Tuesday, October 6, 2020

कथाः पाहुना

 

अफिसको काम सकेर पाँच बजे तिर घर फिर्ने तयारीमा थिएँ । मोबाइलको घण्टि बज्यो । रुक्मिणीको रहेछ ।

-हजुर कतिबेला आउने ?"

-हिड्न लागेको, अब आइहाल्छु ।  भनें र सोधें- किन र ?

-आउदा बजारबाट तरकारीहरु लिएर आउनु । डेरिबाट दुध र दही पनि ल्याउनु है, घरमा पाहुना आएका छन् ।

-हुन्छ, अनि को पाहुना नि ?”

- आउनु न, थाहा पाइहाल्नु हुन्छ नि ! उनले भन्न चाहिनन् ।

-“किन, भन्न नमिल्ने ?   मैले फेरि सोधेपछि उनले छोटो जवाफ दिइन्-

-तपाईंकै कथाका पात्रहरु ।

फोन काटियो ।

फोन सुनिरहेका अफिसका साथीहरु हाँसे । कृष्ण सरसँग नसकिने भो । हुँदा हुँदा कथाका पात्रहरु समेत घरमै भेट्न आइपुगे । पात्रहरुलाई राम्रो सम्मान गर्नुहोला । नत्र तिनै पात्रहरु तपाईको बिरुद्धमा लाग्ने छन् । कुनै पात्रले कथामा आफूलाई हिरो बनाइदिएबापत धन्यबाद भन्न आयो होला । उनीहरुको आशय थियो । निस्कने बेला भै सकेको थियो । हेल्मेटको फिता बाँध्दै भनें-

म्याडमको किनमेल गराउने आइडिया होला । म अझ भनौं हामी दुबै पनि त एउटा न एउटा कथाको पात्र नै हौं । एउटा के कयौं कथा बन्छन हाम्रै पात्रत्वमा । ल है म निस्किएँ ।

कार्यालयबाट निस्कने बित्तिकै ट्राफिक जाममा परियो । काठमाण्डुको धेरैवटा रोग मध्येको यो रोग पुरानो हो । कोही ठूला गाडिको चेपबाट मोटरसाइकल छिराउने कोशिष गरिरहेका थिए भने । कोही लगातार हर्न बजाइरहेका थिएँ । सडक किन अवरुद्ध भएको थियो कसैलाई मतलब थिएन । उनीहरुलाई आफू अघि जानु थियो – बस । यो  मानिसहरुको दौडधुप उदेक लाग्दो थियो । दुई जना ट्राफिक प्रहरीहरु सिट्ठीको चर्को आवाजले सवारीलाई यता उता जान संकेत गरिरहेका थिए । बल्ल तल्ल जाम खुले पछि म माइतिघरबाट कोटेश्वर तिर लागे ।  कोटेश्वरको तरकारी बजारबाट निस्किदा छ बजि सकेको थियो ।

यस अघि लेखेको एउटा कथा सम्झिएँ-

रीमालाई कुनै दिन विर्तामोडको सडक पेटीबाट उठाएर काठमाण्डु आफैले लिएर गएको थिएँ । एक धनाढ्यका घरमा काम दिलाइदिन । वास्तविक जीवनमा उसको के हालत भयो म जान्दिन तर कथामा उसलाई अन्याय हुन दिंइन । उसलाई मैले संघर्ष पछि सफल तुलयाइदिएको थिए ।के कुनै कारणले  रीमा मलाई भेट्न आई होली ? वास्तविक जीवनमा ऊ सफल भई वा भइन ?

मलाई मेरा कथामा पात्रहरुप्रति भएको अन्याय मन पर्दैन । चाहे त्यो उसको वास्तविक जीवनमा  होस वा कथानकमा । वास्तवमा मेरा कथाका पात्रहरु विल्कुलै काल्पनिक हुदै हुदैनन् । उनीहरुको कथानकमा केही कल्पनाशीलता भने अवश्य जोडिन्छ । तर यही कुरा मैले रुक्मिणीलाई ढाँटेको थिएँ । त्यो मेरो परिस्थति अनुरुपको प्रतिक्रिया मात्र थियो ।

बाटो भरी सोच्दै थिएँ –

पहिला पहिला टाढको साइनो लगाएर आउने पाहुनालाई गोरु बेचेको साइनो भन्थे । आज भोलि कथाका पात्रहरु समेत पाहुना आउन थाले । त्यसै त महंगो काठमाण्डु, अझ पाहुनाको लर्को थपिएपछि कसरी थाम्ने । को चाँहि आएको रहेछ ? मनमा लाग्यो कोही टाढाको आफन्त पाहुना आयो होला अनि उनले रिसले कथाको पात्र भनिदिएको हुन सक्छ । के गर्नु हामी पाहुना राख्न सक्दैनौ  भनेर पहिल्यै हात ठड्याउन पनि सकिदैन ।

फेरि सोचें- पाहुना नै नदेखी नचिनी उसप्रति नकारात्मक किन हुने । मेरा लागि त्यो कुनै हिसाबले महत्वपूर्ण नै छ कि ? अतिथी देवो भवः भन्छन् – ठीकै छ । एक दुई छाक त हो । सुत्ने ठाँउ छँदैछ । हामीलाई सम्झेरै आएको होला । किन सानो मन बनाउनु ?

मेरो घरमा आएको पाहुना मैले यसअघि लेखि सकेका कथाको पात्र हो वा अब लेख्नु पर्ने (लेख्न सकिने) कथाको पात्र हो त्यो प्रष्ट त थिएन । त्यो पाहुना कहिल्यै नलेखिने कथाको पात्र पनि त हुन सक्छ । श्रीमतिजीले ठीक भनिन् - हरेक ब्यक्ति संसारको पाहुना नै हो र ऊ  कुनै न कुनै कथाको एउटा पात्र ।

मोटरसाईकललाई पार्किङ गरेर भित्र पस्दा बैठक कोठामा शाम वर्णका दुईजना अपरिचित बालिकाहरुसँग हाम्रा छोरीहरु खेलिरहेका थिए । लाग्यो- पाहुना त शाखा सन्तानै लिएर आएका रहेछन् । मलाई देखेपछि छोरीहरु बाबा भन्दै झुण्डिन आए भने अपरिचित बालिकाहरु केहि सतर्क भए र चुपचाप बसे ।

-पख नानीहरु, म नाना फेर्छु, फ्रेस हुन्छु अनि तिमीहरुसँग खेलौला है त ।”

यति भनेर तरकारी र दुध, दहीको झोला ठूली छोरीको हातमा थमाउदै म आफ्नो कोठा भित्र पसें । कोठाबाट फ्रेस भई निस्कदा रुक्मिणीसँग निर्मलालाई देखेपछि बल्ल प्रष्ट भएँ । पहुना साँच्चै नै कथाकै पात्र परिछन् ।

निर्मालाले मलाई देखे पछि उठेर नमस्कार गरी । उसको अनुहार फुङ्ग उडेको, अनुहारमा चाँया र पोतो फैलिएको, आँखाहरु भित्र गाडिएका, हेर्दैखेरि एउटा ठूलो पीरबाट गुज्रिएर बल्लतल्ल उम्केजस्तो लाग्दथ्थो । पूलचोक इन्जिनियरिङ क्याम्पस पढ्दाकी निर्मलालाई मैले उसैको अनुहारमा खोजिहेरें । अँह कतै पाइन । आँखाको चन्चलता,  अनुहारको लालित्य कही कतै छोडेर आइछ आज । त्यो निर्मल जल झै निर्मला मधेशको माटोले गलेर आइछ । तयहींको घामले डढेर आइछ । मैले नमस्कार फर्काएँ । निर्मलालाई मेरो कारणले कुनै असजिलो नहोस, यसका लागि आफू सतर्क थिएँ ।  

सोफामा बस्ने बित्तिकै दुबै छोरीहरु काखमा आएर बसे । निर्मलाका छोरीहरु पनि उसँगै टाँसिए । मैले त्यतैतिर फर्किएर सोधें-

के छ हाल खबर, थकित देखिन्छौ, कुनै पीरमा छौ कि ?

दबेको सानो स्वरमा उसले भनी –ठिकै छ ।

यस पछि रुक्मिणीको पालो थियो तपाई काल्पनिक कथा लेख्नुहुन्छ होला भनेको त सप्पै आफ्नै इतिहास मात्रै ?  तपाईको छेका शीर्षकको कथाकी पात्र निर्मला त आज हाम्रै पाहुना भएर आइन त ?  तपाई वास्तबमा कथाकार भन्दा वढी  प्रेमकथा अझ आत्मकथाकार हुनुहुदोरहेछ नि त !

मलाई कुनै जवाफ दिनु थिएन । उनको शंकालु मनमा मैले लेखेको त्यो कथा पढे पछि विवाह अघि अर्कै केटीसँग अफेयर रहेछ भन्ने लागेको थियो । यस बारेमा सोध्दा मैले भन्ने गरेको कुरा आज झुट सावित हुँदै थियो । त्यति बेला कथाकारहरु काल्पनिक कुराहरुलाई आफ्नै जस्तो बनाउन र आफ्ना कुरालाई काल्पनिक जस्तो बनाउन निपूर्ण हुन्छन भनेर टारेको थिएँ । वास्तबमा निर्मला  कुनै दिन मेरी प्रेमिका नै थिई । वास्तविक जीवनको । आज उनको शंकालाई सत्यको साविति दिइरहेकी थिई निर्मलाले –पाहुनाको रुपमा आफ्नै अघि उभिएर ।

राधाको प्रेम अघि रुक्मिणी जल्नु अस्वभाविक थिएन । तर कृष्ण नैतिक धरातालमा उभिएकोले न त रुक्मीणीले राधा प्रति, न त राधाले रुक्मिणीप्रति बैरभाव राखेको देखियो । यो कृष्णलीलाको अनुभव आफ्नै जीवनमा हुदै थियो । यो सब हुनुमा निर्मलालाई समयको घनचक्करले पेलेको थियो भने रुक्मिणीलाई पति पत्नीको बलियो बन्धन र विश्वासले बाँधेको थियो । र त उनले निर्मलालाई पाहुनाको रुपमा स्वीकार गरिन् ।

अन्य हालखबर र सामान्य भलाकुसारी भयो । खाना पाकिसकेको रहेछ । पहिलो लटमा निर्मलाका दुई र हाम्रा दुई गरी चार जना भुराभुरीलाई खुवाउने कुरा आयो । निर्मलाकी सानी छोरी भित्र सुतेकी रहिछ - चार महिनाकी । जम्मा पाहुना संख्या चार ।

सबैले खाना खाई किचनको काम सिध्याउँदा रातको नौ बजेको थियो । त्यसपछि केहि बेर फेरी गफगाफ भयो ।निर्मला बिद्रोह गरेर घरबाट हिडेकी रहिछ । बिद्रोह पनि के भन्नु, आफ्नैहरुले घरबाट निकालिदिएछन् । शादी अघिदेखि नै दहेजबाट शुरु भएको बार्गेनिङ शादी पछि पनि यथावत रहेछ । झन् छोरी पाउन थालेपछि त त्यसका हाँगा विंगा पलाएर कति धेरै फैलिएछ । सासु ससुरा तथा पति समेतले ठूलो आशा राखेका रहेछन् – तेस्रो सन्तान छोरा हुन्छ भनेर । तर त्यो आशा निराशामा मात्र होइन भौतिक आक्रमण र दुरब्यवहारमा परिणत भएपछि असैह्य भएर घर छोडेकी रहिछ निर्मलाले । मेरो पहिलाको मोवाइल नं. रुक्मिणीले बोक्ने गरेकोले उनीसँग सम्पर्क भएर सोधी खोजी गर्दै हाम्रो डेरामा आइपुगिछन् । साहारा र सहयोगका लागि । यी सबै कथा उनले मलाई नभई रुक्मिणीलाई अघि नै भनिसकेकी रहिछन् ।

- बरु तिमीले उतिबेलै बिद्रोह गरेर, छेका तोडेर कृष्णसरसँग बिहे गरेको भए यो दिन देख्नु पर्दैनथ्यो ।” हैन ! रुक्मिणीले यति सहजै कसरी यस्तो कुरा गर्दैछ, म छक्क परें ।

- के थाहा, कृष्णसरलाई पनि मैले छोरा दिन सक्दिनथें होला । निर्मलाको उत्तर ।

-होइन, तिमीलाई पनि छोरा नै चाहिएको हो कि पारिवारिक सुख शान्ति ?”  मैले अलि झोंकिएर निर्मलालाई सोधें । ऊ केही बोल्न सकिन । केही बेरमा भन्दैथिई –

- “अब जे हुनु भै सक्यो । विगतलाई सच्याउन सकिदैन । फेरि कृष्णसरको भाग्यमा मेडम हुनुहुदो रहेछ र मेरो भाग्यमा मेरै दुष्ट, पापी पति ।

त्यसो भन्दा बालकृष्ण समले लेखेको दुई आदर्श वाक्य सम्झिएँ – पति भक्ति त मर्दैन पापी पति भए पनि, देशभक्ति त मर्दैन चुत्थै देश भए पनि ।

-के गर्नु तिम्रा भाग्यमा म जस्तो असल पति पाँउन लेखेको रहेनछ । माया गर्छु भनेकै थिए । कलेज पढ्दा, प्रष्ट गरी । तिमीले बुझेनौ । बुढीको शंका यसै सत्य उसै सत्य, मैले मनको कुरा फुकाई नै दिएँ ।मेरो यो भनाईले भने दुबैलाई भित्र कतै नराम्रोसँग छोयो – आआफ्नै किसिमले । रुक्मीणीलाई लाग्यो होला आफ्नो पतिको त पूर्व प्रेमिकासँगको माया अझै उस्तै रहेछ । कतै यो आफ्नैलागि प्रत्युत्पादक त बन्ने होइन ? निर्मलाले त पश्चाताप गर्नुको पनि कुनै अर्थ थिएन । तैपनि उसलाई उसकै विगतले नराम्रोटसँग चिमोट्यो ।

गफको क्रम अनायस रोकियो । कसैसँग कुनै शब्द भन्नलाई बाँकी नभएझै भयो ।

पाहुना कोठामा निर्मलाको परिवारलाई छोडेर हामी जोइपोइ आफ्नो कोठामा छिर्यौ । सुत्न लाग्दा रुक्मिणीले भनिन्- “त्यसो त हाम्रा पनि दुई वटी छोरी मात्र छन् ।”

मलाई निर्मलाको कथा र आफ्नो कथामा केही फरक लागेन । फरक यति मात्र हो छोरी मात्र पाएर पनि रुक्मिणीको पति उनकै पक्षमा छ तर निर्मलाको पति ?  केही बेर चुपचाप बस्यौं दुबै ।

भनें- निर्मला र हाम्रो समाजको रोग एउटै हो । मात्र अलिकति मात्राको अन्तर छ । त्यहाँ बढी र यहाँ केहि कम । बस । हामी प्रति छोराको आशा नगर्नेको के यहाँ कमि छ र ? तिम्रै सासु ससुरा, परिवारका अन्य सदस्य, माइति, मावली । मात्र यति हो- प्रकटमा ब्यक्त गर्न सक्दैनन् । गाँउका मान्छेको सोच धेरै पछि छ कान्छी । हरेक सासु ससुरालाई पिण्ड चाहिएको छ । उनीहरु छोराको माध्यमबाट बैतरणी नदी तर्न चाहन्छन् - मरेपछि । जिउँदो छोरालाई नाविक बनाएर ।

“फरक छ । आज मधेशमा निर्मलाहरु गलहत्यायिन्छन् आफ्नैहरुबाट । याताना, दुर्वव्यवहार सहन बाध्य छन् निर्मलाहरु । आफ्नै पतिका समबयस्कहरु तथा ससुरा तथा जेठाजु समेतबाट हुने ब्याभिचारबाट बचाउन भन्दै घुम्टोको आवरणले महिलालाई छोप्दा त्यस्ता व्याभिचारीहरुलाई नांगेझार पारेर ठिंगुराउन नसक्ने समाज र सभ्यताको के कुरा गर्नु  ? महिलालाई जिउदै आगोमा जलाउने, बोक्सी मानेर अभक्ष खुवाउने पनि तिनै समाजका बुज्रुकहरु हुन् । के जनचेतना नभएको भन्न सुहाउँछ ? मेरो बिचारमा मधेश भनेको महिलाहरुको लागि नरक हो ।रुक्मिणीको आक्रोश पुरै मधेशप्रति खनियो । यस्तो लाग्यो दिउसैदेखि निर्मला पाहुना आएर उनीसँग मनका पीडाहरु अलि धेरै नै बिसाइछ।

मैले यसमा धेरै बोल्नु थिएन । मलाई मेरै पहाडी समाजको यथार्थताले पोलेकै थियो ।ठाउँ अनुसारको मात्रात्मक घटि बढीको कुरा गर्नु भन्दा सिंगो विश्वमै महिला प्रति हुने दुर्व्यवहार र विभेदसँग परिचित भैसकेपछि मधेश र पहाडमा यस्तो उस्तो भनेर उफ्रनुको कुनै तुक देखिन । बरु अब निर्मलाको लागि के ब्यवस्था मिलाउने हो भन्ने कुराले पिरोलिएँ । भनें– बरु अब यिनीहरुलाई के गर्ने, कहाँ टुङ्गो लगाउने ?”

पढेलेखेकी मान्छे दुई दिनमा केही न केही काम भेटिन्छ । बरु साथीभाइहरुसँग सम्पर्क गरी अलिकति सहयोग चै हामीले गर्नै पर्ला । जागिर जता भेटिन्छ, त्यहीअनुसारले नजिकै डेरा खोज्नु पर्छ । क्रमशः सबै समस्या ठीक हुदै जान्छ ।” रुक्मिणीमा निर्मलाप्रतिको विश्वास कति छिटो झाँङ्गिएछ मैले पत्तै पाईन ।

-दुधे नानी लिएर कसरी काम गर्न सक्ली त्यसले ?” मैले जानी जानी अड्को थापीदिएँ ।

-मैले कसरी खाएँ ? हो त्यसरी नै खानु पर्छ । किन सकिदैन ?उनले आफ्नै उदाहरण दिएर प्रतिप्रश्न अनि समाधान सहितको उत्तर दिए पछि म चुप भएँ ।

रुक्मिणीको आजको व्यवहार र सोचबाट पनि केहि सिक्न सकिने अन्दाज गरें । उनी प्रति अगाध माया उर्लेर आयो ।

गन्थन मन्थन गर्दागर्दै कति खेर निदाइएछ पत्तै भएन ।


- रचना मिति २०७७/०७/२० राजविराज, सप्तरी

Tuesday, September 15, 2020

गजलः ...जनार्दनको जवाफ हुन्छ

जीन्दगीको कहानीको यस्तो पर्दाफास भयो  ।

सँधै यो मन ढुङ्गा रह्यो,  थोरैमात्र  कपास भयो ।

 

ठूलालाई चैन  अनि  सानालाई ऐन देखें,

समानता,  न्याय  मर्यो  सँधै यस्तै बकवास भयो ।

 

बलात्कृत  भइन् चेली, किनबेच भयो  रोज यहाँ  

कठै मेरो  देश,  सँधै  पापीलाई स्याबास् भयो ।

 

मृत्यु बिक्यो बजारमा, देख्छु क्रेता जताततै

आत्माको मोल कौडीको भो, यस्तै केही आभाष भयो ।।

 

रुपैयाँको ऐना हेर्दा,  घीनैलाग्दा  नाता  देख्यौ ?

 यँहाको  रीत यस्तै रैछ जनार्दनको  जवाफ  भयो  ।।

Friday, September 11, 2020

गीतःपर्खदैछ उज्यालोलाई....


जोगी हिड्यो उज्यालो खोज्नलाई ......
झिसमिसेमा मा अलख जगाउँदै .......

स्थायीः
बोलाउदैछ बिहानीले, रात ढल्दैछ हेर ।
संसारको अँध्यारोको आँत सुक्दै छ हेर
हाहाकार दुनियाँमा फैलिएछ जताततै !!!
विश्व शान्ति अलापेर शंख फुक्दैछ हेर ।।

अन्तरा १
डढ्यो डढ्यो सगर हेर क्षितिजको माथि माथि
बतासले एउटा आशा सुशेले झैं लाग्छ साथी
अझैसम्म हेरिरहेछ झर्ला तारा कँहिकतै
उज्यालोको सुगन्धलाई पर्खिएर राति राति ।।
धरतीप्रति प्रीति गाँसी सुन्दर सृष्टि बचाउन !!!
एउटा दिलाशामा यात्री आँफै जुट्दैछ हेर ।।

बोलाउदैछ बिहानीले ....
संसारको ....

अन्तरा २
चिरविरी गाँइदेला चरी शुभ बिहानीमा
उमङ्गले पोखिएला खुसीयाली सिरानीमा
यस्तो अमूल्य आशामा हिड्दैछ एक्लो यात्री
पर्खिरहेछ ऊ साथी एक्लै एक्लै बिरानीमा
जितिएला कतै विघ्न ? भरोसा छ कहिकतै
सपाना पछिको आशा फेरि उठ्दैछ हेर ।

बोलाउदैछ ....
संसारको ....

Thursday, September 10, 2020

गीतः बिछट्टै राम्री देखें तिमीलाई ‍‍‍

 

बिछट्टै राम्री देखें तिमीलाई ।

आयौ कि प्यारी दुधले नुहाई ??

भएँ म लट्ठै भन कैलेदेखि ?
जादु चलायौ हेर जैलेदेखि ।
बोलाउछ्यौ कि सुशेलीले गाई ?
आयौ कि प्यारी दुधले नुहाई ??
आँखाको भाखा परेलीको झिमझिम,
अझै रुझायौ पोखिएर सिमसिम ।
कटाक्ष गर्छौ सँगमै बोलाई,
आयौ कि प्यारी दुधले नुहाई ??
सृष्टिको प्यारो मीठो यौबनै हो ।
पग्लिई बग्ने हिउँ भो मनै यो ।
थुन्नु कसोरी मुहानैमा धाई ?
आयौ कि प्यारी दुधले नुहाई ??
देख्दा रसिलो अधरैको लाली,
बसाउँ हरदम मनमा अँगाली ।
कि चुमी दिउँ? भई होशियार
दुधले नुहाएको तिम्रो मुहार ??

गीतः मनभित्रै सुखको मुहान खोजे



मनभित्रै सुखको मुहान खोजे,
झलमल्ल मनको उज्यालो रोजे,
भेटिनेछ आफूलाई नै स्वर्ग भित्र,
उदाउँछ सूर्य मनमै विचित्र

मैलो थियो मनभरी दोष देख्छौ,
नियतै खराबी छ र खोट भेट्छौ,
लगाउ लगाम बाँध त्यो मनलाई,
स्वार्थ, अहंकार र कालो धनलाई ।।
देख्नेछौ तिमिले कति सफा चित्र
सुख भेट्छौ आहा ! मनमा विचित्र ।।
मनभित्रै सुखको मुहान खोजे
झलमल्ल मनको उज्यालो रोजे ।

शषीमा दाग देख्ने पनि तिमी हौ
औंशीमा उज्यालो भेट्ने नि तिमी हौ ।
सफा छ या कल्मष हृदय निहार
हृदयको ऐनामा छ दृष्टि बिचार
जवाफ मिल्नेछ त्यही मनलाई सोधे
झलमल हुनेछ मन उज्यालो रोजे ।
मन भित्र सुखको मुहान खोझे
झलमल्ल मनको उज्यालो रोजे ।।

Tuesday, July 28, 2020

कथाः अनागरिक

यस कथाका सबै पात्र यथार्थ हुन् । कसैलाई काल्पनिक जस्तो लागेमा त्यो संयोग मात्र  हुनेछ ।
          र त्यस दिन कार्यालयमा निक्कै चर्का चर्की भयो ।  कैलु सदाले पनि निकै नै आवेशमा आएर फाँटका कर्मचारी तथा  हाकिमहरुलाई मुखभरीको जवाफ दिएकै हो ।  तर के गर्नु उसले एउटा नागिरकताको लागि कति पटक धाउनुपर्ने हो, वा  जीन्दगीभरी अनागरिक भएर बस्नु  पर्ने हो - एउटा प्रष्ट चित्र देख्न मैले अझै सकेको छैन । हुन त म सानो स्तरको कर्मचारी हुँ । अभिलेख फाँटमा कार्यालय सहयोगीको रुपमा करारमा काम गरेको करीब पन्ध्र वर्ष भयो । यस्तो अफ्ट्यारो केश मैले आजसम्म अनुभव गरेको थिइन ।  
-तपाइले आफूलाई नेपाली नागरिकता बाहकको छोरी हो भनेर प्रमाणित गर्नै पर्छ, त्यो तपाईकै कर्तव्य हो । धेरै बेरको हो हल्ला र तनाब पछि  हाकिमले अन्त्यमा भनेका थिए ।
सदाका दम्पति ज्यादै पिरोलिए । कैलु नागरिकता फाँटको पछाडि पट्टि चिया पसलमा झोक्राएर बस्यो । करियाही भने उसकै छेउमा बसेर सुक्क सुक्क गरिरही । म उनीहरुको शोक साधनालाई नजिकबाट चियाको स्वादसँगै अनुभव गरिरहेको थिएँ । आज चियामा सँधै जस्तो स्वाद छैन  वा त्यो चियामा सदा दम्पतिको आँशु मिसिएको थियो - अलमल भैरह्यो ।
एकजना डिमन तिरकै मान्छेसँग करियाही बोल्दै थिई-
          हम अपना आपक कोन देशके नागरिक कहु ? जहियासँ हम होस सम्हालनेछी तहियासँ याह महुली आ डिमनके आसपासमे अपना आपके पौनेछी । हमर देखल स्वदेश कही या विदेश याह थिक । अहिठामसँ दूर कही त राजविराजधरि पहुँचल छी ।
“(मैले आफूलाई कुन देशको नागरिक भन्ने ? जबदेखि मैले होस सम्हाले, मैले आफूलाई यही महुली र डिमनको सेरोफेरोमा पाएकी छु । मैले देखेको स्वदेश भने पनि विदेश भने पनि यही हो । मैले टेकेको टाढाको भूमी यही राजविराज हो ।”


            केही बेर शान्त भए पछि उसले फेरि थपी-
            हमरा बहुतो बेर बहुतो गोटे हमर नाम, माय, बाबू, नैहर आ नातागोताके बिषयमे पुछैत छैक । किया हमरा अहि बिषयमे जानकारी नहि अछि से ? ओना त हमर उमेर कतेक भेल, हमर कोनो बाल्यकाल छल कि नइँ ? ई प्रश्नसभके उत्तर हमरो मालूम नहि अछि । नागरिकता देनिहार हमर नाम पुछलखिन्ह, बाबुके नाम मागलखिन्ह, जन्म मिति आ जन्मस्थान, विवाह मिति, पतिके नाम मागलखिन्ह । सभकियाके सामान्य लागैबाला एहेन प्रश्नसभ हमरा किया पहाड भजायत अछि ? कियो एकर उत्तर दऽ सकैत छन्हि ?
            हमर पतिके नाम कैलु सदा छियैक । कैलु सेहो हमरा अपन घरबाली कहैत छन्हि । सभ गामके लोगसभ सेहो वाएह कहैत छैक । मुदा हमरा मालूमे नहि अछि जे हमर विवाह कहिया भेल । कहियासँ कैलु सदाके घरबाली भेलु । हँहम होसमै एलाके बाद अपना आपक कैलु सदाके कोरामे पौने छी । ओकर बाद ओ हमरा तेक माया, ममता देलैत आ पालनपोषणमे जतन केलथि तकर लेखा जेखा नहि अछि । करीब पन्ध्र बेरसँ बेसी धान पाकल, गहुँम पाकल, हम काटय गेल छी १५ बेरसँ बेसी हमर घर डुवानमे परिचुकल अछि । पन्ध्र बेरसँ बेसी रौदी हमरासभक जरौलक अछि । एकटा झोपडीमे रहिरहल हमर दु दुखीके अहिसँ नम्हर खिस्सा हम यादे करय नहि सक्वे । मुदा हम कैलुके घरबाली भेलामे खुसी छी । ओ त हमरा लेल हमर भगवान बनिक आएल छथिहमरा खोजय महुली पुलधरि ।

(“मलाई धेरैपटक धेरै जनाले मेरो नाम, आमा बाबु, माइति र आफन्तहरुको बारेमा सोध्छन् । किन मलाई यी सब कुराहरुको बारेमा कुनै जानकारी छैन? मेरो उमेर कति भयो, मेरो कुनै वाल्यकाल थियो वा थिएन यी सबै प्रश्नको उत्तर मलाई नै थाहा छैन । नागरिकता दिनेले मेरो नाम माग्यो, बाबुको नाम माग्यो, जन्ममिति माग्यो, जन्मस्थान माग्यो, बिबाह मिति माग्यो, पतिको नाम माग्यो, सबैलाई सामान्य लाग्ने यस्ता प्रश्नहरु मलाई किन पहाड भएर उभिन्छन् ? के कसैले यसको उत्तर दिन सक्छ ?
मेरा पतिको नाम कैलु सदा हो । कैलु पनि मलाई मेरो स्वास्नी हो भन्छन् । सबै गाउलेहरु पनि त्यसै भन्छन् । तर मलाई थाहा छैन मैले कहिले विहे गरें । कहिले देखि म कैलु सदाको पत्नी भएँ । हो - म होसमा आउदा आफूलाई कैलु सदाको काखमा पाएको थिएँ । त्यसपछि उनले मेरो यति धेरै स्याहार र जतन गरे-त्यसको लेखा जेखा नै हुँदैन । करीब पन्ध्रचोटि भन्दा बढी धान पाक्यो, गहुँ पाक्यो, हामी खेताला गयौ । हामीले । पन्ध्र चोटि भन्दा बढी हाम्रो घर डुवानमा परिसक्यो । पन्ध्र चोटि भन्दा बढी खडेरीले हामीलाई डढायो । एउटा झुपडीमा बस्ने हामी दुई दुःखीको यस भन्दा लामो कथा म पटक्कै सम्झन सक्दिन । तर म कैलुको स्वास्नी भएकोमा खुसी छु । उनी त मेरा भगवान बनेर आएछन्- मलाई खोज्दै महुली पुल सम्म ।”)

            त्यस पछि कैलुले पनि केही भन्न सघाउदैथियो-
     सबगोटे ओकर बुढ भ्यागेली कहवे । ओकर उमर सत्तर वेरषसे बेसी भेले, से कहवे । कक्रो मालुम नैछे । लेकिन् सबगोटे ओक्रा शारीरिक बनावट, मुह, गालके शिकन और  पाकेवाला केश,  ओ सभ देखके बुढ भेली- से कहिछे  । ई सब गफसभ  जोइडकर कहि त ओकर  जन्मो  अन्दाजी पचास पच्पन् वरषक उमरमा मात्र भेलछेल ।  सेहो बिना माय बाबुके  ।”
            (सबैजनाले उसलाई बुढी भई भन्छन् ।  उसको उमेर सत्तरी वर्ष भन्दा बढी भइसक्यो  होला । कसैलाई थाहा छैन । तर सबैले उसको शारीरिक बनावट, मुखाकृति, गालाको चाउरी, र फुलेको कपाल यी सबै देखेरै त्यसो भनेका हुन् ।  यी सबै कुराहरुलाई जोडजम्मा पारेर  भन्ने हो भने उसको त जन्म नै पचास पच्पन्न वर्षको उमेरमा भएको थियो । त्यो पनि बिना आमा बाबुबाटै ।)

          करीब दुई वर्ष अघि देखि हो कैलुलाई आफ्नी स्वास्नीको पनि नागरिकता बनाउने भुत चढेको । हुन त उसले कहिले बिहे गर्‌यो कसैलाई थाहा छैन । टाउको लगायत शरीरका विभिन्न स्थानमा लागेको चोटैचोटले अत्यन्तै जीर्ण शरीर तथा विक्षिप्त अवस्थामा मुस्कीलले सास मात्र चलेको र ज्वरोले थरथर काम्दै गरेको अवस्थामा कैलुले महुली खोलाको पुलमुनी भेटाएको भन्छन् । करीब तीन महिनामा मात्र बोल्न सक्ने भएकी थिई रे करियाही । कैलुकै बोली टिपेर  करियाहीले मैथिली बोल्न सिकी । अरु मान्छेले जस्तै ।  अरु पहाडियाहरु र हाकिमहरुसँग बोल्न कैलुले मात्र सक्छ । करियाही नेपाली भाषा अझैसम्म बुझ्दिन । बोल्न सक्ने त कुरै भएन ।
          “सत्तरी वर्ष पुगेका बुढा बुढीलाई भत्ता दिन्छ सरकारले । त्यही भएर तिमेरु बुढा बुढीले नै नागरिकता बनाऊ ।  त्यही पैसाले तिमेरको गुजारा चल्छ । अब बुढा बुढी भयौ । ज्याला मजदुरी गर्न सक्दैनौ ।” वडाध्यक्षले दुबैलाई यसरी सम्झाएपछि मात्र करियाहीको लागि नागरिकताको आवश्यकता बोध गरेका थिए सदा दम्पतिले ।  
          टुहुरो भएकोले सदियौंदेखि नै यही मूलुकमा बसे पनि कैलुले जन्मको आधारमा २०६३ सालमा जसोतसो नागरिकता बनाएको थियो । यसको छुट्टै कथा छ । त्यसो त पहुँच हुनेले पारीबाट आएर समेत नागरिकता लिए भनेको उसका आफ्नै कानहरुले सुनेका छन् । तर कैलु त्यसको अर्थ बुझ्दैन ।उसले आफ्नो  नागरिकता बनाएर घर फर्किने क्रममा बाटोमा उसले करियाहीलाई भेटाएको थियो रे ।
          यिनीहरुको कथा सुनेपछि मैले हाकिमसँग एक पटक कुरा गरौला भनेर आश्वासन दिएँ । उनीहरु मेरै  गाँउका  पनि थिए । यस्तो बेला कुनै उपाय निकाल्दिन पाए बुढा बुढीको उद्धार नै हुनेथियो जस्तो लाग्यो । उनीहरुलाई घर पठाएँ र साँझमा घर जानुको सट्टा म हाकिमको क्वाटरतिर लागें ।
          हाकिमले पनि त्यस्तो कुनै उपाय सुझाएनन् । अन्त्यमा मैले  नै भनेंः-
     -“ए सर, नेपाल सरहद भित्र फेला परेको, पितृत्व र मातृत्वको ठेगाना नभएको मानिसलाई पनि बंशजको आधारले नागरिकता दिन मिल्छ भन्ने सुनेको छु । कि त्यसै आधारमा दिने हो त?  
-त्यो त हाम्रो संविधानमै लेखेको छ नि, तर वडाबाट,प्रहरीबाट प्रमाणित भएर आउनु पर्‌यो नि त्यस्तो कुरा । फेरी  सबैले  मान्नु पर्यो । भएका ( वा नभएका नै भए पनि) आमा बाबुलाई बिर्सिएर मेरा बा आमा छैनन् म यही सरहदमा फेला परेको हुँ भन्दा हुन्छ र ? उनले यति भनेर फेरि थपे - यो सप्तरी हो साथी । त्यसरी  बिना आधार सबैलाई नागरिकता बाँड्दै जाने हो भने एक दिन यहीका जनताले जेलको हावा खुवाउछन ।
          उनले सप्तरी जिल्लाको बिशेषता र नागरिकताको विशिष्टता सम्झाए पछि म कुई कुई गर्दै आफ्नो बाटो लागे – जसरी गल्लीको कुकुर एउटा पत्थरको चोटमा चुइकिदै भाग्छ ।
          घर फर्केपछि साँझको नित्य पुजा र खानपिन गरी सुतें  । परिवारका कसैसँग बोल्न मन लागेन । आँखा भरी करियाहीको आँशु टप्कीरह्ये ।  हारेर झोक्राएको कैलु सदाको अनुहारले रातभरी निमोठिरह्यो ।
          एउटी भारतीय महिलाले  बिबाह गरेको भोलीपल्ट  विवाहको सम्बन्धले अंगीकृत नागरिकता पाउछिन् । के करियाही भारतीय बाबुको छोरी भैदिएको भए हुन्थ्यो ? पाँउथी  त उसले नागरिकता ? होइन ऊ त नेपाली बाबुकी छोरी नै होली, मात्र उसलाई वा कसैलाई पनि त्यसको पहिचान नभएको मात्र त हो । किन उसले  पन्ध्र वर्ष अघिका कुरा सम्झन सक्दिन ? के उसको स्मृति फर्काएर मात्र उसलाई नागरिकता दिने हो ?  मन अनेकौ प्रश्न तथा तर्कनाले गिजोली रह्यो ।
          के मैले ठीकै भनेको थिइन हाकिमसँग ? उसले अब सोही प्रक्रियाबाट नागरिकता प्राप्त गर्न के के प्रक्रिया अपनाउनु पर्ला ? भोली  चिनेको कुनै वकिलसँग  सल्लाह गर्नु पर्ला । अन्त्यमा आफैभित्र उपाय फुराए । केही ढुक्क भए पछि ढीलो गरि निदाएछु ।
          एक हुल आवारा केटाहरुले कसैलाई लखेटिरहेको देखियो । जुनेली रात भए पनि बादलले ढाकेको आकाश भएकोले भरपुर उज्यालो थिएन । महुलीबजारको पूर्वबाट चलेको भागदौड बजारको पश्चिम पट्टिको बालुवाले पुर्न लागेको पुल छेउमा पुगेर अन्त्य भयो । केटाहरुले भाग्ने मान्छेलाई भेटाएछन । त्यो त महिला रहिछ । करियाही । ओहो ! करियाहीको  त्यो रुप त ठ्याक्कै उस्तै थियो । अलि मोटा गाला थिए । कपाल पनि  कालो नै थियो ।
          यी दुष्टहरुले करियाहीको इज्जत लुट्न खोज्दैछन्  - सोचेर केटाहरुलाई  हप्काउनु पर्यो भनी म पनि दौडिदै गएँ । कराउदै त्यहाँ पुग्दा त ती केटाहरु गाँउका आवारा नभएर डरलाग्दा राक्षसहरु पो रहेछन् ! अनि करियाही चै  स्वर्गकी कुनै अप्सरा । कसैले त्यो परीलाई च्याप्प समातिरहेको थियो । यसै बीचमा उनीहरुमध्ये दुई जना आएर मलाई डेरीले हलचल गर्न नसक्ने गरी बाँधे । मैले कुनै प्रतिकार गर्न सकिन । मेरै आँखा अघि त्यो अप्सरालाई ती राक्षसहरुले त्यो परीको पखेटा काटिदिए र पालै पालो बलात्कार गरे ।  त्यसपछि  पनि उनीहरु सन्तुष्ट भएनन्  । उनीहरुले भाला, मुङ्ग्रा र चाबुकले अप्सराको शरीर क्षतविक्षत हुने गरी प्रहार गरे ।   त्यतिकैमा एउटा राक्षससँग मेरो आँखा के जुधेथ्यो, अत्यन्त लामो तरबार लिएर उसले मेरो गर्धनमा प्रहार गर्यो । म जोडले चिच्याएँ ।   सपनाको त्यो आवाज बाहिरै बिस्फोट भयो । जुरुक्क उठ्दा म पसिनाले निथ्रुक्कै भिजेको थिएँ ।  मुटुको चाल नियन्त्रणमै थिएन ।  डर त  छँदैछ, मेरो आवाज अरुले सुनेकी भनेर अलिकति लज्जा बोध पनि भयो ।
          रातको डरलाग्दो सपनाले करियाहीको बेहोशीको संकेत गर्दथ्यो । नत्र किन ऊ आफ्ना बिगत सम्झिन सक्दिन । सपनाकै जस्तै  नभए पनि  पक्कै टाउकोमा भएको कुनै चोटका कारण उसको दिमागले पुराना कुरा गुमाएको हुन सक्छ सोचेर बिहानै घरबाट निस्किएँ ।
          अघिल्लो रातको आत्मयोजना बमोजिम जिल्ला प्रशासन कार्यालय पुग्नु अघि नै  तेजनारायण वकिलसँग भेट भयो ।  विहान चाँडै  घरबाट निस्किएको पनि फाइदै भयो ।
          करियाहीको सबै कहानी सुनेपछि वकिलले आशा व्यक्त गरे । गर्न सकिन्छ । तर सिडीओ साबलाई नै कन्भिन्स गर्नु पर्छ ।
          सिडीओ साबलाई यस विषयमा कुरा गर्ने चाहाना मेरो कहिल्यै पुरा भएन । कार्यालयमा पस्दा उनी कडा स्वारमा निर्देशन दिन थालिहाल्थे । सधैंको व्यस्तता । फेरि एउटा कार्यालय सहयोगीको कुनै मूल्य राख्ने चलन पनि थिएन त्यो बेला । त्यही कुरा हाकिम साबले लिएर गएको भए कन्भिन्स हुन्थे होला । तर न मैले हाकिमलाई दोहोर्याएर  त्यही कुरा भन्न सकें न त मैले कुनै दिन सिडीओ साबलाई करियाहीको कथा सुनाउन नै पाएँ ।  बरु अब सदा दम्पतिबाट तर्किएर हिड्नु भन्दा मेरो अर्को विकल्प रहेन ।
          दुई वर्ष वित्यो । करियाहीले नागरिकता अझै लिन सकेकी छैन । लियोस पनि कसरी ? नाम के हो ?  करियाही ? यो त कैलुले यत्तिकै बोलाउनका लागि राखिदियो – काली भएकीले वा प्रेमले ।  कसकी छोरी हो ? जन्मस्थान कहाँ हो ? कुनै कागज छ ? वाहियात !
***
          एक दिन हाम्रै कार्यालयका मसँगै काम गर्ने कर्मचारी बिलेक्षण यादबले रामायण पाठको प्रसाद खान मलाई समेत बोलाएका थिए । त्यही दिन उनले अर्को रामायण पनि सुनाए । दुई वर्ष अघि आँफैले देखे भोगेको । रामायण पाठको प्रसाद पनि खाइयो । तर अझैसम्म पनि करियाही जस्ता अनागरिकलाई नागरिक बनाउन सक्ने कुनै हाकिम राम बनेर सप्तरीमा आएको थिएन । कि त्यस्तो मानिस यहाँ सुहाउदैन ?
          त्यस रात मैले पनि बिलेक्षण यादबले जस्तै एउटा सपना देखें । तर यसमा करियाहीलाई कुनै राक्षसहरुले बलात्कार गरेनन्, उसको पखेटा पनि काटेनन् । बरु एकजना हाकिमले करियाहीको नागरिकता बनाएर  हातमा थमाउदैथिए । भन्दै थिए- नेपाल सरहद भित्र फेला परेको, पितृत्व र मातृत्वको ठेगान नभएको भनेर वडा र प्रहरीबाट समेत सर्जमिन मुचुल्का आएको थियो ।
          हाकिमप्रति कृतज्ञ भएर करियाही भन्दै थिई- हाकिम बौवा! आँहा हमर दोसर भगवान छिय् ।  आँहाके बहुत बहुत आशिर्वाद अइछ् । छिन्नमस्ता माई आहाँके सदा ईच्छा पूरा करवे ।

अस्तु
राजविराज
मिति २०७७/०४/११ रइव दिन ।
मैथिली भाषा सहयोगीः  अरुण कुमार राम / विष्णु यादब

Wednesday, July 22, 2020

गजलः आकाशमा

यो वर्षा र झरी साथै, बादल छ आकाशमा ।
साँच्चै  के छैन र ! कस्तो मालामाल छ आकाशमा ।।

अमृत वर्षा भए मात्र, जीवन धन्य  यो बन्दछ
बादलु  भित्रको घैला,  छ्यालब्याल छ आकाशमा ।।

निस्कनु पर्छ लौ  चाँडै,  सारा भोक मेटाउन
सबको पेटको रित्तो, सवाल् छ आकाशमा ।।

खेत खेत गराबाट,  गुञ्जिदैछ मीठो धुन
डमरु  र मृदङ्गको, सुरताल छ आकाशमा ।।

जाँऔं  हिंड खुसी खोज्न, किसानको मुहारमा
 उल्लासमय  भयो यस्तो, हालचाल छ आकाशमा ।।

Wednesday, July 1, 2020

गजलः तनाबमा छ मान्छे ....

के गरौ र कसो गरौ, तनाबमा छ मान्छे ।
बच्छ कसरी सृष्टि, दबाबमा छ मान्छे ।।

रोगग्रस्त छ विश्व, आक्रान्त छ विज्ञान,
सयौंपछिको यौटा अभावमा छ मान्छे ।।

प्रकृतिको पनि सहने सीमा हुँदो रैछ,
नसकी सहन उनकै श्रापमा छ मान्छे ।।

यो धर्म अफिम भन्थ्यो, पदार्थ मात्र देख्थ्यो,
धर्म सकिएछ अब त पापमा छ मान्छे ।।

हाइवर्नेसन के हो बुझेकै थिएनछ,
कैले जाला हिमकाल, सन्तापमा छ मान्छे ।।

Wednesday, June 24, 2020

कथाः छेका


मुद्दा फाँटमा केही कामहरु गर्दै थिएँ । अचानक एउटा अत्यन्त आकर्षक विवाहको कार्डसँग  आँखा जुधे । नपढ्ने कुरै थिएन ।
मैथिली भाषामा लेखिएको त्यो कार्डले एकदिन मेरो मथिङ्गल हल्लाउछ भन्ने कुरा जीवनमा कहिल्यै सोचिएनछ । तलदेखि माथिसम्म  दोहोर्‍याएँ ।
उमा रमा सुधि शारदा ब्रह्मा विष्णु महेश । 
शुभविवाह सुखमय करु गौरी पुत्र गणेश ॥
आयुष्मती निर्मला अधिकारी, सुपुत्री हरेराम अधिकारी तथा श्रीमती शान्ति अधिकारी एवम् आयुष्मान बिषेश्वर यादब, सुपुत्र देवनारायण यादब तथा श्रीमती सुनैनादेवी यादबके साथ होवकलेल शुभ परिणयोत्सब समारोहके विविध कार्यक्रमके एहि पुनित अवसर पर उपस्थित भऽ बर-बधुकें शुभआशिष प्रदान कऽ हमरा लोकिनीकें अनुगृहित कयलजाय ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसको बि इ फस्टइयरमा पढ्ने उनीसँग  मेरो परिचय त्यतिबेला भएको थियो जतिबेला म सेकेण्ड इयरको सर्भेइङको कक्षाबाट फर्कदैथिएँ । कक्षा बहिरको कोरिडोरमा अनायसै हाम्रा आँखा चार भएका थिए । मैले दाँया तर्फबाट अघि बढ्न खोजे, उनी दाँया नै लाग्ने । म अर्को तर्फबाट जान खोज्दा उनी उतै जाने । एउटा मीठो बाटो छेकाई । दुबैको मुस्कानको प्रश्नोत्तर  अनि  "जान्छु है!" को  सहमति र छुट्याईले एउटा जीवनामा हम्मेसी भुल्न नसक्ने प्रीतियुक्त चिनजान भएको  थियो । त्यसपछि सर्भेइङको कक्षा मैले कहिल्यै बुझिंन । ध्यानजति उनीमै लगाएँ ।  साथीभाइसँग सोधेरै नाम पत्ता लगाएँ । सायद उनले पनि मेरो नाम त्यसरी नै पत्ता लगाइन् । त्यसपछि हामी एउटा सुन्दर प्रेमपंखी घोडामा सवार भयौं। 
निर्मला । वास्तबमै निर्मल थिई । गोरी, सलक्क परेको कालो केश राशी, गोलो नाक, पातला अधर    उनको आँखामा भएको चञ्चलताले  त हो मलाई हरदम आकर्षण गरेको । हामी एक अर्काको यति नजिक पुग्यौ कि कुनै दिन उनलाई होस्टेलको झ्यालमा बिहान देखिन भने मलाई खाना रुच्दैनथ्यो । उनलाई कक्षा सकेपछि क्याम्पसको क्याफटेरियामै बसेर मसँगै पढ्नु पर्दथ्यो । हामी शुरुमा म्याथमेटिकल एनालिसिस अनि सि प्लस प्लस, फिजिक्स अनि बायोलजीमा रमाउथ्यो । पछि पछि साँझसँगै हाम्रो प्यार छिप्पिएर हामी दुई कुनै ब्लाक होलमा हराउथ्यौं ।  घण्टौ हराउदा हाम्रो भोक प्यासलाई लभडोजले आँफै मेटाइदिएको अनुभुति हुन्थ्यो । साँच्चै प्रेम भन्ने चिज यति सुन्दर हुन्छ, के यो कल्पना प्रेमी बाहेक अरु कोही जान्दथ्यो होला ?
समयको पंखा बायुपंखी घोडाको पंखाभन्दा छिटो घुमेछ । दुई वर्ष भित्रमा म ब्याचलर अफ इन्जिनियरिङको पढाइ सकेर घट्टेकुलोमा डेरा लिई लोक सेवा आयोगको परीक्षा तयारी गर्न थालें । उनले पनि अन्तिम वर्षको जाँच दिइन् ।  हाम्रो प्रेमरथमा कुनै अवरोध थिएन  । तथापी आँखा चार भएको करीब पाँच महिना पछिमात्र थाहा पाएको एउटा रहस्यले मलाई अझै थप रोमाञ्चित बनाउथ्यो । त्यो के भने उनी अधिकारी थरकी मधेशी मूलकी रहिछन् । म  भने पहाडे मूलको थिएँ । तथापी यसले मलाई र मेरो परिवारलाई (?) कुनै फरक पार्ने थिएन । जे होस हाम्रो जोडी अझै दुनियाँलाई ईर्श्याकै विषय थियो । पढाइ इन्जिनियरिङ भए पनि मेरो पछिल्लो समयमा रुचि फेरिएको थियो । म सार्वजनिक प्रशासन तिर आकर्षित भएको थिए । यसैबिच मैले जनप्रशासन क्याम्पसमा भर्ना गर्न भ्याइसकेको थिएँ ।
निर्मलाको जाँच सकिएपछि उनी सप्तरीस्थित आफ्नो पुर्ख्यौली घर गइन् । यो सहन र बानी पर्न मलाई करीब तीन महिना लाग्यो । तथापि सम्पर्क भइ नै रहन्थ्यो । फोनमै उनी भन्थिन  "अब मलाई बिहेको लागि घरबाट दवाब आइरहेछ, तिमी किन छिटो मेरो हात माग्न आउदैनौ ? आँट पुग्दैन भने भगाए पनि हुन्छ त !"
साँच्चै भन्नु पर्दा आफ्नो खुट्टामा नउभिइकन बिहे गर्नु हुदैन भन्ने चेत मेरो दिमागमा हाम्रो प्रेम भन्दा गाढा गरी बसेको रहेछ । यो गाढापन मेरै परिवारमा घटेका विविध घटनाबाट मेरो मस्तिष्कमा छिरेको थियो । तथापि हिम्मत थियो- लोकसेवाको जाँच पास गर्ने वित्तिकै निर्मलाको बाबुसँग ससम्मान वहाँकी छेरीको हात माग्न जान्छु । भित्र मनमा भरखरै दिएको लोकसेवाको जाँचमा पक्कै सफल हुन्छु भन्ने  लागेको थियो । मैले मेरी मायालुलाई पर्ख पर्ख भनी मोहलत मागेकै हो । सायद मैले उनको अनुरोधमा भएका पर्दा पछाडिका सबै घटना बुझिनछु ।  
शुभ परिणयोत्सबको कार्ड त  हो, तर मिति करीब दश महिना अघिकै छ । मैले यकीन गरें- माया झुट रहेछ उनको । एकाएक फोन सम्पर्क समेत विच्छेद गराई चटक्कै माया मारेर उनले त कुनै गैरसँग विवाह गर्न लागिछन् । मैले जसलाई प्रेमले पूजा गरेको थिएँ । निर्मल भनेको थिएँ । पवित्र ठानेको थिएँ । के माया यति सस्तो हुन्छ ?   तीन वर्ष देखिको हाम्रो सामिप्यता यही देख्नका लागि थियो ?  के हाम्रो समुदाय अलग भएकोले हामी एक हुन नसकेको हो ?  निर्मलालाई नै सम्झिएर पहिलो पदस्थापन उनकै जिल्लामा गराएको थिएँ । मेरो सपना कति अघि खरानी भई हावामा उडिरहेछ म आँफै बेखबर रहेछु । म एकोहरो भइरहदा  फाँट अघि आँपको गाछिमा केही थान चराहरु आपसमा झगड्दै बस्न आए । त्यो दृश्यले मेरो स्मृतिको पाना पल्टाइदियो । विवाहको कार्डलाई पल्टाएर हेरें । पृष्ठ भाग उत्तिकै सुन्दर थियो । कार्ड कुनै निबेदनसँग स्टेप्लरले अट्याच गरिएको थियो जसरी म उनीसँग अट्याच हुन चाहन्थें । अमिल्दा र बेप्रसंगका कागजातहरु किन अट्याच गर्नु पर्थ्यो र ?
जिल्ला प्रशासन कायार्लय सप्तरी राजविराजमा चढाएको निवेदन पत्र
श्रीमान प्रमूख जिल्ला अधिकारीज्यू,
जिल्ला प्रशासन कार्यालय, सप्तरी राजविराज ।
विषयः विवाह कायम गराई पाँउ ।
सेवामा मेरो निवेदन यो  छ कि मैले मेरो छोरी निर्मला अधिकारीको सादीका निमित्त सबै तयारी पूरा गरे पनि अन्यायी दुलाहा पक्षबाट आलटाल गरी छेका भएको आज ९ महिना वितिसक्दा पनि विवाह अझैसम्म पनि सम्पन्न हुन नसकेकोले श्रीमानसमक्ष निवेदन गर्न आएको छु । अन्यायी जिल्ला सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नं. ३ बस्ने  बच्चु यादबको छोरा देवनारायण यादबले अन्याय गरेको व्यहोरा यो छ कि मिति २०७४/०९/२० गते ऐ. बस्ने देवनारयण यादबका छोरा श्री विषेश्वर यादबका साथ मेरी छोरीको विवाह निश्चित गरी तिलक दाइजोको रकम रु. १०,००,००० (दश लाख) समेत पक्का पक्की गरिएको तथा छेका पनि सम्पन्न भई सकेको छ । मैले आफ्नो घर घडेरी बेच बिखन गरी उक्त रकम तत्कालै दिइ सकेको छु । जसको भरपाई समेत यसैसाथ पेश गरेको छु ।  मेरी छोरी इन्जिनियर हो उसलाई पढाउँदा मैले जीवन भरीको कमाई खर्चेको छु । यस भन्दा बढी मेरो दाइजो तिलक दिने अर्थिक हैसियत समेत नभएकोमा अन्यायी  दुलाहाको बाबु देबनारायण यादबले तिलक कमी भयो भन्दै अझै थप पाँचलाख तथा मोटरसमेत माग गरी सो उपलब्ध नगराए विवाह नहुने भन्दै मेरो इज्जत आमदमा समेत धक्का पुर्याई विवाह कार्यक्रम हालसम्म पनि हुन नदिएकोले दुलाहालाई झिकाई विवाह कायम गराई पाँउ भनी श्रीमानसमक्ष यो निवेदन चढाएको छु ।
निवेदक जिल्ला सप्तरी विष्णुपुर गाँउपालिका वडा नं. ३ बरही बिरपुर बस्ने हरेराम अधिकारी
मिति २०७५/०८/१० गते रोज ३ शुभम् ।
बरु  पहिलो घटनाले एउटा तर्कना र एउटा निचोडमा पुर्याउथ्यो होला । अब यो दोश्रो घटनालाई कस्तो निचोड दिनु ?  म पुरै रन्थनिएँ ।  आँखा तिरमिर भयो । केही सोच्न सकिन । फाँटका साथीहरुबाट बचेर आँखाको आँशु पुछें । अगाडि सबै अध्यारो भए झैं लाग्यो । त्यहाँ बस्न सकिन । जाने, तर कहाँ ? जुरुक्क उठें । बाहिर निस्किएर बाथरुम तिर गएँ । बाथरुमको त्यो एकान्तमा म स्वतन्त्र रुपमा आँशु झार्न सक्थें । धेरै बेर त्यही बसें । फाँटमा आँउदा एकजना ब्यक्ति मलाई पर्खी रहेका थिए ।
- "प्रणाम हजुर!" मैथिल लवजमा उनले अभिवादन गरे ।
- "प्रणाम, के सेवा  गरौ ?"
-हजुर !  हम्रा कनि न्याय दिलाई पाउनके खातिर यो निवेदन लिएर आएछु ।बुढाले टेबलमा रहेको विवाहको कार्ड अट्याच गरिएको  निवेदन उठाउदै भने ।  थाहा भयो - उनी निर्मलाका बाबु रहेछन् ।
मेरो जीवनको कथांश यति छिटो क्लाइमेक्समा पुगेको एक अर्थले राम्रो थियो । किनकी निर्मालालाई अझै प्रेमको लागि उनकै बाबुको अघि याचना गर्न सक्थें । तथापी यदि उनले मेरो बारेमा पहिल्यै भनिसकेको भए तथा परिवारबाट अस्वीकृत भई अर्को सम्बन्ध कायम हुने क्रममा यस्तो घटना भएको भए मेरो प्रस्ताबले निर्मलाको जीवनमा अझ जटिलताहरु ल्याइदिन सक्थ्यो । मेरो निर्मलाप्रति प्रेम निश्वार्थ थियो । परम्परागत कुनै प्रेमकथाहरुमा जस्तो बिरक्तिएर जीवन बर्बाद पार्ने जस्तो तहको आशक्ति थिएन र त्यसलाई प्रेमप्रतिको समर्पण ठान्न म सक्दिनथें ।   त चाहन्थें उनलाई फूलले पनि नघोचोस् । किनकी उनलाई मैले प्रथम भेटदेखि नै हृदयमा राखेको थिएँ ।  म उनको पति हुन सकिन भने पनि उनको पति जो हो उसले मैले भन्दा बढी माया दियोस- मेरो कामना थियो । सम्भवत यो मेरो अन्य प्रेमीहरुभन्दा फरक सोच थियो । थाह छैन यो प्रेमसिद्धान्तले प्रेमशास्त्रलाई बलियो बनाउछ  वा कमजोर ।
-"आमा !!!........." उनलाई यो भन्दा ठूलो सरप्राइज के हुन्थ्यो होला ? उनी भित्र पस्दा मलाइ हठात् देखेर साँच्चै नै तीन छक्क परिन् ।
  त यसै पनि सम्हालिइसकेको थिएँ । भनें- "आमा होइन, बाबा ।  अनि यो सब के भयो ? यत्रो कुरा प्रगति गरेछौ है , म खुसी हुनु कि दुःखी ?  मलाई  यति छिटै बिर्स्यौ है ।"  हामी बीचको प्रेमको गहिराइ र मेरो प्रश्नको गहिराईलाई हामी दुईले मात्र बुझौं  । बाँकीले नबुझे हुन्थ्यो भनेर सतर्क थिएँ ।  केहि कुरा त भन्नै पर्‍यो उनको बाबलाई सोचेर उनको लागि थपें- " हामी काठमाण्डुमा सँगै पढ्थ्यौ । साथी । पुरानै चिनजान हो ।"
छोरीको साथीलाई हाकिमको रुपमा पाएर बुढा हौसिए –"अरे बाप रे बाप, मलाई किन भनेनौ तिमीले ?" छोरीलाई त्यति भनेर बुढा म तिर फर्किए – "ल बाबु मेरो छोरीको साथी हुनुहुदोरहेछ, खुसी लाग्यो । हामीलाई सहयोग गर्नुपर्यो ।"
प्रेम बिनाको बिवाह अनि त्यस पछिको जीवन कस्तो होला । मुद्दा मामला गरी जितेर ज्वाई किन्नु पर्ने बुढाको कत्रो बाध्यता होला । कल्पेर म के पर्नु ?  छक्क, दङ्ग वा अरु कुनै ? भनें-
"हेर्नुहोस, म तपाईलाई, अझ मेरो साथीलाईदिलो ज्यानले सहयोग गर्छु । तर निर्मला, तिमीले बिना शर्त माया गर्ने कोही भटिनौ है ?  मुद्दा जितेर, रुपैयाँ खर्च गरेर तिमीले कुनै पराईलाई आफ्नो बनाउन कोशीष गरिराखेकी छौ । के तिमीमा बिद्रोह गर्ने सामर्थ्य छैन ? तिमी त यत्रो पढे लेखेकी मान्छे, आफ्नो खुट्टामा उभिन सक्छौ । तिमीलाई बाबुले दिएको दश लाख रुपैया दहेजसँग साटिन साँच्चै मन छ ?  के तिमी उल्टो आँफै पैसा दिई बेचिदैछैनौ ? सोच त !"
निर्मलासँग रुन पनि मलाई भीडले दिएन । धक फुकाएर गाली गर्न पनि सकिन ।  एक पटक  किन धोका दियौ निष्ठुरी भनेर प्रश्न गर्ने सम्म उचीत वातावरण मलाई उपलब्ध थिएन ।  हुन त यसलाई धोका भन्न पनि सक्दिन, त्यो अर्थमा लिन म अझै तयार छैन । मैले निर्मलालाई यसरी बुझ्ने हो भने मैले उनलाई कुनै अर्थमा पनि माया नगरेको ठहर्छ, मायामा स्वार्थ भेटिन्छ- विवाहको स्वार्थ  
जे होस लेखक अहिले निरिह छ । 'स्यालले अंगुर नपाए पछि, छोड्यो- अमिलो रहेछ भन्योभन्ने उखानको प्रहार गर्न पाठक बृन्दलाई आफ्नो क्षमताअनुसार स्वतन्त्रता प्रदान गरिएको छ ।
निर्मला रसिली भई । उनका आँखा लाल भए । उनको त्यो हालतले म झन द्रबिभुत भएँ । दुई वटा ज्वालामुखी एकैसाथ बिस्फोट नहोस भनेर म सजग भएँ । आँखा चिम्लिएँ । अब आज थप सम्बादको लागि म क्रमशः असमर्थ हुँदै थिएँ ।
-"बिद्रोहको कुरा नगर्नु सर । हमर ज्वाईसाब अखन तक बहुत नीक आदमी अइछ ।  लेकिन ओकर बाबुके  कोइ उछाइल देनेछे । मेरो परिवार  र छोरीको इज्जतको सवाल छ ।  फेरि दहेज त मैले निर्मलाकै सुखका लागि दिएको हो । ये त हमसभके परम्परा अइछ । यदि निर्मलाको यो सादि रोकियो भने कुनै लडकाले उसलाई हेर्दैन ।"
उसलाई बिना दहेज नै हेर्न सक्नै म थिएँ । चिनेनौ बुढा । छोरीको प्रेमलाई कुनै मूल्य गरेनौ ।  अझै पनि उसको बिद्रोहमा म साथ दिनेथिएँ ।  तर मैले यो सब कुरा भन्न सकिन ।
मलाई लाग्यो मधेशको पूरा मनोविज्ञान मैले बुझेको छैन । बिद्रोह गरेर मैले निर्मलालाई भगाउँदा निर्मला र म त खुसी हुन सकौला । तर उसको बाबुको समाजमा के नाम रहला । सायद सबैले तिरस्कार गर्लान । उसलाई  गाँउबाट निकालिदेलान् । सबैले हेप्न थाल्लान । उसकी आमालाई आरोप लाग्ला छोरीलाई असल सँस्कार नसिकाएको भनेर । बुढी भए पछि उनकी ममतामयी आमालाई कसैले बोक्सी सम्म भन्न भ्याउला । यी सब कुरा सोचेरे म झन कमजोर भएँ । मेरो पुरुषत्व छैन बराबर भयो ।
यस्तो पनि लाग्यो - दहेज माग्दैमा उसको दुलाहाले माया नै नगर्ने त कहाँ होला र ? छोराहरु पनि त बाबुसँग अंश माग्छन् । झगडा गर्छन् ।  छोराले अंशका लागि बाबुसँग झगडा गर्‌यो, छोरीका तर्फबाट ज्वाईले ससुरासँग । कुरा बराबर । 
अनि फेरिके झगडालाई मधेशको परम्परा सम्झन मिल्ला ? अनि आफ्नो वर्षौ देखिको प्रेमलाई हराएर मधेशको विकृत परम्परालाई जिताउने ?  मलाई दोधार भयो । उनीहरुलाई अब के भनेर पठाउने ? मैले त्यो निवेदनमा कुनै न्यायिक समिति वा जिल्ला प्रहरी कार्यालय वा छलफलका लागि यँही बोलाउने हो, कुनै निर्णय गरी तोक लगाउन सकिन । भनें- एक पटक सि.डि. ओ. साबलाई भेट्नू ।
मैले तोक नलगादिएकोमा बाबु चै निक्कै असन्तुष्ट देखिए ।  निर्मला निरपेक्ष थिई । उसले अर्को फोन नं. लिएकी रहिछ ।  फोन गरौला भनेर आश्वासन दिएँ । आभारी भई । बाबु बाहिर गएको मौका पारेर उसले स्पष्टीकरण दिन थाली । 
 म दुःखी छु हाम्रो सम्बन्धलाई मैले लाख कोशिष गरेर पनि निरन्तरता दिन सकिन । वास्तबमा मधेशीका ज्वाई पहाडिया हुन गार्हो रहेछ । यो मेरो असफलताको अनुभव हो । मलाई माफ गरेर बिर्सिदेऊ । बिन्ति छ । सकेसम्म असल साथीमा सिमित रहौला । हाम्रो सम्बन्धको बारेमा मेरो वहाँलाई थाहा छैन । यो सब मेरो हुनेवालाको वार्गेनिङ हो । हाम्रो फोनमा कुरा हुन्छ । वहाँले मलाई माया गर्नु हुन्छ ।  पीर मान्नु पर्दैन ।"
 उसको त्यति कुरा सुनेपछि  मेरो मन हलुका भयो ।  मेरो असफलता कसैको सफलता सिद्ध हुँदै थियो । एउटा त्यागले प्रेमलाई  निष्कर्षमा पुर्याउदै थियो ।  प्रेमपंखी घोडाको रथमा सारथी फेरिदै थियो ।  कल्पना गरें - मेरी मायालुलाई त्यसै गरी जतनले अंगालोमा बेर्न लालायित थियो सारथी जसरी मैले मायाले बेरेको थिएँ - न्यानो अँगालोमा ।
- "भैगो त   म तोक लगाइ दिन्छु ।यति भनेर निवेदनतर्फ हात बढाएँ । "श्री मुद्दा फाँट, दुबै पक्षलाई कार्यालयमा बोलाई छलफल गराउने ।यति लेखेर सुब्बा साब तर्फ निवेदन राखिदिएँ । 
बाबु चैं अझै जिद्दी गर्दै थिए । प्रहरीमा लेखिदिनु पर्यो भन्दै थिए । तर निर्मलाले बाबुलाई आश्वस्त पार्न कोशिष गरी – " एक चोटी छलफल गरौ न त, यँही । कुरा मिल्छ होला ।"
फाँट अगाडिको रुखमा भएका चराहरु झगडा गर्न छोडी हामी तर्फ नै चासोसाथ हेर्दैथिए । निर्मलाले मलाई सँधैका लागि छोडेर ढोका बाहिर निस्किई । बाबु केही असन्तुष्ट हुँदै बाहिरिए ।
बाहिरको चियापसलमा कसैले रेडियो खोल्यो । "………………. मुठी एक उँच छथीन सीयाके सजनवाँ हे ......... सिया के सजनवा सखि हे दशरथ के ललनवाँ हे ............................मुठी एक उँच छथीन ………. श्यामल गोर किशोर मनोहर आयल जनक भवनमाँ हे माथपर ........."
छलफल हुनुभन्दा अघि नै मेरो सरुवा भएकोले मैले रमाना लिएँ । निर्मलालाई फोन गरेर  बिस्तारै बस्न लागेको खाटो कोट्याउन अझै हिम्मत जुटेको छैन ।
अस्तु । 
 - मिति २०७७/०३/१० राजविराज, सप्तरी