कविता: पुकार यो भूमीको - झ्याउरे छन्द
*****************************************
कालीको शीर एक्लो भै रून्छ लिपुको त्यो लेक ,
रूदैछ भूमि नबन तिमी अबुझ अदेख ।।
देशका भक्त, जागेर उठ लिएर अठोट
कसैले किन यो भूमीलाई पुर्यायो कि चोट ?
पछाडिबाट धस्दैछ दाह्रा, शत्रुले आएर
भाइ हु तिम्रो भनेर खुबै बखान लाएर
जोगाउ दाजु, जोगाउ भाइ, यो भूमी तिम्रै हो
पुकार्छ माटो जोगाउनु छ कर्तब्य हाम्रै हो
मिचियो देश, चिरियो छाती पीडा भो मनमा
नेताले बोले नेताकै बोली म परें रनमा
कस्तो हो हाम्रो यो स्वाभिमान कसरी जोगाउ ?
सीमाको खम्बा ताकत शक्ति रक्षार्थ खटाउ
जन्मेनन् क्याहो अमरसिंह, यो देश भित्रमा ?
कसरी छुट्यो आमाको तस्बीर यो मानचित्रमा ?
कसरी भन्छौ यो देश मेरो, कर्तब्य नसम्झी ?
चुमिन्छ कहाँ हिमालचुली गन्तब्य नसम्झी ??
हिमाल, पहाड तराई हाम्रो उच्च छ गरीमा
भूस्वर्ग यस्तो भेटिन्छ कहाँ यो विश्व भरिमा ??
हीमाली टोपी लाएर हाँस्दा आँखैमा सजाउने
पियारो देश नेपाली माया मनैमा बसाउने ।
आमाको छाति बैरीको नङ्ग्रा फैलिन नदेउ
हँसिलो प्यारो आमाको मुहार मैलिन नदेउ
बिन्ति छ जुटौ, समय छदै कदम बढाउ
यो देशलाई खाँचो छ हाम्रो, कदम बढाउ ।।
*****************************************
कनि कुथी गरेको मिति २०७७।०१।२७
कनि कुथी गरेको मिति २०७७।०१।२७