Tuesday, November 7, 2017

गजलः कसले भन्यो पैसा फल्ने रुख छ रे खाडीमा ?

कसले भन्यो पैसा फल्ने रुख छ रे खाडीमा ?
बरू खेतमै सुन फल्थ्याे बदलियो झाडीमा ।।


सँगै बसी आँटो पिठो खाउला भन्ने सपना थियो
दुलही बनी सजिई आउँदा – बनारसी साडीमा ।।


तिमी गयौ खुसी छोडी, सुख खोज्न परदेशमा
यता आफ्नो सपना बग्यो गैरी खेत झैं बाढीमा ।।


आऊ प्यारा ! फर्की आऊ, सम्झी आफ्नो मातृभूमि !!
युवा शक्ति बिना देश, लिलाम हुन्छ कबाडीमा ।।


तिम्रो तागत धेरै खच्र्यौ मरुभूमि सिंगार्नलाई
आफ्नै देशमा पौरख गरौं बल छदैं नाडीमा ।।


२०७४/०७/२१ 


Monday, November 6, 2017

गजलः अलि ढीला गरी आउनुभो नि हजुर

अलि ढीला गरी आउनुभो नि हजुर
फाइदै नभै क्यै धाउनुभो नि हजुर ।।

भनेकै होे गर्नु,  जे गर्ने बेलैमा
बेमौसमी गीत गाउनु भो नि हजुर ।।


के रह्यो र मोल लगन पछिको पोते
ब्यर्थै दुःख पनि पाउनु भो नि हजुर ।।


बिन्ती भुली दिनु सगैं हिड्ने स्वप्न
मात्र यादमा जो छाउनुभो नि हजुर 

 २०७४/०७/१९

Thursday, November 2, 2017

गजलः लाग्छ कतै शहर भित्र माेज देखिन्छ...

लाग्छ कतै शहर भित्र माेज देखिन्छ । 
के को खुसीमा हाे कुन्नि,  भाेज देखिन्छ । 


लाटा साेझा हराउने घरैघरकाे  जंगल  भित्र
दाैड्धुप र  खिचातानी हर राेज देखिन्छ ।


जे गर्नु छ गर्छ त्यही रूपैयाँले साथी 
हर क्षेत्रमा अमीरीकाे अाेज देखिन्छ । 

किन छैन शहर  भित्र अभाव र पीडा साथी ? 
भाव बिना बाँच, जीवन बाेझ देखिन्छ । 

कस्ताे अनुभुति हाेला द्रष्टा दैबप्रति  कुन्नि ??
 तस्वीर भित्रै हाँसाे लग्ने पाेज देखिन्छ ।।

रचना मिति २०७४/०७/१७

Saturday, October 21, 2017

गजलः दीपावली गरें भन्याै, मनकाे बत्ती बाल्याै कि त ?


गजलः दीपावली गरें भन्याै, मनकाे बत्ती बाल्याै  कि त ? 


दीपावली गरें भन्याै, मनकाे बत्ती बाल्याै  कि त ?

लक्ष्मीपूजा गर्दै गर्दा लाेभ लालच फाल्याै  कि त?

द्रब्यार्जन मात्र हैन मनकाे पनि धनी बन्नू
धनकाे रास अघि राखी  हाँसाे खुसी  पाल्याै  कि त ?

नमासिने नचाेरिने अरूलाइ नि काम लाग्ने
त्यस्ताे धन कमाउने  एकै कदम चाल्याै  कि त ?

जति भएनि  धेरै दुखी देखिदैछन्  हाम्रै अघि
धन उत्तम प्रयाेग गरी सारा दुख टाल्याै कि त ?

फगत साेच मात्र न हाे अमीर हाेस वा दरिद्रता
अंहकार मिलाइएकाे त्यस्ताे भ्रमलाइ ढाल्याै  कि त  ?

-  रचना मिति २०७४/०७/०२ लक्ष्मीपूजा 

Sunday, September 24, 2017

गजलः दशैं अाउनुपर्छ

गरीबलाई 'दशा' नभै दशैं आउनुपर्छ
महलदेखि झुप्रो सम्म खुसी ल्याउनु  पर्छ ।।

हर्केलाई भोटो अनि सान्नानीलाई जामा,
एकसरो आङ ढाकी रम्न पाउनु पर्छ ।।


हिन्दु मात्रै होइन सबै नेपालीको पर्व,
मालश्रीको धुन भित्र सद्भाव छाउनु पर्छ ।।


धान झुल्ने खेतै खेत टीका थाप्न जाॅदा,
 सत्विजय र समृद्धिकाे गीत गाउनु पर्छ ।।


शुभ, मंगल  कामना छ सबै जनप्रति
हर्षाेल्लाशमय शरद, रमाउनु पर्छ ।।

पुनर्लेखन  मिति ः २०७४-०६-०८

Wednesday, September 13, 2017

कथाः अन्तरजातीय विवाह

कार्यालयको कामको सिलसिलामा हाम्रो टीम विर्तामोडमा फिल्ड मुकाम बनाई बसेको थियो । होटल विनायकमा ।
“म्याडमलाई अस्पताल लिएर जगन्नाथ सर आउनु भएको छ अरे । म्याडमको अवस्था गम्भिर छ रे ।”  सरोजले कोठा भित्र छिर्दा छिर्दै भन्यो ।
 मैले आनी छोइङ डोल्माको ‘फूलको आखाँमा’बाट  आफ्नो आँखा हटाएर जिज्ञासु बन्दै सरोज र पुष्करलाई पालैपालो हेरें ।
“म पनि सुन्दैछु । एकचोटी अस्पताल पुगेर आउनु पर्छ कि, जनार्दन जी ? ” पुष्करले  ल्यापटप बन्द गर्दै भन्यो ।
“ठीक छ, जाउँ न त ।” पुस्तकलाई टेबलको एक कुनामा राखेर म टिसर्ट लागाउन थालें ।
यस पछि हामी होटलको कोठाबाट बाहिरियौ ।
लामो समय सम्म सरकारी नोकरीबाट भरखरै अवकाश पाएका जगन्नाथ सर र म्याडमको घरमा कहिले काँही ठास्स ठुस्सको खबर अफिससम्म पनि आइपुग्थ्यो । सामान्य अवस्थामा दुई जनाको जोडी नारीचालित देखिन्थ्यो भने जगन्नाथ सरले लोकले नदेख्ने बेलामा अलिअलि लोकल देखेका बेलामा भने पुरुषचालित झैं लाग्थ्यो । त्यसै बेलामा अलि अलि परालको आगो बल्थ्यो । लोकले देख्दा लोकलको पावर घटिसकेको हुन्थ्यो र आगो पनि निभिहाल्थ्यो । कहिले काँही ती ढुकुरका जोडी बजार बीचमा हात समाएर सयर गरेको पनि देखिन्थ्यो ।
पुष्कर र जगन्नाथ सर लामो समय एकै अड्डामा  नोकरी गरेका थिए ।  सरोज भने जगन्नाथ सरको छिमेकी थियो । उनीहरु जगन्नाथ सरको बारेमा ओस्ताद थिए । जगन्नाथ सरको उमेरको कारणले अनिवार्य अवकाश भएपछि मात्र अन्यत्रैबाट सरुवा भई आएकोले मैले वहाँसँग एकै अड्डा वा एकै जिल्लामा बसेर काम गर्न पाइन । तथापी विद्यार्थी जीवनदेखि नै विभिन्न अड्डामा सेवा लिने क्रममा चिनेको थिएँ मैले जगन्नाथ सरलाई । ब्यक्तिगत र पारिवारिक जीवनसँग अनभिज्ञ रहे पनि उनको मिजासिलो स्वभाव र सेवाप्रवाहमा सधै तत्पर रहने तथा सहयोगी व्यवहारको कारणले म वहाँको व्यक्तित्वबाट प्रभावित थिएँ । 
बाटोमा जाँदा जाँदै सरोज सरले भन्यो –“बुढामान्छेलाई खै केको दशा लाग्यो, अस्ति मात्र आमालाई लिएर आए । अब आफूसँगै राख्ने भन्दै थिए ।  आजै म्याडमको नाजुक अवस्था छ, अस्पताल ल्याएको छ भनेर खबर आयो ।”
“पुख्र्याैली चाँँही कता रैछ बाबैको ?”,
“धेरै अघिको त के जानौ र तर उनका बाआमा खोटाङबाट बसाई सरेर आएका भन्थे । अहिले मूल घर भने फत्तेपुरमा छ ।” पुष्करले मेरो जिज्ञासा मेटाउदै भन्यो ।
“चताराबाट पश्चिम होइन, फत्तेपुर ?”
“हो तर सप्तरीको कन्चनपुरबाट उत्तरभन्दा चै सजिलो होला बुझ्न ।” पुष्करले फेरि भन्यो । 
बाटोभरी जगन्नाथ सरकै बारेमा गफ गर्दै गयौं । विर्ता सिटी हस्पिटलको गेट अघि पुग्दा कम्पाउण्डका बत्तीहरु झलमल्ल भए । रातले दिनलाई रमाना पत्र थमाउदै थियो । आफू बहाली हुन ।
हस्पिटलको नर्सिङ स्टेसन पुगेर सोधपुछ गर्ने क्रममा जगन्नाथ सर आँफै टुप्लुक्क आइपुगे त्यहीं ।
-“लौ, सरहरु सबैलाई नमस्कार है । ”
हामीले अभिवादन फर्कायौ ।
-“खै त कहाँ राखेको छ गुरुआमालाई ?” विद्यालयमा पढाउने भएकोले मोमिता म्याडमलाई सबैले गुरुआमा भन्ने गर्दथे । सबैभित्र म पनि परें । पहाड तिर शिक्षिकालाई मिस, म्याडम वा टिचर भन्ने चलन थिएन पहिला । अहिले समय फेरिइसक्यो ।
-“खै ! मृत्युको मुखमा राखेको छ भन्नु पर्ला । आइ. सि. यु. मा ।”, जगन्नाथ सरको अनुहारको कान्ति अघिनै कतै घुम्न निस्किसकेको थियो ।
-“हैट सर, कहाँ त्यस्तो निराश बन्नु भएको । बिस्तारै ठीक होला नि ।  अब हस्पिटल भर्ना त गरिसक्नु भयो । आइ. सि. यु लाई मृत्युको मुखको सज्ञा दिन मिल्छ त ?  झन राम्रो केयर गर्नको लागि बनाइएको विशेष कक्ष पो हो त । चौबिसै घण्टा निगरानी राखिन्छ त्यहाँ ।” पुष्करले जगन्नाथ सरलाई सम्झाउदै आइ सि यु को बारेमा ब्याख्या नै गरिदियो, मानौ आइ सि. यु. बारेमा जगन्नाथ सरलाई केही थाहा थिएन ।
आइ. सि. यु. को प्यासेन्टलाई भेट्ने कुरै भएन । हामी बाहिरै प्रतिक्षालयमा बस्यौं ।
“सर, खासमा म्याडमलाई के भएको हो ?”, सरोजले हामी सबैको जिज्ञासाको प्रतिनिधित्व गरिदियो ।
-“रोगमात्र भएको भए त, यही भएको हो भन्नु । स्वास्थ्य, शारीरिक, मानसिक सबैखाले समस्या छ । त्यही समस्या मलाई पनि सरिरहेको छ ।”
-“तपाईको घरको समस्या त हामी पनि अन्दाज गर्छौ, तर अस्पतालै भर्ना गर्ने गरी त केही भयो नै होला ?” यो पुष्करको अनुरोध थियो ।
जगन्नाथ सर केही बेर मौन बसे । हामी भने उनले केही भन्लान र सुनौंलाको भावमा प्रतिक्षालयमा प्रतिक्षारत भई एक अर्कालाई हेरिरह्यौ ।
–––
आम मानिसले सोचे जस्तो परालको आगो होइन भाइ हो, मेरो घरको झगडा – जो केहीबेर बलोस र शान्त होवोस । यो त भुसको आगो हो भुसको – जो निभ्नलाई भुस नै सकिनु पर्छ । सायद निभ्ला अब मोमितासँगै ।
हिजो निभ्ने बेलामा बत्ती ठूलो बले जस्तै भयो ।  सासु बुहारीको वाक युद्ध– महाभारत ।  अनि म बीचमा ।  मैले त आँफैले एउटा अभेद्य चक्रब्युह रचना गरेको थिएँ । म अब यो चक्रब्युहबाट निस्कन सक्दिन भाइ हो । म फसिसकें – अभिमन्यु जस्तै ।
मेरो देउता ठूला । मेरो भान्सा छोइन्छ । म ठूलो जातकी । तँ सानो जातकी । तेरा छोराछारी सानो जातका । मेरी आमालाई यही अहम् छ । आफू चुल्हामा बसेर काम गर्दै गर्दा, पूजा गर्दा मेरो छोराले समान छोइदियो । पुजाको सामग्री छोइदियो । खानाको भाँडो छोइदियो । यो तर्कसाथ आमाले वाकयुद्धको शंखघोष गर्नुभयो । त्यसपछि के चाहियो र ?
मोमिता पनि कम थिइन ।  आजकालको जमानामा जातभातको कुरा गरेर आफ्नै बुहारी अनि नाती नातिनीलाई हप्कि दप्की र छिः छिः र दुर- दुर गर्ने, त्यो पनि घर भित्रै । म पनि त्यो ठाँउमा थिएँ भने सहन सक्ने थिइन होला । मेरो प्रतिक्रिया त्यस्तै हुन्थ्यो होला – जस्तो मोमिताको थियो ।
म सबै भन्दा कमजोर थिएँ । न त मैले मेरी आमालाई जात भात छोइछिटो केही हुदैन, त्यो फगत सोच मात्र हो, यस्तो गलत सोच राखेर तपाईले आफ्नै बुहारी र नाती नातिनाहरुलाई हेला गर्नु हुदैन । अपमान गर्नु हुदैन, भनेर सम्झाउन नै सकें न त मोमिताकै कुरालाई होमा हो मिलाएर आमाको चित्त दुखाउन नै सकें । एका तिर मेरो परिवार छ, स्वास्नी, हुर्किन लागेका, हुर्किसकेका छोराछोरी छन्, उनीहरु शिक्षित बन्ने क्रममा छन् । अर्को तर्फ मलाई जन्म दिने आमा ।
मलाई थाहा छ, आजको जमाना आमाको जमाना होइन । जहाँ मानिसहरुले, यजमानहरुले पण्डितनी बज्यै भनेर वहाँको खुट्टा ढोगुन् , दलितहरुले बाटोको तल्लोपट्टि तर्किएर्र जदौ बज्यै भन्दै शिर निहुराउन् । पानी चल्ने तर भात खाजा नचल्ने जातका मानिसहरुले (मोमिता पनि त्यस्तै जातकी मानिन्छिन्)  आमालाई उच्च जात र उच्च कूलकी भनेर सम्मान गरुन् । यो त्यो जमाना होइन । समय गतिशील छ । तर खै त मैले मेरी आमालाई गतिशील बनाउन सकेको ? मेरी स्वास्नी तिम्री बुहारी पनि हो, उसको जात तल्लो होइन । हामी समान हौ । मान्छे नै हौ भन्न सकेको खै त ?
मोमिता नेवारकी छोरी । उसले उती बेलै भनेकी थिई – के तिमीले मलाई तिम्रो परिवारमा बुहारीको उचित स्थान दिन सक्छौ ? र भनेकी थिई– तिम्रा बा आमाले मलाई तल्लो जातकी भनेर हेप्ने, होच्याउने वा हेय राख्नुहुन्न ? मैल निर्वाध र शिर ठाडो गरेर तिम्रो घरको बुहारीको भूमिका पाउन सक्छु ?
त्यति बेला मैले प्रेमान्ध भएर  भनेको थिएँ – संसारमा जात भनेको महिला र पुरुष मात्र छ ।  किन तिमी जातको कुरा गर्छौ ? मेरा बा आमालाई सम्झाउने जिम्मा मेरो भयो ।  सके सम्म सम्झाउछु, मेरो बिचारसँग एकाकार गराउने छु । तै सकिएन भने पनि कम्तिमा मेरा लागि त तिमी कुनै उच्च ब्राह्मण परिवारकी कन्या भन्दा पवित्र छौ । हामी एक आपसमा प्रेम गर्छौ भने कसैले हाम्रो प्रेमलाई स्वीकारोस वा नकारोस – त्या गौण हो । सबैभन्दा ठूलो कुरा हाम्रो आत्मविश्वास हो ।
मेरो आत्मविश्वास लाई देखेर उसले पनि विश्वास लिएकी थिई । मोमिता महर्जनबाट मोमिता घिमिरे भएर पतिको घर सजाउने सुन्दर सपना देखेकी थिई । अन्तरजातीय विवाहको नमूना बन्नेछ आफ्नो जोडी भनेर पुलकित भएकी थिई ऊ । उसले  कल्पनामै सजाएको कति सुन्दर बगैंचामा साँच्चै सुन्दर पुष्पहरु फक्रिएका थिए त्यतिबेला ।
मेरो आत्मविश्वास, उसको विश्वास, उसको सपना त्यतिखेरै तुसारापात भयो जतिबेला हामी बेहुला बेहुली हुन तयार भई सक्दा पनि मेरा बा आमाले उसलाई स्वीकार्न सकेनन् । मैले आत्मविश्वासका साथ दिएको बचनको फूलले काँडाको रुप लियो र चिमट्यो हामी दुबैलाई ।
मेरा बा पण्डित, आमा पण्डितनी । सारा संसार, यजमानको अघि आफ्नै नाक काटेर तिमीहरुको विहे गर्न सक्दैनौ  भनेर बा आमाको आधिकारिक भनाइ आए पछि हामीले मन्दिरमा विवाह गर्यौ । साधारण हिसाबले मैले उसको सिंउदो भरिदिएँ । प्रेमाभावले मोमिता मेरो छातीमा टासिंई । मैले उसको निधार चुमें । जसरी भए पनि हाम्रो घर बस्यो । एउटा सुन्दर जोडीको सुन्दर घर । बा आमाले अस्वीकार गरे पछि घर जाने कुरै भएन ।
त्यसपछि  कैहिलेकाँही मलाई आफ्नै प्रेम प्रति शंका भएको बेला वा पश्चाताप भएका बेला, परिवारबाट एक्लै हुनु परेको पीडाले पोलेको बेला र आमाबाबु प्रति मैले कर्तव्य बोध गरेको बेला मोमितालाई अपमान बोधले छोप्थ्यो र मानिसहरुले भने जस्तो परालको आगो लाग्थ्यो ।
बा बितेको एक वर्ष पछि मलाई लाग्यो – समय फेरियो । आमा पनि एक्लै हुनु भएकोले लिएर आउनु पर्यो, आफूसँगै राख्नु पर्यो, बरु केही कुरा आफै सहिदिनु पर्यो भनेर कति बिन्ति गरेर लिएर आएँ । आएकै भोली पल्ट यस्तो भयो ।
मैले गरेको प्रतिज्ञालाई पूरा गर्न नसके पनि, बा आमालाई सम्झाएर मोमितालाई सम्मानजकरुपमा संयुक्त परिवार स्थापित गर्न नसके पनि, एकल नै सही एउटा सुन्दर परिवार छ हाम्रो । फूल जस्ता छोरा छोरीहरु छन् । हामी दुवैको जागिर थियो । राम्रो आयस्रोत थियो । अहिले पनि पेन्सन आँउछ । छोरीहरु उच्च अध्ययनको अन्त्य तिर छन् ।  छोरा विद्यालय शिक्षा पार गर्ने क्रममा छ । सब ठीक ठाक छ । तर आमाको राहातको लागि मैले वहाँलाई घर ल्याउदै गर्दा जुन पारिवारिक द्वन्द्व सिर्जना भयो  यसको भागिदारी मैले लिनै पर्छ । त्यसैले म अाँफै पनि तनाबमा छु ।  बिचरा मोमिताको त जनम भरिको पीडा विष्फोट मात्र भएको हो ।
सरहरुलाई मैले आफ्नो कथा पहिला सुनाएँछु । मोमिताको बेथा चाँहि  हाई प्रेसर र फोक्सोमा समेत इन्फेक्सन देखियो । बिहान घरमै चक्कर लागेर लडेकी अहिले सम्म होस आएको छैन । सायद आई. सी. यु. मा मृत्यूसँग लड्दैछ । ऊ मेरो आधा शरीर हो ऊसँग मैले एउटा युग बाँचे । उसको प्रेम कति पवित्र थियो । कति निश्चल थियो । एउटा पुरुषका लागि चाहिने जति स्त्रीसुख मैले जीवनभर उसैबाट प्राप्त गरें । मेरा फूलजस्ता नानीहरुको माली हो ऊ । धरती हो ऊ – जीवनभर मेरा बा आमाबाट उत्पतिको आधारमा अपमानित भएर पनि मलाई भने सधैं सुखी र खुसी भएको हेर्न चाही । जननी हो मेरा सन्तानहरुको । भोक, थकान, रोगले मलाई गाँजेको बेलामा आमातुल्य माया गर्दथी । रुप, यौवन र रति क्रियामा स्वर्गकी अप्सरा भन्दा बढी थिई । त्यसैले मोमिता मेरी सर्वस्व हो र हुनेछ ।
तर म अब आफ्नी आमाको व्यवस्थापन कसरी गरौ ?

oooo
जगन्नाथ सरले मोमिता गुरूआमालाई सम्झेर तुरुक्क आँशु झारे । हामीले गुरुआमाको शिघ्र स्वास्थ्य लाभको कामना गर्यौ । भोलि के कसो हुन्छ भेट्न आउदै गर्ने गरी हामी छुट्यौ ।
छुट्टिदै गर्दा जगन्नथ सरले मोमिताको एउटा डायरी मेरो हातमा थमाए । केही आफन्तको फोन नं. लेखिएको रहेछ । सम्पर्क गरिदिनु भने ।
होटलमा खाना खाइसकेपछि डायरीमा भएका करिब दश पन्ध्रवटा सम्पर्क नं. हरुमा फोन गरेर म्याडमलाई हस्पिटलमा राखेको जानकारी दिएँ । सम्पर्क नं. लेखिएको पाना भन्दा पछाडि थप केहि लेखिएको भेटियो । एक पेज नीलो मसीले मोमिता म्याडमले र अर्को कालो मसीले जगन्नाथ सरले लेखेको रहेछ ।
करीब बाइस वर्ष अघि जेठी छोरी जन्मिएका बेला सुत्केरी अवस्थामा लेखिएको टिपोट रहेछ मोमिता म्याडमको –
“मिति २०४९÷५÷२२
मेरो अभागी कर्म । मेरो एक मात्र नातेदार छन् यो धरतीमा । कस्तो प्रेम गरिएछ ।  माइतीहरु  जात नमिल्नेसँग गई भन्छन् । संस्कार मिल्दैन भन्छन् । पहाडका असभ्यहरुसँग गई भन्छन्  । आफ्नो  नाक काटेर । उफ ! मेरा माइतीहरुको इज्जत, उनीहरुको नाक ! कति बिध्न हेलाकी पात्र भएँ म– मेरै बाबु आमाबाट पनि । मेरै दाजु भाइबाट पनि । एउटा नश्लले अर्को नश्ललाई सानो जात देख्ने यो हाम्रो कस्तो समाज हो । मेरा सासु ससुराहरुको त झन हिसाब किताब नै छैन । मानाैं घिमिरे परिवार जति ठूलो जात संसारमा सृष्टि भएकै छैन । त्यति अपमान त संसारमा कसैले कसैलाई पनि नगरोस् ।
सबै महिलाहरु सुत्केरी हुँदा सासुले बच्चालाई स्याहार गरेको देख्छु । सासु नहुँदा  माइतीतिरबाट कोही न कोही आउछन् । मेरो मात्र सबै भएर पनि कोही छैनन् । नर्कको जुनी । न आफू सक्छु । काटेको शरीर छ । अलि बल गर्यो भने चुडिएला भन्ने डर । मेरा एक मात्र आफन्त पनि अफिसको काम भन्दै काठमाण्डौ हिडेको आज पाँच दिन भई सक्यो, कहिले आउने टुङ्गो छैन ।
मैले ठूलै आँट (गल्ती?) गरेछु सायद । आफ्नै जातमा बिहे गरेको भए कमसेकम सासु ससुराको माया पाइन्थ्यो । घर परिवार हुन्थ्यो । माइतीले सम्बन्ध तोड्दैनथे । अरुबेला नभए पनि यस्तो बेला त सहयोग चाहिने नै रहेछ । के गर्नु एक्लो बृहस्पतिको पूजा गरियो । आखिर आँफै पनि एक्लै  परियो।  खै, नानी पो कसरी हुर्काउन सक्छु अब ।
जे भए पनि अर्को जातमा विवाह गर्नु  चै फलामको च्युरा झै रहेछ ।
मेरा पति प्रति मेरो कुनै गनासो छैन । उनको क्रान्तिकारी सोच । प्रेम ।  अनि त घुलें म, चन्दन झै पानीमा ।  छाएकी छु जुन झै जुनेलीमा । म त पग्लेकै हुँ मैन झैं उनको मायाको रापले ।  हे इश्वर, मेरा पतिलाई चाडो घर पठाइदेऊ ।” 
त्यसपछि अर्को पेजमा कालो मसीले जगन्नाथ सरले लेखेका थिए –
“मिति २०७२÷२÷२८ ।
मेरा सुन्दर बगैचाका फूलहरु, तिमीहरुलाई लाख लाख शुभकामना छ । हाम्रो समाजमा व्याप्त अन्धताको शिकार भएकी तिम्री आमाको धीरता र सो अन्धता चिर्न नसकेर नीरिह बनेको तिम्रो  बाबुको पीडा तिमीहरुले नजिकैबाट देखेकै छौ । मेरै कमजोरी ठहर्छ, मैले तिमीहरुकी आमालाई परिवारको अपनत्व गराउन नसक्नु । सम्मानित सदस्यको स्थान दिन नसक्नु ।  आफैले विवाह अघि दिएको बाचा पूरा गर्न नसक्नु । तैपनि उनको धैर्यताले गर्दा हाम्रो कति सुन्दर बगैचा निर्माण भएको थियो । सागर झैं चौडा थियो नानीहरु, तिमीहरुकी आमाको छाती ।  यो सब पाएर मलाई कुनै अर्को स्वर्गको सम्झना नै हुदैनथ्यो । तर आज तिम्री आमा जीवनभरको अपमानको संचित पिडाले थलिएकिछिन्  । मृत्यूको मुखमा पुगेकी छिन् । मानाैं उनलाई मेरो स्वर्ग मन परेन । उनको आफ्नै स्वर्ग जहाँ कुनै किसिमको जातीय भेदभाब हुदैन । सासु बुहारीको आदर्शतम् सम्बन्ध हुन्छ । छोराले अर्को जातको बुहारी ल्याउदैमा हजुआमाले नातीलाई अछुतको झै व्यवहार गर्दैनन् । त्यस्तै स्वर्ग चाहेकी होलिन उनले । तिमीहरुको आमा मेरी अर्धाङ्गिनी हुन । म उनको आधा अङ्ग । उनले मृत्यु रोजिन् भने म अवश्य तिमीहरुकै आमालाई नै रोज्नेछु । उनीबिना मेरो बाँकी जीवनको सार्थकता छैन । सायदै तिमीहरुप्रतिको मैले गरेको कर्तव्य यति नै होला । बन्दना, तिमी सबैभन्दा परिपक्व छौ, आफूलाई सम्हाल्नू । बहिनी र भाइको राम्रो ख्याल राख्नू । तिमीहरुलाई अति नै माया गर्ने बाबा जगन्नाथ घिमिरे ।”
रातको एघार बजिसकेको थियो । जगन्नाथ सरका कुराले पुष्कर र सरोजलाई कति छोयो थाहा छैन । तर मैले भने मोमिता गुरुआमाले चाहेको स्वर्ग तत्काल प्राप्त नहोस भनेर कामना गरें । बरु त्यो स्वर्ग धर्ति मै झर्नु नि !  सोचें – भोलि विहानै काठमाण्डौमा रहेका  छोरीहरु बन्दना र सुप्रीयालाई फोन गरेर बोलाइदिनु पर्यो । र भन्नु पर्यो सम्हाल तिम्रा बा आमालाई, अनि भाई र हजुरआमालाई, जिउदो छदै । अबको जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण हुन आवश्यक छ ।
मनमा अनेक कुराहरु खेलिरहे । धेरै बेर निदाउन सकिन ।  बिहान उठ्ने बेलामा– मोमिता गुरुआमा सुत्केरी भएकी अनि छोरी बन्दनालाई जगन्नाथ सरकी आमाले काखमा लिएर माया गरिरहेको सपना देंखे । उनीहरु सबै स्वर्गीय सुखभोग गरिरहेका रहेछन् ।
रचना मिति २०७४÷०५÷२५
इलाम

Thursday, September 7, 2017

कविताः मातृभूमी जितपुरप्रति

ढोलेदेवि पवित्र शीर छ यहाँ श्रद्धालुको तीर्थ छ ।
देवीको रसीलो महिमा भजने आधार स्वीकार्य छ ।
फाल्गुनन्द विभुतीको वयभूमि आस्था छ उस्तै गरी
घण्टा माङ्हिममा बजाउन पुगे आनन्द स्वर्गै सरी ।।१।।

हब्बाँ गर्दछ गाईले सबलले लक्ष्मी स्वरुपा बनी
देऊ भन्छ सधैं आहार रसीलो मीठो पुकारा गरी
लक्ष्मीको रसिलो सुस्वाद रसले हुन्छन् अमीरी जन
लक्ष्य कृषकको चुलिन्छ जसरी हिमश्रृंखला आसन ।।२।।

विद्याको अतिनै अपूर्व थल हो यो मेरो मातृभूमी
बुद्धिको पनि त्यो हरीत बिरुवा उमार्ने मातृभूमी
कम्ति सुन्दर फाँट छ र यसको ! उस्तै उपज्युक्त छ ।
हेर्दैमा हृदय अल्हादित भई श्रद्धा, शीर झुकदछ ।।३।।

अम्लिसो अदुवा छ त्यो अकबरे बारीको डिलै भरी
चियाको हरीयो बगान बीचमा गुञ्जिन्छ  रे लैबरी
गर्दामा नहुने रहेछ र यहाँ इलम परिश्रम शुरू ?
पालिन्छन् यसकै अनाज भरमा सम्पुर्ण क्रेताहरु ।।४।।

लिम्बू राई मगर् र भोटे अनि ती ब्राह्मण र क्षेत्रीहरु
कस्तो उत्तम बाग भिन्न थरका फक्रेका पुष्पहरु
आफ्नै भिन्न सबै परम्परामा रमने सँस्कृतिका रक्षक
भिन्न भित्र अभिन्न उत्तम छ यो सहिष्णुता पक्ष त ।।५।।

सिद्धिथुम्का – अजम्बरेहरु मिली जोगाउँछन् सम्पदा
गर्दै स्वागत श्री रबी किरणको स्वर्गीय त्यो भव्यता 
बस्छन् देवहरु गुथेर पगरी स्वर्गै सरी ठाँटमा
बोक्छन् स्वप्नहरु यहाँ सजनले थुम्का अनि फाँटमा ।।६।।

जन्मी यै जितपुर बेंसीको बगलमा हुर्की रमाई यही
आमा तुल्य ममत्व पाएर सधैं बन्ने भनी सद्गुणी
यस्तो प्यारो भूमि पवित्र नगरी पाएर मक्खै बनी
सानैमा चुलबुल गरीगरी सधैं गयौ पढौंला भनी ।।७।।

रम्यौ साथी र शिक्षकहरुसँग मिल्यौ बहुतै पनि
गर्दै कर्म  कुनै पनि बखतमा  गरेर खोस्री खनी
शिक्षाकै क्रममा अलिअलि गरी चढ्यौ उकालो सरी
तिम्रै देनहरु भए यति सबै धन्य छ मातृभूमी ।।८।।


Friday, August 18, 2017

गजलः नमातिने नशा कुन छ, तिमी र म सँगै हुँदा

सँधै यस्तै बेला हुन्छ, तिमी र म सँगै हुँदा ।
बेहोशीले थोरै छुन्छ, तिमी र म सँगै हुँदा  ।।


अलि अलि मेरो नशा तिमी उस्तै मदमत्त,
अरु सवाल् कसले सुन्छ, तिमी र म सँगै हुँदा ?


अन्त धाउने कहाँ होर,तिम्राे निमन्त्रणा छदै,
नमातिने नशा कुन छ, तिमी र म सँगै हुँदा ।।

आफ्ना पराई सबका हुन्छन्, के को यति ठूलो चिन्ता ?
खै को हाँस्छ, खै को रुन्छ, तिमी र म सँगै हुँदा ।

पिउनलाई नि अलिकति केमेष्ट्री त मिल्नै पर्यो
मनले अरु कसलाई चुन्छ, तिमी र सँगै हुँदा ?

Friday, August 11, 2017

गजलः किन अलमल शर्मिला बीच बजारमा ?

किन अलमल शर्मिला, बीच बजारमा ?
अाँखा भरि छ त तीला, बीच बजारमा ।

झटपट किनमेल गर्नु, फिरिहाल्नु छैन,
साँझसम्म गर्छौ ढीला, बिच बजारमा ।

फलफूल अनि मीठो चोखो खाने गर यार,
छान्छौ यस्ता अमिला बीच बजारमा ।

सज्जन मान्छे भेटिनौ र तिम्ले कहिँ कतै ?
पुजी हिड्छौ सँधै शीला बीच बजारमा ।

जे हुनु थ्यो भै गयो, सावधान आजै देखि
नदेखाउ धेरै लीला बीच बजारमा ।

Thursday, August 10, 2017

कथाः गाँठाे

झापाको दामुनाबजारबाट घर हिडेको म दमकमा बसबाट ओर्लिए पछि अलमल परेको थिएँ । मेची राजमार्ग बन्द रहेछ । अनिश्चित कालका लागि । २०५७ माघ महिनाको कुरा हो यो । जतिबेला माओबादी द्वन्द्व उत्कर्षमा थियो । जानु पनि छ, बाटो पनि बन्द, क्या फसाद । केही बेर त्यही अलमल गरें ।  नजिकै झोलाको पसल रहेछ । झोला किन्नै पर्ने थियो । खोजे जस्तै भयो । नयाँ झोलामा पुरानो झोला खाँदखुद पारें । यति बेरमा पसले सँग दुई चार गफ भइसकेको थियो । उसको पहाड घर रवि तिर रहेछ ।  ५ वर्ष भो रे पसल थापेको ।
–“अनिश्चित काल भन्छन् । खै ! भोली खुल्न पनि सक्छ । एक हप्ता नखुल्न पनि त सक्छ । के थाहा !”, पसलेले अनिश्चिताको परिभाषा दिदै सम्झायो ।
–“हो दाइ, अब म पो के गर्ने ?”
– “अलि बेला घक्र्यो, नभा हिडेरै पुगिन्थ्यो नि । जितपुर सम्म त” मैले नसोचेको सम्भावनाको कुरा सम्झायो ।
–“ कति समय लाग्ला त दाइ, हिडेर जाँदा ? ”
–“म चांहि आठ घण्टामा रबि पुग्छु । उता तिर पनि त्यस्तै नै होला । लगभग तीन घण्टा हिडेपछि  जितपुर तिर जाने बाटो छुटिन्छ । उताको बाटो त मलाई पनि  आइडिया भएन हो भाइ । ” पसलेले  आफूले जाने जति प्रष्ट पार्यो ।
दमकबाट जितपुर मंगलबारे सम्म आवत जावत गर्दछन भन्ने मैले पनि कता कता सुनेको थिएँ । यो नयाँ बाटोको यात्रा गर्ने बिचार मनमा आयो । अब ढीला गर्नु भन्दा बाटो लाग्नु नै उचित सम्झेर पसलेलाई बाटोको बारेमा थप जानकारी मागें ।
¬–“यही सडकबाट सिधै उत्तर जाने । रतुवा खोलालाई दाहिने पारेर । खोला पहाड भित्र पस्दा भने खोलाको बाटो नै समात्नु पर्छ । पेरुङ्गे खोल्साबाट पुर्व जानु ।” उसले छोटकरीमा पुरै बाटो देखायो ।
करीब एक घण्टा उत्तर तिर हिडेपछिपहाडबाट खोलो निस्किएको देखियो । अबको यात्रा खोलाको बगरको थियो । हातमा जुत्ता बोकेर गर्नु पर्ने यात्रा । तर्नु पर्ने जंघारहहरु । पसलेले  भने झैं खोलाको बगरमा करीब दुई घण्टा हिडे पछि उत्तर तिर जाने केही ठूलो पैदलमार्गसँग पेरुङ्गे खोल्सा तिर जाने बाटो छुट्टियो ।
पेरुङ्गे । सुँगुर, कुखुरा बोक्ने चोयाको पेरुङ्गो जस्तै खोल्सो । साँघुरो । दुई पट्टि अग्ला आग्ला पहाड, माथि पुग्दा ती पहाड जोडिने पो हुन् कि झैं लाग्ने । अध्याँरो खोल्सो । त्यसमाथि जंगलको घनत्वले  दिन र रातमा खास फरक नलाग्ने । कुलुलुलु आवाजमा बग्ने पानी । जंगली पंक्षीहरुको अनौठो आवाज । अत्यन्त भयकारी बाटो ।  त्यो खोल्सा भित्रको बाटो करीब एक घण्टाको हुँदो हो – यात्राको अन्त्यमा एउटा  अनौठो दृष्यले मलाई आकर्षित गर्यो । एउटा अधबैसे मानिस खोल्साको किनाराको अग्लो रुखको हाँगमा डोरी बाँधीरहेको । अझ नजिक गएँ । उसले रुख तर्फ बाँध्न छाडेर डोरीको अर्को तर्फ  पासो बनाउन थाल्यो । म मन मनै डराएँ । छाति ढक्क फुल्यो । फेरि तुरुन्तै मनमा लाग्यो – यसलाई कुनै हातलमा मर्न दिन्न । 
सकुन्जेल चिच्याएँ –“ए ए ! के गर्न लागेको, तल झर तुरुन्तै !  रहर हो आत्महत्या गर्न  ?”
मेरो आवाज  सुनेपछि त्यो मान्छे अलमलियो । प्रत्येक सेकेण्डमा अनि सानो सानो कुराले पनि मानिसको बिचार बदलिन्छ भन्थे, हो रहेछ । ऊ मर्न देखि डरायो वा म देखि थाहा छैन ।  केही लजाउदै मेरो नजिक आयो ।
–“आत्महत्या गर्ने हो दाइ ? त्यति सस्तो छ तपाईको जिन्दगी ? यत्रो उमेर छ , घरपरिवार होलान , के पीर पर्यो ? ” सम्झाउने उद्देश्यले मैले रुखो स्वर निकालें ।
–“मेरो जस्तो पीर पर्या भए नि भाइ, तिमी उहिल्यै  मरिसक्थ्यौ । ”
–“होला, तपाई त पीर खप्न सक्ने देखिनु भो । खै, यसपाली पनि अधुरै रह्यो मर्ने धोको ।” जिस्क्याएँ ।
–“ठट्टा नगर न हौ भाइ ।” उसले सुस्केरा छोड्यो ।
म चुप लागें । खे के सोचेर हो, ऊ पनि मेरै गन्तव्य तिर अघि लाग्यो ।  करीब दुई सय पाइला जति माथि उक्लिदा खुला आकाश देखियो । जंगल सकिएछ । एउटा पुरानो खण्डहर भेटियो । कसैले पाटी बनाएर धर्म गरेका थिए होला, कुनै दिन । भत्किएर बाँकी रहेको भित्तामा अँगारका अक्षरले जताततै कोरिएको । जस्तै– A + R , Y + J , B + D, I Love You darling आदि । मानौं यहाँ  अँगारले नाम लेख्दा सबैको प्रेम सार्थक हुन्छ । आफ्नो प्रेमी सँग मिलन हुन्छ ।
त्यो मर्न नसकेको मान्छेलाई यस कथाको मूल पात्र भने पनि हुन्छ । खण्डहरमा बसेर केही खोतल्नै पर्यो ।
भनें – “कस्तो मर्न नसक्या ?”
–“.............। ” ऊ चुप ।
–“बरु म पनि साथ दिनु रैछ ।”
–“के रे ?” हप्कायो ।
– “ला ! डोरी त छुटेछ, लिएर आउँ है ?”
–“अब त्यता जाने होइन,  तिम्रो पनि नीको चाल थिएनछ । कि मर्नै आएको हो ?” उसले आफ्नो मात्र होइन, मेरो पनि जीवनको मूल्य सम्झायो ।
–“ के भो र दाइ, एक बार बाँचिहालियो , संसार देखि हालियो । अब कति बाँच्ने बरु दुवै सँगै मरौं । म पनि पीरै पीरले  भरिएको छु । अब सहन सक्दिन ।” म जिस्किएँ ।
– “घर कहाँ हो ?” उसले प्रसंग नै मोडिदियो ।
– “जितपुर ।” म पनि मोडिएँ ।
– “ला ! अब सबले थाहा पाउछ, हल्ला नगर्नु ल ।”
– “किन र तपाईको चाहिं कता हो नि ?”
– “मेरो पनि उतै हो ।”
– “कहा नेर ?”
– “इबेक तिर पर्छ ।”
– “ए , अनि किन हल्ला नगर्ने त ? मर्न नसकेकोमा लाज लाग्छ ? म त ढोल पिटाइदिन्छु ।”
– “हैट यो बाहुन ले बर्बाद पार्ने भो ।”
– “किन र ?”
– “ज्यान रहनु पर्छ इज्जत साथ । बरु ज्यान गै गाको भा, इज्जतको के कुरा भो र ?”
– “त्यै त , मर्न नि सकिएन, इज्जत मात्र गयो ,  कि त एक ट्राइ मारौ, दुबै मिलेर ?”
– “लु धेर ठट्टा भो हौ भाइ  ।”
–“एउटा सर्तमा हल्ला गर्दिन ।”
–“के सर्त ?” इज्जत बचाउने साँचो खोज्न थाल्यो मसँग ।
–“तपाईको पीर थियो नि, मर्नलाई यहाँ सम्म ल्याउने त्यो खुलस्त पार्नु पर्छ ।”  मैले आफ्नो सर्त राखें ।
–“एस एल सीमा आउने जस्तो प्रश्न सोध्छौ त भाइ !”  कति चाँडै फ्रेस भइसकेछ, ठट्टा पो गर्न पो थाल्यो ।
–“ डिग्रीकै सम्झनुस दाइ,  तर सर्त मान्ने पर्छ ।”
–“ तिम्रो आवाज एक मिनेट पछि मात्रै आएको भए म मरिसक्थें, यत्रो ज्यान बचायौ । पीर पर्या कुरा त गफ गरौला नि हो ।” आश्वासन दियो ।
∞ ∞ ∞
मेरो पीर भने नि , कथा, ब्यथा जे भने नि एउटा गाँठो हो । जीवनमा कति गाँठाहरु फुकाइयो  तर यो यस्तो गाँठो बन्यो त्यसैले मलाई मृत्यूको मुखसम्म पुर्यायो । यसले त आफै लाई कस्तै कस्तै ल्यायो हो  भाइ ।
चार वर्ष अघि  भदौको महिना थियो ।  हामी गाँउका आठ दश भाइ जति खेतको कुलो मर्मत गर्न ग्एका थियौ । दिनभर पर्खाल बनाउन व्यस्त भयौ ।  करीब २ बजे हामीले काम सकेका थियौं । काम सकेपछि खाजा खाने बेलामा विभिन्न दिल्लगीहरु हुन थाले । धेरै हाँसी मजाक पनि भए ।  तर त्यति बेलाको एउटा हसिमजाकले मेरो मजाक मात्र उडाएन । होस हवास उडायो ।  त्यो मजाक– त्यहि गाँठोसँग जोडिएको मजाक ।
त्यो नितान्त व्यक्तिगत  र मैले र मेरै स्वस्नी बाहेक अरुले जान्नु नहुने विषय थियो । मेरी स्वास्नीको भित्री अंगमा भएको अरुले छुन नमिल्ने ठाँउमा भएको गाँठोको बारेमा ती खेतालाहरुले कसरी थाहा पाए ? यो गोप्य विषयमा दुनियाँलाई कसरी थाहा हुन्छ ?  त्यसपछि म खसेको थिएँ छाँगाबाट । 
मलाई त्यही दिन देखि आफ्रनै स्वास्नीप्रति सन्देह लाग्न थाल्यो । अरु नै गाँउका तन्नेरीका मुखबाट स्वास्नीको चोलीले छोप्ने ठाँउको कोठीको चर्चा हुनु – यो पक्कै पनि शुभ थिएन । मेरो शंका अस्वाभाविक पनि त हैन नि । मेरो बैवाहिक जीवन त्यही दिन देखि खल्लो मात्र हैननारकीय बन्न शुरु भयो ।
त्यसपछि म हेरक दिन मेरी स्वास्नीको गतिविधि निगरानी गर्न थालें । दाउरा चिर्ने खेतालालाई खाजा पुर्याउदा होस वा अलैंचि टिप्न जाँदा होस् , उसलाई तन्नेरीहरुसँग हास्नु पर्ने , जिस्किनु पर्ने ।  आफूलाई भन्दा अरुलाई नै भाउ दिने गरेपछि कुन लोग्ने मान्छेले सहन सक्छ भाइ ? बस्तु भाउ पो बाँधेर राख्दा पनि हुन्छ, मान्छे बाँध्न पनि मिलेन । सँधै गोठालो लागेर साध्य पनि चल्दैन । अब कहिले हाट जानु पर्छ । कहिले कता काम पर्छ । त्यसपछि मेरो अदेखमा उसले के के गर्ली भनेर सधैं औडाहा भइरह्यो ।  मलाई लाग्यो मेरो हरेक अनुपस्थितिको फाइदा उसले लुट्छे  अनि  आफ्नो बैंस, यौवन, गाँउ भरीका तन्नेरीलाई लुटाउँछे ।  हैट ! कस्तो चण्डाल स्वास्नीको फेला परेछु म ।
रात दिन मलाई यसै पीरले खान थाल्यो । सुत्ने बेलामा पनि सँधै एक न एक निहुँ खोज्यो अनि झगडा गर्यो ।बेग्लै सुत्यो । मलाई लाग्यो अरुकैले अघाइसकी, अब मसँग किन सुत्नु पथ्र्यो र । उसको बानी व्यहोरा सम्झेर मेरो पौरुषत्व सधैं मुर्छित हुन्थ्यो । चार वर्ष यो क्रम चलिरह्यो । तर मैले उसलाई कहिले पनि आफ्नो शंकाकै विषयमा भने प्रत्यक्षरुपमा सोधिन ।  सोध्ने आँट नै गरिन । अरु नै सँग सुतिस कि भनेर कहिल्यै गाली गरिन । किनकि, मलाई लाग्थ्यो मेरो स्वास्नी अरुसँग सुत्नु भनेको मेरै नामर्दपन छताछुल्ल हुनु हो । मेरो मर्दानगी बचाउन म झन झन नामर्द हुदै गएँ ।
लोग्ने स्वास्नीको झगडा सँधै अन्य निहुँ मै हुन्थ्यो । कहिले र्घुक्याएर माइत जान्थी । साता दश दिनमा आँउथी पनि । तर मलाई न ऊ माइत जाँदा ढुक्क हुन्थ्यो न घर फर्कि आँउदा ।  माइत त झन आँखाको अदेख । फर्के पछि झन सिकारीहरुको गाँऊ ।
समय तन्कदै जाँदा मेरो मन भित्रको तनाब पनि बढ्दै गयो । अब म होस गुमाउछु होला, बहुलाउछु होला झैं लाग्थ्यो । आज विहान खै के मन लाग्यो अब यो नर्क सहेर बस्दिन भनी उठेर हिडें । गोठ छाडेर । मैले सबै तनाबबाट एकै पटक मुक्त हुन खोजेको थिएँ ।  तर पनि सकिन ।
∞ ∞ ∞
“अब के गर्ने त दाइ ?” मैले उसको मोटामोटी तनाब र मर्न खोज्नुको रहस्य थाहा पाए पछि पुनः सोधे ।
“जेसुकै होस् अब वार की पार हुन्छ । अब जावोस जता जान मन लाग्छ । निकाल्दिन्छु घरबाट ।” उसले अब भने आफ्नो पुरुषत्व देखायो ।
अरु नै कुनै माध्यमबाट पनि त थाहा पाउलान् नि, मान्छेले ! शारीरिक सम्बन्ध नै राखेको होइन होला नि त ?
“बरु त्यस्तै भइदिए हुन्थ्यो ।  तर कसरी थाहा हुन्छ ? लोग्नेको  मात्र हात पुग्ने ठाँउको कुरा ।  लौ त्यो गाँठो सानै देखि थिएछ भने उसैका बाबु आामालाई थाहा होला । नत्र त ...”
तै एक पटक भाउजुसँग बसेर यो गाँठोको विषयमा पनि गफ गर्नु, अनि पनि चित्त बुझेन भने, साँच्चै वहाँको चरित्र ठीक थिएनछ  भने निकाल्नु नि, हुदैन ?
–“....................”, केही बेर मौन बसेपछि फेरि थप्यो । “जे भए नि भाइ, ज्यान बचेको छ तिम्रै कारणले,  आज मेरै गोठमा बसौं न त ।”
उसले मेरै उपस्थितिमा आफ्नो समस्या सल्ट्याउन खोज्यो ।  आफ्नो जीवन प्रतिको माया र मेरो उपस्थितिको कारणले मर्नु नपरेकोमा कृतज्ञता देखायो । कति छिट्टै समझदार कुरा गर्न लाग्यो, आफै छक्क परें ।
करीब चार बजेको थियो । हामी उत्तर पूर्व जाने गोरेटो बाटो पच्छ्याउदै अघि बढ्यौ । साँझ पर्दा हामी माइ र देउमाई नदीको संगम स्थल फुलुङ्गी दोभानमा नदी तर्दै थियौं ।  करिब एक घण्टा अँध्यारोमा हिडेपछि मर्न नसक्या मान्छेको खेतको गोठमा पुगियो । पुग्दा भाउजु एक्लै अध्यारोमा बसेर सुक्क सुक्क रुदै थिइन् । उसको लोग्ने र साथमा आएको अजनवी देखेर केही सम्हालिदै मट्टितेलको टुकी बालिन् ।  यसरी भेट हुँदा पनि लोग्ने स्वास्नीको बोलचाल भएन ।
–“ भाउजु, नमस्कार !”, मैले नै मुख खोलें ।
भाउजुले नबोलेरै नमस्ते फकाइन् । म झोला राख्दै खेतको आलिमा टुक्रुक्क बसें  भनें –“ टाढा बाट आएको थकाइ पनि धेरै भो, यतै बास माग्ने बिचार थियो । साँघुरो गोठ रहेछ । फेरि तपाईहरु लोग्ने स्वास्नी मात्र हुनुहुदो रहेछ । बरु एउटा राँको चिर्नु पर्ला । म माथि लिङदिङ सम्म पुगेर बास बस्छु ।”
दाजु चैको मुख खोल्न अलि कुटनीतिक कुरा गरेको थिएँ । खुल्यो –“लोग्ने स्वास्नी भए नि ओच्छ्यान बेग्लै हो । पराल माथि सुत्ने हो, बसे भै हाल्छ नि ।”
–“ तपाईको घर चाहि कता नि ? टाढाबाट आएको भन्नु भो”, भाउजुले सोधिन् ।
भनें – मेरो त यहाँबाट टाढै हो , मादिबुङ भन्छन नि, ९ नं. ।
दाजु मलाई केही भन्ने निहुँमा भाउजुलाई अह्राउने , भाउजु पनि त्यसै गरी आफ्ना कुरा राख्ने गर्दै निकै बेर गफ गाफ भए । दुई जनालाई भात पकाएको रहेछ हामी दुईले पहिला र भाउजुले पछि गरेर पालै पालो तीनै जनाले रायोको साग र मोही सँग भात खायौं ।
यिनीहरुको कुरा प्रष्ट त पार्नै पर्यो भनेर मैले अचानक प्रसंग मोडिदिएँ – “भाउजु, तपाईहरुको सम्बन्धमा एउटा सानो कुराले खटपट रैछ । आज तपाईले दाजुलाई सत्य बताइदिनु पर्यो ।”
–“लोग्ने स्वास्नीका बीचमा के छिपेको हुन्छ र ? मैले के लुकाकी छु र ? तन, मन, धन सबै सुम्पेर आएकै हुँ ।  अझै के बाँकी छ र ?” भाउजुले भनिन् ।
– “ तै पनि कैलेकाँही यसो खुलस्त कुरा गर्यो भने मन चङ्गा हुन्छ भन्छन् ।” अनि दाजु तिर फर्किएर भनें – “ लु दाजु, के हो ? शंका लागेको कुरा सोधीहाल, कि मै सोधी दिउँ त ? ”
अब दाजु चैं लाई करै लागेको थिया,े गाँठो फुकाउन । लामो भूमिका बाँधिवरी भएकोले केही सजिलो पनि थियो होला । “ तेरो त्यो गाँठो छ नि, यो गाँउमा कसकसलाई थाहा छ, अनि कसरी थाहा भयो यस्तो कुरा ? भन्  त ।”
शुरुमा त भाउजुले आफ्नै जोइपोइ बाहेक कसैलाई पनि थाहा छैन भनेर जिद्धि गरिरहन् । पछि मैले यो प्रश्नका पछाडि भएको दाजुको शंका, त्यसले निम्त्याएको तनाब अनि त्यसैले गर्दा बिग्रेको सम्बन्धबारे कुरा गरेपछि भाउजु अलि खुलिन् – “भोजेनी दिदीले देउमाइमा नुहाउदै गर्दा देखेर सोधेकी थिइन् । अनि मैले पनि यसबारेमा उनलाई बताएकी थिएँ । उनले अचम्म मान्दै छामेकी थिइन् । के थाहा, उनले अरुलाई सुनाइन कि ?”
–“अनि दाइ, घरि मास्तिर सुम्सुम्यायो, घरी गाँठो छाम्यो, भनेर कसले भनेको रे  खेतमा ?” मलाई लाग्यो अब गाँठो निक्कै खुकुलो भइसकेको छ ।
–अब मैले कुरा बुझें हौ भाइ, भोजेनीले भोजेलाई सुनाइछ । अनि भोजेले मलाई जिस्क्याएको रैछ ।  त्यतिखेर सबैले सुनेका थिए । के थाहा उनीहरुले पनि बुझे कि ? आ ! मैले अलि धेर शंका गरेछुु कि क्या हो ? ” भाउजुको एकै स्पष्टोक्तीले दाजुको चार वर्ष देखि कसिएको भ्रमको गाँठो फुस्कियो ।
–“थुक्क ! एत्ति कुराले गर्दा चार वर्ष देखि मलाई तपाईले हेला गरेको ? बरु उ बेलै सोध्नु नि ? भाउजु अहिले भने निकै आक्रोसित भइन् ।
–“त्यसो होइन भाउजु,  चार वर्षदेखि तपाईलाई हेला गरेको भन्दा पनि चारवर्ष देखि दाजु भित्र भित्रै जल्दै रहेछन् । त्यही रापले कहिले काँही तपाईलाई पनि पोल्यो क्यारे । ” मैले सम्झाएँ ।
– “कहिले काँही होइन बाबु, सधै हो, सधैं ।”, भाउजु पिल पिल रुन लागिन् ।
–“ अझै पनि भाउजु प्रति शंका राख्छौ त दाजै ?  मैले दाजुलाई अन्तिम प्रश्न राखें । भाउजुलाई पनि सजग गराएँ  – “भैगो भाउजु, एउटा आँधी आएको थियो तपाईहरुको जीवनमा अब शान्त भयो । कि तपाईमा पनि कुनै खोट छ ?”
यस पछि आफू मर्नलाई पासो बाँध्दै गर्दा देखिको सबै वृत्तान्तको गफ स्वतस्फूर्तरुपमा दाजु भाउजुबीचमा भए । दुवै लामो बिछोड पछि भेटिए जस्ता देखिए । उन्मुक्त, वर्षा पछिकाे सफा धरती  झैं ।  म प्रति कृतज्ञ पनि देखिए पासोको गाँठो नकसिएकोमा, शंकाको गाँठो फुकेकोमा, सम्बन्ध÷विश्वासको गाँठो कसिएकोमा । 
म भने छिप्पिदो रातको गहिराइमा हलुवामा बलुवा भई उनहरुकै पाहुना बनेर परालमाथि सुतें । माघ महिनाको चिसो स्याठ र माइखोलाको एकोहोरो सुसाईले बिहानीलाई बोलाइरह्यो । भुईमा उज्यालो खस्नासाथ म उकालो लागिसकेको थिएँ ।
 इलाम, २०७४/०४/२५