पछि र उत्तर भारतीय समाजमा साना ठूला राज्यहरु स्थापना भई सभ्यताले बामे सर्दै गर्दा ताकाको समयलाई उपन्यासको आधार समय बनाइएको छ ।

माधवीको भूगोल चम्पा देखि बागमती किनाराको मण्डलक जनपदसम्म  फैलिएको छ । यसका केही प्रसंगहरुले शैवालिक चुरे क्षेत्र सम्म, हरियुपिया (हरप्पा) र सिन्धु नदीसम्म तथा ब्रह्मपुत्र नदी सम्मको भूगोललाई समेटेका छन् । यसमा साना ठूला गरी करीब १५ वटा राज्यसँग सम्बन्धित प्रसंगहरु आए पनि उपन्यास कौशिक तटको विश्वामित्र आश्रम, अहिच्छत्र राज्य तथा प्रतिष्ठानपुर, अयोध्या (कोशल), काशी, भोजनगर, बिदेह, मण्डलक, अङ्ग (चम्पा),  तथा बङ्ग लगयतका प्रसङ्गहरु प्रमूख रुपले आउछन् । महाभारत तथा श्रीमद्भागवत महापुराणको कथामा आउने राजा ययाती र उनकी छोरी माधवी तथा विश्वामित्र एबं उनैका अन्तेबासिन् (शिष्य) गालबको प्रसङ्गमा आवश्यकता अनुसार थप पात्र, घटना विवरण तथा विश्लेषण अनि प्रेम प्रसंगसँग जोडिएको कर्तब्यबोध र  साँस्कृतिक अभ्यास, त्यति बेलाको समाजको रोगको रुपमा रहेको दास प्रथा तथा नारी र शिशुहरु प्रति परिवर्तकको सामग्रीको रुपमा गरिने ब्यवहारहरुलाई केन्द्रमा राखेर एउटै मालामा उनेका छन् दीक्षितले ।

उपन्यासको विविध आयाम बारेमा चर्चा गर्नु पूर्व यस उपन्यासको सार यहाँ चर्चा गर्नु उपयुक्त हुनेछ ।

माधवीको कथाले वैदिक कालमा अभिशापको रुपमा रहेको दास व्यवस्थालाई परिवर्तनको बाटोमा डोहोर्याएको छ ।  ऋषि विश्वामित्रले दासत्व बिरुद्धको राजनैतिक उद्देश्यबाट शुरु गरेर केही प्रयासहरुद्वारा समाज परिवर्तन गर्न कोशिष त गरे । तर विस्तारै बिस्तारै विभिन्न राज्यमा आफैं चेतना बढ्दै गएर, सानातिना दास विद्रोह र मानवीयता भरिदै भरिदै जाँदा गृहदास तथा शृङ्खलामा बाँधिएका दासहरु समेत कृषक, अन्य पेशाहरु र राज्यका सेना आदिमा परिवर्तन हुँदै एउटा आशालाग्दो किरण देखाएर समाजलाई उन्नति पथमा लम्कदो र सभ्यतामा फड्को मार्दो अवस्थामा छोडेका छन् लेखकले । तैपनि विश्वामित्रले दासप्रथाको अन्त्यको लागि अश्वमेध यज्ञ गर्ने र दास प्रथा एकै चोटिमा समाप्त पार्ने भन्ने उद्देश्यले आफ्ना शिष्य गालबसँग गुरुदक्षिणामा चारवटा श्याकर्ण घोडा मागेर जुन धाक देखाए , त्यसको नैतिक धरातल दक्षिणा प्राप्त गर्दा सम्म बचाउन सकेनन् ।  पछि उनले अश्वमेध यज्ञ पनि गरेनन् ।

यसै कथामा नारीको दारुण्यता, शक्तिहीनता र निस्सारतालाई उदाङ्गो रुपमा पेश गरिएको छ । सम्भवत कतिपय प्रसङ्गमा आजको आधुनिक समाजमा समेत यो अवस्था कालजयी बनेर बसेको महशुश हुन्छ । यसको ज्वलन्त उदाहरण माधवी स्वयम् नै हो ।  नहुषनन्दन असुर सम्राट ययातिकै छोरी भए पनि उसकी माता विश्वाचीले ऊ जन्मेकै दिन छोडेर जानाले ऊ जन्मजात निस्सहाय हुन्छे । तथापी उसकी विमाता शर्मिष्ठा, धातृ सुनन्दा र दरबारका दासीहरुको समान्य स्यहार पाएर माधवी हुर्किन्छे । माधवीलाई बीस वर्षको उमेरमा अहिच्छत्र राज्यकी महामाया बारूणीको रुपमा बरण गर्छ - अहिच्छत्र सभाले । यसपछि हरेक वर्ष बरुण महोत्सवमा उसलाई शिशुहरुको बली दिनका निम्ति उपयोग गरिन्छ भने महाप्रोहित हलिमकले उसलाई सँधै नै दुर्व्यवहार गरिरहन्छ । दासशालाहरुबाट तिनीहरुका शिशु खोसेर बरुणलाई हरेक वर्ष बलि चढाउने आसुरी प्रथा त्यस राज्यमा विद्यमान छ ।

अर्कोतर्फ विश्वामित्र र बशिष्ठबिच राजा सुदासको पौरोहित्यको विषयमा मतभेद भएर बिग्रह हुदा विश्वामित्रको शिष्य गालबले आफ्नो गुरुलाई निश्चय नै साथ दिएको थियो । त्यसबाट प्रसन्न भई बिना गुरुदक्षिणा गरीब शिष्य गालबको समावर्तन (दीक्षान्त) हुने बताएपछि स्वाभिमानी गालबले गुरुदक्षिणा नदिई आफू समावर्तन नलिने अड्डि लिन्छ । अन्त्यमा विश्वामित्रले रिसाएर गुरु दक्षिणामा चार वटा श्यामकर्ण घोडाको माग गरे र नदिएमा श्राप दिई तिर्यग्योनीमा पुर्याउने भनी धम्की पनि दिए । (मूल ग्रन्थमा आठसय भनिएको - जसको उद्देश्य माथि उल्लेखत छ ।)

त्यसपछि गालबको यात्रा शुरु हुन्छ – गुरु दक्षिणाका लागि  । सर्वप्रथम ऊ आफ्नो बालसखा सुपर्ण कर्कोटक नागजेयलाई भेट्न र सहयोगको यचनाको निमित्त मण्डलक जनपद जान्छ । ऊ गरुण बंशको हुन्छ । ऊ विभिन्न स्थानमा घुमिरहने र  विभिन्न विषयमा जानकारी राख्ने भएकोले उसले सहयोग गर्न सक्छ भन्ने आत्मविश्वासका साथ गएको हुन्छ । त्यहाँ कर्कोटक सुपर्ण गरुणको आफ्नै संस्कृति तथा रीतिस्थिति हुन्छ । सदानीरा नदी छेउ भएको त्यो जनपदमा गालबले सुपर्णकी जाया (सन्तान जन्माउनको लागि पाणिग्रहण गरिएकी पत्नी जो सन्तान जन्मेपछि स्वाधीन हुन्छे ।) जवामा पुत्रमन्थतन्त्र र पुत्रेष्टि यज्ञका विधिहरु सम्पन्न गराएर आफूमा रहेको दक्षता समेत प्रमाणित गर्छ । यसपछि नगजेयको साथमा ऊ असुरसम्राट ययातिको दरबार अहिच्छत्रमा पुग्छ ।

अहिच्छत्रमा पुग्दा उसको भेट बारुणी महामाया त्रिलोक सुन्दरी माधवीसँग हुन्छ । उसको सुन्दरता र ब्यक्तित्वबाट प्रथम दृष्टिमै कौशिक गालबमा एक प्रकारको कुतकती उठ्छ । त्यति नै बेला माधवीले एउटा शिष्यलाई बरुण बलिको रुपमा प्रज्वल्लित अग्नीमा दाह गर्छे । गालब बिस्मित बन्छ । भोलिपल्ट ययाति सभामा गरुण नागजेय समेतको मद्दतले गालब आफू चारवटा श्यामकर्ण घोडा भिक्षाको रुपमा माग्न आएको कुरा बताउछ ।  तर त्यसको उद्देश्य अहिच्छत्र संस्कृतिको (दास प्रथाको) बिरुद्ध भएकोले राजसभाले आफ्नै बिरुद्धको कदम ठहराउछ । तथापि ययातीको दानशीलता विश्वभर प्रख्यात थियो । दान गर्न पाउनु ठूलो अहोभाग्य सम्झन्थ्यो ऊ । उसले दान दिने त भन्छ । तर ऊसँग वास्तबमा एउटा पनि श्यमकर्ण घोडा हुदैन । हरेक दिन दान गर्नाले ययातिकोष पनि करिब करिब रित्तिएको हुन्छ । श्यामकर्णको सट्टामा दौतल दिन समेत असमर्थ भएपछि केही दिनसम्म नै संसदमा ठूलो बहस चल्छ र अन्त्यमा ययातीले माधवीलाई नै उपयोग गरेर "आँफै ती श्याकर्ण घोडा प्राप्त गर र गाधेय विश्वामित्रको गुरुदक्षिणा बुझाऊ " भन्दै माधवीलाई नै गालबको हातमा सुम्पिन्छ ।  यस बिचमा गालबको प्रयासले त्यहाँ केही दासहरुले मुक्ति पाउँछन् । उसले थुप्रै दासहरु दासशालामा शृङ्खलामा बाँधिएको देख्छ । साथै दासहरुप्रति गरिएको क्रुर र अमानवीय व्यवहार, साधारण कसुर वा बिनाकसुर नै पनि काशाघात तथा मरणदण्ड समेतको सजायको पनि अनुभव गर्छ । अन्त्यमा माधवीलाई अघि लगाई ऊ अयोध्याको बाटो लाग्छ ।

माधवीलाई सुवाहुले चारवटा चक्रवर्ति सम्राटकी माता बन्नेछ्यौ भनेर बरदान दिएको हुन्छ । केशशुल्काको रुपमा (कुनैकुरा प्राप्त गर्ने परिवर्तकको रुपमा सन्तान जन्माइदिने आइमाई) चक्रवर्ति सम्राट जन्माइदिएर गालबनिम्ति श्यामकर्ण घोडा प्राप्त गर्ने अभियानमा आफू सरिक हुँदा उसको लागि फाइदाको विषय भनेको महाप्रोहित हलिमकको दुर्व्यवाहारबाट मुक्त हुने र गालबप्रतिको चित्ताकर्षण नै थियो  । तथापि त्यो निर्णयले माधवीलाई एउटा दलदलबाट झिकेर अर्को दलदलमा फ्यक्दै थियो ।

कोशलमामा हर्यश्व राजा हुन्छ । त्रिलोक सुन्दरीसँगको करारीय प्रस्ताब उसले नमान्ने कुरै भएन । गालबले माधवीको हर्यश्वसँग पाणिग्रहण गराउँछ । आँफै नै माधवीको पुत्रमन्थ तन्त्र तथा पुत्रेष्टि यज्ञकर्म गराउन सरिक हुन्छ । भावविह्वल भएर गालबले यो सबै गराउँछ । गालबले माधवीको सामिप्यता भने पाइ नै रहन्छ  । उसको नियुक्ती बेद तथा शास्त्राध्यायन गराउनको निम्ति उपाध्यायमा गरिन्छ । हर्यश्वको जायाको रुपमा गर्भवती भए पनि गालब र माधवीको प्रेम झन झन गाढा हुँदै जान्छ ।  कोशल राजधानी अयोध्यामा रहदा माधवीले ठूलो प्रसब ब्यथा पश्चात एक पुत्र पैदा गर्छे । एक श्याकर्ण घोडा प्राप्त हुन्छ ।  छोराको नाम बसुमना राखिन्छ ।

 त्यसपछि ती युगलको यात्रा काशी नरेश दिवोदासको दरवारका लागि शुरु हुन्छ ।  दिबोदासले आफ्नो राज्यमा दाश ब्यवस्थालाई अन्त्य गर्दै लगेको छ । त्यहाँका दासहरुलाई मुक्ति गरेर राष्ट्र (खेत) प्रदान गरिने र उक्त राष्ट्रबाट जनपदका लागि बलि (कर) प्राप्त गरी अर्थब्यवस्था सञ्चलन गर्ने आधुनिकता त्यहाँ अनुभव गर्छन् । काशीमा रहदा दिवोदासको प्रमूख ऋत्विजको भुमिका पाउछ गालबले । त्यहाँ रहदा गालबले दासी गिरिकालाई बिर्यदान गरी दास पति-पत्नी भल्लाक्ष गिरकाको बिमोचन गराउछ । अरिष्टनेमी ऋषिले ती युगललाई श्राप दिई तिर्यग्योनीमा पठाउदा दासत्वबाट मोक्षको मार्ग यही नै देखाइदिएको थियो । दिवोदासको सहचार्यमा पनि उक्त बमोजिम नै माधवीले एक पुत्र प्राप्त गर्छे । उसको नाम प्रतर्दन राखिन्छ । बदलामा उनीहरुले एउटा श्यामकर्ण घोडा प्राप्त गरी विश्वामित्रलाई पठाउछन् ।

 त्यस पछि उनीहरु पुनः अर्को राज्य भोजनगर तर्फ लाग्छन् । भोजनगर उशीनर बैश्यहरुको राज्य हो । उनीहरु यायावरहरुले सिकाएको / प्रतिपादन गरेको वैष्णवी धर्ममा आस्था राख्छन् । त्यस धर्मले दास व्यवस्था मान्दैन । उनीहरु हरेकले आफ्नो लागि आँफै कर्षण (खेति) गरेर  जिविकोपार्जन गर्छन् । हरेक अघिल्लो भन्दा पछिल्लो राज्यको व्यवस्था झन् उन्नत र आधुनिक हुदै गएकोमा उनीहरु दङ्ग पर्छन् ।  उशीनरहरुका राजा शिविले माधवी र गालबको ठूलो सम्मान गर्छन् । माधवीबाट शिविले एक पुत्र जन्माउछन् उसको नाम शिवि नै राखिन्छ ।  गालबले पनि केही राष्ट्र उशीनरहरुबाट प्राप्त गरी त्यहा रहदा कर्षण गर्छ । गालबको खेतमा झुलेका धान्य तथा बगैचामा पल्लवित पुष्प र पुष्करमा फुलेका कमलहरुको मनोहरता देखेर सम्पूर्ण उशीनरहरु आफ्नो स्नान तथा संध्या गर्न त्यतै ओइरिन्छन् । त्यहाँ रहदा माधवी र गालबको प्रेम झन धेरै गाढा हुन्छ । दुबै मिलेर जुहीको माला उन्ने  र एक अर्कालाई पहिर्याइदिने चित्ताकर्षक सपना माधवीले देख्छे । तेस्रो सन्तान प्राप्ति पछि माधवीको स्वास्थ्य अवस्था केही बिग्रन्छ । अब कुन राजासँग श्यामकर्णको परिवर्त्य गर्ने भन्नेमा उनीहरुको अलमल हुन्छ  । त्यति नै बेला  सुपर्ण गरुण नागजेय उनीहरुको दिशाबोध गराउन आइपुग्छ । विश्वभरीमा जम्मा तीनवटा मात्र श्यामकर्ण घोडा रहेको र  थप घोडा अब बाँकी नरहेको भन्ने थाहा पाएपछि माधवी मुर्छित हुन्छे ।

नागजेयको सल्लाहमा अबको यात्रा उनीहरुको चम्पातर्फ अघि बढ्छ । यात्रामा सुपर्णले समेत साथ दिन्छ ।  विश्वामित्रले ब्रम्हर्षिको रुपमा चम्पाको राज्य प्राप्त गरेको हुन्छ । तर उसकै राज्यमा दास व्यवसथाको अवशेषहरु प्रसस्तै देखिन्छन् । गालबले आफुले गुरुदक्षिणामा तीनवटा श्यामकर्ण पठाइसकेको र चौथोको सट्टा आफैं माधवीको उपयोग गरेर चक्रवर्ति सम्राट जन्माऊ भनेर विश्विमत्रलाई बताउँछ । माधवीको व्यक्तित्व, रुप रङ्ग, तथा आफ्नो बुढ्यौली अवस्था समेत विचार गरी उसले गालबलाई "पहिले नै माधवीलाई मकहाँ ल्याउनु पर्दैन? मलाई यी श्यामकर्णको के काम ?  बरु म आँफै माधवीबाट चारजना चक्रवर्ति सम्राट जन्माउथें" भनी हप्काउछ ।

माधवी, गालब र विश्वामित्रबिचमा केही भनाभन हुन्छ । माधवी अस्वीकार गरे गालब स्वयम् नै विश्वामित्रलाई श्रापित गरी तिर्यग्योनीमा पठाइदिने सम्मको धम्की दिन्छ । माधवीले पनि साथ दिन्छे । अन्त्यमा विश्वामित्र माधवीको पाणी ग्रहण गर्न स्वीकार त गर्छ तर उसको शारिरीक अवस्थाले गर्दा आँफै छोरो जन्माउन सक्दैन । आफ्नो भानिजलाई  प्रतिनिधि बनाएर माधवीसँग नियोग गरी तिनीहरुले पुत्र प्राप्त गर्छन् । तथापि यो क्रममा विश्वामित्र र उसको भानिज प्रमतक माधवीको नजरमा पतित बन्छन्  । माधवीले प्रमतकबाट पुत्र प्राप्त गर्छे  । उसको नाम विश्वमित्रले अष्टक राखिदिन्छ । पुत्र प्राप्त भएपछि माधवी र गालबले विमोचन प्राप्त गर्छन् ।  माधवी र गालब उनीहरुप्रति  अत्यन्तै घृणा भाव लिएर त्यहाँबाट जतिसक्दो छिटो प्रस्थान गर्दछन् ।

अङ्गदेशको राजधानी चम्पामा रहदा पनि उनीहरु  विश्वामित्र प्रासादमा नभई त्यहाँको ग्रामीण परिवार जरिताको घरमा बसेका हुन्छन् । उशिनर तथा यायावरको संगतले माधवी तथा गालबमा बैष्णवी धर्मप्रतिको आस्थामा वृद्धि भएको हुन्छ । धार्मिक आस्थाको हिसाबले पनि विश्वामित्रसँग उनीहरुको कुरा मिल्दैन । उनीहरु ॐ नमोनारायण तथा अमोहमस्मीको मन्त्रको साथमा आफुलाई अनासक्ति तथा स्थावरजंगम नारायणमा समर्पण गर्दै अघि बढेका हुन्छन् । इन्द्रलाई सर्बेसर्वा मान्ने विश्वामित्रको धर्मले दास प्रथाको अन्त्य गर्न नसक्ने जिकिर गालबले गर्छ । गालबले बिष्णुलाई बेद र यज्ञ यज्ञादिमा स्थान दिनु पर्ने भनी विश्वमित्र समक्ष प्रस्ताब गर्छ । दुबैजना धेरै तर्क वितर्क गर्छन् । दुबैका मार्गबाट दास ब्यवस्था अन्त्य हुदै गएको उदाहरण सहित जिकिर पेश गर्छन् ।

त्ससपछि करीब ६ महिना भन्दा बढी अवधी हिडेर उनीहरु पैदलै अहिच्छत्र राजधानी प्रतिष्ठानपुर पुग्छन् । यस बिचमा बाटोमा दुबै बिरामी पर्छन, निको हुन्छन । निषादहरुले उनीहरुको सहायता गर्छन । बाटोमा थरी थरीका गण गोत्र चिन्ह भएका विभिन्न जातिका मानिसहरुसँग भेट हुन्छ । विभिन्न  संस्कृति र सभ्यताको प्रत्यक्ष परोक्ष अनुभव गर्दै उनीहरु पुग्छन् । यसै बिचमा उनीहरुको प्रेम झाङ्गिन्छ । कैलेकाही प्रेममा मनोबैज्ञानिक तिक्तता समेत देखापर्छ दुबैमा । तथापि माधवीमा क्षणिक हुन्छ भने गालबको अन्तरहृदयमा  कति कुरा तुष बनेर अल्झिन्छ ।

प्रतिष्ठानपुर पुगेपछि गालबले पुर्वप्रतिज्ञा अनुरुप माधवी बाबु ययातिलाई बुझाउँछ । अनि माधवी र गालबको घरजमको कुरो उठ्छ । ययातिले कन्या शुल्क तिरेर माधवीलाई पत्नी बनाउन सुझाब दिन्छ । तर गालब त्यसो गर्न चाहदैन । किनकी ऊ माधवी परिवर्त्य सामग्री हो भन्ने ठान्दैन । ययाति फेरि गालबलाई आफ्नो  बिर्य शुल्क निर्धारण गर्न सझाउँछ । त्यो पनि त्यही बैष्णवी धर्मले रोक्छ दुबैका लागि । कन्या शुल्क तिरेर मात्रबीलाई आफ्नो पत्नी बनाउनु र आफ्नो बिर्यशुल्क निर्धारणद्वारा माधवीले गालब प्राप्त गर्नु भनेको दुबै दासत्वलाई समर्थन गर्ने र अनासक्ति रहने बैष्णवी धर्मको उल्लङ्घन हुनाले ती दुबै विधि त्याज्य ठहराए दुबैले । अन्त्यमा उनीहरु स्वयम्बर बिधिको अवलम्बन गर्ने भए । स्वयम्बरको मिति तोकिन्छ ।

स्वयम्बरको मिति तोकिसकेपछि गालबले सुपर्णलाई सम्झन्छ  । त्यत्रो महान अवसरमा सुपर्णको अनुपस्थिति रहनु हुदैन भन्दै आँफै सुपर्णलाई लिएर स्वयम्बरभन्दा पहिले नै आइपुग्ने बाचा बाँधेर मण्डलक जनपदतर्फ प्रस्थान गर्छ । बाटामा थाहा पाउँछ सुपर्ण विदेहको यात्रामा छ । ऊ बाटो फेर्छ । विदेहमा सुपर्ण बिरामी  भई नाजुक अवस्थामा रहेको हुन्छ । धेरै दिनपछि सुपर्ण निको हुन्छ ।  एक दिन सुपर्णसँग "मैले आज प्रतिष्ठानपुरमा हुनुपर्थ्यो । यस अघि नै जानु पर्थ्यो । माधवीसँगको स्वयम्बरको मिति आजै तोकिएको थियो" भनी गालबले बताउँछ - सुपर्णलाई ।  सुपर्णलाई बज्रले प्रहार गरेझैं हुन्छ र गालबलाई गाली गर्छ- सम्झाउछ ।  उनीहरु माधवीसमक्ष माफ मागेर यो गल्ती सच्याउनु पर्छ भन्नेमा पुग्छन् र जतिसक्तो चाँडो प्रतिष्ठानपुर फर्कन्छन् । फर्कदा बाटोमै थाहा हुन्छ माधवी बैरागी भएर अब गृहस्थी जीवनमा नरहने भन्दै दक्षिणतर्फ साम्बाला गणमा गएकी हुन्छे । गालब र नागजेय त्यहाँ पुग्छन् । अनुनय विनय गर्छन् ।

साम्बालागण जनपद भनेको मुक्त दासीहरुको नयाँ राज्य हो । त्यहाँको सदस्य सभासद भैसकेकी माधवीले उनीहरुसँग फर्कन नसक्ने र आफुले सम्बालागणले दिएको भूमका नै निर्वाह गर्ने बताएपछि उनीहरु बाध्य भएर फर्कन्छन् । माधवी र गालबलाई जोड्ने तन्तु चुडिन्छ ।

समय सबै कुराको औषधी हो । जति समय वित्दै जान्छ उनीहरुमा एक अर्काप्रतिको स्नेह र एक्लो जीवनको बिरक्तिले च्याप्न थाल्छ । करीब ७ वर्ष एकले अर्कोलाई खोज्दै बिताउछन् । दुबै एक ठाउँबाट अर्को ठाउँमा हिडिरहने भएकोले उनीहरुको भेट हुन सक्दैन । अन्त्यमा अब पक्कै भेट हुन्छ भन्ने जस्तो मोडमा पुर्याएर उपन्यासकारले  समयको फड्को मारेका छन् करीब ५० वर्षको ।

जब माधवी ७९ र गालब ८३ का हुन्छन् त्यहीबेला गङ्गा र यमुनाको सङ्गमस्थित प्रतिष्ठनपुरमा कोशल, काँशी, भोजनगर र चम्पाका सम्राटहरु  क्रमशः बसुमना, प्रतर्दन, शिवि र अष्टकद्वारा  चतुराष्ट्र बाजपेय यज्ञ गरिरहेको भूमीमा अकास्मात पहिला माधवी र केही क्षणमै गालब देखा पर्छन् । उनीहरुको सम्बादबाट ती दुबै एकै कुटीमा बन्यप्रान्तमा सहचारीका रुपमै रहेका थिए भन्ने संकेत मिल्छ । तथापी उनीहरुले बिवाह गरेको बुझिदैन । चारै जना सम्राटहरु माधवीले जन्म दिएका हुन्छन् । परिचयात्मक वार्ता पछि माधवी र गालब दुबै आफ्नो जीवनकथा छोराहरुलाई सुनाउन थाल्छन् । अनि माधवीको कथानक समाप्त हुन्छ ।

पुरुषहठ र  गालबको हीनता बोधले गर्दा माधवीको स्वयम्बर हुन पाउदैन । जब चम्पामा गुरुदक्षिणाको काम सिध्याएर उनीहरुको यात्रा प्रतिष्ठानपुर तर्फ सोझिन्छ - त्यतिबेलाको कुरा हो यो ।  प्रेमील संबादका बिचमा दुबैले एक अर्का प्रतिको अनुराग बारेमा सोध्छन् । दुबैले एक अर्काबिना जीवनको कुनै मूल्य नभएको अनुभव गर्छन् र सोही कुरा बताउछन् । एक दिन यस्तो मोड आउँछ - माधवी गालबको काखमा उसकै आँखा तिर हेरेर पल्टिएकी हुन्छे । त्यो बेला माधवी अत्यन्त सुन्दरी देखिन्छे । सम्मोहनबस गालबले उसको  पल्लवित ओठ चुम्न खोज्छ । तर माधवीले त्यसलाई टारिदिन्छे । भन्छे –"तपोधन उपाध्याय !    .... केहि दिन धैर्य गर न, न्यास रहेकी मलाई सम्राटमा फिर्ता बुझाउनु तिम्रो धर्म होइन ?  हेर अहिले द्यौ-पृथ्वीको चुम्बनलाई  किन्चित समयपछि मात्र स्वर्णीम आभा प्रकट गर्नेछिन । सूर्य अझै क्षितिज माथि नै छन् । त्यहाँ हेर गालब ! "  यसलाई गालबले आफ्नो पराजयको रुपमा लिन्छ । ऊ सँधै झैं माधवीसँगको पराजयसँग डराउँछ र आफूभन्दा श्रेष्ठ नारीसँग स्वयम्बर गर्न डराउँछ र प्रकटमा स्वयम्बरमा अर्कै निहुँ पारेर अनुपस्थित रहन्छ ।

उपन्यासमा नारीलाई परिवर्तकको रुपमा अझै भनौ नरीको प्रयोग जहाँ जे जसरी गर्दा पनि हुन्छ भन्ने मान्यतालाई देखाइएको सम्बन्धमा अब थप भनिरहनु परेन ।  गालबलाई सत्कार स्वरुप नागजेयले आफ्नै जाया  जवालाई अर्पित गर्छ । पुरै उपन्यास त्यस समयको नारीहिंसा र दास व्यवस्थालाई उदाङ्गो बनाउदै हिडेको छ ।  परिवर्तन राजनैतिक छलाङ्गको रुपमा नभइ जनचेता अभिवृद्धि र सभ्यताको विकाससँगै क्रमशः हुदै जाने कुराहो भन्ने उपन्यासको सन्देश आजका राजनीतिकर्मी जो देशलाई एकै झड्कामा युरोप बनाइदिन्छु भन्ने हरुलाई काम लाग्ने विषय हुन सक्छ ।

वेद तथा काब्य कथाहरु लेखिनु अघिको कालखण्डको यो उपन्यासले संकेत गर्छ । मन्त्रद्रष्टा ऋषि विश्वामित्रसँग बेदमा विष्णुलाई पनि स्थान दिन आग्रह गरिनुले पनि यसलाई थप पुष्टि गरेको छ ।

सभ्यताको शुरुवातमा जे काम गर्दा पनि साइत हेरेर त्यसलाई तान्त्रिक विधिबाट पुजा शुरु गरी गरिन्थ्यो ।  उशीनरहरुले भोजनगरमा क्षेत्रतन्त्र गरेर कर्षणको कार्य प्रारम्भ गर्थे भने पुत्र मन्थतन्त्रको तान्त्रिक अनुष्ठान र अष्टमातृकालाई घ्युधार दिएर पति- पत्नी बिच खुलेआम सम्भोग गरेर पुत्रेष्टि यज्ञ गरिन्थ्यो ।

उपन्यासको विषयबस्तु मानब विकास क्रम र मानव रचना शास्त्रको सिद्धान्तसँग ठ्यक्कै मेल खान्छ ।  त्यतिवेलाका राज्य तथा समाजहरु कुनै नारीप्रधान र कुनै पुरुषप्रधान थिए । त्यतिबेलाका मानिसहरु आफूलाई कुन कुल गोत्रको हो भनेर चिनाउन गोत्र चिन्ह पहिरिएर हिड्दथे । जस्तै- मुसिकहरु मुसाको दाँतको माला लगाउथे । गरुणहरु गरुणको चिन्ह टाउकोमा लगाएर हिड्थे । असुरहरु मुखुण्डो भिरेर हिड्थे, कौशिकहरु दाँया पाखुरामा खरानीको त्रिपुण्ड बनाएर हिड्थे  आदि ।  खानका लागि माछा, गाइको मासु, कोदो केरा तथा केही मात्रमा धान, जौ आदिको प्रयोग गर्दथे । उखुको रसमा पकाएको खीर त्यतिबेलाको चौरासी ब्यन्जन नै थियो । खेतिपाति भर्खर शुरु भएको थियो । आधुनिक भन्नेहरु लाङ्घालको प्रयोग गर्दथे  । लाङ्घाल (हलो) लाई तान्न गोरुको प्रयोग शुरु भर्खरै गरिएको थियो भने त्यस अघि नारीहरु वा दासीहरुलाई हलो तान्न लगाइन्थ्यो । हलोमा ढुङ्गाको फालि हालिन्थ्यो । काट्नको लागि ढुङ्गा, बाँसको भाटा (घास काट्न हाडबाट बनेका हँसिया आदि) को प्रयोग गर्दथे । हरियुपियाको शहरको भग्नावशेषमा इटाको प्रयोग देखेर सुपर्ण नागजेय छक्कै परेको थियो । बाणको टुप्पोमा फलाम हाल्न थाल्ने विद्वान ठहरिन्थ्यो । आम जनताले जनावरको छाला तथा पात, रुखका बोक्रा आदि बेरेर हिड्थे । सुती बस्त्र सबैको औकातमा थिएन । त्यो समय सभ्यताको उदय हुन मात्र लागेको थियो । 

उपन्यासमा गालबको विद्वताको खुब वर्णन गरिएको छ । उसले कपालिक शङ्खग्रीब, काशीको राजप्रोहित प्रयुत तथा विदुषी वृद्धा काक्षिवति घोषा जस्ता विद्वान विदुषीहरुसँग शास्त्रार्थ गरी सबैलाई मुग्ध बनाएको थियो । शास्त्राभिमानी प्रयुत त शास्त्रार्थमा हारेर साँच्चै नै पलायन भएको थियो । उपन्यासमा गालब तथा माधवीलाई बैष्णवी धर्मका धरोहरका रुपमा उभ्याइएको छ । मांसहार नगर्ने परमपरा सायद यायावर समूह र गालबकै अनुसरण गरी त्यसै समयमा शुरु भएको हुनुपर्छ ।

उपन्यासलाई प्राचीन समयको जस्तै बनाउन उपन्यासकार दीक्षितले संस्कृतका तत्सम तथा ज्यादै औपचारिक र शिष्ट शब्दहरु प्रयोग गरेका छन् । निश्चय नै त्यतिबेला यस्तो भाषा बोलिदैनथ्यो ।  भिन्न स्थानमा भिन्न भाषा प्रयोग हुन्थ्यो । हुनसक्छ - ऋषि तथा राजाहरु संस्कृत बोल्थे । तथापि उपन्यासमा सार्थवाह, बैश्यहरु, केवटहरु, निषादहरु तथा विभिन्न जाति जनजाति र समुदायका मानिसहरुको उपस्थिति छ । त्यसो त कतिपय साहित्यिक रचनाहरुमा काल्पनिक वा विश्वमा हुँदे नभएको भाषाको प्रयोग पनि पाइन्छ । तथापि नेपाली भाषाको उपन्यासलाई त्यतिबेलाको घटनासँग लय मिलाउन उनले यस्तो प्रयोग गरेको देखिन्छ । शुरुमा प्रयुक्त अन्य भाषा तुर्क, फारसी लगायतका शब्द संशोधन गरिएको भनी दीक्षित स्वयंले भुमिकामा बताएका छन्  । भाषिक आधार संस्कृत वा  संस्कृत साहित्यमा रुचि हुनेहरुको लागि त यो उपनयास केही सुगम नै लाग्ला तर अरु नै नेपाली भाषीहरु जो त्यस मध्ये पर्दैनन् उनीहरुका लागि पनि पहिला करिब ४० पृष्ठ पढ्नसके बाँकीमा प्रासङ्गिक हिसाबले अर्थ खुल्नेछ भन्ने विश्वास छ । लेखकले गहकिला शब्दहरुको अर्थ समेत साथमा राखिदिएका छन् ।  शुद्धाशुद्धिमा प्रकाशकले ध्यान दिनु जरुरी थियो । आशा छ आगामी संस्करणमा त्यो हुनेछ ।

उपन्यासकी प्रमूख नायिका माधवी नै हो जो दासत्व र हिंसा बिरुद्धमा मोक्ष पाउन/ दिलाउन आँफै सयौ हिंसा सहन्छे । केशशुल्का बन्छे ।  माधवीसँग जोडिएका गालबको नयकत्व तथा विश्वामित्र तथा माधवीसँग सहबास गरेर चक्रवर्ति सम्राट जन्माउने राजाहरु, ती राज्यमा आफ्नो आफ्नो भुमिकामा रहने अमात्यहरु प्रोहितहरु, दास दासी र सेविकाहरु, गालबको अभिन्न बालसखा सुपर्ण गरुण तथा उसकी जाया जवा उपन्यासका अभिन्न अङ्गहरु हुन । उनीहरु सबैको आफ्नो आफ्नो भुमिका छ । कुनै पनि कमजोर भन्दा कमजोर भुमिका भएको पात्र नै किन नहोस ऊ बिना उपन्यास यो रुपमा आउदैनथ्यो ।

 सरयु नदी किनारमा रहेको बनायु जनपदकी प्रमूख प्रौढा निषाद माता चौलाको ममताले माधवीको आँचल भिजेको छ । उसले दिएको औषधीले गर्भाधारणमा सधै सहयोग मिल्छ । चौलाको आफ्नै कथा छ । उनको राज्यमा दास छैनन् । त्यसले माधवीलाई खुब रमाइलो लाग्छ । चौलाले गरेको अतिथि सत्कार, सुपर्णले गालबलाई गरेको अतिथि सत्कार, हरेक राजाहरुले गालब र माधवीलाई गरेको अतिथि सत्कारहरु आधुनिक युगमा समेत हस्पिटालिटी म्यानेज्मेन्टको विषय बन्न सक्छ ।

करारमा आधारित सुपर्ण र जवाको विवाह पछि प्रेमील र गृहस्थ बन्छ । गालबले माधवीलाई स्वयम्बरको बरमाल्य पहिर्याउन नसकेपनि उनीहरुको प्रेमील यात्रा जीवन पर्यन्त चलिरहन्छ । प्रेमको अटुटता र अमरतामा यो उपन्यास एउटा उदाहरण बनेको छ । माधवीले गालबको प्रेम प्राप्तिका निमित्त केशशुल्का भई गरेको सहयोग उपन्यासको केन्द्रीय विषय हो ।  माधवी बिरामी हुँदा गालबले मरिहत्ते गरेर अनेक उपाय र सुश्रुसा गर्छ । गालब बिरामी परेर अचेत भई आफ्नी आमाको नाम पुकार्दा माधवीले आफ्नै स्तन उसको ओठमा लगाइदिन्छे, अहोरात्र सेवा टहल गर्छे । यो भन्दा ठूलो प्रेम खोज्न अर्को कुन शास्त्र कुन गाथा खोज्न जानु पर्ला र ?

उपन्यासको हरेक जसो अध्यायमा ऋग्वेदका सुक्तहरु, स्तुतिहरु प्रयोग हुन्छन् । यज्ञ परम्परा हरेक राजा तथा ऋषिहरुको आफ्नै भैहाल्यो । माधवीको वारुणी भूमिकामा रहदाको लास्य नृत्य अलौकिक छ । खुसी मनाउन कौमुदी महोत्सब तथा मदन महोत्सब आयोजना गरिन्छन् । तिनीहरु नै बिस्तारै परमपरा बन्छन् । नाच गान, भजन कीर्तन तथा बाध्यहरुले उपन्यासलाई धेरै ठाउँमा सजाइएको छ । उपन्यासमा शुरु देखि अन्त्यसम्म नै यसपछि के होला भन्ने जिज्ञासाले डोहोर्याइरहन्छ र पढ्न सम्भव बनाइदिन्छ । साना ठूला कथा उपकथा तथा अनेकौं प्रसङ्गहरुको माल्यबनाएर पाठकवर्गमा लेखकले माल्यार्पण गरेका छन् । ती सबै कुराहरु यो एउटा आलेखमा समेट्न सम्भव छैन । तसर्थ मूल कृतिलाई एकपटक पढेमा यसले पाठकीय जीवनमा एउटा ठूलो अनुभव थप्नेछ भन्ने लेखकको अभिमत रहेको छ ।

Monday, April 19, 2021

लेखः महाभारतको विनिर्माण र साहित्यप्रतिको अपेक्षा

-       जनार्दन कट्टेल


विहानै रेडियोबाट अनुराधा पौड्वालको मीठो स्वर गुञ्जियो ।  यशोमिती मैयाको पुछे नन्दलाला, राधा क्यू गोरी मैं क्यू काला..... ।

उतिबेला  रेडियो नेपालका अतिरिक्त भारतका विभिन्न ठाँउबाट प्रसारण हुने सर्ट वेभ तथा मेडियम वेभ रेडियोको प्रचलन थियो । अहिले जस्तो टेलिभिजन, एफ एम तथा युट्युब जस्ता आधुनिक प्रसारण माध्यमहरुको शुरुवात भएकै थिएन, गाँउमा पुगेकै थिएन । चर्चित रेडियो स्टेशनहरुमा रेडियो नेपाल, अल इन्डिया रेडियो, विविध भारती, रेडियो खर्साङ आदि थिए । कहिले काँही रसियाको मस्को तथा चीनको बेजिङबाट समेत नेपाली कार्यक्रमहरु प्रसारण भएको पाइन्थ्यो ।  उतीबेला रेडियोमा पत्राचार गरी आफ्नो फरमाइसको गीत सुन्ने चलन ब्यापक थियो ।

केहीबेरमा नन्दलाल र यशोदा माताको संबाद शुरु भयो –

यशोदा मैयाले कृष्णलाई दही चोरेर खाएको भनी गाली गरिन् । कृष्णले आफूले त्यस्तो गल्ती नगरेको अनेक प्रमाण दिन थाले ।  अन्त्यमा यशोदा मैयाले स्वीकारिन् - तिमीले दहि खाएको होइन रहेछ भनेर । अनि कृष्णले पनि आमालाई किन ढाँट्नु भनेर मेलै दही खाएको नै हो भनिदिए । अनुप जलोटाले कलात्मक स्वरमा त्यस्तो संबाद सुनाए । रेडियो खर्साङबाट ।   यो मेरो बाल स्मृति मात्र हो  ।

यो हाम्रो धर्म थियो । धर्मले, धर्मशास्त्रका कहानीहरुले सजिलै भनिदिन्छन् चोर्नु पाप हो । छल्नु पाप हो ।  तर यहाँ प्रस्तुत भजनमा कृष्णजिले या त चोरे, या त ढाँटे । त्यसै कुरालाई साहित्यले मलजल गर्यो । संगीतले सुललित बनायो । अनि बाल मस्तिस्कमा भरिदियो । यसबाट बाल मस्तिस्कले के बुझ्ने ? चोर्नु हुने कि नहुने ? ढाँट्नु हुने कि नहुने ? म बयस्कले नबुझेको कुरा बालकले के बुझ्छन् ?  रनभुल्ल पर्छु ।

मैले पनि कृष्णको कथा सुनेर बालककालमा कति उट्पट्याङ कुराहरु गरेको छु । त्यसको सट्टामा कति झापड खाए हुँला बा आमाबाट, दाजु दिदीबाट । कति चोरियो । कति ढाँटियो । आखिर ढाँट्न  चोर्न त हाम्रै नैतिकता सिकाउनुपर्ने धार्मिक ग्रन्थलेले सिकाएछ नि त ।  म भन्दिन धर्म अनैतिक हुन्छ भनेर । म भन्दिन धर्म  अधार्मिक  हुन्छ भनेर । तर धर्मले बोकेको दर्शनलाई, नैतिकतालाई जुन उमेर समुहमा जसरी ब्याख्या गर्नु पर्ने हो नगर्नाले, जसरी प्रस्तुत गर्नु पर्ने हो नगर्नाले, या त सानै उमेर देखि विश्लेषणात्मक चेत नभरिदिनाले हाम्रा धार्मिकताहरु कति ठाँउमा अधार्मिक र अनैतिक भएका छन् । यो हामीले धेरै ठाँउमा देखेका छौं ।

त्यसो त रित्तो गाग्रोको आवाज ठूलो हुन्छ । अनि आधा भरिएपछि बढी छचल्किन्छ ।  हामीले हाम्रो समाजलाई या त रित्तो राख्यौं, या त आधा राखेर छचल्काइदियौं ।

हिजोसम्म हाम्रो पाठ्यक्रममा नैतिक शिक्षा थियो । मानिसहरुले यसलाई अनावश्यक ठाने । नैतिक शिक्षाले राजतन्त्रलाई नेतृत्व दियो अरे । निरङ्कुश तन्त्रलाई मलजल गर्यो अरे । अनि पञ्चायती पक्षधरलाई प्रस्ताब गर्यो अरे । अनि अरु पनि थुप्रै के के गर्यो थाहा छैन । तर भन्नेले भनिदिए- यो त बुर्जुवा शिक्षा भयो । हेडमास्टर हटाइए । शिक्षकहरु कुटिए । संस्कृत त झनै आधुनिक समाजको शत्रु नै ठहरियो  के कुरा गर्नु र ?

हालसालै मात्र महाभारतमा आधारित टेलिशृङ्खला हेरिसकें । मलाई पहिला त महाभारतमा कुनै रुचि थिएन । पढ्ने वा फिलिम हेर्ने फुर्सद पनि थिएन । तर केही साहित्यकारहरुको महाभारतमा आधारित विनिर्माणहरु पढेपछि रुची बढ्यो । हुन त टेलीशृङ्खला पनि पनि मूल ग्रन्थ होइन । तथापि यसबाट महाभारतमा के विषय कसरी उठाइएको छ भनी प्रष्ट हुन केही मद्दत चाँहि अवश्य मिलेको छ ।  म अझै पनि भन्न सक्दिन कि बेदब्यासले लेखेको महाभारतको जस्ताको तस्तै रुपमा यो शृङखला तयार पारिएको थियो वा थिएन । वा यसमा पनि केही कथानकहरु थप्ने, नाटकीय रुप दिनका लागि संबादहरु थप्ने लगायतका कार्य भएकै होलान् । या त कथालाई अलि धेरै विनिर्माण नै गरिएको नै थियो कि ?  मूल ग्रन्थ अझै नपढेकोले भन्न सकिएन । शृङ्खलाको कथा र चरित्र चित्रणलाई नै ब्यासको आधिकारिक धारणा मान्ने हो भने मैले हाल सालै पढेका दुबै- कृष्ण धराबासी र कुमार भट्टराईका कृतिहरु क्रमशः राधाअश्वत्थामामा कथालाई थुप्रै विनिर्माण गरिएको पाएँ । यसमा ब्यासका खलनायकहरु नायक र नायकहरु खलनायकमा थाहै नपाई परिवर्तन भएका रहेछन् । मानौं कि अदालतमा बादी पक्षका वकील बेदव्यास र  प्रतिवादी पक्षमा कृष्ण धराबासी र कुमार भट्टराई  बकालत गरिरहेछन् ।  यसले धार्मिक कथा भित्र पनि विश्लेषण गर्न सकिने चेत भने अवश्य थपेको छ – तथापि उपुक्त उमेर समुहका लागि मात्र ।  

भारतीय प्राचिन इतिहास महाभारतको कथामा आधारित छ । इतिहासकारले आफ्नो ऐतिहासिकताको आधार महाभारतलाई बनाएको हो या बेदव्यासले आफ्नो काब्यको प्लट भारतीय इतिहासलाई लिएको हो भन्न अलि गाह्रो छ । त्यसो त अन्य एतिहासिक उपन्यासका पृष्ठभूमीहरु पनि माहाभारतको कथामा वर्णित राज्यहरु, राजाहरु तथा वर्णित विषयवस्तुहरुसँग मिल्दजुल्दा लाग्छन् । फेरि भारतीय बुझाईमा रामायण काब्य हो भने महाभारत इतिहास नै हो भन्ने ठम्याइ छ ।  जे होस दार्शनिक हिसाबले महाभारतमा प्रत्येक सम्बादमा उत्तिकै महत्वपूर्ण ज्ञान, नैतिकता पाउन सकिन्छ तर सापेक्षिक रुपमा । यसर्थ महाभारतलाई सापेक्षिक नैतिकता, सापेक्षिक दर्शन भन्दा अत्युक्ति हुदैन । त्यसका प्रत्येक पात्रहरु उत्तिकै बलिया छन् – ज्ञानमा, बुद्धिमा, विवेकमा अनि तर्कमा । सबैले साँच्चै हो जस्तो लाग्ने बोली बोल्छन् । अनि अकाट्य लाग्ने संबादले भरिपूर्ण छन् सबै पङ्क्तिहरु । यो तर्कशास्त्रको भण्डार हो दर्शनको दस्तावेज हो ।

हामीले पनि सानो छँदा नैतिक शिक्षामा गुरुभक्तिको प्रतिकका लागि एकलब्यका कथाहरु नपढेको होइन । लक्ष्यका लागि अर्जुनको कथा नपढेको होइन । केही यस्ता केटाकेटीका लागि उपयुक्त हुने कुराहरु छन् यस कथामा । तर धेरै जसो जाल झेल, कुनै एउटा आदर्शलाई अघि सारेर जस्तो सुकै हर्कत गर्न पछि पर्न नहुने तर्कहरु, आँफैले बनाएका नियमहरु कुनै अभीष्ट पुर्ति हुने भए पछि आफै तोड्दा पनि फरक नपर्ने जस्ता फोहोरी राजनैतिक कुराहरु हामी यसै काब्य भित्र पाँउछौं । सम्भवतः पुर्वीय राजनीतिमा यसैको धेरै प्रभाव  छ । धेरैका लागि भलाई हुन्छ भने आत्म समर्पण गर्दा, केही त्याग गर्दा पनि हुन्छ भन्ने कुरा यहाँ कंहि कतै पनि देखिएन । कोही राष्ट्रबादको अतिमा लागेर जनहत्या र युद्धका लागि मरिमेट्छ भने कोही प्रतिशोधको ज्वालामा पिल्सिएर अनि कोही पुत्रमोहका कारणले । प्रत्येकसँग कुनै न कुनै रुपमा रहेको इगो छ । जुन झांगिएर सुपरइगो नै भएको छ । तिनै इगोका कारणले  एक से एक सबै अन्धा भएका छन् । साँच्चै भन्ने हो भने कौरब मात्र होइन पाण्डब र उनीहरुसँग धर्मको पक्षमा छु भनी वकालत गर्ने कृष्ण तथा पाण्डबका सहयोगी राजाहरु कुनै न कुनै रुपले अन्धा भएर त्यस युद्धाग्नीमा होमिन आइपुग्छन् ।  आगो तब मात्र निभ्छ जब सबै कुरा जलिसक्छ । अझ महाभारत पछि अन्य ग्रन्थहरुमा उल्लेखित कथा समेतलाई जोडेर भन्ने हो भने त कृष्णको कुल र समस्त द्वापर युगको सभ्यता नै  अन्त्य भए पछि मात्र यो आगो निभेको पाइन्छ । युद्ध र प्रतिशोधको आगो निभ्नु अघिको समय र पछिको समयलाई दुई युगको नामः द्वापर र कली दिइनु यस प्रसंगमा बडो सान्दर्भिक देखिन्छ ।

जे होस महाभारत नैतिकतामात्र सिकाउने कुनै आदर्श ग्रन्थ होइन भन्ने कुरामा प्रष्ट छ । यो राजनीतिक अभ्यास, आदर्शको मलजल गर्ने पाठशाला र कपटको इन्द्रजाल हो । यहाँबाट नैतिकताको पाठ भेट्न त्यत्तिकै तार्किकता, चतुरता आवश्क पर्छ जति कृष्ण द्वैपायनले कृष्णलाई काव्यिक शृङ्गारले भरेर चतुर र तार्किक बनाएका छन् ।

कृष्ण धराबासीले राधालाई मुख्य पात्रको रुपमा उभ्याएर यस कथालाई केही विनिर्माण सहित त्यो युगमा स्त्री जातिमाथि भएको अन्याय पूर्ण ब्यवहार कति सम्म गरिन्थ्यो भनेर एउटा दृष्टान्त नै पेश गरेका छन् ।  युद्ध पराक्रमको पुरस्कारको रुपमा महिलाहरुको लेनादेना त्यतिबेलाको परम्परा नै थियो । कृष्णले जता जता युद्ध जित्दै गए त्यता त्यता पत्नीको संख्या थप्दै गए । आखिरमा राधा जसलाई उनले आफ्नो आधा  भाग सम्झन्थे, उनीसँग आँफैले विबाह गर्न  सकेनन् । किनकी पराक्रमबाट होइन फगत प्रेमबाट सहजै प्राप्य थिइन् राधा । उनी विबाहको लागि पछि छुटिन । पछि राधाको लागि छुट्टै महल नै तयार गरेर  कृष्णले विबाहको प्रस्ताब त राख्छन् तर त्यो बेला समयले नेटो काटिसकेको हुन्छ । जे भए पनि राधाको प्रेम मर्दैन । कृष्णको प्रेम के हुन्छ भन्न गाह्रो छ ।

धराबासीले राधालाई पुरै नेपाल घुमाएर अन्त्यमा किचकबधमा बास बसाएको र पाण्डुलिपि लेखाएको कुरा ले बडो औपन्यासिकता पाएको छ । यसले  विनिर्माणको माध्यमबाट नै सही नेपाल पनि महाभारतकालिन कथाको पृष्ठभूमि देखिएको छ भने यसैको कारणले नेपालको पर्यटकीय महत्व बढेको छ । मूल कथामा कीचक बध मत्स्यदेशको राजधानीमै  बिराट दरबार भित्र नै भएको भनिएको छ । 

महाभारतको विश्लेषण गरी गैरआख्यानात्मक विश्लेषण गर्ने  वर्मामा जन्मेकी मराठी साहित्यकार इरावति कर्वे एक प्रमूख साहित्यकार हुन् । उनले युगान्त मार्फत यो काब्यलाई वास्तविकता र स्वैरकल्पनाको कसीमा दाँजेर विश्लेषण गरेकी छन् । आम भारतीयहरुले झैं उनले पनि  महाभारत एतहासिक काब्य नै हो सत्य घटनामा आधारित भनेर स्वीकार त गरेकी छन् । तथापी उनले अन्य ग्रन्थहरुसमेतको हवाला दिएर थुप्रै संस्करणहरुमा सम्पादन गर्दै अन्त्यमा आज हामीकहाँ उपलब्ध भएको महाभारतको स्वरुप तयार भएको भनेर निचोड दिएकी छन् ।  सम्पत्तिको रुपमा नै सही पराक्रमी पुरुषसँग विवाह गर्न पाउने वा पराक्रमी पुरुष रोज्न पाउँने नारीको स्वतन्त्रता त क्षत्रीय समाजमा विद्यमान नै देखिन्छ । तथापि प्राचिन भारतीय समाजमा नारीको कुनै मोल थिएन भन्ने कुरा अन्य इतिहासका दस्ताबेजहरुले पुष्टि गरेका छन्  । नारीको पीडा र बाध्यता अनि निस्सारतालाई राम्ररी केलाएकीछिन कर्बेले । यो विश्लेषणमा उनलाई आफू नारी भएकोले, नारीबादी साहित्यकार भएकोले र भारतीय प्राचिन इतिहासको कटुसत्यताले राम्ररी सहयोग गरेको छ ।

महाभारतलाई हिन्दुहरुको महान ग्रन्थ मानिन्छ । यो कहिले देखि मानिन थालियो यसका लागि बेग्लै ठूलो सोधको आवश्यकता पर्दछ ।  यसै ग्रन्थलाई  आफ्नो आफ्नो बुझाइ अनुसार, विश्लेषण क्षमता, बौद्धिकता अनुसार कसैले भनेर र कसैले नभनेरै थुप्रै विनिर्माणहरु तयार भएका छन् । यस्ता महत्वपूर्ण विनिर्माणहरुमा मदनमणि दिक्षितको माधवी प्रमूख रुपमा देखा पर्छ ।  विश्वेश्वरप्रसाद कोइरालाको मोदीआइन्, विनोदप्रसाद धितालको योजनागन्धा, राजेश्वर देवकोटाको द्वन्द्वको आवशान, नीलम कार्की निहारिकाको चीरहरण, घनश्याम कडेलको धृतराष्ट्र,  नवराज लम्सालको कर्ण तथा रमेश विकलको मिल्किएको मणि जस्ता  नेपाली साहित्यका कृतिहरुले कुनै न कुनै रुपमा महाभारतको कथालाई बोकेर हिंडेकाछन् । यी बाहेक हिन्दी मराठी बंगाली  तथा अन्य थुप्रै भाषामा लेखिएका कयौं कृतिहरुको त  हिसाबै छैन ।  यी सबैको आफ्नो आफ्नै विशेषता र बैशिष्ट्यता पनि छन् । सबैको विश्लेषण एउटै लेखमार्फत गर्न सम्भव हुदैन । यदि यसो हुदो हो त इरावति कर्वेको झैं अर्को गैरआख्यानात्मक पुस्तकाकारमा  आउँने थियो ।  हुनत कर्बेले कही कतैं आख्यानात्मक अध्यायहरु पनि पेश गरेकीछन् ।

त्यसो त महाभारत हिन्दुहरुको ग्रन्थको रुपमा मात्र नभएर पाखण्डिहरुको पुजा सामग्री, मागी खाने भाँडो पनि भएको छ । विद्वान लेखकहरुको सारथी तथा सिकारुहरुको बैशाखीको रुपमा पनि यसैले काम गरेको छ । मलाई के लाग्छ भने लेखकको बौद्धिकता भन्दा ठूलो विद्वता कुनै देवताको पनि हुदैन । किन कि कृष्ण आदिलाई देवत्वकरण गर्ने उनै कृष्णद्वैपायन ब्यास हुन् । उनलाई देवीभागवत लगायतका कृतिमा उन्तीसौं ब्यासका रुपमा ब्याख्या गरिएको छ । कालो बर्णका ऋषि परासरका छोरा, सत्यवतीद्वारा गोप्य रुपमा कुनै अनकन्टार द्वीपमा जन्म गराइएको र द्वीपमा बस्ने भएकाले उनलाई कृष्णद्वैपायन भनिएको थियो । उनी  ऋषि तथा साहित्यकार भए पछि ब्यासको उपाधी दिइएको थियो । अहिलेका बिनिर्माणहरुले ब्यासले देवत्वकरण गरिएका कृष्णलाई मानबरुपमा आरोपित गर्नु त्यत्तिकै चुनौतिपूर्ण छ जति चुनौति ब्यासले मान्छेलाई देवता बनाउन खपेका थिए । यो सबैमा लेखककै बौद्धिकता झल्कने नै हो ।

 जे होस्, महाभारत एउटा धार्मिक, साहित्यिक र ऐतिहासिक कृति भएकोमा अब कसैको दोस्रो मत आँउदैन । त्यसो त सडकमा लेखिएको अंग्रेजीको ६ लाई कसैले अर्को तर्फबाट ९ देखेजस्तै सबैले हरेक कुरालाई आफ्नो आफ्नो ढंगबाट बुझ्ने हो । त्यसैले बुझाइ सापेक्षिक हुन्छ भनिएको हो । मानिसले आफ्नो परिवेश, आफू हुर्किएको वातावरण, आफ्नो बौद्धिक क्षमता, आर्थिक क्षमता, आफूलाई अरुले हेर्ने दृष्टिकोण, सरसंगत लगायत अनेकौ परिवेशजन्य र पारिस्थितक कुराहरुबाट आफ्नो हरेक चिजलाई हेर्ने धारणा बनाएको हुन्छ । सम्भवत यो कोहीसँग अर्को कसैको मिल्दैन । यो नै सापेक्षिकता हो । यिनै सापेक्षिकतालाई समेत बिचार गरेर हरेकलाई चित्त बुझ्ने साझा दृष्टिकोण अबका विनिर्माणहरुमा अपेक्षित छ ।  अहिलेसम्म गरिएका र अब हुने यस्ता खाले बिनिर्माणहरुले नैतिकता र सामाजिक अनुशासनलाई जोगाएर अघि बढ्नु आवश्यक छ । उमेर समूह लक्षित विनिर्माण गरेर बाल मस्तिस्कमा नैतिकता  र आदर्श, युवाहरुमा  हिम्मत जाँगर र उद्यमशीलता तथा प्रौढ तथा बृद्धहरुमा दर्शन साहित्य तथा  धार्मिकतालाई अभिवृद्धि हुनेगरी काव्यिक विनिर्माण गरी नयाँ कृतिको सिर्जना गर्न सकेमा अबको युग सुहाउदो समाज निर्माणमा साहित्यको  ठूलो योगदान रहनेछ भन्ने  मेरो ठम्याई रहेको छ ।