Thursday, June 15, 2017

कविताः पण्डितज्यू के सेवा गराै ?

पण्डितज्यू , के सेवा गरौ ?
धेरै पछि आउनुभएछ,
यजमान सम्झेर ।

तर पण्डितज्यू
तपाईले सम्झे जस्तो शुद्ध
ब्राह्मण – यजमान रहिन अब म,
हुन त यहाँले नै मेरो कर्मकाण्ड गरिदिएको,
यज्ञोपवित धारण गराएको
कहाँ बिर्सन्छु र ?



तैपनि ...
तपाईले दिएको गोप्य मन्त्र
म भने प्रचार गर्दै हिड्छु,
ओम भुर्भुवः स्वः, तत् सवितुर्वरेण्यम् ...
बेग्लै बुझाइमा ।

तपाँईले मन्दिरमा देख्ने भगवान,
स्वर्गमा देख्ने देव अनि,
बैकुण्ठमा देख्ने परमात्मा
म त धरतीमै, गल्ली गल्लीमा
मान्छेमै देख्छु ।
ठमठम हिड्ने,
बोल्नु पर्ने,
खानु पर्ने,
बात मार्नु पर्ने ।
तपाईको भू, भूव, स्वः त्रिलोक छ,
म त  लोक  भित्रै भू , भूव र स्व देख्छु ।

तपाईको देवताले जस्तो
मेरा देवताले तथास्तु भन्दैनन् ।
केबल दिन्छन् आशिर्वाद ।
तपाईको जस्तो देवता खुसीपार्न
मलाई पूजाथाली, फूल अक्षता र शंख–घण्ट चाहिन्न,
चाहिन्छ त केवल मन ।

तपाईका देवता
मन्दिरमा कति खुसी छन् ,
हरदम ।
तर मेरा हेर्नु न,
त्यत्तिकै दुःखि
कसैका मन्दिर नै छैनन्
कोही गरीबीमा छट्पटाएका
कोही रोगले सताइएका
कोही कसैद्वारा त्याज्य
कोही हेपिएका,
लुटिएका,
पिल्सिएका,
पिसिएका,
खेदिएका
बेसाहारा
उफ !!!

हजुर ब्राह्मणलाई शुद्ध भन्नुहुन्छ,
पुराणलाइ पवित्र मान्नुहुन्छ !
म हजुरको शुद्रलाइ शुद्ध देख्छु
अरूको सेवामा सदैव तत्पर
मानव सेवक ।
अनि
पुराणलाइ फगत एउटा साहित्य,
आँफैले लेखेको कविता जस्तै,
कथा जस्तै,
वा उपन्यास जस्तै ।
बरू हजुरले देखेको ब्राह्मणलाई
केहि हदसम्म ढोंगी,
अफिमले मात्तिएको,
र यथार्थमा
बिचरा अबुझ ।।

तर मलाई यसर्थ खुसी लाग्छ कि–
तपाई पनि शुद्रले सिलाएको कमिज र धोति लागाउनु हुन्छ
टोपी लगाउनुहुन्छ,
जुत्ता लगाउनुहुन्छ,
उसैले कमाएको सुन पानीले तपाइको बैतरणी पार हुन्छ
गाना उसैको,
नाना उसैको ।

तपाईका शास्त्रका हरेक पात्र –
उच नीच, देवता, राक्षस,
ब्राह्मण, क्षत्री, बैष्य, शुद्र,
यस्तै यस्तै ।
मलाइ त यस्ता पात्र खोज्न शास्त्र सम्म पुग्नै पर्दैन
मेरो परिवेशमै भेटिन्छन् ।
जस्तो कि–
परोपकारी, मानबसेवी– ब्राह्मण,
रक्षक– क्षत्री,
ठग, दुष्ट, भ्रष्ट, आडम्बरी– शुद्र

भो पण्डित जि !
तपाई र मेरो बिचार मिल्दैन
शास्त्र मिल्दैन
देवता मिल्दैन
देश मिल्दैन
परिवेश मिल्दैन

भन्ला नि तपाइको शास्त्रले त ?
भूत, प्रेत, पिसाच, देवी देउराली, धामी, बोक्सी
उँच निच आदिको बारेमा ?
स्त्रीको रजलाइ शुद्र देख्ने तपाईंको शास्त्रले
 के कति प्रथा र परम्परा चलाएछन् - त्यो हिसाब गरौ‌ला दुबै मिली 
मेरा शास्त्रले मान्छेलाई मान्छे मात्र मान्छ ।
म त रजलाई शुद्र हैन शुद्ध  देख्छु,
अनि भूत, प्रेत, आत्मालाइ आडम्बर ।

अनि कसरी रूच्ला त,
मेरी जहानले बनाएको मीठो भोजन
अनि कसरी गरूँ हजुरको सत्कार
चौरासी व्यन्जनले  ?
ब्राह्मणको सेवा गर्नु पर्ने तपाईको यजमान
आजकल तपाइले भन्ने गरेको
शुद्रको सम्मान गर्ने भएको छ
के तपाइलाई यो कुरा पाच्य होला र ?
भैगो पण्डित जी,
तपाईको यजमान अब तपाइले सोचे झैं शुद्ध छैन,
त्यसैले
माफ पाँउ,
हजुरको सेवा गर्न असमर्थ छु ।


Tuesday, June 13, 2017

कथाः झोला भित्र नअटाएको कथा


 कथाः झोला भित्र नअटाएको कथा

-    जनार्दन कट्टेल

 

झोला छोडेर जाने बृद्धको कथा निकै नै मार्मिक थियो । कोमल हृदय भएका सारा पाठक रुवाउने उक्त कथा पढ्दा धराबासीको आँखा नरसाउने कुरै थिएन । इतिहासका कुपात्र मानिएका पात्र चन्द्रशमसेरको कति सुन्दर पक्षको उजागर भयो यो कथामा । पात्रमा असल र खराब पक्ष दुवै पक्ष हुँदाहुँदै कत्रो भ्रम पालेर बस्ने रहेछ मान्छे,  एकतर्फी विश्लेषण र विश्वासको आधारमा । तथापि मलाई भने कता कता उक्त विनिर्माणमा केही खड्किरहेको थियो । सति प्रथा अन्त्य यति सजिलै राजा वा श्री ३ को इच्छामा भर पर्ने कुरा थियो वा थिएन, सधै मेरो मनमा जिज्ञासाको रुपमा रहरिहेको थियो । 

उता धराबासीको आधा बाटोमा उल्लेखित बसाईं सरेर आएपछिको सन्ठीले बेरा गरेको घर, अनि पछि किनेको शनिश्चरे बजारको घर मलाई  वास्तविक भएर पनि औपन्यासिक लाग्दथे । त्यो क्षेत्रमा कति पटक पुगियो । यहीं नेर भन्ने थाहा नभए पनि यतै कतै होला भनी आँखाहरू उत्सुक हुन्थे । अझ ती खोरिया फाँड्न  समेत मद्दत नगर्ने स्वार्थी आफन्तहरूको गाँउ कुन होला, झोला भित्रको कथा छोडेर जाने बृद्ध अझै जिवित छन् कि छैनन होला, जस्ता जिज्ञासाले कहिले काँही त्यस क्षेत्रको भ्रमणलाई अझ कौतुक बनाउने गर्दथ्यो । 

सानो उमेरमा दर्जनौ पटक गएको भए पनि धेरै भएको थियो त्यता तिर नपुगेको । करीब बाह्र बर्षको काठमाण्डु बसाइ पछि लोक सेवा आयोग, इलामको जागिरे जीवन शुरु भएको थियो । त्यस पछि भने बेला बेला त्यता तिर जाने काम पर्न थाल्यो । पदपुर्तिकै प्रसंगमा । आफ्नै जागिरी कर्मको व्यस्तताले त्यति धेरै घुमफिर र जनसम्पर्क नहुने । मेरो जिज्ञासाको सापेक्षतामा कति पछिल्ला भ्रमणहरू निरर्थक रहे, गनेर साध्य नै छैन । एकपटक पदपुर्तिको सिलसिलामा खुदुनाबारी गा. वि. स. जाने मौका पर्यो । यँहाको काम सकिए पछि जुकेखाडीमा रहनु भएका बढीबाको घरमा भेटघाट गर्ने र त्यतै बास बस्ने मेलो समेत मिलाउन भ्याएँ । आधाबाटोको भुपृष्ठ हेर्दा धराबासी र वहाँको आमालाई खोरिया फाड्न असहयोग गर्ने आफन्तहरूको जस्तै लाग्ने गाँउको झझल्को दिन्थ्यो जुकेखाडीले । त्यो ठाँउ जङ्गलको सिमानामा रहेको र करीव  तीस-चालीस वर्ष अघि खोरिया फाँडी बस्ती बसाइएकोले त्यस्तो लाग्नु स्वाभाविक नै थियो । म यस अघि पुग्दा धराबासीको आधाबाटो प्रकाशित भइनसकेकोले मलाई मेरै पुरानो ठाँउले नयाँ झझल्को दिइरहेको थियो । 

जुकेखाडीको बसाइको क्रममा त्यसैदिन त्यही ठाँउमा बसोबास गर्ने एक जना बृद्धसँग भेट भयो  र लामै गफ गर्ने मौका मिल्यो । संयोग नै भनौ- जसले धराबासीको घरमा आफ्नो जीवन कथाको एउटा अंश बाल स्मृतिको रुपमा झोला भित्र छोडेर गएका थिए, उनै बृद्ध रहेछन् उनी । उनले त्यो लिखित कथा आफ्नी आमा र आफूले भोगेको वास्तविक कथा भएको पुष्टि गरे । सँगसँगै आफ्ना  नलेखिएका कथाहरू धेरै भएको बताए । भने के गर्नु धराबासीलाई कथा लेखेर दिंदा मात्र छापिदिए । उनले मेरो पुरै कहानी सुनेकै भरमा लेखेर छापी दिए कति जाति हुन्थ्यो । साँच्चै, मेरा बा र आमाको आत्माले शान्ति पाउँदो हो । 

आफ्नी सति आमालाई साथमा लिएर गाँउ छोडेर भागेको अलिखित कथा सुनाउदै गर्दा आफू दुखियाको सन्तान भएको ग्लानी प्रकट गर्दथे भने कतै आफ्नी आमाको हिम्मत र क्रान्तकारितामा गर्व गर्दथे । उक्त कथा त्यसै हराएर जाने भो । कसैले लेखिदिएनन् । कुनै साहित्यकार, कथाकारलाई चिनेको पनि छैन भनेर गुनासो समेत गरे । यस्तो लाग्यो कतै म आफू नै कथाकार भै दिएको भए यही प्लटलाई लिएर एउटा सुन्दर कथा बनाउथें । 

०००

काकाकाकीसँग जङ्गलमै गोप्य रुपमा विदा भई हिडेपछि हामी निरुद्देश्य यात्रामा निस्कियौं । म त यसै खुसी थिएँ ।  किनकी मैले  सति भएकी, मरिसकेकी भनिएकी आमाको काख पाएको थिए । सायद आमा खुसी हुनु र नहुनुको दोधारमा हुनुहुन्थ्यो । उर्जाहीन, लक्ष्यहीन, असामाजिक प्राणको खुसी पनि के खुसी ? दुःख पनि के दुःख ? उहाँमा त अझै मान्छेसँग डर थियो । तिनै मान्छेले आफूलाई सतिको रुपमा डढाएका थिए । ती सबै मान्छेलाई मुखिनी मरिसकी भन्ने भ्रम छ । कसैले देख्यो भने भुत भनेर भाग्ने वा प्रतिकार गर्ने सम्भवना पनि त्यत्तिकै थियो । 

काकाले साँझ पर्नु अघि तमोर तरिसक्नु भन्नु भएको थियो । तर तमोर तर्न त्यति सहज थिएन । तमोरको प्रबाहले मान्छे त पात झैं बगाउन सक्थ्यो । माझीलाई सहयोग माग्न आमाको आँट पुग्ने थिएन । त्यसमाथि खोला पारी तिरबाट लास लिएर आएका मलामीहरू बगर भरी थिए । यसो हुनाले हामी दुई आमा छोरा ओरालो लाग्नुको सट्टा तेर्सै तेर्सो दक्षिण तिर हानियौं । मध्यान्ह पछि शुरु भएको हाम्रो यात्रा डाँडामा घाम बस्दा बाहनन्दे पुछारको खेत हुदै ल्याङ्बा खोला तरेर म्योवाखा डाँडामा पुगेको थियो । म्योवाखा डाँडामा पुग्दा म भोक र थकाइले लखतरान भइसकेको थिएँ । पाइला अघि बढाउनै सकिन । एउटा रुखको फेदमा हामीले आफूले बोकेको सानो भारी र आफ्नो शरीर बिसायौ । काकीले बाटामा खानका लागि खट्टे बनाएर पठाइदिनु भएको रहेछ । दुवैजनाले खपाखप खट्टे खायौं र नजिकैको खोल्साबाट मानेको पातमा उघाएर चिसो पानी पियौं । दिनभर  निशब्द हिंडेर बसिएको पहिलो बास थियो त्यो । मारिएको पहिलो थकाइ थियो त्यो । 

खाजा खाए पछि थाकेको शरीर कति छिट्टै निदाउन थालेछ । त्यसमा पनि आमाको काख जो थियो । पुसको त्यो साँझ, म्योवाखाको जंगल, अग्लो डाँडामा भएको आमाको काखको सुख मेरो जीवनमा कहिल्यै नविर्सने गरी बसिरह्यो । 

साँझ छिप्पिदै गर्दा चिसो हावाले सेक्न थालिहाल्यो । एक्लो जंगलमा निरिह दुई प्राणी केहीबेर सम्म जाडोले थरथर काँप्दै बसिरह्यौं । अति नै भए पछि आमाले भन्नु भयो –“अलि गहिरो ठाम वा ढुङ्गाको फेदमा न्यानो हुन्छ ।  हिंड, केहि परसम्ममा भेटिन्छ कि !त्यसपछि झटपट उठेर जुनको मधुरो उज्यालोमा हामी पुनः हिड्न थाल्यौ । आफूले सोचे जस्तो ठाँउ नपाएकोले होला, आमा फटाफट हिडिरहनु भो, म पच्छ्याइरहें । बीचमा मैले दुई चार ठाँउहरू सम्भावित विकल्पको रुपमा देखाएको भए पनि अझैं राम्रो ठाँउको खोजीमा वहाँ हिंडिरहनु भएको रह्यो- म पछ्याइरहें । छिप्पिदो साँझमा किराहरूको किटिटि..., पश्चिम तर्फ गहिराइमा तमोरको सुसाइ र सुकेका पातमाथि हिंडेको आमा छोराको पदचाप नै हाम्रा साहारा थिए । केही बेरमा दक्षिणमा हामी तिरै फर्किएर सुतेका खेतका गह्राहरू र खेतको पुछारमा लमतन्न सुतेको कावेली नदी टलक्क टल्किए । र अन्त्यमा एउटा ठूलो रुखको फेदमा पातै पातले भरिएको न्यानो ठाँउ भेटियो । हामी त्यही सुस्ताउन थाल्यौ । 

मान्छेको गन्ध जंगली जनावरले छिट्टै थाहा पाउछन् । आगो बालेर बस्नु पर्छ ।आमाले त्यहाँ पुगेपछि अत्यन्तै महत्वपूर्ण कुरा सुनाउनु भयो । अनि दर्शन ढुङ्गा घोटेर साह्रै मुस्किलले आगो बाल्नु भयो । आगो पिल पिल बल्दा आमाको मुहार खुसीले चम्कियो । मलाई लाग्यो आकाशको जुन भन्दा त मेरी आमाको मुहार कस्तो धपक्क बल्दो रहेछ । मैले आमाको सुन्दरताको अनुभुति सायदै पहिलो पटक गरको थिएँ । अनि त्यो भन्दा बढी माया । 

मध्यराततिर म पातलो तन्द्रामा थिएँ । आमा निदाउनु भयो भएन मैले थाहा पाइन । एकदमै डरलाग्दो जङ्गली जनावरको आवाजले म बिउँझिएको थिएँ । बिउँझिदा आमा हतार हतार आगो ठूलो बाल्न कोशिष गर्दै हुनुहुन्थ्यो । वरिपरीका पात सोहोरेर हालेकोले झण्डै डढेलो जत्रो आगो बल्यो । आगोको उज्यालोमा प्रष्ट देखियो हामीलाई झम्टिने दाउमा एउटा डरलाग्दो चितुवा दाह्रा किटेर गर्जिरहेको थियो । म अत्यन्तै डराएको र ठूलो स्वारमा चिच्याएँ । आमा पनि चिच्याउनु भो ।  आत्तिएर आमाले एउटा अगुल्टो टिपेर चितुवा तिर फ्याक्नुभो । चितुवा अझै अटेर गरी हामीलाई झम्टने दाउमै गर्जिरहेको थियो । धन्य संयोग ! आमाले फालेको अगुल्टोबाट चितुवाकै छेउमा आगो सल्किएर ठूलो ज्वाला निस्कियो । त्यसपछि भने बल्ल चितुवा भाग्यो  । त्यसपछि हामी रातभरी डरले थरथरी काम्दै एक आपसमा टाँसिएर त्यो भयंकर रात कटायौं । रातभरी आमाले आगोको ज्वाला घट्न दिनु भएन । 

झिसमिसेमा कावेली पारीबाट दुईजना मान्छेहरू हामी बसेको ठाँउमा आइपुगे । एक जना करीब पचास वर्षको, माथिल्लो तुना खुलै छोडेर घुँडासम्म आउने लामो दौरा लगाएको,  त्यति कै लामो खुकुरी भिरेको, चिउडामा गन्न सकिने लामा लामा दाह्री पालेको, त्यो मान्छे देख्दैमा खुब रवाफिलो, गाउँकै सुब्बा होला जस्तो देखिन्थ्यो । अर्को भने उसकै छोरा जस्तो पहिरन उस्तै, जिउडाल उस्तै, उमेरले मात्र कलिलो लाग्थ्यो । अमरपुरको सुब्बा र उनका छोरा रहेछन् । आफ्नो परिचय दिए र हामीलाई पनि सोधे । आमाले रातभरी बालेको ठूलो आगो, चितुवाको गर्जन देखेर अनि सुनेर सुब्बाका बाबुछोरा अत्ताल्लिएका रहेछन् । अनि के भएछ भनी हेर्न आएका रहेछन् ।

आमा डरले बोल्न सक्नु भएकै थिएन । सुब्बाले भन्यो – “आइमी, केटकेटी मात्र पो रैछ । हाओ, तिमेर्को खप्पर चै दरो रैछ । मो त राती नै सको होला चितुवाले भनिपठाको । लु तिमेर्को दिन बलियो थिएछ ।

सुब्बाले बोलिसक्न नभ्याउदै छोरा चाँहीले हप्कायो –“अन्त यहाँसम्म आएपछि पारी तर्नु पर्दैनथ्यो त ?”

सुब्बाको छोरोले हप्काए पनि त्यो गाली मलाई मीठो लाग्यो । सायद आमालाई पनि त्यस्तै लागेको हुँदो हो । हामीप्रति अत्यन्तै सहृदयता देखाएर हामीलाई आफूसँगै लिएर गएपछि आमाले पनि के भएको हो सबै बेलि बिस्तार लगाइदिनु भयो । सुब्बाले चिन्दोरहेछ हाम्रा बालाई । भन्यो –“ उहिल्यै धरान नुन बोक्नु जाँन्दा, अनि एक दुई फेर धनकुटा गौडा तिर बडाहाकिमको मा जाँन्दा पनि भेट भई पो रहन्थ्यो हाउ !”

कावेली तरेपछि करिब एक घण्टा उकालो हिड्दा सुब्बाको खेतको याक्सामा पुगियो । याक्सा भित्र पसेपछि टोपीले पसिना पुछ्दै सुब्बा बर्बरायो –“थुक्का ! बाउन काठाहरूको बुद्धि ! सति भन्या पुरानो थिति हो । तेस्तो अमानुष, अपराधी काम अझै छोडेनछ है, ताप्लेजुङ्गे बाउनहरूले ? हाओ, अनि एता त छैना त तेस्तो !” 

सुब्बाको छोरो पनि बाबु जत्तिकै रवाफिलो थियो । हेर्दैमा देश दुनियाँ खान सक्ने लाग्थ्यो । भन्यो –“आभो सम्पत्ति खाने स्वास्नी ल्यायो, सौतेनी छोरो जन्म्यो भनेर जेठालाई भतभती पोल्याथ्यो । कान्छी आमालाई पोलेपछि आफूलाई भने शीलत भयो होला, चाँठा !झन आबो त चिट्ठै पारिगो नि सौतेनी भाइले पनि छोडिपठायो । हाइना, कस्ता जङ्गली हुन् हौ त्यहाँका मान्छे ? यो छेत्री बाउनको जात पण्डित हुने जात भन्थे उसकै चै कण्डोमा बुद्धि ?

अब बाबुको पालो थियो –“ तेसो नभन हाउ कान्छा, जे हुनु त भै गयो । यो मुखिनीको भग्यमा के लेख्या छ, अस्ति नै गाँउलेले मारिसक्या थिएछन् । उम्किएर आयो । बरु हिजो चाइन् कसो चितुवाले भ्याएन !

याक्सामा केही बेर गन्थन मन्थन गर्दै बसेपछि खेतका आलि आलिमा घाम झुल्कियो । उत्तर पटिको पाखो अनि हिंउदको समय भएर होला, ढीलो गरी घाम आउने रहेछ । यसै गरी ढीलै भए पनि आमाको जीवनमा पनि पारिलो घाम लागिदिए कस्तो हुन्थ्यो होला ? खाना खाने प्रसंगमा सुब्बाले भन्यो – “आभो मुखिनी, बाहुनको बुहारी, हाम्रो भात चल्दैना, क्या अर्ने ?  खानु ता परो नै !

 सुब्बाको बोलीभुईमा खस्न नपाउदै छोरो चाँहि उफ्रिहाल्यो- आ ! बाउ, बाउनको बुहारी त पैल्हा पो त  । त्यो ज्यान, त्यो शरीर, त्यो जात त पैल्हा नै तिनै बाउनहरूले चितामा डढाइसके । आभो के को बाउन ?”

यी सबै जात र भातको विश्लेषण म बुझ्दिनथें । तर मलाई के थाहा थियो भने लिम्बूका घरमा भातै चाँही खानु हुदैनथ्यो । मेरो पनि ब्रतबन्ध गरिसकेको थियो । तर जे भए पनि आमा हुँदाहुँदै मैले बोल्नै कुरै भएन ।

यत्रो सङ्कटमा हामीलाई यहाँसम्म ल्याएर उद्दार गर्नु भएको छ । बरु म सबैलाई भात भान्सा गरिहाल्छु नि । तेसो अर्दा मलाई नि सजिलो, हजुहरूलाई नि ।”, अहिले भने ठूलै आँट गरेर आमाले जीतजीतको कुरा उठाउनु भयो । 

सुब्बाले पनि त्यसमा सहमति जनाए । त्यसपछि कान्छाले चामलको भुने देखाइदियो । भुनेबाट चामल झिकेर आमाले चारजानालाई कसौडिमा भात पकाउनुभयो । लेकको घरबाट ल्याएको रायोको साग रहेछ । रायोको साग र दहीसँग त्यसदिन लिम्बुका गोठमा पहिलोपटक लुगा नछोडाइकन आमा र मैले भात खायौं । मलाई लाग्यो, मेरी आमाको जात बाको चितामा  साँच्चै नै डढिसकेको छ  र म पनि त्यही आमाको छोरा हुँ । कान्छाले कावेलीका माछाको सुकुटी भन्दै सुकेका माछाको अचार बनायो । सुब्बाका बाबु छोराले हाम्रो भन्दा बढ्ता त्यही माछाको अचार खाए । 

भात खाएपछि केहीबेरमा पेरुङ्गामा हालिएका चारवटा सुँगुरका पाठा ढाकरमा बोकेर सुब्बेनी आइपुगिन् । खेतमा छाडा खेलेर हुर्किउन् भनेर बेंसी तिर ल्याएको अरे । आफ्नो याक्सामा नौला मान्छे पाहुना देखेर सुब्बेनीले  सोधिन्

–“अच्या, कन् तरेमान् हा पे ?”

–“ताप्लेजुङ्गबाट आकी रैचन हाउ । भागेर । बुढा मर्दा सति पठौने अरेछन् । आगोले पोलेपछि आत्तिएर पानीमा हाम फालिपठाएछ । जाङ्गलमा लुकेर बसेकोमा एक दिन गोठाला गर्दा यै नानीले भेटाइपठाएछ । अनि देवर देउरानीको सघाउनीमा भागेर यहाँसम्म आइपुगेका ।सुब्बाले सबै कुरा एकै पटकमा खुलस्त पारिदियो । 

–“अल्ल, थेमान् चोगु ?  सुब्बेनीले यस पछि ती बिचरीले के गर्लिन भनी सोधिन् ।  

– “खै के गर्नु , फाच्चा जान हुन्थ्यो, उमेर छ, जीवनभर एक्लै के गर्ला र ? कोही साहारा त चाहियो होला नि !

– “माउ बच्चा नै फाच्चा कसले लान्थ्यो र नि लै लै !सुब्बेनीले ओठ लेप्राइन् । 

– “हाओ, कि मै पो राखुम् हौ ? एउटा घरमा, एउटा बेंसीमा हुन्थ्यो, राम्रै पो हुन्थ्यो त !कान्छाले ठट्टै ठट्टामा त्यति भनिदियो । 

– “चुपलाग तो कान्छा, मान्छेलाई कति पीर होला, जिस्काइपठाउछा !सुब्बेनीले छोरालाई हप्काइन । 

-हाइना, ठट्टा पो गरेको हौ मैले त ।कान्छाले फेरि प्रष्ट पार्यो । 

फाच्चा जानु वा दोस्रो विवाह गर्नु लिम्बू समुदायको लागि त्यति ठूलो कुरा थिएन । जनजातिमा यो अर्थमा नारी स्वतन्त्रता राम्रै थियो । तर क्षेत्री बाहुनको जातमा फाच्चा जानु त्यति सजिलो थिएन । जसले लान्थ्यो जात काढिन्थ्यो । बिचरा क्षेत्री बाहुनको दुब्लो जात ! हुनसक्छ मेरी आमाले फाच्चा जाने कल्पनै गर्नु भएको थिएन होला । तर सुब्बाको परिवारले कति सजिलै त्यही कुरा भनिदिए । 

हामी त्यसरी लिम्बूको परिवारमा भित्रिएपछि, हाम्रो व्यवस्थापन गर्ने नैतिक जिम्मेवारी सम्झियो त्यो परिवारले ।  आमालाई त्यही ठाँउमा फाच्चा जानु पनि सजिलो थिएन । फेरि छोरा सहितको माउलाई कसले लगोस् ! काकाको सल्लाह सम्झेर आमाले भन्नुभयो – “सुब्बाज्यू बरु हामीलाई सिमाना कटाइदिनुहोस्  । उता आशामतिर गएर कतै केही गरेर छोरो पाल्छु ।

त्यसपछि कान्छाले हामी आमा छोरालाई त्यहाँबाट सिक्किम सम्म पुर्याएर फर्किने गरी बाबुको आदेश पायो । हामी दुई थियौ । दुई दिन पछि अमरपुरको बेंसीबाट तीन जानको यात्रा शुरु भयो सिक्किम सम्मको । त्यहाँबाट हिंडेको साँझ हामी फलैंचा भन्ने ठाउँमा कान्छाको आफन्तको घरमा बास बस्न पुग्यौं । भोलि पल्ट घाम छदैं हामीले चिवा भञ्ज्याङ्ग काटिसकेका थियौं । कान्छाले ठट्टा गरेको होइन रहेछ । उसले त आमालाइ माया गर्न थालेछ । उसले त आमालाइ साँच्चै नै फाच्चा लगेको रहेछ ।अर्थात् मेरी आमाकान्छासँग फाच्चा जानुभएको रहेछ । सिक्किमबाट पनि ऊ फर्केन । बरु हामीसँगै आशाम नै गयो । मैले त्यसपछि कान्छालाई कान्छाबाउभन्न थालें । करीब ५ वर्ष पछि हाम्रो कमाइ गर्ने जमिन धेरै भयो आमापनि भाइहरू पाउनु पर्ने हुदा कमजोर हुदै जानुभो ।त्यसपछि जेठी कान्छी भएर मिलेर बस्नु भन्दै जेठीआमा पनि आशाम ल्याए कान्छाबाउले । एक दुई पटक सुब्बा र सुब्बेनी पनि आएका थिए त्यहाँ । मेरो आमाले कान्छाबाउका तर्फबाट दुई छोरा र एक छोरी पाउनु भयो । अहिले त्यहाँ कान्छाबाउको परिवार छदैछ । आशाम गएको करीब दश वर्षमा मेरो विहे भयो । त्यसपछि मैले कान्छाबाउ र उनै  तिरका सन्तानहरूलाई आमाको जिम्मा लगाएर छुट्टै गरिखान थालें । अहिले कान्छाबाउ, आमा र जेठीआमा सबै बितिसके । 

मेरी आमाले सुब्बा कान्छासँग घरजम गरेको त वहाँका लागि राम्रै थियो । तर मलाई भने उमेर ढल्दै जाँदा मेरा पितृपट्टिका बंशहरू नजिक भए पनि हुन्थ्यो भन्ने लाग्यो । सुनें दाजु र काकाका छोराहरू शरणामति तिर बसाई झरेका छन् अरे । बिस्तारै आउजाउ हुदै गयो । पछि फेरि यहाँ ऐलानी भए पनि सस्तो जग्गा भेटियो र यतै बसें । 

०००

 जुकेखाडीमा भेटिएका ती वृद्धले आफ्नो अलिखित जीवन कहानी यसरी सुनाए । उनको सति आमाको संघर्ष,  भागदौड,  अनि उनलाई दैवले जुराएको अर्को जीवनको यो कथा मैले सकेछु भने म पक्कै लेखेर छपाइदिनेछु भनी बाचा बाँधेर म उनीसँग छुट्टिएँ ।

 

 

Thursday, June 8, 2017

गजलः गजलकार भएँ म ।


याद आयौ तिमी, गजलकार भएँ म ।
सँगै हुदा मनकी रानी सरकार भएँ म ।।


चारै दिशा खोज्दै हिडें करौडौको माझ
तिमी भेटिएसी मात्र साकार भए म ।

जता तल उतै बग्ने जल जस्तै थिएँ ।
जस्तो तिमी ठ्याक्कै उस्तै आकार भएँ म

बनाएसी दिलको राजा यसै मक्खै भा’छु ।
दिल पाएँ बदलामा दिलदार भएँ म ।।

मन भित्रको तार रेट्यौ खै के खै के भै गयो ।
त्यसैले त झनन झनन झन्कार भएँ म ।
रचना मितिः २०७४/०२/२५









गजलःप्रेमवाणी बोल प्रिये

प्रेमवाणी बोल प्रिये ।
दिलको दैलो खोल प्रिये ।।

आऊ मिली पान गरौं
प्रेमामृतको घोल प्रिये ।

बुझ्नु पर्छ है बेलैमा
यो मायाको मोल प्रिये ।

हार्नु हुन्न कसै संग
गर्नु पर्छ गोल प्रिये ।।

काट्न सक्लान हाम्रा कुरा,
पिट्न सक्लान ढाेल प्रिये,

नसुनाउनु जे भए नि,
जनार्दनलाइ पाेल प्रिये ।।।

 रचना मितिः  २०७४/०२/२५

Monday, June 5, 2017

गजलः किन हत्ते गर्छौ बरा ! पैसा कमाउनलाई ?


किन हत्ते गर्छौ बरा ! पैसा कमाउनलाई ?
अकुत धन कमाएर त्यसमै रमाउनलाई ।।

सबै पुस्ता सकृय र सशक्त छ ऐल्हे
सात पुस्तालाई साँच्नेगरी धन जमाउनलाई ?

तिम्रा बच्चा निष्कृय छन् ? तिनको छैन काम ?
विश्वास छैन सन्तानप्रति इलम समाउनलाई ?

मरिहत्ते किन गर्छौ ? घुसखोरी किन बन्छौ ?
कुबेरको उपमा र बदनाम कमाउनलाई ?

सफल जीवन बाँच तिमी, असल मान्छे बन,
मानिसको भलाईमा खुसी मनाउनलाई  ।।

उपभोक्ता बन्ने होइनौ, मरेपछि लाने छैनौ,
तिम्रो दुःख व्यर्थै जाला, मन रुवाउनलाई ।।

बरु मल्हम–पट्टी गर, दुःखीयाको सेवा गर,
अरुकेही चाहिँदैन पुण्य कमाउनलाई ।।



Tuesday, May 30, 2017

गीतःसानो कुरामा तिम्ले चित्त दुखायौ

सानो कुरामा तिमीले चित्त दुखायौ

किन यत्ति छिट्टै बाटो फुकायौ ?



तिमीले सुनेनौ, हो कि बुझेनौ ?

या फेरि बुझ्ने कोशिषै गरेनौ ,

त्यसैै भएर होला त्यो मौका चुकायौ

व्यर्थै तनावमा जिउज्यान सुकायौ ।


ऐना झैं लाग्दथ्यो, म त छर्लंग नै छु

एकै क्षणमा के भो नबुझेर अचम्म छु

किन आफ्नो कुरा मनमै लुकायौ ?

अनि फेरि एक्लै त्यो मन दुखायौ ?


खुसी छौ रे आज, तिम्रो अलग्गै बाटो

म कल्पन्छु  कैले भरिन्छ यो खाटो

कहाँ  हुन्छु खुसी ?यो  दीलमा दुखायौ

त्यो सानो कुरामा  किन चित्त दुखायौ । 

Saturday, May 13, 2017

गजलः बैगुनीको जात रैछौ, गुन दिएनौ ।



बैगुनीको जात रैछौ, गुन दिएनौ ।
मलाई तिम्रो आफ्नो मान्छे हुन दिएनौ ।।1।।


कस्तो होला मन भित्रको माया नपाउँदा,
किन फेरि धक फुकाई रून दिएनौ ? 2।।


सिंहमरमर बदनमा लाग्ने हो कि दाग !
गोरी तिम्रो सुन्दर रूप 'जुन' दिएनौ ।।3।।

दिवाना म! हेरिरहें, बृहन्नला* बनी,
फक्रिएको गुलाबलाई छुन दिएनौ ।।4।।

खोजेदेखी चाँदी भने जति पनि मिल्ला
'जनार्दन'लाई अकबरी सुन दिएनौ ।।5।।


*अर्जुनकाे गुप्तबास बस्दा बृहन्नला छद्मनामयुक्त नपुंषक (तेस्राे लिंगी) भेष थियाे ।(पुरानाे रचना हराएकाेले संझनाकाे अाधारमा पुनर्लेखन गरिएकाे ।




कथाःस्वीकृत अपराध र वर्जित प्रेम

टन्टलापुर घाममा एक्ले माझी एकोहोरो तमोरको पानीमा खेलिरहेको थियो । माथिबाट जति नै घामले पोले पनि  तमोरको चिसो पानीले उसको हात र खुट्टाहरुमा शितलता प्रदान गर्दथ्यो । घरि घरि जाल हान्दा पानी उछिट्टिएर केही थोपाले उसको अनुहार र शरीर समेत सिंचित गर्दथ्यो । त्यसैले पनि ऊ कुनै थकाई महशुश नगरिकनै दिनभरी माछा मार्न सक्थ्यो । उसले आज पनि त्यस्तै तीन चार शेर माछा मारिसकेको थियो ।
–“ ए माझि, यहाँ आ त !” आवाजले झस्किएर पछाडि फर्किदा उसले दुई जना सरकारी मान्छे देख्यो । एक जना अड्डाका कर्मचारी जस्तो र अर्को सिपाही ।
–“हजुर !”  करीब करीब कामेको स्वरमा डराउदै उसले ध्यान दृष्टि दियो ।
–“ताप्लेजुङ्गको देउलिङ्गे कता पट्टि पर्छ ?”,  आगन्तुक मध्ये सिपाहीले सोध्यो ।
–“ ऊ... त्यही देखिएको गाँउ त हो नि हजुर !”
–“ त्यहाँ भँडारी गाँउ कता पर्छ नि ? ” सिपाही फेरि बोल्यो ।
–“ देउलिङ्गेबाट उसो उसो कर्यु कर्यु उकालो जाँदा पुगिहालिन्छ, तेस्तै एक घडि त लाग्ला नि  हजुर!
–“ लु खोलो तारिदे त !” अलि जरखरिएको स्वरले अड्डाको मान्छेले भन्यो ।
उसको मनमा अनेक आशंका बढ्न थाल्यो । किन यति टाढाबाट सरकारी मान्छे आए ? यो पक्कै पनि शुभ होइन, फेरि भँडारी गाँउ नै किन चाहिएछ, यिनलाई ! कसले के विगार्यो ।  कतै शत्रु लागेर झोस पोल पो पर्यो कि ! मन मनै अनेक तर्कना गर्दै आगन्तुकलाई एक्लेले पारी तारिदियो ।  पारी तरेपछि उनीहरु फटाफट हिडिरहें ।  जंगलले नछेकुन्जेल उसले हेरिरह्यो तिनीहरुलाई ।
एक महिना भयो होला कान्छा भँडारी खसेका । “बुढा पनि साह्रै नै बुढा भएर बिते बिचरा ! गाँउकै बुढा थिए होलान हौ ।  कान्छी मुखिनीले पनि साह्रै धेरै सेवा गरिन् । के गर्नु तिनको कर्मै खोटो । कस्तो लाँउ लाँउ र खाँउ खाँउको उमेरमा बुढासँगै पोलिनु पर्यो । यो छेत्री बाहुनको रीति पनि कस्तो हो कोनि ! उसको छोरो जेठो ! कस्तो निर्दयी !  बाबुलाई दागबत्ति दिंदा त लौ रोएन, भरभराउदो उमेरकी आमालाई कसरी पोल्न मनले मानेको हो ! हुन त सौतेनि आमा ! छ्या कस्तो चलन हो यो सति पोल्ने ! एक्ले एक्लै फतफतायो  भँडारी गाँउको कुरा सम्झेर । “हे भगमान, कुनै दिन त यो मूलुकका राजाले सति नपोल, भनेर हुकुम छोडे पनि त हुन्थ्यो  होला ।  खै उहिल्यै मान्देब राजाले आफ्नी आमालाई बाबुको सति जान दिएनन् थे भन्छन । तर के गर्नु कहाँको राजा, कहाँ यो जंगलामुलुकका रैति ! दशवर्षे काखको छोरो छोडेर जिउदै जलिन कान्छी मुखिनी बिचरा !” उसको आँखा अघि कान्छी मुखिनीको  चिच्याहट र मुखियाको  चिताको डरलाग्दो आगो  नाच्न थाल्यो । किन हो कुन्नि, यस्ता कयौं लाश पोलेको देखेको छ उसले । तर त्यो घटना सम्झदा उसका आँखा रसाइहाल्छन् । एक्ले आँखा मिच्दै रुखको सियाँलमा बस्यो ।
“ खै धर्म, धर्म भन्छन् । यो धर्म हो कि होइन, त्यसरी भरिलो बैसकी आइमाई पोल्ने धर्मले के उँभो लाउला र ! झन् दुई साता अघि चाँगे तिरका मल्हामीले  कस्तरी सतिलाई ढुङ्गाले हानी हानी लडाएर बेहोश पारी आगोमा हालेका थिएँ । उफ तिनेर्को धर्म ! सब मल्हामीहरु राक्षस जस्तै देखिएका । ” एक्लेले सियाँलमा बसेर  सम्झियो ।
एक्लेले मुखिनीलाई सँधै देख्थ्यो, तिरो तिर्न जाँदा ।  मुखिया र मुखिनीको जोडी नमिलेको देखेर ऊ सधै हैरान हुन्थ्यो । उसको पापी मनमा मुखिया मरे पछि मुखिनीलाई आफ्नी बनाउने कल्पना  पनि कति पल्ट आयो – गनेर साध्यै छैन ।  के गर्नु उसका आँखै अघि उसकी कल्पनाकी प्रेमिकाको जीउ आगोले निल्यो ।
–“ आ ! आजुलाई पुग्यो अब, घर जानु पर्ला । बिर्सेर उसले ठूलो स्वरले बाेलिपठायाे । जाललाई सम्हालेर डुङ्गामा राख्यो । दिनभरी मारेको माछा पोको बाँधेर जालसँगै राख्यो र डुङ्गा खियाउन थाल्यो ।  केही बेरमा बगर एक्लो भयो । एक्ले भन्दा पनि एक्लो । 
घर त भन्यो नि !, एक्लेको पनि के घर भन्नु, एक्लो ढेडुको गुड भने पनि हुन्छ । झुक्किएर आफू एक्लै फतफताउनु बाहेक उसले कहिल्यै बोल्नु पर्दैन, कसैलाई अह्राउनु पर्दैन, बोलाउनु पर्दैन । उसलाई कसैले बोलाउदैन ।  कैले काही त महिंनौ दिनसम्म मान्छेको आवाज नसुन्दा ऊ आफ्नै आवाज समेत चिन्दैन । साँच्चै, महिंनौ बोलिएन भने आफ्नो आवाज आँफैले चिनिएला त !
कमसे कम एक्लेले आफ्नी आमालाई जिउदै पोल्नु परेन । ऊ करीब दशवर्षको हुँदा उसको बाबुभन्दा पहिला नै आमा मरिन् । आफ्नी आमा आँफै मर्न पाएको सम्झेर एक्ले हर्षित बन्छ । कति फरक छ जिउँदै जल्नु र कालले लानुमा । कति फरक छ मर्नु र मारिनुमा । मातृहत्याको कसुर गरेन उसले ।
एक्ले सोह्र वर्षको हुँदा उसको विहे भयो । विहे पछि चौध वर्षकी गोरीलाई माया गर्ने मौका पायो । कति मीठो र मायालु थियो जीवन । घरमा जहान हुनु भनेको स्वर्गको भोग नै रहेछ । बाबु, छोरा, बुहारी, सानो परिवार भए पनि सुखी परिवार थियो । सबै दुःख अभाव, पीडाहरु मायाले भुलाइदिदो रहेछ । सबै काल सधै भरी सबैको जीवन यस्तै हुनु नि ! साँच्चै भन्नु पर्दा गोरीलाई अँगालो हालेर रातमा मात्र हैन दिनमा पनि कति धेरै माया गर्दथ्यो ऊ । यस्तो लाग्थ्यो ग्रन्थमा लेखिएका अतिरञ्जित प्रेमकथाहरु सब मिथ्या हुन् । साँच्चै स्वर्गीय प्रेम हेर्न एक्लेकै घरमा जानु पर्थ्यो ।
समयको गति सधै एकनासको कहाँ हुन्छ र ! दैवले एक्लेको खुसी पन्ध्र महिना पनि हेर्न सकेन । सुत्केरी व्यथासँगै गोरीले आफ्नो सबै व्याथा लुकाइदिई ।  गोरीकै प्रतिमुर्ति थिई उसकी भरखर जन्मेकी छोरी पनि । तर पनि उसले धर्ति भन्दा स्वर्ग नै मनपराई । साह्रै छोटो समय सास लिएर – उसले आँखा उघार्नै सकिन । त्यो साउनको भयंकर रातको संझनाले एक्लेलाई घर भित्र छिरे पछि चिमोट्न थालिहाल्छ । त्यसै वर्ष पुषको स्याँठले उसको बाबुलाई पनि खायो ।  कुनै जराबुटाले भेटेन । धामी झाँक्रीलाई पनि कालले टेरेन । आखिर एक्ले त्यसैबेला देखि एक्लिएको थियो । घरमा एक्लो रहेकोले गाँउलेहरुले एक्ले नाम राखिदिए । उसलाई दोभानको घाटमा आउनेजति सबैले एक्ले माझी भनेर चिन्दछन् । प्रत्येक रात छानामा झुण्डिएका बँदियाको त्यान्द्रो हेरेर आफ्नो विगत नियाल्नु, मनमा कुरा खेलाउदा खेलाउदै निदाएर आफ्नो जीवनको त्यान्द्रो भोलिका लागि नचुडाइ जतन गर्नु नै उसको रातचर्या हो । दिनचर्या त बरु सुखमय नै छ । दिनभरी माछा मार्यो, एक्लै तमोरको चिसो पानीमा खेल्यो । कोही बटुवा आएभने पारी तारिदियो । उसका कर्म र धर्म तिनै  हुन् ।
त्यो रात उसले गोरीलाई गौण र कान्छी मुखिनीलाई प्रधानता दियो, सम्झनका लागि ।  गोरीले उसलाई साह्रै माया गर्थी  तर समयले त्यो माया पनि फिका पारेछ कि क्या हो । फेरि दैवले नै चुडे पछि जति माया गरेर, सम्झेर नै के गर्नु ! बरु कान्छी मुखिनी एक्ली भएकी  थिइन्– राम्री र तरुनी पनि  ।  उनलाई देख्दैमा कति चोटि कुतकुत उठ्थ्यो । “विधवा भइन भने यिनैलाई लिएर भाग्नु पर्यो ।” कति चोटि बिर्सेर एक्लै फतफताएको थियो एक्ले ।  ऊ कान्छी मुखिनीमा गोरीको आभास पाउथ्यो । तिनै मुखिनीले गर्दा त हो नि, गोरीलाई सम्झेर रुन छाडेको । गोरी र सास फेर्न नसकेकी छोरी सम्झेर नौ-नारी गलेर आए पनि ढिंडो – रोटो पकाएर खाने जाँगर तिनै कान्छी मुखिनी सम्झिएपछि मात्र आउँथ्यो । त्यसो त ऊ कहिल्यै घरमा मुख धुने, नुहाउने, लुगा धुने गर्दैनथ्यो । उसको शरीर र बस्त्र दुबै तमोरको पानीले सफा बनाउँथ्यो, बगरको घामले सुकाइदिन्थ्यो ।
भोलिपल्ट बिहान एक्ले निकै नै ढीलो गरी उठ्यो । रातभरी मनमा कुरा खेलाएर बसेपछि बिहानीपख निदाएको थियो । उठेर हतार हतार अँगेनामा आगो सल्कायो । हिजो मारेका माछा शिलमा उनेर अँगेनामाथि टाँग्यो । च्यादानीमा पानी ततायो ।  कसाैंडीमा अलिकति ढिंडो ओडाल्यो । बेलुकै माछा पकाएर राखेको थियो, अलिकति पानी र नुन थपेर ततायो ।  “मर्न सकिदैंन, के गर्नु बाँच्नलाई खानै पर्यो ।” सोच्यो –“आज चै कति माछा मारिएला, गाउँ तिर लगेर मकै साटेर ल्याउनु पर्ला, के गर्नु छाक टार्नै पर्यो ।”
दिउँसो खोलामा माछा मार्दै  गरेकोबेला भोलिपल्ट पनि एक्ले तमोर कै पानीमा देखियो ।  एकोहोरो बगेको जलप्रवाहले स्वाँऽ.. को अझ एकोहोरो ध्वनी प्रवाह गरिरहेको थियो, जसले गर्दा काममा लागेपछि सामान्यतया वारी पारी के भइरहेछ, थाहा हुदैनथ्यो । कसैले  पारीबाट औंलाको सिट्ठी बजाउँदा ऊ झस्कियो । –“स्वीऽय...।” हिजो तरेर जाने सरकारी मान्छेहरु नै रहेछन् । तर आज उनीहरु एक्लै थिएनन् । साथमा अरु पनि कोही थियो । नदी किनारामा आइपुगे पछि उसले नियाल्यो–  कान्छा मुखियाको जेठो– चन्द्रकान्त र हरि काकालाई हतकडि लगाइएको छ ।  एक्ले आश्चार्यले  केहीबेर हेरेको हेर्यै भयो । “छिटो गर !” भन्ने भावयुक्त अलि कठोर संकेत पछि ऊ हतार हतार डुङ्गा बाँधेको डोरी फुकाउन थाल्यो ।
सानो डुङ्गा भएकोले एकपटकमा दुई जना भन्दा तार्न नसक्ने बिन्ति बिसायो एक्लेले । यसको पछाडि रहस्य प्रतिको  जिज्ञासा मेटाउन सकिन्छ कि भन्ने थियो उसको मनमा ।  यिनीहरुलाई किन पक्डिएको हो भनेर सोध्ने आँट कहाँ पुग्थ्यो र ?
–“लु  तेसो भा, यिनीहरुलाई पारी पुर्याएर आ त ।” अड्डाको कर्मचारीले हप्कायो ।
उसले कल्पना गरे जस्तै उत्तर आएकोले मन मनमा खुसी हुँदै उसले चन्द्रकान्त र हरि काकालाई डुङ्गमा बस्न संकेत गर्यो । हातमा हतकडी भएकोले असजिलो गरी दुई काका–भतिज डुङ्गामा बसे ।  एक्लेले किनारामा बहानाले ठेलेर पानीको प्रवाहमा आफ्नो डुङ्गा पुर्यायो ।
“ए काका, के कसुर गर्यौ हौ ? अनि पक्डियो त ?”, एक्लेलाई आफ्नै गाँउका मान्छेसँग त्यति जिज्ञासा राख्न कुनै  गाह्रो थिएन ।
“खै ! नखा विष भनु भने खाकै हो , तै पनि देउताको पाला देखि चलेको रीत भनियो ।”, हरि काकाले भने ।
आ ! काका, मैले त छेउ टुप्पो केही बुझिन हौ ।”, एक्ले ले कुरो बुझेन ।
“कान्छी आमालाई सति पोल्यौं अरे । सति पोल्नु पाइँदैन रे अब ।” चन्द्रकान्तले प्रष्ट पारिदियो ।
“उहल्यिै १० सालमा श्री ३ ले तेस्तो नियम बाँधेका रैछन्, खै हामी त यो जंगलामुलुकमा बसेर केही थाहा पाँउदौन ।” हरि काकाले अलिकति गल्ती नै गरेको भावमा खुईय गरे, मानौ त्यो सुस्केराले अन्जानमा गरेको अपराध क्षमा गर्छ ।
एक्लेले कति सति पोलेको देख्यो गनेर साध्यै छैन । आफू जान्ने भए पछि उसले देखेको रमिता नै त्यही त हो ।  यो ठीक वा गलत भनेर कहिल्यै बिचार गरेन । तर कान्छी मुखिनीलाई भने नपोलेको भए हुन्थ्यो भन्ने उसलाई लागिरह्यो । उसको लागि त कान्छी मुखिनी मुखिनी मात्र थिइनन्, उनी त जीवनको त्यान्द्रो  नचुडाउनलाई मलहम थिइन् । उसले उनलाई गोरीको स्थानमा राखेको थियो ।
–    “कान्छो छोरो सोह्र वर्ष मुनि, कान्छी छोरी ५ वर्ष मुनि भएका आइमाई र गर्भिणी स्त्रीलाई सति जान दिनु हुदैनथेछ ।  फेरि अड्डामा जाहेर गरेर, स्वीकृति लिएर मात्र सति जान, पोल्न पाइने अरे ।  के गर्नु यस्तो कुरो हाम्लाई था भकोभा, त्यो घनश्याम भर्खर १० वर्षको हुदैछ । एक किसिमले त हामी अपराधी नै भयौं  तै अज्ञानता प्रति केही निगाह हुन्छ कि ! एक पटक चै वडा हाकिमको पाउ पर्नु पर्यो । ज्ञान मात्र भा भए हाम्रो मनमा पनि दया नै नभएको त कहाँ हो र !” हरि काका एक्लै फत्फताए ।
यतिबेरमा डुङ्गाले अर्को किनारा छोइसकेको थियो । दुई अभियुक्तलाई त्यही छोडेर फेरि पारीको यात्रामा निस्कियो एक्ले ।
अड्डाको कर्मचारी र सिपाहीलाई खोले तार्दै गर्दा  सिपाहीले भन्यो,  “तिमी चाँहि सँधै यही घाट कुरेर बस्छौ ?”
“हजुर, दिनभरी यतै हुन्छु,” विन्ती बिसाउदै उसले उसले उत्तर दियो । “गाँउको पुछारमा छ हजुर, एक्ले ढेडुको गुँड । ”
–“याँ आउने सबैलाई सति पोल्न नपाउन्या नियम बाधेको छ – राजाले, भन्नु ।  सबै घाटका माझिहरुलाई यस्तै भन्न खबर गरिदिनु । बदमासहरु, सधै जंगली भएर हुन्छ ? उता श्री ३ महाराजले बाँधेको तेत्रो ऐन, थाहा भएन भनेर हुन्छ ? तिनेर्को रीति !” कडा स्वरमा कर्मचारीले आदेश दियो ।
–“ एति राम्रो नियम रैछ साहेब, भेटेसम्म सम्झाउँछु मान्छेहरुलाई । मलाई पनि पुण्यै होला ।”, एक्लेले  आफूले आज्ञा पालन गरेको प्रष्ट पार्यो । 
एक्लेले कुराेकाे चुराे बुझेकाले मनमनै खुसी देखियाे । खुसी यसकारण पनि देखियाे कि आफ्नाे अव्यक्त प्रेमिकाका अपराधीलाई सिपाहीले पक्डिएर लगेकाे थियाे ।
खाेलाे तरेपछि चारजनाकाे टाेली  नाकेडाँडाका टुप्पाेमा पुगुञ्जेलसम्म हेरिरह्यो एक्ले । उनीहरू छेकिएपछि किन हाे उसकाे मनमा झिलिक्क बत्ति बलेकाे अनुभब गर्याे । माछा मार्न छाेडेर उसले पनि गाँउकाे बाटाे ततायाे ।
यो घटनाको करीब १ वर्ष पछि श्री ३ बीर समशेरले जंगबहादुरको मूलुकी ऐनमा उल्लेखित सति प्रथा सम्बन्धि नियमहरुलाई पुर्नलेखन गरी “सति प्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार” जारी गरी व्यापक प्रचार प्रसार गरे । कयाैं प्रति छपाएर गाैडा, गाैस्वरा, थुम, प्रगन्ना र गाँउगाँउमा टाँस्न पठाए । पछि चन्द्र समशेरकाे पालामा आइपुग्दा कता कति थाेरै मात्रमा मात्र बाँकी थियाे याे कुप्रथा। त्यसकाे समेत नियन्त्रण गरी सति प्रथाकाे अन्तकाे घाेषणा भने उनै चन्द्र शमसेरले गरे ।

                                                                        ∞∞∞

Wednesday, May 10, 2017

गजलः फोहोरको थुप्रो छेउ नमरेको लाश थियो


फोहोरको थुप्रो छेउ नमरेको लाश थियो ।
अम्मलको नशा भित्र जाडो छल्ने आशा थियो ।।

 रात पनि कहालिंदो बेइमानी शहरको
कर्णकटु कर्कश लाग्ने भुस्याहाको साथ थियो ।।

 

बनाएर साथी तिनलाई तिनै सँग गुडुल्किदै,
न्यानो पना साट्दै साट्दै बचाएको साथ थियो ।। 

सभ्यहरु देखेकै हो ठूला ठूला महल भित्र
तिनै सभ्यहरुबाटै लखेटिने त्रास थियो ।

किन  खाते भन्छौ उसलाई ? किन एक्लिदैछ बच्चा ?
यसको उत्तर खोज पैल्हा, परिस्थिति खास थियो ।।

फ्याङ्लो गुन्द्री, मैलो बस्त्र, आकाशको छानो, 
जीवन धान्ने सम्पत्तिको बोरा उसको पास थियो ।। 

खाते बन्ने बाध्यताले रहरले होइन ।
सडकछाप बालापन नै एन जि. ओ को गाँस थियो ।


Thursday, May 4, 2017

गजलःआफ्नै मान्छे पर्यौ र पो आएँ

धेरै कर गर्यौ र पो आएँ ।
आफ्नै मान्छे पर्यौ र पो आएँ ।

ओठ टोक्दै अलि मस्किएर,
मीठो मुस्कान छर्यौ र पो आएँ ।

मुटु भित्रै बास बस्छु भनीकन
अल्लि नजिक सर्यौ र पो आएँ ।

लेकबाट बैंसको त्यो बेंसी झर्दा
बेंसी तिरै झर्यौ र पो आएँ ।

सुन्दर गुलाबको थुंगा दिई
प्रेमघडा भर्यौ र पो आएँ ।

अग्नी अघि, यज्ञ मण्डपमा
खाली सिंउदो भर्यौ र पो आएँ ।