Thursday, January 26, 2017

विश्वविद्यालय की अनुभव ?


हिउँदको एक दिन म बेंसीको गोठमा एक्लै खेल्दै थिएँ । किनकी मलाई गोठ रुँगेर बस्न अह्राइएको थियो । गोठ देखि तल मभन्दा करीब चार पाँच वर्ष जेठा दाजु दिदीहरु भैसी चराउदै भैसी चरनमै कुन्नी के हो खेल्दै थिए । त्यो दृष्य गोठबाट प्रष्ट देखिन्थ्यो । स्वाभाविक रुपमा उनीहरुको खेलले मलाई आकर्षण गरिहाल्यो । म खेतका अग्ला अग्ला कान्ला नाघ्दै त्यस खेलमा समाहित हुने उद्धेश्यले उधै उँधो दौडिएँ । अन्त्यमा म उनीहरुले खेल्दै गरेको खेलमा सामेल भँए । खेल थियो — खेतका कान्लामा दौडिएर पर सम्म अडिएर जानु पर्ने, दौडदा मात्र जिउ अडिन्थ्यो । दौडिदै को पर पुग्ने भनेर ‘कान्लाको खेल’ हाम्रो चल्न थाल्यो  । वास्तवमै रमाइलो थियो त्यो खेल – बाख्राको पाठो जस्तो एका तिरबाट बुरुक्क उफ्रियो अर्को तिर पुग्यो । कति मजा ! 
केही बेरमा गाई भंैसीहरु केही पर पुगेछन् क्यारे वा बाली खान गएकाले पनि हुन सक्छ, मेरा अग्रजहरु खेल छोडेर बस्तु धपाउन कुदे । मलाई कुनै कुराको मतलब थिएन । किनकी गाई बस्तु हेर्ने काम मेरो थिएन ।

मैले खेललाई निरन्तरता दिइरहें ।  खेल्ने क्रमको अन्त्यमा नै भनौ, किनकी त्यसपछि पुनः उक्त खेल खेलिएन, म कन्लामा अडिन नसकेर खेतका गह्रामा लडें । आफ्नै शरीरले मेरो वाँया हात थिच्यो र भाँचियो ।  त्यो क्षण  यस्तो थियो, हात भाँचिनु र हात पनि भाँचिने चिज रहेछ भनेर अन्तरज्ञान हुनु सँगसँगै भयो । मलाई र्दुघटाना हुने सम्भावित ठाँउ अवस्था र खेल बारे कुनै ज्ञान रहेनछ त्यतिखेर,  भन्नु पर्छ । हात भाँचिए पछिको मेरो बालसुलभ रुवाइसँगै निस्केको पहिलो शब्द नै मेरो ज्ञानसँग सम्बन्धित थियो – हात भाँचियो ।  उक्त शब्द मैले प्रयोग समेत गरेको वा सुनेको थिइन होला । मलाई लाग्छ मैले नयाँ घटनासँगै नयाँ ज्ञान प्राप्त गरें, नयाँ शब्दको प्रयोग गरें । त्यति बेला म छ वर्षको थिएँ । २०४३ को माघ महिनाको घटना हो यो, किनकी फागुनदेखि हाम्रो कक्षा २ मा भर्ना हुने गरी कक्षा १ को नतिजा आइसकेको थियो ।
त्यसपछि हातको उपचारको क्रम शुरु भयो । बाले गम्छाले मेरो हात काँधमा झुण्ड्याइदिनुभो ।  घर गएपछि आमाले चम्सुर पिसेर त्यसको लेप भाँचिएको ठाँउमा लगाइदिनुभो । र तातो गाईको दुध खान दिनु भयो । दुधको स्वाद सँधैको जस्तो थिएन । अलि नमीठो  बाक्लो थियो । पछिमात्र थाहा भयो त्यसमा त चिप्ले किराको फुल घोलिएको रहेछ ।

त्यतिखेर झापाको शनिश्चरे बजारमा शंकर डाक्टर बस्थे । उनी नामुद डाक्टर थिए । भोलिपल्ट बा र मामाको सल्लाह बमोजिम मलाई शंकर डाक्टरकोमा उपचारार्थ लैजाने निर्णय गरिएछ । शनिश्चरे जान गोलाखर्कबाट गाडि चढ्नु पथ्र्यो । त्यहासम्म माइली दिदीले डोकामा राखेर पुरयाइदिनुभो । त्यसपछि गाडि चढेर विर्तामोड तर्फ लाग्यांै । बास बस्न साइली सानिमाको घर सुरुंगा  गएको अलि अलि सम्झन्छु । त्यहाँ मैले भात नखाँदा “सानिमा भनेको त आमा  जस्तै हो, आमाले दिएको भात नखाने हो र ? भात खानु पर्छ ।” भन्दै बाले फकाएको स्मृतिको पानामा धमिलो रुपमा बाँकी नै छ ।

विर्तामोडमा मलाई नौलो के लाग्यो भने चुलेसी आकारको धाराबाट पानी आउदो रहेछ ।  पछि थाहा भयो — चुलेसी आकारको धारा भनेको त ट्युब वेल पो रहेछ । अर्को कुरा हाम्रो पहाडमा गाडि कुद्दामात्र आवाज आउथ्यो  तर त्यहाँ भने रोक्दा पनि आवाज आयो यसको भेद मैले अझै सम्म बुझेको छैन – या त त्यहाँ अरु गाडिहरु थिए या त्यसको इन्जिन बन्द गरिएको थिएन । जे होस पहाडबाट मधेश झर्दा मलाई विभिन्न नौला नौला अनुभवले गंगदास बनायो । 

शंकर डाक्टर कै सल्लाह बमोजिम विर्तामोडमा एक्स रे गरेर  हेरियो । कुहिनोको जोर्नीमा एउटा हाड खुस्किएको र अर्को अलिकति भाँचिएको रहेछ ।  डाक्टरले राम्रोसँग ब्याण्डेज गरिदिए । 


एक प्रकारले उपचारको क्रम सकिएको थियो । त्यसपछि मामा कता जानु भयो मैले थाहा पाइन । बाले मलाई लिएर इलाम आउनुभयो ।  

मलाई किन हो, जिल्ला अस्पताल इलाममा पुनः भर्ना गरियो । त्यसबेला इलाम अस्पतालको उपचार व्यवस्था कस्तो थियो, गुणस्तरीय थियो वा थिएन त्यो आफ्नो ठाउँमा छ तर शंकर डाक्टरको उपचारमा के कैफियत भएर हो वा किन हो मलाई पुनः भर्ना गरियो । केही दिन कुर्दा पनि डाक्टर नआएको भएर वा पालो नआएर हो फेरि इलाम अस्पतालबाट निकालेर नजिकैको माइ मेडिकल हलमा  मलाई लगियो ।  त्यहाँका डाक्टर (?) ले  पुरानो ब्याण्डेज खोलेर नयाँ ब्याण्डेज लगाइदियो । यसो गर्दा मेरो दुख्न छोडेको हात साह्रै नमीठो गरी दुख्यो । अत्यन्त पीडा भएर धेरै बेरसम्म डाँको छोडेर रोएको स्मृति अझै ताजै छ । 
मेडिकलको मान्छेले ब्याण्डेज खोल्न यही ल्याउनु भनेको थियो । खोलेर एक्सरे गरेर हेर्नु पर्छ भनेको थियो । तर मेरो हात घरमै फुकाइयो । यसको मूख्य कारण ब्याण्डेज भित्र जुम्रा परेर र अचाक्ली चिलाएर थियो ।  हात खोलेर हेर्दा मेरो हात बांगो भएर जोडिएको रहेछ । त्यो देखेर मेरा अविभावकको चेतनाले चुँ चुँ सविाय केही गर्न जानेन, सकेन । अब तोरीको तेलले सेकेर नै सीधा पर्नु पर्छ भनेर निश्कर्ष निकाली उपचारको सम्पूर्ण क्रम सिध्याइयो । बरु ब्याण्डेजको कपडा देखि हाम्रो गोठको गाई यति धेरै तर्सियो  कि उसले  उसले त्यो बाटे कहिल्यै हिड्न मानेन । सधै मकै बारीबाट हिड्थ्यो । 

मेरो विचारमा शंकर डाक्टरले गरेको ब्याण्डेज फुकाएर जोडिएको हातलाई फेरि भाँचिकन अर्को ब्याण्डेज गर्नाले मेरो हात बांगो जोडिएको हो । त्यहाँनेर मेरा अविभावक कसरी चुके ? यो प्रश्न मेरो मनमा रही रहन्छ । मेरो हात अझै उस्तै छ । मेडिकल साइन्सको युगमा  यसलाई पहिले नै र अझै पनि अपरेशन गरी सोझो बनाउन सकिन्छ । कति डाक्टरले उपचार गर्न सल्लाह पनि दिए तर यसलाई एउटा ज्ञानआर्जनको शुरुवाती माध्यम मानेर जस्ताको तस्तै राखिनु पर्छ भन्ने नै मेरो ठहर छ । 

मेरो हात भाचिनु साँच्चि नै ज्ञान आर्जनको माध्यम हो । थप एउटा प्रसंगबाट यसको पुष्टि गर्नै पर्छ । हाम्रो साजबोटे भन्ने खेत थियो । बाले २०४२ सालमा किनेर २०५३ सालमा बेच्नु भयो ।  एक दिन यो खेतको धान रुङ्न खलामा बस्दा मैले एकजना च्याखु नाम गरेकी बुढी लिम्बूनीलाई (जो डुम्की नाम गरेकी आइमाइकी आमा थिई ।) “धान चोर्न आएकी बुढी” भनेर हप्काएको थिएँ । यसो किन गरे भने मलाई खलामा बस्न मन लाग्दैनथ्यो । आमाले “धान चोर्न आउनेलाई हप्काउनु” भनेर फकाएर त्यहाँ राख्नु भएको थियो । वास्तवमा त्यहाँ धान चोर्न मान्छे आउदैन रहेछन् । गाई बाख्राले फुकेर छर्छन वा परालको भारी फुकाउछन भनेर रुङ्नु पर्ने रहेछ । मेरो केटाकेटीपन त हो – मैले त्यो बुढीलाई थर्काइहालें ।  त्यसपछि उसले सधै “तँलाई नकटी छोडदिन” भनेर खुर्पा लिएर खेदिहाली । पछि सम्म पनि उसले मलाई देख्नै हुदैनथ्यो ।  खुर्पा  उचालेर काटुला झैं गर्थी । म डरले सधैं कुलेलम ठोक्थें । यो हात भाँचिनु भन्दा अघिको प्रसंग थियो ।


मेरो हातमा ब्याण्डज भएका बेला उसले फेरि पनि मलाई भेटी । पछाडीबाट देखेर मलाई उसले फेरि पनि काट्न झम्टिहाली । म डरले कालो नीलो भएँ र रुन थाले । उसले मेरो हातमा व्याण्डेज  भएको देखे पछि आफ्नो व्यवहार तुरुन्त  परिवर्तन गरिहाली ।  भनी – “ ए, हात भाँचिएको नानी पो रहेछ, कहाँ, मैले त जिस्काएको पो त, म कहाँ साँचै नै काट्छु त !, म त तिम्रो आमा जस्तै हुँ । नडराऊ , आमाले कतै छोरा छोरी काट्छन् !” यस पछि उसले आफ्नो माया यसरी दशाँई कि  च्याखुमा त स्नेह रहेछ भन्ने अनुभुत भयो । त्यो बुढीमा त आमामा हुनु पर्ने गुण पो रहेछ भन्ने सुझ्यो । त्यही घटनाले  गर्दा मलाई बृद्धबृद्धाहरु त मायाका खानी नै हुदा रहेछन् । यिनीहरुले केटाकेटीलाई गाली गरेको पनि जिस्क्याएको मात्रै हो । यिनीहरु त राम्रो मनका पो हुदारहेछन् भन्ने  भनुभव भयो । शायदै मैले बीसौ वर्षे स्कूल र क्याम्पसको अध्ययन बाट यति ठूलो नैतिकता र आदर्श सिकेकौ छैन होला । 

नेपालका नगरपालिका र गाँउपलिकाहरूकाे सूचि


स्थानीय तह पुनर्संरचना आयोगले यसै साता सरकारलाई प्रतिवेदन बुझाउँदै ७१९ गाउँपालिका र नगरपालिका हुने प्रस्ताव गरेको छ। यसमा सबैभन्दा चाखलाग्दो कुरा के छ भने पुराना नगरपालिकाबाहेकका लगभग सबै इकाइले नयाँ नाम पाएका छन्। र, यसपटक नयाँ गाउँ र नगरले राजामहाराजाका नामबाट मुक्ति पाएका छन्। यसरी नयाँ नाम प्रस्तावित गर्दा सांस्कृतिक र भाषिक पहिचानका आधारमा भूगोलको नयाँ नामाकरण र पुनर्नामाकरण गरिएको हो।
नयाँ गाउँपालिका र नगरपालिकाको नामाकरणसहितको सूचीः

इलाम
नगरपालिका (४)
इलाम नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र सूर्योदय नगरपालिका
गाउँपालिका (६)
फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माइजोगमाई गाउँपालिका, माङसेवुङ गाउँपालिका, रोङ गाउँपालिका र सन्दकपुर गाउँपालिका
ताप्लेजुङ
नगरपालिका (१)
फुङलिङ नगरपालिका
गाउँपालिका (८) 
आठराई त्रिवेणी गाउँपालिका, सिदिङ्वा गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मैवाखोला गाउँपालिका, याङवरक गाउँपालिका र सिरिजङ्गा गाउँपालिका
पाँचथरनगरपालिका (१)
फिदिम नगरपालिका
गाउँपालिका (७) 
फालेलुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, हिलिहाङ गाउँपालिका, कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, तुम्बेवा गाउँपालिका र याङवरक गाउँपालिका
झापा
नगरपालिका (८) मेची नगर नगरपालिका, दमक नगरपालिका, कन्काई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवशताक्षी नगरपालिका, गौरादह नगरपालिका र बिर्तामोड नगरपालिका
गाउँपालिका (७) 
कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दिवारी गाउँपालिका र केचनाकल गाउँपालिका
संखुवासभा
नगरपालिका (५) चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, खाँदबारी नगरपालिका, मादी नगरपालिका र पाँचखपन नगरपालिका
गाउँपालिका (५) भोटखोला गाउँपालिका, चिचिला गाउँपालिका, मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र सिलिचोङ गाउँपालिका
उदयपुर
नगरपालिका (४) कटारी नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका र बेलका नगरपालिका
गाउँपालिका (४) उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका, रौतामाई गाउँपालिका र सुनकोशी गाउँपालिका
धनकुटा
नगरपालिका (३) पाख्रिबास नगरपालिका, धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिका
गाउँपालिका (४) साँगुरीगढी गाउँपालिका, खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र चौबिसे गाउँपालिका
खोटाङ
नगरपालिका (२) हलेसी तुवाचुङ नगरपालिका र रुपाकोट मझुवागढी नगरपालिका
गाउँपालिका (८) ऐँसेलुखर्क गाउँपालिका, लामीडाँडा गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ गाउँपालिका, साकेला गाउँपालिकार बराहपोखरी गाउँपालिका
ओखलढुङ्गा
नगरपालिका (१) सिद्धिचरण नगरपालिका
गाउँपालिका (७) खिजिदेम्बा गाउँपालिका, चम्पादेवी गाउँपालिका, चिशांखुगढी गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका, मोलुङ गाउँपालिका, लिखु गाउँपालिका र सुनकोशी गाउँपालिका

सोलुखुम्बु
नगरपालिका (१) सोलु दूधकुण्ड नगरपालिका
गाउँपालिका (७) दूधकोशी गाउँपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका, दूधकौशिका गाउँपालिका, नेचासल्यान गाउँपालिका, माहाकुलुङ गाउँपालिका, लिखु पिके गाउँपालिका र सोताङ गाउँपालिका
सुनसरी
उपमहानगरपालिका (२) इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका
नगरपालिका (४) इनरुवा नगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, बराह नगरपालिका
गाउँपालिका (६) देवानगन्ज गाउँपालिका, कोसी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, भोक्राहा गाउँपालिका, हरिनगरा गाउँपालिका।
बारा
उपमहानगरपालिका (१) सिमरा जितपुर उपमहानगरपालिका
नगरपालिका (५)  कोल्हाबी नगरपालिका, कलैया नगरपालिका, सिम्रोनगढ नगरपालिका, महागढीमाई नगरपालिका, निजगढ नगरपालिका
गाउँपालिका (७) देवताल गाउँपालिका, परवानीपुर गाउँपालिका, बारागढी गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, कोटवाल गाउँपालिका, पचरौटा सतमौजा गाउँपालिका
पर्सा
उपमहानगरपालिका (१) वीरगन्ज उपमहानगरपालिका
नगरपालिका (१) पोखरिया नगरपालिका
गाउँपालिका (९) जगनाथपुर गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, सुवर्णपुर गाउँपालिका, धोबीनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, बलेवा प्रसौनी गाउँपालिका, हरपुर गाउँपालिका
रौतहट
नगरपालिका (३) चन्द्रपुर नगरपालिका, गौरनगरपालिका, गरुडा नगरपालिका
गाउँपालिका (१२) भीनक गाउँपालिका, भगवती गाउँपालिका, बैधीमाई गाउँपालिका, बिजयपुर गाउँपालिका, परोहा गाउँपालिका, गढीमाइ गाउँपालिका, गजरा गाउँपालिका, कटहरिया गाउँपालिका, ईशनाथ गाउँपालिका, मौलापुर गाउँपालिका, वृन्दावन गाउँपालिका, राजपुर गाउँपालिका
सप्तरी
नगरपालिका (६) पातो नगरपालिका, सप्तकोशी कञ्चनरुप नगरपालिका, हनुमाननगर योगिनीमाई नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, बरसाइन
गाउँपालिका (६) सुमङ गाउँपालिका, मोहली गाउँपालिका, तोपा गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, खडक गाउँपालिका, छिन्नमस्ता गाउँपालिका
महोत्तरी
नगरपालिका (३) बर्दिबास नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिका
गाउँपालिका (१०) सोनमा गाउँपालिका, सम्सी गाउँपालिका, लोहरपट्टी गाउँपालिका, रामगोपालपुर गाउँपालिका, मनरा गाउँपालिका, मटिहानी गाउँपालिका, भंगाहा गाउँपालिका, बलवा गाउँपालिका, औरही गाउँपालिका, पिपरा गाउँपालिका, एकडारा गाउँपालिका
धनुषा
उपमहानगरपालिका (१) जनकपुर उपमहानगरपालिका
नगरपालिका (८) गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, योगीबाबा नगरपालिका, सहिदनगर नगरपालिका, सप्तऋषि नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, नगराइन नगरपालिका
गाउँपालिका (४) जमुनी गाउँपालिका, मिथिला बिहारी गाउँपालिका, हंसपुर गाउँपालिका,कमला सिद्धिदात्री गाउँपालिका
सर्लाही
नगरपालिका (८) हरिपुर्वा नगरपालिका, श्रीनगर सागरनाथ नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका, हरिपुर नगरपालिका, लालबन्दी नगरपालिका, मलंगवा नगरपालिका, हरिवन नगरपालिका
गाउँपालिका (८) कविलासी गाउँपालिका, कर्मैया गाउँपालिका, धनकौल पश्चिम गाउँपालिका, चन्द्रनगर गाउँपालिका, विष्णु गाउँपालिका, बेल्ही गाउँपालिका, गोडैता गाउँपालिका, रामनगर बहुअर्वा गाउँपालिका
सिरहा
नगरपालिका (६) गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका, लहान नगरपालिका, सिराहा नगरपालिका, सुखीपुर नगरपालिका
गाउँपालिका (६) औरही गाउँपालिका, कर्जन्हा गाउँपालिका, कल्याणपुर जब्दी गाउँपालिका, विष्णुपुर प्रम गाउँपालिका, भगवानपुर गाउँपालिका, महेशपुर पतारी गाउँपालिका
भक्तपुर
नगरपालिका (४) चाँगुनारायण नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका
रामेछाप
नगरपालिका (२) मन्थली नगरपालिका, रामेछाप नगरपालिका
गाउँपालिका (६) उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु गाउँपालिका, सुनापति गाउँपालिका
सिन्धुपाल्चोक
नगरपालिका (३) चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका
गाउँपालिका (९) इन्द्रावती गाउँपालिका, जुगल गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, सुनकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका
सिन्धुली
नगरपालिका (२) कमलामाई नगरपालिका, दुधौली नगरपालिका
गाउँपालिका (७) गोलन्जर गाउँपालिका, घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका
काभ्रेपलान्चोक
नगरपालिका (६) धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डन नगरपालिका
गाउँपालिका (७) खानीखोला गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका, रोसी गाउँपालिका
दोलखा
नगरपालिका (२) जिरी नगरपालिका, भीमेश्वर नगरपालिका
गाउँपालिका (७) कालिञ्चोक गाउँपालिका, गौरीशंकर गाउँपालिका, तामाकोसी गाउँपालिका, मेलुङ गाउँपालिका, बिगु गाउँपालिका, बैतेश्वर गाउँपालिका, सैलुङ गाउँपालिका
धादिङ
नगरपालिका (२) धुनीबेँसी नगरपालिका, नीलकण्ठ नगरपालिका
गाउँपालिका (११) खनियाबास गाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, गंगाजमुना गाउँपालिका, ज्वालामुखी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, रुबी भ्याली गाउँपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका
रसुवा
गाउँपालिका (५) उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका, गोसाईँकुण्ड गाउँपालिका, नौकुण्ड गाउँपालिका, पार्वतीकुण्ड गाउँपालिका
काठमाडौं
महानगरपालिका (१) काठमाडौं महानगरपालिका
नगरपालिका (८) कागेश्वरी मनहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, बूढानीलकण्ठ नगरपालिका
नुवाकोट
नगरपालिका (२) विदुर नगरपालिका, ककनी नगरपालिका
गाउँपालिका (१०) किस्पाङ गाउँपालिका, कोल्पु गाउँपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, बेलकोटगढी गाउँपालिका, मेघाङ गाउँपालिका, शिवपुरी गाउँपालिका, सूर्यगढी गाउँपालिका
चितवन
महानगरपालिका (१) भरतपुर महानगरपालिका
नगरपालिका (५) कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका
गाउँपालिका (१) इच्छाकामना गाउँपालिका
मकवानपुर
उपमहानगरपालिका (१) हेटौँडा उपमहानगरपालिका
नगरपालिका (१) थाहा नगरपालिका
गाउँपालिका (८)  इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका
ललितपुर
महानगरपालिका (१) ललितपुर महानगरपालिका
नगरपालिका (२) गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका
गाउँपालिका (३) कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिका
बाग्लुङ
नगरपालिका (४) गल्कोट नगरपालिका, जैमुनी नगरपालिका, ढोरपाटन नगरपालिका, बाग्लुङ नगरपालिका
गाउँपालिका (५) काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, वरेङ गाउँपालिका
गोरखा
नगरपालिका (२) गोरखा नगरपालिका, पालुङटार नगरपालिका
गाउँपालिका (९) आरूघाट गाउँपालिका, गण्डकी गाउँपालिका, चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेन गाउँपालिका, सहिद लखन गाउँपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका
कास्की
महानगरपालिका (१) पोखरा लेखनाथ महानगरपालिका
गाउँपालिका (४) अन्नपूर्ण गाउँपालिका, माछापुच्छे गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका
लमजुङ
नगरपालिका (४) बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका
गाउँपालिका (४) क्व्होलासोथार गाउँपालिका, दूधपोखरी गाउँपालिका, दोर्दीगाउँपालिका, मस्र्याङ्दी गाउँपालिका
मनाङ
गाउँपालिका (३) चामे गाउँपालिका, नासो गाउँपालिका, नेस्याङ गाउँपालिका
मुस्ताङ
गाउँपालिका (५) घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, लोमन्थाङ गाउँपालिका, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका
म्याग्दी
नगरपालिका (१) बेनी नगरपालिका
गाउँपालिका (५) अन्नपूर्ण गाउँपालिका, धौलागिरि गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका, रघुगंगा  गाउँपालिका
नवलपरासी
नगरपालिका (७) कावासोती नगरपालिका नगरपालिका,  गैँडाकोट नगरपालिका,  देवचुली नगरपालिका,  बर्दघाट नगरपालिका,  मध्यबिन्दु नगरपालिका, रामग्राम नगरपालिका,  सुनवल नगरपालिका
गाउँपालिका (८) त्रिवेणीसुस्ता गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका, बुङ्दीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, विनयी गाउँपालिका, सरावल गाउँपालिका, हुप्सेकोट गाउँपालिका
पर्वत
नगरपालिका (२) कुस्मा नगरपालिका, फलेवास नगरपालिका
गाउँपालिका (५) जलजला गाउँपालिका, पैयुँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका
स्याङ्जा
नगरपालिका (५) गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका
गाउँपालिका (६) अर्जुनचौपारी गाउँपालिका, आँधीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका
तनहुँ
नगरपालिका (४) भानु नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका
गाउँपालिका (६) आँबुखैरेनी गाउँपालिका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दे, गाउँपालिका बन्दीपुर गाउँपालिका
रूपन्देही
उपमहानगरपालिका (१) बुटवल उपमहानगरपालिका
नगरपालिका (५) देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा, नगरपालिका
गाउँपालिका (१०) गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका
कपिलवस्तु
नगरपालिका (६) कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका, वाणगंगा नगरपालिका
गाउँपालिका (४) मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका, विजयनगर गाउँपालिका
पाल्पा
नगरपालिका (२) रामपुर नगरपालिका, तानसेन नगरपालिका
गाउँपालिका (८) निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दिकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका
अर्घाखाँची
नगरपालिका (३) सन्धिखर्क नगरपालिका, शीतगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका
गाउँपालिका (३) छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका
गुल्मी
नगरपालिका (२) मुसिकोट नगरपालिका, रेसुंगा नगरपालिका
गाउँपालिका (१०) कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका
रोल्पा
नगरपालिका (१) रोल्पा नगरपालिका
गाउँपालिका (९) त्रिवेणी गाउँपालिका, दुईखोली गाउँपालिका, माडी गाउँपालिका रुन्टीगढी गाउँपालिका, लुङग्री गाउँपालिका, सुकीदह गाउँपालिका, सुनछहरी गाउँपालिका, सुवर्णावती गाउँपालिका, थवाङ गाउँपालिका
प्युठान
नगरपालिका (२) प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका
गाउँपालिका (७) गौमुखी गाउँपालिका, माण्डवी गाउँपालिका, सरुमारानी गाउँपालिका, मल्लरानी गाउँपालिका, नौवहिनी गाउँपालिका, झिमरुक गाउँपालिका, ऐरावती गाउँपालिका
दाङ
उपमहानगरपालिका (२) तुल्सीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका
नगरपालिका (१) लमही नगरपालिका,
गाउँपालिका (७) बंगलाचुली गाउँपालिका,     दंगीशरण गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका
बाँके
उपमहानगरपालिका (१) नेपालगन्ज उपमहानगरपालिका
नगरपालिका (१) कोहलपुर नगरपालिका
गाउँपालिका (६)  नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिका
बर्दिया
नगरपालिका (६) गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, बासगढी नगरपालिका, बारबर्दिया नगरपालिका
गाउँपालिका (२) बढैयाताल गाउँपालिका, गेरुवा गाउँपालिका
रुकुम
नगरपालिका (३) मुसिकोट नगरपालिका,  चौरजहारी  नगरपालिका, आठबिसकोट  नगरपालिका
गाउँपालिका (६) पुथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिका, बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, सानी भेरी गाउँपालिका
सल्यान
नगरपालिका (३) शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका
गाउँपालिका (७) कालीमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका, दार्मा गाउँपालिका
डोल्पा
नगरपालिका (२) ठूली भेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका
गाउँपालिका (६) डोल्पो बुद्ध गाउँपालिका, से फोक्सुन्डो गाउँपालिका, जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका
जुम्ला
नगरपालिका (१) चन्दननाथ नगरपालिका
गाउँपालिका (७) कनकासुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका
मुगु
नगरपालिका (१) छायानाथ रारा नगरपालिका
गाउँपालिका (३) मुगुम कार्मारोंग गाउँपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका
हुम्ला
गाउँपालिका (७) सिमकोट गाउँपालिका, नाम्खा गाउँपालिका, खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चंखेली गाउँपालिका, अदानचुली गाउँपालिका, ताँजाकोट गाउँपालिका
कालिकोट
नगरपालिका (३) खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका
गाउँपालिका (६) पचालझरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, कालिका गाउँपालिका, महावै गाउँपालिका, पलाता गाउँपालिका
जाजरकोट
नगरपालिका (३) भेरी नगरपालिका, छेडागाड नगरपालिका, त्रिवेणी नलगाड नगरपालिका
गाउँपालिका (४) बारेकोट गाउँपालिका, कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका
दैलेख
नगरपालिका (४) नारायण नगरपालिका, दुल्लु नगरपालिका, चामुन्डा बिन्द्रासैनी नगरपालिका, आठबिस नगरपालिका
गाउँपालिका (७) भगवतीमाई गाउँपालिका, गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका, महाबु गाउँपालिका, भैरवी गाउँपालिका,  ठाँटीकाँध गाउँपालिका
सुर्खेत
नगरपालिका (५) वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, लेकबेसी नगरपालिका
गाउँपालिका (४) चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, चिङाड गाउँपालिका, सिम्ता गाउँपालिका
बाजुरा
नगरपालिका (४) बडीमालिका नगरपालिका,  त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका
गाउँपालिका (५)  गौमुल गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका
डोटी
नगरपालिका (२) दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका
गाउँपालिका (७) पूर्वीचौकी गाउँपालिका, बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका, केआइसिं गाउँपालिका, बोगटान गाउँपालिका
अछाम
नगरपालिका (४) मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका
गाउँपालिका (६) चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका
दार्चुला
नगरपालिका (३) महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन नगरपालिका
गाउँपालिका (६) अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, व्यास गाउँपालिका
बैतडी
नगरपालिका (४) दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका
गाउँपालिका (६) सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका
डडेल्धुरा
नगरपालिका (२) अमरगढी नगरपालिका, परशुराम नगरपालिका
गाउँपालिका (५) आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु गाउँपालिका, गन्यापधुरा गाउँपालिका
कञ्चनपुर
नगरपालिका (७) भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, वेदकोट नगरपालिका, महाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका
गाउँपालिका (२) बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका
कैलाली
उपमहानगरपालिका (१) धनगढी उपमहानगरपालिका
नगरपालिका (६) टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका
गाउँपालिका (६) जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, चुरे गाउँपालिका
बझाङ
नगरपालिका (२) जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका
गाउँपालिका (९) केदारस्युँ गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका, तलकोट गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका, मष्टा गाउँपालिका, बित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका

भानु












सबले हरिभक्ति गरी रसले 
तनले धनले, प्रभुका जपले 
मुखिया कूलले पनि हुन्न ठूलाे 
गर यिन् नरकाे उपकार ठूलो ।।

भनी घाँसी गयाे उसकाे सुरमा 
खनियाे त कुवा उसकाे पुरमा 
यिनका बचन लिइ याे मनमा 
लिइ जाेस, रही अब हाेसमहाँ ।।

अपठहरू  खातिर धन्य हुने 
मरदा पनि लोकमा नाम र ने 
रसिलाे सरल स्व सु भाषा हुने 
पहिचान अनि अपनत्व हुने ।।

म त बन्छु कवि रचदै कविता 
बहिदिन्छु जतै सुरिलाे सरिता
यसरी कविता सरिता भरिए 
तनहुँ तिरमा यसरी छरिए ।।

सबका मनमा भरिए रचना 
मृदुछन्दमयी सुनरी सपना
अब भानु भए धरती भरिका 
सबले पुजने भगवान सरिका ।।
रचना मिति २०६३ असार २९ 
पद्मकन्या विद्याश्रम मा. वि. डिल्लीबजार, काठमाण्डाै 

Thursday, January 12, 2017

कविताः मेराे देश



मेरो देश

-        जनार्दन कट्टेल

हिमालको सुशोभना, छ अन्त खै कहिँ कतै 
पहाडको यो सम्पदा छ  विश्वमा कहिं कतै
अर्पूव छ स्वदेश यो जहाँ तहाँ जता ततै
तिमी मभित्र नै यतै लुकेकोछौ जहाँ जतैं  ।। १।।

सबै परिश्रमी भए छ उर्वरा मधेश यो
छ मोहनी, छटा, मनै हुरुक्क विश्वको
सबै पवित्र सन्तति यो देशका सबै मणिऽ
उठौं जुरुक्क भै सबै विकासको छ यो घडिऽ ।।२।।

अंगालेर असभ्यता, निकृष्टता र निचता,
अज्ञानको प्रयोगले मिलेछ के त उच्चता ?
नसम्झ यो अनन्तमा  विलाउँदै छ बीरता,
गुराँसको सछत्रमा लुकेको छ सबै दिशा ।।३।।

अबेर भो अझै पनिऽ सुतेर बन्छ कि भुमी ?
अटूट र्काय भित्र नै बनी  रहुन् सधैं भुमी ।
नचिनेर स्वयंप्रति तिमी भने बेहोश छौ,
ए राष्ट्रका अनन्य हो ! तिमी कता हराएछौ ? ४।।

यो देशको उज्यालोको छ विश्वमा के संशय ?
गरे के हुन्न ? पाखुरा तिमीसँगै छ निश्चय ।
फुलाउनु छ राष्ट्रको सगर्व फूल आँकुरा
अनेकतामा एकता मिलाउँदै यि टाकुरा ।।५।।

छ दूर लक्ष एक यो मिलाउने सबै जनऽ
जुटी महान संप्रभू फुलाउने सबै कणऽ ।
गरौं पवित्र निश्चय, गरेर ज्ञान संचयऽ
सम्बृद्धता यो देशको जपेर लाख तन्मयऽ ।। ६ ।।

भलो छ यो सबै मन मिलेर बस्दिए कतिऽ
सयौं सुपुष्प हार यो उनिएमा अझै कतिऽ
अति सुगन्ध देशको, हराभरा भई फुलोस् !
यही छ कामना अझैं हिमालमा नयन् खुलोस ।।७।।


गजलःगणतन्त्र ल्याँउछु भन्यौ, बदलेर भेष

गणतन्त्र ल्याँउछु भन्यौ, बदलेर भेष
चारै तिर सल्काएर ताप्न थाल्यौ देश ।।१।।

छद्मभेषी नेता पायो मेरो देशले किन ?
जनतालाई घोडा बनाइ दौडाउछन् रेश ।।२।।

बिचल्ली छ जनताको तिमी भने सधैं मस्त,
तिम्रो फो’री खेलका मारे मूलुक होला शेष ।।३।।

अग्रगामी मुद्धाहरु एक तिर फ्याँकी,
सत्ता सत्ता भन्दै कति देशलाई लाउछौ ठेस ? ४।।

बुझ्नु पर्छ , राष्ट्र के हो ? के हो यसको लक्ष ?
केले बढ्छ स्वाभिमान, केले  डुब्छ देश ? ५।।

व्यक्ति भन्दा माथि उठ, दल भन्दा अझ माथि
किन बुद्धि पलाउदैन फुलिसक्दा केश ? ६।।

Saturday, January 7, 2017

सूचना

यस भित्रका सामग्रीहरू साहित्यका पाठक तथा अध्ययनमा रूची रहने विद्यार्थीहरूका लागि उपयुक्त रहेका छन् । कम्प्युटरबाट सिधै पढ्न गाह्रो हुदा  आवश्यक सामग्रीहरू प्रिन्ट गरी पढ्न समेत सकिन्छ । तर प्रतिलिपि अधिकार लेखकमा सुरक्षित रहेकाे हुँदा कसैले बिना अनुमति प्रकाशन, प्रशासरण गरेकाे पाइएमा कानून बमाेजिम कारवाही हुने व्यहाेरा अनुराेध छ ।

- जनार्दन कट्टेल 

प्रशासनमा समन्वय र प्रविधिकाे प्रयाेग

— जनार्दन कट्टेल

सरकारले राज्यका तर्फबाट जनतालाई प्रदान गरिने सेवा नै सार्वजनिक सेवा हो । यसरी सेवा प्रबाह गर्दा कहिले निशुल्क त कहिले सिमित वा लागत अनुसारको शुल्क लिने गरिन्छ ।  हुनत सार्वजनिक सेवा हाल नीजि क्षेत्र र सामूदायिक र गैरसरकारी क्षेत्रबाट समेत प्रदान गरिन्छ तथापी यस आलेखमा सरकारका तर्फबाट गरिने सार्वजनिक सेवा, त्यसमा भएको समन्वयको अवस्था र प्रविधिको प्रयोग सम्बन्धी केही विश्लेषण गर्ने प्रयास गरिएको छ । 
हाल प्रविधिको प्रयोग भई प्रदान गरिएका सेवाहरुमा नागरिकताको प्रमाण पत्र, मतदाता परिचय पत्र, अनलाइन बोलपत्र, लोक सेवा आयोगको अनलाइन दरखास्त फाराम, शुरु हुनै लागेको अनलाइन राहादानी फाराम, आदि सिधैं जनताले अनुभुति गर्न पाउने सेवाहरु हुन् । तर यिनीहरुपनि पूर्णरुपमा अनलाइनमा आधारित छैनन् । आंशिक रुपमा प्रविधिले सहयोग गरेको छ । साच्चै भन्नु पर्दा यी सेवाहरु अझै पनि सेवाग्राहीभन्दा पनि सेवा प्रदायकउन्मूख रहेका छन् । सेवा प्रदायकले प्रयोग गर्ने अन्य अनलाइन सेवाहरुमा निजामति किताबखानाको PIS,  अर्थ मन्त्रालयको ASSICUDA, RMISभूमी सुधार मन्त्रालयको LMIS आदि उल्लेख्य मानिन्छन् । त्यसो त सबै निकायका बेवसाइटहरु छन् । सूचना जानकारी लिन सकिन्छ । तर नेपालमा न त सेवा प्रदायककोे आफ्नै लागि, न त सेवाग्राहीको लागि, पूर्णरुपमा प्रविधिको प्रयोग भएको एउटै निकाय छैन भन्दा अत्युक्ति नहोला । 
प्रविधिको प्रयोगले समन्वयलाई सघाउ पुर्याउँछ । विभिन्न निकायहरुबीच ती निकायहरुले गर्ने क्रियाकलापहरुमा सकारात्मक सम्बन्धको स्थापना गर्ने कार्य नै समन्वय हो । अर्को शब्दमा संगठनका विभिन्न पक्ष जस्तै  — इकाइहरु, संगठनमा आवद्ध व्यक्तिहरु, सरोकारवाला समूहहरुमा कार्यस्तरीयता र प्रभावकारिताको लागि सम्बन्धन गर्ने , एकीकरण गर्ने र समान्जस्यता कायम गरी सबै पक्षहरुलाई लक्षोन्मूख बनाउने कार्य हो समन्वय । राम्रो समन्वयका लागि प्रभावकारी संचार आवश्यक पर्छ र प्रभावकारी संचारका लागि प्रविधिको निर्विकल्प प्रयोग हुनु पर्छ । 
हामीकहाँ  भएका समन्वय सम्बन्धी केही समस्याहरु यहाँ प्रस्तुत गरिएको छ ।
एउटा नागरिकले १६ वर्ष हुँदा नागरिकता प्राप्त गर्छ । उसले पछि राहदानी प्राप्त गर्न, मतदाता परिचय पत्र बनाउन अपांगता परिचय पत्र बनाउन वा अझ वृद्ध-वृद्धा परिचयपत्र बनाउन बेग्ला बेग्लै र झन्झटिलो प्रक्रिया अघि बढाउनुपपर्छ । किनकी नागरिकता बनाउन जुटेका प्रमाणहरु अन्य निकायमा हुदैनन् । र ती प्रमाण आफैले नदेखेसम्म अन्य निकायले सम्बन्धित सेवा दिदैनन् । एउटै प्रमाणका लागि सेवा ग्राही चारतिर दौडन्छ । 
निर्माण कार्यको स्थिति त्यस्तै छ । एउटा निकायले सडक पीच गरेको महिना दिन नबित्दै अर्को निकायले पाइपलाइन विच्छ्याउन वा ढल खन्न सडक भत्काउँछ ।
एउटा निकायले सडक वा कुनै विद्युत प्रसारण लाइन निर्माणको लागि बजेट छुट्याउछ र कार्य प्रारम्भ गर्छ, अर्को निकायले बनको रुख काटेको भनी उपभोक्ता समिति र ठेकेदारलाई मुद्धा हाल्छ ।
पर्यटनसंग सम्बन्धित निकायले ताल सफा गर्न त्यहाँ रहेका झ्याउ र अन्य बनस्पति झिकेर सफा गर्छ अनि सोही कुरा वातावरणसंग सम्बन्धित निकायलाई पच्दैन । वनस्पति कार्यालयले तगारो हाल्छ ।
सहकारीले दिनु पर्ने सहकारी सम्बन्धी तालिम, लेखा तालिम, व्यवस्थापन सम्बन्धी सचेतना महिला तथा वालकालिका कार्यालयले दिदै हिड्छ । अझ पहिला महिलाहरुको समूह बनाउने त्यसपछि फेरि त्यही समूहलाई सहकारीकरण गर्ने भनेर आफ्नै काममा दोहोरो पना पनि देखिन्छ  ।
प्रविधिकै प्रयोगमा पनि भिन्न निकायले भिन्न भिन्न सफ्टवेर कम्पनिबाट आफ्नो अनलाइन एप्लिकेशन तयार गरेका छन् । त्यसमा कुनै इन्टरलिंक छैन । कुनै समन्वय छैन । 
उचित समन्वयको अभावमा हाम्रो मन्त्रालयहरुको कार्यविभाजन कस्तो छ एक पटक त्यता हेर्दा पनि केही सुझ्छ कि । नेपाल सरकारको कार्यविभाजन नियमावली २०६९ ले सत्ताइसवटा मन्त्रालयको नाम आफ्नो अनुसुचीमा उल्लेख गरेको छ । सरकारलाई आफ्नो अनुकुल मन्त्रालयको संख्या थपघट गर्न मिल्ने गरी राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर गर्न सकिने प्रावधान समेत राखिएको छ । यता हाम्रो राजनीतिक सँस्कार कस्तो छ भने मन्त्रालयको संख्या कार्य विभाजनमा आधारित नभई मन्त्री हुने उम्मेदवार /दावेदारहरुको संख्यामा भर पर्छ । त्यसैले कहिले मन्त्रालयको संख्या बढेर ३१ पुग्छ  र कहिले १  वा २ अंकले खुम्चन्छ । 
मन्त्रालयको बाँडफाँड पनि उपयुक्त छैन । जस्तै — बन तथा भूसंरक्षण मन्त्रालयँंग वातावरण बढी नजिक देखिन्छ । तर वातावरणलाई विज्ञान प्रविधिसँग जोडिएको छ । सूचना तथा संचार मन्त्रालय भित्रको एउटा विभाग, हुलाक सेवा विभागको हाल सान्दर्भिकता नै अन्त्य भएको  छ । संचार क्षेत्र विज्ञान प्रविधिसँग नजिकको हुनाले संचारलाई विज्ञान प्रविधिसंग जोड्दा के विग्रन्छ र ? उसै पनि प्रशासनिक सुधारका लागि गठित सबैजसो आयोगहरुले मन्त्रालयको संख्या घटाउने र प्रशासनको निजामति सेवाको उपयुक्ताकार बनाउने भनेर सुझाव दिएका दियै छन् । तर हाम्रो कार्यान्वयन ?  अर्को तिर निजामती कर्मचारीको दरबन्दी सिर्जना गर्दा, थपघट गर्दा O & M सर्भे गर्नु पर्ने प्रावधान रहेको छ । त्यस्तो सर्भेक्षणमा कार्य विश्लेषण, कार्य विस्तृतीकरण, कार्यमूल्यांकन र कार्य विवरणलाई ध्यान दिनु सट्टा लहड र एक दुई जनाको तर्कको आधारमा दरबन्दी सिर्जना र थपघट गर्ने गरेको पाइन्छ । यसले गर्दा कुनै अड्डामा कामको अत्यधिक चाप छ, जसले सेवा प्रवाह नै प्रभावित बनेको छ  । कुनैमा काम नभएर कर्मचारी घाम तापेर बसेका छन् । 
यी सम्पूर्ण विषयवसतुहरुको निचोडलाई हेर्ने हो भने हाम्रो सेवा प्रवाहमा तलका समस्याहरु देखिन्छनः 
  • सेवाप्रवाह गर्दा नीतिगत तह देखि कार्यान्वयन तह सम्म नै समन्वयको अभाव देखिन्छ । 
  • समन्वयको अभावमा सेवा कतै झन्झटिलो, कतै अनावश्यक, कतै बढी खर्चिलो त कतै नाम मात्रको सेवा दिएर मेवा खाने व्यापार बनेकाेछ  । 
  • कुन निकायको कार्य के हो प्रष्ट भएन । एउटा निकायले अर्को निकायको कार्य गर्यो । अझ कतिपय ठाँउमा त एक निकायले अर्को निकायको  मुख ताक्दा कामै भएन । 
  • दुई वा सोभन्दा बढी निकायबीचको द्वन्द्वात्मक स्थिति र विरोधाभाष कार्यशैलीले गर्दा  जनताले अनावश्यक दुःख पाए । 
  • सुशासन नाममा मात्र सीमित रहयो । 
यो समस्याको एक मात्र समाधानको उपाय भनेको  असल समन्वय र सेवा प्रवाहमा प्रविधिको प्रयोग नै हो ।  तर कसरी ?  कुनै पनि निकायको कार्य अर्को सँग नबाझिने गरी प्रष्ट रुपमा तोकिनु पर्छ । अटोमेसनमा आधारित एप्लिकेसनहरुको प्रयोग गरिनुपर्छ र त्यस्ता एप्लिकेसनहरुमा अन्तर मन्त्रालयगत / अन्तर निकायगत इन्टररिलेसनसीप हुुनुपर्छ । प्रविधिमा आधारित एप्लिकेसनहरु तयार गर्दा विज्ञान तथा प्रविधि मन्त्रालयले समन्वयात्मक भूमिका खेल्नु पर्दछ ।
निर्माणसँग सम्बन्धित कार्य गर्नु पूर्व त्यहाँ कुन कुन सरोकार निकायहरु, समूहहरु व्यक्तिहरु आकर्षित हुन्छन्, सबैसँग समन्वयात्मक बैठक, छलफल गरी योजनाबद्ध तरिकाले कार्य गर्नु पर्छ । योजनाहरु तय गर्दा नै समन्वय गरेर मात्र तय गर्नु पर्छ । 
अटोमेसनको एउटा उदाहरणबाट हेरौं — नागरिकता जारी गर्दा नै नागरिकको सिटिजनसिप आइ. डी नम्बर उपलब्ध हुन्छ । त्यसपछिका सम्पूर्ण सेवा सोही आइ. डीका आधारमा उसले प्राप्त गर्छ । उसको सम्पूर्ण प्रोफाइल सोही आइ. डीबाट प्राप्त हुन्छ । सायदै यसले देशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, भ्रष्ट्राचार नियन्त्रण जस्ता कुरामा समेत सहज बनाउँछ । अझ यो आई. डी जन्म दर्ता कै क्रममा उपलब्ध गराउनु उपयुक्त हुन्छ । सरकारले राष्ट्रिय परिचय पत्रको अवधारण अघि सारेको छ । पक्कै पनि यो प्रविधिमा आधारित होला । यसले प्रत्येक नागरिकलाई एउटै पहिचानको आधारमा सबै निकायबाट सेवा प्रदान गर्न मद्दत पुग्नेछ । फेरि नागरिकतालाई विस्थापन नगर्ने गरी यसको व्यवस्था गरियो भने एकै प्रयाजनको सेवामा दोहोरोपना कायम हुने देखिन्छ ।
अन्त्यमा जुनसुकै देशको पनि स्थायी सरकार र घरदैलोको सरकार भनेको सार्वजनिक प्रशासन नै हो । यो निर्बैयक्तिक र तटस्थ हुन्छ । सार्वजनिक प्रशासन राजनैतिक एजेण्डाहरुको कार्यान्वयनमा प्रतिवद्ध समेत रहनुपर्छ । चुस्त र छरितो प्रशासनयन्त्रबाट मात्र जनताले  सरकार र अशल शासनको अनुभुति गर्न पाँउछन् । यसो भएमा निजामति सेवाप्रतिको नकारात्मक दृष्टिकोण कमजोर भएर जान्छ । यसका लागि प्रविधिको प्रयोग अनिवार्य छ । प्रविधिको प्रयोगले नै हाम्रो समन्वय गर्ने क्षमता र समन्वयको प्रभावकारिता बढाउछ । त्यसैले एक्काइसौ शताब्दीको कम्प्युटर र इन्टरनेटले प्रदान गरेको अवसरलाई उपयोग गर्दै संचार प्रविधिमा आधारित सेवा प्रवाहको शुरुवात गरी देशलाई सम्वृद्धिको दिशातर्फ डोहोरयाउनु आजको आवश्यकता हो । यसका लागि सम्बन्धित सबैको ध्यान जान जरुरी देखिन्छ ।
प्रतिकृयाको लागिः  janardan.kattel@gmail.com.