Thursday, January 12, 2017

गजलःगणतन्त्र ल्याँउछु भन्यौ, बदलेर भेष

गणतन्त्र ल्याँउछु भन्यौ, बदलेर भेष
चारै तिर सल्काएर ताप्न थाल्यौ देश ।।१।।

छद्मभेषी नेता पायो मेरो देशले किन ?
जनतालाई घोडा बनाइ दौडाउछन् रेश ।।२।।

बिचल्ली छ जनताको तिमी भने सधैं मस्त,
तिम्रो फो’री खेलका मारे मूलुक होला शेष ।।३।।

अग्रगामी मुद्धाहरु एक तिर फ्याँकी,
सत्ता सत्ता भन्दै कति देशलाई लाउछौ ठेस ? ४।।

बुझ्नु पर्छ , राष्ट्र के हो ? के हो यसको लक्ष ?
केले बढ्छ स्वाभिमान, केले  डुब्छ देश ? ५।।

व्यक्ति भन्दा माथि उठ, दल भन्दा अझ माथि
किन बुद्धि पलाउदैन फुलिसक्दा केश ? ६।।

Saturday, January 7, 2017

सूचना

यस भित्रका सामग्रीहरू साहित्यका पाठक तथा अध्ययनमा रूची रहने विद्यार्थीहरूका लागि उपयुक्त रहेका छन् । कम्प्युटरबाट सिधै पढ्न गाह्रो हुदा  आवश्यक सामग्रीहरू प्रिन्ट गरी पढ्न समेत सकिन्छ । तर प्रतिलिपि अधिकार लेखकमा सुरक्षित रहेकाे हुँदा कसैले बिना अनुमति प्रकाशन, प्रशासरण गरेकाे पाइएमा कानून बमाेजिम कारवाही हुने व्यहाेरा अनुराेध छ ।

- जनार्दन कट्टेल 

प्रशासनमा समन्वय र प्रविधिकाे प्रयाेग

— जनार्दन कट्टेल

सरकारले राज्यका तर्फबाट जनतालाई प्रदान गरिने सेवा नै सार्वजनिक सेवा हो । यसरी सेवा प्रबाह गर्दा कहिले निशुल्क त कहिले सिमित वा लागत अनुसारको शुल्क लिने गरिन्छ ।  हुनत सार्वजनिक सेवा हाल नीजि क्षेत्र र सामूदायिक र गैरसरकारी क्षेत्रबाट समेत प्रदान गरिन्छ तथापी यस आलेखमा सरकारका तर्फबाट गरिने सार्वजनिक सेवा, त्यसमा भएको समन्वयको अवस्था र प्रविधिको प्रयोग सम्बन्धी केही विश्लेषण गर्ने प्रयास गरिएको छ । 
हाल प्रविधिको प्रयोग भई प्रदान गरिएका सेवाहरुमा नागरिकताको प्रमाण पत्र, मतदाता परिचय पत्र, अनलाइन बोलपत्र, लोक सेवा आयोगको अनलाइन दरखास्त फाराम, शुरु हुनै लागेको अनलाइन राहादानी फाराम, आदि सिधैं जनताले अनुभुति गर्न पाउने सेवाहरु हुन् । तर यिनीहरुपनि पूर्णरुपमा अनलाइनमा आधारित छैनन् । आंशिक रुपमा प्रविधिले सहयोग गरेको छ । साच्चै भन्नु पर्दा यी सेवाहरु अझै पनि सेवाग्राहीभन्दा पनि सेवा प्रदायकउन्मूख रहेका छन् । सेवा प्रदायकले प्रयोग गर्ने अन्य अनलाइन सेवाहरुमा निजामति किताबखानाको PIS,  अर्थ मन्त्रालयको ASSICUDA, RMISभूमी सुधार मन्त्रालयको LMIS आदि उल्लेख्य मानिन्छन् । त्यसो त सबै निकायका बेवसाइटहरु छन् । सूचना जानकारी लिन सकिन्छ । तर नेपालमा न त सेवा प्रदायककोे आफ्नै लागि, न त सेवाग्राहीको लागि, पूर्णरुपमा प्रविधिको प्रयोग भएको एउटै निकाय छैन भन्दा अत्युक्ति नहोला । 
प्रविधिको प्रयोगले समन्वयलाई सघाउ पुर्याउँछ । विभिन्न निकायहरुबीच ती निकायहरुले गर्ने क्रियाकलापहरुमा सकारात्मक सम्बन्धको स्थापना गर्ने कार्य नै समन्वय हो । अर्को शब्दमा संगठनका विभिन्न पक्ष जस्तै  — इकाइहरु, संगठनमा आवद्ध व्यक्तिहरु, सरोकारवाला समूहहरुमा कार्यस्तरीयता र प्रभावकारिताको लागि सम्बन्धन गर्ने , एकीकरण गर्ने र समान्जस्यता कायम गरी सबै पक्षहरुलाई लक्षोन्मूख बनाउने कार्य हो समन्वय । राम्रो समन्वयका लागि प्रभावकारी संचार आवश्यक पर्छ र प्रभावकारी संचारका लागि प्रविधिको निर्विकल्प प्रयोग हुनु पर्छ । 
हामीकहाँ  भएका समन्वय सम्बन्धी केही समस्याहरु यहाँ प्रस्तुत गरिएको छ ।
एउटा नागरिकले १६ वर्ष हुँदा नागरिकता प्राप्त गर्छ । उसले पछि राहदानी प्राप्त गर्न, मतदाता परिचय पत्र बनाउन अपांगता परिचय पत्र बनाउन वा अझ वृद्ध-वृद्धा परिचयपत्र बनाउन बेग्ला बेग्लै र झन्झटिलो प्रक्रिया अघि बढाउनुपपर्छ । किनकी नागरिकता बनाउन जुटेका प्रमाणहरु अन्य निकायमा हुदैनन् । र ती प्रमाण आफैले नदेखेसम्म अन्य निकायले सम्बन्धित सेवा दिदैनन् । एउटै प्रमाणका लागि सेवा ग्राही चारतिर दौडन्छ । 
निर्माण कार्यको स्थिति त्यस्तै छ । एउटा निकायले सडक पीच गरेको महिना दिन नबित्दै अर्को निकायले पाइपलाइन विच्छ्याउन वा ढल खन्न सडक भत्काउँछ ।
एउटा निकायले सडक वा कुनै विद्युत प्रसारण लाइन निर्माणको लागि बजेट छुट्याउछ र कार्य प्रारम्भ गर्छ, अर्को निकायले बनको रुख काटेको भनी उपभोक्ता समिति र ठेकेदारलाई मुद्धा हाल्छ ।
पर्यटनसंग सम्बन्धित निकायले ताल सफा गर्न त्यहाँ रहेका झ्याउ र अन्य बनस्पति झिकेर सफा गर्छ अनि सोही कुरा वातावरणसंग सम्बन्धित निकायलाई पच्दैन । वनस्पति कार्यालयले तगारो हाल्छ ।
सहकारीले दिनु पर्ने सहकारी सम्बन्धी तालिम, लेखा तालिम, व्यवस्थापन सम्बन्धी सचेतना महिला तथा वालकालिका कार्यालयले दिदै हिड्छ । अझ पहिला महिलाहरुको समूह बनाउने त्यसपछि फेरि त्यही समूहलाई सहकारीकरण गर्ने भनेर आफ्नै काममा दोहोरो पना पनि देखिन्छ  ।
प्रविधिकै प्रयोगमा पनि भिन्न निकायले भिन्न भिन्न सफ्टवेर कम्पनिबाट आफ्नो अनलाइन एप्लिकेशन तयार गरेका छन् । त्यसमा कुनै इन्टरलिंक छैन । कुनै समन्वय छैन । 
उचित समन्वयको अभावमा हाम्रो मन्त्रालयहरुको कार्यविभाजन कस्तो छ एक पटक त्यता हेर्दा पनि केही सुझ्छ कि । नेपाल सरकारको कार्यविभाजन नियमावली २०६९ ले सत्ताइसवटा मन्त्रालयको नाम आफ्नो अनुसुचीमा उल्लेख गरेको छ । सरकारलाई आफ्नो अनुकुल मन्त्रालयको संख्या थपघट गर्न मिल्ने गरी राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर गर्न सकिने प्रावधान समेत राखिएको छ । यता हाम्रो राजनीतिक सँस्कार कस्तो छ भने मन्त्रालयको संख्या कार्य विभाजनमा आधारित नभई मन्त्री हुने उम्मेदवार /दावेदारहरुको संख्यामा भर पर्छ । त्यसैले कहिले मन्त्रालयको संख्या बढेर ३१ पुग्छ  र कहिले १  वा २ अंकले खुम्चन्छ । 
मन्त्रालयको बाँडफाँड पनि उपयुक्त छैन । जस्तै — बन तथा भूसंरक्षण मन्त्रालयँंग वातावरण बढी नजिक देखिन्छ । तर वातावरणलाई विज्ञान प्रविधिसँग जोडिएको छ । सूचना तथा संचार मन्त्रालय भित्रको एउटा विभाग, हुलाक सेवा विभागको हाल सान्दर्भिकता नै अन्त्य भएको  छ । संचार क्षेत्र विज्ञान प्रविधिसँग नजिकको हुनाले संचारलाई विज्ञान प्रविधिसंग जोड्दा के विग्रन्छ र ? उसै पनि प्रशासनिक सुधारका लागि गठित सबैजसो आयोगहरुले मन्त्रालयको संख्या घटाउने र प्रशासनको निजामति सेवाको उपयुक्ताकार बनाउने भनेर सुझाव दिएका दियै छन् । तर हाम्रो कार्यान्वयन ?  अर्को तिर निजामती कर्मचारीको दरबन्दी सिर्जना गर्दा, थपघट गर्दा O & M सर्भे गर्नु पर्ने प्रावधान रहेको छ । त्यस्तो सर्भेक्षणमा कार्य विश्लेषण, कार्य विस्तृतीकरण, कार्यमूल्यांकन र कार्य विवरणलाई ध्यान दिनु सट्टा लहड र एक दुई जनाको तर्कको आधारमा दरबन्दी सिर्जना र थपघट गर्ने गरेको पाइन्छ । यसले गर्दा कुनै अड्डामा कामको अत्यधिक चाप छ, जसले सेवा प्रवाह नै प्रभावित बनेको छ  । कुनैमा काम नभएर कर्मचारी घाम तापेर बसेका छन् । 
यी सम्पूर्ण विषयवसतुहरुको निचोडलाई हेर्ने हो भने हाम्रो सेवा प्रवाहमा तलका समस्याहरु देखिन्छनः 
  • सेवाप्रवाह गर्दा नीतिगत तह देखि कार्यान्वयन तह सम्म नै समन्वयको अभाव देखिन्छ । 
  • समन्वयको अभावमा सेवा कतै झन्झटिलो, कतै अनावश्यक, कतै बढी खर्चिलो त कतै नाम मात्रको सेवा दिएर मेवा खाने व्यापार बनेकाेछ  । 
  • कुन निकायको कार्य के हो प्रष्ट भएन । एउटा निकायले अर्को निकायको कार्य गर्यो । अझ कतिपय ठाँउमा त एक निकायले अर्को निकायको  मुख ताक्दा कामै भएन । 
  • दुई वा सोभन्दा बढी निकायबीचको द्वन्द्वात्मक स्थिति र विरोधाभाष कार्यशैलीले गर्दा  जनताले अनावश्यक दुःख पाए । 
  • सुशासन नाममा मात्र सीमित रहयो । 
यो समस्याको एक मात्र समाधानको उपाय भनेको  असल समन्वय र सेवा प्रवाहमा प्रविधिको प्रयोग नै हो ।  तर कसरी ?  कुनै पनि निकायको कार्य अर्को सँग नबाझिने गरी प्रष्ट रुपमा तोकिनु पर्छ । अटोमेसनमा आधारित एप्लिकेसनहरुको प्रयोग गरिनुपर्छ र त्यस्ता एप्लिकेसनहरुमा अन्तर मन्त्रालयगत / अन्तर निकायगत इन्टररिलेसनसीप हुुनुपर्छ । प्रविधिमा आधारित एप्लिकेसनहरु तयार गर्दा विज्ञान तथा प्रविधि मन्त्रालयले समन्वयात्मक भूमिका खेल्नु पर्दछ ।
निर्माणसँग सम्बन्धित कार्य गर्नु पूर्व त्यहाँ कुन कुन सरोकार निकायहरु, समूहहरु व्यक्तिहरु आकर्षित हुन्छन्, सबैसँग समन्वयात्मक बैठक, छलफल गरी योजनाबद्ध तरिकाले कार्य गर्नु पर्छ । योजनाहरु तय गर्दा नै समन्वय गरेर मात्र तय गर्नु पर्छ । 
अटोमेसनको एउटा उदाहरणबाट हेरौं — नागरिकता जारी गर्दा नै नागरिकको सिटिजनसिप आइ. डी नम्बर उपलब्ध हुन्छ । त्यसपछिका सम्पूर्ण सेवा सोही आइ. डीका आधारमा उसले प्राप्त गर्छ । उसको सम्पूर्ण प्रोफाइल सोही आइ. डीबाट प्राप्त हुन्छ । सायदै यसले देशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, भ्रष्ट्राचार नियन्त्रण जस्ता कुरामा समेत सहज बनाउँछ । अझ यो आई. डी जन्म दर्ता कै क्रममा उपलब्ध गराउनु उपयुक्त हुन्छ । सरकारले राष्ट्रिय परिचय पत्रको अवधारण अघि सारेको छ । पक्कै पनि यो प्रविधिमा आधारित होला । यसले प्रत्येक नागरिकलाई एउटै पहिचानको आधारमा सबै निकायबाट सेवा प्रदान गर्न मद्दत पुग्नेछ । फेरि नागरिकतालाई विस्थापन नगर्ने गरी यसको व्यवस्था गरियो भने एकै प्रयाजनको सेवामा दोहोरोपना कायम हुने देखिन्छ ।
अन्त्यमा जुनसुकै देशको पनि स्थायी सरकार र घरदैलोको सरकार भनेको सार्वजनिक प्रशासन नै हो । यो निर्बैयक्तिक र तटस्थ हुन्छ । सार्वजनिक प्रशासन राजनैतिक एजेण्डाहरुको कार्यान्वयनमा प्रतिवद्ध समेत रहनुपर्छ । चुस्त र छरितो प्रशासनयन्त्रबाट मात्र जनताले  सरकार र अशल शासनको अनुभुति गर्न पाँउछन् । यसो भएमा निजामति सेवाप्रतिको नकारात्मक दृष्टिकोण कमजोर भएर जान्छ । यसका लागि प्रविधिको प्रयोग अनिवार्य छ । प्रविधिको प्रयोगले नै हाम्रो समन्वय गर्ने क्षमता र समन्वयको प्रभावकारिता बढाउछ । त्यसैले एक्काइसौ शताब्दीको कम्प्युटर र इन्टरनेटले प्रदान गरेको अवसरलाई उपयोग गर्दै संचार प्रविधिमा आधारित सेवा प्रवाहको शुरुवात गरी देशलाई सम्वृद्धिको दिशातर्फ डोहोरयाउनु आजको आवश्यकता हो । यसका लागि सम्बन्धित सबैको ध्यान जान जरुरी देखिन्छ ।
प्रतिकृयाको लागिः  janardan.kattel@gmail.com.

Friday, January 6, 2017

अभिलेख व्यवस्थापन

अभिलेख व्यवस्थापनको परिचय, उद्देश्य, आवश्यकता र महत्व
भविश्यमा हुन सक्ने सम्भावित प्रयोगका लागि राखिने लिखित दस्तावेज, कागज, टाइप, मुद्रण वा कम्प्युटर प्रिन्टबाट निकालिएको प्रमाणित सामग्री लाइ अभिलेख भनिन्छ ।  निश्चित प्रयोजनका लागि अधिकार प्राप्त अधिकारीद्वारा  तयार पारी प्रमाण वा सूचनाको लागि सुरक्षित राखिएको महत्वपूर्ण दस्तावेजलाई अभिलेख भनिन्छ ।
कुनै व्यक्ति, संस्था वा संगठनले दैनिक कार्य सम्पादनका क्रममा सिर्जना भएका सूचना, तथ्यांक एवं प्रमाणहरुलाई भविश्यमा उपयोग गर्न सकिने गरी व्यवस्थित तथा क्रमबद्धरुपपमा राख्ने पद्धतिलाई अभिलेख व्यवस्थापन भनिन्छ ।

अभिलेख व्यवस्थापनको उद्देश्य


  1. प्रमाणको रुपमा प्रयोग गर्नु
  2. कर्मचारीलाई आवश्यक सूचना प्रदान गर्नु 
  3. कार्यालयमा रहेका प्रमाण सूचना कागजात आदि लिखतहरुको व्यवस्थित एवं वैज्ञानिक ढंगले र सुरक्षित रुपले राख्ने ।
  4. कार्यालयमा प्राप्त भएका र पठाइएका कागजातहरुको विषयगत क्षेत्रगत दर्ता क्रमअनुसार वा कुनै संकेत चिन्हको प्रयोग गरी व्यवस्थित गरी राख्नु । 
  5. चाहिएको समयमा अभिलेख तुरुन्त प्राप्त गर्नु । 
  6. कार्यालयमा आएका नयाँ कर्मचारहिरुलाई पनि अभिलेख राखिएको विषय बुझ्न सजिलो हुने ।
  7. मिसिल, कागजात तथा कुनै पनि डकुमेन्टलाई किरा धमिरा ,चिसो आदिबाट जोगाउनु
  8. राम्रो अभिलेख व्यवस्थापन भएमा सेवा प्रवाह चुस्त, छरितो र प्रभावकारी बन्छ साथै कार्यलयको समेत शोभा तथा ख्याती बढ्छ ।

अभिलेख व्यवस्थथापनको आवश्यकता 

  1. कुनै पनि संगठनलाई व्ययवस्थित, मर्यादित राख्दै कार्यालाई सरल, प्रभावकारी , मितव्ययी बनाउन
  2.  महत्वपूर्ण दस्तावेजहरुको गोमनीयता कायम गर्न ।
  3. निर्णयमा हुन सक्ने चलखेललाई नियन्त्रण गर्न 
  4. निरिक्षण,  सुपरिवेक्षण, अनुगमन र मूल्यांकनमा प्रभावकारिता हासिल गर्नु । 
  5. भावी नीति  योजना , कार्यक्रम, बजेट निर्माणको लागि सहयोग पुरयाउनु । 
  6. महत्वपूर्ण दस्तावेजलाई सुरक्षित राख्नु ।
  7. थोरै स्रोत साधनको लगानी बाट धेरै सूचना तथा तथ्यांकहरुको उचित भण्डारणको व्यवस्था गर्न । 
  8. संस्थागत स्मृतिलाई सबल बनाउन 
  9. महत्व, उपयोगताका का आधारमा वर्गीकरण गरी अनावश्यक तथा म्याद पुगेका कागजातहरुलाई धुल्याउन ।
  10. कागजातको जिम्मेवारी सार्न, हस्तान्तरण गर्न, दायित्व सुम्पने कामका लागि


अभिलेख व्यवस्थापन चक्र 
अभिलेख व्यव्स्थापन भित्र अभिलेख सिर्जना वा प्राप्ति देख यसको प्रयोग, भण्डारण , पुनप्रयोग र अन्त्यमा धुल्याउने सम्मका क्रियाकलापहरु पर्दछन । अभिलेखको यही जीवन चक्र लाई अभिलेख व्यवस्थापन चक्र भनिन्छ ।


 नेपालको सार्वजनिक प्रशासनमा अभिलेख व्यवस्थापन सम्बन्धी समस्याहरु 
  1. प्रशासनिक प्राथमिकतामा अभिलेख व्यवस्थापन पर्दैन । 
  2. अभिलेख पराम्परागत हिसाब ले राखिनु 
  3. अभिलेख व्यवस्थापन सम्बन्धी उपयुक्त नीति नहुनु ।
  4. खोजेको बेला अभिलेख प्राप्त गर्न नसक्नु  ।
  5. अव्यवस्थित अभिलेख का कारण कतिपय अड्डामा विचौलियको समेत प्रभाव देखिएको ।
  6. अभिलेख व्यवस्थापन शाखामा काम गर्ने कर्मचारीहरु उच्च मनोबल युक्त नहुनु । 
  7. बरबुझारथ प्रक्रिया औपचारिकता मात्र रहनु ।
  8. पुराना अभिलेख हरु किरा धमिराले खाई सडेको अवस्थामा हुनु, त्यसको उचित संरक्षण नहुनु । 
  9. नयाँ प्रविधि प्रयोग सम्बन्धमा दक्ष कर्मचारी नहुनु , अन्य साधन स्रोतको अभाव तथा इच्छा शक्ति समेत नदेखिनु ।
  10. कर्मचारीमा अझै पनि Change resist culture  विद्यमान रहनु ।

उपयुक्त समस्या समाधान गर्नका लागि केही सुझाबहरु

  • अभिलेख व्यवस्थापन सम्बन्धी उपयुक्त नीति तय गर्ने ।  
  • नयाँ प्रविधिमा आधारित अभिलेख प्रणालीको विकास गर्दै जाने , MIS  को प्रयोग क्रमश सबै अड्डामा विस्तार गर्दै जाने । 
  • स्रोेत साधनको उचित प्रबन्ध गर्ने,
  • कर्मचारीहरुलाई पर्याप्त तालिमको व्यवस्था गर्ने 
  • पुरातात्विक तथा ऐतिहासिक अभिलेखहरुको ःष्अचयाष्mिष्लन वा म्ष्तष्शबतष्यल गर्ने 
  • कानून बमोजिम धुल्याउन समयावधी नाघेका अभिलेखहरु अनिवार्य धुल्याउनु पर्ने व्यवस्था गर्ने 
  • कर्मचारी कासमू सँग अभिलेख व्यवस्थापनलाई आवद्ध गर्ने 
  • सरुवा हुँदा बरबुझारथ गर्ने प्रक्रियालाई सार्थक बनाउने 
  • अभिलेख राखिने ठाउँको उचित व्यवस्थापन गर्ने, सुख्खा राख्ने, किटनासक औषधीको प्रयोग  गर्ने आदि ।


कार्यालय व्यवस्थापन


 कार्यालय  र कार्यालय व्यवस्थापनको अवधारणा र महत्व
शाब्दिक अर्थमा कार्य गर्ने निश्चित स्थान नै कार्यालय हो  । यो संगठनको इकाइ हो ।  प्रशासनिक अर्थमा प्रशासनिक कार्यहरु सञ्चालनार्थ कर्मचारीहरु उपस्थित भई आफ्ना सेवाग्राहीका सरोकारका विषयहरु माथि विभिन्न क्रियाकलाप गर्ने निश्चित स्थान, भवनलाई कार्यालय भन्न सकिन्छ । कार्यालयमा सामान्यतया निश्चत उद्देश्य प्राप्तिका लागि कर्मचारीहरु, सेवाग्राहीहरु, भौतिक सरसामग्री, सूचना प्रविधि वा सोको संयन्त्र तथा कार्य प्रक्रियाको संयोजन गरिएको हुन्छ । कार्यालयमा सधै स्थान मात्र नभै यसले गर्ने कार्य महत्वपूर्ण भएकोले कार्य स्वयं पनि कार्यालय हो ।

कार्यालयका कार्यहरु

आधारभुत कार्यहरु

  • सूचना प्राप्त गर्नु र संकलन गर्नु 
  • सूूचना तथा जानकारीको अभिलेखन गर्नु
  • सूचनालाई व्यवस्थित गर्नु र विश्लेषण गर्नु 
  • जानकारी प्रप्त गर्नु 

सहायक कार्यहरु

  • व्यवस्थापकीय कार्य 
  • कर्मचारी सम्बन्धी कार्य 
  • जनसम्पर्क, समन्वयात्मक कार्य 
  • सम्पत्तिको सुरक्षा कार्य
  • कार्यालय सामग्री र मसलन्दको व्यवस्था गर्नु 
  • समन्वय गर्नु 


 कार्यालय व्यवस्थापनको अवधारणा
कार्यालयको काम कारवाहीलाई प्रभावकारी बनाई सेवा प्रदान गर्ने कार्य स्वतस्फुर्त बनाउन गरिने सम्पूर्ण क्रियाकलाप नै कार्यालय व्यवस्थापन हो । 

अर्को शब्दमा भन्दा कार्यालयमा हुने स्रोतहरुको प्रभावकारी संयोजन र परिचालन तथा उपयोग गरी अवश्यक नतिजा प्राप्त गर्न उद्यत रहने कार्य नै कार्यालय व्यवस्थापन हो । सामान्यतया कार्यालयमा मानवीय स्रोत, भौतिक स्रोत, वित्तिय स्रोत, सूचना स्रोत, अभिलेख तथा संस्थागत संझना, बजार, तथा बाह्य वातावरण आदि स्रोतहरु विद्यमान रहन्छन् । यी स्रोतहरुको उपयुक्त ढंगले संयोजन, परिचालन, प्रयोग गर्ने कला र व्यवस्थापकीय विज्ञानलाई कार्यालयीय व्यवस्थापन भनिन्छ ।

कुनै पनि कार्यालय सूचारु रुपले  सञ्चालन गर्न र कार्यालयका कामहरुलाई सुसंगठित , सुव्यवस्थित, वैज्ञानिक एवं प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि गरिने Planning, Organizing, Staffing, Directing, Coordinating, Monitoring, Budgeting, Reporting  /  evaluating सम्मका कार्यहरुलाई कार्यालय व्यवस्थापन भनिन्छ । 



कार्यालय व्यवस्थापनका विशेषता

  • कार्यालय  व्यस्थापन एउटा कला साथै विज्ञान पनि हो । 
  • कार्यालयले सम्पादन गर्ने निश्चित उद्देश्यमा केन्द्रित हुन्छ ।
  • कार्यालयमा भौतिक, वित्तिय, मानवीय तथा सूचना स्रोत रहन्छन् । जसको निपुर्णता पुर्वक परिचालन, संयोजन र समन्वय  गरिन्छ । 
  • व्यवस्थापनलाई वाह्य र आन्तरिक वातावरणले प्रभाव पार्छ । 
  • कार्यालय व्यवस्थापनको प्रतिविम्ब सेवाप्रवाहमा झल्कन्छ ।  


कार्यालय व्यवस्थापनको महत्व 

  1. संगठनको कार्यालय तहको उद्देश्य समयमै हासिल गर्न कार्यालयको उचित व्यवस्थापन हुनुपर्छ । 
  2. साधन स्रोतको अधिकताम उपयोग गरी लागत कम गर्न 
  3. नाफा अभिवृद्धि गर्न, सार्वजनिक सेवा प्रदान गर्ने कार्यालयको हकमा सरल र  प्रभावकारी रुपमा सेवा प्रवाह गर्न 
  4. प्रभावकारी रुपमा सूचना तथा सञ्चारको उपयोग गर्न
  5. उपयुक्त कार्य, वतावरण निर्माण गर्न
  6. कर्मचारीको वैज्ञानिक व्यवस्थापन गर्न, उत्प्रेरित र सक्षम कर्मचारी प्राप्त गर्न 
  7. परिर्वतन र विकासलाई  संस्थागत गर्ने
  8. कार्यललयलाई परिवर्तनबाट  सिर्जित अवसर उपयोग गर्न सक्षम तुल्याउन 
  9. काममा समन्वय र एकरुपता कायम गर्न 
  10. जनसम्पर्क स्थापित गर्न 


मैले नबुझेकाे बोर्डिङ स्कूल

हिल्डा तावा र मन्टेशाेरीकाे नाम बेचेर,
टायलर र डिवेकाे नाम बेचेर
व्यापारिक केन्द्रकाे शैलीमा स्कूल खाेलेछाै
किनकी तिमीले राज्यले गर्न नसक्ने काम गर्नु छ,
साना नानीहरूलाइ बाल सुलभ शिक्षा दिएर ।

मैले,
तिमीले बच्चालाई यातना दिएकाे देखेकै छैन ।
तिमीले मन्टेशाेरीले भने जस्तै गरी खेलकाे विधिबाट मात्र
सिकाएकाे देखेकाे छु
रूसाेले भने  झैं प्रकृतिबाट सिक्ने अवसर  दिएकाे  देखेकाे छु

म अविभावक,
अझ तिम्राे भाषामा गार्जियन,
मेरा अाफ्ना कुरा पनि तिमी सुन्छाै,
ध्यान  दिएर ।
किनकी तिम्राे भन्दा मेराेसाथमा बच्चा धेरै समय रहन्छ ।
तिमी सुकीर्ति हाै,
तिमीमा कुनै विकृति  नै छैनन्
 तिम्राे सुधार गर्ने ठाँउ नै छैनन् ।
किनकि तिमीले टि क्यु एम पद्धति जानेका छाै,
त्याे त व्यवस्थापनमा प्रयाेग हुने, कहाँकाे स्कूलमा !
तैपिन तिमीले अविभावकसँग निरन्तर छलफल गर्छाै, सुधारका लागि
अझ अभिभावकलाई
अाफ्नाे कुरा मञ्चबाटै राख्न  दिएकाे देखेकाे छु मैले
तिम्राे वार्षिक उत्सबमा ।
नराम्राे  शिक्षककााे बारेमा कुनै टिप्पणी गर्दा-
चित्त नबुझे अर्कै स्कूलमा लैजानु भन्ने
तिम्राे अाेठे जवाफ मैले सुनेकै छैन ।

तिम्राे स्कूलका शिक्षकहरू -
बच्चालाई क्लास वर्क दिएर घाम पनि तापेका छैनन्
बच्चलाई गाली गर्दैनन् , यातना दिदैनन्
शिक्षण विधि - विद्यार्थी केन्द्रित छ,  अादर्श छ
सबै  शिक्षकहरू तालिम प्राप्त छन्
तिम्रा शिक्षकले बाेलेकाे
कति शुद्ध,
कति सभ्य,
कति  शिष्ट
कति प्रभावकारी  सिकाइ
कति उपलब्धी मूलक
मेट्रिककाे नतिजा हेरेरै थाहा हुन्छ
सब एक से एक , सब ए प्लस
अाहा !

बरू म मुर्ख अविभावक,
किनकी म मेराे नानीलाइ कुटी कुटी घाेकाउनु भन्छु,
हाेम वर्क जति सक्दाे धरै दिनु भन्छु ,
मेराे नानी जसरी नि फष्ट हाेस भन्ने चाहान्छु
बरू व्यवहारिक ज्ञानकाे मतलब गर्दिन
मलाइ ए प्लस भए पुग्छ ।
मेराे नानीलाइ देश सिकाउनु पर्दैन ,
मेराे नानीलाइ सँस्कार र सँस्कृति सिकाउनु पर्दैन
व्यवहार  सिकाउनु पर्दैन ।
उनीहरूलाइ अाइ इ ए एल्टी एस र टाेफेलमा पास हुन सिकाए हुन्छ

अफसाेस,
कसैले तिमीलाइ  बाेइलर कुखुरा उत्पादक भनेछ,
कस्ताे लज्जास्पद !!
तिमीलाइ राज्यले कर पाे मागेछ !
तिमी कम्पनि एेन अनुसार दर्ता भएका हाै र कर तिर्ने ?
समाज सेवा गर्ने तिमी
अाफ्नाे लगानी गरेर
नाफा रहित
तिमीले कमाएकाे मैले देखेकाे छैन
तिम्राे  सम्पत्ति त, पुर्ख्खयाेली पाे त !
बरू स्कूल चलाएकाले तिमी कति गरीब भयाे हाेला !!
त्यसकाे मुल्यांकन खै त ?

नयाँ वर्ष

यस्तो चिसो मौसममा
किन आयौ?
के वसन्तको हरियाली मन पर्दैन?
कि कोइलीको सुरिलो स्वरले झर्को लाग्छ?
खै ! तिमी आएको
मलाई त खासै मन परेन ।
हुन त तिमीले डलर खुब कमाएर ल्यायौ होला
तिमी सॅग आइ एन जि ओ ले दिएको सवारी होला
चिसो छेक्न सक्ने
ए सी युक्त ।
सयद तिमी शक्तिसम्पन्न छौ
र त सास्कृतिक रूपमा अरूलाई परास्त गर्न सक्छौ ।
globalization को हतियार लिएर ।
धर्मनिरपेक्षता र
मानब अधिकार
अनि समावेशीकरण आदि आदिका
ढाल लिएर ।
हुन त हामी पनि उस्तै छौ,
हिन्दी प्रति हुरूक्कै हुन्छौ ,
दौरा सुरुवालमा भन्दा टाई सुटमा भलाद्मी सम्झन्छौ
आफ्नै सॅस्कृतिलाई सराप्छौ
इतिहासलाई धारे हात लगाउछौ
राष्ट्रिय विभुतिलाई थुक्छौ
क्रीसमसमा सार्वजनिक छुट्टी दिन्छौ र
हाम्रो आफ्नै चाड पर्वहरूलाई छुट्याउछौ
यो फलाना र ऊ ढिस्काना जातको भनेर ।
अनि आफ्नो मौलिकतालाई अवमूल्यन गर्छौ ।
जे भए पनि तिमी आए पछि
स्वागत गर्नै पर्यो ।
चिन्ता नगर!
हाम्रो सरकारले
तिम्रो आगमनलाई केही बर्ष भित्रै
सार्बजनिक विदा गरेर औपचारिक स्वागत गर्नेछ
बैसाख 1 लाई गोली मारेर ।

Thursday, January 5, 2017

कथाः रीमा


दशैको छुट्टी मानेर काठमाण्डू फर्कने क्रममा बसको टिकट काट्न हतार हतर काउन्टर तिर हुर्रिदै थिएँ ।'पहाडसम्म जान सहयोग गरिदिनु न अंकल !' चौध पन्ध्रकी काली काली केटीका यस्तै भावका केही कामेका अस्पष्ट शब्दले म तानिएँ । मलाई लाग्यो- माग्ने पनि अनेक बहाना तय गर्न थाले मानिसहरूले । 'किन पहाड जानु पर्यो नि, तिमी मधेषकी मान्छेले ? त्यहाँ तिम्रो को छ र ?'  मैले यस्तो प्रश्न गरेपछि त्यो केटी  रून थाली । मैले त्यो रुन्चे केटीमा कुनै रहस्य होला भन्ने अनुमान गर्ने कुरा पनि भएन । मैले टिकट खरिद गरें- काठमाण्डूको । उसलाई त्यत्तिकै छाडेर म आफ्नो झोला लिएर बसतर्फ गएँ र आफ्नो सीटमा बसें । केही बेरमै बस काठमाण्डौको लागि रमाना भयो । बसको आघिल्लो सीटमा थिएँ म । बस हिडेपछि देखे ड्राईभरको बायाँ पट्टिको बर्नेटमा मपट्टि नै फर्केर त्यही केटी बसेकी थिई । यसले मेरो पीछा गरी होला भन्ने त सोचिन । त्यसैले, र हामी आमने सामने नै भएर बसेकोले गर्दा मैले नबोल्नुपर्ने कारण देखिन । तिमी पहाड जाने बाटो सोध्ने मान्छे,  किन काठमाण्डूको बस चढ्यौ त ? ऊ केहि पनि बोलिन । बरू आँखाबाट आँशु झार्न थाली । मेरै सामने एउटी केटी रोइरहेकी थिई । मलाई असजिलो लाग्यो । केहीबेर झ्‍यालबाट बाहिर हेर्ने निहुँ गरेर अर्को पट्टि फर्किएँ । बसले सुरुङ्गा आएर दुईजना यात्रु थप्यो  र आफ्नो गति लियो । कन्काई नदीको पूल पार गरेपछि कन्डक्टर टिकट चेक गर्दै आयो । मैले आफ्नो टिकट देखाएँ । त्यस केटीको टिकट थिएन । कण्डक्टरले त्यस केटीलाई 'पैसा तिर, नत्र बसबाट झारी दिन्छु'  भन्यो । त्यो केटी रोइरही । धेरै बेर कण्डक्टरले विवाद गरेपछि मैले भने 'योसँग पैसै भए जस्तो लाग्दैन, कहाँ हिडेकी हो, अघि मसँग पैसा माग्दै थिई काउण्टरमा । पहाड जाने भन्थी, फेरि यता आइछ ।' मेरो कुरा सुने पछि कण्डक्टर उल्टै मतिर खनियो । 'तपाँईको मान्छे रहिछ, त्यसो भए पैसा तिर्नु पर्यो नि ! पैसा नतिर्ने आइडिया गरेको कि कसो ?' उसले मेरो पहाडिया भएर पनि कालो कालो लाग्ने छालालाई ब्यङ्ग्य गर्दै भन्यो 'हेर्दा दाजु बहिनी झैं लाग्छन्, फेरि नचिनेको बहाना गर्नु !' कण्डक्टरको कुरा सुनेर उत्साहित भएको खलाँसीले थप्यो, 'हुनेवाला लोग्ने स्वास्नी भन्नुस न, के को दाजु बहिनी नि !' यसरी कण्डक्टर र खलासीहरू मप्रति लगातार खनिएपछि  मैले भने ‍- 'भाइ! दाजु बहिनी, लोग्नेस्वास्नी जे देख्छौ हामी त्यही हौं । तिमीलाई पैसा चाहिया होइन, बर्नेटमा बसेर गएको कति लिन्छौ ?' पैसा पाउने सुईको पाएपछि तिनीहरू सम्हालिइहाले । तुरुन्तै कण्डक्टर पेशागत धर्ममा फर्कियो 'मिलाएर दिनु न।' मैले तीन सय रूपैयाँ त्यसका हातमा हाल्नै लाग्दा केटीले भनी 'म यहीं ओर्लन्छु ।' त्यसपछि भने म बडो असमज्जमा परेको थिएँ ।
मञ्जु म्याडम, र म एउटै विद्यालयमा कार्यरत थियाैं। वँहाले एउटा 'काम गर्ने मान्छे' चाहिएको कुरा गर्नु भएको थियो । मैले त्यही केटी लगिदिनु पर्यो भनेर मनमनै सोचिसकेको थिएँ । केटी अचानक बसबाट झर्न खोज्दा म केही समस्यामा परेको थिएँ । तै एक चोटी  फकाइहेरूँ मानिहाल्छे कि भन्ने लाग्यो । 'कहाँ हिडेकी तिमी? आखिर तिमी पहाड जाने भन्दै थियौ, यता आएछौ, फेरि बीचमा झरेर झन अलपत्र पर्छौ । बरू मसँग हिड । म तिम्रो मद्दत गर्छु ।' त्यसो भनेपछि त्यो अलमल्लिई । मैले पुन दृढताका साथ त्यही कुरा दोहोर्‍याएर फकाउन प्रयास गरें । उसले भनी 'त्यसो भए म तपाँईकै भर परेर तपाँईसँग जाँउ त ?'
मैले भने - 'तिमीलाई कस्तो भर चाहिएको हो, त्यो त मलाई थाह छैन । तिमी कसैको घरमा काम साम गरेर बस्ने भए म मिलाइदिउला । हेर्दा खेरी घरबाट भागेकी जस्ती छ्यौ । नानी ! छोरीमान्छेको घर नहुदा त साह्रै बिजोक हुन्छ । घरबाट भागेको भए भन, किन त्यस्तो निर्णय लियौ ?  तिमीले आफ्नो यथार्थ बतायौ भने मलाई मद्दत गर्न सजिलो हुन्छ । त्यसपछि ऊ मसँगै काठमाण्डौ जाने भई । पैसा तिरेपछि  हाम्रो सँगसँगैको सीट कायम भयो ।एउटै सीटमा बसेपछि मैले उसको समस्या के हो, फेरि सौधें । त्यसपछि ऊ लगातार पोखिदै गई ।
000000
म साँच्चै नै घरबाट भागेकी हुँ । सायद मसँग अर्को विकल्प पनि थिएन ।
रसीदले बीचबजारबाट जबरजस्ति ताने पछि ममा निराशा छायो ।त्यसो त पहिले नै पनि अत्यन्त उराठ लाग्दो र पट्याईंलाग्दो रतुवा खोलाको बगर हेर्दा मन दिक्दार हुन्थ्यो । धेरै टाढा टाढा उत्तरमा देखिने नीला पहाडहरू हेरेर कति खुल्दुलीहरू उठ्थे । पहाडहरू हेरेर, त्यहाँको सुखी जीवन र सुखी संसारका खुसीहरूलाई कल्पनामै भोगेर सिध्याइन्थे । किन किन त्यो रतुवाको बगरले खिन्नता भन्दा बढी केही दिन सकेको थिएन । त्यो बगरले बोकेको नैराश्यता, उराठ लाग्दो, उकुस मुकुस हुने वातावरणमा कहिले काँही त यस्तो लाग्थ्यो   - त्यो गाँऊ - ठेकीटोला नै चटक्क छोडेर कतै टाढा नयाँ दुनियामा जाँऊ । बिस्तारै नयाँ ठाँउमा कुनै न कुनै तरिकाले समायोजन भइएला । सायदै यहाँ भन्दा राम्रो होला किनकी यहाँ त राम्रो भन्ने नै केही छैन । एउटा अभाबग्रस्त सुकुम्बासी परिवारमा जन्मेकी महत्त्वाकांक्षी केटीलाई के नै पो आवश्यकता पूरा हुन्छ र परिवारसँग रहदा ? मैले रतुवाको बगरमा जन्मेर हुर्केर के पाँए ? के मैले जीवन पाए पछि जीवनले उपभोग गर्न पाउनै पर्ने अधिकार सुख सुबिधा पाँए ? मेरो अर्थ के थियो ? के हो ? मैले समाजमा स्वतन्त्रतापूर्वक जिउन पाउनु  मेरो हक, अधिकार थियो वा थिएन ? मैले शिक्षा कति पाउनु पर्थ्यो ? यस्ता विविध तर्कनाले टाउको फुट्ला जस्तो गरी दुखेर आउथ्यो ।
के मैले ६ कक्षा पढ्दा पढ्दै जवरजस्ति मेलाबाट तानिएर रसीदकी स्वास्नी हुनु जायज थियो ? थिएन भने मलाई मेरा सारा आफन्तले मिलेर, एक मुख लागेर, 'रीमा, हाम्रो परम्परा नै यही हो, जा रसीदसँगै तेरो भाग्य लेख्या रहेछ' भन्नूको अर्थ के थियो ? म तेह्र वर्षकी केटी, रसीदको वास्तविक उमेर मलाई थाह छैन, तैपनि ऊ पैंतीसभन्दा घटिको होइन । के यो दुई जनाको उमेर हेर्दा विवाह गर्न सुहाउथ्यो त ? म आफ्नो बाबुको भन्दा सायदै पाको उमेरको मानिससँग किमार्थ बिवाह गर्न सक्तिनथें । जे होस फूलपातीको दिन दामुना बजारमा लाग्ने मेलाबाट रसीदले मलाई जबरजस्ती तानेपछी मेरो जीवन अत्यन्त नारकीय बन्न पुग्यो र म घर छोड्न बाध्य भएँ ।
म दामुना ७ नम्बरको जनज्योती निम्न माध्यमिक विद्यालयमा पढ्दैथिएँ । झापाको सुदुर पश्चिमी गाँउ कोहबरा भरीमा यो स्कूल दोश्रो ठूलो थियो । दश कक्षा सम्म पढाई हुने गरेको चप्रामारीको स्कूल त्यहाँबाट निक्कै टाढा पर्थ्यो। गौरीगञ्ज स्कूल  झन टाढा थियो। त्यसो त हाम्रो टोलमा कसैको पनि पढ्ने चलन थिएन। सात कक्षामा पढ्ने कबिराज राजबंशी र म मात्रै ठेकी टोलाका सम्पूर्ण विद्यार्थीहरू थियौं। सम्पूर्ण स्कूल पहाडिया टोलका केटाकेटीहरूले भरिएको थियो ।
आमाले जुटका झल्लाहरू बुनेर गोधुलीको बजारमा बेच्न लैजाने गर्नुहुन्थ्यो । यो नै हाम्रो परिवारको गुजारा गर्ने राम्रो माध्यम थियो । त्यसवर्ष पनि दसै अघि देखि नै चाडबाड मनाउने धान किन्न भनेर झल्ला बिक्रिको लागी ठिक्क पारेर राखिएका थिए । तर ती बिक्री भएका थिएनन् । म घर छोडेर अनिश्चित दिशा तर्फ हिड्दा तिनै झल्लाहरूलाई सम्पत्तिको रूपमा लिएर हिडेकी थिएँ ।  
फुलपातीको दिन, वर्षौ देखि मधेषी समुदायको साँस्कृतिक मेला लाग्ने गर्छ दामुना बजारमा । म पनि मेला हेर्न आफ्नी आमासँग दामुना बजार गएकी थिएँ, त्यस दिन । दामुना बजार गाई, गोरू, भैसी,  आदि पशुको बजार लाग्ने ठाँउ, बिक्री केन्द्र । सिख्टी तिरबाट आएका मीयाहरू, धेरै पैसावाल ब्यापारीहरू यँहा आउने गर्छन- पशु किन्न । यिनले पहाडिया बस्तिबाट ल्याइएका पशुहरू किनेर लैजाने गर्छन । दशैको रमझमले एकातिर छपक्कै छोपेको दामुना बजार, चहुरको एक कुनामा लिङ्गेपिङ हालिएको थियो । मानिसहरू पिङ्गमा मच्चिरहेका थिए । अर्को कुनामा दबाई बेच्नेले ठूलो स्वरमा टेप बजाई रहेको थियो 'ढील जुम्रा मार्नेका दवा, उडुस उपियाँ मार्नेका दवा ... ...।' एक कुनामा जादुगर आफ्नी बच्चीलाई अग्लो डोरीमा नचाइरहेको थियो चर्को बाजाको तालमा- छन छननन छन, छननन छन, छन छन, छन छन । आफ्नो आफ्नो ध्याउन्न, यो मेलाको रौनक वास्तवमै अर्कै थियो । चहुरको एउटा कुनामा रोटेपिङमा कति मानिसहरू लगातार घुमिरहेका थिए । यो देखे पछि मैले पनि आमासँग रोटे पिङ खेल्ने प्रस्ताव राखें । तर मेरो उत्साह तुरुन्तै तुसारापात भयो। किनकी आमाले मेरो सोचाई विपरित जवाफ दिनुभयो । त्यँहा पहाडिया मानिसहरू, धनीहरू खेल्छन्, हाम्रो लागि त्यो बनाईएको होइन । 
अन्त्यमा हामी राजबंशीहरूको खेल हेर्न पुग्यौं । छोटो मैलो लगौटी लगाएका, छातिमा त्यान्द्रे भोटो भिरेका, सायद यी पेशाक नयाँ हुँदाहुन त यी सेता देखिदा हुन् । तर मधेशीहरूको कालो छालालाई  चुनौती दिने भएका थिए मैलोले । यस्तो मैलो लुगा लगाउँदा तिनलाई कुनै संकोच सम्म थिएन । उनीहरूको चेतनाले सायद मैलो र सुकिलो छुट्याउन्नथ्यो । (मलाई पहाडियाहरूले लगाउने पोशाक देख्दा ईर्श्या लाग्छ।) केही सन्थाली भुस्तिघ्रे लाठेहरू पनि राजबंशीहरूको चाबुक नृत्यमा समेल थिए । उनीहरू आफ्नो हातमा भएको चाबुकले साथीलाई मर्ने गरी हान्थे । कहिले त उनीहरू  एकै चोटी मरेको जस्तो अभिनय गर्थे भने कोही जादुको शैलीमा तिनीहरूलाई ब्युझाएको झैं पनि गर्थे । जे होस दामुना बजारमा आयोजित यो नाँच अत्यन्त डरलाग्दो थियो। पहाडियाहरू र बाहिरबाट आउने पर्यटकलाई यसले भरपुर मनोरञ्जन दिदो हो । डोरीले नाङ्गो छालामा जति नै साह्रो हिर्काए पनि तिनीहरू दुखेजस्तो नमान्ने साह्रै ज्याद्रा थिए । कति पहाडियाहरू पनि यो नाचको दृश्य हेर्न मस्त थिए । यसै नाचमा सम्लग्न थियो रसीद हस्ता ।
मोटा, बाँउठिएका पिडुला, चाबुक खेलाउने डरलाग्दा हात खुट्टा भएको र भक्का पकाउने हण्डीको पींध झैं कालो अनुहार भएको  रसीद हामी फर्कनै लाग्दा बाटो छेक्न आएको थियो । त्यतिबेला म डरले काली नीली भएकी थिएँ । उसले भन्यो 'रीमा तिमी त हिड्न लाग्यौ ? मसँग हिड, म तिमीलाई स्वास्नी बनाएर राख्छु ।' कस्तो निर्लज्ज मानिस ! आफ्नी आमाको हात समाएर हिडेकी सानी केटीको जबरजस्ती हात खोस्न आउँछ। मलाई ऊ प्रती अत्यन्त घृणा जागेर आयो । एक क्षण आमाले केही प्रतिकार गर्नुहुन्छ कि भनेर मैले आमाको मुख तिर हेरें । आमा भने केही नभएजस्तो भावमा हुनुहुन्थ्यो । मलाई यो देखेर झनसाह्रो निराशाले छोप्यो । म डरले गर्दा 'के उत्तर दिने' भनेर सोच्न नसक्ने अवस्थामा थिएँ । मैले 'नाँई जान्न' मात्र भन्न सकें र  रोएँ । म निक्कै जोडले रोएको सुनेर ठूलो भीड नै जम्मा हुन लाग्यो । सन्थालीहरू 'ए! रसीदले केटी तान्न लागेको रहेछ । केही होइन ।' भन्दै फर्किए । मानौं मेरो हात समातेर तान्ने रसीदको आधिकार नै थियो । मेरो पर्याय रसीदकी स्वास्नी नै हो निशर्त । मधेशी समूदायका सबैलाई सामान्य लागेको कुरा मैले भने किन पचाउनै सकिन ? पहाडियाहरू रमिते थिए । उनीहरू भन्दै थिए 'खै यी सतारहरूको कुरा बुझिदैन । मेलाबाट जबरजस्ती तान्नु नै यिनीहरूको विवाहको प्रक्रिया हो । अनौठो सँस्कृति ।' म रोइरहेकी थिएँ, उता रसीद मलाई झाँगल झुँगल पारिरहेको थियो । यति बेलासम्ममा मेरी आमा हराइसकेकी थिइन । आफनी आमाको यो ब्यवाहारले अत्यन्त रिस उठ्यो, म अत्यन्त लाचार भएँ । म रसीदका बलिया हातहरूले जकडिएकी थिएँ । रसीद मलाई जबरजस्ती तानिरहेको थियो । ऊ चुपचाप हिडिरहेको थियो । जसले गर्दा म बाध्य थिएँ - पशुवत अघि बढ्नलाई ।
मेरोलागि यो जीवनकै ठूलो अन्याय हुदै थियो भने उता मेरो परिवारलाई यो कुनै घटना नै थिएन । हामी केटीहरूले यसतो अन्यायलाई अन्याय नै मान्नु हुदैन, सहज लिनु पर्छ भन्ने मेरो परिवार त के सारा सन्थाल समुदायमा धारणा बसेको थियो । मेरी आमालाई मेरा बाबुले आजभन्दा बीसवर्ष अघि यसैगरी तानेर स्वास्नी बनाएका हुन रे । मेरै दिदी फूलसरीलाई गौरादह तिरको रन्वीर मुर्मूले त्यसैगरी तीनवर्ष अघि तानेर लगेको थियो । मैले यो घटना आफूमा पनि घट्न सक्ने  कल्पना त्यतिबेलै गरेकी थिएँ जतिबेला मेरी दिदी हातमा नीलडाम देखाउदै रुनूहुन्थ्यो । नाईनास्ती गर्दा रन्वीरले अत्यन्त यातना दिएर जवरजस्ती गर्यो रे । मैले प्रत्येक रात रसीदबाट बलात्कृत भइने अत्यन्त डरलाग्दो र पीडादायी घटना अब घटेरै छाड्ने भयो भनेर अन्दाज गरिसकेकी थिएँ । यसबाट छुटकारा पाउन मैले बुद्धिले काम गर्ने र मौका मिल्ना साथ भाग्ने सोच बनाएर  दामुना बजार कटे पछि  खुरू खुरू हिड्न थालें । सहज हिडाई हिडेको देखेर रसीद रमारहेको थियो । हण्डिको पींध जस्तो कालो अनुहारको बीचमा दुईटा सेता दाँत देखाउथ्यो । के गरोस, ऊ सँग भएको सेतो त्यत्ति होला। सबै कालो - न काया न मन । रसीद मेरोलागि मसान थियो । म कृतिम खुसीसाथ मसानघाट जादै थिएँ ।
केही बेरमा रसीदको आँगनमा पुगियो । रसीदकी अर्की पनि स्वास्नी रहिछ । आँगनबाट रसीदले कराएर आफ्नी स्वास्नी, बुढी आमा र भुराभुरीलाई बोलायो र मलाई चिनायो । केटाकेटीले मलाई छोटी माईं भन्ने भए । छोटी माईं पाएर उनीहरू खुसी भए । उसकी आमा र स्वास्नीले केही प्रतिक्रिया जनाएनन् । बुढी आमा सरासर भित्र गएर हण्डीमा राखेको अलिकती दही र  अलिकती हर्दी लिएर फर्किइन् । रसीदले मलाई हर्दीको टीका लगाइदियो । आमाले दिएको दही अलिकति जुठो हालेर मलाई त्यही जुठो दही खान लगायो । मैले मुस्किलले ओठमात्र दहिमा पुर्याइदिएँ । यो सबै प्रक्रियाको अर्थ म अब रसीदकी स्वास्नी भइसकेकी थिएँ कान्छी स्वास्नी । तर मेरो मनले यो कुनै कुरा स्वीकार गरेको थिएन । म त केबल मौकाको प्रतिक्षामा थिएँ । 
आकाशमा कालो बादलले ढाकेर पानी पर्ला जस्तो भइरहेको थियो । कालो बादल र घरका जीवित मुर्दाहरूको मनको अन्धकारबीचको तादम्यता खपिनसक्नु सुहाएको थियो । म भित्र लगिएँ । साँघुरो घरको एक कुनामा डोरीको खाट राखिएको थियो । मलाई त्यही बसाएर रसीदले भन्यो 'अब तिमेरू घरमा बस, म मासु खोज्न जान्छु । आज साथीहरूलाई बोलाएर रमाइलो गर्नुपर्छ । बरू मासु पकाउन अलि धेरै गुईठा खोजिराख । बाहिर तिर पनि घर सफा सुघ्घर गर ।'
मैले सुनेकी थिएँ, आइमाईलाई सौताको रिस जस्तो केही कुरामा पनि रिस उठ्दैन । त्यसो भए रसीदकी जेठी स्वास्नीलाई म देखि किन रिस नउठेको । सौताहाल्ने पोइदेखि किन रिस नउठेको ? रसीदकी स्वास्नी हेर्दा सन्थाली सम्प्रदायमा महिला कति दास बनाइएका रहेछन् प्रस्ट हुन्थ्यो । सन्थाली पित्रीसत्तात्मक सोचले गर्दा, कुसँस्कृतिको अन्धकारले गर्दा महिलाको जीवन साँच्चै कुनै पाल्तु जनावरको जत्ति पनि सार्थक थिएन । म त्यो भावशुन्यता देखेर छक्क परिरहेकी थिएँ । रसीदकी स्वास्नी प्रति मलाई अत्यन्त दया लाग्यो । तर मैले आफूलाई दया गर्नु पर्दैनथ्यो त, त्यस्तो बेला ? रसीदले अर्की स्वास्नी ल्यायो यसमा कसैको गुनासो छैन । मानौ केही भएकै छैन । वा यो कुनै घटना नै होइन । साँच्चै भन्दा परिवार सङ्ख्या बढ्दा कमसेकम तिनीहरूलाई के ख्वाउने, कसरी पाल्ने चिन्ता हुनु पर्ने होइन ?  रसीदलाई कुनै फिक्री छैन । मानौ उसलाई सम्पत्तिको कुनै कमी छैन । त्यहाँको वातावरण हेर्दा यस्तो लाग्थ्यो यिनीहरू सबै यन्त्रवत चल्छन् , यिनीहरूको चेतना पशुको जत्ति पनि छैन । संवेदना शून्य, दिमागका रित्ता रोबोर्टहरूको संसारमा मेरो मात्र टाउको दुखिरहेको छ ।
बिस्तारै साँझ पर्दै गयो । बादल आकाशमा छाएकाले गर्दा चन्द्रमा पनि मेरो सङ्कट हेर्ने मनसुवा त्यागेर कतै त्यसै बादलको गर्भमा अलप थिइन् । म गुईठा खोज्न सघाउने बाहानामा साँझ पर्नु अघि देखि नै खेत खलियानहरूमा सुरक्षित स्थान खोज्दै थिएँ । यसै बीचमा मैले रसीदको घरको पछाडि बाक्लो मन्सुली धान ढलेको देखेकी थिएँ । प्रशस्त गुइठा जम्मा भइसकेको थियो । अँध्यारोमा म 'चारवटा गुईठा छुटेका छन, लिएर आउछु' भनेर कसैको उत्तरको प्रतिक्षा नगरी सुटुक्क बाहिर निस्किएँ । धन्य शशी ! आज तिमी बादलमा लुक्यौ, र त म पनि ढलेको धानमा लुक्न सकें, नत्र उज्यालोमा मेरो केही जोर चल्ने थिएन । आफ्नो सास दवाएर म अझै राम्रो परिस्थितिको कामना गर्दै जमिनमा लेटिएकी थिऐँ ।
केही छिनमा रसीद मासु लिएर आयो । उसले मासुको पन्नी आमालाई राख्न दिदै सोध्यो 'रीमा कहाँ छ ? चालचुल छैन त ? '
रसीदकी आमाले भनिन्- ' गुईठा छुटेका छन भन्थी कहाँ गइछ ?' रसीदले सोच्यो गुइठा लिन गएकी रीमा आउछे । समय बित्दै गयो । विस्तारै आमा र रसीदकी जेठी स्वास्नीले गुइठाको आगोमा मासु पकाए । भात र खेसरीको दाल अघि नै पाकिसकेको थियो । तिनीहरूले पकाएको मासुको वासनाले घरवरीपरी ढाकेको थियो । रसीदको अनुहारमा मासुको बास्ना सँगै रीमाको अनुपस्थितिले ढाक्यो । कता कता मासुको बास्ना पनि नमीठो लाग्यो । माईत गई क्यारे,  भोली त आउली नि- यही सोचेर आफ्नो मनलाई सान्त्वना दियो । तर उसले घरको यता उता हेर्ने सोच बनाएन ।
गाँउघरका करीब पाँच सात जना साथीहरू आए । उनीहरू भन्दै थिए 'ए रसीद, दुलहीलाई माइत पठाइस् कि क्या हो ? आज सुहाग रातको दिन किन पठाएको त ?' रसीदको अन्दाज र साथीहरूको अन्दाज मिलेर सबैको अन्दाज भयो र त्यो अन्दाज बलीयो भयो । रीमाको चिन्ता गर्नु पर्ने कुनै कारण रहेन । उनीहरू केही बेरमै मासु र रक्सी खानमा ब्यस्त भए । रक्सीको मात सँगै उनीहरूको गफ पनी मात्तिदै गयो । घरमा भएकी आमा, स्वास्नी र केटाकेटीहरूको अगाडि उनीहरू निर्लज्ज र छाडा प्रकृतिका कुराहरू गर्न थाले । उनीहरूका कुरा सुन्दा मलाई नै लाज लाग्न थालिसकेको थियो । मैले सोचें अब यिनले मलाई आज खोज्दैनन् । त्यसैले म विस्तारै त्यहाँबाट निस्केर अँध्यारोमा छामछुम गर्दै निस्किएँ । पछाडि पट्टि निक्कै परबाट घुमाउरो बाटो भएर म आफ्नो घर गएँ ।
मैले आफ्नो घर जान कुनै संकोच मान्नु पर्ने ठनिन । सरासर घर पुगें । घरको आँगनमै कदमका फेदमा बाबु र काका बसेका रहेछन् । मलाई देख्दा मेरो बाबु झस्कनुभो । 'के तँ भागेर आइस?' मैले हो भने ।
काकाले मलाई धेरै बेर लगाएर सम्झाउनु भयो । हाम्रो संस्कृति परम्पराको कुरा गर्नुभयो । म केही नबोलेको देखेर उहाँले गफको सिलसिलालाई सन्थाल जातिको उद्गमस्थल र हालको बसोबास भएको ठाँउको बारेमा बताउनु भयो । सन्थालीहरूको  बसोबास मूख्य गरेर झापाको पूर्वी भाग र दक्षिणमा भएको र निक्कै अल्पसङ्ख्यामा  भएको भनेर उहाँले भन्नु भयो । हामी थोरै सङ्ख्यामा भएकोले गर्दा हाम्रो पहिचान कायम राख्न हामीले कुनै पनि हातलमा हाम्रो परम्परा छोड्न हुदैन  रे ।
आमा भन्दै हुनुहुन्थ्यो, तैले कदमका पातका दुना गाँसेर हर्दीमा डुबाउनु र तिनमा आफैले चामल राखेर आफन्तहरूलाई निम्ता गर्नु । अनि हामीलाई पनि निम्ता गर्नु । तिमीहरूको बिहेमा हामी पनि आउने छौ । बिहान हर्दीले शरीरमा लेपन गरेर दुलाहा दुलहीले नुहाउनु । दिउसो माञ्जीहाडम (मूखिया) लाई बोलाएर तिम्रो र रसीदको बिहे गर्नु पर्छ । तैले बिहे भोजको चिन्ता लिनु पर्दैन । त्यो सबै रसीदले गर्छ । रसीदले आफ्नो ससुरालीलाई पक्कै रिझाउला, रिझाउने नै भन्थ्यो । हामी धेरै पनि खोज्दैनौ । गच्छे अनुसार नै केही चामल दश बोतल जति रक्सी, एक दुई धार्नी मासु दिएर हाम्रो मान राखे भैगयो । तँ नजिकै परिस् । सतारका छोरीको कर्म यस्तै हुन्छ । चिन्ता नगर । तेरी दिदीको हालत तैले देखिस नै होला । भनेको नमान्दा रन्वीरले अलिअलि अर्जापेछ । बिनासित्ती दु:ख मात्रै पाई । चुप लाग्नु नै तेरो कल्याण छ ।
आमाले अरू पनि के के भन्दै हुनुहुन्थ्यो, मेरो साहस थपिदै जान्थ्यो । रतुवाको बगरबाट देखिने नीला पहाड जहाँ हाम्रो जाति छैन पहाडिया बस्तीमा कसैको गोठाल्नी भएर पनि मेरो पढ्ने ईच्छा चुलिदै थियो । किनकी त्यहाँ रसीद जस्ता क्रुर सतार हुदैनन् । ससुराली रिझाएको भरमा कसैकी छोरी जबरजस्ती खुलेआम तानेर बिहा गर्ने संस्कृति त्यहाँ छैन । यी सतारहरू निगुरो टिप्न जाँदा होस, कसैको मेलापात जाँदा होस्, सन्थाली पातामेलाबाट होस् गिद्दले झैं नवयौवना तरूनी हरूमाथी आँखा गाड्छन् र जबरजस्ती तान्छन् चाहे  त्यो किशोरीले चाहोस वा नचाहोस । अझ भनौं त्यसले शारीरिक मानसिक परिपक्वता हासिल गरेको होस वा नहोस् । परम्पराका भरमा संस्कृतिको नाममा यिनीहरू सदियौं देखि उपद्रो गर्दा छन् । केटीका बाबुहरू खुसीसाथ यो पचाउन सक्छन् किनकी तिनीहरू खुकुरी हुन् । जसले जहिल्यै अचानोमाथी प्रहार गर्छ, अचानाको पीडा थाहा पाउदैन । उनीहरू तिनै पातामेलाबाट केटी तानेर ल्याउने बहादुर पुरुष हुन् । केटीका आमाहरू पुरूष प्रधान समाजका कारणले, चेतनाको स्तर कम भएकाले यही कुरा ठीक भन्छन् । किनकी बाबुहरूको ठीक नै आमाहरूको ठीक र बाबुहरूको बेठिक आमाहरूको बेठिक हुन्छ । यहाँ यसको अर्को बाटो छैन,  बिकल्प छैन । म लगातार चुप लागेको देखेर हो वा आफना कुराहरू सबै सकिएर हो । बाबु आमा तथा काका चुप लागे ।
अत्यन्त साघुरो र होचो लाग्ने  हाम्रो घरको बाहिर पट्टीको आधा भागमा भान्छा छ । त्याहा होचो चुल्हो र चुलहाको छेउमा एउटा माटाको सुराही भुइमा गाडिएको छ । केही थाल बटुका र भाँडाकुडा चुल्हा माथी रहेको भारमा झुण्ड्याइएको छ । बाबु र आमा भित्र पट्टीको भागमा सुत्छन । म भने त्यही भान्छाको अर्को कुनामा सुकुलमा केहीबेर होमवर्क गरेर सुत्नेगर्छु । अब भोली देखी त्यहाँ कोही सुत्दैन । मेरा बा आमा पनि हुने छैनन् दशैको छुट्टी पछि म दामुना  स्कूलमा पढ्न जाने पनि छैन । यत्रो धेरै बिद्यार्थीमा कुनै पनि पहाडिया सरहरूलाई मेरो केही याद सम्म आउने छैन । न खोजी, न खबरी । म यो सिङ्गो समाज र हाम्रो समुदायलाई मेरा बा आमा निदाए पछि छोडेर जाने छु । उज्यालो हुँदा कमसेकम म दमक बजार पुगिसकेको हुनेछु । मन मा यस्तै कुरा खेली रहेका थिए । केही बेरको सन्नाटालाई चिर्दै आमाले भन्नु भयो 'अनि खाना केही खाईस कि ? ' बाबु र आमाले अघि नै भात खाई सकेका थिए । उनीहरूको कुरा र ब्यवाहारले यस्तो लाग्थ्यो कि म प्रति उनीहरूको केही कर्तब्य नै छैन । दिउसो एउटा भुस्तिघ्रेले तानेर आमासँगै हिडेकी केटीलाई लग्यो, उसले खान दियो वा दिएन, राम्रो व्यवाहार गर्यो कि गरेन केही मतलब छैन । आफ्नै सन्तान प्रति अत्यन्त गैर जिम्मेवार आमा बाबुदेखि मलाई अत्यन्त रिस उठ्यो । औपचारिकता निभाए जस्तो प्रश्न सुनेर मेरा  रौं ठाडा भए, कन्सिरी ताते । मैले भने 'बिहानदेखि पानी समेत खाएको छैन । भोक नलाग्नु पर्ने ।' यति भन्दा अरू बोल्न सकिन । मेरा आँखा बाट रिस र घृणा तथा भोक पानी बनेर बग्न थाल्यो । मन लागि रहन्थ्यो डाँको छोडेर रोऊ। आमाको काखमा घोप्टिएर घुँक्क घुँक्क रोऊँ । तर के गर्नु आमा त्यस्ती निर्दयी छिन् बाबुको के कुरा, संस्कृतिको नाममा चलनको नाममा रोवोट वा यन्त्र बनाइएका यी सतारहरू प्रति  भित्र भित्र आन्दोलित हुनु भन्दा कुनै अर्को उपाय मसँग थिएन । फेरि यो मैले आज कुनै हातलमा पनि ब्यक्त गर्ने कुरा थिएन । बाहुलाले आँशु पुछ्दै हातले मूख छोपेर आफ्नो आवाज नियन्त्रण गरे । पेटमा भोकको राँको दन्किएको थियो । भने मनमा सन्त्रास छाएको थियो । हरे ! सम्पूर्ण दामुना निदाएको मौकामा यो गाँउ छोडी अरू दश गाँउ टाढा रातभरीमा पुग्नु छ । यसै योजनामा आफू फेरि सोचमग्न हुन पुगेछु । यसै बीचमा आमाले दुइवटा ठूला ठूला भक्का पकाइदिनुभयो । मैले भोकको सितनसँग खपाखप दुईवटै भक्का एकै क्षणमा खाइसिध्याएँ । अन्त्यमा सुराहीबाट पानी झिकेर चुपचाप एक लोहोटा पानी पिएँ ।
रात छिप्पिदै गएकाले काका  अघि नै केही पर भएको आफ्नो छाप्रो तिर सुत्न गईसकेका थिए । मैले भक्का खाइसक्दा नसक्दा बाबु घुर्न थालीसकेका थिए । पानीको गिलास राख्दा ट्वाक्क आवाज आयो । आवाज सँग आमाले मट्टितेलको धिब्री निभाउनु भयो । घर पुरै अन्धकार भयो । त्यो भन्दा आन्धाकार थियो मन । आमा बाबु भित्र पट्टी गएर सुतेपछि म पनि चुल्हाको अर्को कुनामा झल्लामा पल्टिएँ । 'पढ्नु त आखिर जँहा भए पनि छ, किताब बोकुँ कि, नबोकिकन जाऊ ', यो तर्कना मनमा आयो । 'कँहा जानेहो त टुङ्गो छैन के किताब बोक्नु ? पहाड जान त दमक बाट गाडि चढ्नु पर्छ, पैसा कहाँ बाट जुटाउने', मन मनै सोचे, 'त्यही कुनामा पाँच वटा झल्लाहरू राखिएका छन् हिजो सम्ममा तयार भएका यिनैलाई बेच्यो भने पाँच सय त हुन्छ नि ! फेरि कहाँ बेच्ने ? गाउँका कसैले बजारमा देखे भने जवरजस्ती घर फर्काउन पनि सक्छन् । राती नै भागेकी केटी घरबाट, माईतबाट - तिनैहरूकै शब्दमा । तर मेरो बुझाइमा न घर घर नै हो न त माईत माईत । जुन ठाउँलाई घर भन्न चाहन्छु त्यो त्यतिखेर नै माईतमा परिणत भयो जतिखेर रसीदले जबरजस्ती मलाई बजारबीचबाट तान्यो । र रसीदको घरलाई मेरो घर भन्यो, यो कुरा म किमार्थ स्वीकार्न सक्दिन ।'    
यसरी कुराहरू शृङ्खलित र बिशृङ्खलित रूपमा आइरहे मनमा । फेरि कुनै शक्तिले मेरो शरीर जमजमायो । लाग्यो बाबु आमा निदाईसके । म बिस्तारै चाल मारेर उठें । ढोका सम्म पुगें, ढोका खोलेर छेउमा भएका ५ वटा झल्लाहरूको बिटो काँधमा हालें र लुसुक्क ढोकाबाट बाहिर निस्किएँ । आँगनमा मधुरो उज्यालो थियो । जुनलाई बादलले छेके पनि केही प्रकाश मेरालागि नै आए झैं लाग्थ्यो बिस्तारै झल्लाको बिटो टाउकोमा राखेर छिटो छिटो पूर्व तिर पाईला चालें । केही बेरको हिडाई पछि नै दामुना बजार  आइपुग्यो । त्यही पापी ठाँउ जसले मेरो जीवनमा यस्तो सङ्कट ल्यायो, त्यसलाई पार गरेर सुनसान धुले सडकमा आफ्ना पाईला चालिरहें । चकमन्न रातको समय, एकनाशले चमेराहरू रूखमा फटफटाइरहेका थिए । कतै कतै रातको सन्नाटालाई चिर्दै अनौठो आवाज आइरहेको थियो । सहज स्थितिमा भए डरले कहालिने वातावरण थियो । मलाई अरू कुनै पर्वाह थिएन । प्रत्येक पल बित्ने बिगत भुल्दै प्रत्येक आउने आगतको तयारीको लागि मनमा बिबिध योजनाहरू बुन्दै म त्यो रात सडक नापिरहें । मेरो एउटै ध्याउन्न थियो, उज्यालो हुदा दमक बजार पुगिसक्ने ।
भुईमा ढुङ्गा छापेको बाटो लगातार एक्लै हिड्दा मेरा खुट्टा अत्यन्त दुख्न थालेका थिए । गौरादह बजार कटेपछि बाटाको छेउमा भएको परालको माँचमा अडेस लागेर केही बेर सुस्ताउने क्रममा  आँखा लागेछन् । बिउझिदा भुईमा उज्यालो खसिसकेको थियो । उज्यालो हुदा पनि दमक नपुगिएकाले मन अमिलो भयो । मानिसहरूले देख्लान कि भनेर लाजले छोप्यो । हतार हतार आफ्नो भारी टाउकामा बोकेर म पुन: उत्तर हानिएँ । केही माथी पुग्दा मानिसहरू भेटिन थाले । नयाँ दिनसँगै नयाँ काममा जुटेका मानिसहरू यता उता अघि बढिरहेका थिए । कोही बयल गाडामा बसेर गइरहेका थिए, कोही साइकलको घण्टी बजाउदै हिडेका । ती सबैलाई हेर्दा केही हतारो छ,  केही न केही खोजिरहेका छन झैं लाग्थ्यो  । मनमा घरी घरी तर्कना आयो,  'यो बीचमा कतै मलाई चिन्ने कोही फेला परे भने के भन्ने होला ?'  फेरि मनमनै मनलाई दह्रो पारें । 'मलाई यति टाढा कसले चिन्ला र म एक सतारकी छोरी , गरीब सुकुम्बासीपुत्रीको यहाँ के को पहिचान छ र ? यस्तो कल्पनाले म ढुक्क भए ।'
'ए बैनी झल्ला बेच्न लग्या हो ?' मनमा एक तमासको कुरा खेलिरहेका बेला पाडाजुँगी चोकमा एक नेपाली भाषी महिलाको स्वर सुनेर म अत्यन्त डराएँ । मलाई लाग्यो उसले मेरो सबै कुरा थाहा पाइछ । सायद मलाई यसले चिन्दिरहिछ । आवाज तिर दृष्टि दिएँ । त्यो आइमाई मेरो उत्तर नै पर्खी रहेकी थिई । उसले तत्कालै कतिवटा छन् र कसरी दिने भनेर सोधी । झल्ला बेच्ने काम मैले पहिले देखि नै गर्दै आएकोले कुनै गार्हो भएन । केही बेरकाे कसाकस पछि पाँचसय पचासमा झल्लाहरू बेच्न सफल भएँ। एक किसिमले मेरो भारी पनि घटेको थियो भने अचानक सकिएको यो कामले मलाई पहाडै पुग्ने उत्सुकताले छपक्कै छोपएको थियो । मेरो हातमा पाँचसय पचास रूपैया पनि थियो । पैसा जतनसाथ थैलीमा हाले पछि म ढुक्कले पश्चिम तिर लागें । दमकको बस पार्कमा पुग्दा कम्तिमा ९ बजेको थियो ।
त्यसपछि मेरो उत्साह यति चुलियो भन्ने साध्यै छैन । मलाई लाग्यो गाँउ छोडेपछि सबै मेरा मित्र, मेरा सहयोगी हुँदा रहेछन् । परिणाम त यस्तो सधै नहुने रहेछ ।सबै भन्दा ठूलो दुर्भाग्य मेरो स्त्रीत्त्व थियो । यसै कारणले मैले कतिपय अवस्थामा हरेक मानिससँग जोगिएर हिड्नुपर्ने, लुकेर बस्नुपर्ने स्थिति सिर्जना भयो । दमक बजारको रमिता हेर्दा हेर्दै प्रशस्त समय बिताएछु । जसोतसो पूर्व जाने गाडि चढेर बिर्तामोडसम्म आइपूग्दा झमक्क साँझ परेको थियो ।गाडिबाट ओर्लिएपछि म नित्तान्त एक्ली, साहारबिहिन, भएँ । मानिसहरू सबै आ अाफ्नाे धुनमा थिए । मलाई त्यसरात कुनै पनि ठाँउ त्यस सहरले जुटाएन । दिउसो दमक बजारमा किनेर खाएको भक्काको भरमा मैले भोकै त्यस रात सडकमा बिताए । कति पटक आवारा केटाहरूले मलाई दुर्व्यवाहार गर्न खोजे । म प्रत्येक पटक भागेर र कतै लुकेर कटाएँ । भोली बिहान त्यही शहरमा भौतारिदा भौतारिदै मेरो एक जना राजबंशी बुढीसँग भेट भयो । त्यो बुढी मेरी आमा जस्तै भक्का बेचेर बसेकी थिई, बिर्तामोडको गल्लीमा । मैले त्यही बुढीको भक्का किनेर खाँए । बुढीले नै मलाई अर्को साहारा दिई जसले गर्दा मलाई दशै र तिहारमा घर छोडेको कुनै अफसोच भएन । घरमा बुढी एक्लै थिई ।  त्यसैले उसले मलाई अत्यन्त माया दिई । हामी एक आपसमा दु:ख सुख बाड्थ्यौ । म बुढीसँग बस्न थालेको २ दिनमै बुढी नराम्रो गरी बिरामी परी । त्यसैले गर्दा मेरो पैसा सबै औषधी किन्नमा खर्च भयो । बुढीले भन्दै थिई 'म मर्छु होला, तँ मलाई छोडेर नजा । यही बसेर पढ्नु ।' मेरो पहाड जाने सपना सपना मात्र बनिरहेको थियो । दशैंको रमझम, तिहार र छटको बेला मलाई पनि बुढीको माया पाएर म आफ्नो उद्धेश्यबाट बिचलित हुन खोज्दै थिएँ । तिहार पछि फेरि बुढीको छोरो आयो । ऊ भारतको पञ्जाबमा फलाम कारखानामा काम गर्दो रहेछ र छुट्टीमा घर फर्केको रहेछ । जसले गर्दा मैले फेरि हिड्न बाध्य हुनु पर्यो । किन की म महिला थिएँ । म पुरूषको ब्यवाहार सहन तयार थिइन । पूरूषहरू केटी भनेको भोग्या मात्र हुन भन्ने सम्झने मात्र मैले पाएको छु । म पुन: केही गरी पहाड जाने कुराले पिरोलिएँ । मसँग पैसा पनि थिएन । यसैक्रममा तपाँईसँग भेट भयो । मेरो एउटै उद्धेश्य पढ्नु र भविष्यमा केही गर्न सक्ने बन्नु हो । म सक्षम बनेर समाजमा ब्याप्त अन्धकारलाई चिर्न चाहन्छु । पुरूष हुदैमा अधिकारी र महिला भएको कारणले अपहेलित, दासीको जीवन बिताउनु पर्ने कुसंस्कृतिलाई अन्त्य  गर्न चाहन्छु ।
000000

विद्यालयमा शैक्षिक सत्रको अन्त्य हुने समय थियो । नीमा मीस, सुलोचना मीस र म कक्षा ८ को परीक्षाफल तयार गर्नमा निक्कै ब्यस्त थियौं ।  बिहान पनि एस एल सीको परीक्षामा बसेकोले गर्दा बिहानको  खाना पनि नखाई काम गर्दै थियौ । त्यत्तिकैमा बिष्णु दाइले भेज म:म:  ल्याइदिए । म: म: खानै लाग्दा बिष्णुदाई फेरि आएर भने 'सरलाई भेट्न एक जना अभिभावक आउनु भएको छ ।' सुलोचना मिस पिरोलिनु भयो ' फेरि को आयो नि ! कसलाई पास गराउनु पर्ने भयो । रिजल्ट तयार गर्न थाल्यो की यस्तै हुन्छ, हाम्रो स्कूलमा ।'  मैले थपें –'पहिले कुरा त सुनौ । पासै भएको होला नि, यसै पनि यसपाली धेरै फेल छैनन् ।' मैले यसो भनेपछि विष्णुदाइले आगन्तुकलाई भित्र आउन सङ्केत गरे । कोठामा एक जना युवती हामीलाई आभिवादन गर्दै भित्र पसी । मैले म: म:को डल्लो मुखमा हाल्दै हातले अभिवादन फर्काएँ ।  निमा मिसले जिज्ञासा राख्नु भयो ' के काम होला ?' यस पछि आगन्तुक युवतीको पालो थियो 'जनार्दन सरलाई भेट्न आएकी ।' त्यसपछि मैले किन होला भनेर जिज्ञासा राखे पछि ऊ केहीक्षणका लागि  चुप भई । उसको अनुहारमा मैले उसलाई नचिनेकोमा केही  असजिला भाव एक सर्को दगुरेको देखियो । काली काली भए पनि गहुगोरी नै लाग्ने, सेतो कुर्थासलवार लगाएकी, आकर्षक आँखा र लामो ओठ, अलिकति उठेको बक्षस्थल, अलिकति केशराशीले अगाडि अनुहारलाई स्पर्श गरिरहेको,  सामान्य सृङ्गार गरेकी युवती हेर्दा निक्कै आकर्षक देखिन्थी । उसको अनुहारमा देखिएको गाम्भिर्यताले मलाई निकै मनोवैज्ञानिक सङ्कट परिरहेको थियो । मलाई लागिरहेको थियो यो अहिले नआएकी भए हुन्थ्यो, मैसँग यसको के विशेष काम होला र ?  बरु यसले मलाई बाहिरै बोलाएको भए हुन्थ्यो, मिसहरूको अगाडि कस्तो कुरा गर्ने हो, भित्र भित्र डर लागि रहेको थियो । तर मेरो सङ्कट ऊ बोल्न थाले पछि टरिहाल्यो ।
उसले भनी ' सरले मलाई चिन्नु भएन क्यारे । म रीमा, हजुरले नै मलाई काठमाण्डूसम्म ल्याइदिनु भएको थियो । शुरूमा मलाई मञ्जु मीसको घरमा काम मिलाइदिनु भएको थियो ।' मैले बिर्तामोडमा १२ वर्ष अघि भेटेकी रुन्ची केटीलाई संझिएँ । 'त्यही रुन्ची केटी नै यति राम्री तरूनी हो त !' म केहीबेर कल्पनामा डुबें । 
ऊ बोल्दै गई 'म बिर्तामोडबाट निराश भएर अब रसीद कै घर नै फर्कन्छु भनेर पश्चिम आउने बस चढेकी थिएँ । त्यसैको शरणमा जान्छु, मारे पनि मारोस, जे गर्नु छ गरोस भनेर हारेर फर्किएकी थिएँ । परिस्थिति त्यस्तै बन्यो । बसमा बसका खलाँसी र कण्डक्टरलाई उत्तर दिने क्रममा हजुरले मलाई स्वीकार्नु भयो, निशर्त । मलाई नबुझेरै हजुरले बुझिदिनु भयो र काठमाण्डौ ल्याइदिनु भयो । यहाँ आएर मैले सोचे जस्तै प्रगति गर्न पाएँ । यसको मतलब मैले कुनै कष्ट बेहोर्नु परेन भन्ने त होइन । हजुरले जसको घरमा काम गर्न मिलाइदिनु भएको थियो, त्यसै घरको मालिकले मलाई अत्यन्त दुर्व्यवाहार गर्यो । म स्त्री भएको फाइदा त्यसले पनि उठाउन खोज्यो । त्यहाँबाट पनि छोडेर म केही समय त सडकको जीवन विताउने अवस्थामा पुगें । मलाई लाग्थ्यो हामी महिलाहरूको कमजोरी नै स्त्रित्त्व हो । जुनसुकै पुरूषबाट हामी डराउनु पर्ने, यिनले फकाएर होस वा डर धम्की दिएर होस, हाम्रो स्त्रित्त्वको उपभोग गर्न खोजिरहेका हुन्छन् । महिला धनी होस वा गरीव, सफा होस वा फोहोरी, राम्री होस वा कुरुप सबैको समस्या एउटै छ, सबैसँग  एक थान याेनी र दुइ स्तन हुन्छ । त्यसैले ऊ पछि पर्छे ।
सुलोचना मीस ले भन्दै हुनुहुन्थ्यो –' त्यसो भए मनोज सरको समाजमा देखिएको प्रतिष्ठाको के अर्थ लागाउने ? मञ्जु मीसले पनि वहाँको बारेमा नराम्रो त कुरा गर्नु हुन्नथ्यो !' मैले थपे –'त्यो त वहाँहरूको घरको कुरा आँफैले कहाँ बाहिर लैजान्छन् त ?'
ऊ भन्दै थिई –' जे होस अनेक हण्डर र दु:खका बीच मैले फेरि एउटा साहारा पाँए । सीवीन नामक सँस्थाको मद्दतले आफ्नो स्कूल सम्मको पढाईलाई सिध्याएँ । फर्स्ट डिभिजनमा एस एल सी पास गरे पछि मैले सोही सँस्थामा भोलेन्टियरको रुपमा काम गर्दै पढ्दै पनि गएँ । यसपाळी मैले अङ्ग्रेजी र सोसियोलोजीमा बी ए पास गरें । अहिले सोसियोलोजीमा एम ए गर्ने तरखरमा छु । यसै बीच मैले 'महिला उत्थानका लागि जनचेतना' कार्यक्रमको नेतृत्त्व गरी झापालाई नै कार्य क्षेत्र बनाएर जाने तयारी गरिरहेकी छु । ममा आत्मविश्वास छ  यो कार्य म अत्यन्तै प्रभावकारी रूपमा गर्न सक्छु भन्ने । मलाई हाम्रो सन्थाल समुदायले अपनाएको कुसंस्कार र कुरीति प्रति अत्यन्तै दया लागेको छ । यस्ता समस्या एउटामात्र सम्प्रदायमा सीमित छैनन् । आम गरीव मानिसहरूले कुनै न कुनै अन्धविश्वास र कुसंस्कृतिको मार खप्नु परिरहेको छ । यसबाट विषेश महिलाहरू पीडित छन् । यसलाई सुधार गर्ने काम हाम्रै हो । हामीले नै हिम्मत गरेर काम शुरू गर्यौ भने मात्र भावी पुस्ताले अमनचयन पाउने छ । हाम्रो पछिल्लो पुस्ताले मुक्ति पाँउने छ । सर ! मलाइ आशीर्वाद दिनुहोस् मैले हजुरले देखाएको गोरेटोबाट धेरै ठूलो सडक भेटिसकेकी छु । हजुरले देखाएको बाटोबाट मैले सङ्घर्ष गर्न सिकें र असफल पनि भइन । म अहिले जे छु हजुर कै कारणले छु । मैले पहाडमा गएर रसीदको क्रुर पञ्जाबाट छुटकारा पाउने भन्दा ठूलो सपना देखेकी थिइन । यस्तो सपनालाई मोडेर तपाँईले मलाई आजकी रीमा हेमरम बनाउनु भयो जो आज समस्याबाट भाग्ने होइन, अरूको समस्यामा डटेर लड्न सक्ने, आम मानिसका समस्यालाई जरै देखि उखेल्ने अभियान चलाउन सक्ने सामर्थ्यवान भएकी छ । म जे छु आफूलाई तपाँईकै सृष्टी सम्झन्छु ।
मैले म: म: खाइसकेछु । म लगातार सोचिरहेको थिएँ 'जीवनमा मेरो कारणले एक जनालाई अलिकति गुन भएछ क्यार ! राम्रै हो । तर सबै नारीमा यस्तो हिम्मत भए, सङ्घर्षको शुरुवाती पाइला मात्र चाल्ने सामर्थ्य भए उनीहरूले कहीं न कहीं त सहयोगी हातहरू पाइहाल्ने थिए नि !' जे होस रीमाको सफलताले मलाई ज्यादै हर्षित तुल्यायो ।
रीमा मसँग विदावारी भई गइसकेपछि निमा मीस जिस्क्याउदै हुनुहुन्थ्यो, क्या हो जनार्दन !  तिम्रोमात्र सृष्टी त त्यति स्मार्ट छ, कि अब संयुक्त सृष्टीकाे प्रवन्ध गर्ने त ! सोच है ।

रचना समय २०६३।चैत्र
रातोपुल, काठमाण्डौ

  

Wednesday, January 4, 2017

गजलःबिना बादल त्यसै बर्स्याै बेइमानी झरी तिमी

बिना बादल त्यसै बर्स्याै बेइमानी झरी तिमी 
झरनामा नुहाउदै भेटिए झैं — परी तिमी ।

विश्वामित्र जस्तै गरी तपस्यामा लीन थिएँ, 
मेरो तप भंग गर्न जादु गरे सरी तिमी ।।

गुनगुनाउदै आयौं मेरो मनको तार रेटी ।
मोहनीको गीत गाउने भाका लैबरी तिमी ।।

शहरको महंगीमा भाडा तिर्नै नपर्ने भो 
डेरा जमाइ बसी हाल्यौ मेरो मन भरी तिमी ।। 

अर्जुनदृष्टी चाहिन्छ रे उद्देश्यमा पुग्नलाई ।
एकै बाणमा झार्नु पर्ने त्यो गुणकी चरी तिमी  ।।

खाेंच हिमाल, खाेल्सा अनि पाखै बैमानी

हैट कान्छी !  तिम्रा दुई आँखै बैमानी ।

कर्के नजर जुधाउने भाकै बैमानी ।।


मदहोशै बनाउछ्यौ ओठ टोकी टोकी

 तकीया नै बनाउँ जस्तो काखै बैमानी ।।


तिम्रो कसम ! मर्छु होला तिम्लाई हेरी हेरी,

 नरम पच्छ्यौरी र चोली ढाकै  बैमानी ।।


बन्ने थिंए  राजा तिम्राे , स्वीकार न कान्छी !

 भोली भन्दै टार्ने तिम्रो  भाखै बैमानी ।।


सुन्दरताको के कुरा भो र तिम्रो अघि

खोंच, हिमाल, खोल्सा अनि पाखै बैमानी ।।